शब्दमा अँध्यारोको प्रशंसा गर्न जति सहज छ, भोग्न अति नै कठिन छ । उज्यालो र अँध्यारोको विषयमा धेरै दार्शनिक कुरा लेख्न सकिन्छ । अँध्यारो बनाइदेऊ, उज्यालो कष्टकर भयो भन्न सकिन्छ । तर जसले जे भने पनि अँध्यारो समस्याको मूल जरा नै हो ।

कुनै बेला काठमाडौंमा सिमित मानिसहरूले मात्रै बिजुली बत्तीको उपभोग गर्थे । म आफैँ सानो छँदा बिजुली बत्ती आइसकेको थिएन । रात पर्नुभनेको पुरै अन्धकार हुनु थियो । अँध्यारो भएपछि आमा र हजुरआमासँग टांसिएर बस्नु नै सबैभन्दा सुरक्षित थियो । आमाहरू पनि यही पो चाहनु हुन्थ्यो, शायद । उहाँहरू यही अँध्यारोको बेला भूतका कथा सुनाउनु हुन्थ्यो । आज बोक्सीको कथा, भोलि  किचकन्नेको कथा, पर्सी तान्त्रिकको कथा । कथा पनि पैलताले नटेकीकनै अलिअलि उडेर गएको, भूतले पछाडिबाट गर्लम्म अंगालो हाल्न आएको । यस्ता कथाहरू रोमाञ्चकारी पनि हुन्थ्यो । आफूलाई अत्यन्तै माया गर्ने आमा र हजुरआमाले भन्नुहुने कथा भएकोले विश्वास पनि लाग्थ्यो । अनि सबैभन्दा ठूलो कुरा अति डर लाग्थ्यो ।

स्नेह सायमि

उबेला अहिले जस्तो कोठापिच्छे बाथरुम कहाँ ? पिसाब फेर्न घरबाहिर अलि पर चर्पी बनाइएको हुन्थ्यो । घर अन्धकार, बाहिर झन अन्धकार , त्यसैले पिसाब फेर्न मन लागे पनि डरले चुपचाप बस्थ्यौं । राति पिसाब फेर्न जानुपर्यो भने हामी दुई-तीनजना सँगै जान्थ्यौं, सबै डराएको अवस्थामा । टुकी वा लालटीन हुन्थ्यो । त्यो पनि के के भएर अचानक निभ्थ्यो । एक जना चर्पीभित्र पसेपछि दुईजना बाहिर गार्ड बसिन्थ्यो । यसरी हतार हतार पिसाब फेरेर आउनुपथ्र्यो । अँध्यारोमा विभिन्न आकारका छायासँग जम्काभेट हुन्थ्यो र हरेक छाया भूतजस्तो लाग्थ्यो ।

म १० वर्षको हुँदा मेरी आमा बिरामी पर्नुभयो । के बिरामी हो ? थाहा भएन, तर लामो समयसम्म बिरामी हुनुभयो । उबेला हाम्रो उपचार गर्ने भनेकै किर्तिपुरमा । किर्तिपुरमा नाम चलेको ज्योतिष, झारफुक, वैद्य, कम्पाउण्डरहरू थिए । हामीहरू बिरामी पर्दा उतै लाग्थ्यौं । मेरी आमाले सबै आफ्ना नौजना सन्तानहरूलाई किर्तिपुरमैं उपचार गराएर हुर्काउनु भयो । आमा बिरामी हुँदा झारफुके, वैद्य वा कम्पाउण्डर बोलाउन र औषधि लिन जाने मैं हुन्थें । नैकाप र किर्तिपुर भएर जाँदा अहिलेको भिराडील, बल्खु खोला, खोलाछेउका मसानघाट अति सुनसान र डरलाग्दो हुन्थ्यो । आमाको कथाको भूत त्यही मसानघाटबाट उठेर मलाई पछ्याइरहेको जस्तो लाग्थ्यो । पछाडि फर्केर हेर्न पनि डर लाग्थ्यो । जूनको उज्यालोमा देखिएको रूखका छाया, बाटोका ठूलो ढुंगा, यी सबै अँध्यारोमा नै लाग्थ्यो । म एकै सासमा कुदेर नैकापबाट किर्तिपुर र किर्तिपुरबाट नैकाप पुग्थें । मेरो बाल्यकालको बाध्यात्मक यात्रामा रातले यति धेरै सास्ती दिन्थ्यो ।

अहिले सोच्छु, यो अन्धकारले यसरी सताउँदो रहेछ । कहाँ बोक्सी हुनु, कहाँ भूत हुनु , कहाँ किचकन्ने हुनु ! तर मेरो लगायत आमाहरू र हामी केटाकटीहरूको मन मस्तिष्कमा भूत हालिदिएपछि त्यो भूतले पुस्तौंपुस्ता हजारौं लाखौं जनमा यसरी छोप्दो रहेछ, सताउँदो रहेछ । एकपटक हालिदिएपछि निकाल्न कठिन हुने रहेछ ।

अहिले लाग्छ, त्यो भूतको स्रोत के हो ? किन भूतका यति धेरै कुराहरू भए मेरो बाल्यकालमा ? त्यो स्रोत भनेको त उबेलाको अन्धकार नै थियो । दिउँसोको उज्यालोमा भूत नआउने, रातमा आउने भनेको के हो त ! त्यतिबेलाका जनसाधारणले उज्यालोमा रात काट्न नपाएका कारण जन्मेको डरको कथा हो भूत ! त्यस्तै राति भूत आउने कथाले त्यतिखेरका शासकहरूलाई शोषण गर्ने, आफ्ना दूतहरूमार्फत राज्यका विद्रोहीहरू बेपत्ता पार्ने, चेलीबेटी उठाउने अवसर हो । जनताहरू भूतका कथा हालेर डराएर रहुन्जेल स्रोत र शक्ति सम्पन्न सत्तालाई दमन गर्न सजिलो हुने रहेछ ।

आमाहरू स्वभावैले मायाका अपार स्रोत त हुनुहन्थ्यो, तर उहाँहरू नै अन्धकारमा हुनुहुन्थ्यो । आमाहरूले माया गरेरै, आफ्ना सन्तान अँध्यारोमा बाहिर नजाउन र भूतले नलैजाउन भन्ने उदेश्यले बेलैमा भूतको डर हालिदिनुहुन्थ्यो । तर त्यो भूतको डर कति खतरनाक भनेर थाहा नपाएरै जीवन सकाउनु हुन्थ्यो । हामी पनि त्यही अन्धकार संसारमा सबैभन्दा बढी माया गर्ने आमासँग ग्रहण गरेर लामो समय त्यत्तिकै डराइरह्यौं । त्यसैले अन्धकार अति खतरनाक कुरा र सोच रहेछ ।

अहिले आधुनिक युग, एक्काइसौं शताब्दीमा आइपुग्दा ती पुराना अँध्यारा र अँध्याराका कथाहरू छैनन् । ती सबै किंवदन्ती नै भइगए । तर नयाँ अँध्याराहरूको जन्म भइरहेको छ । कसैले तपाईं र मेराबीच सम्बन्ध बिगार्नुपर्यो भने केही गारो छैन । कुनै तेस्रो व्यक्तिले मलाई वा तपाईँलाई एकअर्काको विरुद्धमा कुरा लगाइदियो र त्यही कुरालाई पत्याइदियो भने सम्बन्धमा तीतोपन आइहाल्छ । हामीले एकअर्कामा तेस्रो व्यक्तिको कुरामा सत्यता छ कि छैन भनेर जाँचै नगरी अन्धकारमा बस्यौं भने सम्बन्ध सकियो । यो अन्धकार कति खतरनाक छ भने, त्यसले राजनीति र बाहिर त असर पार्छ पार्छ, आफ्नो प्रियजनहरू बीच त विषको नै काम गर्छ ।

म हिजोआज योखाले अन्धकारको भुक्तभोगी छुँ । मेरोबारेमा तपाईंलाई कसैले कुनै नकारात्मक कुरा सुनाइदिन्छ र तपाईं त्यही कुरा पत्याएर चिसो भइदिनुहुन्छ र हाम्रो सम्बन्धमा त्यहीं अवरोध आउँछ । यस्ताखाले अन्धकारका बाहकहरूको बाढी नै आएको छ । यी अन्धकारका बाहकहरू आफ्नै क्षमताले त केही गर्न सक्दैनन तर अरूको सम्बन्धमा खुम्रे कीरा राख्न सक्छन् ।

म यो अन्धकारबाट अति त्रस्त छु । मैले त तपाईंको बारेमा कसैले कुरा गर्न आउँछ भने पत्याउन छाडिसकें । मलाई सबैभन्दा बढी आफ्नो नजिकक प्रियजनहरू बीचको सम्बन्धसँग डर लाग्छ ।

अन्धकारसँग विजय गर्ने एउटै उपाय भनेको उज्यालो हो, त्यो भनेको सम्बन्धमा पारदर्शीता । हामी आफैँ जब पारदर्शी हुँदैनौ तब यस्तो समस्या आउने हो । हामीले पारदर्शी हुनुपर्ने कुरा र विधि अझै धेरै छन् । मेरा प्रियजनहरू, अझै पारदर्शी हौं र अन्धकारका दूतहरूसँग बचौं |