“कति झुन्डिराख्छस् फेसबुकमा ? केही काम छैन ?” आजभोलि धेरैले मलाई गर्ने प्रश्न यिनै हुन् । बेला बेलामा मैले पोस्ट गरिराख्ने स्टाटसहरूका आधारमा मानिसहरू मलाई यसरी “जज” गर्ने गर्दछन् । तर के मैले उनीहरूले सोचेझैं सामाजिक संजाललाई “काम न काज”सँग प्रयोग गरिरहेको छु त ? मलाई आफ्नो लेखनकर्मलाई सहयोग पुग्ने हिसाबले पाठकसँग नजिक हुन, आफ्नै समवयका साथीहरूका पीरमर्का बुझ्न र विषयवस्तुबारे थाहा पाउन सामाजिक संजालले सघाएको छैन र ? हात्तीलाई पेटमा मात्र छामेर हात्ती भित्तोजस्तो हुँदो रहेछ भन्नेहरूलाई सामजिक संजालको यो पाटोको ज्ञान नै कहाँ र !
हामी आजकल धेरै समय सामाजिक संजालमा बिताउँछौँ । फेसबुक, ट्विटर, इन्स्टाग्राम अनि टिकटक हाम्रा जीवनशैली बनिसकेका छन् । हामी एक घण्टा कुनै किताब पढ्यौं भने कति धेरै पढिएछ भन्ने ठान्दछौं । तर चार घण्टा च्याट गरेर बस्यौँ भने कति छिट्टै मोबाइलको चार्ज सकिएछ भनेर दिक्क मान्दछौँ । हामी धेरैलाई आजभोलि इन्टरनेट नै फेसबुक भएको छ, इन्टरनेट नै युट्युब भएको छ । तर इन्टरनेटको महत्व कति छ, र यसको उपादयता कति छ भनेर के हामीले आफूलाई जिज्ञासु बनायौं त ?
फेसबुक धेरै चलायो भनेर अरूलाई खिस्याउनेहरू पनि फेसबुकमै भेटिन्छन् । टिकटकलाई उडाउनेहरू पनि टिकटकका भिडियो हेरेर रमाइलो मानिरहेका भेटिन्छन् । यदाकदा मान्छेहरूले भनेको सुन्न पाइन्छ, कति धेरै फेसबुक चलाउँछ यो, बिग्रिने भयो । कामै यसको त टिकटक बनाउने छ, बिग्रिसकी । कोही युट्युबले ‘बिग्रिन’ आँटेका छन् भने कोही इन्स्टाग्रामले । तर हरेकपटक नयाँ नयाँ प्रविधि हामीलाई बिगार्न हैन सपार्न आएका हुन्छन् । यो हामीलाई ज्ञान हुँदैन ।

सुरेश बादल
हामी सानो छँदा रेडियोको मुन्तिर बसेर पढिरहेका हुन्थ्यौं । त्यतिबेला ध्यान जत्ति सबै रेडियोतिर हुन्थ्यो अनि हामी किताबको एउटै पाना समाएर अल्मलिरहेका हुन्थ्यौं । त्यतिबेला हामी बिग्रिने गर्थ्यौं । तर रेडियोले दिएका सूचना, ज्ञान र मनोरन्जन के हामीलाई स्कूले कोर्सका किताबहरूले मात्र दिन सक्थे र ? रेडियो नभएको भए कहाँ सुन्थ्यौं होला हामी साना हुँदा इजरायल र प्यालेस्टाइनको युद्ध र संकटका कुरा ? फ्रान्सका राष्ट्रपति ज्याक सिराक र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका बारेमा रेडियो सुनेरै ठूला भएका हैनौं र हामी ? रेडियो नहुँदो हो त सुनौलो गुलाफ र संगिनी सुईका बारेमा कहाँ थाहा पाउँथे होला र दूरदराजका महिलाहरूले । रेडियोले नै त हो नि हामीलाई साथीसँग मनका कुरा गर्न सिकाएको । युवा र किशोर अवस्थाका जिज्ञासा र खुल्दुलीहरू मेटाएको ।
समयसँगै हामीलाई बिगार्न भनेर टिभी आयो । हामी टिभी हेर्दा होमर्क गर्न बिर्सिन्थ्यौँ । लेख्न पढ्न बिर्सिन्थ्यौं । टिभीमा आउने फिल्म, टेलिफिल्म अनि गीतहरूले हाम्रा उत्पादनशील समय कब्जा गरिदिन्थे । तर आजभोलि लकडाउनका कारण टेलिभिजनहरूले विभिन्न कक्षाका पाठ्यसामग्री देखाइरहेको, अडियो भिजुअल कक्षा संचालन गरिरहेको देख्दा प्रविधि कहिल्यै दोषी हुँदैन, प्रयोग गर्ने ढंग हाम्रो कस्तो छ त्यसले हो बिगार्ने कि सपार्ने भन्ने यथार्थको महशुस गराएको छैन र ? टिभीले हामीलाई रारा ताल देखाएन र ? हिँड्न नसक्नेहरूलाई दृश्यमार्फत् नै गोसाईकुण्ड घुमाएन र ? कुवाको भ्यागुतोझैं आफनो घर गाउँमा बसेकाहरूलाई सारा संसार देखाएन र ?
हामीकहाँ आजकल ‘युटुबे’हरूको आतंक छ । भाइरल गराएर पैसा बटुल्ने चाहनामा, भ्युज बढाएर डलर कमाउने आशामा आजभोलि समाचार र सूचना हैन काण्डहरू प्रसारित भैरहेका छन् । हामी केही युट्युबरका प्रोपोगान्डाबाट दिग्भ्रमित हुँदैछौँ भने केही चाहिँ तीनै युट्युबरलाई गाली गरेर बसिरहेका छौँ । के हामीले कहिल्यै पनि युट्युबमा इतिहासका चाखलाग्दा विषयहरूका बारेमा बनेका डकुमेन्ट्रीहरू हेर्यौं ? के हामीले नयाँ नयाँ परिकारहरू पकाउने विधिहरू सिक्यौं ? युट्युब हेर्दै तपाईं भिडियो एडिट गर्न सिक्नहुन्छ, सिनेमा बनाउन सिक्नहुन्छ, कसरी इजरायलले आधुनिक खेती गर्यो, अस्ट्रेलियामा कसरी पशुपालन गरिन्छ, ब्युटी पार्लर जान नसकेको अवस्थामा कसरी शृंगार गर्न सकिन्छ, के हामीले कहिल्यै युट्युबलाई यसरी उपयोग गर्यौँ त ?
हामी फेसबुकलाई च्याट गरेर समय नाश गरेकै आधारमा गाली गरिरहेछौं । रातदिन च्याट गरेर अर्काको श्रीमती फकाउने, फेक आईडी बनाएर कसैलाई ठग्ने इत्यादी गरेकै अधारमा फेसबुक कहाँ अभिशाप हुन सक्छ र ! यसले त हामी विभिन्न खण्ड-खण्डमा बाँडिएकाहरूलाई एउटा समाजमा ल्याएर राखिदिएको छ । आज सामाजिक संजाल नहुँदो हो त, फेसबुक नहुँदो हो त, कसले कल्पना गर्न सक्थ्यो र निम्न वर्गले पनि आफ्नो सशक्त आवाज उठाउन सक्छ भनेर । सन् २०१० को ट्युनिसियाबाट शुरु भएको अरबको क्रान्तिमा, इजिप्टका होस्नी मुबारक, लिबियाका गद्दाफीहरूले वर्षौं पुरानो शासन त्यही एउटा फेसबुक स्टाटसले शुरु गरेको क्रान्तिकै कारण छोड्नु परेको हैन र ?
आजकल हरेक मान्छे आफैँ पत्रकार भएको छ । आफैँ सामाजिक अभियन्ता भएको छ । ब्लग लेखेर आफैँ लेखक, सम्पादक र प्रकाशक भएको छ । प्रविधिको शक्तिले हामीलाई व्यक्तिगत तवरमा बलशाली बनाएको छ । हिजो चिया अड्डामा चल्ने गन्थनहरू आजकल च्याटरुमका कारण झन् सजिला भएका छन् । यही लकडाउनकै अवधिमा पनि ठूल्ठूला होटलका सेमिनार हलमा हुने गरेका भेलाहरू “जुम”का वेबिनार बैठकहरूमा सम्भव भएका छन् ।
फेसबुक केटाले केटी खोज्ने र केटीले केटा रोज्ने थलो मात्र हैन । यो त तपाईंले आफूलाई चिनाउने मन्च पनि हो । फेसबुक नहुँदो हो त म आफैँले पनि आफ्नो लेखन क्षमता यति चाँडो र यति सघन ढंगले ठूलो जनमानसमा पुर्याउन समय लाग्थ्यो होला । इन्स्टाग्राम पनि केवल आफ्ना फोटाहरू टाँसेर अलि अलि आएका लाइकहरूमा दङ्ग पर्दै आत्मरतिको आहालमा डुबुल्की मार्ने बहाना मात्र हैन । तपाईं कलात्मक फोटोग्राफी गरेर मिल्दो, सुहाउँदो अनि सटिक ह्याशट्यागहरू राखेर आफ्नो कलालाई सिमाना नघाउन सक्नु हुन्छ ।
के टिकटक गीतका बोलहरूमा ओठ चलाएर लिपसिंक गर्दै यस्सै आफैँ रमाएर बस्ने भाँडो मात्र हो त ? यसले आफूलाई ब्राण्डिंग गर्न पनि त मद्दत गर्दछ । तपाईंलाई आफ्नो व्यवसाय बढाउन कुनै सेलिब्रिटीबाट विज्ञापन गराउनु पर्दैन । टिकटकमा आफ्नो सिर्जनशीलता प्रदर्शन गरेर आफूलाई आफैं सेलिब्रिटी बनाउन सक्नुहुन्छ, आफ्नो व्यवसाय प्रबर्धन गर्न सक्नु हुन्छ । चोयाका सजावट सामाग्रीहरू, बाँसका सामाग्रीहरू कलात्मक तवरले बनाएको सटिक भिडियो टिकटकमा राखिदिनुस् त, कति अर्डर आउँदोरहेछ, थाहा पाउनु हुनेछ । थरिथरिका डिजाइनमा लुगा सिलाएको देखाउनुस् त, कसरी कुशल फेसन डिजाइनरमा दरिनु हुनेछ थाहा पाउनु हुनेछ । नाच्न, अभिनय गर्न यदि आफूमा त्यो फरक कला छ भन्ने विश्वास भए तपाईंको प्रगतिलाई कसैले रोक्न सक्दैन ।
तपाईंलाई स्वान्तसुखायकै लागि, आफ्नै खुशीका लागि मात्र चलाउने रहर हो भने, चलाउनुस् तर आफ्नो सिर्जनात्मक समय खेर नफ्याँकी । प्रयोगकर्ताको प्रयोजन र उद्धेश्य बरु खराब हुन सक्ला, तर प्रविधि कहिल्यै आफैंमा खराब हुँदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

