१. डा. तारानाथ शर्मालाई धुरुधुरु रुवाउने त्यो कागजको चिर्कटो

डा. तारानाथ शर्मा

कुरो विद्वान् ताना सर्मा अर्थात् डा. तारानाथ शर्माको । प्रखर समालोचक, नियात्राकार, अनुवादक, विश्व साहित्यका जानकार, कवि, गीतकार …, परिचय यतिमा मात्रै पनि सीमित छैन उनको । तर कुरो संस्कृत, नेपाली र अंग्रेजी तीनै भाषामा पोख्त डा. शर्माको परिचयको होइन । खास कुरो चाहिँ बालक शर्माको हो जसलाई एक कागजको चिर्कटोले धुरुधुरु रुवाएको थियो ।

कुरो त्योबेलाको हो, जब डा. शर्मा मात्र १२ वर्षका थिए । उनी संस्कृत भाषामा रुद्री, चण्डी, कौमुदीदेखि अमरकोषसम्म पढ्न सक्ने भइसकेका थिए । एकदिन जन्मथलो इलामको बरबोटेनजिकै बिब्ल्याँटे डाँडामा बालक शर्मा सुसेली हाल्दै हिँडिरहेका थिए । त्यसैबेला उनले एउटा कागजको चिर्कटो फेला पारे जसमा केही लेखिएको थियो । शर्माले पढ्न कोसिस गरे, तर सकेनन् । संस्कृतका गाह्राभन्दा गाह्रा श्लोकहरु फर्रर्… भन्न सक्ने विद्वान् शर्मालाई आफूले एक कागजको चिर्कटोसम्म पढ्न नसक्दा लाग्नु दु:ख लाग्यो । अनि त के थियो ? छेउकै ढुङ्गामा बसेर उनी धुरुधुरु रुन थाले ।

कुरो सकियो ? छैन छैन । पख्नुस् ! गुदी कुरो अझै बाँकी नै छ । त्यो कुरो के भने, त्यही बाटो भएर एक जना लाहुरे आइरहेका थिए । उनले बालक शर्मा रुँदै गरेको देखे, र कारण सोधे । रुन्चे स्वरमा बालक शर्माले भने, ‘यसमा लेखेको कुरा मलाई पढ्न आएन, मैले यत्रो संस्कृत पढेको के काम लाग्यो र ?’

लाहुरेले बालक शर्माको हातबाट कागजको चिर्कटो आफ्नो हातमा लिए । हेरे । र भने, ‘यो त अंग्रेजी भाषामा लेखिएको छ । यो बुझ्न त अंग्रेजी पो पढ्नु पर्छ ।’

अबचाहिँ कुरो सकियो होला हैन ? हैन के ! एकछिन पख्नोस् न ! थोरै अझै बाँकी नै छ ।

त्यही अंग्रेजी लेखिएको कागजको चिर्कटो र लाहुरेको प्रेरणाले बालक शर्माले घरमै ‘ए, बी, सी, डी…’ सिके । दार्जीलिङ र खारसाङसम्म गरे थप अंग्रेजी पढे ।

घरमै अंग्रेजी पढ्दा उनले ‘तारानाथ’ लेख्न सिकिसकेका थिए । तर उनलाई आफ्नो थर ‘उपाध्याय’ र ‘भण्डारी’ लेख्न भने सकस भयो । र, अर्का एक लाहुरेको सल्लाहअनुसार सजिलोका लागि उनले ‘शर्मा’ लेख्न सिके । यसरी भाषा र साहित्यका महान् साधक तथा सेवकको नाम तारानाथ शर्मा रहन गयो ।

पत्याउनु भयो ? तपाईंलाई थाहै छ – पत्याउने या नपत्याउने लोकतन्त्रिक अधिकारी सधैंझैं तपाईंमै सुरक्षित छ ।

===

२. जहाँ मुलुकमै पहिलोपटक बिजुली बलेको थियो

संसारमा जलविद्युत परियोजना सञ्चालन भएको ३३ वर्षपछि नेपालमा पहिलोपटक बिजुली बत्ती बलेको इतिहास भेटिन्छ, जसको श्रेय तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई जान्छ । तर तपाईंलाई थाहा छ – नेपालमा पहिलोपटक बिजुली बत्ती कहाँ बलेको थियो ?

तपाईं भन्नुहोला – चन्द्र शमशेरको दरबारमा । अथवा, भन्नुहोला – फर्पिङ पावर हाउसमा । तर होइन । पख्नुहोस् । हतार नगर्नुहोस् । वास्तविक कुरा म बताइहाल्छु नि !

राणा प्रधानमन्त्री चन्द्र शमशेरले बेलायत र फ्रान्समा भएको विकास देखेपछि वि.स. १९६७ मा नेपाल पनि बिजुली उत्पादन गर्ने प्रविधि भित्र्याउने योजना ल्याए । तपाईंलाई थाहै छ, नेपालको पहिलो हाइड्रो पावर फर्पिङ पावर हाउस हो । हो, वि.स. १९६८ मा फर्पिङ पावर हाउसबाट विद्युत उत्पादन सुरु भएको हो जसको श्रेय चन्द्र शमशेरलाई दिन कुनै कन्जुस्याइँ गर्नु हुँदैन ।

अँ, कुरा के भने – पावर हाउस स्थापनाको उदेश्य आफ्नो दरबारलाई झिलिमिली पार्नु थियो । तर बिचमा शुभ–अशुभले भूमिका खेल्यो । सिधै दरबारमा बत्ती जोड्दा अशुभ हुनसक्ने अड्कलबाजी भए । र, चन्द्र शमशेरले खोकनाका सिद्धिलाल डंगोलको घरमा पहिलो बत्ती जोड्ने निर्णय गरे । र, खोकनास्थित त्यही घरमा नेपालकै पहिलोपटक बिजुलीबाट बत्ती बल्न पुग्यो । त्यसपछि मात्र चन्द्र शमशेरको दरबारमा बिजुली बल्यो ।

अनि ? अनि, सिद्धिलालले आफ्नो घरमा जोडेको बिजुली बत्तीलाई खोकनाका टोल–टोलमा पुर्याए । गाउँ नै झिलिमिली बनाए ।

पहिलोपटक बिजुली बत्ती बलेको १०० वर्षपछि, वि.स. २०६८ सालमा पहिलोपटक बिजुली बालिएको घरलाई स्थानीयले संग्रहालयको रुप दिए । तर उक्त संग्रहालयलाई भूकम्पको कम्पनले भित्रैबाट हल्लायो । भूकम्पबाट ऐतिहासिक महत्त्वको उक्त घर जीर्ण बन्यो ।

दु:खको कुरा । हाल मुलुकमै पहिलोपटक बिजुली बत्ती बलेको घर जीर्णमात्र छैन, अन्धकार पनि छ ।

===

३. जब अविनाश श्रेष्ठलाई शमशेरजीले लेख लेखाउन खोजे…

अविनाश श्रेष्ठ

कुरो ०४७ सालतिरको हो ।

०४६ सालको जनआन्दोलन सफल भएपछि उपकुलपति ईश्वर बरालको नेतृत्वमा प्रज्ञा–प्रतिष्ठानमा नयाँ प्रज्ञा–परिषद् गठन भएको थियो । साहित्यकार अविनाश श्रेष्ठलाई सम्पादक नियुक्त गरिएको ‘समकालीन साहित्य’ पत्रिकाको प्रधानसम्पादकमा वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधान रहेका थिए ।

यो भूमिका भयो । अब चुरो कुरोतिरै लागौं । कुरो ०४७ सालतिरकै हो ।

‘समकालीन साहित्य’को पहिलो अंक प्रकाशनको तयार तीव्र थियो । त्यसैक्रममा एकदिन कृष्णचन्द्रसिंहले अविनाशलाई बोलाएर भने, ‘अविनाशजी, समकालीन साहित्यका निम्ति लेख लिन तपाईं जगदीश शमशेरजीकहाँ गइदिनुपर्यो । मेरो गाडी लिएर जानुहोला ।’

जगदीश शमशेर बत्तीसपुतलीमा बस्थे । अविनाश पुगेपछि उनलाई बैठक कोठामा राखेर उनी भित्रतिर लागे । केहीबेरमा हातमा सादा फुलस्केपको बिटो र कलम लिएर आए । र, अविनाशको छेउमा कागजका पाना र कलम राखेर नजिकै बस्दै भने, ‘म बिस्तारै बोल्दै जान्छु, तपाईं टिप्दै जानुहोस् ।’

अविनाशले कुरो बुझेनन् । छक्कै परे । सोचे – सायद लेख बुझाउन औपचारिक पत्र लेखाउन खोज्दै छन् । त्यसैले भने, ‘औपचारिक पत्र पर्दैन । लेख मात्र दिनुभए भइहाल्छ ।’

तर कुरो अर्कै रहेछ । अविनाशले मात्र होइन, तपाईंले पनि नसोचेको । खासमा शमशेरजीले पूरै लेख लेखाउनका लागि अविनाशलाई डाकेका रहेछन् । उनले भनेछन्, ‘त्यही लेख लेखाउन त तपाईंलाई डाकी पठाएको । म बोल्दै जान्छु, तपाईं लेख्दै जानुस् ।’

छक्क पर्नुभो ? हो, सम्पादक अविनाश पनि तपाईं झैं छक्क परे । र, सक्दो विनम्रताका साथ भने, ‘म त लेख तयार पारेर यहाँले लिन डाक्नुभएको होला भन्ठानेर आएको थिएँ । यहाँले बोल्दै टिपाएको लेखेर बस्ने फुर्सद मसित छैन र फुर्सद भएको भए पनि यस्तो काम मैले गर्ने होइन ।’

सम्पादक अविनाशको कुराले शमशेरजीको अनुहारको कान्ति झ्याप्पै निभ्यो । उनले कुरो सपार्न चाहे । उचित पारिश्रमिक टक्र्याउने जनाए । तर उनको कुरा पूरै नसुनी हात जोड्दै सम्पादक अविनाश त्यहाँबाट बाहिरिए ।
कुरो सकियो । तपाईंलाई लाग्यो होला – यस्ता ताई न तुईका कुरा यसले कहाँबाट थाहा पाउँछ ? पढ्नुपर्छ क्या पढ्नुपर्छ !

अन्त्यमा एक जानकारी पनि लिइहाल्नुहोस् । कान्तिपुरको शनिबारे विशेषांक ‘कोसेली’का लागि अविनाश श्रेष्ठसँग दीपक सापकोटाले लिएको अन्तर्वार्ता ‘दरबारको पत्र: निजलाई कवि बनाइदिनू’ शीर्षकमा प्रकाशित छ । यस प्रशंगलाई उक्त अन्तर्वार्तामा श्रेष्ठले स्मरण गरेका छन् ।