मसँग पुराना सामान धेरै भए । स्वभावैले एकजना लेखकसँग सबैभन्दा बढी हुनेभनेको पुस्तक नै हो । मेरा जीवनकालमा काठमाडौंभित्रै पनि म सातपटक सरेको रहेछु । प्रत्येकपटकको बसाइँ सराइमा सबैभन्दा धेरै हुने नै पुस्तकहरू भए । समयले, प्रविधिले पुरानो भएपछि त्यसलाई व्यवस्थापन गर्नुपर्दोरहेछ । त्यहीक्रममा मैले पाएको सामान र स्मृतिका बारेमा लेख्न शुरु गरेको छु ।
पुरानो कुरामा किन अल्झिन्थें म पनि ? कुदेको छु नयाँ चिजबिजमा, नयाँ लुगा, नयाँ साथी, नयाँ ग्याजेट, नयाँ पुस्तक । अझ प्रविधिले त नयाँ नकिनी नमिल्ने बनाएको छ । खैर, यो कुरा पछि गरौंला । म आज पुरानो सामानको व्यवस्थापन गर्न बसेको छु पूरै दिन छुट्टी लिएर । म पसें फाल्नका लागि पुरानो सामान राख्ने कोठामा ।
यो मेरो बाको फोटो । सानो काठे फ्रेममा रहेको श्यामस्वेत फोटो । क्या बान्की परेको अनुहार । मेरो बा मभन्दा धेरै राम्रो हुनुहुन्थ्यो । त्यतिबेला कुनै फोटो स्टुडियोमा गएर खिचाउनुभएको होला । यस फोटो र फ्रेमले मेरो घरको भित्तामा उचित स्थान पाएन । किन यसलाई पुरानो दराजभित्र कोचेर राखिएको छ ? फ्रेम नराम्रो हुँदैमा, फोटो खुइलिँदैमा मेरो बाको महत्त्व कसरी घट्यो मेरै घरमा । ओहो ! कसले राखिदिएछ यसलाई फाल्ने सामानको लिस्टमा । मेरा बाले कति रहर गरेर स्टुडियो जानुभयो होला ! कतिपटक, के मेरो फोटो बन्यो ?, भनेर कामको सिलसिलामा शहर जाने बेलामा सोध्न जानुभयो होला ! लिएर आएपछि आफैँले बनाउनुभएको घर, जुन घरमा मैले मेरो पूरा बाल्यकाल र युवावस्था बिताएँ, त्यो घरको बैठक कोठाको लिउन लगाएको भित्तामा झुण्ड्याउनु भयो होला । त्यही फोटा मैले देख्दैआएको हुँ । मेरा बाको स्मृतिको चिनो । म पुरानो कुरा भनेर कसरी कुनामा थन्क्याउन वा फाल्न सक्छु । बरु नयाँ प्रविधि लगाएर ठूलो बनाउँछु । यसरी बाको फोटो सुरक्षितसाथ राखेँ ।
पुरानो दराजमा केही लुगाहरू रहेछन् । त्यसमध्ये खुइलिसकेको, भुवाभुवा आएको ‘भी’ सेपको हातले बुनेको स्वेटर रहेछ । यसलाई पनि फाल्ने सूचिमा पो राखेको रहेछ । अति पुरानो, कसैलाई दिइहाले पनि लाउन नमिल्ने भनेर लेखिएको छ । यो त फाल्नै नहुने स्वेटर हो मेरो । नराम्रो भयो,पुरानो भयो, खुइलियो,भुवा निस्क्यो, मलाई ठीक हुनै छोड्यो, अलिअलि च्यात्तियो पनि, तैपनि मैले हरेक साल गर्मी महिनामा सुकाएर पट्याएर सुरक्षित राख्थेँ । के स्वेटरको भौतिक प्रयोग मात्र हुन्छ ? यो स्वेटर त मेरो प्रेमको चिनो । उनले आफ्नै हातले महिना दिन लगाएर बुनेर उपहार दिएकी । मैले बिहे हुनुभन्दा अघिको हिउँद यही स्वेटर लगाएर काटेको थिएँ । त्यो यस्तोबेला थियो जुनबेला मेसिनले स्वेटर बुन्ने चलन आइसकेको थियो । त्योभन्दा अघि त धेरैले ऊन किनेर घरघरमै स्वेटर बुन्थे । जे होस्, यो मेरो विशेष स्वेटर हो, जसलाई म फाल्न चाहन्नँ । यो स्वेटरको बायाँपट्टि अंग्रेजी अक्षर एल पनि बुनिएको छ । हामीले बुनेको मायाको न्यानो अझै छ यो स्वेटरमा । अहँ, यो फालिदैन ।
एउटा मोटो फाइल, दर्जनभन्दा बढी कापीहरू एउटा कुनामा असरल्ल फालिएको छ । के रहेछ भनेर हेरेको त अपूरा कथा र कविताहरू पो छन्, कुनै दिन यसलाई पुनर्लेखन गर्नुपर्ला भनेर राख्यो राख्यो तर कति वर्षदेखि फेरि पल्टाएर हेरेको छैन । त्यो कागज मिलाउनेलाई के थाहा, ती छरपस्ट कापी र कागजहरू मेरा लागि कति महत्वपूर्ण छन भनेर ।
हेरेँ , हेरेरै रिंगटा लाग्यो । कहिले मैले यसलाई समय दिने कहिले मिलाउने ? मिलाउँला नि कुनैदिन भनेर राख्यो, फेरि फर्केर हेरिएन । यसपटक पनि फाल्न पनि मन लागेन र दोहोर्याएर हेरेको पनि छैन । तैपनि मैले फेरि सर्सति हेरेँ र राखेँ ।
यसैमा फेला पर्यो “चौतारो बोल्यो” कविता संग्रह । मेरो पहिलो कविता संग्रहको अन्तिम प्रति । उबेला छाप्ने र बाँड्ने न हो । मेरा प्रकाशक राजन कार्कीले साझा प्रकाशनले वितरण गर्छ भनेर पाँच सय प्रति बुझाएको रे ! बुझाएको बुझाएकै भयो । बाँकी पाँच सय प्रति बाँडेरै सकियो ।
२०३६ सालमा प्रकाशित त्यो संग्रहको श्रेय त मित्र सम्पादक राजन कार्कीलार्ई नै जान्छ, उनकै जोडबलले जो छापियो । त्यतिखेर १९ वर्षको थिएँ, बागबजार छापाखानामा छापिएको थियो । छापाखानाका साहुजी सारै नरम र हँसिलो हुनुहन्थ्यो । राजनजी स्रोतस्वीनी नामक साहित्यिक पत्रिका पनि चलाउनु हुन्थ्यो । अझ त्यो पुस्तकको मुखपृष्ठ बनाउन जाँदाको स्मृति पनि ताजै छ । म र राजनजी मुखपृष्ठ बनाउन घण्टाघरको अमात्य जिंक ब्लकको कार्यालय घण्टाघर गयौँ । त्यहाँ एकजना कलाकार हुनुहुँदो रहेछ, पातलो ज्यानको । उसो त म पनि पातलै थिएँ । मलाई लाग्छ, ती कलाकार मभन्दा पनि दुब्ला थिए ।
मुखपृष्ठको कला “चौतारो बोल्यो” कवितामै आधारित भएर बन्यो । जस्तै चौतारो, भाँच्चिएको खुट्टा आदि । अलि मूर्त अलि अमूर्त । कला बनिसकेपछि परिचय गरियो, उनको नाम रहेछ मोहन खड्का, घर रविभवन । उनको नामभन्दा पनि ठेगानाले आकर्षित गर्यो । रविभवन भनेपछि झसङ्ग भइयो, कुन घर ? त्यसबेला यो सडकै सडकमा पनि खासै घर थिएन । घर त गन्न र सम्झन मिल्ने संख्यामा थियो ।
म नैकाप, राजनजी तीनठाना बस्ने । हामी दुवैजना रविभवनकै बाटो भएर जानुपर्ने । उतैतिरको भन्ने थाहा पाएपछि मोहनले पारिश्रमिक लिन मान्नु भएन, भन्नुभयो– यो मेरो उपहार नै भयो ।
त्यसदिनपछि मोहनजीसँग मेरो लामो दोस्ती चल्यो, उहाँको अन्तिम दिनसम्म । उहाँमात्र होइन, उहाँको पूरै परिवारसँग सम्बन्ध रह्यो । उहाँले पछि क्यालिग्राफिक स्टुडियो नामक ग्राफिक डिजाइन केन्द्र खोल्नुभयो, जहाँ धेरै लेखक प्रकाशकहरूसँग भेट हुन्थ्यो । अहिले सुन्दर बस्नेतजीको टाइम्स क्रियशन जस्तै ।
अँ, त्यो कविता संग्रह मसँग भएको अन्तिम प्रति थियो । वास्तवमा त्यो मेरो प्रति पनि थिएन । मैले त्यहीबेला लक्ष्मीलाई उपहार दिएको प्रति थियो । त्यसमा सानो नोट लेखेको थिएँ, “तिमी मेरै हौ म तिम्रै हुँ , यो पुस्तक पनि तिम्रै हो, तैपनि उपहार भनेर दिएको छु ।” यति लेखेर मैले हस्ताक्षर गरेको प्रति मसँग एकप्रति पनि नभएपछि आफैँले हेर्नको लागि लक्ष्मीसँग मागेको थिएँ । उनले पनि उनको दराजबाट निकालेर फोटाकपी गरेर फिर्ता गर्ने शर्तमा दिएकी थिइन् । पुरानो र उबेलै न्युजप्रिन्टमा छापिएको हुनाले अलि खुइलिसेकेको नै थियो । तर आज यो पुस्तक त फाल्ने सामानको लटमा पो राखिएको रहेछ । म कसरी फाल्नसक्छु ?
हेर्दाहेर्दै एउटा मोटो गाता भएको मोटो पुस्तक फेला पर्यो । ओहो ! यो पुस्तक त मैले २०३१ देखि २०३३ सालसम्म आइकम पढ्दा किनेको । युवा पाठकहरू तपाईँहरूले भन्नुहोला, के हो आइकम भनेको ? आइकम भनेको अंग्रेजी शब्द त हो, तर त्यसको अनुवाद “म आउँछु” भनेको चाहिँ होइन । त्यतिखेर एसएलसी पास गरिसकेपछि पढ्ने विषयलाई इन्टरमिडीएट इन कमर्श भनिन्थ्यो, त्यसलाई छोटकरीमा आइकम भनिएको हो । जस्तै, आइए भनेको इन्टरमिडीएट इन आर्टस, विज्ञान पढ्नेलाई आइएस्सी अर्थात इन्टरमिडीएट इन साइन्स ।
कमर्श पढ्दाको मजा र गारो विषय हो लेखा अर्थात एकाउण्ट, बुक किपिंग । त्यतिखेर ब्याट्लिब्वाइले लेखेको भारतमा प्रकाशित पुस्तक सबैभन्दा मोटो नै यही थियो । यो पुस्तक महंगो र नभइन हुने । बडो मुश्किलले किनेको । त्यतिखेर अहिले जस्तो झोलामा पुस्तक राखेर बोक्ने चलन थिएन । हातैमा बोक्ने हो । यो पुस्तक बोकेपछि, पढैयाजस्तो देखिन्थ्यो । त्यो पुस्तक एकपटक सररर… पल्टाएर हेरेँ ।
पुस्तकभित्र एउटा चिटिक्क परेको पिपलको पात रहेछ । मासु नभएको अस्थिपञ्जरजस्तै पातको भाग नभएको डांठैडांठको बुट्टेदार पात । सम्झें, पहिले पहिले पुस्तकमा यसरी पातको चिनो राख्ने चलन थियो र पुस्तकको बीचमा सहपाठीहरूलाई, म तिमीलाई प्रेम गर्छु, भन्ने सन्देश दिने एउटा बाहाना पनि । उसो त पुस्तक सापटी लिएर वा दिएर प्रेमपत्र नै हातले लेखेर पठाउने पनि चलन थियो । त्यो कक्षामा, त्योबेला, यी कुराबाट अलि अनभिज्ञ थिएँ म । मैले बुक किपिंगको नयाँ पुस्तक किनें र धेरै महिला र पुरुष साथीहरूलाई सापटी दिएँ । तीमध्ये कसैले राखेको होला त्यो पिपलको पात । त्यसरी पात राखेर महिनौंसम्म प्रतिक्रिया कुर्ने पनि चलन थियो अरे । यो कुरा त मैले ५ वर्षपछि थाहा पाएँ । एकजना त्यतिखेरकै सहपाठीमार्फत् । मैले सोधें– “त्यतिखेर नै किन नभनेको त ?”
“त्यतिखेर तँ सानै थिइस्, सबै भन्दा कान्छो, पुस्तकमा पीपलको पात र पत्र पठाएको पनि होस् नगर्ने, पत्र पनि थियो त्यो मैले निकालेँ र पत्रको जवाफ मैले नै दिएँ । पीपलको पातचाहिँ तँलाई नै छोडिदिएँ । किनभने, निकालेको भए त्यो पातलो पात बिग्रन्थ्यो । तेरो लबसब गर्ने उमेर थिएन, त्यसैले तैैंले बुझिनस् । तँबाहेक लब गर्न, केटी जिस्क्याउन हामी छँदै थियौं नि !”
मलाई त्यतिखेरको पब्लिक युथ क्याम्पस, धोबिचौर, फूल फुलेको सुन्दर बगैंचा, त्यतिखेरको जहिले पनि रिसाएको जस्तो देखिने कडा क्याम्पस प्रमुख ऐश्वर्यलाल प्रधानांग, मेरा सहपाठीहरू एकपटक सर्रर…. याद आए । यस्तो सुन्दर यादको श्रोत त्यो पुरानो पुस्तक फाल्न मन लागेन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।