यज्ञवल्क्यलाई गार्गीले र्‍याखर्‍याख्ती पारेकै हुन् भन्छ शास्त्र ।

कसरी पारिन् होला, यसो कल्पना गर्छु । खुसी पनि अगाधै लाग्छ ।

फुच्ची गार्गी । विद्वानहरूको सभा । गर्नुपर्ने शास्त्रार्थ । जो सर्वश्रेष्ठ विद्वान ठहर्छ, त्यसलाई सुनका असर्फी जडित १००० गाई दिने राजा जनकको घोषणा । हैट, सङ्ख्या त ठूलै हो । गाई त आउलान् अरे । कहाँबाट ल्याउनु घाँस ? कहाँबाट आउला चापट ?

त्यस युगमा पनि चापट ? हैट । चापट नभए पनि चापटको कुनै समकक्षी त थियो होला नि ।

हुन त मुलुकै जङ्गल । अहिलेको जस्तो भीर, पहरो, कुलो, थुम्को — सबै प्लटिङ गरेर उजाड पारेका थिएनन् कि !

शास्त्रार्थ त यज्ञवल्क्यले नै जिते क्यार । तर, अन्य सबै पुरुष विद्वानलाई उनले ठाउँको ठाउँ पारेपछि यज्ञवल्क्यलाई चाहिँ पानी पिउने बनाइछिन् गार्गीले ।
पानी नै चैँ पिएनन् होला । तर, शास्त्रार्थका कुरालाई जता जता बटारे पनि गाँठी कुरो भनेको ब्रह्मको बोध हो, व्याख्या हो भन्छन्, जान्ने–सुन्ने । यज्ञवल्क्यलाई यस गाँठी कुरासम्म प्रश्नले ठेलेर पुर्‍याएको नै गार्गीले रे ! नत्र, उनी बराल्लिएर कता कता, बेपत्ता । अन्य पुरुष विद्वानले त त्यो बराल्लिएको पनि थाहा पाएनन्, सायद ।

होइन त्यस संवादको कुरो चैँ के थियो ? माथिमाथिबाट पानी छम्केजस्तो गरेर भाग्ने ?

होइन । कुरो नै पानी छम्कने खालको थियो ।

— पानीमा सबै बिलाउँछ, पानी केमा बिलाउँछ ? वायुमा ।
— वायु केमा गएर मिसिन्छ ? अन्तरिक्षमा ।
— अन्तरिक्ष केमा मिसिन्छ ? आदित्य लोकमा ।
— आदित्य लोक केले धपक्क ? चन्द्रलोकले ।

हुँदाहुँदा यति प्रश्न सोध्न थालिछिन् कि…सायद भने होलान् यज्ञवल्क्यले, ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ? कहाँबाट ल्याउने ओक्सफोर्ड पढेको मान्छे नेपालमा ?’

यो नेपालको कथा हो र ? त्यो बेला नेपाल थियो ? उटपटाङ् !

— स्वर्गलोकभन्दा माथि, पृथ्वीलोकभन्दा तल र यी दुईका बीचमा जो छ, त्यो केले भरिएको छ ? भूतकाल र भविष्यत्काल केले बनेका हुन् ?
यी प्रश्न आजको मितिमा कसैले सोधेको भए सिधै पाटन ! कि राँची !

यो त खोई मुसो, दुलोभित्र पस्यो, खोई दुलो, गाईले कुल्च्यो, खोई गाई, पानी खान गयो टाइपको भएन र ?

दिक्क भएर यज्ञवल्क्यले भनेछन्, ‘यति विधि प्रश्न सोध्नेको दिमाग फुट्ला ।’

कलेजमा, आफूलाई अलि नआउने टाइपको प्रश्न कुनै विद्यार्थीले सोध्यो भने हामी पनि भन्छौँ— ‘क्लासमा धेर् हल्ला नगर्नू भनेको होइन अस्ति ? के सारो बोलेको ?’

तर गार्गी टेर्थिन् र ? उत्तर त चाहियो, चाहियो । भनेछन् ऋषिले — ‘एतस्य वा अक्षरस्य प्रशासने, गार्गी ।’ यानि, सबै कुरा अन्ततोगत्वा अक्षर अथवा अविनाशी अस्तित्वमै समाहित हुन्छ, जसको प्रशासनमा सबै कुरो टिकेको छ…। भन्दै भन्दै लगेर, त्यो ‘ब्रह्म’ हो सम्म भनेछन् ।

कुरो ब्रह्मको । हुन त यसलाई एउटा आध्यात्मिक आदर्श मान्ने पनि छन् । तर, आदर्शमा मानवताको हित छ र यथार्थमा अहित छ भने म आदर्शको पक्षमा मतदान गर्छु ।

यस्तो आदर्शमा केको हित ?

हित के भने, त्यो ब्रह्म भन्ने आदर्श, सारमा, पिण्ड र ब्रह्माण्ड दुवैलाई चलाउने ऊर्जाको नाम हो । त्यो ऊर्जाको अन्तिम स्रोत एकै हो । त्यसले कता कता विचरण गरेर पुनः टुङ्गो लाग्ने ठाउँ पनि एकै हो । जगतमा देखिएका जड–चेतन र शरीरधारी — त्यसै ऊर्जाका अभिव्यक्तिका माध्यम हुन् । यानि, हामी नर भन्नु, नारी भन्नु, ब्रह्मको प्रटकीकरणका माध्यम हौँ ।

हैट्, यो त गाउँघरमा पुराण सुन्न गएजस्तो पो भयो ! हातमा पुष्प लिइहाल्नु जस्तो पो भयो कि ?

कुरो के भने, हामी पुरुष हुनु, वा महिला हुनुको अर्थमा जुन झगडा गर्छौँ, त्यो झगडा आवरणको पो रहेछ । चुरो कुरो त एउटै पो रहेछ !

यो चिन्तन पूर्वेली हो ।

नारीवादका सन्दर्भमा पश्चिमा चिन्तन, सुरूदेखि नै असमान अस्तित्वको जगमा उभियो । अर्थ के भने, पुरुष र महिला फरक हुन् । शरीर फरक । त्यसैले, प्रकृति फरक । दिमाग फरक । भावना फरक । भावुकता फरक । संवेदनशीलता फरक । सोचै फरक । विश्वदृष्टि फरक ।

हुँदाहुँदा भविष्यको बारेमा सोच्दा महिलाहरू छोटो सोच्छन्, पुरुषहरू सुदूर भविष्यको सोच्छन् भन्ने पनि एउटा कुतर्क फैलाइयो । मेरो निजी अनुभवमा ठ्याक्कै उल्टो छ । आमाले सधैँ धेरै लामो सोचेको पाएको छु । मेरै घरमा पनि अर्को वर्षको तयारी मैले कहिल्यै गरिनँ । त्यो सबै रमा अधिकारीजीकै जिम्मा । मैल चैँ हदै भए अर्को शुक्रबार साँझतिर कुन कुन साथीभाइ बोलाएर ‘बस्ने’ सम्म सोचेको हुन्छु । त्यस बसाइमा केके पकाउने, कहिले ल्याउने, कहाँबाट ल्याउने…उनकै जिम्मा । अँ, स्वास्थ्य बीमा गरौँ भन्ने पनि उनको सोच ! बारीमा फलेका मूला ल्याइहालौँ, खाइहालौँ भन्ने चैँ मेरो ।

यहाँसम्म कि विश्वमा ज्ञानको एउटा बलियो केन्द्र मानिएको अक्फोर्ड विश्वविद्यालयको एउटा रमाइलो कुरो सुनाउँछु । लेखेका छन् पिटर विडोसनले ‘लिटरेचर’ नामको पुस्तकमा । साहित्य ‘भावुक’ विषय मानिएको र महिला पनि भावुक र कोमल मानिने हुँदा ओक्सफोर्ड विश्वविद्यालयमा यसको पढाइ महिलाहरूका लागि विशेष भनेर थालिएको रे ! पुरुषको ‘बौद्धिक शक्ति’को एउटा कोमल विकल्प रे महिलाहरूका लागि ! पुरुष भने अङ्कगणित र आदिम शास्त्र पढ्ने रे ! महिलालक्षित पाठ्यक्रममा पढाइने साहित्य चाहिँ ‘पिङ्क सनसेट’ अथवा ‘शेलीका बारेमा गरिने सामान्य गफ’ रे ! ‘शेली’ माने ‘मेरी शेली’ । तर रमाइलो के भने, पहिलोपल्ट खोलिएको यस्तो साहित्य विभागका प्राध्यापक भने पुरुष — वाल्टर रले । क्याम्ब्रिजतिर चैँ सर आर्थर क्विलर कौच ।

पछि गएर कुरो फेरियो । पूर्वका विश्वविद्यालयतिर चैँ यस्तो चैँ सायद देखिएन । त्यसैले भन्छु, पश्चिमा सोच खोटी छ, महिलालाई बुझ्ने सन्दर्भमा ।

सिड्नी विश्वविद्यालयले पचास हजार जनाबीच एउटा शोध गर्‍यो । शोधकर्ता थिए सह–प्राध्यापक स्टेफेन भोल्क । विषय थियो— को सुदूरको सोच्छ वा निर्णय गर्छ, पुरुष कि महिला ? चिनोड आयो, पुरुष । त्यसै शोधमा भनिएको छ— त्यस्ता निर्णयको परिणाम सकारात्मक वा नकारात्मक जे पनि हुन सक्छ, तर महिलाभन्दा पुरुष बढी सुदूरको सोच्छन्, र बढी जोखिम मोलेर निर्णय लिन्छन् ।

शोधले जो पो देखाएको होस्, सिडनीको विश्वविद्यालयले भन्यो भन्दैमा यसमा ल्याप्चे हान्न मलाई चैँ मेरो निजी अनुभवले दिँदैन । तपाईंकोले पनि दिँदैन । कि दिन्छ ? हाम्रो निजी अनुभवसम्म त्यो शोधकर्ता आइपुगेको होइन ।

को कति सुदूरको सोच्छ, त्यो लिङ्गको करामत होइन, मेरो बुझाइमा । त्यो व्यक्तिको निजी स्वभाव, बानी, चिन्तन वा अभ्यासको कुरा हो । सम्झना छ, अधिकारी मितबाको । छोरीहरू दिनभरि नदी किनारमा डुलेर झिँजा दाउरा खोजेर ल्याउने । पुसमाघको जाडो । साँझ मितबाले हुरुरु बाल्ने, हात गोडा तताउने ।

छोरी — बुवा, नबाल्नू न । भोलि केले भात पकाउनु ?

बा — चुप लाग् । भोलि दैवले जुटाउँछ ।

अर्को कथा पनि देखेँ । छिमेकीले दोकान खोल्ने भए । बुहारीले चलाउने । बिस्कुट बढी बिक्ने ।

दोकान खुल्यो । तर बिस्कुट छिटोछिटो सकिने । पैसा भने खासै नआएको गुनासो । ससुराले केही दिनपछि अनुसन्धान गरेछन् । बिस्कुट कता गए थाहा भएन । खोल भने भकारीभरि भेटिए रे !

उफ्, कुन वाद ? कुन स्वभाव कुन लिङ्गको ?
भनियो— अमेरिकाको एरिजोआना बस्ने ‘होपी’ समुदायको भाषामा समयवाची शब्दै नै छैनन् । अब, समयवाची शब्दै नभएपछि कसले कति सोच्नु भविष्यको कुरा ? अथवा, वर्तमान वा विगतको कुरा?

हैट्, गाँठो । जुन कुराका लागि शब्दै बनेको छैन, त्यसको बारेमा सोच्छ वा सोच्दैन मान्छेले ? भाषाशास्त्रीहरू भन्छन्— सोच्दैन ।

झट्ट सुन्दा लाग्छ— नहुने कुरो । सोचिन्छ नि, गाँठे ।

भो, यो अर्कै बहस हो । यहाँ हामीलाई नारीवादकै कुरो गरेर पुगेको छैन ।

कुरो फेरि नारीवादको ।

होइन यो पौडेललाई नारीवाद कति मन परेको ? लेखेको छ, लखेको छ, लेखेको छ…

शताब्दिऔँदेखि नारीको दमनको एउटा काइते तर्क अघि सारियो — नारीहरूमा बौद्धिक क्षमता अपेक्षाकृत कम हुन्छ । भनियो— सिर्जनकर्मका लागि नारीहरू योग्य छैनन् । धेरथोर लेख्नेले पुरुषका छद्म नाम राखेर लेखे । यो मूलतः पाश्चात्य दाबी हो । चिन्तन हो । यसको जड धेरै पुरानो छ । यसलाई आजसम्म तन्काएर दमको यन्त्र बनाइयो ।

नारीमा बौद्धिकता अलि कम हुन्छ भन्ने कुतर्क पूर्वीय चिन्तनमा छैन । तर, यस कुरालाई हामीले सैद्धान्तिकृत गरेर व्यवहारमा ल्याएनौँ । अध्ययनमा पनि ल्याएनौँ । चर्चा खासै गरेनौँ ।

नारीवाद भन्यो कि — उतैको वादमा पुग्यौँ । हुन त, सजिलो खोज्नु हाम्रो बानी हो । हामीले समालोचकीय सिद्धान्त तथा अध्ययन पद्धति निर्माणमा पनि सिन्को भाँचेनौँ नि ! अँ, पूर्वीय शास्त्रहुँदी पाइने छन्द अलङ्कार, रस सिद्धान्त आदि कुरा पनि संरचनाका कुरा हुन् । दर्शनहरू बढी धर्म र अध्यात्मकतिर ढल्के । अँ, लीलालेखन र तेस्रो आयामले सिर्जना र अध्ययनका केही नयाँ पद्धति बनाउने कोसिस गरेको जरुर हो, तर अनुयायी र नयाँ पुस्ताका प्रयोगकर्ताको अभावमा घिटिक–घिटिक । बाँकी त उतैबाट ल्यायो, चपायो । हजमोला खल्तीमा । यह आराम का मामला है !

नारीको महत्ता, अस्मिता र सशक्तीकरणसँग जोडिएको अति संवेदनशील विषयको अध्ययनका लागि पाश्चात्य नारीवाद हाम्रा लागि उपयुक्त छँदै छैन । उनीहरूले यताको दर्शनको कुरो भित्री तहसम्म पुगेर बुझ्दैनन् । यताको समाजमा भेटिने लैङ्गिक सम्बन्ध, समानता, दमन, हैकम, मातृसत्ता, पितृसत्ता…सबै सबैको सटीक व्याख्याका लागि यतैको सिद्धान्त र दर्शनको जग चाहिन्छ । छ, हामीसँग छ दर्शन । तर अलि खनेनौँ । अँ, धार्मिक प्रवचनमा चैँ खूब सुन्यौँ— पूर्वमा नारीको स्थान देवीको जस्तो उच्च छ । तर, समाजमा, व्यवहारतः भेटिने विभेदको चुरो पत्तै लगाएनौँ । समस्या दर्शनमा कम र परम्परामा बढी छ । परम्पारा निर्माणमा शासकको स्वार्थको सास पसेको हुन्छ धेरथोर । कुरा त्यहाँबाट बटार्रिन थाल्छ, टिमुरिन थाल्छ । त्यहीँबाट सुरु हुन्छ, व्यवस्थाको प्रयोग गरेर मान्छेलाई सम्मोहित गर्ने र अलि अगाडि बढेर, कालान्तरमा दमन गर्ने काम ।

त्यसलाई सिद्धान्तकार लुई अल्थुसरले ‘इन्टरपेलेसन’ भनेका हुन् ।

कतिखेर, कुन मोडमा, केको आडमा, कसको स्वार्थमा दर्शन र परम्परा बेरिन पुगे, र कुन मितिदेखि दर्शन र परम्परा एकैजस्तो देखिन थाले, वा मानिन थाले, त्यो कसैले पत्ता लाउन सकेको छैन । त्यसले पनि, केलाई ‘डिकन्स्ट्रक’ गर्ने, थाहै पाइएको छैन । यसै कुइरीमण्डलमा कता कता दिशाहीन भएका छन् हाम्रा पुरुषवाद र नारीवाद । भन्नुपर्ने के हो, त्यो धेरथोर थाहा छ । तर गर्नुपर्ने चाहिँ के, कसैले थाहा पाएको देखिएन । दिनभरि दोबाटोमा भाषण गर्‍यो । साँझ घर फर्केर फेरि उनै परम्परागत दायित्वहरूको साङ्लोमा आफूलाई बाँध्यो । आफैँ निर्णायक भएका ठाउँमा पनि केले हामीलाई परम्परागत लैङ्गिक दायित्वबाट मुक्त गर्न सक्दैन ?

हामी यस्तो किनारबिनाको अभ्यासमा अल्झेका छौँ ।

त्यसमा थप मलजल गरेको छ दूरदेशको, अर्कै, फरक, बिल्कुलै पृथक् समाजलाई हेरेर बनाइएका सिद्धान्तको सिको, र ‘टाँसो’ ले । कति टाँस्नु ? कति वर्षसम्म टाँस्नु ?

टाँसेका पैसाले बिस्टुक किन्दा भन्यौँ, ‘थाहा पाएन दोकानेले ।’

त्यो पैसाले कतिपल्ट, कति दिन बिस्कुट किन्ला — त्यो चिन्ता अरूकै हो भनेर चुप लाग्यौँ । बोल्दा यो दूरगामी भएन कि सोच ?

सैद्धान्तिक विमर्शका अस्त्रहरू हामीले खुरुखुरु उतैबाट ल्याउँदै आफू बिग्रँदै गरेको सत्य हो । हामीलाई, जेरी मेण्डरले भनेजस्तो, ‘बच्चाका लागि आमाको दूध नै सर्वोत्तम आहार हो’ भन्नलाई पनि ‘फलानो शोधकर्ताले भनेको’ भन्नुपर्छ । मैले ठिमीतिर उभिएर, ‘हनुमान्ते किनारको माटो मलिलो छ,’ भनेँ भने आफू बस्ने टोलको बढाइँ गर्‍यो भन्लान् ! तर, कुन्नी कुन् हो कुइरेका अन्सार भनेर भनेँ भने सबैले पत्याउँछन् । अझ ‘अल्बर्ट आन्स्टाइनकै अनुसार’ भन्ने हो भने त सबैले पत्याउँछन् ।

कुनै पनि सामाजिक सिद्धान्तको वैधानिकता विश्वव्यापी हुँदैन । यो कुरा दिलमा राख्दा हुन्छ । किन भन्दा, त्यो सिद्धान्त कुनै समाज विशेषमा उभिएर आएको हुन्छ । अन्यत्र, फरक समाज हुन्छन् । लागु हुँदैन । यहाँसम्म कि मार्क्सवाद पनि कतिपय ठाउँमा उम्लेको तेलमा पानीका छिटा परेजस्तै भएर गयो ।

अनि नारीवाद वा पुरुषवादका त के कुरा ?

तै पनि, उताबाट आएको भनेपछि खुरुखुरु पत्याउनु हाम्रो नियति भएको छ ।

यो उता भनेको कता ? उता— युरोप वा अमेरिका ।

सिफारिस— जेरी मेण्डरको निबन्ध ‘वालिङ अफ अवेरनेश’ । नेटमा सजिलै भेटिन्छ । अस्ति, लुतो कन्याउनबाट थोरै फुर्सद निस्कँदा पढेको थिएँ थोरै । हाँसो लाग्यो ।

यो, सबै कुराको प्रमाणपत्र प्लेटो र एरेस्टिोटलकै सेसन्तरका हातबाट ल्याउने बानीले नारीवाद बिग्रिएको । पुरुषवाद बिग्रिएको । वादहरूको लामो शृङ्खला बिग्रिएको ।

ग्रिसेलीहरूमा एउटा गम्भीर विरोधाभास थियो । तिनका मिथकमा नारीको स्थान उच्च थियो । उनका देवी कति हो कति ! करिब करिब हरेक कुरामा देवी सर्वोपरि तर व्यवहारमा चैँ अलि फरक । ग्रिसेली मिथकलाई एकछिन् मिल्क्याऔँ । इतिहासतिर यसो आँखा लाउँदा यो करिब करिब पुरुषकै इतिहास हुन पुगेको देखिन्छ ।

त्यसैले, पाश्चात्य नारीवादको मूल कुरो विरोध, प्रतिरोध, विद्रोह र टक्करकै वरिपरि हिँड्यो । सुरू सुरूमा त, भोट हाल्न पाउनुपर्‍यो, पढ्न जान पाउनुपर्‍यो, कामको तलप बराबर हुनुपर्‍यो आदि आदि मुद्दा नै सर्वोपरि थिए । पहिलो चरणमा भनौँ न । तेस्रो चरणदेखि चैँ पुरुषमाथि भन्दा पनि यी दमनका कारक सिद्धान्तमाथि प्रश्न गर्ने वा तिनको विनिर्माण गर्ने काम सुरू भएदेखि पश्चिमा नारीवादले एउटा सैद्धान्तिक र दार्शनिक बहसको रूप लिएको हो । यसको एउटा फाइदा के भयो भने, दमनका सूत्र अलैङ्गिक हुन्छन् भन्ने कुरो आयो । तिनले दमित पुरुष हो वा महिला भनेर हेर्दैनन् । तिनले त, जसको दमन गर्दा सत्ता र शक्तिलाई फाइदा हुन्छ, त्यसैलाई हेर्छन् । पश्चिमा लैङ्गिक विमर्शमा, त्यसपछि पुरुष–महिला द्विचरको कुरो धूमिल भएर गयो । भनौँ न, विमर्शले पीडितलाई एकातिर र दमनका सिद्धान्तलाई अर्कातिर राखेर हेर्न थाल्यो ।

नेपालतिर नारीवाद यो तहको सिद्धान्त र दर्शनतिर अझै लम्किएन । नारीवाद र विनिर्माणवाद — यिनलाई जोड्ने जोडन भेटिएकै छैन । हडचुरको चोपले टाँस्दा टाँसिन्न, सायद । यहाँ कार्यक्रमहरूमा घुम्दा थाहा पाइन्छ — कुरो पुरुष र महिलाको लाप्पाकै छ । कुरो निकै नै पुरानो ।

भन्न खोजेको के हो ? फेद न टुप्पोको कुरो ।

अनि कि, ‘नारीवाद’ भन्दा पुग्ने ठाउँमा किन अनेकका सिङ र पुच्छर जोडे त मन्छेहरूले ? किन भन्दा, दक्षिण अमेरिकाको मकैको बिउले नेपालमा लगानी डुबाएकै हो । मकैको त आन्दोलन नै भयो नि ? म आफैँ रोकिएको थिएँ कुनै बेला चन्द्र निगाहपुरमा दिनभरि । सडक जाम । मकैको बीउ कारण । म सानो छँदा ‘जया’ नामको नयाँ धानको बीउ आयो भनेर हल्ला गरे गाउँमा । रोपे । हललह गाभा । फल्यो पनि । फल्यो भन्दा पनि फुल्यो । भुस फल्यो — बोराका बोरा ।

जमाइका किन्केइडलाई सम्झन्छु । ‘एलियन सोइल’ शीर्षकको एउटा लेखमा लेख्छिन्— बेलायतीहरूले एन्टिगुवा कब्जा गरे । कहाँकहाँबाट विदेशी फलफूल ल्याए, रोपे । जन्तु ल्याए, जङ्गलमा छाडे । देशी जीवनजन्तु र बोटविरुवा सखाप । माटो खराब । रूप ध्वस्त एन्टिगुआको ।

जमिनी चिन्तनलाई प्रभावित पार्ने कुनै पनि दर्शन वा सिद्धान्तलाई जस्ताको तस्तै अर्को मुलुकमा लाद्नु हुँदैन । त्यो हानीकारक हुन्छ ।

यसको प्रमाण भनेको नारीवादका अगाडि जोडिने विशेषणहरू हुन्, जस्तै अश्वेत नारीवाद, इस्लामिक नारीवाद, तेस्रो–वैश्विक नारीवाद आदि । यी त भए भूगोल वा संस्कृतिसँग जोडेर बनाइएका नारीवाद । कतिको कडा वा लचिला छन्, त्यो हेरेर लिबरल फेमिनिज्म र रेडिकल फेमिनिज्म पनि भनियो । उता, अध्ययन–क्षेत्रसँग जोडेर पनि नयाँ नयाँ ठिम्मर आए— इको–फेमिनिज्म, मार्क्सिस्ट फेमिनिज्म, कल्चरल फेमिनिज्म । अचेल अचेल त अझ ‘आई–फेमिनिज्म’ रे ! यानि, इन्डिभिज्युल फेमिनिज्म ! यानि, एक महिलाका व्यक्तिगत चयनहरूको स्वतन्त्रामा आधारित नारीवाद ।

कति कति ! करिब करिब हाम्रा जनप्रतिनिधिजति नै भनौँ न !

नारीवादको स्वभावले बाँदरलाई लिस्नो लाएकै हो । हामीले नेपाली भूभागमा बसेर नारीवादको चर्चा गरिहँदा कुन देउताको आत्मा जगाउने ? उही साइमोन दि बुवा, भर्जिनिया वुल्फ वा एलेन सोवाल्टरकै आत्मा जगाउँदा देउता आउलान् ? कि नआउलान् ?

अँ, धुरौपे र सेउले चैँ हामी छौँ है !

सोलोडोलो रूपमा पश्चिम, विशेष गरी युरोपलाई हेर्दा के देखिन्छ भने, त्यहाँको सामाजिक व्यवस्था करिब करिब उस्तै छ । अँ, परिवारहरू आर्थिक सामर्थ्यका आधारमा भिन्न होलान्, तर सांस्कृतिक आधारमा उस्तै उस्तै लाग्छन् । पूर्वतिर त्यसो छैन । गाउँगाउँमा भिन्नता छ । टोलटोलमा भिन्नता छ । नेपालकै कुरा गर्दा यहीँका परिवारमा रजस्वला नहुँदै छारीको बिहे गरेर स्वर्ग जान खोज्नेदेखि बहुपति प्रथा अँगाल्ने, लोग्ने मरे देवरसँग बिहे गर्नेदेखि आंशिक रूपमा मातृसत्ताकै निर्देशनमा समाज चलाउने समुदाय पनि छन् । पितृसत्ताकै कुरा गर्दा, यसले समाजलाई हेर्ने दृष्टिकोण, व्याख्या गर्ने महिला–पुरुष सम्बन्ध, विवाहको व्यहार, अर्थ र विश्लेषण — समाजैपिच्छे फरक छ । यस्तोमा एउटै प्रकारको, विश्वब्रह्माण्डव्यापी, पाश्चात्य नारीवादले नै काम गर्छ भन्ने भ्रमबाट मुक्त हुँदा कपाल फुलिहाल्दैन । फुलिहाल्यो भने फुलेको राम्रो भन्दियो, सक्किगो नि !

नेपालका छरछिमेकतिर हेरौँ । उत्तरपूर्वी भारतका कतिपय आदिवासीहरूमा हुने वाला ज्वाइँले केही समय हुनेवाला ससुरालीमा बसेर खूब काम गर्नुपर्ने । काम गर्न सक्ने खालको निस्कियो भने भुसतिघ्रेले केटी पायो । मानीमरुवा निस्कियो भने पाएन । अर्कातिर चैँ, गर्भाधान गराउन सक्छ वा सक्दैन भनेर पहिल्यै टेस्ट । सक्ने भयो भने बिहे । नत्र, सेहे ।

समाज पनि कस्ता कस्ता ! यस्तोमा, दूरदेशबाट विमान चढेर आएको फेमिनिज्मले सभा बिथोल्नेबाहेक केही गरेको बुझिँदैन । उतैका मान्यता, उतैका शब्दावली, उतैका परिभाषा, उतैका अध्ययन वा शोधविधि, उतैका सिद्धान्त, उतैका दर्शन । कुरा उताका ।

कुरो मिल्छ ?

काट्टे मिल्दैन । मारे मिल्दैन । मारेपछि त सक्किगो नि !

भन्नुको अर्थ के भने, कुन वैज्ञानिक प्रक्रियाका लागि कुन कुन रसायन चाहिन्छन्, र तिनको योग वा विग्रहबाट कुन कुन नयाँ कुरा निस्कन्छन् भन्ने कुराको सूत्र चैँ विश्वभरि एकै होला, तर समाजको विश्लेषणको सूत्र सर्वत्र एउटै हुन्छ भन्ने कुरो मानिहाल्नुपर्ने कुरा हुँदैन । लैङ्गिक सम्बन्धकै कुरा गर्दा, यसलाई हामीले परिभाषित गर्ने कतिपय शब्दावली वा वाक्यांश उनीहरू बुझ्दैनन् । लु न, सोधौँ— मध्यनाडी, मध्यनाडी जुध्यो । अब गाईको सेवा गराऊ बेउला–बेउलीलाई । बेउलो माङ्गलिक पर्‍यो, खुरुक्क चाँदीको प्रतिमा वा आँकसँग बिहे गराऊ । लग्नमा शुक्र परेछ, चोर गाईले जस्तो अर्काको बाली ताकिरहन्छ केटाले…

यी कुरा कस्ता कुरा हुन् ? यस्ता विश्वासका बीचको नारीवाद वा पुरुषवाद कस्तो हुनु ?

हामीले सहरबजारको मञ्च र डबलीमा गरेका तर्कले गाउँमा लैङ्गिक विभेदलाई परिभाषित गरिरहेको तर्कलाई छुँदैन । पीडितलाई पनि छुँदैन । सायद हामीले विविध समाजका विविध व्यवस्थाका पृथक् पृथक् व्याख्या–विश्लेषण गर्नुपर्छ । ‘नारीवाद’ वा ‘पुरुषवाद’ भनेर सबैतिर लिपपोत गर्नु उचित हुँदैन । तिनका सूक्ष्मस्वरूप समाजैपिच्छे पृथक् हुन्छ । त्यो पृथकताप्रति हामी सजग हुनु जरुरी हुन्छ ।

नत्र, सन् १९४९ को भदौतिर साइमन दि बुवाकै अगाडि फुटेका हाम्रा आँखाले सबैतिर हरियै देख्छ । पराललाई हरियो देखेर, घाँस भनेर चपाइरहने गोरुलाई कुन वादमा राखेर अध्ययन गर्नु खै ?