१. ‘भाग्यमान’बाट ‘भूपेन्द्रमान’, ‘सर्वहारा’ हुँदै बनेका ‘भूपी’

भूपी शेरचन

कहिलेकहीँ लाग्छ – भूपीले भनेको बिल्कुल साँचो हो । यो ‘हल्लैहल्लाको देश’ हो । कुरा उनै कवि भूपीको हो । तर हल्लाको होइन । उनको नामको हो । नामहरुको अध्यायको हो । अँ, नामको पनि अध्याय हुँदो रहेछ है !

‘पीएस–पेडिया’ उर्फ प्रकाश सायामीलाई मान्ने हो भने भूपीको वास्तविक नाम भूपेन्द्रमान शेरचन होइन । चलनचल्तीमा नआए पनि उनको पहिलो नाम भाग्यमान शेरचन हो । भाग्यमाथि अविश्वासकै कारणले पो उनी भूपेन्द्रमान बनेका हुन कि ! अड्कलबाजी !!

मुस्ताङ, थाकखोलाका नामुद व्यापारी हितमान शेरचनका पाँचौं छोरा भूपेन्द्रमानले पाँच वर्षकै उमेरमा ‘आमा टोकुवा’को आरोप तत्कालीन समाजले लगाएको हल्ला पत्याउनै पर्ने हुन्छ । किशोरकालमै पढ्का लागि बनारस गएका भूपी पारिवारिक प्रेमबाट वञ्चित पनि भए । समाजमा प्रचलित कुसंस्कार विरुद्ध सानै उमेरबाट लडिरहेका उनमा यी घटनाहरुको प्रभाव पनि कहीँकतै पक्कै परेकै थियो (होला !) ।

अँ, कुरो भूपीको हो । भाग्यमान, भूपेन्द्रमान र सर्वहाराको हो । भूपीका नामहरुको हो ।

बनारस विश्वविद्यालयको सभाकक्षमा नेपाली छात्रा सङ्घले नाटक मञ्चन गर्यो – जनवाद । उक्त नाटकमा ‘धन्यवाद तिम्रो, जनवाद हाम्रो’ बोलको झ्याउरे गीत भूपी आफैंले गाएका थिए । जहाँ उनको नाममा ‘सर्वहारा’ उपनाम जोडियो । सर्वहारा अर्थात् कम्युनिस्ट !

काङ्ग्रेसका नेता योगेन्द्रमानका भाइ भूपेन्द्रमान । उनी सर्वहारा भने पनि दाजु–भाइको सम्बन्ध बिग्रियो । सैद्धान्तिक विवादका कारण भूपेन्द्रमानले डेरा नै सर्नुपर्यो । तर ‘सर्वहारा’को अध्याय सकिएन, बरु सुरु भयो । सर्वहाराको उपनामबाट भूपीले निरन्तर कविताहरु लेख्न थाले । विद्यार्थीकालमै अध्ययन छोडेर सर्वहारा ‘भद्र अवज्ञा आन्दोलन’मा सहभागी हुन नेपाल आयो, र उनी जेल परे ।

भूपीलाई नाटक परिवर्तन (२०१०), गीति कवितासङ्ग्रह नयाँ झ्याउरे (ई १९५४) मा भूपेन्द्रमान शेरचन ‘सर्वहारा’का रुपमा पाइन्छ भने निर्झर (२०१५) मा भने उनले आफूलाई बीएम (भूपेन्द्रमान) शेरचनका रुपमा रहेका छन् । बहुचर्चित कवितासङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (२०२५) मा भने उनेले आफूलाई भूपी शेरचनका रुपमा उभ्याएका छन् । र, आज उनको सम्पूर्ण परिचय नै ‘भूपी शेरचन’ बनेको छ । बाँकी कुरा इतिहासका रुपमा सुरक्षित बसेका छन् ।

अँ, भूपी मुख्यत: भूपेन्द्रमान शेरचन ‘सर्वहारा’ र भूपी शेरचन गरी दुई नामबाट साहित्य सिर्जनामा समर्पित भए । ‘सर्वहारा’को उचाई पनि सानो होइन, १५–१६ सालतिर नेपाली कवितामा चर्चाकै शिखरमा रहेको बताइन्छ । ‘भूपी शेरचन’को कवि व्यक्तित्वको भव्यताअघि ‘सर्वहार’ सानो भएको भने पक्का हो ।

अन्तिममा एक जानकारी पनि लिइहाल्नुहोस् । राजु झल्लु प्रसादको लेखनी रहेको ‘….त्यसपछि भूपीले कविता लेख्न छोडे !’ शीर्षकमा भूपी हुनुका कहालीलाग्दा किस्साहरु विस्तृतमा पढ्न सक्नुहुने छ ।

===

२. वात्स्यायन – जो ढाँटेर दिल्ली गए, १५ दिन भौंतारिएर फर्किए

वात्स्यायन

दुर्गा बराल अर्थात् वात्स्यायन । दुर्गा बराल अर्थात् कलाकार । वात्स्यायन अर्थात् कार्टुनिस्ट । वात्स्यायनका तीखा कार्टुनहरु पत्रपत्रिकामा हेरेर मुग्द नभएको को नै पो होला र !

खैर, ६ दसकभन्दा लामो समय नेपाली कला क्षेत्रमा समर्पित वात्स्यायनको ८० औं जन्मदिनका अवसरमा पोखराका तीन दर्जन सङ्घ–संस्थाले नागरिक अभिनन्दनसहित रथारोहण गराएका छन् । र, त्यही अवसरमा वात्स्यायनले सुदूर विगतमा फर्किएर केही रोचक भोगाइ साझा गरेका छन् । पढ्नुहोस् है त वात्स्यायनको प्रतिनिधि रोचक भोगाइ !

कुरो के भने, कलाको भोकले डोर्याएर वात्स्यायनलाई पोखराबाट काठमाडौं ल्याएको थियो । त्योबेला उनी तेर्सापट्टीस्थित मलेरिया तथा औंला उन्मुलन अफिसमा स्टोर किपरको काम गर्थे । केही पैसा जम्मा गरे, र काठमाडौं आए ।

वात्स्यायनको १६ वर्षकै उमेरमा मागी विवाह भएको थियो । उनी काठमाडौं आएसि औंलो उन्मुलन तालिमका लागि श्रीमती पनि काठमाडौं नै आइन् । श्रीमती आउँदासम्म वात्स्यायनसँग आफूले ल्याएको पैसा लगभग सकिइसकेको थियो । त्यसमाथि श्रीमतीलाई समेत पाल्नुपर्ने अवस्था आयो । र, उनले श्रीमतीलाई तालिम सकिएर फर्किन भनी आफू भने पोखरा फर्किहाल्ने मन बनाए ।

मन त बनाए, तर उनीसँग पोखरा फर्किन पुग्ने पैसासमेत थिएन । ‘भान्जा पोखरा फर्किन्छ, पैसा पठाइदिनू’ भन्ने खबर उनले पोखरा जाने मान्छेमार्फत् मावलीमा पठाए । पैसा आयो । त्यसबेला प्लेन भाडा ७५ रुपियाँ थियो ।

तर हातमा परेपछि उनको मन फेरियो । काल पढ्न भनेर आएका उनलाई फेरि पोखरा फर्किन गाह्रो भयो । र, जहानलाई ढाँटेर, पोखरा जान्छु भनी उनी दिल्लीतिर लागे ।

काठमाडौंमै बस्न गाह्रो थियो उनलाई, दिल्लीमा झन् के सजिलो हुन्थ्यो । बरु त्यहाँ उनले प्रकाश नामका पेन्टर भेटे । उसले उनलाई दिल्लीमा टफ कम्पिटिसन भएकाले नेपालै फर्किन सुझाव दिए । नेपाल सानो देश भएकाले जे कुरा गर्न पनि सजिलो भएको बताए ।

र, अन्तत: कला पढ्ने मनसुवा लिएर दिल्ली पुगेका वात्स्यायन १५ दिन दिल्लीका गल्लीहरुमा भौंतारिएर काठमाडौं नै फर्किए ।
कुरो यत्ति नै हो । सकियो । तर नि, वात्स्यायनको तपाईंलाई सबैभन्दा मन परेको कार्टुन कुन हो ? स्तम्भकारलाई जान्न मन लाग्यो क्या !!

===

३. को थिइन् जंगबहादुरको सती पठाइएकी ‘पुतली महारानी’ ?

जंगबहादुर

विख्यातीले भनौं वा कुख्यातीले, नेपालको इतिहासमा सधैं सम्झिइरहने नाम हो जंगबहादुर राणा । जंगबहादुरलाई सम्झिनौ पर्ने प्रमुख कारणहरु धेरै छन् । तर यहाँ एक सहायक कारणको कुरा गरिदैछ । र, त्यसो केन्द्रमा छिन् पुतली महारानी ।

नेपाली इतिहासका चर्चित पात्रहरुमध्ये सबैभन्दा परस्त्रीगामी पुरुष जंगबहादुर हुन् । उनका मात्र ४२ पत्नी थिए । त्यसका अलवा देश–विदेशका अन्य स्त्रीसँग रासलीला रचाउने चाँजोपाँजो पनि उनी मिलाइरहने गर्थे । युरोपका यौनकर्मीसँगको उनको सम्बन्ध त चर्चित छँदै छ । यति धेरै महिलाबाट यौनसुख दोहन गर्न पाएकाले उनी आफ्ना पत्नीहरुसँग प्रेमपूर्ण व्यवहार गर्न आवश्यक ठान्दैन थिए । पत्नीहरुलाई कुटपिटै गर्थे । (रानी–महारानीका नीलडाम, सुजित मैनाली, कान्तिपुर) ।

र, तीनै पत्नीहरुमध्ये एक थिइन् पुतली महारानी पनि । अझै पनि प्रश्न बाँकी नै छ है, को थिइन् पुतली महारानी ?

अब चुरो कुरोको पालो ।

पुतली नानी राजा राजेन्द्रविक्रम शाहको दरबारमा सुसारे थिइन् । राजा राजेन्द्रका साथै उनी जंगबहादुरका लागि पनि काम गर्थिन् । उनले दरबारभित्रका गोप्य सूचनाहरु सम्प्रेषण गरेर जंगबहादुरको उदयमा टेवा पुर्याएकी थिइन् ।

जंगबहादुर सत्तामा आए । पुतली नानीलाई पनि आफ्नै दरबारमा ल्याए । दरबारकी सुसारेलाई रानी बनाए । महारानी बनाए । र, पुतली नानी चर्चित भइन् ‘पुतली महारानी’ बनेर ।

जंगबहादुरका पत्नीहरुको सूची तयार गर्दा पुतली महारानीको नाम प्रियपत्नीको सूचीमा पर्ने गर्छ (कुटपिट अनि प्रिय ? कस्तो विरोधाभाष ?) । पुतली महारानीले जंगबहादुरको सन्तानका रुपमा बबरजंगलाई जन्म पनि दिए ।

जंगबहादुरको इहलीला समाप्त भयो । उनीको मृत्युले पनि पुतली महारानीलाई छाडेन । दरबारीयाहरुले अड्कल काटे – स्वर्गमा जंगबहादुरले गाथ अड्याउन पुतली महारानी नै खोज्ने छन् । अनि, जंगबहादुको खराउ र टोपीका साथमा पुतली महारानी पनि पतिसँगै जल्न अभीशप्त बनिन् ।

कुरो सकियो । पत्याउने भयो ? बाँकी कुरो तपाईंलाई थाहा छँदै छ ।