१. अन्त्यहीन यात्रा— योगेन्द्र तिमिल्सिना

निरन्तर साहित्य सिर्जनामा लाग्नुभएका उपन्यासकार योगेन्द्र तिमिल्सिनाकृत उपन्यास हो- “अन्त्यहीन यात्रा” । सैँतिस भागमा विभाजित यस उपन्यासमा सामाजिक र आर्थिक समस्याको कारणले निम्न र मध्यम वर्गीय आम नेपालीहरूले जनजीविकाको निम्ति गर्नुपर्ने सङ्घर्षको व्याख्या पाइन्छ ।

“बीसको दशकदेखि नै सक्रिय भएका र स्थापित यद्यपि बीचका धेरै वर्ष रित्ततामा जोगाएर राख्ने स्रष्टामध्ये एक उहाँ हुनुहुन्छ ।” भूमिकामा डा. गोविन्दराज भट्टराई लेख्छन्, “राम्रो भाषा शक्ति आर्जन गरेका योगेन्द्रले आफ्ना सारा कथाव्यथालाई यहाँ जेष्ठ नागरिकको दर्जा पाइसकेको अपूर्वको सिर्जना गरी सम्पूर्ण कुरा उसैको मुखबाट बोल्न लगाउनुभएको छ । विचरा अपूर्व अनेक प्रकारका बन्धनमा पर्दछ, परिवारजनले चारतिर तान्छन्, उता कर्तव्यले बाँधिएर फेरि लड्दै उठ्तै कसोकसो जीवनको मूलभाग समयलाई जिम्मा लाउँछन् । यो आख्यानले के देखाउँछ भने दैनिक जीवनको युद्धमैदानमा लड्दालड्दै मानिसका दाह्रा नङ्ग्रा फुक्लिनेरहेछन् र वृहत्तर हितको साहित्यकला आदिको चिन्तन गर्न, त्यसको उपासना गर्न साँच्चै कति मुश्किल हुँदो रहेछ, त्यो पनि देखाउँछ ।”

पुस्तकलाई ओरियन्टल प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ७३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ७५ रुपियाँ रहेको छ ।

२. अक्षुण्ण— भवानी पाण्डे

प्रगतिशील लेखक सङ्घ, काभ्रेका अध्यक्ष भवानी पाण्डेकृत बाछिटासङ्ग्रह हो— “अक्षुण्ण” । पुस्तकमा तीन सय असी थान बाछिटाहरू समाविष्ट छन् ।

भूमिकामा अमर त्यागी लेख्छन्, “बाछिटा लेखनमा चिन्तन, ग्रहण र प्रक्षेपण अथवा शब्द टिप्ने, खेलाउने, बिम्बात्मक रूपमा ढाल्ने, भावगत गहनता र अर्थगत सामञ्जस्यताका साथ संयोजन गर्ने क्षमता सर्वोपरि रहन्छ । धैर्यतासाथ निरन्तर साधनाले नै बाछिटा लेखनलाई उत्कृष्टताको उत्कर्षतर्फ लैजान्छ । यस तथ्यलाई भवानी पाण्डेले बाछिटा लेखनमा आत्मसात गरेको पाइएको छ । अनुभूतिलाई प्रकृतिकरण र प्रकृतिलाई अनुभूतिकरण गरेर बाछिटा लेखनलाई निरन्तरता दिने भवानी पाण्डे भावनाशील बाछिटाको रूपमा स्थापित छिन् ।”

भूमिकामा डा. कौसिला रिसाल लेख्छन्, “सङ्ग्रहभित्रका बाछिटाहरूले प्रकृतिबिम्बका साथमा मानवीय गुणलाई व्यक्त गरेका छन् । आमा, धर्ती र सहनशीलतालाई जोडेर रचिएका बाछिटाहरू सुन्दर छन् । मानव जीवनका शाश्वत पक्षलाई प्रस्तुत गर्ने क्रममा कर्मशीलता, कर्तव्यनिष्ठता र असल आचरणका विषय वस्तुको सौम्य प्रस्तुति छ । बाछिटाको सिद्धान्तअनुसार नै लेख्ने प्रयास गरिएको छ । कतिपय बाछिटाले अभिधा अर्थ प्रदान गर्ने हुँदा सरल लाग्छन् । यस बाछिटाकृतिको प्रकाशनले बाछिटा उपविधाको जगमा एउटा इँटा थपिएको छ । नयाँ उपविधामा आँट गरेर सङ्ग्रह प्रकाशन गर्नु सकारात्मक पक्ष हो । बाछिटाकार पाण्डेलाई अक्षुण्ण बाछिटाकृतिका लागि अनेकन बधाई ।”

पुस्तकलाई कौशिकी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो । १ सय २ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

३. टुवरा— मनोज थारु ‘अज्ञात’

लेखक मनोज थारु ‘अज्ञात’कृत उपन्यास हो— “टुवरा” । थारू शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा निमुखा थारू किसानको कथाव्यथासहित छुतवर्गको कथा समेटिएको पाइन्छ ।

पछिल्लो बाहिरी पृष्ठमा नीलम कार्की निहारिका लेख्छिन्, “तराईका टुवरा र कोहिल्या, पहाडको मान्ठा । यिनै पात्रमार्फत निमुखा निमोठ्ने सामन्ती जमातमाथि पुस्तकले धावा बोलेको छ । सहनशीलता पनि एक दिन विस्फोटक बन्न सक्ने चेतावनी छ । गणतन्त्र प्राप्तिमा भुइँमान्छे भनिएकाको झन् ठूलो योगदान रहेको सत्य बिर्सन दिएको छैन । थारू भाषा-संस्कृतिसँग साक्षात्कार गराउँदै आलुको कुचा, एक चिम्टी नुमैचाको पृथक् स्वाद पस्किएको छ उपन्यासले । धेरैभन्दा धेरै कलमबाट अझ लेखिनुपर्छ हाम्रा सांस्कृतिक विविधता दर्शाउने कथा अनि यस्तै पिँधमा पारिएका सिङ्गो समाजको व्यथा ।”

पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “सानो आँगनले भिड थेग्न सकिरहेको थिएन । त्यही बीचमा अधमरा हालतमा थिए- टुवरा, पतिया काका र माइला । टुवराको पैताला फुटेको थियो, पिडौँला र तिघ्राभरि निला सुम्ला बसेका थिए । भयङ्कर ठूलो अपराधीले झैँ मुन्टो झुकाइरहेका उनीहरूको मुहारमा औधी पीडा प्रस्ट देखिन्थ्यो । मालिकको रहस्यमय मृत्युबारे एकछिन गाइँगुइँ चल्यो र भिड बिस्तारै पछि हट्यो । तर, अझै पनि गाउँमा प्रश्न र जिज्ञासाहरू बाँकी नै छन् ।”

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । २ सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ७५ रहेको छ ।

४. स्रष्टा, समीक्षा र संस्कृति— प्रा. डा. गोपीन्द्र पौडेल

समालोचक प्रा. डा. गोपीन्द्र पौडेलको सातौँ कृति हो- “स्रष्टा, समीक्षा र संस्कृति” । यसमा स्रष्टा, समीक्षा र संस्कृति तीन खण्डमा १५ थान आलेख समावेश छन् ।

“दास्रो समीक्षा खण्ड रहेको छ । समीक्षा खण्डमा खिचडी पकाएको छु । खिचडी पनि आकलझुकल खाइने स्वादिष्ट नेपाली परिकार हो । संस्मरण सिद्धान्त, हास्यव्यङ्ग्य लेखन, समकालीन आख्यान, संस्मरण समीक्षा अनि नाटकसमीक्षाले यसमा स्थान पाएका छन् । विभिन्न समय सन्दर्भमा लेखिएका समीक्षात्मक आलेखउपर न्याय होस् भन्नका लागि यिनलाई समावेश गरेको हुँ । यसमा विज्ञ पाठकको सम्मति नै होला भन्ने लाग्छ ।” आमुखमा डा. गोपीन्द्र पौडेल लेख्छन्, “तेस्रो खण्डमा २०५८ सालमा विभिन्न सन्दर्भमा लेखिएका संस्कृति विषयक पाँचओटा लेखहरू समावेश भएका छन् । फरक फरक समय सन्दर्भमा लेखिएका लेखहरूलाई एकै ठाउँमा डल्लो पार्नुको कारण कहीँकतै आवृत्तिको आभास पनि पाउन सकिएला । केही सुधार गरौँ भन्दा पनि सम्बन्धित लेखको क्रम र आशयमा नै विचलन देखिने हुँदा जस्ताको तस्तै रहन दिएँ, चलाउनु मनासिब ठानिन ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ७० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

५. अखण्ड— खगेन्द्र बस्याल

नेपाली साहित्यका वरिष्ठ सर्जक खगेन्द्र बस्यालको बाछिटासङ्ग्रह हो— “अखण्ड” ।

“मूलतः खगेन्द्र बस्याल गजलकार हुन्, त्यसपछि कवि, हाइकुकार, बाछिटाकार, लघुकथाकार र छेस्कासर्जक हुन् । पछिल्लो समयमा उनी बाछिटा सिर्जना र यसको समुन्नतिमा सक्रिय रहेका छन् । यसअघि उनको ‘पञ्चरत्न’ संयुक्त बाछिटाकृति प्रकाशित भइसकेको छ । ‘अखण्ड’ उनको दोस्रो र पहिलो एकल बाछिटाकृति हो ।” भूमिकामा अमर त्यागी लेख्छन्, “यस कृतिमा उनका चार सय दस थान बाछिटाहरू समाविष्ट छन् । प्रकृतिलाई मानवीकरण वा मानवलाई प्रकृतिकरण गरी प्रकृतिबिम्बको प्रतीकात्मक रूपमा उपस्थिति जनाएर बाछिटा रचना गरिन्छ । बाछिटाको सैद्धान्तिक मान्यताको मर्म बुझेर बस्यालले बाछिटा रचना गरेका छन् । बस्यालका बाछिटामा समय सम्बोधित छ, प्रकृति प्रबोधित छ, संस्कृति सुशोभित छ, भोगाइ उद्भासित छ र अनुभूति आच्छादित छ । अझ उनका बाछिटामा आस्था पग्लिएको छ, स्वाभिमान अग्लिएको छ, सार्वभौमिकता सग्लिएको छ, राष्ट्रियता सङ्लिएको छ र सदाशयता छचल्किएको छ । उनका बाछिटामा हिमालको चमक पनि छ, झरनाको झलक पनि छ, नदीको छलक पनि छ र जून-ताराको टलक पनि छ । अनि सञ्चेतनाको पहेँली पनि छ, संवेदनाको तरेली पनि छ, सद्भावनाको बयेली पनि छ र सम्भावनाको सुसेली पनि छ । हो, उनका बाछिटामा कर्मको गतिशीलता छ, कर्तव्यको सुशीलता छ, नैतिकताको शीतलता छ र आत्मबलको विशालता पनि छ । बस्यालका बाछिटामा मन छ, मस्तिष्क छ, भावना छ, चेतना छ र अनन्त सिर्जनाशीलता पनि छ ।”

पुस्तकलाई कौशिकी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो । १ सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

६. ऐँठन— विवेक ओझा

उपन्यास ‘ऐलानी’का लेखक विवेक ओझाको दास्रो उपन्यास हो— “ऐँठन” । उपन्यास ‘मिराज एक प्राक्कथन’लगायत  अट्ठाइस भागमा विभाजित छ ।

बाहिरी कभर पृष्ठमा लेखिएको छ, “दुनियाँमा वियाेगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । नाबालिग छोरी आमाको पछ्यौरीकै छायामा लुटिई । र, ऐँठन त्यही नाबालिगको योनिबाट बगेको रगतको कथा हो । आमाबुबाकै अगाडि जवान छोरो जलाइयो, तिनै आमाले बेहोसीमा बाँधेको दाँतको कथा हो ऐँठन, उनै बुढा बाले पागलसरह चिच्याएको चित्कार हो, ऐँठन ।”

आभारमा विवेक ओझा लेख्छन्, “लामो समयसम्मको लेखन एवम् पुनर्लेखनले काल्पनिक पात्रले समेत जीवन पाउँदा रहेछन् । तिनले सास फेर्ने रहेछन् । ती कहीँकतै चिनेजानेका साथी वा आफन्त जस्ता लाग्दा रहेछन् । उनीहरूको उत्साहमा रमाइलो लाग्ने रहेछ । तिनका घुटन र वेदनाले विरक्त बनाउँदो रहेछ । म कैयौँ दिन मेरा पात्रहरूसँग उत्साहित भएर हाँसेको छु । कैयौँ दिन तिनको घुटनले मेरो गला दबाएका पनि छन् । कतिपय अवस्थामा पात्रहरूको दर्शनसमेत स्वयम् लेखकका लागि नै प्रेरणादायी हुने रहेछ । कैयौँ कुरामा पात्रहरूको नियतिले लेखकको योजना बदलिदिने रहेछ । परिस्थितिले तिनको जीवनमा आकस्मिक मोड सिर्जना हुनु अनि कुनै चट्टान जस्तो पात्र कपूर सरह कथाको गर्भमा बिलाइजानु । कुनै मैन जस्तै पात्र चट्टान सरह शेष बाँचिरहनु । ओहो, लेखकले निर्माण गरेका पात्र पनि कतिपय अवस्थामा लेखककै अधीनमा नहुने रहेछ । यही बेग्लै र विरोधाभासको साँधमा बाँचेर पुस्तक तयार भएको छ । र लेखकको रूपमा आनन्द थपिएको छ । यो पुस्तक अब मेरो मात्र रहेन । यी पात्रहरूसँग तपाईं पनि गफिन सक्नुहुन्छ । यहाँ सिर्जित दुनियाँमा तपाईं पनि विचरण गर्न सक्नुहुन्छ । एक्लै । आफ्नै किसिमले ।”

पुस्तकलाई साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. ले बजारमा ल्याएको हो । ३ सय ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ३५ रुपियाँ रहेको छ ।