
१. विद्वान् तारानाथ शर्माको वाणी विवाद

डा. तारानाथ शर्मा
डा. तारानाथ शर्मा अर्थात् ताना सर्मा । ताना सर्मा अर्थात् डा. तारानाथ शर्मा । जे भने पनि हुन्छ । सजिलोका लागि विद्वान् शर्मा भनौं क्यारे !
विद्वान् शर्मा ‘घनघस्याको उकाली’का पर्याय हुन् । मदन पुरस्कार विजेता कृति ‘बेलायततिर बरालिँदा’ शर्माको पर्याय हो । उनले ‘झर्रोवादी आन्दोलन’लाई जन्माउनेमात्र काम गरेनन् । बढाउने, हुर्काउने र गन्तव्यमा पुर्याउने कामसमेत फत्ते गरे ।
उनको विद्वताको कुरा धेरै नगरौं । यतिचाहिँ भनौं – शिक्षासेवी साहित्यकार विद्वान् शर्माको समालोचक व्यक्तित्व सबैभन्दा उचो देखिन्छ । तर उचो विद्वान् व्यक्तित्वले चाहिँ निचो वाणी फलाक्दैनन् भन्न सकिँदैन । हो, विद्वान् शर्मा आफ्नो जीवनकालमा वाणीकै कारणले धेरैपटक विवादित र आलोचित भएका छन् । त्यसैमध्येको एक प्रसङ्गलाई यहाँ उप्काउने दु:साहस स्तम्भकारले गर्दैछ ।
कुरा ०४६ सालको हो । प्रजातन्त्र पुन:स्थापनापछिको । पञ्चायतकालमा विद्वान् शर्मा पञ्चायतको पक्षमा उभिएका थिए । तर जब प्रजातन्त्रको पुन:स्थापना भयो, उनी एकाएक प्रजातन्त्रवादी बने ।
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूलाई राजीनामा गराउन चर्को दबाब दिइरहिएको थियो । त्यसमा नैतिक दबाब थप्न आयोजित समारोहमा विद्वान् शर्माले प्याच्च भन्दिए – यो देशलाई मण्डलेहरूले बिगारेका हुन् ।
उनले बोलेका ५ शब्दले राम्रोसँग भुइँलाई छुन पाएका थिएनन्, दर्शकदीर्घाबाट कसैले प्रश्न गर्यो – त्यतिबेला तपाईं चाहिँ कहाँ हुनुहुन्थ्यो ?
अनि त के ? विद्वान् शर्माले मञ्चबाटै वाणी वाण हाने – तेरो बाउको घरमा ।
तारानाथजस्ता विद्वान्बाट यस्तो वाणी कसैका लागि पनि अपेक्षित थिएन । तत्कालै हङ्गामा भयो । उनले अगाडि बोल्न पाएनन्, विरोध उग्र भएपछि थपक्कै आएर आफ्नो ठाउँमा बसे । तर त्यतिले मात्र पुगेन, अन्तत: उनले विनम्रतापूर्वक माफी नै माग्नु पर्यो ।
कुरो सकियो । यहाँ एउटा खराब प्रसङ्ग मात्र उप्काएर विद्वान् शर्माको विद्वताको उछितो काड्न पटक्कै खोजिएको होइन । स्तम्भको संरचना नै यस्तै छ, के गर्नु ? तपाईं आफैं समझदार हुनुहुन्छ ।
===
२. ‘सुलोचना’भन्दा कम समयमा लेखिएको ‘उलार’

उलार
हामीमध्ये धेरैलाई थाहा भएकै कुरा हो, हाम्रा महाकवि देवकोटाले महाकाव्य ‘सुलोचना’ जम्मा १० दिनमा लेखिभ्याएका थिए । त्यस्तै उनले अर्को महाकाव्य ‘शाकुन्तल’ तीन महिना लगाएर लेखेका थिए भने खण्डकाव्य ‘कुञ्जिनी’ एकै दिनमा लेखिभ्याएको बताइन्छ । यसमध्ये पनि ‘सुलोचना’ १० दिनमै लेख्नुको विशेष प्रसङ्ग छ, त्यसलाई अर्को कुनै अङ्कमा लेखौंला । अहिले भने ‘सुलोचना’भन्दा कम समयमा लेखिएको आधुनिक उपन्यास ‘उलार’को कुरातिरै लागौं ।
साहित्यकार नयनराज पाण्डेलाई आख्यानकारका रूपमा स्थापित गराउने उपन्यास हो ‘उलार’ । यो उपन्यासको २० वर्षे संस्करण प्रकाशनमा आएको पनि ७ वर्ष पुगिसकेको छ । अर्को रोचक कुरा के छ भने, शब्दका हिसाबमा यो उपन्यास फिक्सन डिजाइनरको कथा ‘फोसिल’भन्दा सानो छ । एक बसाइमै पढिभ्याइन्छ ।
अँ, चुरो कुरोतिर लागौं । आख्यानकार पाण्डेले यो उपन्यास मात्र चार दिनमा लेखिभ्याएका हुन् । हो, ठिक पढ्नुभयो । मात्र ४ दिनमा ।
२० वर्षे संस्करणको भूमिकामा पाण्डेले यसलाई थप प्रष्ट पार्दै लेखेका छन् –
धेरैले सोध्छन् – उलार लेख्न कति महिना लाग्यो ?
पहिला भएको भए म यसको स्पष्ट उत्तर दिन हिच्किचाउँथें । किनभने उपन्यास लेख्न र पुनर्लेखनका लागि प्रशस्त समय लगाउनुपर्छ भन्ने मान्यता स्थापित भइसकेको समयमा एउटा उपन्यास एकदमै कम समयमा लेखेको हो भन्यो भने उपन्यासलाई गम्भीर रुपमा नलेलान् भन्ने मलाई लाग्थ्यो । तर, त्यो डर अब ममा छैन । … । उलारका चरित्र, परिवेश र घटनाक्रम मैले रातारात निर्माण गरेको होइन । ती मैले कलम चलाउनुअघि नै आफ्नो अनुहार र नियतिसहित निर्मित भइसकेका थिए । मैले तिनलाई शब्दमा बयान मात्रै गरिदिएको हुँ ।
त्यसैले अहिले म भन्छु – उलार लेख्न मलाई जम्मा चार दिन लाग्यो ।
===
३. जसले राजा महेन्द्रको गीत गाइन्, नेहरूलाई रुवाइन्

लता मंगेशकर
भनिन्छ, ‘ऐ मेरे वतन के लोगों…’ गीत सुनेपछि भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूका आँखासमेत रसाएका थिए । यो गीत सन् १९६२ मा भारत–चीन युद्धमा सहिद भएका भारतीय सैनिकको सम्मानका लागि लता मंगेशकरले गाएकी थिइन् । लताले पहिलो गीत भने सन् १९४९ मै ‘महल’ फिल्मका लागि गाएकी थिइन् ।
लताका बुबा पण्डित दीनानाथ मंगेशकर शास्त्रीय गायक थिए । सन् १९२९ मा जन्मिएकी लता परिवारको जेठी छोरी थिइन् । सन् १९४० को दशकमा बुबाको निधन भएपछि परिवार चलाउन उनले अभिनयसमेत गरिन् । उनले आठ मराठी र केही हिन्दी फिल्ममा अभिनय गरेकी छिन् ।
मंगेशकरले नेपाली सुगमसङ्गीतलाई पनि ठुलो गुन लगाएकी छिन् । वि.स. २०२३ मा प्रदर्शनमा आएको फिल्म माइतीघरका लागि ‘जुन माटोमा मेरो…’ बोलको गीतमा लताले स्वर भरेकी छिन्, जुन गीत तत्कालीन राजा महेन्द्र (मविवि शाह) ले लेखेका थिए । यो उनको पहिलो नेपाली गीत थियो । त्यसपछि मविवि शाहकै ‘आकाशको तिर्मिरे तारा म गन्न सक्तिनँ, मनको कुरा मुखमा ल्याई भन्न सक्दिनँ’ बोलको गीतमा समेत उनले स्वर दिइन् । त्यस्तै, नेपाली भाषामा लताको स्वर रहेको ‘बाँचुन्जेलीलाई…’ बोलको गीत चर्चित रह्यो ।
पत्याउने–नपत्याउने अधिकारै तपाईंमै छ । चुरो कुरोचाहिँ यो छ – लता मंगेशकरले आफ्नो जीवनकालमा हिन्दी, नेपाली, मराठीसहित ३६ भाषाका ३० हजारभन्दा बढी गीतमा स्वर भरेकी छिन् ।
अब स्वरकी देवी लता मंगेशकर हामी बिच रहिनन् । कोरोना व्याधीले ९२ वर्षको उमेरमा उनलाई लग्यो । तर, उनी ३६ भाषाका गीतहरुमा बाँचिरहेकी छिन् । बाँचिरहने छिन् । हार्दिक श्रद्धाञ्जलि !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

