यदि मैले कयौँ पुरुषहरुलाई अस्वीकार गर्न सक्छु भने ती पुरुषले पनि मलाई अस्वीकार गर्न पाउनुपर्छ, हामी एकअर्काको लागि आदर्श पार्टनर पनि त नहुन सक्छौँ भन्ने खालका सोचहरु विकास गर्नोस् ।

हामी विपरीत लिङ्गीहरुको उपस्थितिमा भावशून्य रहन सक्दैनौं। उनीहरुप्रति आकर्षित हुन्छौँ नै। विविध माध्यम र व्यवहार मार्फत प्रेमभाव व्यक्त गर्ने कोसिस गरिरहेका हुन्छौँ। जस्तो कि पुरुषहरु कुनै एउटी आकर्षक एवं कामुक महिलासँग सामान्य चिनापर्ची र केही चरणको भेटघाट हुनेबित्तिकै प्रेम प्रसंगहरु कोट्याउन थाल्छन्। एक हुन सकिने, नसकिने सम्भावनाहरु अध्ययन गर्छन्। उपयुक्त समय र वातावरण पाउने बित्तिकै ती महिलालाई प्रेम वा बिहेको प्रस्ताव राख्न हतार गर्छन्। आवश्यक परे परिवार र विभिन्न लिङ्क मार्फत सम्बन्ध स्थापित गराउन लागि पर्छन्। यद्यपि सिधा अस्वीकृत हुन पुग्छन्। यही कुरा महिलाहरुको हकमा पनि उत्तिकै लागू हुनसक्छ। आफूले अति रुचाएको, आदर्श पार्टनर मानेको कुनैपनि महिला वा पुरुषबाट अनपेक्षित रुपमा अस्वीकृति खानुपर्दा अवस्यनै पीडाबोध हुन्छ। आत्म-सम्मानमा ठेस लागेको अनुभूति हुन्छ। यस्तो अवस्थामा आफूलाई संयम राख्दै कस्तो किसिमको प्रतिक्रिया जनाउने? अर्को शब्दमा भन्नुपर्दा, प्रेम सम्बन्ध जोड्ने सिलसिलामा प्राप्त अस्वीकृति कसरी आत्मसात गर्ने वा कसरी सहजै स्विकार्ने ? यस्तोमा निम्नानुसारको विधिहरू अवलम्बन गर्न सकिन्छ।

नकारात्मक सोचहरुको सही व्यवस्थापन गर्ने

नयाँ प्रेम सम्बन्ध अगाडि बढाउने क्रममा अस्वीकृति प्राप्त हुँदा स्वभाविक रुपमा दुखी हुन्छौँ। लामो समय  सकारात्मक मानसिकता कायम राख्न सकिँदैन। नकारात्मक भावनाहरु तथा सोचहरुको लहर नै चल्न थाल्छ। हामीलाई अस्वीकार  गर्ने महिला या पुरुष, जीवन परिस्थिति र स्वयं आफूबारे पनि सकारात्मक सोच्न सकिँदैन। प्रायः हाम्रो मस्तिष्कमा उत्पन्न हुन सक्ने सोचहरु यस प्रकारका हुन सक्छन्:

  • मलाई कसैले प्रेम गर्दैन। सबै महिलाहरु पैसाको, केवल सफल व्यक्तिको पछि लाग्छन्।
  • सबै पुरुषहरु सेक्सी (कामुक) महिला चाहन्छन्। म साधारण महिला भएकी हुनाले प्राथमिकतामा पर्दिनँ।
  • कस्तो निरस जिन्दगी!
  • म प्रेमको लागि अयोग्य छु। कुनैपनि हालतमा मेरो प्रेम जीवन सुरुवात हुन सक्दैन।

यस्ता नकारात्मक सोचहरु व्यवस्थापन गर्न सहयोग पुर्याउने अनेकन् विधिहरू छन्। जसमध्ये माइन्डफुल मेडिटेसन एक हो। यसको लागि शान्त, आरामदायी ठाउँ छनोट गर्नोस्। त्यसपछि ध्यान आसनमा बस्नुहोस्। आफू वरिपरिको वातावरणबारे सचेत रहनुहोस्। शरीरले कस्तो अनुभूति गरिरहेको छ, त्यसबारे सचेत रहनुहोस्। यसै दौरान श्वासप्रश्वासमा ध्यान दिनुहोस्। स्पष्ट रुपमा भन्नुपर्दा, जति समय लगाएर सास लिनुहुन्छ, त्यो भन्दा बढी समय लगाएर श्वास छोड्नुहोस्। त्यसैगरी मस्तिष्कमा उत्पन्न भएका सम्पूर्ण नकारात्मक सोचहरु दबाउने होइन, ती सोचहरु बग्न दिनुहोस्। अनि आफैलाई प्रश्न गर्नोस्: के यी सोचहरु सत्य हुन्? यी सोचहरु कत्तिको उपयोगी छन्? के यी सोचहरुले कुनैपनि कार्यलाई प्रभावकारी रुपमा सम्पन्न गर्न मद्दत पुर्याउँछन्? यी निकै शक्तिशाली प्रश्नहरु माथि केही समय चिन्तन गर्नोस्। त्यस पश्चात् ती नकारात्मक सोचहरुलाई जान दिनुहोस्। रोक्ने प्रयास नगर्नोस्। यस प्रक्रियालाई सकेको जति अगाडि बढाउने कोसिस गर्नोस्। अब आफ्नो दुवै आँखा खोल्नुहोस्। सामान्य अवस्थामा फर्कनुहोस्। यही नै माइन्डफुल मेडिटेसन गर्ने तरिका हो।

यो ध्यानको अवधि पन्ध्र मिनेटदेखि एक घण्टासम्म लम्ब्याउन सक्नुहुन्छ। यस ध्यान अभ्यासलाई निरन्तरता दिनुभयो भने तपाईं अस्वीकृतिका कारण उत्पन्न हुने नकारात्मक सोचहरु सहजै व्यवस्थापन गर्न सक्नुहुन्छ। तपाईं शान्त स्वभावको बन्दै जानु साथसाथै आफ्नो कार्यशैली पनि सच्याउन सक्नुहुन्छ। अन्ततः तपाईं प्रेम सम्बन्धमा पाइने अस्वीकृति सजिलै, निसंकोच आत्मसात गर्न सक्नुहुन्छ।

पुरानो सोच बदल्ने

अधिकांश हामी पुरानै धारणामा अल्झिरहेका हुन्छौँ। अझ यसो भनौँ, पुरानै विश्वास प्रणाली अनुसार स्वचालीत हुन्छौँ। कुनै महिला वा पुरुषबाट अस्वीकृति भोग्नुपर्दा औसत स्तरका मानिसहरुले जस्तो सोचहरु राख्छन्, सोही स्तरका सोचहरु राखेर व्यवहार गर्छौँ। साधारणतया हामीले राख्ने सोचहरु यस प्रकारका हुन सक्छन्:

  • केवल उनीलाई प्रेम गर्छु।
  • उसले मलाई कुनैपनि हालतमा स्वीकार गर्नैपर्छ।

यस्ता सोचहरु अनुत्पादक सोचका नमुना उदाहरणहरू हुन्। यस्तो सोच विकास गरेर न अस्वीकृति सामना गर्न सकिन्छ न नयाँ सम्बन्ध निर्माणका लागि प्रयास। त्यसैले यी सोचहरु त्यागेर नयाँ सोचअनुसार जीवनमा अघि बढ्न अपरिहार्य छ।

मानौँ तपाईंले एउटी महिलालाई प्रेम प्रस्ताव अघि सार्नुभयो, तर अस्वीकृति पाउनुभयो भने केवल उनी मेरी हुन्, उनीलाई मात्र प्रेम र बिहे गर्नसक्छु भन्ने जस्ता सोचहरु तपाईंको मनमा आउन सक्छन्। अब यी सोचहरु निस्तेज वा बदल्ने कोसिस गर्नोस्। कुनैपनि पुरुषलाई अस्वीकार गर्न पाउनु एउटी महिलाको अधिकार हो, मैले उनको लागि के गरेको छु र स्वीकृति पाउनुपर्ने, यदि मलाई अस्वीकार गर्ने कोही छन् भने मलाई स्वीकार गर्ने पनि छन्, मेरा लागि कयौँ उत्कृष्ट विकल्पहरु छन्, उनीहरुसँग मेरो भेट नभएको मात्र हो भन्ने जस्ता सोचहरु विकास गर्नोस्। अनि सोहीअनुरुप नयाँ प्रेमिकाको खोजीमा क्रियाशील रहनोस्।

त्यसैगरी मानौँ तपाईं एउटी महिला हुनुहुन्छ र आफूले चाहेको पुरुषलाई प्रस्ताव राख्नुभयो। अफसोच ती पुरुषले तपाईंको प्रस्तावप्रति कुनै रुचि नदेखाए? उसले मलाई स्वीकार्नै पर्छ, ऊ बिना बाँच्न सक्दिनँ भन्ने जस्ता सोचहरु तपाईंको मस्तिष्कमा आउन सक्छन्। अब यी सोचहरु त्याग्ने कोसिस गर्नोस्। यस क्रममा आफूले अरु पुरुषहरुलाई अस्वीकार गर्दाको क्षण स्मरण गर्नोस्। यदि मैले कयौँ पुरुषहरुलाई अस्वीकार गर्न सक्छु भने ती पुरुषले पनि मलाई अस्वीकार गर्न पाउनुपर्छ, हामी एकअर्काको लागि आदर्श पार्टनर पनि त नहुन सक्छौँ भन्ने खालका सोचहरु विकास गर्नोस्। अनि सोहीअनुरुप नयाँ प्रेमीको खोजीमा सक्रिय हुनोस्।

जब तपाईं यसरी सोच बदलेर नयाँ सोचको जगमा अगाडि बढ्नुहुन्छ तपाईं अस्वीकृति खुला हृदयले स्वीकार्न सक्नुहुन्छ।

पृष्ठभूमि बुझ्ने

प्रेम प्रस्ताव बिना कारण अस्वीकृत हुन सक्दैन। तसर्थ सम्बन्धमा सिधै अस्वीकृत हुनुपर्दा तथ्यमा होइन, परिस्थिति अथवा पृष्ठभूमिमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ। अस्वीकृति पाएँ भनेर निराश हुने होइन, अस्वीकृति प्राप्त हुनु पछाडिको परिस्थिति बुझ्ने प्रयत्न गर्नुपर्छ। यसको लागि प्रेम प्रस्ताव अस्वीकृत हुँदा किन, कसरी र वास्तवमा के अस्वीकार गरियो भन्ने कुराहरुमा प्रस्ट हुन जरुरी छ। त्यसैले कुनैपनि महिला वा पुरुष तपाईंले राखेको प्रस्तावप्रति सकारात्मक नहुँदा पहिले ‘किन’ केलाउने कोसिस गर्नोस्। ती महिला वा पुरुष करिअर उन्मुख जीवनमा व्यस्त भएकाले, प्रेमी वा प्रेमिका भएकाले, स्तर नमिलेको हुनाले, पारिवारिक दवाब, तपाईंप्रति भावना जागृत हुन या तपाईंलाई पार्टनरको रुपमा हेर्न नसकेको हुनाले तपाईं अस्वीकृत भएको हुन सक्नुहुन्छ। कारणहरू जे पनि हुन सक्छन्। त्यसबारे स्पष्ट रहनोस्। त्यसपछि ‘कसरी’ केलाउने कोसिस गर्नोस्। आमनेसामने भएर या सामाजिक सञ्जाल मार्फत, व्यक्तिगत लिङ्क या मध्यस्थकर्ता मार्फत या अरु कुनै माध्यमबाट अस्वीकृति दिइएको हो, त्यसबारे स्पष्ट हुनोस्। यदि तपाईंले भौतिक भेटमा अस्वीकृति पाउनुहुन्न भने बुझ्नुस्, ती महिला वा पुरुष अपरिपक्व छन्, तपाईंको भावनाको कुनै सम्मान गर्दैनन्। सो प्रकृतिको महिला वा पुरुषलाई उति समय र महत्व दिनु त्यति उपयुक्त होइन। त्यसपछि अन्तमा ‘के’ केलाउने कोसिस गर्नोस्। यस क्रममा ती महिला वा पुरुषले तपाईंलाई होइन, तपाईंको असफलता वा अपरिपक्वतालाई अस्वीकृत गरेको पाउनुहुन्छ। यसले तपाईंलाई व्यक्तिगत विकास कार्यमा सक्रिय रहन प्रेरित गर्न सक्छ। जब तपाईंले यसरी अस्वीकृति पछाडिको पृष्ठभूमि समग्र रुपमा बुझ्न सक्नुहुन्छ, तपाईंलाई जस्तोसुकै कठोर अस्वीकृति पनि पचाउन कठिनाइ हुँदैन।

ठूलो विषय नबनाउने

महिलाहरु/पुरुषहरुको आ-आफ्नै आवश्यकताहरु, अपेक्षाहरू हुन्छन्। यदि ती आवश्यकताहरु, अपेक्षाहरू सम्बोधन हन नसक्ने जस्तो अवस्था रहे? जो कोही पनि प्रेम सम्बन्धमा अस्वीकृत हुन पुग्छन्। यस अर्थमा, सबैबाट सहजै स्वीकृति प्राप्त हुनसक्छ भन्ने धारणा राख्नु मुर्खता हो। प्रेममा अस्वीकृतिलाई अतिरञ्जित गरिनु हुँदैन। अर्थात्, अस्वीकृतिलाई ठूलो विषय बनाउने, व्यक्तिगत रुपमा लिने जस्ता कार्यहरु गर्नु हुँदैन। प्रेममा अस्वीकृत हुने कुरालाई जति ठूलो विषयको रुपमा चित्रण गरिन्छ, त्यति नै धेरै पीडाबोध हुन्छ। त्यसैगरी यसलाई जति सानो विषय बनाइन्छ, त्यति नै कम पीडाबोध हुन्छ। त्यसैले अस्वीकृति प्रेममा घट्ने सामान्य प्रक्रियाको रुपमा ग्रहण गर्न सक्नुपर्छ। यसको लागि अस्वीकृतमा देखिने वर्तमान तथा दीर्घकालीन प्रभावहरु केलाउने अभ्यास गर्न सकिन्छ।

मानौँ तपाईं एउटी महिलाबाट अस्वीकृत हुनुभयो। यस्तो परिस्थितिमा आफूले अनुभूत गरेका वर्तमान प्रभावहरुबारे सचेत रहनोस्। तपाईंको मुड ठीक नहुन सक्छ। तपाईंमा उत्साहको कमी र तनावको स्तर उच्च रहन सक्छ। नकारात्मक सोचहरुले सताउन सक्छन्। वर्तमान अवस्थामा देखिने यी प्रभावहरु उपयुक्त विधि मार्फत स्वतः कम, व्यवस्थापन गर्न सकिन्छ। त्यसैगरी आफूले अनुभूत गर्न सक्ने दीर्घकालीन प्रभावहरुबारे सजग रहनोस्। न समय रोकिएको हुन्छ न जीवन। अरु महिलाहरु हेर्नै नहुने, जीवनभर बिहे गर्न नमिल्ने भन्ने हुँदैन। सर्वोस्व गुमे जस्तो लागेपनि त्यसमा कुनै सत्यता हुँदैन। मुख्य कुरा तपाईंको जीवनलाई तात्विक फरक परेको हुँदैन। जब तपाईं यसरी वर्तमान र दीर्घकालीन प्रभावहरुबारे सचेत रहन सक्नुहुन्छ, तपाईंको लागि अस्वीकृति सामान्य विषय बन्न जान्छ।

निर्णयको सम्मान गर्ने

प्रेम सम्बन्धको प्रस्ताव राखेपछि जस्तो सुकै निर्णय आएपनि त्यसलाई सहर्ष स्वीकार गर्न सक्नुपर्छ। स्वीकृति पाउनुभयो? खुसी हुनुहोस्। अस्वीकृति पाउनुभयो? यसमा पनि खुसी हुनुहोस्। तपाईंको काम प्रेमभाव व्यक्त गर्ने हो, स्वीकृतिमा अत्याधिक खुसी हुने र अस्वीकृतिमा दुःखी हुने होइन। यहाँ बुझ्नुपर्ने मुख्य कुरा, तपाईंलाई अस्वीकार गर्ने व्यक्तिको निर्णय पूर्ण रुपमा स्वीकार र सम्मान गर्नोस् भन्ने हो। भनाइको तात्पर्य, ती व्यक्तिबारे अफवाहहरू फैलाउने, चरित्र हत्या गर्ने र अपशब्द बोल्ने दुष्प्रयास नगर्नोस्। यदि त्यसो गर्नुभयो भने तपाईंको क्षुद्र व्यवहार र अपरिपक्वता झल्किन जान्छ। कसैकालागि पनि तपाईं विश्वासयोग्य पात्र बन्न सक्नुहुन्न। अनि तपाईं कुनैपनि महिला वा पुरुषको रोजाइमा पर्न सक्नुहुन्न। सम्बन्ध जोड्ने त झन् टाढाको कुरा हो। त्यसैगरी निर्णयको सम्मान गर्नु भन्नुको अर्थ, ती महिला वा पुरुषसामू प्रेमको लागि लम्पसार नपर्नुहोस् भन्ने हो। जति धेरै तपाईं कुनैपनि व्यक्तिको लागि मरिहत्ते गर्नुहुन्छ, ती व्यक्ति त्यति नै तपाईंबाट अलग रहने हर प्रयास गर्छ। उदाहरणको लागि, यदि तपाईं कुनै एउटी महिलाको पछाडि लाग्नुहुन्छ भने ती महिला तपाईंबाट त्यति नै टाढा जाने कोसिस गर्छिन्।  यति मात्र होइन, ती महिला तपाईं भन्दा उत्कृष्ट पार्टनरको खोजीमा पनि रहन्छिन्। त्यसैले कुनैपनि महिला वा पुरुषबाट एकपटक अस्वीकृत भइसकेपछि ती महिला वा पुरुषको निर्णयलाई उचित सम्मान दिनुको अर्को विकल्प छैन।

व्यक्तिगत विकास गर्ने

कुनैपनि महिला वा पुरुषबाट प्राप्त अस्वीकृतिले हाम्रा कमीकमजोरीहरु, अपरिपक्वता, हामीले निरन्तर प्रयोग गर्ने प्रभावहीन रणनीतिहरु तर्फ सङ्केत गर्दछ। यसर्थ प्रेम सम्बन्धमा अस्वीकृति अत्यावश्यक छ। आज प्राप्त अस्वीकृतिले भोलिका दिनहरुमा प्राप्त हुन सक्ने अस्वीकृतिको सामना गर्न ठूलो मद्दत दिन्छ। यस अतिरिक्त हामी थप परिपक्व हुनुका साथै परिवर्तित, व्यक्तिगत रुपमा विकसित हुन पनि सक्छौँ। यसैकारण कोही कसैबाट अस्वीकृत हुनुपर्दा अनावश्यक रुपमा नकारात्मक सोच राख्ने, विक्षिप्त हुने, अस्वभाविक प्रतिक्रिया जनाउने जस्ता गतिविधिहरुमा संलग्न हुनु बुद्धिमत्ता होइन। यसको ठीक विपरीत, अस्वीकृत हुनुपर्दाको क्षणलाई व्यक्तिगत विकास गर्ने अवसरको रुपमा भने लिन सक्नुपर्छ। कसरी? मानौँ तपाईं सम्बन्ध जोड्न तयार एक जवान पुरुष हुनुहुन्छ। तर कयौँ महिलाहरुलाई एप्रोज गर्दा पटकपटक अस्वीकृत हुनुभयो भने? यस्तोमा विगतमा प्राप्त अस्वीकृतिहरुबारे गहन आत्मसमीक्षा गर्नोस्। ती महिलाहरुलाई प्रेमभाव व्यक्त गर्ने क्रममा के-कस्ता शब्दहरु प्रयोग गर्नु भएको थियो? के तपाईंले ती महिलाहरुलाई उचित समय र स्थानमा भेट्नु भएको थियो? कहीँ तपाईंले सम्पूर्ण महिलाहरुलाई प्रस्ताव राख्ने क्रममा एकैखाले रणनीति त प्रयोग गर्नु भएन? यी यावत् कुराहरुबारे यकिन गर्नोस्। त्यसपछि मात्र तपाईं आफ्ना कमजोरीहरू हटाउन सक्ने, महिलाको व्यक्तित्व अनुसार रणनीति तय तथा प्रयोग गर्न सक्ने हैसियतमा पुग्नु हुनेछ। तपाईं प्रेम सम्बन्ध स्थापित गर्ने विषयमा अनुभवी र परिपक्व पनि बन्दै जानुहुनेछ।

कामप्रति दत्तचित्त रहने

कुनैपनि महिला वा पुरुषले तपाईंको प्रेम प्रस्ताव अस्वीकार गरेको खण्डमा केही समयको लागि ब्रेक (विश्राम) लिनुहोस्। यदि तपाईंको मुड, मनोदशा ठीक छैन भने कार्यबाट अलग रहनुहोस्। यस खाली समय आत्मविश्लेषणमा जोड दिनुहोस्। मुड उत्थान भइसकेपछि, सकारात्मक मानसिकता कायम राख्न सफल भइसकेपछि मात्रै आफ्नो नियमित काम र जिम्मेवारीमा फर्कनुहोस्। यो पटक अतिरिक्त उत्साह, उर्जा, प्रतिबद्धता र इच्छाशक्ति साथ कामलाई अगाडि बढाउनुहोस्। अध्यापन पेशामा हुनुहुन्छ? थप जोश जाँगरसाथ आफ्ना विध्यार्थीहरु माझ उपस्थित हुनुहोस्। कुनै संस्थामा आवद्ध हुनुहुन्छ? आफ्ना सहकर्मी माझ थप उर्जाशील रहनोस्। काममा उत्पादकता बढाउन थप प्रतिबद्ध रहनोस्। जीवनको उत्तरार्धमा वा अन्तिम अध्यायमा के प्राप्त गरियो होइन, यो संसारलाई के योगदान दिइयो भन्ने विषयमा बढी आत्मसमीक्षा गरिन्छ। त्यसैले कति कमाएँ, क-कसले अस्वीकार गरे, क-कसले धोका दिए, कति महिलाहरु/पुरुषहरुसँग सम्बन्ध जोड्न सकियो भनेर सोच्नु वा समीक्षा गर्नु अर्थहीन छ। धेरै कमाउनु, धेरै स्वीकृति पाउनु, धेरै महिलाहरु/पुरुषहरुसँग सम्बन्ध स्थापित गर्न सक्नु राम्रो हो, तर त्यसैमा लिप्त हुनु त्यति उचित होइन। ती कुराहरुप्रति लिप्त हुँदा वा आशक्ति राख्दा अत्याधिक समय, पैसा र उर्जाको खर्च हुन्छ। तर तपाईं कामप्रति गम्भीर हुनु भयो भने? तपाईंलाई अस्वीकृति बारेमा चिन्ता लिने, अस्वीकृत हुँदा पीडा अनुभूत गर्ने समय नै उपलब्ध हुँदैन। त्यसकारण प्रेम सम्बन्धमा अस्वीकृत हुँदाको अवस्थामा आफ्नो काममा दत्तचित्त भएर लाग्नु बुद्धिमानी कदम हो।