राजाले दिएको पद अस्वीकार गर्ने हिम्मत जोकोहीमा हुँदैन थियो । तर पोखरेलले प्रज्ञा प्रतिष्ठानको पद आफूले स्वीकार गर्न नसक्ने बताए । पोखरेलको अनपेक्षित उत्तरले राजा वीरेन्द्र पनि सायद अचम्ममा परे । मुसुक्क मुस्कुराए ।

१. मञ्जुलको उपन्यास ‘छेकुडोल्मा’ अर्थात् पारिजात

पारिजात

धेरैलाई थाहा नहुन सक्छ – मञ्जुलकृत उपन्यास ‘छेकुडोल्मा’मा पारिजातका जीवनका आरोह–अवरोहहरुको औपन्यासिकीकरण हो । हो, पारिजात भन्नु छेकुडोल्मा मात्र होइन छेकुडोल्मा भन्नु पारिजात पनि हो ।

पारिजातले मदन पुरस्कार पाइसकेपछि शङ्कर लामिछानेसँगको गम्भीर निकटताको चर्चा चल्यो । भूपी भने अलि टाढा भए । यसैबिच पारिजात र मञ्जुलको पनि निकटता बढ्यो । र, त्यही निकटताले सिर्जनात्मक भ्रूणले माटो पायो । जुन मञ्जुलको उपन्यास छेकुडोल्मा थियो ।

पारिजातले आफ्ना जीवनका पानाहरु मञ्जुलसामु फुकाउँदै गइन् । आफ्ना भोगाइ र अनुभूतिहरु साझा गरिन् । पारिजात स्वयंबाट सबै कुरा सुनेपछि मञ्जुलले त्यसलाई लेख्न चाहे, उपन्यासको रुपमा । पारिजातलाई मञ्जुलको प्रस्ताव गज्जब लाग्यो । स्वीकार गरिन् । उपन्यासको नाम पनि आफैं रोजिन् – छेकुडोल्मा । दुबैबीच एउटा अलिखित सम्झौता भयो – छेकुडोल्मा पारिजातको कथा हो भन्ने कुरा गोप्य राख्ने ।

छेकुडोल्माको लेखन सुरु भयो । मञ्जुल हरेक अध्याय लेखिसकेपछि पारिजातलाई देखाउन पुगिहाल्थे । पारिजात पनि तत्कालै पढ्थिन्, र प्रतिक्रिया पनि दिन्थिन् ।

छेकुडोल्मा ११ परिच्छेदमा लेखिएको छ । उपन्यासका ११ वटा परिच्छेद प्रथम पुरुषमा लेखिएको छ । खासमा, पारिजातसँग सम्बन्धित ११ जना व्यक्तिले पारिजातलाई हेर्ने दृष्टि मञ्जुलले उपन्यासमा उतारेका हुन् ।

छेकुडोल्मा उपन्यासको भूमिका पारिजात स्वयंले लेखेकी छिन् । उक्त भूमिका रुपरेखाको १०१ अङ्कमा प्रकाशित छ – एउटा राल्फा अर्को राल्फाको डायरीमा ।

यो विषयका बारेमा ‘सुश्री पारिजात’मा गोविन्द गिरी प्रेरणाले विस्तृतमा लेखेका छन् ।

===

२. जसले राजाले दिएको पद अस्वीकार गरे

बालकृष्ण पोखरेल

कुरा बालकृष्ण पोखरेलको हो । पोखरेलको परिचयतिरै लाग्दा धेरै शब्द खर्च गर्नुपर्ने हुन्छ । अहिले त्यतातिर नलागौं । सिधै चुरो कुरैतिर लागिहालौं ।

बालकृष्ण पोखरेलले वि.स. २०१९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापन गराउन थाले । ८ वर्षपछि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा सरुवा भए, र स्थायीरूपमा विराटनगरमै अध्यापन गराउन थाले । अँ, चुरो कुरो ता अर्कै छ है ! नबिर्सिनुहोस्, पोखरेलले राजाले दिएको पद अस्वीकार गरेका थिए ।

समग्रमा पोखरेल २६ वर्ष प्राध्यापन पेसामा आबद्ध रहे । त्यसमा, १० वर्ष विराटनगर रहे । यसबिचमा उनी एक कार्यकाल प्रज्ञा प्रतिष्ठानको सदस्य पनि भए । तर, जब दोस्रोपटक राजाले उनलाई प्राज्ञ नियुक्त गर्न खाेजे तब आफू अध्यापनमै सन्तुष्ट रहेको भन्दै उनले पद अस्वीकार गरे ।

कुरो के भने, धनकुटामा राजाको सवारी थियो । राजाको दर्शनका लागि अशेष मल्ल, बालकृष्ण पोखरेललगायतलाई बोलाइएको थियो । त्यहाँ राजाले बालकृष्णलाई सोधे – तिमीलाई के चाहिएको छ ?

राजाले दिएको पद अस्वीकार गर्ने हिम्मत जोकोहीमा हुँदैन थियो । तर पोखरेलले प्रज्ञा प्रतिष्ठानको पद आफूले स्वीकार गर्न नसक्ने बताए । पोखरेलको अनपेक्षित उत्तरले राजा वीरेन्द्र पनि सायद अचम्ममा परे । मुसुक्क मुस्कुराए ।

चुरो कुरो सकियो । सहायक कुरोचाहिँ यो पनि छ कि, प्रज्ञा प्रतिष्ठानमा आफ्नो स्तरको ज्ञानी साथी अर्को नपाएपछि पोखरेलले दोस्रो कार्याकाल अस्वीकार गरेका थिए । हुन त, कक्षामा घन्टौं बोलेर आफ्नो ज्ञान शान्त पार्ने पोखरेललाई प्रतिष्ठानको प्रशासनिक काम झण्झटिलो लाग्नु स्वभाविकै हो ।

अँ, यस विषयमा ‘लहडी बालकृष्ण पोखरेलका अनेक किस्सा !’ शीर्षकमा अनलाइन खबरमा अश्विनी कोइरालाले विस्तृतमा लेखेका छन् ।

===

३. जसले मोहन कोइरालाका रचना छापेनन्

नगेन्द्रराज शर्मा

नेपाली साहित्यिक पत्रकारिताको इतिहासबाट ‘अभिव्यक्ति’ भन्ने शब्दमात्र निकाल्दिने हो भने यो अधुरो रहन्छ । त्यस्तै, नेपाली साहित्यबाट नगेन्द्रराज शर्मालाई अलग गराउने हो भने ‘अभिव्यक्ति’को भ्रूण पनि भेटिँदैन । अँ, कुरा साहित्यिक पत्रिका अभिव्यक्तिको हो । यसका संस्थापक सम्पादक नगेन्द्रराज शर्माको हो । र, हो अभिव्यक्तिमा कहिल्यै नछापिएका मोहन कोइरालाको पनि ।

यो कुरा त्यस समयको हो जुन समयमा मोहन कोइराला भूपीपछिका ठुला कविमा दरिन्थे । तर उनै कविका रचना नगेन्द्रराज शर्माले जीवनभर छापेनन् । आखिर किन ? सुन्नुहोस् !

अभिव्यक्ति गर्भमै थियो । नगेन्द्रराज पहिलो अङ्कका लागि विभिन्न कवि तथा साहित्यकारहरुकहाँ रचना माग्न धाइरहेका थिए । त्यसैक्रममा मोहन कोइरालाको घरमा पनि पुगे । रचना माग्न आएको बताएपछि कोइरालाले सोधे, ‘कति पैसा दिन्छौ ?’

शर्माले पहिलो अङ्क भएकाले तत्काल पारिश्रमिक दिन नसक्ने बताए । त्यसपछि कोइरालाले भने, ‘जुन दिन पैसा दिन सक्छौ त्यही दिन कविता लिन आउनू ।’

कोइरालाको कविताबिनै अभिव्यक्तिको पहिलो अङ्क निस्किए । पहिलो अङ्कै हिट भयो । त्यसपछिका अङ्कहरुमा मोहन कोइरालालाई छाप्नु नगेन्द्रराज शर्मालाई आवश्यकै लागेन ।

पत्याउनु भयो ? तपाईंलाई थाहै छ – पत्याउने वा नपत्याउने अधिकार सधैंझैं तपाईंसँगै सुरक्षित छ ।