‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । इल्या भट्टराईकाे ‘मिसर’देखि दाहालकाे ‘फूल र अक्षता’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
===
१. मानवीय सारतत्त्व (विचारधाराको इतिहास) _ अनुवादक गोपीरमण उपाध्याय
अनुवादक, लेखक गोपीरमण उपाध्यायको नेपाली रूपान्तर हो _ (बर्मिङ्घम विश्वविद्यालयका प्राध्यापक तथा लेखक जर्ज थोम्सनको) _ “मानवीय सारतत्त्व” । यसमा मानिस र प्रकृति, जङ्गली मानवदेखि सभ्य मानवसम्म, बुद्धिजीवी र सर्वहारावर्ग लगायत ९ थान अध्याय र ४० थान उपशीर्षकहरू समावेश छन् ।
“यस रचनाले व्यापक क्षेत्रलाई समेटेको छ । तर, पनि मलाई लाग्छ त्यति व्यापक होइन ।” लेखकीयमा जर्ज थोम्सन लेख्छन्, “किनभने, यसमा मैले पश्चिमी विज्ञान, कला, सङ्गीत र कवितासम्मलाई समेट्ने कोसिस गरेको छु ।…”
मन्तव्यमा हिन्दी रूपान्तरकार कर्णसिंह चौहान लेख्छन्, “यसमा दर्शन र इतिहासका समस्याहरूभन्दा बाहेक भाषा, भाषाविज्ञान, मनोविज्ञान, नृतत्त्वशास्त्र र साहित्यिक आलोचनासँग सम्बन्धित समस्याहरूको गम्भीर विश्लेषण गर्नुभएको छ । यस पुस्तकमा गरिएको ‘व्यावहारिक समीक्षाको रचनात्मक दृष्टान्त र मूल्याङ्कनले लेखकको रचनात्मक क्षमतालाई प्रष्ट पार्छ । यो पुस्तक स्वयम् पनि यसको सुन्दर उदाहरण हो । आज यस्ता विषयहरूको एक्लै खोजीले एक प्रकारले बाक्लो कुहिरो सिर्जना गरेको छ । त्यसलाई लेखकले आफ्ना मार्क्सवादी विश्लेषणद्वारा छ्याङ्ग पार्ने काम गर्नुभएको छ ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ७९ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ।रुपियाँ रहेको छ ।
२. नेपाली कथा र कथाकार _ डा. वासुदेव गौतम
दुई दशकदेखि निरन्तर पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकहरू प्रकाशन गर्दै आएका डा. वासुदेव गौतमको समीक्षात्मक कृति हो _ “नेपाली कथा र कथाकार” । पुस्तकमा “नेपाली कथा सिद्धान्त’, ‘कथाको विकास प्रक्रिया’लगायत आधुनिक कालका हस्तीहरू गुरुप्रसाद मैनालीदेखि इस्मालीसम्मका चौध जना कथाकारका चौधवटा कथाको विश्लेषण गरिएको छ ।
“प्रस्तुत पुस्तकमा सैद्धान्तिक पक्षलाई अत्यन्त सरल भाषाशैलीमा लेखिएको छ । सैद्धान्धिक विश्लेषण सरल र स्पष्ट पनि छ । कथाको कालविभाजनलाई स्पष्ट ढङ्गबाट लेखिएको छ । कथाको विश्लेषण गर्दा सन्दर्भ र पात्रको विश्लेषणमा शैलीवैज्ञानिक पक्षलाई समेत लेखकले समेटेकाले नवीन शैलीलाई आत्मसात गरेको देखिन्छ ।” भूमिकामा प्रा.डा. रामचन्द्र लम्साल लेख्छन्, “प्रस्तुत पुस्तक लेखकको ज्ञान र परिश्रम दुवैको प्रतिफल हो । यस पुस्तकमा साहित्यसम्बन्धी सरिता नै बगेको देखिन्छ । यस पुस्तकमा लेखकले सामग्रीहरूलाई उचित ढङ्गले सुसङ्गठित गरेर प्रस्तुत गर्नुभएको छ । यसमा उहाँको सुझबुझ र मिहिनेत परेको स्पष्ट झल्कन्छ ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय २१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
३. मिसर _ इल्या भट्टराई
भ्रमणमा रुचि राख्ने साहित्यकार इल्या भट्टराईकृत नियात्रा सङ्ग्र हो _ “मिसर” । पुस्तकमा ‘नौलो गन्तव्य’,’क्रुजमा पहिलो रात’, ‘लागसागरको किनारमा’लगायत १६ शीर्षक समावेश छन् ।
अन्त्यमा इल्या भट्टराई लेख्छिन्, “पाठकलाई लाग्ला जम्मा बाह्र दिनको यात्राको अनुभव लिएर कुनै लेखकले त्यस देशका बारेमा के नै जान्न सक्छ र ? त्यति थोरै दिन डुलेको देशका बारेमा एउटा सिङ्गै पुस्तक लेख्नु न्यायसङ्गत होला के ? समय त आखिर सापेक्ष न हो ! बाह्र दिनको यात्रामा मैले जुन जुन स्थलको भ्रमण गरेँ, त्यहाँको जानकारी लिने प्रयत्न गरेँ । भ्रमण अवधिभरि आफूसँग निजी गाइड भएको हुनाले आफू पुगेको ठाउँका बारेमा सोधखोज गर्न मलाई सजिलो भयो । देखेका ती ठाउँहरू, त्यहाँका स्थानीय कथाहरू र अन्य जानकारीहरू गाइडहरूले बताएअनुसार लेखेकी हुँ । त्यहाँ घुम्दाको मेरो निजात्मक अनुभूतिहरूको लेपन गरेर यो कृति यहाँहरू समक्ष प्रस्तुत गरेकी हुँ । ”
पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “प्राचीन मश्रको राजवंशमा जन्मिएको मानिस देउता मानिने भएकाले शरीर र राजवंश दुवै लिएर परलोकमा पुग्ने विश्वास गरिँदो रहेछ । त्यही भएर उनीहरूका लागि शरीरको ठुलो महत्त्व रहेछ । अनि त्यो शरीरलार्इ परलोकमा पुर्याउने माध्यम सर्काफगस ! मसला दलेर ममी बनाइएका शरीरमा यात्राका समयमा कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले सर्काफगस गह्रौँ बनाइँदो रहेछ । यस धरतीबाट अदृश्य अर्को लोकमा जानका लागि वाहनस्वरूप ठानिएको सर्काफगस सकेसम्म महँगो ढुङ्गाको वैभवशाली र कलात्मक बनाउने गर्दारहेछन् । त्यसैले हुनेखाने वर्गको मृत्युउत्सव सानदार हुँदोरहेछ ।”
पुस्तकलाई अक्षर क्रिएसन्स नेपालले बजारमा ल्याएको हो । २ सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
४. गौराङ्ग — हरिभक्त सिग्देल ‘महेश’
हरिभक्त सिग्देल ‘महेश’कृत खण्डकाव्य हो— “गौराङ्ग” । पुस्तकलाई मङ्गलाचरण, म हुन्छु एक्लै अब, सर्ग एक-‘पशुपति दाहिना भएपछि’, सर्ग दुई-‘भक्तपुरमा प्रसाद वितरण’लगायत सर्ग नौ-महाप्रस्थान शीर्षकहरूबाट तयार गरिएको छ ।
“हरेक मानिस शक्तिको पुजारी हुन्छ । यही बन्ने क्रममा उसभित्र जालझेल, छलकपट, बेइमानी, धुर्त्याइँ आदि कुविचारहरू जन्मन्छन् ।” शुभकामनामा युवराज मैनाली लेख्छन्, “यस अर्थमा उनी शक्तिसामु कहिल्यै नझुक्ने, पर्यो र शक्तिशाली पनि अन्यायी देखियो भने राजादेखि सुरक्षकर्मीका नायकसम्मलाई सिधै इन्कार गरेर उनीहरू विरुद्ध मुकाविला गर्न सक्ने सबल व्यक्तित्वका रूपमा खण्डकाव्यकार हरिभक्तले काव्यनाक गौराङ्गको व्यक्तित्व चित्रण गरेका छन् । वर्तमान अवस्थाका गए गुज्रेको सामाजिक वातावरणमा यस्ता पवित्र, संयमित, शक्तिसँग जुध्ने र दुर्वललाई मन वचन र कर्मले समेत उठाऊँ भन्ने भावनाका पवित्र मानसस्तम्भलाई काव्यको नायक बनाउनु अहिलेको समाजलाई सही मार्ग निदेर्शन गराउने भित्री लक्ष्य कवि हरिभक्त सिग्देलको यस कृतिमा पाइन्छ । आगामी दिनमा यस्तै कृतिहरूले जन्मने मौका कवि हृदयबाट पाऊन् यही मेरो शुभकामना छ ।”
पुस्तकलाई मीना सिग्देलले प्रकाशनमा ल्याएका हुन् । ६४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १०० रुपियाँ रहेको छ ।
५. फूल र अक्षता— प्रा. पीताम्बर शर्मा दाहाल
कवि प्रा. पीताम्बर शर्मा दाहालकृत कविता काव्यसङ्ग्रह हो— “फूल र अक्षता” । यसमा उमङ्ग एक- निर्धनका दिन, जेलका जीवनी बिर्सने के गरी, महानायकप्रति श्रद्धाञ्जलि लगायत ३७ थान कविता, उमङ्ग दुई- ऋतुप्रभाव, आशीर्वाद र अनुस्मृति लगायत काव्यहरू सङ्ग्रहित छन् ।
“त्यस्तै जीवनयात्रा कविताका पाँचौँ र आठौँ श्लोक, बितेका रसिला दिन – दशौँ श्लोक, घर कसको – छैटौँ श्लोक, ऋतुप्रभाव वसन्त – बाइसौँ श्लोक आदि कविताहरू हरेक विशिष्ट छन् । त्यस्तै निर्धनको दिन दोस्रो श्लोक, समाजवादी प्रजातन्त्रको वक्ता श्लोक दोस्रो र जेलजीवन – दोस्रो श्लोक, वागमतीका वेदना पहिलो श्लोक, गोदावरी पहिलो श्लोक, न्यू जिल्याण्ड सत्रौँ श्लोक त्यस्तै श्रृङ्गार प्रेम कविताले प्रा. दाहाललाई दार्शनिक कवि, प्राकृतिक कवि, समाजवादी प्रजातान्त्रिक कवि, शाश्वत कविका रूपमा लिनुपर्ने देखिन्छ । कवि दाहालमा कवितामा यन्त्र जस्तो नभएर मन्त्र जस्तो हुनुपर्छ, यिनले मानवमनका सूक्ष्म अनुभूति टिपी समयसापेक्ष दृष्टिमा युगबोधमा सशक्त स्तर दिन सके त्यही प्राणवन्त हुन्छ, कवितामा जीवन चलाउन र मन सलबलाउन सक्छ भन्ने कुरा प्रमाणित भएको देखिन्छ । प्रस्तुत कविता सङ्ग्रह स्वयंमा रससंवेद्य छ र नेपाली साहित्यका पाठकहरूको लागि प्रथम प्रकाशन भएर पनि विशिष्ट सिर्जना बन्न पुगेको छ । वास्तवमा कविता कोरा नारा होइन यो निरस कुनै व्याकरणात्मक चिन्तन पनि होइन, कवितामा चाहिने सौन्दर्य पक्षलाई कवि दाहालका कविताले अझ परिष्कृत परिमार्जित रूपमा आगामी प्रकाशनमा आउने नै छन् ।”
पुस्तकलाई श्रीमती सुषमा दाहलले प्रकाशनमा ल्याएका हुन् । १ सय ४० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।