
रातको एकबजे हरियाणाको यमुनानगर बस स्टेसन पुगियो । तर सबैतिर सुनसान । होटलसम्म जाने साधन पनि थिएन । बसपार्क वरिपरि देखिएका ससाना होटल बन्द जस्तै थिए ।
दिल्ली ! नेपाल र नेपालीका लागि कुनै नौलो र अपरिचित नाम हैन । मात्र यसलाई हेर्ने दृष्टिकोण र भोगाइ अलग अलग हुने मात्र हो । हामी सानो हुँदा पनि गाउँमा कुनै बेरोजगार युवा हरायो भने दिल्ली चलागए भन्ने गरिन्थ्यो भने कतिले दुईपट्टि समाएर माथि उठाएर दिल्ली देखिस् ? भन्ने गर्थे । देखिनँ भन्नु दुखेर जात्रा हुने । हत्तपत्त देखेँ भनेसि छुटकारा पाइने भएकोले देखेँ भनिन्थ्यो । जब अलि बुझ्ने भइयो । नेपालमा बहुदल आउनु बित्तिकै तत्कालीन कृष्ण प्रसाद भटटराईका सरकारले गरेको दिल्ली सम्झौता भाइरल बन्यो । हरेकका मुखमा दिल्लीको नाम सुनियो त्यसपछि त ६-६ महिनामा सरकार परिवर्तन । दिल्लीको नाम त कति कति । बरु आफ्नो देशको राजधानी बिर्सिए होला दिल्ली त कण्ठस्थ भयो ।
देशका नेताहरुको मात्र हैन हामी जस्ता सर्वसाधारणहरुको पनि विभिन्न बहानामा दिल्ली जाने क्रम जारी छ । पछिल्लो पटक मैले फेरि एकपटक छोटो अवधिको दिल्ली भ्रमण गर्ने काम पर्यो । अरुभन्दा नितान्त फरक तवरले सम्पन्न मेरो यस पटकको दिल्ली भ्रमणमा सकेसम्म सिल्ली बन्ने सोच बन्यो र जेजस्ता समस्या आए पनि रमाइलोको रूपमा ग्रहण गर्ने र संस्मरण लेख्ने सोच मनमा पलाएको थियो । सोहीअनुसार दिल्लीमा सिल्ली बन्दाको रमाइलो क्षणहरु लिपिबद्ध गर्ने जमर्को गरेको हो ।
दिल्ली भारतको राजधानी हो । दिल्लीको विकास तीव्र गतिमा भैरहकै छ । दक्षिण एशियाली मुलुकहरुमा दिल्लीको प्रभाव निकै रहने गर्दछ । दिल्लीको सत्ताले अमेरिका र यूरोप जस्ता शक्ति राष्ट्रको कामकारवाही र अर्थतन्त्रमा पनि प्रभाव गर्दछ । करिब ४२.७ वर्ग कि.मी. क्षेत्रफल रहेको दिल्ली महानगर क्षेत्रमा गुगुल भाईले बताएअनुसार हाल तीन करोड बीस लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । जुन नेपालको कूल जनसङ्ख्याभन्दा बढी रहेको छ । यस हिसाबले दिल्लीसँग मेरो लेनादेना केही छैन । मात्र ७२ घण्टाको अवधिमा रोटीबेटीको सम्बन्ध रहेको (आदरणीय मोदीजीको शब्द) छिमेकी मुलुकमा रहँदा भेटिएका पात्र र प्रवृत्तिलाई समेट्नु मात्र मेरो सरोकारको विषय हो है ।
दिल्लीको असल्लि परिचय जुनसुकै सवारी साधनबाट झरेर सडकमा पुग्न बित्तिकै मिलिहाल्छ । चाहे विमानस्थलबाट पुग्नुस् चाहे रेल वा गाडी । आफ्नो गन्तव्यस्थल पुग्न हतारिएका हामीलाई उनकै दरसन्तान लाग्ने अनुहारले चिनाइहाल्छ । अझ पहिलो पटक पुगेको भेउ पाइहाले भने राम्रै सत्कार भेटिने डर हुन्छ ।
“नेपाल से आए हो । बैठिए कहाँ छोडना हे हम छोडेंगे ।”
कुनै जाने ठाउँका नाम लिनुबित्तिकै त्यहाँ जान निकै समस्या हुने टाढा रहेको अरूले निकै रकम लिने तर आफूले निकै कम रकममा ठाँउमा पुर्याइदिने आश्वासन दिन्छन् । तर दुरीका हिसाबले कम्तीमा ४ गुणा भाडा बताएर बार्गेनिंग सुरु हुन्छ। यही नियम लागू हुने निश्चित थियो ।
त्यसैले विमानस्थलबाट बाहिर निस्कनसाथ एक जना दलाल भाइको फन्दामा परियो । भलाकुसारी भयो । यमुनानगर जाने भए टयाक्सीमा ६००० भारु लाग्ने बतायो । बसस्टेसनसम्म कति लिने भनेको ३० कि.मी.को १५०० भारु बतायो । जब कि स्थानीय मानिसहरुले बढीमा तीनदेखि चारसयसम्म तिर्ने हो । उसले हत्त न पत्त एउटा गाडीभित्र छिरेर मोल गर्न भन्यो । होचो गाडीमा हतारमा छिर्न खोज्दा ढोकामा तालु ठोकिएर तोरीको फूल देखाइहाल्यो । धन्न प्रभु तालु छोप्न क्याप लगाउने गरेको थिएँ र चोट भने लाग्न पाएन । दुख्न त के कुरा गर्नु । सकेसम्मको सीप प्रयोग गरेर फोनबाट गाडी खोजेर फसाउने प्रयासमा लाग्यो त्यो असल्लि मित्र । तर त्यसलाई के थाहा यस पटक म कुनै हतारमा थिइन र अनुभवकै लागि नाटक गरिरहेको थिएँ । अन्तमा भाइसाब सहयोग के लिए शुक्रीया । हम पैदल ही चलंगे भनेर हिँडियो झोला बोकेर । हामीलाई सिल्ली बनाउन लाको भाइसाब आफै सिल्ली बन्यो ।
झण्डै दश मिनेट तन्केर मूल सडकमा पुगियो । भएभरका टेम्पु चालकमध्ये अनुहारले अलि सरिफ देखिनेलाई छानेर कास्मिरी गेट जाने बससम्म लगिदिन अनुरोध गरियो । अनुमान गरे जस्तै इमान्दार देखियो । नियमानुसार लाग्नेभन्दा एक रुपियाँ बढी लिने नगरेका बताएर अघि बढियो । बाटोमा कुरा गर्दै जाँदा गुरु डा. सुरेन्दर गुप्तासँग उसकै फोनबाट कुराकानी गराए । उहाँ कै सल्लाहा मुताबिक कास्मिरी गेटमा पुगेर बसमा जाने निणर्य भयो । दिल्लीमा खराब खाले मान्छे पनि रहने गरकोले आफ्नो सामानको सुरक्षा गर्न र अनावश्यक मानिसहरुसँग बहस नगर्न सल्लाह दिँदै सहुलियत दरमा नै हामीलाई बसस्टेसन छोडिदिए । खराबहरुको बीचमा असल मान्छे जन्मन नरोकिने रैछ भन्ने प्रमाण पनि भेटियो ।
बाटोमा भएको ट्राफिक जाम, बस, टेम्पो र अन्य साधनले लगाएको हर्नको आवाज, एकले अर्कालाई भ्यालबाट मुण्टो निकालेर गरेका आमचकार गाली…तेरी मा…ब्यहानचू…के के हो ? धन्न हिन्दी बुझ्दिन र सजिलो भयो ।
बसस्टेसन यहाँको तुलनामा व्यवस्थित लाग्यो । दिल्लीबाट हरियाणा जाँदा तुलनात्मक रुपमा हरियाणाका मानिसहरु बढी मानवीय र आत्मीय देखिए । बसको टिकटको लागि स्वचालित लाइन बन्दो रछ । लाइन बसियो । समय कटाउनु पनि त थियो । करिब डेढघण्टा लाइन बसे पछि बस आयो । अनि मात्र काउण्टर खुल्यो अचम्मै भयो ५० सीटको बसमा हाम्रो पालो ४८ र ४९ परयो बाँकी सबै बस चढेनी बस्न पाएनन् उभिनै पर्ने भयो ।
ठेलामठेल गरेर अन्तिम सीटमा बस्न त पाइयो । बसमा रहेको सँगैको ५० नं सीटमा बस्ने भाइ औधी खुशी थियो । लोकसेवाको जाँचमा अन्तिम कोटामा नाम निकाल्ने जत्तिकै । ऊ भन्दै थियो । अघि लाइन बस्ला यिनीहरू (उभिनेहरु) हामीलाई यति समय लाइन बसेकोमा सिल्ली ठानिरहेका थिए । अब यिनीहरु कम्तीमा पाँच घण्टा उभिँदा चाल पाउँछन् । उसको खुशी देखेर लाष्ट सिटमा यात्रा गर्दाको उफ्राइ र पिडासमेत कम भयो ।
गाडी राम्रै गतिमा कुदेको जस्तो लाग्दथ्यो । तर समय बेपत्तै लगायो । रातको बाटो तर ठाउँ ठाउँमा फरक फरक गन्ध । त्यताकाले गन्धकै आधारमा कुन ठाउँ आइपुग्यो भनेर सजिलै पत्ता लगाउने जस्तो । ढोकासँगै सीट अनि ढोका नलागेपछि हावाले राम्रै स्पर्श गर्यो । दिल्लीमा गर्मी मात्रै हुन्छ भनेर अनुमान गर्ने पिएचडि गर्न तम्सेका दुई सिल्लीहरु सम्झेर एक्लै हाँसो लाग्न थाल्यो । अझ आरसी गुरुले (सहपाठी र सहयात्री) घरी घरी ढोका लाउन गरेको असफल प्रयास । कति हाँस्नु । मलाई जाडो नहुने रोग लागेको देखेर आरसी गुरु आफै सिल्ली बनेका हुन् कि मलाई सिल्ली बनाका हुन् पत्तो भएन ।
रातको एकबजे हरियाणाको यमुनानगर बस स्टेसन पुगियो । तर सबैतिर सुनसान । होटलसम्म जाने साधन पनि थिएन । बसपार्क वरिपरि देखिएका ससाना होटल बन्द जस्तै थिए । एक चक्कर लगाइयो । तर केही मेसो मिलेन । यस्तैमा एउटा बिहेको कार्यक्रममा मानिसहरु आवतजावत गरेको देखेर एक युवालाई आफ्नो समस्या भनेपछि आफ्नो मोटरसाइकलमा हामी दुईलाई राखेर नजिकैको एउटा होटलको दैलोमा छोडेर खाली नै होला यहाँ बस्नुस् भने ।
हामी माथिल्लो तलामा उक्लियौं । एकजना भाइसाब हुनुहुन्थ्यो । निकै आत्मीय व्यवहार देखाउनुभयो । तर कोठा दिनुस् त भनेको त “सरी भाइ साब हमारा आज फूल रुप बुक हे एक भी कमरा खाली नही है” भनेर भने ।
बित्यास त परि नै हाल्यो । चियो एकातिर अर्कोतिर निद्रा । फेरि भोली प्रोफेसर साबसँग आफ्नो पढाइको बारेमा गर्नुपर्ने गहन छलफल । होटलको चालमाल हेर्दा त्यस्तो प्याक नै हुने जस्तो त थिएन । मैले निकै विनम्र भएर अनुरोध गरेँ, “भाइसाब कुछ ही घण्टा के तो वात हे । कल सुवह ८ बजे तो हम चल्न पडेगा । हो सके तो कुछ भि तरह म्यानेज करलो । अगर पास कोही होटल हो त उनमे हमको रहने के प्रबन्ध किजिए ।”
उसले कसैलाइ फोन गरेर भन्यो । रातमा आको पाहुनालाई किन कष्ट दिनु एउटा कोठा खाली गराएर दिन्छु भन्यो । रेट उसले एक हजार भारु भन्यो । हामीले खुशी साथ स्वीकार गर्ँयौ। उसले छेउमा बन्द रहेको कोठा खोलेर हामीलाई देखायो जुन खाली नै थियो । मनमनै हाँसो लाग्यो । किनकि त्यहाँको कोठाको एकरातको लागि बढीमा सात सय लिन्छ भनेर अघि छोड्ने भाइले बताएको थियो । तैपनि हाम्रो लागि त्यो वरदान जस्तै थियो । उसले बताएको दरमा स्वीकार गरेकोले ऊ खुशी थियो । उसको आशय ८ बजे विहान कोठा छोडिदिए राम्रो भन्ने थियो । हामीलाई त्यो भन्दा बढी बस्न मिल्ने अवस्था पनि थिएन । कोठाको स्तर र अवस्था राम्रो त थिएन तर हामीलाई तत्कालीन अवस्थामा त्यो स्वर्ग नै सावित भयो कम से कम पल्टेर थकान मार्न र चिसोबाट बच्न त सकियो । मैले सोचे होटलको त्यो भाइले पनि हामीलाई सिल्ली नै सोच्यो होला केही घण्टाको लागि दोब्बर रकम दिएर बस्यो भनेर । तर हामीले त यसमा नै मज्जा मानिरहेका थियौँ ।
विहान गुरुको निवासमा जाने सन्दर्भमा पनि रमाइलो भयो । टेम्पोमा प्रतिब्यक्ति रु १० भाडामा सेक्टर अठारमा लैजाने थाहा भयो । तर बाटोमा भेटिएको टेम्पोवालालाई ठेगाना देखाएर त्यहाँ पुर्याएको कति लिन्छौ भनेको तीन सय भन्यो । दुई सय भाडा तय गरेर लगेको त अर्कैतिर लगेर मलाई हतार छ यहीँ हो भनेर झार्न खोज्यो । मान्छको आकृति हाउभाउ हेर्दा पुरै फटाहा र सुकुलगुण्डा जस्तै थिए दुईजना । हामीलाई पराया सम्झेर ठूलो स्वरमा हप्की दप्की गर्न लागेपछि मैले पनि ठूलै स्वरमा हकारेँ— “क्या समझते हो भाइसाब हमको पता नही कितना किराया लाग्ता है ? सिर्फ २० का किराया हे । हमे जगह पे पहुँचनेके लिए तुमको ज्यादा दिया था । तुमको जगाहा मालुम नहि हे तो वापस उही जगा पे पहुँचा दो आपको दो पैसे नहि मिलेगा । अगर ज्यादा बकवास किया तो तुमको किदर लाना हे हमको पता
हैं” ।
यति भनेसी भाषामा सुधार गर्दै “गल्ती भए ल बाबुजी हामको उधर रोडमा जानेका प्रमिट नही है । हमको छोडदिजिए” भन्यो ।
के मुख लाग्नु भनेर हामी आफ्नो बाटो लाग्यौँ । यस्तो घटना भारतमा नयाँ देखिने सबै यात्रुको लागि सामान्य हो । प्रोफेसरसँग भेटेर फर्कने क्रममा हामीसँग थुप्रै विकल्प थिए । तर हामीले भारतको लोकल रेलको अनुभव लिँदै दिल्ली फर्कने निर्क्याेल गर्यौं ।
सुरुमा यमुनानगरबाट अर्को स्टेसन पुगेसी हतारमा रेलमा चढेको महिलाहरुको लागि तोकिएको डिब्बामा छिरिएछ । आइमाई केटाकेटी र एक जना समुह मै आएका पुरुष पनि देखेर बसी त गइयो । तर साह्रै असहज भयो । रोकेपिच्छे दकस र लाज । झरेर अर्कोमा जाने हिम्मत पनि आएन । तर दश दश मिनेटमा रोकिने रेल अनि डिब्बामा आउने जानेको हर्कत हाउभाउ र अनुहारमा देखिने भाव हेर्दै यात्रा गर्दा रमाइलो लाग्यो । तर जो चढे नि हामी दुईलाई त्यो डिब्बामा देख्दा तेस्रो ग्रहबाट आएको जन्तुलाई जस्तै हेर्थे । यहाँभन्दा सिल्ली बन्ने अर्को हर्कत के नै हुन सक्थ्यो र ? तर अलि पढेका जस्ता देखिनेहरुले चाहिँ हामी बाहिरको यात्रु रहेछ भनेर अनुमान पनि गरेका थिए ।
एउटी कलेज पढ्ने नानीसँग कुराकानी गर्न थालेसी इतिहास र भूगोलको बारे र उनले नेपालको बारेमा थाहा पाएको कुरा सुन्दा रमाइलो भयो । केही स्टेशन काटेपछि टिकट जाँच्ने मान्छे आए । आप स्टाफ हे क्या भनेर साधेँ । मैले हैन भनेर टाउको हल्लाएँ ।
उसले हकार्यो, “क्यू यहाँ बैठे हो त । उतरो ।”
हामी खुरुक्क झर्यौं । त्यो स्टेसनमा झर्ने धेरै रहेछन् । अर्को डिब्बामा डराइडराइ चढ्यौँ । त्यहाँबाट पनि दिल्ली पुग्न अझै १५ स्टेशन बाँकी रहेछ । वगलमा रहेकाहरुसँग बात मार्दै मार्दै बाटो कटेका पत्तो भएन । हरेक टोलका भाषा लवज र हर्कत अलग देख्दा रमाइलो लाग्ने । जब एउटा हल्लाखोर समुह हाम्रो डिब्बामा चढे तब तासको तीन पत्ति खेलेर कुटाकुटै गरुम्ला झैँ गर्न थाले । अरु यात्रु सामान्य मानिरहेका थिए । एक शालिन युवालाई साधेको । ए कोही नइ बात नही । यहाँका परम्परा है कोही नहि बोलता । इनका लोकल एरिया है । यिनको कोही नही रोक सक्ता । लौ । देखो । हमारा नेपाल मे तो जहाँ से भी पकडकर लाता जुवा खेल्ने को भन्दिएँ मैले । जे होस् १६५ कि.मि. बाटो रु ३० मा सात घण्टा लगाएर सिल्लीपूर्ण तवरले दिल्ली पुगियो ।
दिल्लीमा हरेक मिनेटमा नयाँ घटना हुन सक्छ । टेम्पोलाई पहाडगन्ज पुर्याउन गरेको आग्रहमा उनीहरुले प्रस्ताव गरेको भाडा निकै रमाइलो हुने । भाडा सही रहेको जिकिर सुन्न त्यत्तिकै मज्जा । “यित्ना मे तो ट्याक्सीमा जाएंगे क्यो लिईगे अटो” भन्देको जात्रा लायो भैयाले । बल्लतल्ल एउटा क्रान्तिकारी हिन्दी फिल्मको नायक जस्तो देखिने अटोवालालाई तय गरियो । बाटोमा उसले ओकलेका गाली, देशको वेथितिप्रतिको आक्रोश केजरीवालदेखि महात्मा गान्धीसम्मले देश लुटेको भनेर उसले गरेको गाली । एउटा मिसाएल लिएर सबै नेताहरुलाई एकै चिहान बनाउन रहर छ र उसलाई । स्नातक पास गरेको सुनायो उसले । सबैले आफ्नो पेटमा लात हान्ने गरेको काम गरी खान नदिएको आरोप उसले लगाइरहेको थियो ।
उसले मलाई पनि सोध्यो, “कैसा हे नेपालको राजनीतिक माहोल ?”
मैले हाँसेर भनिदिएँ, नेपाल मे तो बहुत बढियाँ चलरहा है भाई । प्रचण्डका सरकार चला है अभि । सुने हो नाम ?”
फेरि उसले गाली दियो । जो भएनी सबै फटाहा र लुटेरा हुन् । देशका लागि कोही काम गर्दैनन् भन्दै अटो बत्तायो । मोरोले कुन गाडीको चक्कामुनी हाल्देला भन्ने डर ।
भारत भौगोलिक, जनसाङ्ख्यिक र आर्थिक हिसाबले पनि विश्वमा प्रभाव पार्ने मुलुक हो । यहाँ विश्वमा पाइने हरेक असल र खराब चीज पाइन्छ । यसमा दुई मत छैन । भोलिपल्ट दिल्ली मेटरो चढेर लोटस टेम्पल नजिक पर्ने कालकाजी मन्दिर पुगियो । जनताको धार्मिक आस्था घण्टौ लाइन बसेर दर्शन गर्नै धैर्यता एकातिर । फेरि मन्दिर वरिपरि नै भएका ठगी र लुटपाटको धन्दा अर्कोतिर । लोटस टेम्पलभित्रको सजावट र सरसफाइ एकातिर फेरि थुक्न सम्म पनि घिन लाग्ने शहर अर्कोतिर । दिल्ली मेट्रोको सयर गर्दा युरोप र जापानका झल्को । फेरि टेम्पो र टयाक्सीमा हुने अमानवीयपनको पराकाष्ठा । सबै सबै अद्वितीय लाग्छन् ।
आफ्नै सिल्लीपनको अन्तिम घटना पनि जीवनका लागि शिक्षाप्रद नै रह्यो । कालकाजी मन्दिरमा सोचेभन्दा निकै समय लाइनमा बसेकाले हतार हतार लोटस टेम्पल पुगीवरी होटलमा पुग्दा एक बजिसकेको थियो । हाम्रो नेपाल फर्कने जहाजको समय ४:५० बजेको थियो । खाना खाइवरी निक्लिने जमर्को गर्दा साढे दुई बजिसकेको हुँदा टयाक्सीमा जाँदा जाममा परिने र ढिला हुने डरले रेलमा जाने निधो गरेर रेल चढेको झण्डै पच्चीसवटा स्टेसन पार गरेर अझ अर्को रेल चेन्ज भएसी पो इन्दिरा गान्धी विमानस्थल पुगिँदो रैछ । जसै गरे नि चार बजे मात्र पुग्न सकिने अवस्था भयो । रेलमा बस्दा नि निकै तनाव र उकुसमुकुस भयो ।
विगतका अनुभवमा अन्तर्राष्ट्रिय उडानका लागि ढिलोमा दुई घण्टा अघि एअरपोर्ट पुग्ने गरेको हो । तर यहाँ त एक घण्टा पनि समय बाँकी थिएन । स्थानीय यात्रुको सहयोगमा रेलबाट झर्नु बित्तिकै हस्याङ्फस्याङ् गरेर दौडन लाको एक जना स्मार्ट भाइ सामुने आए । र आपनत्व देखाए । इस हिसाबले तो आप काठमाडौंका फलाइट नहि पकड सक्ते है । मै आपको हेल्प करुंगा आप मेरेको फलो करें । भनेर दौडाउँदै अपाङ्गहरु चढ्ने लिफ्टको स्लीप काटेर दौडाउन थाले । टर्मिनल ३ र डि काउण्टरमा निकै लामो लाइन थियो । उसले हामीलाई कतै नहेरी भित्रि लिफ्टबाट गेटसम्म पुर्यायो ।
बाटोमा सहयोग गरेबापत अलिकति रकम माग्यो । मैले अनुमान गरेको थिएँ । यो भाइले रकम माग्छ भनेर । मनमा पिलेन छुट्दा हुने सास्तिको पनि अनुमान गरेको थिएँ । एक एक मिनेट किमती थियो । उसलाई पाँच सय आइसी खुशीले दिएँ । उसले आफ्नो सीप र कौशल प्रयोग गरेर लामो भिडबाट अघि पठायो । काण्टरमा पुग्दा खाली थियो । सायद हामी नै अन्तिम थियौं बोर्डिंग लिने ।
त्यसपछि पनि इमेग्रसनको भिडमा सबैलाई हात जोड्दै सक्दो अनुनय विनय गरी समयमै जहाजसम्म पुगियो । वास्तवमा समयको आकलन गर्न नसक्दाको त्यो सास्ती सम्झदा अचम्म लाग्छ । हतारमा बौलाहाले झै दौडदाको जीउ दुखाइ र विमानस्थलमा आफूले प्रर्दशन गरेको सिल्लीपनको दृश्य जहाजको सीटमा आराम गर्दा सपनामा दोहोरिरहेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

