सुन्दै अविश्वास लाग्न सक्छ, मेरो नेदरल्याण्ड्सको यात्रा रोल्पाको लिवाङबाट सुरु भएको हो । अर्थात्  त्यहाँ पाएको एउटा सानो सूचनाले तय गरेको थियो ।

फेलोसिपको घनचक्कर

सुन्दै अविश्वास लाग्न सक्छ, मेरो नेदरल्याण्डसको यात्रा रोल्पाको लिवाङबाट सुरु भएको हो । अर्थात्  त्यहाँ पाएको एउटा सानो सूचनाले तय गरेको थियो । कहिलेकाहीँ एक दुइ घण्टा वा रात वा एक दिनेको बसाइ वा कुराकानी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा । त्यसपछि म पाएसम्म नयाँ साथी बनाउन र नयाँ जानकारी लिन छाड्दिनँ ।

जतिबेला नेदरल्याण्डसमा पत्रकारिताको तालिमका लागि जाने योजना बनाइरहेको थिएँ वा अप्लाइ गरिरहेको थिएँ । मलाई कति पैसा लाग्छ, कसरी जाने आदि केही कुरा थाहा थिएन । न पैसा थियो, न व्यापार, न जागिर केही थिएन । तर पनि नेदरल्याण्ड पुगेर ३ महिनाको फेलोसिपको पढाइ सकेर आउँदा उल्टै कमाइ भएछ । खर्च त हुने कुरै भएन । यो आलेख नेदरल्याण्डको आम्स्टर्डमबाट फर्किएको १७ वर्ष पछि तयार गर्दैछु । त्यसबेला फेलोसिप प्राप्त गर्न गरेका सङ्घर्षका लडाइँ र यात्राका यादहरु मेरा मानसपटलमा जस्ताको तस्तै छन् ।

नेदल्याण्डसलाई हल्याण्ड पनि भनिँदो रहेछ । नेदरल्याण्डस भनेको जमिनको सतह समुद्रको सतह भन्दा तल हो भने हल्याण्ड भनेको Hollow land अर्थात हल्लिने ल्याण्ड अर्थात् हल्याण्ड हो । यो देश १७ शताब्दीमा १८ शताब्दीको बेलायत र २० औँ शताब्दीकाे अमेरिका जतिकै शक्तिशाली थियो भन्ने इतिहास पाइन्छ ।

२०६१ सालतिरको अर्थात सन् २००४ को अक्टोबरतिर डा. शिवहरी दाहालले एउटा NGO  सञ्चालन गर्नुभएको थियो । त्यसको नाम National Peace Campaign, त्यसको कार्यालय माइतीघरमा थियो । त्यसले संविधान सभा जनाताको माग हो कि हैन भन्ने विषयमा जनमत बुझ्न सानो सर्भे गर्ने भएको थियो । यसै क्रममा एक दिन डा. शिवहरी दाहाल, नेपाली काँग्रेसका नेता तथा विश्लेशक श्री कृष्ण अनिरुद्र गौतम र नेपाली काँग्रेसका नेता नरहरी आचार्य रोल्पाको लिवाङ जाने टुङ्गो भएछ । साथमा म पनि जाने भएँ । आफू पढ्दै गरेको अवस्था, जागिर नभएको बेला डा. शिवहरी दाहालले यो बेरोजगार बुङ्गोलाई लैजाउन त भनेर सोच्नु भएछ । त्यसैअनुसार म तयार भएको थिएँ तर म केही दिन रोल्पा बसेर केही फर्म भरेर आउनु पर्ने र त्यसबापत दैनिक १५०० भत्ता दिने भनिएको थियो । त्यो सर्भेले स्थानीय जनप्रतिनिधि, अगुवा कार्यकताहरुको राय बुझ्ने भन्ने गरी तयार गरेको थियो ।

दुई दिने कार्यक्रम थियो, स्थानीय कार्यावधि सकिएका जनप्रतिनिधि र केही स्थानीयलाई रोल्पाको लिवाङमा भेटघाट गरेपछि बेलुका होटलमा बस्ने प्रबन्ध मिलाइएको थियो । हामी बस्ने भनेको होटल विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले खचाखच भरिएको थियो । त्यसपछि हामीले प्रहरीलाई आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेबमोजिम हामी सबैलाई प्रहरीले आफ्नै पाहुना घरमा बस्ने व्यवस्था मिलाएको थियो । शिव दाइसहित तीन जनाको टोली एउटै कोठामा अटेसमटेस गरेर पहिलो रात बिताइयो । भोलीपल्टको भेटघाटको कार्यक्रम सकिएपछि शिवदाइ, नरहरी आचार्य र श्रीकृष्ण अनिरुद्र गौतम फर्किनु भएको थियो ।

म एक्लै रोल्पाको लिवाङमा सर्भेको फारम बोकेर बसेको थिएँ । मेरो पनि एकै दिनमा काम सकिनेवाला थियो । भोलीपल्ट मैले सर्भेको काम सकाएँ र आराम लिएँ । बेलुका मेरो लागि नेपाल प्रहरीको पाहुना कक्षमा बस्ने व्यवस्था मिलाइएको थियो । मेरो जुन कोठामा बस्ने व्यवस्था मिलाइएको थियो त्यो दिनको बेलुका अर्को एकजना पाहुना थपिनु भएछ, मलाई प्रहरीले बेलुका मात्रै खबर गर्नुभयो । ती पाहुना मेरो लागि नेदरल्याण्ड जाने सुत्राधारको रुपमा आउनुभयो । सुत्र पाएपछि हिसाब मिलाउन के को गारो भो र ।

बेलुका जब उहाँसँग भेटघाट भयो, परिचयपश्चात खास गरी निजी जीवनका भन्दा पनि कामका कुराहरु भए । अक्सर पहिलो भेटमा जसले पनि सार्वजनिक विषयकै त कुरा गर्ने हो । उहाँ पत्रकार भएकाले पत्रकारिताकै कुरा गर्नुभयो, मैले आफू पनि फुटकर पत्रकार भएकाले हाँमा हाँ मिलाएँ । धेरै कुरा भएपछि उहाँले नेदरल्याण्डमा फेलोसिपमा पत्रकारिता अध्ययन गर्न कसरी जान सकिन्छ भन्ने भेद खोलिदिनु भयो । उहाँ भर्खर फेलोसिपको तालिम सकेर नेपाल फर्किनु भएको रहेछ ।

यहाँ फेलोसिप भनेको चाहिँ नेदरल्याण्ड सरकारले विभिन्न देशका भर्खर सिक्दै र जान्दै गरेका विभिन्न पेशाका व्यक्तिलाई उसको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने कार्य हो । यसमा कसैले नगदै वा कसैले तालिम दिने गर्छन् र यस वापत कुनै शुल्क लिँदैनन् । नेदरल्याण्ड सरकारले रेडियो नेदरल्याण्ड ट्रेनिङ सेन्टर मार्फत विश्वका विभिन्न विकासशील देशका पत्रकारहरुलाई तालिम दिने गर्छ ।

म त्यतिबेला फुटकर पत्रकारिता र छिटफुट गैरसरकारी संस्थाको कार्यकर्ता थिएँ । फुर्सदको बेला लेखिएका सामग्रीहरु पत्रिकामा छाप्दा आफूलाई आनन्द पनि आउँथ्यो । अमर जी अर्थात अमर ध्वज लामा जसले मलाई नेदरल्याण्डसको फेलोसिपका लागि यो सबै जानकारी दिनु भएको थियो । सायद उहाँले मेरो पत्रकारिताप्रतिको रुची देखेर यति जानकारी दिनु भएको होला ।

रोल्पाबाट फर्किए र अमरजीले दिनु भएको इन्टरनेटको लिंक पछ्याउन अनामनगरमा रहेको एउटा साइवर छिरेँ । त्यतिबेला इन्टरनेट हेर्न परो भने कि साइवर वा कतै कतै अफिसतिर नि पाइन्थ्यो । वायरलेस इन्टरनेटको त आविस्कार नै भएको थिएन । सहरहरुमा साइवर क्याफे व्यवसाय खुब फस्टाएको थियो ।

जब मैले रेडियो नेदरल्याण्ड ट्रेनिङ् सेन्टरको लिंक पत्ता लगाएँ, त्यहाँ फेलोसिपको लिंक भेटियो । त्यही लिंकलाई पछ्याउँदै अध्ययन सामग्रीहरु बटुलेँ । दुई दिन लगाएर अध्ययन गरेँ । नबुझेको कुरा अमरजीलाई सोधेँ । अनि फर्म डाउनलोड गरेर इलेक्ट्रोनिक टाइप गरेँ, अन्य आवश्यक कागजात तयार पारेर फ्याक्स गरेँ । पत्रकार रामहरी सिलवालको डिल्लीबजारमा Journalist for Anti Corrupation नाम गरेको संस्था थियो । मैले अफिसियल रिकमण्डेसन त्यही संस्थाको लिएको थिएँ । उहाँले सहयोग गर्नु भएको थियो । मैले आवेदनको अन्तिम दिन फयाक्स गरेको थिएँ । अङ्ग्रेजी साहित्य पढेको हुनाले मलाई यो सबै जानकारी अध्ययन गर्न खासै गारो भएन । त्यतिबेला आशिंक रोजगारीको फाइदा मैले निकै मजाले उठाएकै हो ।

तर रमाइलो के भएछ भने मैले अन्तिम दिन फ्याक्स गरेको थिएँ, त्यही दिन मेरो निवेदन स्वीकृत भएछ । स्वीकृत भएपछि मलाई मैले दिएको इमेलमा लगातार इमेलहरुको वर्षा हुन थाल्यो र म पनि के कम, फटाफट जमेर उत्तर दिन थालेँ । र अन्त्यमा काठमाडौंबाट आवेदन दिने २०० जना बढी सबैलाई पछि पार्दै अन्तर्वार्ताका लागि छनोट भएँ । त्यो दिन हिप हिप हुर्रे∕ जति खुसी भए पनि खुसी वा दुःखका कारण रक्सी पिउने बानी थिएन । अन्तर्वार्तामा अरु पनि प्रतिस्पर्धी बाँकी रहेछन् । मलाई पछि अमरजीले अप्लाइ गर्नेहरुको नाम भन्दा पो थाहा भयो । त्यसबेला ठुलो संख्यामा रेडियो नेपाल, नेपाल टिभि, सगरमाथा एफ एम, एभन्यूज टिभी, इमेज च्यानल, रासस, गोरखापत्र, कान्तिपुर दैनिक लगायतका एकसे एक मिडिया हाउसहरु थिए । यति धेरै सञ्चारकर्मीहरुबाट सबैलाई जितेर छनोटमा पर्नु मेरा लागि कम्ती खुसीको कुरा थिएन ।

यो फेलोसिपमा नेपालदेखि आउने जाने टिकट, होटलमै खाने बस्ने सुविधा, स्थानीय बसको टिकट, खाजा अनि दैनिक भत्ताको व्यवस्था थियो । लगातारको प्रतिउत्तर र छनोटपछि मलाई मौखिक अन्तरवार्ताका लागि तयार रहनु भनेर खबर आयो । म त्यसैअनुसार तयार भएर बसेँ । त्यसको दुइ दिनपछि मलाई घरको टेलिफोनमा फोन आएछ, नेदरल्याण्डको रेडियो नेदरल्याण्ड ट्रेनिङ्ग सेन्टरबाट । टेलिफोन टोनी वील्कीन्सन भन्ने व्यक्तिले गर्नु भएको रहेछ । मेरो श्रीमतीसँग लगभग ३० मिनेट जति कुरा गरेर मलाई बोलाउन भनेको रहेछ । त्यतिबेला मोवाइलको सुविधा त थियो तर मसँग मोवाइल हुने कुरै भएन । म त्यतिबेला पार्टटाइम अङ्ग्रेजी भाषा पनि पढाउने गर्थेँ । भाषै पढाउने भएपछि मलाई अङ्ग्रेजीमा बोल्न समस्या हुने त सवाल नै हुने भएन ।

घरमा फोन आएको थाहा पाएपछि हतार हतार सार्वजनिक बस चढेर घर पुगेँ । म पुगेको १५ मिनेटमै नेदरल्याण्डबाट टेलिफोन त आइहाल्यो । टोनीले मलाई एक घण्टासम्म अन्तरवार्ता लिए, म पनि के कम आफूसँग भएको जानकारीअनुसार सक्दो कोसिस गरेँ । अन्तिममा उसले भन्यो, हामी केही दिनमा खबर गर्छौं । मैले ठिकै छ भनेर टेलिफोन राखेँ ।

पछि बुझ्दै जाँदा यो फेलोसिप निकै ठूलो रहेछ । जो कोहीले पाउने सम्भवै रहेनछ । मेरो काम बिहान उठ्ने, खाना बनाएर खाने, अनि दिनभरि साइवर गएर बस्ने अनि जे जे भेटिन्छ पढेर बस्ने । तीन दिन पछि मलाई You are Sellected, Congratulations! भनेर इमेल आयो । त्यही इमेलमा मलाई अबको अगाडिको प्रोसेस पनि दिएको थियो ।

===

भिसा प्राप्तिको अन्तिम तयारी

बखुण्डोलमा रहेको SNV भन्ने नेदरल्याण्डको गैरसरकारी संस्थामा गएर पासपोर्ट र अन्य कागजात बुझाउनु पर्ने थियो, यो भिसा प्रोसेसको अन्तिम तयारी थियो । मैले आउनु भनिएको दिन आफूसँग भएको पासपोर्ट र फोटो लिएर SNV गएँ । पासपोर्ट र एउटा सानो आवेदनबाहेक केही बुझाएको थिइन, भिसा फि निःशुल्क थियो, बुझाउनु परेको थिएन, अर्थात सबथोक निःशुल्क । पासपोर्ट बुझाउने टेबलमा एकजना डच महिला हुनुहुँदो रहेछ । उहाँले मलाई भिसा फारम भर्दा बीचमा नबोल्नु भन्नुभयो । नबुझेको कुरा अन्तिममा सोध्न भन्नुभयो । मैले कुरा बुझिनँ ।

तै पनि त्यसैअनुसार गरेँ पासपोर्ट, भिसा फारम, र फोटो बुझाएर फर्किएँ । पासपोर्ट बुझाएको ७ दिन जतिमा मलाई SNV बाट फोन आयो । म दौडेर पुगेँ । मेरो पासपोर्टमा ३ महिनाको भिसा लागेको रहेछ । खुसीको सीमा नै थिएन । भिसासँगै दुईतर्फी टिकट, र अन्य अध्ययनका लागि सामग्रीहरु पनि आएका रहेछन् । सबै कागजात र पासपोर्ट सानो झोलामा हालेर घरतिर लागेँ । द्वन्द्व कालको समय भएकोले नेपालीहरुको भिसा लाग्न निकै कठिन मानिने बेला थियो । मलाई यो सब ख्यालख्याल लागिरहेको थियो । त्यसबेला देखि ठिक ठाउँमा ठिक तरिकाले प्रयास गरियो भने सफल भइन्छ भन्ने मेरो बुझाइ रहेको छ । यो घटनाले मलाई सही तरिकाले काम गर्न सिकायो । त्यति बेलासम्म मेरो त्यस्तै नेपाली १५०० जति खर्च भएको थियो होला ।

खासमा म यो फेलोसिपको पुरस्कार पाउन योग्य व्यक्ति थिइनँ तर दौडमा भाग लिएपछि जसले प्रतिस्पर्धामा अगाडि भयो जित्ने त उसैले हो । मेरो अङ्ग्रेजी भाषा, बोल्ने शैली र मानिसलाई तुरुन्तै आफ्नो विस्वासमा लिन सक्ने क्षमताकै कारण मैले यत्राविधि बिसौँ वर्ष अनुभव भएका पत्रकारहरु पछारिदिएको थिएँ । जे होस पहिलो स्पर्धामा म अब्बल ।

अब मेरो मनमा नेदरल्याण्ड कस्तो होला भन्ने तिर लाग्यो । घर, परिवार, छिमेकी, साथीहरु सब छक्क परेका थिए । यो कसरी सम्भव भयो ? बिना खर्च कसरी युरोपको भिषा गइन्छ ? उनीहरुको लागि त सम्भव भएन तर मेरो लागि त भयो । यो सब मैले गरेको छिटफुट पत्रकारिता प्रतिस्पर्धीहरुमाझ उत्कृष्ठ ढङ्गबाट प्रस्तुत गरेबापत पाइएको दामी पुरस्कार थियो । मेरो छनोट भएपछि पहिले गइरहेका र जानकार पत्रकारसाथीहरु बीच निकै खैलाबैला भएको रहेछ । यो मनोज गिरी भन्ने व्यक्ति को रहेछ ?

प्लेनको टिकट उतैबाट आएकोले मलाई आफ्नो झोला तयार गर्न बाहेक अरु केही तयारी गर्नु पर्ने थिएन । अमरजीले दिएको जानकारीअनुसार तालिम अवधिमा भत्ताको पनि व्यवस्था रहेछ, यो जानकारी भिसा लागिसकेर उड्ने बेलामा मात्रै थाहा भयो । सबै सहभागी तालिम लिनेहरुलाई त्यतिबेला दैनिक २० यूरो भत्ताको व्यवस्था गरेको रहेछ । नेपाली १ यूरो बराबर ११० जति हुन्थ्यो होला । यो हिसाबले दैनिक २ हजार बढि त्यो पनि खाएर, बसेर, पढेर । ल ठिक छ, सबै तयारी सकियो, जाने दिन पनि आयो । त्यो बेला मेरो अनामनगरमा डेरा थियो । आफन्तहरु बिदाइका लागि भेला हुनुभएको थियो । दिउँसो तीन बजेको रोयल नेपाल एयरलाइन्सबाट दिल्ली र दिल्लीबाट रोयल डच एयरलाइन्सबाट नेदरल्याण्डसको स्कीपोल एयरपोर्टसम्मको टिकट थियो ।

===

नेपाल एयरलाइन्सका नकचरा कर्मचारी

म झोला बोकेर एयपोर्ट पुगेँ, अरु यात्रुहरु लाइनमा थिए, नेपाली विदेशी सबजना लाइनमै थियौँ । जहाज कम्पनीका कर्मचारीहरु आफ्नै तालले काम गरिरहेका थिए । बीचबीचमा ट्राभल एजेन्टहरु हातमा बियरका बोतललाई कागजले बेरेर बोर्डिङपास काउन्टरमा पुग्थे र कार्मचारीलाई दिन्थे । अनि आफ्ना गोरा पेसेन्जरहरुको बढी तौलका लगेज (ठूला झोलाहरु)लाई कम तौल भएको ट्याग लगाइदिन्थे । मलाई आकासमा उड्ने जहाजमा पनि यस्तो बेइमानी ठीक लागिरहेको थिएन, ठीक नलागे पनि मैले केही गर्न सक्ने थिइनँ ।

उनीहरुले प्रिन्ट गर्ने प्रिन्टरले बेला बेला काम गर्न छाड्थ्यो । प्रिन्टरले काम गर्न छाडेपछि त्यो कर्मचारीले फेरि कोसिस गर्यो, फेरि काम गर्यो । क छिन पछि फेरि काम गर्न छाड्यो । मेसिनले काम गर्न छाडेपछि त्यो निर्जीव मेसिनलाई कर्मचारी लात्तीले हिर्काउन थाल्यो । म हेरिरहेको थिएँ । अरु पेसेनजरहरु पनि कर्मचारीको तरिका देखेर मुखामुख गरेको प्रस्ट देखिन्थ्यो, सायद कति पाखण्डी होला भनेर ।

फेरि एकछिनमा अर्को प्रिन्टरबाट प्रिन्ट गरेपछि हामी केही बेरमा हामी इमिग्रेसनमा पुग्यौँ । त्यतिबेला अहिले जस्तो नेपाली र विदेशीलाई अध्यागमनमा अलग अलग बस्नु पर्ने व्यवस्था थिएन । जहाज तयार अवस्थामा जस्तै थियो । हामी जहाजको गेट खुल्ने व्यग्र प्रतिक्षामा थियौँ । तर बोर्डिङ लिएर उड्न ठिक्क परेका बेला एकाएक काठमाडौं दिल्लीको उडान ढिला भएको घोषणा गर्यो । अब मलाई तनाव भयो । दिल्लीबाट राती ११ बजेको फ्लाइट थियो, अब यहाँ फ्लाइट क्यान्सिल भयो । त्यतिबेला अहिले जस्तो इन्टरनेटको सुविधा थिएन, त्यसैले नेदरल्याण्डमा खबर गर्न सकिएन । तर घरमा फ्लाइट क्यान्सिल भएकोले खाना खान एभरेष्ट होटल, नयाँबानेश्वर लगिँदैछ भनेर खबर गरेँ ।

एक पत्रकार भएको नाताले मैले खासमा के कारणले ढिला भएको रहेछ भनेर बुझ्ने कोसिस गरेँ । भन्नका लागि मलाई जहाजको अगाडि तिरका पाङ्ग्राको हाइड्रोलिक मर्मत गर्नुपर्ने भनियो, १–२ घण्टा लाग्न सक्छ । तर कुरा अर्कै रहेछ । त्यसरी ढिला फ्लाइट गर्दा यात्रूहरुलाई बेलुकाको खानाको प्रबन्ध गर्नुपर्ने हुन्छ । यो सबै जहाज कम्पनीहरुको नियम हो । हामीले होटलमा खाएको खानाको पैसा जहाज कम्पनीले तिर्ने हो । एकैपटक सयौँ जना व्यक्तिले खाना खाँदा जुन पैसा जहाज कम्पनीले तिर्छ त्यसबाट हाकीम साबहरुलाइ कमिसन जाने रहेछ ।

अब ल हेर्नुस्, नेपाल एयरलाइन्स किन फस्टाउन सकेन यसैबाट प्रष्ट हुन्छ । अनि जो यात्रुहरुको जहाज ढिला भएको छ उनीहरुलाई दिल्लीमा पनि अर्को होटल व्यवस्था गर्नु पर्यो, त्यताबाट पनि कमिसन । डबल कमिसन । त्यसबेला नेपाल एयरलाइन्सको फ्लाइट ढिला हुने, समयमा गन्तव्यमा नपुराउने कुराले अन्तर्राष्ट्रिय रुपमै आफ्नो साख गुमाएको थियो ।

हामी एभरेष्ट होटलमा खाना खाएर एयरपोर्ट पुग्दा फ्लाइट राती नौबजे हुनेभयो । हाम्रो दिल्ली आम्सटर्डमको फ्लाइट छुट्यो । बेलुका दिल्लीमा ढिला गरेबापत सबै कनेक्टिङ यात्रुको लागि होटलको व्यवस्था हुने रहेछ । नेपाल एयरलाइन्सका दिल्ली कर्मचारीले हामीलाई होटलमा जान आग्रह गरे तर म गइनँ बरु २३ घण्टा एयरपोर्टमै बस्ने निर्णय गरेँ, भ्रष्टहरुलाई किन सहयोग गर्नु मलाई इच्छा भएन ।

रातभर दिल्लीको एयरपोर्टमै बसेँ, खानको लागि एउटा कुपन दिएको थियो । त्यसैले खाइयो । सोफामै सुतियो तर होटलमा गइनँ । बिहान उठेर ऐनामा अनुहार हेर्दा दारी निस्किसकेछ । अनुहार रागेपाटे भएको रहेछ, रातभरिको अल्पनिद्रा अनुहारमा देखिन्थ्यो ।

भोलिपल्ट बेलुका ९ बजेतिर KLM को जहाज आयो । बेलुका ११ बजे फ्लाइट थियो । एयरलाइन्सका कर्मचारीले पासपोर्ट चेक जाँचका लागि लग्यो र ३० मिनेट जति समय राखेर फर्काए । सायद मेरो पहिलो पटकको युरोप यात्रा भएर होला जस्तो लाग्यो । र पासपोर्ट दिने बेलामा शुभयात्रा पनि भन्यो । तर त्यही अन्य नेपालीहरु यात्रुहरूको लागि त्यसो गरेन, मैले बुझे यो जाँच पड्ताल लागि लगेको हुनसक्छ । राती ११ बजे KLM को निलो जहाज चढियो । जहाज निकै ठूलो थियो , सायद पाँच सयभन्दा बढी सिट क्षमताको KLM को जहाजलाई रोयल डच एयरलाइन्स पनि भनिन्छ । जहाजमा अधिकांश साथीहरु भारतीय थिए । कोही कोही भारत घुम्न आएका युरोपीयन पर्यटकले जहाज भरिएको थियो । मेरो लागि त प्रत्येक क्रियाकलाप नयाँ लाग्ने ।

जहाज युरोपियन कम्पनीको भए पनि त्यहाँ अधिकांश; भारतीय पर्यटकले भरिएका थिए । भारतीय खाना मसलेदार, चिल्लो, गुलियो । जहाज चढेको तीन घण्टापछि खाना लिएर आए जहाजका कर्मचारी । कर्मचारी युवती थिइन् । मलाई  Are you veg or Non Veg? भनेर सोधिन्, मैले नन भेज भनिदिएँ । उनले एक पाकेट दिइन् । त्यसपछि मैले पनि एक पाकेट लिएँ, त्यस अगाडि त्यस्तो पाकेटमा खाना ल्याएको कहिल्यै देखेको थिइनँ । मलाई त्यो पाकेट कसरी खोल्ने र खाने अन्दाज थिएन । अरुले जसरी पाकेट खोल्छन्, म पनि त्यसै गरी खोलेर खान्छु भन्दै अरुले पाकेट खोलेको हेरेरे बसेँ, अरुले पाकेट खोलेर खान थालेपछि मैले पनि खोलेर खान थालेँ । एकछिनमा बियर अर जुस; भन्दै आइन । मैले पनि बियर भनिदिएँ जहाज चडेपछि कसले खाओस् जुस । खासमा बियर, रक्सी, ह्वीस्की मेरो रोजाइको बस्तु थिएनन् तर पनि हेरम् न त भनिएकै हो ।

===

स्कीपोल एयरपोर्टमा अलमल

बिहानको झिसमिसेमा आम्सटर्डमको स्कीपोल एयरपोर्टमा जहाज ओर्लियो । रातभरि निद्रा लागेको थिएन । आँखाहरु चिम्म्रा थिए । स्कीपोल एयरपोर्टको इमिग्रेसनमा खासै केही सोधपुछ गरेन, सोधेको भए जे उद्देश्य हो त्यही बताउनेवाला थियौँ । तर जर्मनीको फ्रयान्कफर्ट र बर्लिन एयरपोर्टबाट नेपालीहरुलाई फिर्ता पठाएको घटना प्रशस्तै सुनिएको थियो । एयरपोर्टबाट बाहिर निस्किएपछि हामीलाई ट्रेनिङ सेन्टरबाट कोही लिन आएको छ कि भनेर हामीले बाहिर हेर्यौं । कोही आएको रहेनछ । त्यसपछि हामीले ट्रेनिङ सेन्टरमा फोन लगायौँ । त्यहाँ टेलिफोन गर्ने ससाना एटियम मेसिनजस्ता बुथहरु थिए । १ युरो मेसिनको सानो प्वालबाट छिराएपछि नम्बर डायल गरेर कुरा गर्न मिल्थ्यो । त्यसपछि हामीलाई लिन ३० मिनेट जतिमा जुलिया नामकी एक जना अधबैँसे महिला आइपुगिन् । उनको नाम जुलिया रहेछ । हामी उनको कारमा बसेर उनीसँगै गयौँ ।

हामी रेडियो नेदरल्याण्ड ट्रेनिङ सेन्टर पुग्यौँ । पहिलो चरणमा मेरो पहिलो फोटो लिइयो । यो फोटोपछि परिचय पुस्तिकामा छापिएर आएको थियो । त्यसपछि तीन महिनाको लागि प्रिपेड कार्ड दिइयो । यो कार्डबाट क्यान्टिनमा खाना किन्ने, सेन्टरभित्रका मेसिनहरुमा राखेर चकलेट, कफि, चिया, जुसहरु किन्न मिल्थ्यो । युरोपमा भएका यत्रो विकास त नेपालमा आजका दिनसम्म पनि देखिन पाइएको छैन । त्यसका साथै एक हप्ताको भत्ता, केही किताबहरु दिइयो र त्यसपछि तालिम हलमा पठाइयो । मलाई पनि के चाहियो र मख्ख परिहालेँ ।

तालिम हलमा १९ देशका सहभागीहरु थिए । खास गरी अफ्रिकी देशका इरिट्रिया, मोरक्को, घाना, नाइजेरिया एसियाबाट लेवनान, नेपाल, इन्डोनेसिया, बंगलादेश, श्रीलंका, भियतनामका बीच म पनि मिसिन पुगेँ । मेरो लगायत सबैजना सहभागीको बसोबासको व्यवस्था नजिकैको बास्टीयन होटलमा गरिएको थियो । एक जना सहभागीलाई एउटा एउटा कोठाको व्यवस्था गरिएको थियो । खाना क्यान्टीनमा, बसाइ होटलमा, क्या मस्ती । दिनभरि पढ्यो बेलुका होटल ।

कहिलेकाहीँ हामी रातीको १२ बजेसम्म बाहिर घुम्थ्यौँ । होटलको ठिक पछाडिको भागमा चिहानघारी रहेछ । पछि पो थाहा भयो यो चिहानघारी रहेछ भनेर । हामी त्यही चिहानघारीको वरिपरि घुमिबस्थ्यौँ ।

१२ हप्ते तालिम चल्दै थियो, सहभागी सबै जना एकआपसमा घुलमिल हुन थालेका थियौँ । हाम्रा लागि नयाँ लाग्ने बाटो, घर, मानिसहरु अभ्यस्त लाग्दै गएका थिए । हामी बसेको क्षेत्रलाई हिलभर्सम भनिँदो रहेछ, आम्टर्डमबाट अलिक टाढा ।

बिहान उठेर म जहिले पनि दौडिन जान्थेँ । डिसेम्बर महिनाको समय थियो । बाहिर उधुम जाडो तर मलाई जाडोको फिल नै हुँदैनथ्यो । त्यस्तो माइनस तापमानमा पनि एउटा टिसर्ट लगाएर हिँडिदिन्थे, त्यस्तो देखेर वरपरका मानिसहरु खास गरी मलाई स्किमो अर्थात् हिममानव उत्तरी ध्रबबाट आएको अनुमान गर्ने रहेछन् । मेरो कुदाइ त्यही चिहानघारी वरिपरि हुन्थ्यो । चिहानघारी पछाडि मानव बस्ती थियो । यस्तो देख्दा कसरी बस्न सकेको होलान् पनि लाग्ने । एकातिर चिहानघारी, बीचमा बाटो, अर्कोतिर मानव बस्ती । नेपालमा पनि घाटको वरिपरि घर हुन सामान्य भैसक्यो ।

===

फोटो पत्रकारितामा जहिल्यै अब्बल

मेरो जीवनमा कहिल्यै पनि फोटो पत्रकारिता गर्ने शौख भएन र आज पनि छैन । तर नेदरल्याण्डको तालिम अवधिमा म जहिल्यै पनि फोटो खिचेर ल्याउने क्रममा मलाई त्यहाँको मुख्य फोटोपत्रकार प्रशिक्षकले विश्वभरिका १९ जना पत्रकारमध्ये बाट पहिलो भएको घोषणा गर्ने गर्नुहुन्थ्यो । यतिसम्म कि नेपाल गएर फोटो पत्रकारिता गरेमा भविष्य राम्रो हुनेसम्मको सुझाव दिइएको थियो ।

मैले खिचेका फोटोमा के त्यस्तो रहस्य छ भनेर मैले एक दिन सोधेँ । खास कुरा के रहेछ भने मैले खिचेका फोटाहरुमा फोटोको फ्रेमभित्र कभर भएका दृष्यहरु प्रमुख हुने रहेछन् । अर्थात मैले विविध पक्षलाई एउटै फोटोमा सामेल गराउने रहेछु । अरु धेरै थिए होलान् तर मैले यति मात्रै बुझेँ । धन्य छ, मैले त्यति गर्न सकेकोमा ।

एक दिने फोटो खिच्ने क्रममै डिजिटल क्यामरा लिएर म सहर निस्किएको थिएँ । चिसो तर घमाइलो दिन थियो । पार्कमा केटाकेटी र अधबैँसेहरु स्केटीङमा रमाइरहेका थिए । उनीहरु दौडिँदै कहिले म भएतिर आउने कहिले पर पुग्ने गरिरकका थिए । एक पटक म भएतिर आएर अधबैँसे महिला चिप्लिएर लडिन् । मैले उठ्न सहयोग गर्न खोजेको थिएँ तर आफै उठिन् । खासै चोट लागेको थिएन । त्यस पनि उनले डच भाषामै कुरा गर्न खोजिन्, मैले म नेपालबाट हो भने । नेपाल भन्ने बित्तिकै उनले आफू चार वर्ष पहिले नेपालको मनाङ गएको कुरा सम्झाइन् । त्यसो भए एउटा फोटो खिचौँ भनेर फोटो खिचियो । सेल्फीको जमाना थिएन । उसैको पोइले छोरीहरु साथमा राखेर फोटो खिच्दियो ।

===

आम्स्टर्डमको पुलती बगैँचा

आम्स्टर्डमको बारेमा पहिले पनि सुनेका त थियौँ । यो पटक भने आफैँले हेर्न र महसुस गर्न पाइने कुरामा पक्कापक्की थियो । खास गरी आम्स्टर्डम पुतलीहरु (यहाँ यौन कर्मी युवतीहरुलाई भनिएको हो) र गाँजा सेवन गर्नेहरुका लागि अत्यन्तै प्रख्यात थियो र अहिले पनि छ । आम्स्टर्डम यसैको लागि प्रख्यात पनि छ ।

शनिबार र आइतबार बिदाको दिन पर्थ्याे । अब यो मौकामा आम्स्टर्डम घुम्ने योजना बनाएँ त्यसका लागि बङ्ग्लादेशका पत्रकार साथी जाहिदुल इस्लामलाई साथी बनाएको थिएँ । वहाँ बी टिभीमा काम गर्नुहुन्थ्यो । आम्स्टर्डममा एक वर्ष अगाडि नै मेरा व्याचलर पढ्दाका साथी किसोर ओडारी पढ्न भनेर जानु भएको थियो । मैले आम्स्टर्डम घुम्न जानेकुरा वहाँलाई बताएको थिएँ । म नेदरल्याण्डस पुगेको देखेर उहाँ पनि छक्क पर्नु भएको थियो । उहाँले खर्च गरेरै अध्ययनका लागि जानु भएको मलाई थाहा थियो ।

पहिलो शनिबारको दिन थियो । हामी आम्स्टर्डम जाने निधो गर्यौं । किशोरजीले घुमाइदिने पक्का भएको थियो । हामीसँग अरुदेशका केटी साथीहरु पनि थिए । हामीले आम्स्टर्डम जाने थाहा पाएपछि उनीहरुले किन छाड्थे र । हाम्रो उद्देश्य चाहिँ खासमा पुतलीहरु हेर्ने नै थियो । किशोरजी धेरै अगाडिदेखि त्यहाँ बसेको हुनाले त्यहाँको गल्ली गल्ली थाहा थियो । किशोरजीले पुतलीहरुको बारेमा गरेको बयानले हामी पहिले नै मख्ख थियौँ कति बेला पुगौँ कति बेला पुगौँ भइसकेको थियो । उद्देश्य केवल हेर्ने मात्रै थियो । त्यस्तो खुला रेडलाइट क्षेत्रमा केटासाथीहरु मात्रै घुम्न रमाइलो हुने थियो तर भैदियो के भने केही अन्य देशका केटी साथीहरु पनि आइदिए । हामी अगाडि अगाडि हिँड्थ्यौँ, उनीहरु पछिपछि आउँथे । हाम्रो पालो पछाडि नहेरी हिँड्थ्यौ । उनीहरु कता कता हेर्थे हामीलाई चासो थिएन ।

रेडलाइट एरियामा पुतलीहरु सिसाको बारभित्र बसेका हुने रहेछन्, शरीरमा ससाना धर्के लुगा मात्रै हुने रहेछन्, बाँकी पुरै खाली जमिन देखिन्थ्यो । सिसाको पारदर्सी कोठामा चुरोट वा गाँजाको तालमा मस्त देखिन्थे । किशोरजीका अनुसार खासमा उनीहरु व्यस्त नभएको समयमा त्यहाँ देखिने रहेछन् । व्यस्त हुँदा रातो बत्ती बालेर भित्र पस्ने रहेछन् । त्यतिबेला पचास युरो उनीहरुको पारिश्रमिक रहेछ । किशोरजीलाई यो क्षेत्रको बारेमा पुरै कण्ठ रहेछ ।

यो क्षेत्र निकै ठुलो रहेछ । कतै रेष्टुरेन्टमा खाली जमिन देखाएर नाचिरहेका, कतै डिस्कोमा दिउँसै नाचिरहेका । भने कतै खुलारुपमा खेल देखाइरहका हुने रहेछन् । खुलारुपमा खेल हेरेको मात्रै चानचुन ३ यूरो तिर्नु पर्ने रहेछ ।
अर्को एकठाउँमा त एक मिटरको दूरीबाट हेर्ने मौका पनि मिल्यो । एउटा के व्यवस्था राम्रो लाग्यो भने कसले कसैलाई डिस्टर्व गर्न नपाउने, फोटो खिच्न नपाउने । यदि त्यसो गरियो भने त्यहाँको कानुनअनुसार कारवाही हुने रहेछ ।

त्यहाँ घुमिसकेपछि खेलौना पसल पनि पुगियो । थरीथरी आकारका खेलौना देखेर छक्क परियो । कोही काला जातिका, कोही गोरा जातिका, कोही एसियन, कोही छोटा, मोटा, लामा सबैखाले खेलौनाको दर्शन गरियो । कस्तो हुने रहेछ भनेर मैले समाती हेरेँ । गिलो गिलो हुने रहेछ र ठ्याक्कै उस्तै । व्याट्रीबाट चल्ने खेलौनाको पनि दर्शन गरियो । संसारमा त्यस्तो चीज मैले कहिल्यै दर्शन गरेको थिइनँ, औधि अचम्म लाग्यो । बङ्ग्लादेशको साथीले १० यूरो तिरेर एउटा पुरुष खेलौना किनिहाल्नु भयो । मैले कुरो बुझिहालेँ किन सोधिरहनु, वहाँले साथीको श्रीमतीको लागि भनेर पुस्ट्याइ दिनुभयो, आखिर किन दिनुपर्थ्याे र । अहिले त नेपालमै आइसकेका छन् खेलौना बेच्ने पसलहरु । यी सब बाहिरी पर्यटकलाई लक्षित गरेर गरिएका पर्यटकीय क्रियाकलाप थिए । त्यसैले आम्स्टर्डम यौन र गाँजा पर्यटनको नामले प्रख्यात छ ।

हामीसँग आएका तालिमका सहभागी केटीहरु पनि पछिपछि आएका थिए । यसो पछाडि हेरेको उनीहरु पनि खेलौना छाम्दै रहेछन् । त्यसपछि किन पछाडि फर्केर हेरिन्थ्यो र । आफू त लाजले भुतुक्कै ।

ती ठाउँहरुमा खास गरी हप्ताको अन्तिम दिन अर्थात शुक्रबार बेल्जियम, जर्मनी, फ्रान्सबाट पर्यटकको घुइचो लाग्ने रहेछ । यस्तो पर्यटकहरु गाँजाको सेवन र यौन पर्यटकको रुपमा एक हप्तामा ५ लाखको संख्यामा आउने रहेछन् ।

पुतलीहरुको लागि सरकारले अलग्गै कानुनको व्यवस्था गरेर व्यवस्थित गरेको रहेछ । सिसाको पारदर्शी कोमा पुतलीहरु चुरोटको सर्को तान्दै ग्राहहरुलाई आकर्षण गर्ने रहेछन् । हामीले पाएको जानकारीअनुसार ती पुतलीहरु पुर्वी यूरोपीय देशहरु रोमानिया, पोल्याण्ड, युक्रेन, रसियाबाट जाने रहेछन् र मौसमी काम गरेर फर्कने रहेछन् । किशोरजी लामो समय त्यहाँ बसेकाले वहाँलाई यो सब जानकारी रहेछ । नेदरल्याण्डमा WWW को भर हुन्न भन्ने चलन रहेछ । यो भनाइले त्यहाँको अर्थतन्त्र, मौसम र संस्कृतिको विशषता बताउँछ ।

खास गरी नेदरल्याण्डमा तीनथरि यौन व्यवसायीहरु रहेछन्, पहिलो सरकारलाई कर तिरेर होटल वा विशेष कोठा भाडामा लिएर बसेका, दोश्रो सडकबाटै आफ्नो व्यवसाय चलाउने, नेपालका वीर हस्पिटल र रत्नपार्कतिर पाउने जस्तो, तेश्रो चाहिँ कल गरेका बोलाउन मिल्ने, वा सम्पर्क गर्नु पर्ने । त्यसमा कसको सङ्ख्या बढी छ भनेर अनुसन्धान गरिएन ।

नेदरल्याण्डमा त्यतिबेलाको तथ्याङ्कअनुसार सन् २००५ मा एक करोड १० लाख पर्यटकले नेदरल्याण्ड भ्रमण गरेका रहेछन् । यो सबै गाँजा र यौनकै लागि आउने कुरा भनिरहनु पर्दैन । तर मैले एकजना पनि पर्यटक बाटोमा गाँजा खाएर सुतेको देखिनँ । तर अफसोच उनीहरु गाँजालाई वैधानिक बनाएर दिन प्रतिदिन धनी हुँदैछन्, हामी यो औषधीय गुण गएको बिरुवा उम्रने बित्तिकै निमोठेर फाल्छौँ ।

===

युरोपको ट्रेन सिस्टम

नेपालमा जनकपुरको रेल चड्न परे लाइन लागेर टिकट काट्नुपर्छ, चढ्दा ठेलमठेल गर्नुपर्छ, चड्न सकिएन भने बाहिरै परिन्छ । सायद भारतमा पनि यस्तै हो । उस्तै परे पाकेटमारले चिलिमचट बनाउन बेर छैन । तर युरोपमा ठिक विपरित देखिन्थ्यो । सबै जनि अति नै अनुशासित, सकेसम्म कसैले कसैलाई नछुने । छोएर धक्का लागिहालेमा सरी त भनिहाल्ने । सरी भन्ने शब्द त मुखैमा भए जस्तो ।

आम्स्टर्डममा चाहिँ निकै फरक पाएँ मैले रेल सिस्टम । त्यति बेलै रेलको टिकट काट्ने सुविधा एटिएम मेसिनजस्तै मेसिनबाट दिइएको थियो । हरेक सार्वजनिक सुविधालाई विशेष ध्यान दिएर बनाइएको । मानिसहरु एकदमै अनुशासित ।

मेसिनबाट टिकट काट्ने सुविधा भए पनि एक पटकमा एक जनाको मात्रै काट्न मिल्ने सुविधा हुने रहेछ । त्यसो हुँदा धेरै विद्यार्थीहरुको एकैपटक काट्नु परेमा समय लाग्ने रहेछ । हामीले एकदिन घुम्न निस्किएकै बेला एक हुल विद्यार्थी लिएर विद्यालयका शिक्षक र शिक्षिकाहरु निस्किएका भेट्यौँ । एकजना शिक्षिका मेसिनतिर हेरेर बर्बराउँदै टिकट निकालिरहनु भएको थियो । हामीले उनी किन रिसाएकी होलिन् भनेर हामीसँगै भएका एकजना दोभाषेलाई सोध्यौँ, उनले एकैपटक टिकट काट्न नमिल्ने मेसिनलाई गाली गरिरहेकी  बताए । उनीहरुको आक्रोस एकैपटक टिकट काट्न नमिल्ने व्यवस्थाप्रति थियो ।

अहिले त सायद यस्तो व्यवस्था परिवर्तन भइसकेको हुनुपर्छ । यस्तो टिकट एक दिने अलि महङ्गो, एक हप्ते अलि सस्तो, एक महिने झन् सस्तो, अझ भनौँ एक वर्षकै लियो भने त प्रिपेड कार्डबाट लिन मिल्ने रहेछ । लामो समय बस्ने विद्यार्थी, स्थानीय र अन्यलाई लामो समयको टिकट काटेर हिँड्न सजिलो रहेछ । तर एउटा प्रिपेड कार्ड भयो भने जतिपटक पनि यात्रा गर्न मिल्ने व्यवस्था रहेछ ।

यस्ता टिकटहरु शनिबारको दिन बढी महङ्गो र अन्यबार अलि सस्तो हुने पनि रहेछन् । सायद शनिबार र आइतबारको छुट्टीलाई व्यवस्थापन गर्न यसो गरिएको हुनसक्छ ।

===

पहिलो पटक किनेको मोबाइल

नेपालमा हुँदा मैले हातभरिको मोबाइल देखेको थिएँ । आम्स्टर्डम पुगेपछि त मुठीमा अट्ने मोबाइल देखेर मलाई पनि किनौँ किनौँ लाग्यो । नेपालमा त्यस्ता मोबाइल ५० हजार भन्दा बढी तिरेर नेपाल टेलिकमले बेच्ने गर्थ्याे । त्यहाँ त त्यस्ता मोबाइल पसल पसलमा किन्न पाइँदो रहेछ । मैले एउटा मोबाइल किनेँ, फिलीप्स कम्पनीको, सानो मुठिभित्र अट्ने मोबाइल, सिमकार्ड पनि तुरुन्तै लिएर चलाउन मिल्ने । आफूले किनेर चलाउन थालेपछि मनै फुरुङ्ग । त्यतिबेला त्यहाँको मूल्यअनुसार ५० यूरो परेको थियो ।

बिदाइको कार्यक्रम एकदमै रमाइलो भएको थियो । खर्चालुखाले युरोपीयनहरु रमाइलो गर्न पनि उत्तिकै अगाडि हुने रहेछन् । अझ रक्सी पिएर नाचिदियो भने र कुरै नगरौँ ।

===

र अन्त्यमा

नेदरल्याण्डसको यात्राले मलाई ठिक ठाउँमा मेहनत गरे मेहनत खेर नजाने रहेछ भन्ने लाग्यो, सही समय, सही स्थान, सही तरिका भयो भने सफल हुन समय लाग्दैन । नेदरल्याण्डबाट फर्किएर मैले विभिन्न मिडिया हाउस, टेलिभिजन कार्यालय, पत्रिकाका कार्यालयमा आफ्नो बायोडाटा बोकेर भौँतारिएँ जागिरका लागि तर कतै स्वीकार गरिएन । सायद कतै ओभर क्वालिफाइड भइयो जस्तो महसुस भयो भने कतै चिनजान भएन होला । तर आजका दिनमा त्यतिबेला जागिर नपाएर अरु नै काम गर्नुपरेकोमा खासै कुनै गुनासो छैन ।

नेदरल्याण्डको जस्तो विकास नेपालमा कहिले होला हामीले सोच्ने मात्रै हो तर त्यहाँबाट हामीले संसारमै यौन व्यवसायलाई हेरिने दृष्टिकोण कस्तो रहेछ, थाहा पाउन सक्छौँ । पूर्वीय दर्शनमा पुरानो पेशाको रुपमा बुझिएका तर अहिले अन्यथा भनिएको यौन व्यवसाय पनि राज्यको राम्रो श्रोत हुने रहेछ । गाँजा सेवनलाई नियन्त्रित र व्यवस्थित गरियो भने पर्यटकको ओइरो लाग्ने रहेछ, नेपाल सरकारले यौन व्यवसायलाई व्यवस्थित गर्न असहज महसुस गरे पनि गाँजाको लागि नियन्त्रित र व्यवस्थित बनाउन सके पर्यटकको ओइरो लाग्ने कुरा सन् १९७३ अगाडि नेपालमा गाँजा खुला पाउने बेलाको नेपालको पर्यटकीय अवस्थाको तुलना गरेर हेर्दा प्रस्ट हुन्छ ।