हाँसो उठिरहेको छ कि मेरा गुरुहरूले पढाउँदा पनि ‘लफायते’ भनेर पढाउनु भयो । आफूले गुरु भएर पढाउँदा पनि ‘लफायते’ नै भनेर पढाइयो । मेरो इतिहासको ‘लफायते’ लफायत पो रहेछ ।
होटलमा एकछिन सुस्ताएपछि सुशा र म फेरि पैदल टन्डेली यात्रामा निस्केका छौँ । गाइड गुगल नक्सा छ । यसले बाटो पनि देखाइरहेको छ, सूचना पनि दिइरहेको छ ।
होटलबाट बाहिर निस्कँदा वातावरण चिसो भए पनि झलमल्ल घाम लागेको छ । न्युअर्लियन्सको डाउनटाउनका गगनचुम्बी भवनका चेपबाट हिँड्दा घामका पाइलाहरू अलि परपर मात्र देखिएका छन् । तर कतै दुई भवनका दोगबाट घामका पाइलालाई घरीघरी स्पर्श गर्न पाउँदा छुट्टै अनुभूति भइरहेको छ ।
गुगल नक्साले लफायत स्क्वायर नामक पार्क पुर्याएको छ । पार्ककै गेटमा एउटा गजबको धातुबोर्डको तस्बिर खिच्दैछु र पढ्दै पनि छु । लेखिएको छ — अमेरिकी स्वतन्त्रता सङ्ग्रामका नायक मार्कोस दे लफायतको सम्मानमा सन् १७८८ मा बनेको हो । न्युअर्लियन्स लुइजियाना ।
म योबेला लफायतको बारेमा सोचिरहेको छु । मेरा मनमा खुल्दुली भइरहेको छ कि मैले कक्षा कोठामा फ्रेन्च रिभोल्युसनका सन्दर्भमा पढेका तथा पढाइएका लफायतलाई नै यो न्युअर्लियन्सले स्वागत गरेको हो कि अर्कै कुनै लफायत हो ? तर मैले पढे, पढाएको लफायत नै ती अमेरिकी स्वतन्त्रता सङ्ग्रामका नायक रहेछन् ।
हाँसो उठिरहेको छ कि मेरा गुरुहरूले पढाउँदा पनि ‘लफायते’ भनेर पढाउनु भयो । आफूले गुरु भएर पढाउँदा पनि ‘लफायते’ नै भनेर पढाइयो । मेरो इतिहासको ‘लफायते’ लफायत पो रहेछ ।
इतिहासमा पानामा पढाएको सम्झिरहेको छु । लफायत फ्रान्सेली भारदार थिए । फ्रान्सको मिलिटरी अफिसर थिए । लफायत फ्रान्सको इस्टेट जेनरल नामक संसद्को सदस्य निर्वाचित भएका थिए । युरोपको इतिहासमा फ्रान्सलाई भुइँमुसो र बेलायत पानीमुसो भनिन्थ्यो । एकअर्काका सर्वकालिक शत्रु थिए । फ्रान्स भुइँयुद्धमा कसैगरी हार्दैनथ्यो ।
बेलायत जलयुद्धमा कसैगरी पनि हार्दैनथ्यो । बेलायत तथा फ्रान्सको उपनिवेस अमेरिकामा थियो । त्यसैले सन् १७७५ देखि १७८३ सम्म भएको अमेरिकी स्वतन्त्रता सङ्ग्राममा भाग लिएर फ्रान्सको अमेरिकामा भएको उपनिवेसलाई जोगाउन लफायत अमेरिका पुगेका थिए । उनी न्युअर्लियन्समा बस्थे । युद्धमा उनले बेलायतका विरुद्ध अमेरिकी सेनाको नेतृत्व गरेर युद्ध गरेका थिए । र, अमेरिकाको योर्कटाउनलगायत धेरै भूमि संयुक्त राज्य अमेरिकामा गाभेका थिए । अमेरिकाले सन् १८०३ मा लुइजियानालाई किनेपछि लफायतको प्रशिद्धि देखेर अमेरिकी सरकारले प्रथम गभर्नर बन्न अनुरोध गरेको थियो । तर उनले मानेनन् । र पेरिस फर्केका थिए ।
सन् १८२४ मा अमेरिकी राष्ट्रपति जेम्स मुरोले लफायतलाई विशेष सम्मानका साथ राष्ट्र तथा राष्ट्रपतिको पाहुनाका रूपमा अमेरिका बोलाएका थिए । उनी अमेरिका पुगेर त्यो बेला अमेरिकाको अधीनमा रहेका २४ राज्य घुमेका थिए । २० मे १८३४ मा उनको देहावसान पेरिसमा भएको थियो । उनलाई द हिरो अफ द टु वल्र्ड भनिन्छ । उनको नाममा लुइजियानामा एउटा लफायत नामको सहर तथा लफायत विश्वविद्यालय स्थापना गरिएको छ ।
मनमनमा फ्रान्सका नागरिक तथा अमेरिकी सेनाका एकपल्टका योद्धा लफायतलाई अमेरिकामा धेरै श्रद्धा गरेको देखेर आश्चर्य लागेको छ । त्यसो त अमेरिकी समाजले सेना भनेपछि भेटरान भनेर अगाध स्नेह व्यक्त गर्छ । हाम्रो नेपालमा जस्तो ‘डन्ठे’ भनेर अपहेलना गर्दैन । वास्तवमा यो पृथ्वीको राजनीतिक कित्ताकाट गर्न वा राज्यको स्वतन्त्रताको सुरक्षा गर्न यिनै ज्यानको बाजी लगाएर युद्धमा होमिने सैनिकको नै ठूलो भूमिका रहेको हुन्छ । यो कुरा बिर्सनु महापाप हो ।
हामी हिँडिरहेका छौँ । हिँड्दै जाँदा हार्मोनी सर्कलमा पुगेका छौँ । वरिपरि पिचबाटो र बिचमा एउटा सानो पार्क । पार्कका बिचमा अग्लो स्मारक । पार्कभित्र प्रवेश गरेका छौँ । स्मारकको पेटीमा होमलेसहरू बसिरहेका देख्तै छु । उनीहरूको छेउमा एउटा पोको र बियरका रित्ता बोतलहरू देखेर मन भने खिन्न भएको छ । यद्यपि यी होमलेसहरू भने कुनै काम गर्न चाहँदैनन् ।
सरकारले खानेकुराको व्यवस्था गर्छ । मागेर खान खोज्छन् । र, यसरी नै एकपल्टको जिन्दगी बिताउन बानी परेका छन् । परिस्थितिले यस्तो बनाएको होला । सायद जिन्दगीको निर्णायक तत्त्व परिस्थिति नै होला । फेरि पनि कोही त होला जिम्मेवार ?
घाम र पैदल हिँडाइले तताएको छ हामीलाई । तताएको भन्नुभन्दा पनि न्यानो पारेको छ । सुशाले भनेकी छिन् — आज १८ तारिक हो नि ?
मैले भनेको छु , “हो । नोबेम्बर पनि आधाउधी भइसक्यो । यो २०२२ साल पनि फुत्तै बित्ने भयो । यसैगरी दिन भन्यो, महिना भन्यो, वर्ष भन्यो, आखिर बित्ने न हो जिन्दगी सुशा ।”
उनले थपेकी छिन् , “हिँड्दा थाकिँदो रहे छ अब त ।”
मैले भनेको छु , “हो नि सुशा ! सधै एकनास कहाँ रहन्छ र जिन्दगी ? दिनभरि खाली पेट हिँड्दा ठाँगाले छुँदैनथ्यो कुनै बेला । अहिले यस्तै हो । बरु छोरी मनुको कन्फ्रेन्स भएकाले सोही बहानामा लुइजियाना घुम्न पाइयो भनेर चित्त बुझाउनु पो पर्छ त ।”
हाम्रा पाइलाहरू दिनको पाहारमा अघि बढिरहेका छन् । आँखाले मूल सडकमै एकदम पुरानो दखिने एउटा समान्य घर देखेको छ । रातो इँटा तथा ढुङ्गाले बनाइएको त्यो घरमा सिमेन्टको डोब बनाएर ‘लाइब्रेरी अफ प्याट्रिक टेलर’ लेखिएको देख्तै छु । लुइजियानाको सबैभन्दा पुरानो पुस्तकालय हो रे यो । त्योभन्दा परतिर मेमोरियल हल, सिभिल वार म्युजियमका साइनबोर्ड देखिएका छन् । याने कि यो सडकको वारिपारि नै म्युजियमहरू छन् । मेरा आँखा सडकपेटीका इँटामा परेका छन् । म्युजियमअगाडिको सडकको पेटीमा ओछ्याइएका राता चिल्ला इँटाहरूमा स्वतन्त्रता सेनानीहरूको नाम तथा उनीहरूको नम्बर र बटालियनको नाम लेखिएको देख्दै छु । त्यसमा फोहोरको एउटा क्लेस पनि छैन । टलक्क टल्केका छन् ती । मानौँ ती अहिले भर्खर राखिएका हुन् । म अचम्ममा परेको छु । आम्मामा कति जानेका हुन् यी अमेरिकनले देशको लागि ज्यानको बाजी लगाउने भ्याटरनको सम्मान गर्न !
म्युजियमको अगाडिपट्टि सडककै किनाराको बडेम्माको पेटीमा सैनिकहरूको शालिक छ । कमान्डरले केही आदेश दिइरहेको बिम्बमा यी शालिक निर्माण भएको छ । दोस्रो विश्वयुद्धमा अमेरिकाका ८८००० हवाई सैनिक मारिएको सम्झनामा यी सालिक बनाइएको छ । त्यही सालिकको पछाडि उभिएर फोटो खिच्ने पर्यटकको लाम लागेको छ । मैले पनि लाममा बसेर ती सैनिकका शालिकसँग फोटो खिचेको छु । सायद ती सैनिकसँग बसेर फोटो खिचेको हुनाले मेरो मनमात्र होइन; मोबाइल पनि हर्षित भएको छ ।
त्यहीँ नजिकै एउटा विशेष झन्डा फरफराइरहेको छ जसको अर्थ सिपाहीको हौसला बढाउन, तथा सो युद्धमा मारिएका सैनिकको उच्च सम्मान गर्नु रहेको छ । एउटा सानो पत्थरीबोर्डमा लेखिएको छ — लभ अफ कन्ट्री, लिवर्टी अल्वेज रिजनेट स्टील ।
त्यसको छेवैमा एउटा मार्वलको बेन्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति फ्र्यान्कलिन रुजवेल्ट (१९३३—४५) को दुरुस्त देखिने रिप्लिका छ । त्यसै रिप्लिकासँग गाला जोडेर फोटो खिचेको छु । सोही बेन्चको भित्तामा रुजवेल्टको एउटा भनाइ राखिएको छ जसमा लेखिएको छ — WE HAVE FAITH THAT FUTURE GENERATIONS WILL KNOW HERE, IN THE MIDDLE OF THE TWENTIETH CENTURY, THERE CAME A TIME WHEN OF GOOD WILL FOUND A WAY TO UNITE AND PRODUCE, AND FIGHT TO DESTROY THE FORCES OF IGNORANCE, AND IN TOLERANCE, AND SLAVERY, AND WAR
FRANKLIN DELAND ROOSEVELT FEBRUARY 12, 1943
जसको भावार्थ हुन्छ — ‘हामीसँग विशवास छ कि भविष्यका सन्ततीले थाहा पाउने छन्, बिसौँ शताब्दीको मध्यमा एउटा यस्तो समय आयो जसले असल विचार राख्ने मान्छेहरू एकताबद्ध भएर र खराब तथा विध्वंसकारीसँग युद्ध गरेका छन्, अज्ञानता तथा दासत्वका विरुद्धमा युद्ध गरेका छन् ।
अमेरिकाको इतिहासलाई सम्झँदै बाटो लागेका छौँ । अब मैले गुगललाई मिसिसिपीतिरको बाटो देखाउने आदेश दिएको छु । पूरापूर एक घन्टाको पैदल यात्रा बताइरहेको छ । पाहारिलो घाममा हामी खिन्चेमिन्चे बात मार्दै दुई बुढाबुढी अगाडि बढिरहेका छौँ । हिँड्दै जाँदा अलि परतिर ‘डग सेलुन तथा बार्बक्यु’ नामको होटल देखिएको छ । आफ्ना कुकुरलाई डोर्याएर कुकुरधनीहरू त्यो होटलभित्र पस्न लामबद्ध छन् । अचम्म । अहो ! कुकुरको पनि यस्तो दामी सेलुन तथा होटल ?
बाटैमा देखा परेको छ ‘न्युअर्लियन्स अर्नेस्ट मेमोरियल कन्भेन्सन’ । यो कति ठूलो भने ‘ए’देखि ‘जे’सम्मका अलगअलग कन्भेन्सन हल । त्यसैभित्र सपिङ मल । त्यसैभित्र रेस्टुरेन्ट आदि । साँच्चै भीमकाय छ यो कन्भेन्सन सेन्टर । अग्लो होइन बरु धेरै क्षेत्रफलमा फैलिएको छ । कन्भेन्सन सेन्टरको अगाडिको बाटोपेटी निकै फराकिलो छ । सायद लाखौँ दर्शक बाहिर निस्कँदा यो बाटो पर्याप्त होस् भन्ने चाहना राखिएको होला । पेटीका छेउछेउमा फूलको बगैँचा छ । र, यसले सुन्दरता थपिरहेको छ ।
कन्भेन्सन सेन्टरको छेउबाट हिँडिरहँदा रिभरवाकको मुखैमा आइपुगेको छु । त्यसको अगाडि बेलायतका प्रधान मन्त्री चर्चिल (१८७४—१९६५) को एकदम ठूलो शालिक राखिएको छ । तर त्यहाँ कुनै पनि सूचना भने छैन ।
घुम्दैफिर्दै फेरि मिसिसिपीको किनारमा आइपुगेका छौँ । मिसिसिपी नदीमा पानीजहाजहरू तैरिरहेका छन् । ठाउँठाउँमा जहाज बोर्डिङ गर्ने ठाउँ छ । विविध रूप, प्रयोजन तथा रङ्गका जहाजहरू हिँडिरहेको दृश्यले मन लोभिएको छ । त्यसको किनारमा अमेरिकाको जलसेनाको सम्मानमा पार्क बनाइएको छ । हिँड्दाहिँड्दा थाकेर हामी मिसिसिपी नदीको किनारको सिमेन्टे खुट्किलामा बसेका छौँ । चिसो स्याँठ चलेको छ । नदीको बहाबले एउटा रञ्जक आवाज निकालिरहेको छ । नदीको पानीमा पानीहाँस जलक्रीडा गरिरहेका छन् ।
सो जहाज चढ्ने ठाउँको बाहिरपट्टि एउटा बोर्ड देख्दै छु । मेरा आँखाले ती पढ्न थालेका छन् । लेखिएको छ — सन १८१२ जनवरी १० मा निकोलस रुजवेल्ट पहिलोपल्ट स्टिम बोट लिएर मिसिसीपी नदीको यही ठाउँमा आए । यो स्टिम बोट न्युअर्लियन्सको विकासमा निकै सहायक सिद्ध भयो ।
थकाइ धेरै लागेको छ । सूर्य पनि अस्ताउने मुडमा छ । हामी होटलमुहाँ भएका छौँ बास बस्न ।
१९ तारिकको बिहानको खाजा होटलमा खाएर होटल छोडेर निस्किएका छौँ । आज फिर्नु छ मुकाम सान मार्कोस, टेक्सस । छोरीको कन्फ्रेन्स आज पनि छ । हामी नातिनीलाई लिएर इनडोर प्ले ग्राउन्डमा पुगेका छौँ । सो इनडोर प्ले ग्राउन्ड हेर्दा त म तीन छक्क परेको छु । मलाई लागिरहेको छ कि यो संसारमा अति सामान्य कुरा यति धेरै छन् जसको हामीलाई पत्तो नै हुन्न ।
एउटा ठूलो कोठामा बनाइएको छ यो प्ले ग्राउन्ड । बाहिरबाट हेर्दा सामान्य लाग्दै छ । ढोका खोलेर भित्र पसेका छौँ । र्याकमा जुत्ता थन्क्याएका छौँ । र, टिकट काटेका छौँ । टिकट पनि सस्तो छैन । फेरि अचम्म त के भने हरेक टिकटले २ घन्टा मात्र काम गर्छ । त्यसपछि फेरि बस्ने हो भने थप शुल्क । हामी भित्र पसेका छौँ । उमेर समुह छुट्याएर बनाइएको खेल्ने ठाउँमा ससाना नानीबाबुहरू खेलिरहेको देखेर मन नै आनन्दित भएको छ ।
मलाई आफ्नै बालापन याद आएको छ । आमाबाबुका आँखा छली खोलाको बगरमा पुगेर बालुवाको खेल, लाप्पा (कुस्ती) आदि खेलेको सम्झना आइरहेको छ । त्यो बालापन सम्झँदा मात्र पनि त्यो आफ्नै अबोधपनमा रोमाञ्चित भएको छु । त्यही उपयोग गर्न नपाएको बालापनको रौनकलाई नातिनीमा रूपान्तरण गर्दै छु । मेरो कुण्ठा एकपल्ट हाँसेको छ । आफैँलाई आफ्नो बालापनको पौँडाहा खहरे खोलाको बालुवामा उभ्याएर समाज विकासको चरण गम्दैछु । अहो ! मान्छे त कहाँबाट कहाँ पुगिसक्यो ? मभने सोही बालुवावाला चेत बोकेर जीवन निर्वाह गर्दै छु ।
विविध प्रकारका खेलसामग्री छन् । कोठाभित्रै रेस्टुरेन्ट, जन्मदिन मनाउनका लागि विशेष कक्ष र पर्याप्त खेल सामग्री छन् । सो विशेष कक्षमा नानीबाबुहरू भेला भएर जन्मदिन मनाइरहेका छन् । ‘ह्याप्पी बर्थडे’ भन्ने आवाजले पूरै कोठा गुञ्जायमान भएको छ । अमेरिका आएपछि मैले चाल पाएको कुरा के हो भने बच्चाबच्चीको लागि मात्र होइन वयस्कसम्मका लागि सबैभन्दा महत्त्वपूर्ण दिन जन्मदिन हो । म आफ्नै जन्मदिनहरू सम्झिरहेको छु । ती कहिले आए कहिले गए पत्तै भएन ।
जीवनका उकालीमा सन्तान जान्नेसुन्ने भएपछि हामी बाबुआमाका जन्मदिन पनि मान्न थाले । तर अचम्म हाम्रो चेत, हामी भने लाजले भुतुक्कै । खोइ केको लाज लागेको हो कुन्नि ? यही लर्कासर्कामा नेपालतिर भित्री नजर दौडाएको छु । त्यहाँ म अनगिन्ती मान्छेहरू भेट्छु जो आफूले त जन्मदिन मनाउँदैनन्, बरु मनाएकाहरूका कुरा भने काटिरहेका छन् । मनमनै गम्दै छु कि मान्छेको यो चेत भन्ने बस्तु के होला ? कसले बनाइदिने होला ?
फित्ताको जालीले तला छुट्याएर राखिएका विविध खेल सामग्रीमा बच्चाबच्चीको कल्याङ्मल्याङ ज्यादै सुन्दर छ । खेल सामग्रीको त बयान गरेर नै साध्य छैन । बच्चाबच्चीलाई लक्षित गरेर खेलौना, खानेकुरा तथा सुरक्षा सबै कुरा छ । हामीले पनि पिजा किनेर खायौँ । बच्चाबच्चीका अभिभावक पनि खचाखच छन् । सिमसिम पानी परिरहेको छ । हामीले किनेको २ घन्टा समय पनि सकिन थालेको छ । त्यसैले रेस्ट रुम पसेको छु । रेस्टरुमको भित्तामा ‘प्लिज वास ह्यान्डस् अफ्टर बाथरुम युज, इनजोय प्ले’ भनेर लेखिएको छ ।
मैले झट्ट नेपालमा लेखिएका यस्ता खाले सूचनाहरू सम्झेँ । सायद बच्चाबच्चीले प्रयोग गर्ने भएर लेखिएको होला ।
हामीलाई हाम्रो मुकाम सान मार्कोस फर्किनु छ । हाम्रो गाडी लेक पोन्चरट्रेनको बिचबाट बनेको पुलयात्रा गर्न हिँडेको छ । र, त्यतैत्यतै अर्को बाटो भएर आई टेन समात्नु छ । हामी लेक पुगेका छौँ । आम्ममा कत्रो लेक ? लेकको बिचमा पुगेपछि कुनै किनारा नै देखिएको छैन । झुसझुसे पानी परिरहेको छ । मौसम त्यति स्वादिलो छैन । बाटो त्यसै पनि चिप्लो छ । त्यसमाथि पुलको यात्रा । ३९ कीमीको पुलयात्रा गरेपछि बल्ल लेकको पल्लो छेउ भेटिएको छ । १६३० स्क्वायर कीमी क्षेत्रफल ओगटेको यो लेक न्युअर्लियन्सको इतिहासमा फ्रेन्च आगमनलाई सम्झाउने ऐतिहासिक थलो हो ।
हाम्रो गाडी आई टेनलाई भेट्न तुफान दौडिएको छ । आई टेन नै मुख्य बाटो हो घर पुग्ने । बाटोमा बेटन रुज नामक सहर आएको छ । यो सहर लुइजियाना राज्यको सदरमुकाम पनि हो । झुसझुसे पानीले छोडेको छैन । तर मलाई लुइजियाना राज्यको स्टेट क्यापिटल बिल्डिङ हेर्ने धोको छ । अन्तत जीपीएसले पुर्याएको छ । सामान्यतया अमेरिकामा एकै प्रकारको स्टेट बिल्डिङ पाइन्छ । तर लुइजियानाको भने पृथक छ । दुईतिरबाट क्यापिटल लेकले घेरेको सो भवन निकै सुन्दर देखिएको छ । सुन्दर बगैँचाका बिचमा छ यो । ३४ तले यो भवन ४५० फिट अग्लो छ । त्यो भवनको अवस्थिति नै मनमोहक छ । साँझ परेको हुनाले मात्र हो, नत्र त यो भवनको माथिसम्मै पुगेर समुद्र तथा मिसिसिपी नदीको बहाब हेर्न सकिन्छ ।
यो बेला म सम्झिरहेको छु आफ्नै देशको सिंह दरवारलाई । सिंह दरवार मात्र के कम थियो र इतिहासका पानामा । १४०० त कोठा नै थिए । भ्रष्टाचारी तस्करको आँखा लागेर पुल्ठो न झोसिदिएको भए सिंह दरबार नमुना नै रहने थियो । तर अहिले त सिंह दरबार परिशरलाई कङ्क्रिटमय बनाइएको छ । त्यसमा पनि सिंह दरबार पस्न सरकारलाई बक्साउनु पर्छ । अनि पहुँच नहुने मजस्ता सर्वसाधारणले कसरी हेर्नु त सिंहदरवार ?
बेटन रुजको कर्मकाण्डी भ्रमण सकेर बाटैमा पर्ने अर्को सहर लफायततिर लागेका छौँ । लफायतमा भियतनामी रेस्टुरेन्टमा ‘हटपट’ नामक खानेकुरा खाँदै छौँ । खाएका कुरा कत्ति गर्नु झैँ त लागेको छ । तर यो हटपटको भने वर्णन नगरी सकिनँ । टेबुलका वरिपरि कुर्सीमा हामी बसेका छौँ । टेबुलमा ग्यासचुल्हो र त्यसमाथि राखिएको मसलायुक्त तातो पानी उम्लिरहेको छ । त्यसमा हाल्ने सामग्री हाम्रै टेबुलमा छन् । हामी आफैँले ती सामग्री इच्छाअनुरूप भाँडामा हाल्ने पकाउने र आफ्ना बटुकामा खन्याउँदै खाने-पिउने । सिमसिम पानी पनि परेको, जाडो जौडे भएको हुनाले त्यो हटपटले निकै आनन्द दिएको छ । बिनाअल्कोहल न्यानो पनि बनाएको छ । न्यानो मात्र बनाएको छैन, पसिना नै काढेको छ । हामी अब बास बस्न लफायतकै मेरियट ब्रान्डको होटल स्प्रीङहिल सुइट्समा पुगेका छौँ र यात्राबाट थाकेको शरीरलाई लचकदार ओछ्यानमा पल्टाएका छौँ ।
यही बेला अमेरिकाको ओक्लहोमालाई मुकाम बनाउनु भएका साहित्यकार विश्वराज अधिकारी सरले फोन गरेर भन्नु भएको छ , “सर ! लफायत नै पुग्नु भएको छ भने मैले पढेको युनिभर्सिटी अफ लुइजियाना लफायतमा पुग्नु न । आई टेनबाट नजिकै छ । अनि बेटन रुजमा स्टेट बिल्डिङ हेर्नु भयो ? त्यसका ५० वटा खुट्किला र हरेक खुट्किलामा अमेरिकाका राज्यहरूको नाम हेर्नु भयो ?”
मैले भनेको छु , “सर ! हामी पुग्दा रात परिसकेको थियो । बन्द थियो । हेर्न पाइएन नि ।”
तर मलाई भने नारायणहिटी दरबारको भ्रमणको याद आइरहेको छ । राजाले नारायणहिटीका कोठाहरूको नामकरण नेपालका विविध जिल्लाका नाममा राखेको सम्झेको छु ।
२० तारिकको दिन लफायतको बिहानले ब्युँझाएको छ । उठेका छौँ । हामीले आजै आफ्नै घर सान मार्कोस पुग्नु छ । होटलले दिएको ब्रेकफास्टलाई दह्रोसँग दाबेर विश्वराज सर पढेको विश्वविद्यालय हेर्न पुगेका छौँ । ठूलो क्षेत्रमा फैलिएको यो विश्वविद्यालयलाई गाडीबाट वरिपरि परिक्रमा गरेका छौँ । त्यसै पनि त्रिभुवन विश्वविद्यालयको मानोचामल खाएकाले होला संसारको जुनसुकै विश्वविद्यालय मलाई तीर्थस्थल जस्तै लाग्छ । लफायतको विश्वविद्यालयको मूल भवनअगाडि रहेको साइनबोर्डमा उभिएर तस्बिर खिचेका छौँ । म खोइ किन हो कुन्नि फोटैमा पनि प्रफुल्लित भएको छु ।
लफायतबाट हाम्रो गाडी घरमुहाँ भएको छ । हाम्रो दिलदिमाग घर पुग्न आतुरी गर्दै छ । आई टेन वारिपारिका वनजङ्गल, खोलानाला, चिल्लाबाटा र ठाउँठाउँमा सडक पुनरउद्धार गर्दै गरेका दृश्य हेर्दै फिर्दै छौँ हामी । गाडी तुफान बतासिएको छ । घर पुग्नै आँटेका छौँ । तर मेरा दिमागमा भने मूलत दुई कुरा खेलिरहेका छन् ।
मलाई अचम्म लागिरहेको छ कि यी अमेरिकनहरूको इतिहास संरक्षणमा कति धेरै मोह ! वास्तवमा इतिहास मर्यो भने मानवसभ्यताको जरो मर्छ । यो कुरा अमेरिकनहरूलाई थाहा छ । यसो भएकाले अमेरिकाको विकासको एउटा कारण इतिहास संरक्षण पनि हो । नेपालमा इतिहास मारेर क्रान्तिकारी हुन खोज्छन् । महेन्द्र संस्कृत विश्वविद्यालयको नामलाई नेपाल संस्कृत विश्वविद्यालय पारेर क्रान्तिकारी भएका छन् साइँदुवाहरू । रत्नपार्कको नाम फेर्छन् र बुज्रुक ठान्छन् ।
यही बुँदामा मलाई नेपाली परिवेशको यही कुरा मन पर्दैन । तर अमेरिकनले फ्रान्सको तथा स्पेनको त्यो क्षेत्रको इतिहासलाई कति मजाले जगेर्ना गरेका छन् । तिनले राखेका नामलाई यथास्थितिमा राखेका छन् । तिनको नामलाई व्यापक गरेका छन् । तिनले चलाएका प्रथाहरू सुचारु गरिरहेका छन् । मरेर जाने ती विदेशीले पनि अमेरिकनको यो इतिहास संरक्षण चेतलाई सम्झेर गौरव गर्दा हुन् ।
अर्को कुरा म यति बेला अघोरै न्युअर्लियन्सलाई सम्झिरहेको छु । न्युअर्लियन्सको इतिहास र सुन्दरता सम्झिरहेको छु । मिसिसिपी नदीको बहाबमा तरङ्गित भइरहेको छु । फ्रेन्च तथा स्प्यानिसको सभ्यता र संस्कृति, तिनका वास्तुशैली तथा योगदानलाई हृदयाङ्गम गरिरहेको छु । र, त म सोचिरहेको छु कि समुद्र सतहभन्दा अधिकतम ५३५ फिट अग्लो र न्युनतम् ८ फिट गहिरोमा बसेको छ न्युअर्लियन्स सहर । वातावरण विनासले आउँदै गरेको तापक्रमका कारण एक दिन यो सहर एटलान्टिक महासागरको गल्फ अफ मेक्सिको नामक रहमा डुब्ने छ भन्ने भविष्यवाणी गरेका छन् विज्ञले । जसरी माल्दिभ्स डुब्दैछ भन्छन् त्यसैगरी यो सुन्दर सहर पनि डुब्ने छ भन्छन् ।
घर आइ पुगे पनि यही न्युअर्लियन्सको सुन्दरताको याद आइरहेको छ । सन २००५ को सामुद्रिक आँधीले तहसनहस पारेको न्युअर्लियन्स तङ्ग्रिएको मात्र होइन; पूरै फेरिएको छ । यस्ता अनेकन सामुद्रिक आँधी झेलेको छ न्युअर्लियन्सले । थेगिरहेको छ । र, फेरि रौनक ल्याइरहेको छ । हाँसिरहेको छ । बाँचिरहेको छ । मान्छे आइरहेका छन् । गइरहेका छन् । तर प्रकृति र मान्छेको यो युद्धमा न्युअर्लियन्सको भविष्य के होला भन्ने चिन्ता भने लागिरहेको छ ।
र, त कुनै शक्ति छ भने त्योसँग प्रार्थना गर्दैछु र भन्दै छु — बाँचीवर्ती रहियो भने फेरि आउँला । भेटौँला । म मरे सन्तान आउलान् । भेटलान् । तर तिमीचाहिँ न डुब्नू है न्युअर्लियन्स !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।