
एक दिन छोरी लुनाले बहिनी गरिमालाई सोधी, ‘गरिमा ? चेप्टी भनेको के हो, तँलाई थाहा छ ?‘
गरिमाले हाँस्तै भनी, ‘हँ ? चेप्टी रे ? अहँ । सुन्दा त कुनै केटीको नाम होलाजस्तो छ तर अहिलेको जमानामा पनि चेप्टी नाम राखिदिने बाउआमा कस्ता गोज्याङ्ग्रे नि ? अलि राम्रो आधुनिक नाम राखिदिनु नि छोराछोरीको त ।’
लुनाले झन् हाँस्तै भनी “होइन हउ, ठाउँको नाम रहेछ के चेप्टी भनेको । म पनि अस्तिसम्म त चेप्टो अनुहार भएकी कुनै सोझी, धम्मरधुस् केटीको नाम होला भन्ठान्थेँ । हिजो मात्रै पो साथीहरूले भन्दा थाहा पाएँ, त्यो त इलाममा पर्ने कस्तो राम्रो पार्कको नाम पो रहेछ त । धेरै मान्छे घुमेर आइसकेछन् । मलाई रक्षाले तड्पाउँदै भन्दै थिई, ‘एकचोटी चेप्टी नघुम्ने त पछि पर्योपर्यो’ ।”
छोरीहरूको यस्तो संवाद सुनेको पनि ६ महिना बित्नलागिसकेको थियो । साथीहरू पनि हुल बाँधेर जान्थे र आकाशमा उडेर टुटीबाट पानीको मुस्लो जमिनतिर खसाइरहेको विशाल कित्लीको दृश्यसामु उभिएर खिचेका तस्बिरहरू फेसबुकमा पोस्ट्याउँथे ।
कतै मन्दिरका गजुरबाट विशाल जरुवा उम्रेर करुवा भरिँदै छानाबाट छाँगा खसेका, कतै पहराबाट छहरा झरेर तालमा छाल नाचेका भिडियोहरू देखाउँथे । परी नाचेका ठाउँमा पुगेर आफूले पनि उस्तैगरी कम्मर भाँचेका फोटाहरु हुन्थे । हिमालका चुचुरामा उभिएर राष्ट्रिय झण्डा उचालेका तेन्जिङकै दृश्यमा आफूलाई कैलाशशिखरमा उभ्याएका हुन्थे ।
घरभित्रै सिमसिम वर्षा बर्सिएर बर्खामा बाउसे र रोपाहार हिलो खेल्दै नाचेझैँ नाचिरहेका हुन्थे । साथीहरूका यस्ता चर्तिकला देख्ता आफ्ना पनि गोडा उचालिन्थे जुरुक्क जुरुक्क । तर दौडिइहाल्ने फुर्सद कहिल्यै निस्कँदैन थियो ।
लाखेस्, पखेस् भन्दाभन्दै सहकारीबाट वनभोज लानुपर्ने भयो सेयर सदस्यहरुलाई । आफू अध्यक्ष । कुरा सुन्दिनु पर्छ प्रत्येक सदस्यको ।
एउटा भन्छ, “फलानो स्पोर्ट लानुपर्छ है अध्यक्षज्यू यसपटक त ।”
अर्को भन्छ, “चिलानो भेन्यु हुनुपर्छ है नत्र त नुन नहालेको तरकारी हुन्छ पिकनिक ।”
खट्न बाध्य हुनुपर्ने सञ्चालक भन्छ, “धत्, ती मत्तुहरुलाई लान्छ पिकनिक ? मरे पनि लगिँदैन । टाउकाभरिको रिक्स मोलेर लैजा, दिनभरि खटेर ख्वा, रातसाँझ गरेर घरघर पुर्या, भोलिपल्टदेखि बजारमा आएर उही चिच्याईचिच्याई उछितो काढ्छ उल्टै । ‘फलानाले यो पनि मिठो ख्वाएन, त्यो पनि पुग्दो दिएन’ । उही खान्छ ट्वाँके ग्याङ फोन गरीगरी भेला गरेर पकाउँदापकाउँदैको रोस्ट आरीकाआरी जङ्गलतिर ओसार्दै । भरे उत्तिनै खर्च हालेर गएका अरु सोझा सिधा शेयर सदस्यहरु, महिला केटाकेटीलाई लाइन लाएर दोडा तिनोडा फिर्का बाँडिदिनु पर्छ । बा केही भनिहाल्छन् कि भनेर अनुहार घोप्टे पार्नुपर्छ आफूले । ती नानीहरुको मुख हेर्दा पनि आँसु आउँछन् आँखाबाट तुरुक्क । त्यस्ता अपराधीलाई पनि लान्छ ? भो भो यो पिकनिकको त कुरै नगर्ने, बोरु छोड्छ भने पनि छोड्छ । खान दिएन भनेर सहकारी छोड्ने न्याम्साले कहिल्यै भर दिँदैन, छोडोस् तर नलाने त्यस्ता डाँकाहरुलाई ।”
अर्कोले थप्छ, “हो हो, ती कोदेहरुलाई कोदो खान नपाए पिकनिक नहुने रे । कोदो खाएपछि त्यहीँ उत्पात मच्चाउन थाल्छ । बोल्दाबोल्दैको माइक खोस्छ, बज्दाबज्दैको साउण्ड बक्सलाई लात्तले हानेर भिरबाट गुल्ट्याउँछ र खोलामा डुबाउँछ । मनपरी बोल्छ सुनिसक्नु बसिसक्नु हुँदैन । आमाबाउ, छोराछोरी गएका हुन्छन् यार, आफूलाई फुत्तै भागेर कता लुक्नुजस्तो बनाउँछन् । झगडा गरेर, काटाकाट गरेर मर्छन् कहिले । डङ्डङ् गाडीमा मुड्की बजार्दै हिँड्छन् । आफैँलाई मार्लान् कि भन्ने जगजगी हुन्छ । कुनै बालुवामा मुन्टो जोतेर पसारिन्छन् र लासजस्तो चारतिरबाट उठाएर गाडीमा खाँद्नु पर्छ । घर पुर्याएर ओछ्यानमा पसारेर हिँड्नु पर्छ । त्यसका स्वास्नी छोराछोरीले आफैँलाई भकुर्लान् कि भन्ने डर । संस्थाको पैसा पैसाको बर्बादी, आफ्नो इज्जत इज्जतको बर्बादी । मरुन्जेल दुःख गरेर बेइज्जती कमाउन के लानु पिकनिक ? भो भो, यो काम नगरौँ । पिकनिकको उच्चारण नै नगरौँ ।”
कुरो त साथीहरुको एकदमै मुनासिव हो । अघिल्ला वर्षहरुमा भोगेका अनुभूतिहरु एकैठाउँ मिसमास पारेर जस्ताको तस्तै ओकलेका हुन् उनीहरुले । तर त्यो त विकृति हो नि । वनभोजको अर्थ र महत्त्व त्यतिमात्र त होइन नि । फटाहाले त वनभोजमा मात्रै फटाईं गर्छ र जहाँकहीँ गर्नसक्छ नि ।
तर सज्जनहरुले नकारात्मक पक्षलाई कहिल्यै मुखरित गर्नुहुँदैन । वर्षमा एकपटक मनोरञ्जन दिलाउँछ सहकारीले भनेर त्यसैको प्रतीक्षामा बसेका धेरै इमान्दार सदस्यहरुको आशामाथि ढुङ्गा हान्न पनि त पाप गरेजस्तै लाग्छ आफूलाई । कोही त पिकनिक लान्छ नि फलानो सहकारीले, पैसा जम्मा गर्नुपर्छ यसैमा भनेर पनि वर्षदिन कारोबार गरिरहेका हुन्छन् । अब त्यस्तालाई नलाँदा कति चित्त दुख्तो हो तिनीहरुको ? फटाइँ गर्ने दुईचार फटाहालाई कटाएर वा नियन्त्रण गरेर भए पनि बाँकी साथीहरुलाई मनोरञ्जन दिलाउनु हाम्रो कर्तव्य हो, दायित्व हो ।
ती सबै समस्या समाधान गरेर सदस्यहरुलाई खुसी दिलाउनका लागि त हामीलाई सञ्चालकमा चुनेर पठाएका हुन् नि उनीहरुले । अनियन्त्रित, अस्तव्यस्त नै हुन दिइरहने हो भने त हामी सञ्चालक हुनुको अर्थ नै के रह्यो र ? ठिक छ यसपटक ती ट्वाँके र कोदे नाम गरेका दुईजनालाई नलैजाऊँ, उनीहरुलाई सबक पनि हुन्छ । फेरि एकपटक त्यस्तो भयो भनेर सधैँ हुन्छ नै भन्नु पनि त हुँदैन । जसले हिजो फटाइँ गर्यो उसलाई यो पटक नलैजाऊँ अथवा जाने नै भएछ भने पहिले वाचा कसम ख्वाएर मात्रै लैजाऊँ । यो पटक पनि गरेछन् भने उनीहरुलाई कारबाही गरी संस्थाको सेयर सदस्यबाटै हटाउँला ।
यस्तै कुरा गरेँ मैले । यो वास्तविकताप्रति पनि ज्ञात नै थिए सबै साथीहरु । लामो बहसपछि वनभोज लाने नै निर्णय भयो । त्यसमा पनि चेप्टीको कुरा झिकेँ मैले । स्त्रीलिङ्गी नाम पदजस्तो ‘चेप्टी’ । नाम सुन्दै कोही साथीहरु त राता भए, लाजले ।
एउटा उटाङ्गे साथीले फेरि अर्कै सङ्का गरेछ, भनिहाल्यो, ‘ हैट, चेप्टी रे ? त्यहाँ जानेलाई चेप्ट्याउँछन् कि क्या हो बसिलाले ? हाहाहा…कस्तो डरमर्दो ठाउँ यार ? ठाउँको नाउँ सुन्दा पनि जीउ थुरुरु काम्ने ।’
हाहाहा.., सबैजना हाँसे ।
एकजना महिला सदस्यले भन्नुभयो, “त्यस्तो केही होइन भाइ म त पुगेर आइसकेँ, ठाउँ त के भन्नु र कम्ती रमाइलो छ र घुम्न ? दिनभरी घुम्दा पनि नसकिने, नअघाइने ।”
अन्त्यमा, चेप्टी जाने नै भइयो, वनभोज लाने नै भइयो । साथीहरु सबै सहमत भए, खुसी पनि भए । अब मलाई भने पिरोल्न थाल्यो जिम्मेवारीले । बाटो कस्तो होला ? कहाँबाट जाने होला ? साना, ठुला कस्ता गाडी जान सक्छन् ? हिलो, धुलो, फोहोर मैलो के होला ? खाने, बस्ने, घुम्ने व्यवस्था कस्तो छ ? सुविधा असुविधाहरु के कस्ता छन् ? डेढ दुई सयको संख्या लिएर जानु छ भनेपछि अगाडि नै आफू गएर सबै कुरा नबुझे त भोलि फसादमा पर्न पनि सकिन्छ । चुपचाप बसेर त हुन्न । हल्ला गरेर झन् हुन्न । खुसुक्क सचिवसँग खुसामत गरेँ । व्यवस्थापक र ऋणसंयोजकसँग सल्लाह गरेँ । उपाध्यक्षलाई चुपचाप आएर अगाडिको सिटमा बस्न लगाएँ र हुइँकियौँ हामी सचिवको स्वीफ्ट चढेर दमक छोडेर ।
…
११: ३० भइसकेको छ । जानु छ चेप्टी । हामीमध्ये बाटो देखुवा कोही पनि छैन । थाहा छ चारपानेबाट उत्तर लाग्दा पिचैपिच जान पाइन्छ । जानुअघि सिक्देलले भने त्योभन्दा धेरै राम्रो पिच छ ‘दुर्गापुरबाट उत्तर लाग्दा । दूरी पनि छोटो र बाटो पनि असल । हामीले सोच्यौँ ६ वटा गाडीमालिक सिग्देलको भनाइमा दम छ । उनले नघुमेको ठाउँ पनि कम छ । सचिवज्यू पनि विश्वस्त हुनुभयो । दुधे कटेपछि दक्षिण बग्दैगरेकी माई मातालाई हात जोडेर ढोग्दै शुभयात्राका लागि आशीर्वाद माग्यौँ र दुर्गापुर पुगेर लाग्यौँ उत्तर ।
म अलि अविश्वासी भएकोले, “स्थानीयहरु विज्ञ हुन्छन् सोधौँसोधौँ सचिवज्यू एकपटक” भनेँ ।
उहाँले चटपटे बेच्तै गरेकी चेप्टो ज्यान र गोलो अनुहारमा रातो लिपिस्टक लगाएकी चिल्लो कालो वर्णकी तरुनीलाई पान चपाउँदै गरेको मुखले सोध्नुभयो, ” बैनी चेप्टी जाने बाटो यही यो ?”
मसक्क मस्केर अलिअलि मुस्कुराउँदै उसले भनी, “हो हो सिध्धै जानू न ।”
सचिवज्यू मख्ख पर्नुभयो, ‘हेर्नुभयो त अध्यक्ष ज्यू, सिग्देलले सही कुरो भनेन छ त ?’
तर जति कुद्यो ग्राभेल मात्रै आउँछ, बाटो साँघुरो न साँघुरो छ । अरु कुनै सवारी साधन हिँडेका छैनन् । एकोहोरो हामी मात्रै दौडिरहेका छौँ । दोबाटोमा अलमल्लिएर जो भेट्यो उसैलाई सोधिरहेका छौँ । सबैले उत्तरतिरै देखाइदिँदै छन् । अब त पिच भेटिएला कि भेटिएला कि भन्दाभन्दै, हैरानी खेप्ताखेप्तै आफन्तको आँगनमा टुप्लुक्क निस्कनुभयो सचिवज्यू । पिचबाटो पनि आँगनका डिलमै रहेछ । त्यहाँ सोध्दा पो थाहा भयो गन्तव्य पुर्याउने बाटोले अलि तलैबाट हाँगा छोडेको रहेछ । हामी फेरि पिचैपिच अलितल झर्यौं र पूर्वउत्तर हुइँकियौँ । अब भेटियो खुदुनाबारी बजार ।
बजारका टुप्पाबाट फेरि पूर्वउत्तर नै लाग्यौँ । निर्माणधिन बाटो । सानोतिनो खोल्सीको किनारैकिनार । केही अग्लिँदै केही होचिँदै जङ्गलमा पुग्दा एउटा अग्लो स्तम्भ र त्यसको फेदमा अर्धकदका पाँचवटा शालिक देख्यौँ । साथीहरुले यादै गर्नुभएन ।
तर मैले भनेँ, “आर्रे हउ, सुखानीको सहिद पार्क जस्तो पो छ त यो त । सहिद स्तम्भ त सुखानीकै हो यो ।”
गाडी राेकिएन तर अलि उत्तरपूर्वपट्टि रहेछ साइनबोर्ड फर्कँदा मात्रै प्रष्ट देखियो ‘सुखानी सहिद पार्क’ भनेर । दायाँतिर चुरे पर्वतमाला र बायाँतिर महाभारत पर्वतशृङ्खला उभ्याएर बिचको दून भनौँ वा भित्रीमधेश जस्तो लाग्ने बाक्लो जङ्गल क्षेत्रको बिचैबिच गुडुल्किएको निकै चौडा पिचबाटो तेर्सिंदै तेर्सिंदै हिन्नियो सिधै पूर्वतिर । निकैबेर आनन्दले दौडिएपछि फुत्त निस्कियो शुक्रबारे बजार । अपत्यारीलो ठाउँमा लमतन्न सुतेको बजार हेर्दा अचम्म लाग्यो हामीलाई । भरे थाहा भयो हामीले सुनिरहेको इलामको गरुवा भन्ने ठाउँ रहेछ यो ।
सङ्कास्पद ग्राभेल बाटो नाघिसकेपछि हामीले सोध्यौँ, “चेप्टी जाने कताबाट होला ?”
देखाइदिए स्थानीयले, “ए, ऊ त्यहाँबाट पो त । तपाईंहरु त नाघेर आइसक्नु भयो एता इलाम जानेबाटोतिर ।”
हामी फर्कियौँ र फेरि कच्चीबाटोबाट पूर्व लाग्यौँ । साइनबोर्ड रहेछ त्यहाँ ‘चेप्टी ड्रिम स्पोर्ट – ८ किमी’ लेखिएको । केही साँघुरो, कच्ची बाटो एकैछिन हिँडेपछि एउटा ठुलो खोला आफूतिरैबाट बग्दै पूर्व गइरहेको देख्यौँ हामीले । फराकिलो बगर, दक्षिणतिर अलि टाढा चुरे पहाड । उत्तरतिरको भित्तैभित्ता हामी हँड्ने सडक । घरि तल खोल्सामा झर्छ घरि थुम्कामा चढ्छ, घरि सम्ममा झर्छ त घरि भित्तामा टाँसिन्छ बाटो ।
झुप्राझुप्री घरहरुका बिचबिचमा एकदुईवटा पक्की घरहरु पनि थिए । सबै बस्ती क्षेत्र देखिन्थ्यो । बाटो तन्किँदै जाँदा दुई घुम्ती निकै सकसले पार गर्यो स्वीप्टले । डाँडामा उक्लेर फेरि एउटा टाहारको बस्ती छिचोलेपछि पारिभित्तोको घना जङ्गललाई छुन हिँडेको एउटा झोलुङ्गे पुल देखियो र वारिपट्टि नै दुईवटा चिटिक्क परेका घर देखिए पुलको पूर्वतिर ।
ती घरका छेउबाट दक्षिण झरेर एउटा खहरे पूर्वतिर बगिरहेको ठुलो खोलामा मिसिएको थियो । खहरेमाथि एउटा कज्वे हालिएको रहेछ । झोलुङ्गे पुल र खहरेको बिचमा एउटा फराकिलो धुलेचौर सुतिरहेको थियो खोलामा गोडा चोबलेर । त्यसका छेउमा वारपारै चटपटे, मिनरलवाटर र लुकाएर मात्र बेच्न पाउने लोकल ठर्राका ग्यालेनहरु बोरामुनि खाँदेर उभिएका थिए छाप्राहरु । त्यही चौरमा पुगेर थकाइ मार्न थाल्यो सचिवज्यूको स्वीफ्ट ।
हामी निस्केर तन्याकतुनुक जीउ तन्काउँदै कज्वे तर्यौं । चौरको छेउदेखि नै उद्यान सुरु भइसकेको थियो । रङरोगन गरिएका गमलाहरुमा फूल फुलिरहेका थिए । एउटा भव्य पार्कको रौनक कज्वे तर्दातर्दै दिलाइसकेको थियो बाहिरी सजावटले । निर्माण गरिएका संरचनाहरुको सुरुमै बाथरुम थियो र अफिस कोठाहरु थिए । पार्कभित्र प्रवेश गर्ने प्रवेशद्वार रहेको अङ्ग्रेजीको सी ९० आकारको एक तले घर चौरतिरै फर्किएको थियो र त्यहाँ खेलौना आदिका पसलहरु राखिएका थिए ।
हामी अफिस कोठामा छिर्यौं र सविस्तार कुराकानी गर्यौं । हामीलाई चाहिने सबै जानकारीहरु प्राप्त गरिसकेपछि प्रतिव्यक्ति प्रवेश शुल्क रु.२००– हुँदाहुँदै पनि बिनाशुल्क पार्क घुम्ने अनुमति पायौँ हामीले । जम्मा डेढ घण्टा पार्क घुमेर भरपूर मनोरञ्जन लियौँ । परबाट हेर्दा भिरको फेद, खोलाको किनार, निकासविहीन कुइँनेटो मात्र देखिने त्यो ठाउँमा जतिभित्र पस्यो त्यति चेपचाप रहेका र तिनै चेपचापलाई प्राकृतिक ढङ्गले नै सजिसजाउ गरेर आकर्षक बनाइएको हुनाले चेप्टी नाम सान्दर्भिक बनेको रहेछ । फेरि स्थानीयहरुका मुखबाटै सुनियो कि चेप्टी नाम पछि राखिएको नभएर सदियौँदेखि चलिआएको स्थानीय नाम नै रहेछ ।
हामीले पहिले जे जस्ता कुराहरु सुनेका थियौँ ती भन्दा पनि धेरै राम्रा, रमाइला, मनोरञ्जनात्मक कुराहरु रहेछन् चेप्टीभित्र लुकेका । बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म रमाउन सक्ने ठाउँ रहेछ यो त । त्यस्तो अनकण्टार ठाउँमा करोडौँको लगानी फसाएर बनाइएको यस्तो भव्य पार्क देखेर कतै निर्माणकर्ताको लगानी जोखिममा त पर्ने होइन ? भन्ने डर पनि उब्जियो मनभित्र । तर पनि जे गर्छ आँटीले नै गर्छ, संसार साहसीहरुको हो, हामीजस्ता डरपोक लाछीको काम सुनेरै तर्सिने मात्रै हो भन्दै चित्त शान्त गर्यौं र बाहिर निस्कियौँ ।
छाप्राका आँखा हामीमाथि बर्सिरहेका थिए । बोरामुनि लुकेका गिलेनहरु पनि घुम्टो उठाएर चिहाउँदै थिए होलान् सायद । तर हामीलाई उनीहरुसँग भलाकुसारी गर्ने समय थिएन । बातचित गर्न, बसेर माइत लगाउन, मितेरी साइनो गाँस्न त मन थियो नै । फेरि अर्कोबाजी आउनु नै थियो । त्यसैले बाँकी सबैलाई रामराम भन्दै कुनै एक छाप्राबाट जनङ्गी एक एक सोली चटपटे बोक्यौँ र उपाध्यक्ष राजकुमार भट्टराई, सचिव सन्तोष पौडेल, ऋण संयोजक योगेश गुरागाईं व्यवस्थापक विनोद मिश्र र म अध्यक्ष भइटोपलेको मान्छे डल्लो पर्दै छिर्यौँ फुत्रुक् फुत्रुक् दमकतिर मुख फर्काएर बसेको होचो स्वीफ्टभित्र र दनादन चटपटेको ओइरो हाल्न थाल्यौँ मुखमा ।
हामीले पाँच मिनेटमा ओइर्याउने ओइरो सचिवज्यूले डेढ मिनेटमै ओइर्याउनुहुँदो रहेछ । छक्क पर्यौं हामी । अलिमाथि डाँडाको अर्को चटपटे छाप्रामा आइपुगेर दुईबोतल मिनरलवाटर ८० रुपैयाँमा किन्यौँ र घुड्ख्याउँदै पाँचबजे आइपुग्यौँ दमक ।
अचम्मचाहिँ के भयो भनेँ हामीले पूर्व बगिरहेको छ भनेको खोलाचाहिँ सुरुङ्गा पश्चिममै तरिसकेकी माई नदी रहिछन् । तिनी पूर्व होइन पश्चिमतिर बगिरहेकी रहिछन् र यात्राअवधिभरी हामीमाथि भ्रम छरिरहेकी रहिछन् । पहिले नै तरिसकेकी र माथिबाट हेर्दा पश्चिमतिर उकालो उकालो जस्तो देखिइरहने हुनाले हामीले निन्दाखोलामा लगेर माई मिसाइदिएका रहेछौँ । तर वास्तविकता त्यो भए पनि भ्रम अझै पट्टाखेलिरहेको छ हाम्रो मस्तिष्कमा । त्यै भ्रम चिर्न पनि जानु छ अब वनभोज इलामको चेप्टी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

