‘पानी पर्यो भने चाहिँ चढ्न सकिन्न !’ म सबैलाई चढाइका पूर्वशर्तहरु सुनाउँदै थिएँ ।
३१ जुलाईको विहान ९ बज्नै लागेको थियो । आठ बजे यात्रा सुरु गर्ने भनेकोमा सबै जम्मा हुँदाहुँदै अबेर भइसकेको थियो । पार्किङ्गमा गाडिहरु राख्दै गर्दा पर देखिने चुगस्पिच्चे बादलमा लुकेको थियो । अघिल्लो पटकको भन्दा विलकुल फरक मौसम थियो । सबैको समय मिलाउन त्यसै पनि गाह्रो । त्यसमा पनि मौसम राम्रो भएको बेला सबैको समय मिलाउनु झन् गाह्रो ।
जसो तसो चढ्न तयार १५ जना भेला भएका थियौँ । सफा मौसममा त यात्रा सहजै हुन्थ्यो । तर पहरामा पुगेको बेला पानी परे ढुङ्गाहरु चिप्ला हुन्थे । अनि त्यस्तोमा उक्लन निकै कठीन हुन सक्थ्यो । त्यसमाथि यस पटक हामीसँग अनुभव भएका र नभएका सबै खालका आरोहीहरु थिए । त्यसै अलमलका बीच पानी फिकाउन थाल्यो । सबैले मुखामुख गर्यौँ । पानी फिकाउनुको अर्थ सबैलाई थाहा थियो ।
***
३० जुलाई मै चढ्ने योजना थियो । तर त्यो दिन पानी पर्ने देखाएकोले भोलिपल्ट चढ्ने सल्लाह भयो । चुगस्पिच्चे चढ्ने धेरै बाटा मध्य सबै भन्दा छोटोबाटो म र रबी चढिसकेका थियौँ । तर त्यो बाटोमा सबै चढ्न सहज हुँदैन थियो । हामी नै पनि निकै बिहान बाटो लागेकाले समयमै चढ्न भ्याएका थियौँ । बाटामा एक छिन विश्राम नलिई निरन्तर उक्लेका थियौँ ।
यस पाली चढ्न खोज्नेहरु सबै हिँड्न सक्ने थिएनन् । ओबर्स्टडाेर्फका फरकफरक यात्रामा सबै जना सहभागी भएका भने थिए । अनि हामीसँग चुगस्पिच्चे चढ्ने प्रथम अनुभव छँदै थियो । त्यसैको भरोसामा चढ्ने निधो भएको थियो । चढ्दाका तस्वीरहरुले सबैलाई हौस्याएको पनि थियो । शनिबारको पानीले आइतबार एकदिनमा चढिसक्ने बाहेक अरु बाटो बाँकि राखेन । त्यसो हुँदा हामी अघिल्लो पटक आएकै बाटो चढ्नु पर्थ्याे। स्टपसेलचिहर भनिने त्यो बाटोमा गुफा र केहि भिराला पहाड उक्लन पर्थ्याे ।
‘चढ्नलाई तिमीले केके रिकमेण्ड गर्छौ ?’ सचितले तयारीका बेला सोधेको थिए ।
सचित ओबर्स्टडाेर्फको पहिलो यात्रामासँगै थिए । त्यो यात्रामा हामी जुत्ता मात्रै लाएर उक्लेका थियौँ । बाटो पनि लगभग अन्तिम सम्मै सडक नै थियो । तर यस पाली हामीले चढ्ने भनेको बाटोमा हिँड्ने मात्रै भन्दा पनि आरोहण नै गर्नुपर्ने थियो । अन्तर भनेको भिरालोपनाको हो । थोरै भिरालोमा हिँडेरै सकिन्छ भने अलि बढी भिरालोमा चढ्नुपर्छ । त्यसका लागि ठाउँठाउँमा फलामका किल्ला र तिनमा डोरीले बाँधेर बाटो बनाइएको हुन्छ । सामान्यतया त्यस्ता बाटाको लागि कम्मरपेटी, अंकुशे डोरी, सुरक्षाटोपी, आदि पर्वतारोहणका सामग्रीहरु आवश्यक पर्छ । गर्मी मौसमका कारणले बाटामा हिउँ त थिएन । नभए हिउँमा लगाउने कपडाहरु र काँडे जुत्ताहरु नै पनि लाउनुपर्ने हुँदो हो ।
पर्वतारोहणको अनुभव नभएकाले पहिलो चढाइमा म सबै सामान किनेर बाटो लागेको थिएँ भने मसँगै भएका रबीसँग जुत्ताबाहेक केही थिएन । उनी सकिने जति चढ्ने भनेर सँगै लागे पनि जोखिम मोल्न सकिने जस्तो देखेर सँगै चढे । रबी जसरी नै सबै जाने या सबैले सुरक्षा सामग्रीहरु लिने भन्ने दोधार थियो । अनावश्यक जोखिम मोल्न मन कसैलाई थिएन । तर आवश्यकताभन्दा बढी सुरक्षा सामग्रीमा खर्च गर्ने मन पनि कसैलाई थिएन । हामीले बीचको बाटो अपनायौँ । पछि पनि काम लाग्न सक्ने सुरक्षाटोपी र पञ्जा सबैले किन्ने भयौँ भने कम्मरपेटी र अंकुशे डोरी मसँग मात्रै हुने भयो ।
‘तर दाइ त्यति लामो बाटो मैले कहिल्यै चलाएको छैन ।’ सरुले सुनाई ।
सरुलाई जर्मनीको सर्वोच्च शिखर चढ्ने मन त थियो । जेआल्पजेको झण्डै ३० किमी हिँडाइको अनुभव पनि थियो । तर त्यहाँसम्म गाडी चलाएर जाने कुरामा आँट गर्न गाह्रो भइरहेको थियो । ३ घण्टा भन्दा बढी समय लाग्ने २६० किमी गाडी चलाएर पर्वतारोहण पनि गर्ने अनि त्यही दिन फेरि ३ घण्टा बढी चलाएर घर फर्कने आँट गाह्रो नै थियो । सार्वजनिक सवारी साधनले निकै नै बढी समय लगाउने भएपछि सबैका लागि पुग्ने गरी गाडिको जोहो गर्नु पनि थियो ।
‘म चलाउँछु नि त !’ चालकको अभाव हुन थालेपछि रानु भाउजुले प्रस्ताव गरिन् ।
त्यो प्रस्तावले सरुलाई नै पनि हौस्यायो । एकै दिन ६ घण्टा भन्दा बढीको गाडीको यात्रा भन्दा त्यसलाई दुई दिनमा बाँड्ने सल्लाह भयो । अघिल्लो दिन नजिकै गएर बस्ने र भोलिपल्ट विहानै ८ बजे कार बिसौनीमा भेटेर सबैले सँगै यात्रा गर्ने योजना बन्यो । सरुसँगै अमन, सामना र निमेस पनि हुने भए । एकै दिनमा लामो यात्रा नहोस् भन्नका लागि ऊ शनिबार नै अघि लागेपछि बाँकी हामी पनि क्याम्पिङ्ग गर्ने भन्दै एक त्यसै दिन बाटो लाग्यौँ । रबी, स्वस्ती र नबिन सर पनि हामीसँगै जाने भए । अब जाने नै भएपछि खाली सुत्नलाई मात्रै किन जानु भन्ने भयो । त्यसैले केही अघि गएर सकिने ठाउँ घुम्ने पनि योजना बन्यो ।
क्याम्पिङ्गका लागि अघिल्ला केही दिनदेखि नै ठाउँ रोकेर राख्नु पर्ने रहेछ । हामीले योजना बनाएको चुगस्पिच्चे नजिकैको हिन्टरवाङ्गरजे छेउमा ठाउँ नभेटिएपछि हामी तल र वरपरको सुन्दरतामा एकछिन अल्झेर प्लानजेतिर उक्लियौँ । निलो पानीले लोभ्याएपछि एकछिन कपाल भिजाउन पट्टि लाग्यौँ । सचित र रानुसँग आशीष र सुसन पनि सँगै आएका थिए । आशीस एक जेआल्पजेको यात्रा पछि एकैपटक चुगस्पिच्चेको लागि आएको थियो । सुसन ग्रोस क्रोटेनकोप्फको यात्रापछि चुगस्पिच्चे बाहेक अरु कुनै पनि यात्रा नगर्ने भनेर बसेको थियो । चुगस्पिच्चेको लागि उसले आवश्यक पर्ने भनिएका सबै सामान पहिले नै जुटाएर राखेको थियो ।
‘हामी गार्मिसतिर बुझ्छौँ । तिमीहरु कतिखेर पुग्छौ ?’ सचितले सोधेको थियो ।
हामी सचितहरुभन्दा केही अघि बाटो लागेकोले दिनको उज्यालोको सदुपयोग गर्दै तालहरुमा रमाइरहेका थियौँ । ताल छेउकै क्याम्पिङ्ग स्थलमा बस्ने सुरुवाती योजना रहेपनि त्यहाँ बस्ने ठाउँ नपाए पछि हामी प्लानजे तिर मोडिएका थियौँ । आसपासको सबै ठाउँमा सोध्दा गाडिमा क्याम्पिङ्ग गर्नेभए चाहिँ ठाउँ भएको जानकारीसम्म त पाइयो तर हामीसँग गाडि थिएन । कारण अघिल्लो रात पानी परेर बाढी नै आएको थियो । मान्छेहरुलाई उद्धार गर्नुपरेको थियो । त्यसैले क्याम्पर भ्यानमा भए मात्रै ठाउँ मिल्ने खबर मिल्यो । यता सबैलाई अल्मल्याउनु भन्दा साँझको बासको जोहो गर्न लगाउन ठीक ठानी उनीहरुलाई हामीले पहिलो बस्ने भनेको ठाउँबाट पाएको जानकारी सुनायौँ ।
एक दिनमा धपेडि हुन्छ भनेर शनिबार रात बिताउने योजना बनाएर बाटो लागेका हामीलाई शुक्रबारको बाढीको खबरले केही चिन्तित बनायो । फेरि रात काट्ने ठाउँको जोहो पनि भइसकेको थिएन । आकाश अँधेरै थियो । केही गरी मौसम बिग्रिएर भोलिपल्ट पानी पर्यो या रातै पानी पर्यो भने बिजोग हुने वाला थियो । निकै पछि सबैको छुट्टी मिलेको सप्ताहन्त थियो । फेरि त्यो संयोग जुर्ने कहिले हो कहिले !
‘दाइ, ह्याँ ठाउँ त मिल्यो तर सानो ठाउँ छ । के गर्ने ?’ आशीषले फोनमा भन्यो ।
हामी अलमलिएको जानकारी पाएपछि उनीहरु गार्मिसको क्याम्पिङ्ग स्थलमा पुगेका थिए । त्यहाँ साने ठाउँमा मिलेर बस्ने भए बस भन्ने कुरा आएको थियो । बिरामीको बिछ्यौना बाट भरखरै उठेका सन्तोष दाइको परिवार, सुसन र नबिन सर त्यहिँ बस्ने भए । सचित र रानुसँगै थप ४ जना अन्त बस्ने भयौँ । सरुहरु म्युनिक नजिक होटलमै बस्ने भए । एकै ठाउँमा बस्न नमिले पनि सँगै साँझ खाना चाहिँ खाने भयौँ । खाना खाएर गाडि भएकाले नभएकालाई सुत्ने ठाउँसम्म पुर्याएर हामी पनि सुत्ने ठाउँमा आयौँ । भोलिपल्ट बिहानै चढाइ सुरु गर्नु थियो । त्यसैले अबेर रातसम्म अलमलिने त्यसो केहि गरेनौँ ।
क्याम्पिङ्ग तस्वीरहरुमा आकर्षक भए पनि ओढ्ने र ओछ्याउने गतिलो भएन भने अलि कष्टपूर्ण नै हुन्छ । हाम्रो व्यवस्थापन पनि उति गतिलो थिएन । जेनतेन रात काटेपछि भोलिपल्ट क्याम्पहरु फेरि थन्को लगायौँ र बाँकि साथीहरुकहाँ लाग्यौँ । सबै जना जम्मा गरेर कार बिसौनी पुग्दा सम्म म्युनिक बाट आइपुग्नुपर्ने सरुहरुको टोली पुगिसको थिएन । आइतबारको दिन हुनाले आसपासका पसलको अभावमा हामीले पनि केही खाएका थिएनौँ । आउँदा उनीहरुले नै बाटोमा किनेका कुराहरु खायौँ र आरोहणका लागि तयार भयौँ । त्यत्तिकैमा पानी फिकाउन सुरु भयो ।
‘दाइ म बरु फर्किन्छु । तपाईं जानु !’ हिँड्न सुरु गरे लगत्तै सरुले भनी ।
सन्तोष दाइसँगै आएकी भाउजू र बच्चाहरु तलै रमाइलो गर्ने भएका थिए । अरु पानी नदर्किन्जेल जतासम्म पुगिन्छ त्याहाँसम्म हिँड्ने भनेर अघि लागि सकेका थिए । अघिल्ला पदयात्राहरुमा सँगै जानेले गरेका गुनासोहरुलाई सम्झँदै सबै भन्दा पछि म रोकिएको थिएँ । सरु मसँगै थिई । ३० किमी यात्रासँगै गरेको मान्छेले साढे ८ किमीको बाटो तय गर्न नसक्ने भन्ने हैन । तर साढे ८ किमीमा हामीले करीब २ हजार मिटर उक्लिनु पर्थ्याे । त्यो हिँडाइ भन्दा भित्तो उक्लिनु जस्तै थियो । सुरुको १३ सय मिटर जति चढाई चाहिँ मुख्यतः जंगल र थोरै पहाडहरु छिचोल्नु पर्थ्याे भने अन्तिम साढे सात सय मिटर चाहिँ लगभग भित्ता उक्लिएझैँ नै हुन्थ्यो । फेरि यस्ता यात्रामा सुरुका केही किमी अप्ठ्यारो लाग्छ । बिस्तारै बानी पर्छ अनि यात्रा सहज हुन जान्छ ।
हिँडाइमा सजिलो होस् भन्नको लागि मैले सरुको झोला बोकेँ । त्यसो गर्दा उसले झोलामा हाल्न लागेका सामानहरु हाल्न नदिएकोमा खुशी पनि लाग्यो । अनावश्यक सामानहरु हालेर झोला भारी बनाउनुको अर्थ यात्रा कष्टकर बनाउनु हुन्थ्यो । यात्रा सहजताको बाटो खोजी गर्दै गर्दा यति सम्म जुक्ति लगाउन थालिएको थियो कि बाटामा तिर्खा लाग्ला भनेर यात्रा सुरु गर्न अघि नै टन्न पानी पिइएको थियो । बाटामा मुत्र विसर्जन त सम्भव थियो तर पानी भेट्न मुश्किल थियो । अनि धेरै बानीसँगै लग्दा बाटाभरी भारी बढी हुन्थ्यो । त्यसैले पछिल्ला दिनहरुमा पानी पाएका ठाउँमा टन्न पिउने र डेढ लिटर पानी मात्रै बोकेर लैजाने गरेको थिएँ ।
जंगलको बाटो काटेपछि हामी खुला फाँटमा पुग्यौँ । हिउँ चिप्लेटीका लागि बनाइएको बाटो गर्मीमा मजाले हिँड्न सकिन्थ्यो । त्यहीँ हामीले हाम्रो अघि बढिरहेका हाम्रो टोलीका अन्य मान्छे पनि भेट्यौँ । हामीलाई उनीहरुले पर्खनुको अर्थ यात्रा लामो बनाउनु हुन्थ्यो । त्यसैले बरु हामी चाँडै गर्छौं भनेर उनीहरुलाई हिँड्न भन्यौँ । केही बेरपछि भेटिए पनि । सबै भन्दा पछि रहँदा आत्तिएकी सरु पनि अब अघिअघि लाग्न थालिन् । पछि रहने कसैलाई चाहना भएन । अझ केही बेर माथि पुगेपछि हामीलाई पर्खेर बसेका नबिन सरलगायतका थप साथीहरु पनि भेटिए । उनीहरु डेढ घण्टाको बाटो पार गरेर बाटो फाटिएको ठाउँमा हामीलाई पर्खि रहेका थिए । अझै ३ घण्टा माथि बल्ल वीनर-न्वेएस्टेटर-ह्युटे आउँथ्यो । त्यसपछि भित्तो उक्लिनु बाँकी रहन्थ्यो ।
हाम्रो उचाइ बढेसँगै वरपरको दृश्यहरु राम्रा देखिँदै गए । रुखहरु तल छुट्दै गए । साना साना झुण्डमा फोटो खिच्दै, रमाउँदै हामी पनि अघि बढ्यौँ । अलिकता पर्खने बित्तिकै अघि लागेकाहरु परपर देखिन्थे । हामी हल्ला गर्दै अघि बढिरहेका थियौँ । म, सविता, निमेस र सरु वारीकोडाँडाबाट चिच्याउँथ्यौँ भने पारिको डाँडामा सचित र अन्य साथीहरु हिँडिरहेका हुन्थे । निकै पर लाग्ने ती बाटो पनि केहि छिनमै पुगिन्थ्यो । तर साथीहरु अझै अघि बढिसकेका हुन्थे । तीन घण्टा जस्तो उक्लेपछि अष्ट्रियाको एहरवाल्ड देखिने ठाउँमा बसेर हामी सबैले ल्याएका नमकिन, काजु र किसमिसहरु बाँडेर खायौँ । चाँडो हिँड्नेहरु त अझै धेरै अघि पुगि सकेका थिए ।
सबैलाई पछि परिएला भन्ने एक खालको डर थियो । अनि सबै एक आपसमा प्रतिस्पर्धामा पनि थिए । ढिलो गर्दा सडकमा सुत्नु परेको अनुभव पनि सबैलाई थाहा थियो । तर यस पटक पहाडमा रात बित्थ्यो । केही गरी केबलकारमा ओर्लन सकिएन भने उक्लेकै बाटो ओर्लनु पर्थ्यो । त्यो झन् असजिलो हुन्थ्यो ।
अघिल्लो पटक हतार हतार चढेका बाटोहरुमा म भने नयाँ नयाँ कुराहरु भेटिरहेको थिएँ । ठाउँठाउँमा फोटो समेत खिचिरहेको थिएँ । केही ठाउँ अप्ठ्यारा पनि देखिन्थे । तर देखिनु र हुनु फरक कुरा हो । हामी हिँडेका बाटाहरु पनि कुनै दिन असम्भव देखिएका थिए । त्यसै दिन पनि तलै हुँदा बादलले ढाकिएको चुचुरो र फिकाएको पानीले यात्रा बीचैमा रोक्नुपर्ने डर सबैलाई लागेको थियो । धन्न पानी नै चाहिँ परेन । बाटामा मौसमका कारण फर्किएकाहरु भने टन्नै भेटिए ।
थप डेढ घण्टा हिँडेर साढे १ बजेतिर हामी वीनर-न्वेएस्टेटर-ह्युट भन्ने टिहाउस पुग्यौँ । यो छोटो बाटोको बीचको बिश्रामस्थल त्यहि मात्रै थियो । यहाँ बाट कि त माथि कि त फेदमा मात्रै अन्य ओतहरु थिए । माथिको टिहाउस पनि ५ बजे बन्द हुन्थ्यो । डेढ तलै बजि सकेको थियो । लगभग यो समयमा अघिल्लो पटक हामी चुचुरामा थियौँ । अघिल्लो पटक हामी साढे ११ बजे नै त्यहाँसम्म पुगिसकेका थियौँ । थप दुई घण्टामा हामी माथि पुगेका थियौँ । यति सम्मको बाटो लामो भए पनि तुलनात्मक रुपमा कम जोखिमपूर्ण थियो ।
बाटोबाट लडे भने त सिधै फेद पुगिन्थ्यो तर बाटामा पर्याप्त सुरक्षाका उपायहरु अपनाइएका थिए । भीरबाट लडे पनि बोट बुट्यानमा अडिने भर थियो । तर अबको बाटो खास चुनौतीपूर्ण थियो । बोट बुट्यान केही थिएन । लडे सिधै पत्थरमा थचारिनबाट जोगाउने केही थिएन । त्यही नहोस् भनेरै खासमा यस्ता बाटामा सुरक्षा टोपीदेखि पेटी र अंकुशे डोरीहरुको प्रयोग हुन्छ । केही गरी गोडा चिप्लिए भने पनि बाटामा बाँधेको फलामको डोरीमा हालेको अंकुशीले ठूलो दुर्घटना हुन दिँदैन । सुरक्षा टोपीले टाउको पनि जोगाउँथ्यो । तर हामीले बजेट जोगाउन केही जोखिम मोलेका थियौँ ।
टिहाउसमा लगभग सबै भेट भयो । आशीर र पमितोष चाहिँ अघि नै लागि सकेका थिए । त्यहाँ पुगेका मध्येलाई पनि जति सक्यो अघि लाग्न भनेँ । एक खालको दबाब बनोस् भन्ने थियो । हामीले नरोकिइ कन उक्लेको २ घण्टाको बाटो बाँकि नै थियो । हामीसँग समय भने साढे ३ घण्टा थियो । तलको बाटोमा हामीले दोब्बर जस्तो समय लगाएकाले बाँकि बाटो पनि त्यति नै समय लगाउँदा हामीले केबलकार छुटाउन सक्थ्यौँ । त्यसैले पनि सबै रमाइलो गर्दै सँगै हिँड्ने छुट हामीलाई थिएन ।
गुफाको बाटोमा केही अलमल भयो । सबैले चाँडो जान खोज्दा रानु भाउजू माथि अड्किइन् । अरुले छेउबाट माथि उक्लेर सहयोग गरे । अघिल्लो पटक हिँडिसकेकोले होला ममा अलि बढी आत्मविश्वास थपिएको थियो । बाटोभन्दा पनि छेउका अबाटाहरुबाट धेरै हिँड्दै थिए । ती केही सजिला त थिए तर जोखिमले भरिएका पनि थिए । कारण त्यता सुरक्षाका लागि फलामे डोरीहरु बाँधिएका थिएनन् । ती बाटा हिँड्दाको फाइदा भनेको अरुको तस्वीरहरु लिन सहज हुन्थ्यो । सुसन, सरु र सन्तोष दाइ एकदमै भिरालो बाटो उक्लँदै गर्दाको तस्वीर र भिडियो लिन पनि त्यसैले सजिलो भएको थियो ।
आकाश ढाक्ने बादलले दुई काम गरेको थियो । एक त बडेमानको चुचुरो आधा छोपिदिएको थियो । अर्को घाम नलाग्दा गर्मी पनि कम भएको थियो । त्यसो त घाम लागेकै बेला पनि उति गर्मी भएको थिएन । हात टेक्ने पत्थरहरु पनि चिसिएका थिए । अनि फलामका डोरी पनि निकै चिसिएका थिए । त्यसैले पनि पञ्जाहरु आवश्यक पर्ने भनी सबैलाई सुझाएको थिएँ । बाटाभरी प्राय पछि नै रहेर सबैलाई हौसला बढाउने काम म र सचितले बाँड्यौँ । तलतिर म पछि थिएँ भने चुचुरो नजिक हुँदा म अघि र सचित पछि रह्यो ।
जर्मनीको सीमाबाट सुरु गरेर अष्ट्रियाको टि हाउस हुँदै फेरि जर्मनीको सिमाना पस्दा सम्म पौने ४ बजि सकेको थियो । माथि हेर्दा स्टेसन देखिन्थ्यो । त्यसैले थाकेकाहरुमा पनि अन्तिम उकालोको लागि उर्जा बाँकि नै थियो । खराब मौसम अनि हामीले गरेको अबेलाका कारण बाटामा लगभग हमीबाहेक कोही थिएन । अघिल्लो पटक कमिलाको ताँती झैँ मान्छे देखिएका अन्य बाटाहरुमा पनि यसपटक कोही थिएन । आकाशमा कहीँ कतै निला खाली भागहरु भएपनि धेरै भाग भने ढाकिएकै थियो । हामी मध्ये धेरै त माथि उक्लि सकेका थियौँ । पछि रहेकाहरु पनि सवा ४ मा माथि पुग्यौँ ।
चुगस्पिच्चेको चुचुरोमा भएको पक्की टिहाउसमा अष्ट्रिया र जर्मनीको सिमाना छुट्टिएको छ । जर्मन भागतिर २९६२ मिटरको चुचुरो छ भने अष्ट्रियन भागतिर २९५० मिटर अग्लो चुचुरो छ । सुनौलो क्रस राखेको चुगस्पिच्चेमा एक पछि अर्को चढ्न थाल्यौँ । बाटामै हुँदा पमितोष भेटिए । हामी १५ जनाको टोलीका १६ व्यक्ति तल पार्किङ्ग पछि एकै चोटी चुचुरामा भेटिएका थिए । सम्झनाका लागि एक तस्वीर लिएर फेरि हामीसँग आएका अन्यसँगै माथि चढ्न थाल्यौँ । बाटामा खासै मान्छे नभए पनि चुचुरामा भिड उस्तै थियो । केबलकारले पनि सजिलै पुग्न सकिने भएकोले मान्छेहरुका लागि सजिलो विकल्प त्यही हुन्थ्यो ।
‘ह्याप्पी वर्थडे टु यू, हयाप्पी वर्थडे टुयू !’ सरुले चुचुरो टेक्नेबित्तिकै हामी सबै एक स्वरमा गाउन थाल्यौँ ।
उसको जन्मदिन भन्ने सबैले थाहा पाएका थिए । योजना भनेको उसलाई चुचुरोमा पुर्याएर जन्मदिनको शुभकामना दिने थियो । जन्मदिनका दिन आफू बसेको देशको सर्वाेच्च शिखर टेक्नु पक्कै पनि खुशीको कुरा थियो । सबैको शुभकामनाले त्यसलाई झन् विशेष बनाएको थियो । सबैले चुचुरोमा तस्वीर लिइसकेपछि हामीले सगोलमा तस्वीर लियौँ र तलका लागि टिकटहरु काट्न थाल्यौँ ।
हामी भन्दा निकै अघि पुगिसकेको पमितोष हिँडेरै ओर्लने भयो । मलाई पनि त्यसरी ओर्लन खुब रहर थियो । तर मैले थप ३ घण्टा गाडि चलाउन बाँकी नै थियो । त्यसैले बरु चाँडै तल झर्ने र तालमा पौडने भनेर हामी तल झर्यौँ । तालमा केहिले नुहाए भने केहि बिस्तारै बाटो लाग्न लागे । पमितोष हिँडेरै आउने भयो । अन्तिम बस भेटिने या नभेटिने निश्चित नभएकाले उसले गाडि भएकालाई कुर्न अनुरोध गरेको थियो । हामी सबै पनि टाढा जानु पर्ने भएकाले त्यसो गर्न अप्ठ्यारो भइरहेको थियो । उसलाई त्यही जानकारी गरेर हामी नजिकैको रेष्टुरेन्टमा खान पस्यौँ । भोकै बाटो लाग्दा बाटामा खाने ठाउँ नभेटिन सक्थ्यो अनि अनावश्यक अलमल हुन सक्थ्यो । त्यहीँ खाना खाइरहेको बेला चुगस्पिच्चे तिरबाट बस आयो । झ्यालमा पमितोष देखिए ।
चुगस्पिच्चेको यो यात्रा धेरै कारणले विशेष थियो । धेरैको सर्वोच्च शिखरको सपना पुरा भएको थियो । विडम्बना के मात्रै थियो भने सर्वोच्च शिखर भएको देशबाट आएका हामीहरुका लागि पहिलो आरोहण जर्मनीमा जुरेको थियो । १४ मध्ये ८ वटा ८ हजार मिटर माथिका हिमाल अनि १३२ मध्ये २९ वटा ७ हजार माथिका हिमाल भएको देशमा यो सबै सम्भव भएको थिएन । यो यात्रा नै वर्ष २०२२ को आल्प्सतिरको अन्तिम यात्रा थियो । तर यसले २०२२ मै थप यात्राहरुका लागि बाटो खोलेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।