तपाईंले २९६२ मिटर चढिसक्नुभएको छ । अनि त्यस भन्दा ११ मिटर मात्रै अग्लो अर्को चुलीको तीघ्रासम्म तपाईं पुग्नुभएको छ । सँगैका वयोवृद्धले समय अभाव होला तर चढ्न गाह्रो नहुने कुरा सुनाई सकेको छु । सहयात्री ३ दिनको यात्रा र बारीको पाटाको सुताइले थकित छिन् । अनि उनलाई साँझै फर्केर ४०० किमी पर पनि पुग्नु छ । यस्तोमा तपाईंसँग यो उकालो एक्लै छिचोल्ने विकल्प छ । तर उनी एक्लिन चाहन्निन् । उनलाई एक्ल्याएर चुली चढ्ने विचार उनको लागि घोर अपमानपूर्ण लाग्छ । मनले उनलाई पनि चढौँ भन्दो हो तर तनले आराम खोज्छ । अनि उनलाई लोग्नेमान्छेको जस्तो अनावश्यक अहंकार तुष्टिको आवश्यकता नै पनि छैन । उनी एक सुन्दर ठाउँमा रमाउन आएकी हुन् । आफ्नो आरामसँग सम्झौता नगरी उनी त्यहाँको प्रकृतिमा रम्न चाहन्छिन् । उनका लागि पछि पनि समय आउँछ यो सब गर्नलाई । उनका लागि उचाइको दौड उति मरिमेट्न लायक छैन । चुली नचढ्ने बरु मुरेन सम्म हिँड्ने र आइगर, मोन्च र युङ्गफ्राऊ देखिने आल्माण्ड ह्युबेल सम्म चाहिँ जाने सम्झौतामा अडिएकी छिन् । तर तपाईंलाई त्यो थप ११ मिटरको माया छ ।

‘ह्याँबाट खासै देखिएन । अलि माथिबाट हेरेर आऊँ ?’ मैले आश मारेर सोधेँ ।

रमण जैसेरी

निरन्तरको ओबस्र्टडोर्फको एकल यात्रा अनि चुगस्पिच्चेको झुक्याएर गरिएको चढाइपछि जर्मनीको उचाइ सबै नापिसकिएको थियो । २९६२ मिटर भन्दा अग्ला चुचुरा जर्मनीमा बाँकि थिएनन् । त्यसै चुचुरा चुम्ने चुनौतीपूर्ण बाटाहरु भने प्रशस्तै थिएः हिमनदी भएर जाने होलेन्टालको बाटो, चुगस्पिच्चे बाट आल्पस्पिच्चे सम्मको चुलीको धारै धार टेकेर जाने युविलियम्स ग्राटको बाटो, सबैभन्दा लामो तर तुलनात्मक रुपमा सहज मानिएको राइनटालको बाटो, अष्ट्रियाको एरेनवाल्ड भएर जाने बाटो, आदि आदि । हामी स्टोपसेलचिहर भन्ने आधा जर्मनी अनि आधा अष्ट्रिया पर्ने बाटो चढेका थियौँ । त्यसै बाटो बाट पनि ओर्लने गरि चढ्ने विकल्प पनि छन् । दुई बाटा जोडेर यात्रा गर्ने विकल्प पनि छन् । फरक मौसममा त्यहि बाटो चढ्ने विकल्प पनि छन् । गन्तव्य एउटै भएपनि हजार बाटाहरुले त्यसै गन्तब्यलाई हजार गन्तब्य बराबर बनाएको छ ।

मानिसहरु एकै गन्तव्यमा पटकपटक फरक तरिकाले यात्राका लागि आइ नै रहन्छन् । सोच्छु यस किसिमको दोहन हामीले गर्न सकेका भए देश कहाँ पुग्थ्यो होला । हामीसँग फेरि २९६२ मिटरका त चुरे नै कति होलान् । ८ हजार माथिका ८ वटा चुली भएको देश पो त नेपाल ! चुगस्पिच्चेमा देखिएका मान्छेको ताँतीको अन्तिम मक्का मदिना भन्नुस्, जेरुसेलम भन्नुस या काशी बनारस भन्नुस्, त्यो सबै भनेकै नेपाल न हो ! त्यो बाहेक अन्त कताबाट सगरमाथाको दर्शन हुन्छ ? तर यो कुराको हामीले यथोचित व्यवस्थापन गर्न सकेका छैनौँ । व्यवस्थापन गर्नपर्ने अर्को कुरा भनेको श्रीमतीको खुशी पनि हो । जसको लागि मैले स्वीजल्याण्ड भ्रमणको प्रस्ताब पेश गरेको थिएँ । त्यो प्रस्ताब राख्ने बित्तिकै चमक सहितको अनुहारमा भरिएको हाँसोले मलाई हेरेरै सर्ब सहमतीले पारित भएको थियो ।

सामाजिक सञ्जालले मानिसको जीवनशैलीमा धेरै प्रभाव पारेको छ । पर्यटकीय सम्भावना भएका ठाउँका बारेमा जानकारी पनि तिनै सामाजिक सञ्जालका माध्यमबाट बढी भन्दा बढी थाहा हुन थालेको छ । उन्टरसेसेनको स्ट्वेबीफालको बारेमा जर्मनी र स्वीस सिमामा तयनाथ कर्मचारीलाई पनि थाहा थिएन । करीब १७० किमीको बाटो तय गरेर २ घण्टामा सिमामा पुग्दा अन्य गाडि छोडिए पनि मेरो कागजात जाँच भएको थियो । युरोपमा अरब मुलको देखिने अनुहार छ र दारी पाल्नुहुन्छ भने तपाईंको केरकार धेरै हुन्छ । अझ यो थाहा भएपछि सिमा या प्रहरीका अघि झन् आँत्तिने र त्यसले झन् केरकार बढाउने चक्र चलि नै रहन्छ । साना दुःखले माइकल ज्याक्सनले छालाको रंग फेरेको होओइन । म श्रीमतीसँग जाँदा तुलनात्मक रुपमा कम जाँच हुन्छ । अथवा नेपाली भनेर जनाउने धाकाटोपी सहितका आमाबालाई पछाडि हालेर जाँदा पनि एकपटक जान दिएका थिए । त्यस दिन दिएनन् । अनि मैले गन्तव्य नै पनि चिनाउन सकेन । सिमाका कर्मचारीले लाउटरब्रुनेन भन्ने उपत्यकाको स्टाउबबाखफाल चिन्थे तर उन्टरसेसेनको स्ट्वेबीफलको बारेमा अनभिज्ञ थिए ।

‘त्यो धुच्को त के हो र !’ प्रहरीले उल्यायो ।

गाडिमा पर्वतारोहणका सामग्री देखेर कता चढ्ने भनेर सोध्दा मान सम्मान नै पाइन्छ कि भनेर चुग्स्पिच्चेको चढाइ सुनाएकाे थिएँ । स्वीसका लागि २९६२ मात्र एक धुच्को थियो । उँटको शरीरको जुरो जस्तो, सामान्य । चुली भन्न नमिल्ने पहाड । ह्युबेल भन्दा रहेछन् । त्यो अग्लो चुचुरो आउन अघिको केही अग्लो ठाउँ हो । तर त्यो चुचुरो हैन । यस्ता यस्तै कुराहरुले हुन् उचाइमा झन् झन् उचाइ थप्न अभिप्रेरित गर्ने । स्वीस नपस्दा सम्म जर्मनीको सबै भन्दा अग्लो चुली चढ्नु मेरो लागि सगरमाथा चढे बराबर थियो । सबैले वाहवाह पनि गर्थे । तर छेऊको देशमा त्यो एउटा जाबो ह्युबेल भयो । कुनै उपलब्द्धि भएन । युरोपका अग्ला चुलीहरु भएको देशले चुगस्पिच्चेलाई मानोस् नै पनि किन ?

राइनफाल ट्रेन चढेर नै पनि धेरै पटक आइएको ठाउँ हो । राइन नदि झरेको ठाउँलाई नै राइनफाल भन्छन् । जर्मनमा फाल भनेको अंग्रेजीको फल हो जसको अर्थ झरना हुन्छ । उच्चारणका हिसाबले अंग्रेजीभन्दा जर्मन सहज छ । त्यहाँ अक्षरका उच्चारण फेरिन्नन् । या अंग्रेजीको जसरी फेरिन्नन् । स्वीस सिमासम्म जर्मन अटोबानमा असिमित गतिमा सम्म गाडि कुदाउन मिल्छ । चेकजाँज पछि स्वीस भरिमा अधिकतम गति १२० किमी प्रतिघण्टा मात्रै चलाउन पाउँछ । त्यो भनेको जर्मनीमा गाडी चलाएकालाई केहि पनि हैन । बरु समस्या हो । किनभन्दा कहिँ कतै झुक्किएर अनुमती भए भन्दा तीब्र चलाईयो भने जरिवाना बाट जोगिन असम्भव छ । अनि जरिवाना पनि जीवनभर याद रहने गरी तिर्नुपर्छ । त्यसैले अनुमती दिए भन्दा १-२ किमीप्रतिघण्टा कम चलाएरै हामी राइनफालबाट तल झर्‍यौँ ।

च्युरिसजे, चुगर्नजे र लुचेर्नजेलाई बाटाको दायाँ र बायाँ पार्दै हामी अघि बढ्यौँ । गाडी बाटै पनि यी तालका मनोरम दृश्य हेर्न सकिन्थ्यो । अझ प्रायले हेरेर जाने च्युरिसजे वा ज्युरिक सहरको ताल भन्दा चुगर्नजे र लुचेर्न राम्रा छन् । तर यिनको बारेमा धेरैलाई थाहा पनि छैन । त्यसैले धेरैको स्वीजल्र्याण्डको यात्रा च्युरिकजे हेरेरै सकिन्छ । च्युरिस फेरि नेपाली इतिहाससँग जोडिएको ठाउँ पनि भयो । राजा त्रिभुवनको निधन यसै सहरको अस्पतालमा भएको थियो । अनि जर्मन सिमा बाट सबै भन्दा नजिक पर्ने सहर पनि यहि हो । तर यसैको नजिक रहेको लुचेर्न यो भन्दा अझै सुन्दर छ । हामीले जान खोजेको स्ट्वेबीफाल जान लुचेर्नको तालको पुछारतिरबाट फेरि पूर्व मोडिनु पथ्र्यो । एक छिन तालाइृ पुछारबाट हेरेरै हामी उन्टरसेसेनको बाटो लाग्यौँ ।

नयाँ गन्तब्य भएकोले होला पार्किङ्गको सुविधा थिएन । केबलकार चढेर माथि जानेका लागि थियो तर झरना मात्रै हेर्न आएकाहरुको लागि थिएन । सडकको एक घुम्तिमा थन्क्याएर राखेको गाडीकै छेऊमा गाडि राखेर केहि अघि बढेपछि आफै जोखिम मोलेर गाडि चलाउन पाइने लेखेको सूचनापाटी देखियो । अलि बेर पैदल हिँडेपनि झरनाको नाम निशानै देखिएन । अनि निकै नै हिँड्नुपर्छ भन्ने भएर फेरि गाडी लिन गएँ र गाडीमै झरना छेउको अर्को केबलकार स्टेसनसम्म गयौँ । त्यहाँबाट झरना सुनिन्थ्यो पनि देखिन्थ्यो पनि।

स्ट्वेबीफाल हामीले आजसम्म देखेको झरनामा एकदमै भव्य झरना थियो । डाँडाको खोँचबाट खोलै बगे जस्तो । अनि बिहानीको घाम नपर्ने ठाउँ भएकोले घाम छिप्पिएपछि झनै उघ्रिने ठाउँ । हरियो डाँडाबाट छुटेको सेतो पानीको मोट्टो धारो अनि त्यसका मुनितिर लहरै लागेका स्वीस शैलीका घरहरु । पहाडको मुनिदेखि तपाईं उभिएको ठाउँसम्म घाँसको हरियो चादर ओछ्याएको । कुनै पोष्टकार्डमा देखिने दृश्य भन्दा कतै पनि कम थिएन । चौर छेउको बाटैबाट झरनाको दिशामा हिँडेर झरना झरेर भएको खोलाको छेऊमा बसेर एकछि आफूले ल्याएका अर्नी खायौँ । मन भरिका तस्वीरहरु लियौँ । केहि भिडियोहरु बनायौँ । आसपास घुम्न सकिने जति ठाउँ गयौँ र त्यहाँबाट बास बस्न रोजेको सानेन नजिकको पाखातिर लाग्यौँ ।

लुचेर्न तालको सिरानबाट झरेका हामी त्यसको दक्षीणतिरको सडक भएर घामसँगै पश्चिमतिर लाग्यौँ । खासमा लामो यात्रा भन्दा पनि झरना सम्म हेर्ने कुराबाट यो सुरु भएको थियो । बिहान गएर साँझ घर फर्कँदा उस्तो खर्च हुन्थेन । नत्र स्वीजल्र्याण एकदमै महँगो ठाउँ हो । यहाँ शौच गरेकै पनि २ युरो (हालको दरमा करीब २८० नेपाली पैसा) तिरेको छु । तर पछि हालसालै सिकेको क्याम्पिङ्गको विकल्पले कम खर्च लाग्ने देखेर केहि दिन त्यतै क्याम्पिङ्गको सोच भयो । हामीले रोजेको होस्टेटेनबाट लुचेर्नको सानो झल्को देखिन्थ्यो । सँगै वरपरका मनमोहक चुलिहरु पनि देखिन्थे । त्यहि दृश्य हेर्दै सानो चिटिक्क परेको ग्यास चुलोमा हल्का तातो झोल बनाएर खायौँ र रात त्यतै बितायौँ ।

“बरु मलाई यस्तो ठाउँमा लैजाऊ न!” आल्प्सको खोँचमा भएको तालको माथिको पीँधमा हिँडीरहेका मान्छेको भिडियो सामाजिक सञ्जालबाट देखाएर एक दिन उसले भनेकी थिई ।

दोश्रो दिनको तालिका उसैले रोजेको ओसिनेनजेसम्म जाने थियो । जेआल्पजे जस्तै यो पनि आल्पको काखमा भएको ताल थियो । भीरमा हिँड्दै गर्दा पृष्ठभूमीमा सेता हिमाल र त्यसैको मुनितिर निलो पानी चिहाएको दृश्य कल्पना गर्नुस् । हो त्यही हेर्न हामी कान्डरस्टेग गयौँ । बाटामा यस चोपडाले चर्चित बनाएको इन्टरलाकेन सहर पनि पर्थ्याे । यसै सहरमा उनको मुर्ती नै पनि बनेको छ । दुई तालका बीच पर्ने इन्टरलाकेनकै बाटामा एउटा अर्को झरना थियो गीसबाखफाल । बिहानको खाजा यता खाने भन्ने योजना थियो तर हामी ढिलै निस्केका थियौँ । त्यसैले झरना घुम्नेसम्म भयो तर खानपिन पछिका लागि साच्यौँ । स्ट्वेबीफाल हेरेर आएका हामीलाई गीसबाखफाल उति आकर्षक लागेन । एक त मौसमअनुसार पानीको मात्रा घटबढ हुने हुँदा पनि झरनाको रुप विशेष समयमा बाहेक अरु बेला उति राम्रो हुँदैन । भागमा परेको जति हेरेर हामी अघि बढ्यौँ ।

कान्डरस्टेग सम्मको बाटै राम्रो थियो । कान्डरस्टेगबाट हिँडेर वा केबलकारमा ताल छेऊ सम्म पुग्न सकिन्थ्यो । मेरो रहर हिँड्ने भएपनि साँझ फेरि फर्केर जानुपर्ने भएकोले समय र ताकत बचाउनैका लागि हामी केबलकार चढेर माथि गायौँ । केबलकारले ल्याई छोडेको ठाउँबाट धेरथोर हिँउँ ओढेका आल्पहरु रमाइला देखिन्थे । तिनै आल्पलाई हेर्दै हल्का ओरालो बाटोमा दश-पन्ध्र मिनेट जति हिँडेपछि ओसिनेनजे आँखासामु देखिन्थ्यो । त्यो अन्कन्टार लाग्ने ठाउँमा पनि मान्छेको ताँती हेर्न लायका थियो ।

पर पाखामा एउटा सानो गोठ जस्तो घर थियो । मोबाइलको नक्साले त्यो घर हुँदै तालको सिरानको चुचुरो चढ्ने बाटो देखाएको थियो । सर्वाेच्च चुली ह्युबेल भइसकेको मेरा लागि फेरि अर्को चुली चढ्ने मन त थियो । तर त्यो चुली पनि सहज थिएन । ३ हजार भन्दा माथिको चुली एकैचोटी आँटिहाल्न पनि गाह्रो भयो । फेरि उति मान्छे हिँडेका पनि देखिँदैनथ्याे । तालकाे चिसो पानीमा दुबैले एकछिन पौडँदै भुलेपछि बैकल्पिक बाटोबाटै तालको वरिपरि हिँड्ने अनुमति मागेर अघि बढेँ । एकठाउँमा माथि र तलको बाटो छुट्टिन्थ्यो । माथिको बाटो अर्को चुलीको बाटो ठानेर तलकै बाटो अघि बढेँ । झरनाहरु एक पछि अर्को आउँदै गए । अनि तालको लगभग सिरानमै चाहिँ थुप्रै मान्छे डुङ्गा लिएर झरनाको र पुरै तालको तस्वीर लिन आएका थिए । त्यहिँ केहि भिडियो र तस्वीरहरु लिएर फर्किएँ । ओसिनेनजेको जुन भिडियो देखिएको थियो ठ्याक्कै त्यहि ठाउँ चाहिँ पुग्न सकिएन ।

आफ्नो भागको दृश्यहरु लिएर साँझको बासतर्फ लाग्यौँ । घुम्ने मेसोमा खाना राम्ररी खाएका थिएनौँ । फर्किने बाटामै तेश्रो दिनको लागि योजना बनाएको लाउटर ब्रुनेन पर्थ्याे । तर बास अझै त्यहाँ भन्दा १ घण्टा परको थियो । लाउटर ब्रुनेन छेउकै दुई तालहरु बीचको यश चोपडाको इन्टरलाकेन सहरमा केहि खाउँ भन्ने थियो । तर गाडी रोकेको ठाउँमा खाने मेलो भएन अनि खाने मेलो हुने ठाउँमा गाडि रोकिएन । मोबाइलमा इन्टर्नेट पनि नहुँदा गाडिको नक्साले जता लग्यो त्यतै हानिइयो । चार तारेमा पुर्‍याएछ । एक त स्वीजल्याण्ड त्यसैमाथि चार तारे भनेपछि भोक त्यसै हराइसकेको थियो । तर यसपाली त्रिपाल गाडेर बसेकोले खर्च उस्तो भएको थिएन । त्यसै सम्झेर दुबैका लागि तातो खाना लग्यौँ ।

अन्तिम दिन लाउटरब्रुनेन घुमेर त्यतै बाट घर जाने योजना थियो । बिहानै स्टाउबबाख फाल हेरेर अझै अघि कहिल्यै नटेकेको स्टेसेलबेर्ग तिर लाग्यौँ । गाडिबाट पर्वतारोहणका लागि चाहिने पेटी, हेल्मेट र लौरोहरु लिएर पर्वतारोही जस्तै गरेर तयार भयौँ । मुरेनका लागि २ घण्टा १५ मिनेट देखाइएको थियो । त्यस अघि डेढ घण्टामा गिमेलवाल्ड थियो भने सिल्टहर्न ६ घण्टाको दुरीमा थियो । ६ घण्टा उक्लेर फेरि ओर्लने अनि गाडि चलाएर ४०० किमी पर पुग्ने अलि असम्भव जस्तै हुन्थ्यो । त्यसैले हद्द भए मुरेन सम्म जाने भन्ने थियो । मुरेनका मनमोहक तस्वीरले पनि त्यति गर्नैपर्ने बनाएको थियो । जंगलको बाटो, झरना, पुलहरु हुँदै हामी गिमेल्वाल्डको फेदि तिर पुग्यौँ । पशुले पानी खान सक्ने गरि बनाइएका आयाताकार सिमेन्टेड भाँडामा निहुरिएको स्टिलको पाइपबाट पानी चुहिरहेको अनि पृष्ठभूमीमा आल्प र एक स्वीस घर । हो यस्तै दृश्यले हामीलाई यहाँसम्म तानेको थियो । करीब १ घण्टाको हिँडाइले देखाएका दृश्यले मन चंगा बनाएको थियो अनि अघि बढ्ने ताकत पनि थपेको थियो ।

तस्वीर लिँदै सुस्तसुस्त हिँडेर मुरेनको बाटो पुग्दा त्यस्तै ११ बजिसकेको थियो । थप एक घण्टामा हामी अग्लिँदै गएपछि पारिपट्टिका आल्पहरु पनि बढी बढी देखिँदै गइरहेका थिए । चेरमाटको माटेरहर्न जस्तै देखिने आइगर देखिए पनि मोन्स अनि युङ्गफ्राऊ अझै देखिएका थिएनन् । थकाइ र भोकको संयुक्त असरले अघि बढ्न नसकिने उर्दी जारी भएपछि हामी पारिपट्टीको आल्पहरु र मुरेनको गाउँ देखिने बर्दाली भएको एक रेष्टुरेन्टमा बस्यौँ । स्टेसेलबेर्ग देखि बाटामा भेटिँदै छुटिँदै गरेको अमेरिकनले मोन्स र युङ्गफ्राउ देख्न कम से कम पन आल्माण्डह्युबेल चढ्नु भनेको थियो । त्यति चढिएन भने चुचुराहरु देखिँदैनन् अनि चढाइको अर्थ हुँदैन भनेर सुनाएको थियो । उसैले सिल्टहर्नको बाटोका बारेमा पनि भनेको हो । अन्तिम केबलकार चुचुराबाट ५ बजे ओर्लन्थ्यो । त्यसअघि चुचुरा पुग्न सक्यो भने केबलकारमा १५ मिनेटमै मुरेन झर्न सकिन्थ्यो ।

‘आल्माण्डह्युबेल सम्म त ट्रेन नै पनि जान्छ । नजिकै हो । त्यहाँ बाट देखिन्छ अझै राम्रो ।’ रेष्टुरेन्टकी परिचारिकाले मेरो अघि सम्मको ढिपीलाई बल पुग्ने कुरा गरिन् ।

२ बजे जस्तो भएको थियो । म आल्माण्डह्युबेलको बेन्चमा बसेर बाटो कुरी रहेको थिएँ । माथि जाने नजाने बहसमा हामी बाँडिएका थियौँ । म जान नपाएकोमा रिसाएको थिएँ । ऊ यति हिँड्दा पनि जान चाहेकोमा रिसाइकी थिई । आल्माण्डह्युबेल बाट आइगर, मोन्स र युङ्गफ्राऊ केहि त देखिन्थ्यो तर त्यो भन्दा पनि राम्रो देखिने शिल्टहोर्न त्यहाँ बाट अझै साढे ३ घण्टाको दुरीमा थियो । त्यति समय लाग्दा तल झर्ने केबलकार पनि बन्द भइसक्थ्यो । अनि हिँडेरै आउँदा पाखामै रात पर्ने डर थियो । अर्को चुली चढ्ने सपना पनि त्यहीँ रिसाएर बसेको थियो ।

‘ह्याँबाट खासै देखिएन । अलि माथिबाट हेरेर आऊँ ?’ मैले आश मारेर सोधेँ ।

‘जाऊ । जे गर !’ उसले तारन्तार सोधाइको जवाफमा भनेकी थिई ।

सामान्य अवस्था हुँदो हो त यो जवाफको अर्थ नजाऊ भन्ने हुन्थ्यो । तर यहाँनेर त्यो अर्थ बुझ्नु भन्दा अक्षरशः बुझिने ‘जाऊ’ नै बुझेर म त्यहाँबाट कुलेलम ठोकेँ । चुचुरै नपुगे पनि त्यस भन्दा अग्लो ठाउँबाट हेर्छु भन्ने थियो । आल्माण्डह्युबेल भन्दा केहि उकालो लागेपछि चिप्लेटी जस्तै उकालोमा एक युवती पनि चढि रहेकी थिई । ऊ पनि शिल्टहर्नकै लागि हिँडेकी रहिछ । मेरो हिसाबमा यो समयमा चुचुरो पुगेर झर्न सकिँदैन थियो । तर उसले सक्ने भए त म पनि सकौँला भन्ने एक शंका भने मनमा पलायो । ठाडै उकालो सकिएपछि हरियो चौरको फाँट आयो । आफू हिँडेर आएको बाटोतिर आइगर, मोन्स र युङ्गफ्राऊ अझै प्रष्टिँदै थिए । बाटो पनि सजिलो हुँदै थियो । अघि तल बाट निकै टाढा देखिएका बिर्ग र शिल्टहर्न पनि नजिकै भएजस्तै हुँदै थियो ।

शिल्टहर्न र बिर्गको बीचमा जमेको निलो पानी भएको हिमताल देखिने ठाउँमै एक बाटो देखाउने पोल समेत खडा थियो । त्यसैमा दिशासँगै पुग्ने समय पनि उल्लेख गरिएको थियो । १ घण्टा २० मिनेट ! शिल्टहर्न जान १ घण्टा २० मिनेट लेखिएको ठाउँसम्म पुग्न मलाई करीब १ घण्टै लागेको थियो । साढे ३ घण्टाको बाटोमा बाँकि समय घटाउँदा करीब २ घण्टा हुनुपर्ने हो । त्यो बाटो घण्टा भरमै कटेपछि मेरो हौसलाको सिमा रहेन । बरु उक्लने गति बढाएँ । समयमै ओर्लेपछि त ‘अलि माथि पुगेर आएँ’ भन्न पनि मिल्यो । बाटो पनि गाडि नै गुड्न सक्ने खालको थियो । चढाइ खासै थिएन । शिल्टहर्न अध्याँरोपाखाको टुप्पामा थियो । धारैधार मान्छे ओर्लिरहेका थिए । माथि केबलकारका गोण्डोलाहरु पनि गुडि नै रहेका थिए । १ घण्टा २० मिनेटको बाटो बढिमा ४० मिनेटै त लाग्ला भनेर म पनि तम्सिएँ।

शिल्टहर्नको अन्तिम उकालो पुग्न अघि एक मंगोल अनुहारका व्यक्तिहरु देखिए । उनी कार्यालयमा लाउने छालाको जुत्ता लाएर ओर्लदैं थिएँ । त्यसले झन मनोबल बढायो । बाटो सजिलो छ भन्ने भयो । अन्तिम धारमा उक्लन सजिलो बनाउन केहि रस्सीहरु फलामका किल्लामा बाँधिएका थिए । चुगस्पिच्चेमा भएका रस्सीहरु फलामका थिए र हातले भन्दा पञ्जाले समाउन सहज थिए । तर यी रस्सीहरु मजाले हातैले समाउन सकिन्थे । बरु केहि मसिना हुन् कि भन्ने चाहिँ थियो ।

दुबै तिरको भिरालो अनि वरपर हिमालहरु देखिने धार उक्लँदै केही बेरमा शिल्टहर्नको चुचुरो आइपुग्यो । चुगस्पिच्चे जस्तै यसमा पनि राम्रै संरचना बनाइएको रहेछ । पिच ग्लोरिया भनिने घुम्ने रेष्टुरेन्ट ४५ मिनेटमा पुरा चक्कर काट्दो रहेछ । अनि यसै रेष्टुरेन्टमा जेम्सबन्डको अन हर मेजेस्टीज सिक्रेट सर्भिस नामक सन् १९६९ को चलचित्र पनि छायाँकन गरिएको रहेछ । त्यसैले तलै देखिका वाइफाइको नाम नै ००७ राखिएको थियो । रेष्टुरेन्टको छेऊमै हिउँ फाल्ने चिम्नि पनि बनाइएको थियो । एकछिन चारै तिर घुमेर थप ११ मिटर उक्लँदाको सम्झनाका केहि तस्वीर लिँदै शिल्टहर्नको चिनो बोकेर केबलकारमा तल झरेँ । केबलकार अचाक्ली महँगो थियो । तर

दोश्रो पटक आएर चढ्न भन्दा केबलकारमा ओर्लनु सस्तो थियो ।

‘जब त्यो लाइभ क्यामेरामा अनुहार देखे अनि बल्ल मन ढुक्क भयो ।’

रिसले जुलुम भएकी श्रीमतीसँग निकै कसरत पछि उनको बोली फुट्यो । राखेका पुरै शर्त मान्ने भएपछि र तलको बाटो जति परे पनि केबलकार या ट्रेनमा जाने भएपछि उनले म नहुँदा बिताएको समयको बारेमा बोलिन् । मैले पो बाटो सरल भएको थाहा पाएको थिएँ । उनका लागि त चुगस्पिच्चे भन्दा अग्लो चुचुरो कठिनाइका हिसाबले पनि गाह्रै होला भन्ने थियो । त्यसैले प्रतीक्षाका करीब ३ घण्टामा उनले छटपटिमै समय बिताइछिन् । १ घण्टा २० मिनेट लाग्ने भनेको बाटोको अन्तिम खुड्किलो सोचे जस्तो ४० मिनेटमा त पुगेन तर करीब घण्टा भरमै चाहिँ पुगिसकेको थिएँ । उनले २ घण्टाको प्रतीक्षापछि ४ बजेका आसपास मलाई चुचुराको क्यामेरामा देखेकी थिइन् । ४ बजे चुचुरामा पुगेको म ५ नबज्दै तल ओर्लिसकेकाे थिएँ । आफ्नो इच्छा मेटिइसकेपछि भनेभने जसरी तस्वीर लिएँ र लाउटरब्रुनेन रेष्टुरेन्टमा खाना खाएपछि ४०० किमीको घरतिरको यात्रा सुरु भयो । जेनतेन आँखा झिम्किन नदिई मध्यरातमा घर पुगियो । अर्को चुलीको यात्रा यस्तै भयो ।