साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दार्जीलिङ यात्रा र भानुभक्तको सम्झना

सन् १८७९ देखि १८८१ सम्ममा निर्माण गरिएको रेलको बाटो आजसम्म पर्यटन प्रवर्धनमा भरपुर प्रयोग भैरहेको छ । पर्यटकहरू टोयो ट्रेनमा सफर गर्न, टाइगर हिलबाट सूर्य उदाएको हेर्न र हिमालको सुन्दर दृश्यावलोकन गर्न दार्जीलिङमा आउँदा रहेछन् ।

Chovar Blues Mobile Size

जब म बाइपास रोड हुँदै आम्दोगोलाई जाँदै हुन्छु, एस.डि.एफ. (सिक्किम डेमोक्रेटिक फ्रन्ट) भवन पुग्नै लाग्दाको झोडा (खोल्सो) छेउबाट माथितिर हेर्छु तब मेरो मन एक तमासको हुन्छ । त्यहाँ एउटा ठुलो ढुङ्गाको भित्तो छ।

मनैमन अनेक विचारहरु आउछन् । अचानक त्यो ढुंगाको भित्तो खस्यो भने आरिथाङ अनि गान्तोक बजार तहसनहस हुनेछ । अत्याधिक मात्रामा धनजनको क्षति हुनेछ।

आज पनि म त्यही बाटो दार्जीलिङ जाँदै गर्दा यस्तै यस्तै नकारात्मक विचारहरुले मथिंगल हल्लाइरह्यो । अझ त्यो पुरानो प्राइभेट स्टेण्ड भत्काएर त्यहा बनाउँदै गरेको चौध तले भवन र छ फिट अग्लो स्विमिङपुलको कल्पना गर्न थालेँ । त्यत्तिको भार थाम्न सक्ला र त्यो ढुङ्गे भित्तोले ! हुन त सरकार पनि अनभिज्ञ त कहाँ होला र! उनीहरुमा दूरदर्शिता हुन्छ । भविष्यमा केही नहोला । मन बुझाएँ।

यतिञ्जेलमा गाडी देउराली स्टेण्डमा पुगिसकेको थियो।मैले तीनवटा टिकट लिएँ । प्रतिव्यक्ति चारसय रहेछ गान्तोकदेखि दार्जीलिङको भाडादर। कवि/ गजलकार मोहन गौतम र लुइस बिष्ट आउँदै हुनुहुन्थ्यो । म बेलाबेला फोन गरेर खबर लिँदै थिएँ । उहाँहरु आइपुग्नु भयो । गाडी पनि हुँइकियो ११ बजे। यो कुरा हो २६ अगस्ट बिहानको । २७ र २८ अगस्ट दार्जीलिङमा विश्व नेपाली साहित्य महासंघको वृहत् कार्यक्रममा पुग्नु थियो हामीलाई।

जीविका अश्रु (सिक्किम)
sagarmani mobile size

गाडी आफ्नै गतिमा लाग्यो ओह्रालो । हामी गफिँदै समय कटाउदै गयौँ । किर्ने भन्ने ठाउँमा खाजा खान लगभग आधा घण्टा गाडी रोकियो । खाजापछि फेरि हुँइकियो आफ्नो गन्तव्यतिर । हामी उत्साहित थियौँ । देश विदेशबाट आउने पाहुनासँग भेट्न, विशेष गरी डा.देवि नेपाल,मनिराज सिंह , राहुल राई हाम्रो गफमा आइरहनु भएको थियो। गाडी टिष्टा काटेर पेशोकको उक्कालो घिसृन थाल्यो। हामीलाई भने चाँडै पुग्ने र सर्जक मित्रहरूसँग चौरास्ता घुम्ने बेग्लै रहर कोपिलाउन थाल्यो मनमा। तर यता गाडी भने दौडिन हैन घिसृन थालिसकेको थियो । पेशोकको उकालो कविहरुका लागि एउटा बिम्ब नै हो। गाडीले यो उक्कालो छिचोल्न हम्मेहम्मे भएको थाहा पाएर लुइस बिस्ट आत्तिइन् । केही क्षण गाडी रोकेर विश्राम गरेपछि फेरि हिँड्यौँ । तर गाडीमा आएको खराबीमा केही कमी देखिएन । बरु अझ गाडी तातिएर इन्जिनबाट धुवाँको मुस्लो निस्किन थाल्यो । हामी लप्चु पनि पुगेकै थिएनौँ ।त्यसपछि हामीले अर्को गाडीको बन्दोबस्त मिलाउन लगाएर अर्को गाडीमा लाग्यौँ ।दार्जीलिङ पुग्न डेढ घण्टा लाग्यो अर्को गाडी चेञ्ज गरेर पनि।

लगभग पाँच बजेतिर दार्जीलिङको भानु भवनमा पुग्दा महासङ्घका मित्रहरू हाम्रो स्वागतमा खदा लिएर बसिरहनु भएको थियो । उहाँहरुको यो गुलियो आतिथ्य स्वीकारेर गफिँदै गर्दा हामीले कुरा गरिरहनुभएका डा.देवि नेपाल,अश्विनी कोइराला ,मणिराज सर,दिपक सुवेदी, ऋषिराम सरहरु आइपुग्नुभयो । भेटघाट ,चिनजानपछि हामीलाई क्लब साइडको बाटो हुँदै आभा आर्ट ग्यालरी नजिक भएको कस्तुरी होटेलमा कवि विजय मुखियाले लिएर जानुभयो।

दार्जीलिङको प्राकृति सौन्दर्य, चिसो हावापानीको आनन्द लिँदै हामी त्यहाँ उपस्थित सर्जकहरुसँग परिचय साटासाट गर्नतिर लाग्यौँ । चिया/ कफीपछि बेलुकाको खानाको समयमा हामीले सानोतिनो कवि गोष्ठी नै पो गरिहाल्यौँ । मङ्पुबाट आउनु भएका मिलन, जितेन्द्र , मिरिकका बिष्णु, मणिपुरकी सीता दिदी, असमकी रिता सिंहलगायतका लगभग २० जना स्रष्टा थियौँ होटल कस्तुरीमा । रमाइलो भयो।

बिहान खाजा चियापछि हामीलाई लिन गाडी आयो र हामी चौरास्ता गयौँ । त्यहाँ सबैतिरबाट आउनुभएका सर्जकहरुको भिड थियो । सिक्किमका साहित्यकार प्रकाश भट्टराई, टि.आर. शर्मा, सिलगडीबाट शुकराज दियाली, अघिबाटै चौरास्तामा हुनुहुन्थ्यो , सरद प्रदान लतिका जोशी, झापाका संचारकर्मी/ साहित्यकार चन्द्र भण्डारी आदि । हामी केही क्षण रमिता हेर्न थाल्यौँ । भानुको शालिक नजिक तस्वीर खिच्यौँ । नजिकै प्रायः सबैले जंगबहादुर राणा भन्नू हुँदोरहेछ उहाँको तस्वीर लियौँ । कार्यक्रमको समय हुँदै थियो । बाजागाजाको मधुर ध्वनिका साथ हामीलाई लिएर फेरि भानु भवनतर्फ लगियो । भानु भवनको अग्रभागमा स्व.गोपाल योञ्जनको प्रतिमा रहेछ । हामीले त्यहाँ पनि सम्झना स्वरुप तस्वीर खिच्यौँ ।

तोकिएको समयमै कार्यक्रम सुरु भयो । कार्यक्रमलाई गोजमुमो (गोर्खा जनमुक्ति मोर्चा)को बलियो सपोर्ट रहेछ । वक्तव्य,कार्यपत्र नाचगान आदि सहित कार्यक्रम भव्य र सभ्य बन्यो । विश्व नेपाली साहित्य महासंघले विश्वका नेपाली भाषीलाई एकै मालामा उनेर भाषा र साहित्यको विकासका लागि यो कार्यक्रम गरेको रहेछ । त्यहाँ अबिराम खटिरहनु भएका सुमित्रा अविरल , सरस्वती शर्मा,मञ्जुला ,नम्रता,बिजय ,राहुल राई लगायत धेरैजनालाई हृदयबाट नै धन्यवाद भन्दछु। उहाँहरुको त्यो लगनशीलता , माया,सद्भाव अविस्मरणीय थियो।

दिउँसोतिर लामा कार्यपत्र सुनिरहँदा अलिक आलस्य भएर एकैछिन चन्द्र भण्डारी, दीपक सुवेदी र म बाहिर निस्कियौँ चिया पिएर मुढ फ्रेस गर्नका लागि । नजिकमा दोकान छैनन् रहेछन् । र केही पर पुगेर चिया पियौँ । त्यो क्याफेमा चन्द्र सरले भनेका कुरा मेरो मानसपटलमा अझसम्म ताजै छन् र मेरो ऊर्जा भएर सधैं रहिरहने छन् । हुन त उहाँले मलाई स्तरीय लेखनका लागि झक्झकाइरहनु हुन्छ । त्यहाँ पनि कविताका किताब छापेर बाँड्दै बस्दैमा केही हुन्न अब आख्यान लेख्नुपर्छ भन्ने सल्लाह दिनु भयो। उहाँले मलाई यसरी ब्युँजाउने काम गरिरहदा मलाई असाध्यै खुसी लागेको छ । उहाँको यो आशीर्वाद सल्लाह सुझाव पाइरहुँ झैं लाग्छ ।

सन् १८७९ देखि १८८१ सम्ममा निर्माण गरिएको रेलको बाटो आजसम्म पर्यटन प्रवर्धनमा भरपुर प्रयोग भैरहेको छ । पर्यटकहरू टोयो ट्रेनमा सफर गर्न, टाइगर हिलबाट सूर्य उदाएको हेर्न र हिमालको सुन्दर दृश्यावलोकन गर्न दार्जीलिङमा आउँदा रहेछन् । बृटिसको समयमा बनाएको हुनाले यहाँको बाटोघाटो भने निकै साँघुरा र घुमाउरा रहेछन् । उसै पनि पहाडकी रानीको संज्ञा दिएको दार्जीलिङ असाध्य रमणीय लाग्यो मलाई । हुन त म दार्जीलिङ पहिलोपटक गएकी हैन । साहित्यिक कार्यक्रमकै सिलसिलामा पाँचौपटक र अन्य कामले दुइचारपटक गरेर निकैपटक पुगेकी छु तर घुमाउरो बाटो भएकोले होला अझै राम्रोसँग आफैं त्यहाँ घुमफिर गर्न नसक्दी रहेछु ।

अर्को कुरा, भारतमा भानुभक्त जयन्तीलाई प्रमुख चाडपर्वका रुपमा मनाइन्छ । दार्जीलिङमा सन् १९६२ देखि भानु जयन्तीमा सरकारी छुट्टी पनि हुनेगर्छ। रामायणलाई नेपाली भाषामा उल्था गरेर सारा नेपालीलाई एक सुत्रमा बाँधेकोले भानुलाई आदिकवि भनेर ससम्मान पर्व मनाइन्छ।

अँ, म कुरा गर्दै थिएँ कार्यक्रमको । पहिलो दिनको कार्यक्रम सकेर म र मोहन गौतम साँझ देवि सरकहाँ गएर उहाँको “लेखन शिल्प” उपहारस्वरूप लिएर होटल कस्तुरी पुग्यौँ । साँझ अझ स्रष्टा थपिनु भएको रहेछ । काव्य सन्ध्या नगर्ने कुरै भएन । दोस्रो दिन भने म बिहानै सिलिगुडी झरेँ । अत्यावश्यक काम अचानक आइपरेकोले त्यस्तो महत्त्वपूर्ण कार्यक्रम छोड्नुपर्दा मन भने एक तमासको भैरहेको थियो । तर आफ्नो काम पनि गर्नै पर्ने । सो काम सकेर म गान्तोक फर्कें।

 

प्रतिक्रिया
Loading...