मानिसको जिन्दगी पनि आखिर बगिजाने गङ्गाको पानीजस्तै त हो नि । सङ्लिएर होस् या त धमिलिएर । जसरी बगेको भए पनि ओरालो बगेको पानी फर्किएर उकालो कहिले पो आएको छ र ! त्यसरी थाहै नपाई बगिजाने जिन्दगीमा पनि हामीलाई सधैँ हतारै हुन्छ । धनसम्पत्ति, मानसम्मान र सत्ताशक्तिकै पछि लागेर हामी यति कोमल जिन्दगीलाई अररो बनाएरै एक दिन सदाका लागि सकिएर जान्छौँ । कहिलेकाहीँ यति मात्र भए पनि सोचिदिन्छु आजकाल । जिन्दगी आनन्दमय होओस् भनेर । हो, यो यात्रा पनि यसै जुरेको कहाँ हो र ! यसको पछाडि पनि कैयौँ दिनदेखिको हुटहुटीको कथा छ । सके यसमा केही त प्रारब्धले पनि काम गरेको होला । म मनमनै सोच्दै थिएँ; गाडीले हर्न बजायो । हाम्रो यात्रा सुरु भयो ।
२०७९ साउन २३ को त्यो खुसीको दिन । हामी बडिमालिकासम्मको यात्रामा निस्किएका थियौँ । दैलेखको माथिल्लो डुङ्गेश्वरमा जम्मा भएर सुरु गरिएको यात्राका सहयात्री दुई ओटा बोलेरोको चालकसहित १३ जना भएछौँ । घडी हेरेँ, बिहानको १०:३७ भएको रहेछ । काँक्रेतडा सहकारीको बोलेरोमा एटम ( बमबहादुर थापा ), दाजु नगेन्द्रबहादुर मल्ल, जयप्रकाश मल्ल, भतिज विजय मल्ल, म र चालक अम्बिर राना थियौँ भने एटमको बोलेरोमा भाइभतिजाहरू नारायण मल्ल, उपेन्द्र मल्ल, केशर मल्ल, ललित मल्ल, देवबहादुर के. सी., टेकेन्द्र हमाल र चालक हृदयश शाही थिए । समयको लामो प्रतीक्षापछि जुरेको साइत । सबैको आँखामा उत्साह र अनुहारमा प्रफुल्लता थियो । देख्नेहरूको आँखामा यात्रा नितान्त धार्मिक थियो होला तर हाम्रा लागि त्यति मात्र थिएन । आँखाभरि मुटुभरि बडिमालिकाको सेरोफेरो सजाउनु पनि थियो । बाटाभरिको मनोरञ्जन, सुखदुःख र जहाँ जहाँ पुगिन्छ त्यहाँ त्यहाँको जनजीवन नियाल्नु पनि थियो । त्यति धेरै आकाङ्क्षाका भारीहरू बोकेर हिँडेका हामीसँग दाजुभाइ, गुरुचेला, ज्याद्रो समय र केही उमेरका सीमाहरू भने अवश्य नै थिए । जे भए पनि हामीले एकअर्काका लागि सहज वातावरण सिर्जना गर्ने कोसिस गर्न चाहिँ छोडेका थिएनौँ । गाडीको हल्लामा हल्ला गर्दै तल्लो डुङ्गेश्वरबाट कर्णाली राजमार्गमाथि माथितिरै कुदिरहेका हामी दुल्लु नगरपालिकाको पालीमा एक घण्टा जाममा पृयौँ । हाम्रा केही साथीहरू पनि लागे पहिरो पन्छाउन । सोचेँ, मानिसले जीवनमा यस्ता पहिराहरूको सामना कति गर्नुपर्छ होला ? निकै समयपछि “ल ल…भयो भयो…।” ससानो होहल्ला भयो । गाडीहरू कराउन थाले ।…टिँटटिँट…घ्यारघ्यार घुरघुर…घच्याकघुचुक….आदि आदि ।
त्यसपछि एकनासले गाडी कुदिरह्यो । कति छिटै हामी चामुन्डास्थित पाल्तडा प्रहरी चौकीनिर आइपुगेछौँ । फेरि पनि गाडीले आफ्नो गति घटाएन । कति गाडीहरू क्रस पनि उस्तै गतिमा भइरहेकै थिए । बायाँतिर कर्णाली आफ्नै जवानीको रापतापमा रन्किरहेको थियो । हाम्रा आँखाहरू कहिले त्यसका भुल्का, भुमरी, छाल र धुवाँमा ठोक्किन पुग्थे भने कहिले वारिपारिका सुन्दर हरियालीमा हराउन पुग्थे । आँखाहरूमा कैयौँ दृश्यहरू सजाउँदै हामी नसोचेकै समयमा आठबिस नगरपालिकामा प्रवेश गरिसकेका रहेछौँ । त्यो कुरा हामीलाई अपर कर्णाली हाइड्रो पावरको परिवेशले बुझाइरहेको थियो । अलि समय बितेपछि टुनिबगरको पुरानो बजार आइपुग्यो । “ए विजय, लौ जा त दुईतीन दर्जन केरा किनेर लेरा ।” दाजु नगेन्द्र मल्लको आदेश विजयले पालना गरेपछि हामी सबैले त्यहाँको स्थानीय झप्री केराको स्वाद लियौँ । साइँगाउँ पुगेपछि पारिपट्टि अछामको सुन्दर गाउँ देख्न पाइँदो रहेछ । कर्णालीको पुलले अछाम र दैलेखलाई त्यहाँ पनि उस्तै प्रेमलो जोडेको थियो । अछामको टोड्केसालको त्यो सुन्दर तस्बिरबाट ओझेल परेको केही समयपछि हामी राकम पुग्यौँ । मुलुकका विभिन्न ठाउँमा दस स्मार्ट सिटी बनाउने सरकारी घोषणा छ । तिनीहरूमध्ये यो राकमले पनि त्यो परिकल्पित सुन्दर सहरको सपना साँचेर बसेको धेरै भएको छ । नयाँ सहर निर्माणको घेरबार नाघेर उर्लिरहेको कर्णाली र कुनै सुन्दर भविष्यको कल्पनामा डुबिरहेकी षोडसी जस्तै त्यहाँको जनजीवनले हामीलाई भित्रैदेखि नछोएको थिएन । खिट्कीजिउलाको मोहनीले एकछिन बसौँ नभनेको पनि कहाँ थियो र ! तैपनि हामीलाई बास बस्न रास्कोट पुग्नु थियो । गाडीहरू निरन्तर कुदिरहेका थिए ।
हरेक उमेर अवस्थाका मानिस र पेसाकर्मीका आआफ्नै संसार हुन्छन् । स्वभाव र सोख हुन्छन् । तैपनि अन्तर्मनमा सङ्गीतको रस नभएको मानिस सायदै हुँदो हो सृष्टिमा । चालक अम्बिरले पनि आफ्नो धर्मलाई झल्काउँदै सबैभित्रको त्यो रसलाई छचल्काइदिएका थिए, “ … लजाउँछु एक्लै हेरेर ऐना… हाई…झमझम झम्काना लाऊँ कि नलाऊँ म…राम्री नि हैन, छ्या भन्नी छैन…हाई….मायालुले आऊ भन्छ बेलुका जाऊँ कि नजाऊँ म…।…”
न उमेर, न त सन्दर्भ नै मिल्ने । तैपनि गीतले बारम्बार हामीलाई उचालिरहेको थियो । यस्तैमा हामीले साँझ ५ बजे जितेगडाबाट हुम्ला कर्णालीको बाटो रोज्यौँ । खासमा मृत्युमार्ग भन्नै लायक रहेछ त्यो बाटो । तैपनि हामी कर्णालीको बेलीब्रिजमा एकछिन रोकिएर लामा लामा सासहरू फेर्दै केही दर्जन फोटाहरू खिचाउन भने चुकेनौँ । त्यहीँबाट पारि तरी हुम्ला र तिला कर्णालीको दोभानलाई दायाँ पारेर हाम्रो यात्रा फेरि पनि अघि बढ्यो । ५:४६ मा हामीले लालुखुलालु प्रहरी चौकी र बेजोडले बगिरहेको त्यो अपरिचित खोला पार गर्यौँ । खुलालु हिल्सा सडकमा हिँड्दाहिँड्दै अलि पछि एउटा जाँगर लुकाइरहेको जस्तो पुरानो पाते बजारसँग हाम्रो भेट भएको थियो । लालुघाट बजार रहेछ त्यो । त्यहीँनिर फिँज काढिरहेको कर्णालीमाथि एउटा पुरानो तुइनमा दुई जना किशोरहरू चढ्दै रहेछन् ।
“टिकटक बनाउन हिँड्या होलान् ।”… यो आवाज विजयको थियो । तैपनि त्यो दृश्यले हामीलाई निकै परसम्म झस्काइरह्यो । जे भए पनि हामीले वारिपारिको भयानक परिवेशबारे गफ गर्दै वातावरणलाई सुनसान हुन भने दिएका थिएनौँ ।
कर्णाली र सुदूरपश्चिमतिरको मन चाहिँ मायालु भए पनि भाषामा अलि कडापन छ अरे । कालिकोटतिरको पानी पनि बिघ्नै कडा हुन्छ अरे । माटोपानीको प्रभाव प्रायः मानिसमा पनि पर्छ अरे । यी अरेहरूले हामीलाई पनि नछोएका होइनन् । हामी उस्तो लोलोपोतो जान्दैनौँ होला तर आफूलाई त मिठै बोले जस्तो लाग्छ । तर आफूलाई लागेर मात्र पनि त कहाँ हुँदोरहेछ र ! नभन्दै लालुघाटभन्दा केही पर भेटिएको एउटा भैँसीले हामीलाई कुरा बुझाएरै गयो । हाम्रो विपरीततिरबाट आइरहेका ४÷५ ओटा भैँसीमध्ये एउटाले दगुर्दै आएर गाडीलाई घ्वाच्चै हानिहाल्यो ।
कराउँदाकराउँदै पनि त्यसले गाडीको सो फुटाएरै गयो । भैँसी मालिकहरूलाई बोलायौँ तर उनीहरू पनि फर्किएनन् । हामीले त्यसलाई सामान्य ठानेर हाँसोठट्टा गर्दै फेरि पनि यात्रालाई गति दियौँ । के गति दिनु थियो र ! आफ्नै भाग्य र धैर्यको परीक्षण गरिरहेको जस्तै । शिरैमाथि विशाल पहरा कुदिरहेको छ । तलतिर कर्णालीको हुङ्कार पनि उस्तै डरलाग्दो छ । पारितिर हे¥यो कहालीलाग्दो पहाड सकिँदै सकिँदैन । शान्तिले सास फेर्ने ठाउँ कतै छैन । माथिबाट ढुङ्गा आइदिन्छ कि ! या त गाडीको टायरले कतै ढिक छोडिदिन्छ कि ! भगवान् भरोसामा हामी निरन्तर कुदिरह्यौँ । त्यस्तैमा अचानक एउटा जिपसँग हाम्रो भेट हुन्छ । जसले भित्र मात्रै होइन, छतभरि पनि मान्छे कोचेको हुन्छ । तैपनि मानिसहरू हाँसीखुसी नै देखिएका हुन्छन् । मैले मनमनै सोच्न थाल्छु, यो व्यर्थैको डर पनि मानिसको जीवनमा आनन्दको एउटा ठुलै शत्रु रहेछ । आखिर मानिस डराएर मात्र त के नै भवितव्य रोकिन्छ र ! मन एकातिर र गाडी अर्कोतिर कुद्दाकुद्दै कति वेला सूर्यले हामीलाई बाई भनिसकेका रहेछन् । सान्निघाट हाइड्रोको निर्माणाधीन सुरुङ हुँदै याङ्गिल पुगेपछि हामीलाई त्यो कुराको राम्रै अनुभूति भयो । दाजु जयप्रकाशले पूर्वतिरको झोलुङ्गे पुल देखाउँदै भन्नुभयो, “ह्याँबाट मान्म पुग्ने गोरेटो बाटो ऊ त्यही हो ।”
‘धन्न आज पानी परिदिएन !’…यो पनि थियो एउटा गफ गर्ने विषय । यात्रा जति कठिन भए पनि नयाँ नयाँ वातावरणले ऊर्जा दिन भने छोडेको थिएन । सान्निघाटबाट हामीले कर्णालीको निकटता छोडिसकेका थियौँ । अब हाम्रो गन्तव्य भएको थियो धेरैले नदेखेको रास्कोट । केही समय गाडीले उकालो हिँडेपछि रास्कोटको झिलिमिली देख्न पायौँ । मोबाइल हेरेपछि थाहा भयो, रास्कोट नगरपालिका कार्यालय नजिकको बजारमा पाइला टेक्दा रातिको साढे ९ भइसकेको रहेछ । केहीछिनको हल्लाखल्लापछि राजबहादुर थापाजीको होटेलमा पाइएको पारिवरिक वातावरणले हामी थप उत्साहसहित खाना खाएर सुत्यौँ ।
निद्रा पनि कति गहिरो गरी परेछ ! तल्लो कोठामा खलबल सुरु भएर हामीसम्म आइपुगेको थाहै थएन । झटपट उठेर हामी पनि नित्य कर्ममा लाग्यौँ । कालो चिया पिउँदै गर्दा भाइ नारायणनले सुनायो, “आज राति ह्याँबाट दुइटा बाइक चोरी भएछ ।” हामी आश्चर्यमा पर्यौँ । एउटालाई त अलि अप्ठ्यारोमा लिएर फालिदिएको पो रहेछ । पछि बुझेका थियौँ । मनमा दुःख लागे पनि हामी समयको परिबन्दमा थियौँ । बिदा भएर थोरै माथि आइपुगेपछि मैले प्रसिद्ध देउडा गायक नेत्रराज शाहीजीलाई देखेँ । झरेर चिनजान गर्ने मन भए पनि समयले दिएन । बरु अरूलाई पनि उहाँतिर इसारा गरेँ । गाडीले आफ्नो गति लिइ नै रहेको थियो । सेराबाट गाडी फर्किएपछि बल्ल हाम्रो वास्तविक यात्रा आरम्भ भएको हो ।
पिठिउँमा झोला र कतिका त हातमा लट्ठी पनि थिए । तेर्पायँ तेर्पायँ उकालो बाटो । हामी त्यो सुन्दर रास्कोटको सेरोफेरो नियाल्दै पनि थियौँ । पारिपट्टिको सान्निरास्कोट पनि उस्तै राम्रो रहेछ । बाटो तलमाथि कोदोमकैहरू उस्तै रहरलाग्दा देखिन्छन् । स्कुल र क्याम्पसहरू देख्दा कता कता मनभित्र नजानिँदो ढङ्गले माया पलाएर आउँछ । जिज्ञासा हुँदाहुँदै अलि माथि पुगेपछि थाहा पायौँ, बाटोमुनि देखिएका केही आकर्षक भवनहरू रवि लामिछानेले बनाइदिएको अस्पताल रहेछ । हामीले उहाँको त्यो स्तुत्य कार्यबारे केही समय बसेरै गफ गर्यौँ ।
त्यहाँसम्ममा प्रायः सबैको हिँडाइको गति बुझिसकिएको थियो । झोला साटफेर गरेर केहीबेर जङ्गलको बाटो हिँडेपछि सानो गाउँ आयो । ललितले तलतिर देखाउँदै भने, “हेर्नू त अंकल, स्याउ पाकेर रातै भएको !” सबैको सल्लाहले नारायण र ललितलाई किन्न पठायौँ । आधा टोली हिँड्दै गर्यो । प्रति दाना रु. १० रहेछ मूल्य । अर्गानिक स्याउको स्वाद लिँदै अघि बढिरहँदा केही पानीघट्टहरू आए । हामीले त्यहीँ भेटिएकी एक जना आमासँग बडिमालिका जाने छोटो बाटो सोध्यौँ । उनले भनिदिइन्, “न्या पुणोबाट पारि गया हप्पै भेटिँदो छाप्या बाटो ।” नाकमा फुलीबुलाँकी, गलामा भिन्दै पोतेमाला र पुराना गुनिउँचोलीमा देखिएकी ती आमाको सहयोगी भावना मुखमुद्रा र हाउभाउमा समेत झल्किरहेको थियो । हामी कृतज्ञ भयौँ र बुझ्यौँ, यहीँबाट पर गई माथिबाट पारि गएपछि भेटिन्छ छापेको बाटो । थोरै बाटो काटेपछि उताबाट आउँदै गरेका केही विद्यार्थीहरूसँग भेट हुन्छ । मलाई त्यहाँको भाषिका सुन्ने लोभले कुत्कुत्याउँछ । छोटो कुराकानीबाट थाहा हुन्छ, डाँफे मा.वि. मुम्राका विद्यार्थीहरू रहेछन् । मुम्राको ग्रामीण सौन्दर्यको मोहनी रूप आँखाभरि सजाउँदै हामीले एउटा जङ्गल काटेर मुम्रा खोलाको पुल तर्यौँ । त्यही पुलको छेउमा बसेर ११ बजे हामीले केही थान अर्सा, तेलमा तारेको नुनखुर्सानी र महमा बनाइएको कसार खाएका थियौँ ।
जङ्गलको उकालो बाटोमा केहीछिन हराएपछि दुई टोलीको भेट हुन्छ । कतिलाई त त्यो हिँडाइ नै महाभारत भइरहेको पनि छ । घरी भनाबोली र घरी दिल्लगी चलिरहन्छ । जयप्रकाश दाइ टोलीलाई व्यङ्ग्य गर्दै भन्नुहुन्छ, “जवान रहिरहन त पिरमखेती गरिरहनुपर्छ ठिटा हो, त्यसै हुन्छ !”…हाँसोको फोहोरा छुट्छ । त्यो थामिएपछि नगेन्द्र दाइ भन्नुहुन्छ, होइन, “राजनीतिले मानिसलाई जवानी दिइरहँदो रहेछ । हेरो न बुढा बुढा नेताहरूलाई ।”
अँ…किन दिन्नो नि । एटम र अध्यक्ष दाइतिर हेरेर प्रकाश दाइले फेरि कटाक्ष गर्नुहुन्छ । अझ हाँसो चुलिन्छ । म मनमनै सोच्न थाल्छु, यी सबै आआफ्ना कोणका बुझाइ होलान् । बरु केही न केही गरिरहने आकाङ्क्षाले नै मानिसलाई सधैँ जवानी दिइरहन्छ होला । या भनौँ इच्छित गन्तव्यमा पुग्ने हुटहुटीले गर्दा नै हामीलाई जीवन ऊर्जा प्राप्त सके भइरहन्छ होला । एउटा कुरा भने अचम्म लागिरह्यो । त्यत्तिको निर्दयी उकालोमा पनि साठीको सेरोफेरोमा पुग्नुभएका दाजु जयप्रकाश अरूको झोलासमेत खप्याएर अझ अरूभन्दा अघि हिँडिरहनुभएकै थियो । लोकलाजले गर्दा ललित, नारायण, विजय र म पनि झोला खप्याउनेमा परेका थियौँ ।
“हेर, यो सशस्त्रको चाला… अनि काँबाट हुन्थ्यो देशको उँभो गति !” कहिलेकाहीँ केशरतिर खनिन्थ्यो टोली । गफ गर्दै गोब्रे सल्लाको त्यो विशाल जङ्गलभित्र पनि हामीले करिब ५०० मिटर श्रेणीवाल पिच बाटोमा हिँड्न पाएका थियौँ । त्यही उकालोमा भेटिएका दुनिकेका देवबहादुर खत्री र छाप्रे पसलमा वायोजडीहरू मिसाएको मिठो चिया खुवाउने सान्नित्रिवेणी –८ का तन्नेरी हर्ष बोगटी आज पनि आँखामा आइरहेका छन् । साथीहरूले गर्दा प्रत्येक एक किलोमिटर जतिमा बस्नुपर्ने हुन्थ्यो । ठाउँ ठाउँमा नुनखुर्सानी र चक्लेटबिस्कुट पनि खाइरहेकै थियौँ । तैपनि हिँडाइको तारतम्य मिल्दै मिलेको थिएन । लेकैभरि गाईभैँसीहरू चरिरहेका देखिन्थे । ती देख्दा मलाई सकसभित्रको सौन्दर्यले छुट्टै आनन्द दिइरहेझैँ लाग्थ्यो । त्यही आनन्दलाई प्रत्येक श्वासमा लिँदै हिँडेका हामीलाई समयले बिचबाटोमै नेटो काट्ने सुर कसेपछि बास खोज्नुपर्ने बाध्यता आइलाग्न थाल्यो । कतै ओडार जस्तो पाइन्छ कि भनेर अघि लागेका हामीले झन् हामीभन्दा अघि हिँडिरहेका अर्को टोलीलाई पो भेटायौँ । तिनीहरूलाई उछिनेपछि हामी रुखहरू नपाइने उकालोमा लम्किरह्यौँ । तर पनि भने जस्तो ठाउँ कतै भेटिएन । बडिमालिका क्षेत्रमा झन्डै चार दर्जन जडीबुटी पाइन्छन् अरे भन्ने हामीले धेरै पहिले सुनेका थियौँ । त्यसैले डोकोभरि भारी बोकेका रास्कोटका एक सज्जनलाई देख्दा मलाई लोभ लागेर आयो । फलस्वरूप उहाँबाट त्यही नाकेडाँडामा हामीले पदमचाल, ठुलोओख्तो (विष), बोक्सीझार र वायोजडी जस्ता महत्त्वपूर्ण जडीबुटीहरू चिन्न पायौँ । त्यहाँसम्म त फोनले काम गरेकै रहेछ । हामीलाई भातेजिउलाको पाटनमा पुग्न त्यस्तै २० मिनेटको समय लाग्दो हो; पछाडिबाट अचानक फोन आयो ।
अरूको सन्देश उपेन्द्र र विजयबाट बारम्बार आइरहेको थियो, अब मरिगए पनि हिँड्न सकिँदैन अरे । हामी फेरि पौने घण्टाको बाटो फर्किने अरे । ललित, नारायण र देवबहादुर मरे मानेका थिएनन् । मैले भनेँ, “होइन, सँगै आएपछि साथीभाइको मर्का नबुझी हुँदैन । विचराहरूलाई अन्तिम परेर नै त्यसो भनेका होलान् । भात छोड्नू, साथ नछोड्नू भन्छन् । ३७/३८ सय मिटरको यो उचाइ । अझ एकान्त भिरको बाटो । न पिउने पानी छ, न त बासबसेरो नै छ । यस्तो अवस्थामा हामी छुट्टिनु हुँदैन…।”
धेरै गन्थन गरेपछि हामी फेरि फर्किएर तल झर्यौ । जङ्गल अलि तलै छोडिएको रहेछ । दायाँबायाँ दुबैतिर कहालीलाग्दो भिर । धन्न दैबको लीलाले पानी परेको थिएन । एउटा सानो ढिस्कोको आडमा बास हुने भएछ । आकाशमा जून पनि माथि होइन, पर…। अझ हामीभन्दा तलै देखिएका थिए । बाल्यकालदेखि नै चिनेका ती पनि त्यति वेला त बिरानाझैँ लागे । कुहिराहरू पनि थाकेछन् क्यारे । ती पनि हामीभन्दा तल काँठतिरै बसेका देखिन्थे । नजिकै आगाको धुनी पनि बालेका थियौँ । यसो यताउता लागेर फोन गर्ने वातावरण पनि उति थिएन यात्रामा । एउटै परिवार र अग्रजअनुजका सीमाहरू पनि त थिए नि । कतैबाट फोन आइहाले जसको पनि छोटो औपचारिक कुरा मात्र हुन्थ्यो । रातभरि पातला पछ्यौरा र सिल्पिङ ब्यागको तानातान । छेउछाउमा पर्नेहरू आच्छु र ऐया मात्रै गर्थे । कहिले उठेर आगो ताप्थे । ननिदाए पनि गफ गर्ने र सुन्ने जाँगर कसैको थिएन । सम्भवतः कहिल्यै नकाटिएको रात काटिएको थियो त्यो ।
आखिर हामी ननिदाए पनि उज्यालो नभई त किन छोड्थ्यो र ! मिर्मिरेमै हामीले त्यो भिरलाई धन्यवाद दिएर बाटो लाग्यौँ । निकैबेर उकालो हिँडेपछि मात्र केही चराहरूको आवाज सुन्न पाइयो । भातेजिउलाको त्यो अग्लो डाँडामा पुग्दा तिरिरी घाम झुल्किए । त्यसपछि मात्र हामीले पूर्व कता रहेछ भन्ने कुरा थाहा पायौँ । त्यति वेला त घाम पनि उति टाढा रहेनछन् जस्तै लाग्यो ।
“ल अब यहीँ हातमुख धुने र केही समय आराम गर्ने है ?” दाजुहरूले भनेपछि हामी त्यहीँ रोकियौँ । पानीका ससाना चोपिल्टाहरू कतै । कतै कलकल बगेका ससाना खोल्सीहरू । बाँकी ठाउँहरू टाढाबाट हरिया देखिए पनि नजिक जाँदा ससाना राता, पहेँला, निला, सेता आदि अनेक जातका फूलले इन्द्रेनी रङका देखिने । हामी धेरै जति त पहिलोपटक पाटनको त्यो अद्भुत सौन्दर्यले मक्ख परेका थियौँ । हाम्रा सबै दुःख, भोकप्यास र कुण्ठाहरू हराए जस्तै भएका थिए । मौसम खुल्दै गएपछि त झन् हामीलाई भ्याइनभ्याइ हुन थाल्यो । हामी त्यहीँबाट त्रिवेणीतिर आँखा फाल्दै अघि बढ्यौँ । ठाउँ ठाउँमा घोडाभेडाका बथान । त्रिवेणीबाट नुहाएर जय जयकार गर्दै उकालो लागेका मानिसहरूको त्यो झिलिमिली । वरैबाट हाम्फालिदिऊँ जस्तो । खुसीले चिच्याइदिऊँ जस्तो या त लडिबुडी खेल्दै त्रिवेणीमा पुगिदिऊँ जस्तो ।
नेपाली सेनाका ससाना पालहरू छिचोलेर हामी पनि बिहानको ७ बजे त्रिवेणीको त्यो अपार जनसागरमा प्रवेश गर्यौँ । ३८६० मिटरको उचाइमा बगिरहेका ससामा खोलाहरूको मिलन भएको त्यो अपूर्व सौन्दर्यमा अझै पनि मानिसहरूको चहलपहल बाँकी नै थियो । गजुर नुहाएर खोसाखोस गर्दा हामी थोरै माथि थियौँ । त्यहाँ पुग्दै गर्दा बडिमालिकाको जय, अरू देवीदेवता, मातृभूमि, भक्तजन आदि आदिको जय भन्दै अग्ला टाँगा र राष्ट्रिय झन्डाहरूको स्वरसौन्दर्यले युक्त मावन लहर उकालो लागिरहेको देखिन्थ्यो । स्नान, मुण्डन, पूजापाठ, शङ्खघण्ट, मन्त्रोच्चारण आदिका श्रव्यदृश्यले त्रिवेणी धाममा जीवन्तता चुलिएको आभास हुन्थ्यो । केही चिसोको महसुस गर्दै हामीले पनि पवित्र मन लिएर गङ्गास्नान गर्यौँ । केहीले त आफ्ना पितृहरूका नाउँमा श्रद्धातर्पण र पिण्ड पनि दिएका थियौँ । त्यसपछि नजिकै रहेका मन्दिरहरूमा दर्शन र टिका ग्रहण गर्ने काम सकिसकेपछि हामी पसलतिर लाग्यौँ । जताततै पाल टाँगिएका अस्थायी पसलहरूमा मानिसहरूको भिड देखिन्थ्यो । तिनै भिडहरूमा उभिएर एउटा पसलमा हामीले पनि चना र रोटी खाने उपक्रम गर्यौँ ।
त्यति ठुलो पूजामेलामा पनि बाजा बजेको नसुनिँदा भने कता कता मनभित्र खुल्दुली चाहिँ बढिरहेको थियो । त्यति वेला मैले ‘त्यो उज्यालो कर्णाली’ का लेखक प्रतीक ढकाललाई सम्झिएँ । उहाँले कर्णालीको एउटा संस्कृतिबारे त्यो पुस्तकमा कतै लेख्नुभएको छ, “…कोही मर्दासमेत ‘सूर्जबाजा’ वा ‘आरतीबाजा’ बजाएर मृत्युलाई सम्मान गर्ने र घरबाट मृतकको लास निकाल्दा पनि ‘इन्द्रबार’ गाएर स्वर्गका राजा इन्द्रलाई ‘आज तिम्रो राज्यमा यहाँबाट कोही आउँदै छ है, याद गर्नू । राम्रो स्वागत गर्नू’ भनेर खबर पठाउने ठाउँ हो कर्णाली !..”
तर त्यहाँ बाजाहरू किन बजेका छैनन् भनेर कसैसँग सोध्न सकिनँ । हामीले भातेजिउलाबाट देखेको लहर कहाँ पुग्यो थाहा थिएन । तैपनि मानिसहरूको लस्कर त्यो उकालोमा उस्तै थियो । बाजुराको भूमिमा ९ बजे पाइला टेकेका हामी ठाउँ ठाउँमा फोटो खिचाउने नाउँमा बस्थ्यौँ । त्यही बाटोमा मानिसहरू हिमाल, पहाड र तराईमध्ये कहाँबाट आएका हुन् भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्थ्यो । अचम्म त के लागिरहेथ्यो भने ५०/५५ का जस्ता लाग्ने महिलाहरूले त्यो उकालोको पनि ठाउँ ठाउँमा बसेर बडिमालिका माईलाई सम्बोधन गर्दै देउडा लयमा भजन गाइरहेथे । कतै कतै त हिँड्दै पनि गाएको सुनिन्थ्यो । तिनैका पिठिउँमा ठुला भारी । अझ तिनैले हामीलाई भेटाउन नदिने । चार पाइला सरेर मुखभरि सास बनाउँदै झोक्रिनेदेखि हाम्रा दुई पाइला पनि एकै पाइला बनाएर लम्किनेहरूसँग अघिपछि हुँदै हामी लौरीविनायकको डाँडामा पुग्दा घडीले पौने १० बजाएको रहेछ । उत्तरपट्टि देखिएको चिनको हिमालतिर आँखा फालेर केहीबेर सुस्ताउँदै गरेका हामीले संयोगवश गणेशराज धमलासँग गफ गर्न पायौँ । उहाँ कालिकोटे पुजारी हरिकृष्णका सुपुत्र हुनुहुँदोरहेछ । उहाँले छोटोमा हामीलाई बडिमालिका माईको कथा सुनाउनुभयो । उहाँले सुनाउनुभएको किंवदन्तीअनुसार रास्कोटको देउरापाटनमा उत्पत्ति भएकी माईसँग एकदिन दलित समुदायका एक व्यक्तिले रोटीको टुक्रो र गोरुको चोक्टोको वर मागिदिएपछि देवी रुष्ट भई यता आएकी रहिछन् । त्यसैले त्यो मालिकामा ती समुदायका मानिस आउँदा रहेनछन् । त्यतिन्जेल मेरो मनले बाजा किन नबजेको रहेछ भन्ने उत्तर पाइसकेको थियो । सोचेँ, ती किंवदन्तीहरू पनि समाजसापेक्ष नै त बने होलान् । र मनले फेरि आफैसँग सोध्यो, त्यो सत्य नै भए पनि के ती देवीको चित्त दुःखाउने एक पात्रका नाममा उनका सन्तान र सिङ्गो एउटा समुदायले नै सधैँ उनको दर्शन पाउनबाट वञ्चित हुनुपर्ने कुरा जायज हो र ? त्यसैले अब देवीलाई हामीले सर्वमङ्गला बनाउनै पर्छ । मनभित्र अनेक कुराहरू खेल्न थालेको भए पनि हामी गणेशजीका कुरा सुन्न आतुर थियौँ । बडिमालिका चाहिँ सात बहिनीमध्येकी जेठी अरे । तल नाट्टेश्वरीमा रहेकी कालिका । बलि खाने । यी मागेको वर दिने मालिका । बलि नखाने । बरु महालक्ष्मी र महासरस्वतीको रूपमा पुजिने । हामीले सुनेको बडिमालिकाको कथा त अझ सत्यदेवीसम्म पनि पुगेको थियो । तैपनि मैले उहाँसँग सबै कुरा खोतल्ने समय देखिनँ । अँ, त्यसपछि कुरा आए पुजारीका । पहिले मुख्य पुजारी कालिकोटकै रहेछन् । पछि उनैका भान्जा पर्ने बाजुरा पुइमाका भानुभक्त तिमिल्सिना भएका अरे । सहायकबाट मुख्य पुजारी हुँदाका कथा पनि सुनाउनुभयो उहाँले ।
मुद्दामामिला सर्वोच्चसम्म पुगेर तिनै भान्जा मुख्य पुजारी भएपछि आजसम्म त्यही व्यवस्थाले निरन्तरता पाएको रहेछ । तर पनि त्यो ठाउँको भने धेरै जिल्लाले अपनत्व ग्रहण गर्दोरहेछ भन्ने कुरासमेत हामीले उहाँहरूबाटै सुन्न पायौँ । कालिकोट, बाजुरा, डोटी, जुम्ला आदि जिल्लाबाट बडिमालिका पूजाका लागि सरकारी खर्च पनि आउँदोरहेछ ।
त्यसपछि पनि हामीले अन्य तीर्थालुहरूसँगै कतै ठाडै उकालो, कतै अलि अलि तेर्सो र कतै ओराला बाटाहरू छिचोल्दै रह्यौँ । त्यही बिचमा हाम्रो बाजुराका प्रहरी प्रमुख र सिडियोसाबको टोलीसँग भेट भयो । सिडियोसाबले डुङ्गेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष दाजु नगेन्द्रबहादुर मल्ललाई चिन्नुभएको रहेछ । उहाँहरूबिच धिरे धिरे चल्दै रहेका संवादहरूमा बेलाबखत हाम्रो पनि सहभागिता हुने गथ्र्यो । प्रायः मानिसहरूका लस्करमा रङ्गीन धजा, झन्डा, टिकाअबिर र फूलपातीका दृश्यसहित जय जयकारका स्वरहरू सुनिइ नै रहन्थे । भिरका गल्छीयुक्त अप्ठ्यारा बाटाहरू कतै त एक मिटरका पनि नाइँ । त्यसमा पनि कति ठाउँमा त दायाँतिर हेर्नै नसकिने । बायाँतिरका भिर भने केही मन बुझाउने खालका थिए । तैपनि प्रकृतिको मोहनी रूप भने अवर्णनीय खालको नै थियो । परिरहेको सिमसिमे पानी र आउजाउ गरिरहने कुहिरोले भने ती अनकन्टार भिरहरूलाई छेलिदिएर मानिसहरूको भय घटाइदिएझैँ लाग्थ्यो । लेक लागेर फ्याँफ्याँ गर्दै पाइलैपिच्छे सुस्केरा हालिरहने कतिलाई त हामीले बिचबिचमा नुनखुर्सानी खान पनि दिन्थ्यौँ । कतिलाई भने यसै पनि हौसला दिएर हिँड्न लगाउँथ्यौँ । अपवादबाहेक हाम्रा साथीहरूलाई भने खासै समस्या आएको थिएन । तिनै अनेकानेक दृश्यहरू छिचोल्दै हामी मध्यान्नमा वासुधारामा पुगेका थियौँ । निकै अग्लो र डरलाग्दो पहराको पेटीमा हामीले त्यहाँको जल अभिषेक गरी त्यसैको शिरमा अवस्थित बडिमालिकाको मन्दिरतिर उक्लिने अन्तिम कार्य गर्यौँ ।
आखिर ईश्वर छ भने अन्तर्यामी छ । सर्वव्यापी छ र महान् छ । मेरो सानो मस्तिष्कले आजसम्म पनि सोचेको यही हो । तर त्यहाँ पुगिसकेपछि साँच्चिकै हर्षले मन पग्लिएर पोखिएला जस्तै भयो । त्यो हदसम्मको जनमानस, तिनीहरूको समर्पण र विश्वासको सागरमा म आफ डुबेर निसास्सिए जस्तै भएँ । डाँडैभरि पालले खुट्टा राख्ने ठाउँ थिएन । हजारौँको सङ्ख्यामा मानिसहरूको भिड लागिरहेको थियो । शङ्खघण्ट, भजनकीर्तन, जय जयकार र अनेक होहल्लाले आकाश गुञ्जायमान भइरहेको देखेर हामी केही समय त यसै अलमलमा पर्यौँ । त्यतिन्जेलसम्ममा नारायणहरूले बल्लतल्ल एउटा पालमुनि बस्ने व्यवस्था मिलाएर हामीलाई लिन आए । बाटामा जता हेरे पनि आँखा पालमै ठोकिन्थे । प्रत्येक पालमा ४/५ जनादेखि १५/२० जनासम्म कोचिएकै देखिन्थ्यो । नभन्दै हामी पनि कैलाली अत्तरियाका आमाछोरासहित १३ जना भएछौँ । पालधनीलाई प्रतिव्यक्ति रु. ५००। का दरले बुझाएपछि मात्र धन्न ढुक्कले हाम्रो झोला राख्ने काम सम्पन्न भयो ।
तीन बजेदेखि हामी निरन्तर लाइनमा उभिएका थियौँ । दोहोरो तेहेरो लाइनमा मानिसहरू अनेक असन्तुष्टिहरू व्यक्त गरिरहेकै थिए । निरन्तरको वर्षा, ४२०० मिटर उचाइको हिमाली चिसो र कति दिनदेखिको अव्यवस्थित भोकनिद्रामा पनि मानिसहरू रित्तै खुट्टा घण्टौँ उभिन सकेको देख्दा अचम्म लाग्थ्यो । कोही समिति, स्वयंसेवक र सुरक्षाकर्मीहरूले राम्रो व्यवस्थापन गर्न नसकेकोमा चर्किरहेका । कोही कष्टले लाइनमै उठ्दै बस्दै गरिरहेका । नेपालीहरू न हुन्, कोही बिचमा घुस्ने दाउ गरिरहेका । अनेक खाले मानिसहरू आआफ्नै स्वभाव र धैर्यको परीक्षा दिइरहेको म देख्थेँ । यसै बिचमा हामीले एक जना युवाले त्यहाँ साइकल ल्याइरहेको देखेर आश्चर्यचकित भयौँ । उनीसँग कुरा गर्न हामीलाई अनुकूल थिएन । यतिसम्म भने बुझ्यौँ; उनी धरानका रहेछन् । बिस्तारै दिन ढल्दै गयो । घण्टौँपछि हाम्रो लाइन पूर्वतिर फर्किएको वेला, पारि टाढा कतैको एउटा अग्लो हिमाल मेरो आँखामा पर् । सके त्यही होला सैपाल हिमालको अनुहार । मैले मनमनै कल्पना गरेँ । तैपनि सोध्न भने कसैसँग सकिनँ । त्योभन्दा पनि मुख्य कुरा त त्यहाँ शारीरिक र मानसिक धैर्यको थियो । अनेक पीडा र छटपटीहरूको पराकाष्ठापछि राति ९ बजे अर्थात् ६ घण्टामा हामीले मूल मन्दिरको दर्शन गर्न पायौँ । दर्शनसँगै लगिएका भेटीहरू चढाएर वर ग्रहण गरी फर्किँदा जम्माजम्मी आधा मिनेट पनि लागेन होला । जे भए पनि दर्शनपछि हाम्रा खुसीका सीमा थिएनन् । त्यतिन्जेलसम्मका सबै दुःखहरू हराए जस्ता भएका थिए । त्यो हदसम्मको व्यग्र प्रतीक्षाको फल कति आनन्ददायी हुँदोरहेछ भन्ने कुरा कम्तीमा पनि जीवनमा मैले पहिलोपटक अनुभव गर्न पाएको थिएँ ।
मन्दिरबाट अलिकति तल झरेपछि हामी पालमा कोचियौँ । भिजेका लुगा पनि खोलिएनन् । प्लास्टी मात्र ओछ्याएको भुइँमा पनि बिचमा पर्नेहरूसम्म त ठिकै हो । तर छेउछाउमा पर्नेहरूको त त्यो रात झनै महाकष्टको रात भयो । रातैभरि पानीसँगै हावाले पनि भटभट र भुटभुट गर्दै पालै उडाएर लैजाला जस्तो गरिरह्यो । जाडोले थरथरी कमाएर रात बिघ्नै लामो भए जस्तो लागिरह्यो । अन्य पालहरूबाट पनि कतै भजन, कतै ठाडीभाका, त कतै उडाएका पालहरू बाँधिरहेका आवाजहरू आइरहन्थे । मेरो मनमा भने यति बिघ्न आकर्षण शक्ति भएकी मालिकाले यो भूगोलसँग सम्बन्धित मानिसहरूको बुध्दिको बिर्को किन नखोलिदिएकी ? किन लोभमोह र सङ्कीर्णताबाट माथि नउठेका यहाँका हर्ताकर्ता ? जस्ता प्रश्नहरू उठिरहे । मनमनै यही पाखामा पातैपाताका ससाना बास बस्न योग्य घरहरू र त्योभन्दा पनि महत्त्वपूर्ण त शौचालयको परिकल्पना गरेँ । आकासे पानी सङ्कलनका लागि घैँटाहरूको परिकल्पना गरेँ । वास्तवमै यतिसम्म गर्न त ढिलो भइसकेछ यहाँ । यति धेरै आस्था भएको ठाउँमा यतिसम्मको बेवास्ता गर्ने छुट हुनु हुन्छ र कसैलाई ? त्यति मात्र गर्न सके पनि यसले आफ्नो मात्रै होइन, सिङ्गो देशकै मुहार उज्यालो पार्ने छ भन्ने लागिरह्यो । अझ सम्झिँदै जाँदा यस्ता ओझेलमा परेका सम्पदाहरू कति होलान् देशभरि भन्ने पिरले घचेटिरह्यो ।
थरथर कामिरहेको शरीरमा चिसा जुत्तामोजा र चिसै रेनकोट लगाएर २६ गते बिहान ६ बजे नै हामीले पाल छोड्यौँ । बिहान तीन बजेदेखिको लाम कहिले सिध्दिने ? अझ ९ बजेदेखि सरकारी पूजा अरे । त्यति बुझेपछि हामीले तिलक पर्खिन सक्ने कुरा थिएन । त्यसैले पाल मात्र कहाँ हो र, बडिमालिका नै छोडेर हिँड्यौँ । राति नै दर्शन गरिसकेका हामी जस्तै फुक्काफाल हजारौँ मानिसहरूको लाइनमा हामी पनि ओरालो हानियौँ । सिमसिमे हावापानीसँग जुध्दै त्रिवेणी आइपुग्दा ९ बजेको थियो । चिया, चना र रोटीहरू खाएर हामी सेनाको अस्थायी व्यारेकतिर लाग्यौँ । हेलिकप्टर सान्नित्रिवेणी गाउँपालिकाले ल्याएको रहेछ । केही समय विश्राम गरी सेनाको शिविरबाट आवश्यक औषधीहरू पनि ल्याएर हामी उपिँयाको लेकतिर उकालो चढ्यौँ । मुख्यमन्त्री जीवनबहादुर शाही आउने हल्ला भए पनि त्यति वेलासम्म उहाँहरू आइसक्नुभएको थिएन । अग्लो स्थानमा आइसकेपछि फेरि पनि त्यो हदसम्मको मनमोहक तर्जमा हामीले त्रिवेणीलाई फर्किएर हेर्यौँ र केही बाँकीटाँकी फोटाहरू उपेन्द्रको आइफोनमा कैद गरेर सान्निरास्कोटतिर झर्न थाल्यौँ ।
गन्तव्यमा पुगेर फर्किँदाको खुसी त अनुभव मात्र गर्न सकिन्छ; शब्दमा हुबहु अभिव्यक्त त कसरी गर्न सकिन्छ र ! हामी हाँस्दै गफिँदै थेप्चाको बाटो हिँड्दा यात्रुहरू ठाउँ ठाउँमा जडीबुटीहरू खोतल्दै अनि मन परेका फूलहरू टिप्दै गरेका भेटिन्थे । तिनीहरूकै बिचमा भेटिएका केही किशोरीहरूको सम्झना आज पनि मनमा त्यहाँको सौन्दर्य जस्तै पवित्र छ । बिचरा, उनीहरूसँग अरू त के थियो र । तैपनि उमेरको लोभले होला । आफ्नै अतीतको अब कहिल्यै नफर्किने कथाहरूको सम्झनाले होला, यसै पनि मलाई त्यो उमेरका अनुजहरूको औधी माया लागेर आउँछ ।
“नानी, कहाँ हो घर ?”
“सान्निरास्कोट ।”
“कसकी छोरी हौ ?”
“रास्कोटिकी ।”
“सोवंशीहरू छैनन् त्यता ?”
“छन् नि । म सोवंशीकै भान्जी हुँ ।”
“लौ… त्यसो भए तिमी त भान्जी पो परिछ्यौ । हामी पनि त सोवंशी ।”
एउटी मैयाँसँग मैले कुरा गरेँ । त्यसपछि त उनीसँगै भएका अरूहरू पनि आफ्निए । अनि त गफ गर्दै ओरालो झरेको पत्तै भएन । तिनीहरू त्यस्तै ११/१२ का विद्यार्थी रहेछन् । एकैछिनको भेटमा पनि मानिस किन यतिसम्म आफ्नो लाग्छ होला ? यो मान्छे भन्ने प्राणी सबैभन्दा मायालु र यही फेरि सबैभन्दा निष्ठुरी पनि किन छ होला संसारमा ? अनि यो नश्लीयताभित्र कुन चाहिँ त्यस्तो तत्त्व हुन्छ होला, जसले हरकोही मानिसलाई छिनमै आकर्षण र छिनमै विकर्षण गरिदिन्छ ! यो भाषा, धर्म, भूगोल, जातजाति, सम्प्रदाय, लिङ्ग, विचार, दर्शन आदि अनेक नश्लीय सङ्कीर्णताभन्दा माथि उठ्न सकेको दिन साँच्चिकै संसार कति लोभलाग्दो, उज्यालो र मोहनी हुँदो हो ! म मनमनै सोच्दै पनि हिँडेँ । अलि तल झरिसकेपछि जनचेतना बहुमुखी क्याम्पस कालिकोटका क्याम्पस प्रमुख पुष्पराज सन्जेलजीसँग भेट भयो । हाम्रा बिचमा शिक्षा क्षेत्रका अनेक विषयमा गफगाफ भए । उहाँबाट हामीले कालिकोटका प्रायः सबै क्याम्पसहरूको सोलोडोलो अवस्थाका बारेमा बुझ्न पायौँ । सदरमुकामस्थित तिला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दाजु रुद्रप्रसाद सापकोटाको हालखबरसमेत मैले उहाँसँग सोधेको थिएँ । गफगाफ गर्दागर्दै हामीले निकै लामो बाटो काटेछौँ । रुवाडीको एउटा गोठमा आइपुग्दा दिउँसोको पौने एक भएको रहेछ । हामीले त्यहीँ रोटी, तरकारी, दही, दुध जे जे खान मन लाग्छ, त्यही त्यही खायौँ । दुधदही कुरुवाको सयमा जत्ति पाइने । गिलासको तिस पर्ने चिया हेर्दा जस्तो देखियोस् तर पिउँदाको स्वादै अर्कै । लेकको पानी र जडीबुटीले होला, आज पनि त्यो बास्नादार चियाको सम्झना आइरहन्छ ।
ओरालो मात्रै कहाँ हो र ? अझै कतै त उकालो पनि हिँड्नु नै पर्थ्यो । यात्रामा हिँडिएको पछिल्लो त्यो निष्ठुर एउटा उकालोको अविस्मरणीय सम्झनाले धेरै दिनसम्म छोइरह्यो मलाई । हिँड्न नसकेर साथीहरू ठाउँ ठाउँमा बस्थे । हामी जस्तै कैयौँ अपरिचित अनुहारहरू पनि हामीसँगै अघिपछि भएर सुस्केरा मार्न आइपुग्थे । म त्यहाँसम्म पनि सबैभन्दा बढी ती हिमाली पुष्पराशिहरूको भिडमा हराइरहेको हुन्थेँ । त्यसैले मन थाम्न नसकेर मैले एउटी त्यस्तै ४५/५० की दिदीसँग सोधेँ । त्यति वेला मसँग मलाई सबैभन्दा धेरै मन परेको त्यो सानो, डोलो डोलो र गाढा रातो फूल थियो ।
“दिदी, यो फूलको नाम के होला, थाहा छ ?”
त्यसपछि उनी मुसुक्क हाँसिन् र भनिन्, “सुर्जफुलका छाइल बस्नु, चँ (च्वाँ) फुल पैरनु…
जे दुःख दैबले दिन्छ, उइ दुःख सैरनु !
त्यसपछि हामीले त्यसको नाम चँफूल रहेछ भनेर मात्र बुझेनौँ । बरु त्यति सानो प्रसङ्गबाट पनि धेरै कुरा बुझ्यौँ । त्यस क्षेत्रको लोकसाहित्य, मानिसहरूको जीवनदर्शन, सुखदुःखका सुस्केराहरू, प्राकृतिक विम्बप्रतीकहरूको साहित्यमा प्रयोग आदि अनेक कुरा बुझाइदिने ती दिदीलाई देख्दा सविनय आदर गर्न मन लाग्यो । हामी जस्ता पुस्तक मात्रै पढेर ज्ञानी हुन खोज्नेहरूलाई त्यस्ता दूरदराजका लोकजीवनका सुस्केराहरूले कति जीवन्त ज्ञान दिने सामर्थ्य राख्दा रहेछन् भन्ने कुराले मलाई भित्र कतै घोचिरह्यो । त्यसपछि पनि हामीले हाँस्दैबोल्दै लामो बाटो सँगसँगै काट्यौँ ।
अब हामीले अलिकति काँठको जङ्गल काट्नु रहेछ । जुकाको प्रदेश राजधानी भने पनि हुने । हामी सक्नेहरू त खुरखुर हिँड्ने, टक्क एउटा ढुङ्गामा चढ्ने र सबै जुकाहरू फाल्ने गथ्र्यौँ । तर हिँड्न नसक्नेहरूको शरीरभरि भने जता छाम्यो उतै जुका । नसकेपछि के लाग्छ र ! यही हालतमा हामी त्यही जङ्गलको काखमा रहेको एउटा गोठमा आइपुग्यौँ । अगाडि पर्ने टोली उछिट्टिएर अझ दुःख पाएछ । हामीले भने तिनै भान्जीहरूका कारण सजिलै बास पाएका थियौँ । जनक शाहीको त्यो खर्क हामीलाई साँच्चिकै स्वर्ग जस्तै लाग्यो । खुसीको सास फेर्दै हामीले सबैभन्दा पहिले त खुट्टादेखि नाइटोसम्मका जुकाहरू फाल्यौँ । घरको माया, पाहुनालाई गरिने सत्कार, खानपान र दुई रातको अनिँदोको क्षतिपूर्ति पाएको त्यो रात जीवनको बेग्लै आनन्दको रात थियो ।
ठिटाहरूको चहलपहलले बिउँझाएपछि हामीले अर्को न्यानो बिहानीको स्पर्श पायौँ । नित्यकर्म सकेर चिया पिई केही पैसासहित धन्यवाद दिएर हामीलाई बाटो लाग्नु थियो । हामीले त्यही गर्यौँ र साथीहरूलाई पछ्यायौँ । अब हिमाली सौन्दर्यबाट क्रमशः ओझेल पर्दै हामी कर्णालीतिर झर्दै थियौँ । तलतिर आइसकेपछि त मोबाइलले पनि काम गर्न थालेको थियो । त्यसैले र्याङ्गिलतिर जाँदै गर्दा लयाँटा र रकु गाउँको बिचतिर केही समय मलाई लाइभले समेत लोभ्याएको थियो । तैपनि हाम्रो गति रोकिएको थिएन । सान्नित्रिवेणी–२ स्थित रकुमा रहेको फुकोट जलविद्युत् आयोजनाको निर्माणाधीन पावरहाउस नजिकैको पीपलको बोटमुनि आधा घण्टा जस्तो विश्राम गरेपछि हामीले फेरि पनि र्याङ्गिल ताकिरह्यौँ । बाटाभरि कतै पहिरो र कतै हिलोमा डुबेर ठन्नमन्न भएका गाडीहरू कर्णालीको दूरवस्था बोलिरहन्थे । हामी तीसँग नबोली आआफैसँग कुरा गर्दै हिँडिरहेका हुन्थ्यौँ । पौने १ बजे र्याङ्गिलमा भात खाएर कर्णालीको तिरैतिर गफ गर्दै हिँडेका हामी लालुघाट हुँदै पौने तीनमा जितेगडा आइपुगेका थियौँ ।
यात्रा आफैमा सुन्दर थियो तर पनि जितेगडाका केही कुरुप तस्बिरहरू आँखामा घरीघरी आज पनि आइरहन्छन् । त्यहाँका गाडीवाला, समिति र चालकहरूले गरेका हर्कत सम्झिँदा त्यो पेसा र ठाउँप्रति नै मनमा नमिठा विम्बहरू उत्पन्न भइदिन्छन् । हामी जत्तिका बोल्न सक्ने यात्रुहरूलाई त झन्डै दुई घण्टा अल्मल्याएर तीनचार ओटा हाइस बदल्दा पनि अन्तिममा हिँडेर आउन बाध्य पारियो भने त्यहाँका जनसाधारणको अवस्था कस्तो होला ? सुन्दर ठाउँहरूलाई पनि असुन्दर बनाइदिने त्यस्ता नेपालीहरूको व्यवहारमा परिवर्तन कहिले आउला र हाम्रो देशको लाखौँ पर्यटक भित्र्याउने सपना साकार होला ! देशको मुहार बदल्न हामीले तल्लादेखि माथिल्लासम्मका अनेक स्वार्थी, भष्ट्राचारी र तिकडमवादी प्रवृत्तिहरूको अन्त्य भएको देख्न कहिले पाउँछौँ होला ? मनभरि व्यथाहरू बटुल्दै हामी एउटा बोलेरोमा बस्यौँ ।
“ल ल अध्यक्षज्यू, मामा, एटमजी र विजय दाइ यसमा गइस्यो । …ए गुरु, ल उहाँहरूलाई राम्रोसँग लगिदिनू है ? हामी हिँडेरै आउँछौँ ।”
भान्जा टेकेन्द्रले यति भनिसकेपछि हामी पनि घच्याकघुचुक गर्दै गाडीमा बस्यौँ । धन्न चिनेको गाडी भेटिएर आयौँ । बाँकी टोली त दहीखोलासम्म हिँडेरै आएछ । एउटा परिचित स्कर्पियोले सुविधा दिएर मात्र उनीहरू पाल्तडासम्म आएछन् । हामी भने रातसाँझ गरेरै भए पनि डुङ्गेश्वरै आइपुग्यौँ । जनैपूर्णिमाको दिन भएकाले एटमजीकहाँ रक्षाबन्धन बाँधेर भान्जीले बनाएको मिठो खाना खाई हामीले त्यस्तै साढे एघार बजेतिर विश्राम गर्यौँ ।
यात्राको अन्तिम दिन बिहान हामी फेरि पनि नवजीवन भाइकहाँ सबै जना जम्मा भयौँ । सबैले आआफ्ना जिन्दगीका विवशताहरूलाई छिनेर एउटै रेखामा हिँडेको छैटौँ दिन थियो त्यो । अविरल बगिरहने गङ्गाजल जस्तै बगिरहे पनि सबैको उही गतिमा त जिन्दगी कहाँ पो बग्छ र ! फेरि त्यही अवस्थामा हाम्रो भेट हुन्छ भन्ने नै पो के छ र ! मेरो मन एक प्रकारले भावुक भइरहेको पनि थियो । समयको त्यही विन्दुमा उभिएर हामीले आपसी स्नेह साटासाट गर्यौँ र फेरि भेट्ने बाचा गर्दै आआफ्नो सुविधाअनुसार छुट्टियौँ ।
दिनहरू त यसै पनि बित्छन्, बिति नै रहन्छन् । तर पनि यादगार जो दिनहरू हुन्छन्, ती बितेर पनि सधैँ मनभरि राज गरिरहँदा रहेछन् । त्यसैले होला बडिमालिका यात्राका ती दिनहरूले आज पनि मेरो मनको पाटनभरि सम्झनाका मनोहारी फूलहरू फुलाइरहेका छन् । कहिल्यै नमुर्झाउने तिनै फूलको मोहनी रूपमा आज पनि म अभ्यन्तरमा कतै एक्लै एक्लै वशीभूत भइरहेको छु । त्यसैले भन्छु,
“माताजी ! भन्न त प्रेम निस्वार्थ हुनुपर्छ भन्छन् तर म भनेँ स्वार्थी प्रेममा नै विशिष्ट अङ्ग ल्याएर आफूलाई यहाँसम्म उभ्याएको मान्छे । त्यो आदर्शतिर
आफैंलाई छाम्न खोज्दा कतै ढोँगी पो भइन्छ कि भन्ने डर लाग्छ । तैपनि आज यति कुरा चाहिँ सत्य भन्छु, तिम्रो प्रेमको स्पर्शले बिटुलिएको मन अब फेरि पनि कुनै दिन तिमीसम्म नआई मान्ने छैन । समयको प्रवाहमा बग्दाबग्दै फेरि पनि आइएछ भने तिम्रो काखमा हजारौँ यात्रुहरूले केही आधारभूत व्यवस्थापनको समस्याबाट मुक्त हुँदै खुसीले थप पुलकित भएको देख्न पाऊँ । नभए जति नै टाढाबाट भए पनि त्यो सुनमा सुगन्ध जडिएको खबर सुन्न पाऊँ । भन न बडिमालिका ! मेरो यत्ति इच्छाका लागि पनि के लोकले मलाई स्वार्थी नै देख्ला त ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।