सन् २०२२ मे १४ शनिबारको बिहान साढे चार बजे नै उठेर तयार भएँ । त्यतिबेलै साथी गौरीको पनि फोन आयो। आफू उठिसकेर मलाई पनि उठे-नउठेको सोध्न रहेछ | लेबेन्स्की पार्कमा ६ बजेसम्म सबै यात्रीह? जम्मा भैसक्ने कुरा थियो | मेरोमा हिजोदेखि नै एक साथी आइसकेकी थिइन्। शनिबार मेरो रोजगारदाता हेर्नको लागि । हामी कामबाट छुट्टी निस्कँदा कोही न कोही मान्छे खोजेर रिलिभर राखेरमात्र जानुपर्ने हुन्छ, वृद्धवृद्धाहरूको सेवाको लागि | केयर गिभरको कामै यस्तो । गौरीले भनेबमोजिम म घरबाट बिहानको ५ बजे सुटुक्क इम्प्लोएर र रिलिभर साथीलाई बाधा नपारी निस्किएँ । साथीलाई हिजै सबै काम सिकाइसकेकी थिएँ । गौरी मेरो काम गर्ने घरअगाडिको बसस्टपमा आएर बसिसकेकी रहिछन् । आज शनिबार बस चल्दैन, त्यसैले हामीले ट्याक्सी हायरिङ्ग गर्यौँ । बिहानको समय, शनिबार ट्राफिक जाम थिएन । किकार मेदिनाबाट १५ मिनेटमा लेबेन्स्की पार्क पुग्यौं।
लेबेन्स्की बसपार्कमा एक हुल नेपाली केटाकेटीहरू आए, कोही त्यहीँ पार्कमा बसेर ड्रिङ्क गर्दै थिए । तिनीहरूलाई हेर्दा लाग्थ्यो, रातमा डिस्को गएर आएका हुन् र यहाँ पनि भर्खरै आएका हुन् । भाषा नेपाली बोल्दै थिए, नेपालीभाषी इन्डियन पनि हुन सक्थे तिनीहरू । खैर जे होस्, गौरीसँग मेरो बिस्तारै कुरा पनि भयो । हामी लगभग त्यहाँ १ घण्टा बस्यौँ । अनि फाट्टफुट्ट टुर जाने साथीहरू आउन थाले । बस आएर बसिसकेको थियो । ६ बजे जाने भनेको, साथीहरू ६ बजेर ४५ मिनेट जाँदासम्म आइपुगेका थिएनन्। बल्लबल्ल साथी इशा आइपुगी । बसेर गफ गर्न लाग्यौँ । अलि चटपटे स्वभावकी इशा मनमा आएको कुरा मुखले बोल्दिहाल्ने । उसलाई दायाँ-बायाँ अगाडि-पछाडि नो मतलब ! तर मनकी भने असाध्यै सुन्दर ।
करिब सात बजे सबैजसो साथीहरू जम्मा भए। गौरी र म भने हामी आफैँलाई गाली गर्दै थियौं, “खुब ४:३० बजे नै उठ्नु पर्ने होइन ? १५ मिनेटको बाटोमा अरू एक घण्टा सुतेर आएको भए नि हुने नि !
तर पनि २ जना साथीहरू, नजिकबाट आउनुपर्ने ७ बजेसम्म पनि आइपुगेनन् । अरू साथीहरू कराउँदै थिए, ‘छोडेर जाउँ’ भन्दै । नजिक भनिएका मान्छेहरू झन् समयमा नआउँदा रिस त उठ्ने नै भयो । बल्लतल्ल ७.१५ मा आइपुगे, अनि पार्कबाट बस हिँड्यो ।
बिहानको समय सित्तल थियो । म झ्यालको छेउमा बसेकी थिएँ । साथी इशा र म यौटा सिटमा बस्यौँ, अर्को सिटमा गौरी एक्लै । मलाई यात्रा गर्न र यात्रामा पुगेपछि त्यो ठाउँका बारेमा जानकारी राख्न खुब मन पर्छ । यात्रा मेरो रुचिको विषय पनि हो । कुनै पनि ठाउँमा भ्रमणको लागि हिँडेपछि त्यो ठाउँको बारेमा कौतुहलता हुनु मानवीय स्वभाव पनि हो । तेलअभिव छोडेर बस बिस्तारै अगाडी बढ्यो । झ्यालको छेउमा बसेकी म बाहिरको दृश्य हेरेर मख्ख थिएँ । बस अगाडि बढ्दै जाँदा राष्ट्रिय गीत बज्यो “गाँउछ गीत नेपाली, ज्योतिको पंख उचाली” । धेरै समयपछि सुनेको भएर होला साह्रो आनन्द लाग्यो ।
त्यसपछि “सयौं थुँगा फूलका हामी …” बज्न थाल्यो। विदेशीभूमिमा यति धेरै समयपछि राष्ट्रिय गान सुन्न पाउँदा कान पवित्र भए | त्यसपछि घन्किन थाले नेपाली गीतहरू, र नाच्न थाले साथीहरू । बसभित्र बिहानै कति जाँगर आएको बाफ्रे ! रमाइलो पनि भयो, कोही बसमै निदाउन थाले । बस आफ्नै गतिमा हुइँकिएकै छ। साथीहरू गीतको तालमा नाचेकै छन् । मेरो छेउमा बसेकी साथी इशा बिन्दास पाराले कालो चस्मा लगाएर निदाएकिछे, ढुस्सढुस्स गर्दै । करिब ८ः३० मा हामी एउटा ठुलो पार्कमा पुग्यौँ, र बस रोकियो ब्रेकफास्ट खान र फ्रेश हुनका लागि । ब्रेकफास्टको जिम्मा आयोजक टिमले नै लिएको थियो।
त्यहाँबाट एक घण्टापछि बस हिँड्यो, फेरि साथीहरू उस्तै रमाइलो गर्न लागे । बस निकै अघि बढिसकेको थियो । एक्कासि ब्रेक लाग्यो, ठुलै झट्का दिएर । हामी बसभित्र भएका सबैजना कराउन थाल्यौं । बस रोकियो । एक जना मस्त नाच्दै गरेका साथी अगाडि लड्नुभएछ । चोट पनि लागेछ ।
फेरि बस अलिक अगाडि बढेको मात्र के थियो, झन् ठुलो धक्का दिएर ब्रेक लाग्यो । ‘हैन के भएको हो ?’ सबैजना झन् ठुलो स्वरले करायौं । बस बिस्तारै अगाडि लगेर साइडमा रोक्यो । अलि जोडले ब्रेक लागेको भए या त्यो स्थितिमा ड्राइभरले कन्ट्रोल गर्न नसकेको भए हाम्रो दुर्घटना हुने पक्का थियो । ‘धन्न बाँचियो प्रभु’ भन्ने लाग्यो । पछि थाहा लाग्यो, विपरीत दिशाबाट आउँदै गरेको कार र ट्रकको लापरबाहीले रहेछ।
केसारिया हुँदै बस अगाडि बढिसकेको थियो । झ्यालबाट देखिने दृश्यहरू साह्रै सुन्दर थिए । पर-परसम्म खुला फाँटहरु, भर्खर गहुँ काटेर फिँजाएका खेतहरु । कृषिमा इजरायलले ठुलो फडको मारेको छ । कृषिप्रधान देश हो, इजरायल । हामी गोलान हाइट पुग्नु पर्ने थियो । इजरायलको अग्लो र पुरातात्त्विक ठाउँ हेर्न गोलान हाइट । तिबेरिया (तिबेरिया पनि पर्यटकीय क्षेत्र हो) पुगेपछि दाहिने हुँदै बस अघि बढ्यो । ठुला-ठुला फाँटहरु लमतन्न परेर सुतेका छन्। बिहानीमा गाइवस्तु र भेडाहरू आफ्नै तालमा चरिरहेका छन् । सायद त्यो ठाउँमा अलिक बढी अरबी बस्ती हुनुपर्छ भन्ने अडकल काटेँ । घरहरू कुनै-कुनै त नेपालका गाउँका जस्तै देखिन्थे । म भरपूर आनन्द लिइरहेकी थिएँ । ती नेपाली शैलीका घरहरू देखेर नोस्टाल्जिक बन्दै थिएँ । मेरो छेउमा भएकी इशा भने घुरीघुरी निदाइरहेकी थिई ।
कहीँ सुख्खा डाँडा देखिन्थे भने कहीँ नेपाल बिर्साउने जङ्गल र हरियाली डाँडाहरू देखिन्थे। बसभित्र गीत गुञ्जिएकै थियो – “हाम्रो समय कति रमाइलो” भन्दै । हुन पनि रमाइलो नै भैरहेको थियो । कामको व्यस्तताबाट एकदिन छुट्टी लिएर यसरी साथीहरूसँग घुम्न जान पाउनु कम रमाइलो हुँदैन ।
बस बेत हिलेल हुँदै देब्रे लाग्छ, अघि नाच्ने साथीहरू थाकेर आ-आफ्नो सिटमा बसेका छन्। बाफ्रे, इनर्जी पनि कति हो ! बिहानदेखि नाचेरै पुगिने भयो । बस धेरै अगाडि पुगेपछि नेपालको कुलोहरू बिर्साउने गरी कुलुलुलुलुलु… गर्दै बग्दै झरेको सफा स्वच्छ पानी देखियो । बरु नेपालमा देख्न पाइँदैन हिजोआज यस्ता खोलानाला । कति माया गर्छन् प्रकृतिलाई इजरायलीहरू । संस्कृति र सम्पदाको संरक्षण गर्न नेपालीहरूले विदेशीबाट सिक्नु पर्ने हुन्छ । हाम्रो नेपालमा जस्तो कहाँ भूतमान्छे हुन्छन् र अन्त ! हाम्रो देशमा जस्तो संस्कृति र पुरानो सम्पदालाई जरैदेखि उखेलेर फाल्नुपर्छ भन्ने मान्यता हुँदैन विदेशमा । त्यसैले यो देशले १०० वर्ष पनि नपुग्दै विकासमा फड्को मरेको छ।
अहो ! बस पनि उकालो लाग्न सुरु गर्यो । पर-पर खेतका बिचमा कति राम्रा घरहरू, पुराना शैलीका । यहाँ पनि मान्छेहरू बस्ने रहेछन्, तर वरपर गाउँ कतै देखिन्नथ्यो । मनमनै सोचेँ, यहाँ सायद कोही छैन होला । यो भग्नावशेष मात्र हो कि ! सोच्दा-सोच्दै बस अझै उकालो लग्यो, बाटोको छेउबाट बगेको त्यो सानो कुलोले मेरो मन तानिरह्यो । हरिया डाँडाहरूको बिचबाट गएको पिच बाटो हुँदै बस अझै १० मिनेटजति उकालो लग्यो र रोकियो । यहाँ आइपुग्दा त झन्नै नेपाल बिर्साउन खोजेको हो कि प्रकृतिले जस्तो पनि लाग्थ्यो ।
बस रोकियो, बसबाट झरेर साथीहरूको पछि-पछि लागियो । कतिपय फेसबुकबाट चिनेका साथीहरू थिए भने धेरै नचिनेका थिए। ठुलो पार्कभित्र छिर्यौँ, असाध्यै सुन्दर थियो पार्क। त्यहाँ एउटा ठुलो नदी पनि बगिरहेको थियो । कति निर्मल, कति स्वच्छ ? नदीभित्र ढुङ्गामा लेउ लागेको सफा पानीबाट प्रस्ट देखिन्यो । सानो काठे पुल तरेर थोरै जङ्गल छिचोल्दै साथी गौरीको पछि लाग्यौँ । तर उल्टो बाटो परेछ । धेरै अगाडि पुगेपछि थाहा पायौं कि हामीले गोलन हाइट्सको उकालो लाग्नेतिर नभएर जङ्गलको हाइकिङ गर्नेतिर लागेछौं । बाटो बिराएर अलमलिएछौँ भन्ने भएपछि साथीलाई फोन गर्यौं र फर्कियौं, अनि गोलान हाइट्स जानेतिर लाग्यौं ।
अहो ! माथितिर फर्केर हेर्दा चट्टानै चट्टानको ठुलो उकालो, चट्टान काटेर बनेको आकृतिजस्तो, धेरै पनि हैन हिँड्नु पर्ने तर असाध्यै डरलाग्दो बाटो । यदि ती ढुङ्गामा खुट्टा ठोक्किएर चिप्लियो भने एकैचोटि तल पुगिने । त्यहाँबाट एक फिलिपिनी खसेर ज्यान गएको कुरा बोर्डमा लेखिएको रहेछ । यो ठाउँ इजरायलको उत्तर-पूर्वमा पर्छ ।
हामी उकालो लागिरहेका थियौं । देश-विदेशबाट आउने रहेछन् त्यहाँ घुम्न । एक-दुई हुल विदेशीहरू गाइडको साथमा थिए । त्यहाँको विषयमा गाइडले सबै कुरा भन्दै थियो । विदेशहरू साँच्चै सहनशील र हरेक कुराको अन्वेषण गर्न खोज्ने स्वभावका हुन्छन् । हामी नेपालीको हुल भने खै को कहाँ, को कहाँ पुगेका थियौं। उकालो लाग्दै जाँदा काठको बार र काठको स-साना पुलहरू थिए । त्यहाँ धेरै विचार गरेर हिँड्नु पर्थ्यो, नत्र चिप्लेर तल पुग्न सकिन्थ्यो । खासै ठुलो गहिराइ त हैन तर माथिबाट खस्यो भने तल ढुङ्गामा बजारिएर ज्यान भने जान सक्थ्यो । ठाउँ-ठाउँमा सावधान लेखिएका बोर्डहरू टाँगिएका थिए । कुनै-कुनै बोर्डमा त्यहाँ अवस्थित एउटा ऐतिहासिक महलको बारेमा लेखिएको थियो । गोलन हाइट पश्चिमी एसियाको यौटा चट्टान हो भन्ने मान्यता पनि रहेछ । म विदेशी पर्यटकहरूलाई यो ठाउँको बारेमा गाइडले सुनाउँदै गरेका ऐतिहासिक वर्णन सुन्दैछु ।
सन् १८९४ मा फ्रान्सेली-यहूदी बैंकर ब्यारोन एडमन्ड डे रोथस्चाइल्डले गोलानमा यहूदी बसोबासका लागि ठूलो भूभाग किनेका थिए । उनलाई संयुक्त राज्य अमेरिका, क्यानडा र युरोपका अन्य समूहहरूले पनि पछ्याए । यहूदी औपनिवेशिकताको प्रयास गरिएको थियो तर अरबीहरूको दुश्मनी र ओटोम्यान भूमि कानुनद्वारा निराश भएकाले गैर-निवासीहरूद्वारा बसोबास गर्न निषेध गरेको थियो । प्रथम विश्वयुद्धपछि गोलान फ्रान्सेली जनादेशमा सिरियाको एक हिस्सा बन्यो र सन् १९४१ मा स्वतन्त्र सिरियामा परिणत भयो । सन् १९४८-४९ को अरब-इजरायली युद्धपछि सिरियाले गोलान हाइट्सको पश्चिमी चुचुरोलाई सुदृढ बनायो, जसले हुला उपत्यका, ग्यालीली सागर र माथिल्लो जोर्डन नदी उपत्यकालाई इजरायलमा गाभ्न लगाइयो । यी खण्डहरूमा धेरै इजरायली नागरिकहरू सिरियाली तोपखाना र स्नाइपर फायरबाट मारिए । कृषि र माछा मार्ने काम कठिन र कहिलेकाहीँ त असम्भव नै बनाइयो ।
सन् १९६७ जुन ९, १०, छ दिने युद्दको अन्तिम दुई दिनमा इजरायली सशस्त्र सेनाले इजिप्ट र जोर्डनलाई हराएर सिरियामा आफ्नो ध्यान केन्द्रित गर्यो । इजरायल वायुसेनाको आवरणअन्तर्गत इन्जिनियर सेनाहरूले ठाडो गोलान हाइट्समा पुग्ने सडकहरू बनाए, जसलाई त्यसपछि सशस्त्र सवारी साधन र पैदल सेनाले अगाडि आक्रमण गरेको थियो । सिरियाली रक्षकहरू र धेरैजसो अरब बासिन्दाहरू भागे, र सिरियाले युद्धविरामको लागि अनुरोध गर्यो । जुन १० मा युद्ध बन्द भयो । उच्च भूभाग इजरायली सैन्य प्रशासनको अधीनमा राखिएको थियो, र गोलानलाई इजरायलको सञ्चार र वित्तीय ढाँचामा एकीकृत गरियो । त्यहाँ पाँचवटा अरबी गाउँहरू बाँकी थिए । उनीहरूलाई इजरायली नागरिकताको लागि प्रस्ताव गरिएको थियो । यद्यपि अधिकांशले अस्वीकार गरे र सिरियाली नागरिकता कायम राखे । सन् १९७० को दशकको उत्तरार्धमा लगभग ३० वटा यहूदी बस्तीहरू उच्च भूभागमा स्थापित भइसकेका थिए । सन् १९८१ मा इजरायलले एकतर्फी रूपमा त्यो क्षेत्रलाई आफ्नो भूभागमा गाभ्यो ।
अझै पनि त्यहाँ पुरानो अरबियन शैलीका प्राचीनकालिन दरबार र मन्दिरका अवशेषहरु देख्न सकिने रहेछ। त्यो चट्टानको भित्ताहरु कुँदेर बनाइएका मुर्तिहरु सबै ध्वस्त भएर भुइँभरि लडेको प्रस्ट देखिन्छ। त्यहि बेला मेरो मनमा यस्तो सोच आयो कि माओबादीले युद्धकालमा भत्काएका ठुला-ठुला प्राचिन भवन र ध्वस्त पारेको समग्र नेपाल सम्झिएँ। म अनौठो मानेर नियाल्दै थिएँ,नेपालकै मन्दिरका टुंडालहरुमा खोपिएका मुर्तिहरु जस्तै भुइँभरि छरपस्ट देखिन्थे। तर ती भग्नावशेषले अरबीहरुको तात्कालिक इतिहासको स्ट्याग्राफिक प्रतिनिधित्व गरिरहेको जस्तो पनि देखिन्थ्यो।
हामी त्यो ठाउँ पुरै घुम्यौ। कोहि साथीहरु भने खुब रमाइलो मानिमानि फोटो खिचाउदै थिए। कोहि साथीहरु थकाई मार्न सुस्ताउदै थिए। अब भने कोहि जंगल हाइकिंगको लागि हिडिसकेका थिए। हामी पनि जाने भनेर इशाले बोलाइन् र उनैको पछी लाग्यौं म, गौरी, गोपाल भाइ र अन्य थुप्रै साथीहरु।
त्यसपछि ओरालो झरेर जंगलको बीचबाट बाटो लाग्यौ। सार्है सुन्दर नदी बगिरहेको थियो। ठुला-ठुला रुखहरु छेउबाट मस्त बगेको सानो नदी सितल छायाँको बाटो हुँदै अघि बढ्यौं। बीच-बिचमा फोटो खिच्दै हिड्यौं। बाटोमा बटुवाहरुको लागि खाने पानीका धाराहरु थिए। मन्त्र-मुग्ध बनाउने छहराहरु थिए। आँखा टक्क अडाएर एकछिन उभिईरहें। इशा र अरु साथीहरु निकै अगाडी पुगिसकेछन्। पछाडी फर्केर हेर्दा मलाई नदेखेपछि बेस्सरी कराएर बोलाए! कताबाट कता जाने जस्तो थियो बाटो। जंगलको बिचमा एकछिन त अलमल परियो। गौरी भने भोकले लखतरान परिछिन्। भोक पनि किन नलागोस् ! घरमा १२ बजे खान खाने मानिस १ बजिसकेको थियो। घुम्दै-घुम्दै पल्लो पट्टिको डाँडा माथिपट्टि आइपुग्यौ। त्यहाँबाट पनि मेलो-मेसो पाइएन। तर हामीभन्दा अघि हिंडेका साथीहरु पनि त्यहीं रहेछन्। उनीहरु पनि अब कता जाने भनेर अलमलिएका रहेछन्। अलिक अगाडी जाने तारा चाहिँ भत्किएको बंकर भित्रको बाटो हुँदै आउनू भनेर हामीलाइ इसारा गर्दै थिईन्। तर हामीलाइ थाहा छैन भनेपछि आफै फर्केर लिन आइन्। र, त्यो भत्किएर भग्नावशेष भएको बंकरको बाटो हुदै भित्र भित्रबाट लगिन्। त्यो पनि बीसौं सताब्दीमा अरबीहरुले बनाएको ठुलो बैठक हल नै रहेछ। त्यहाँ राखिएका बोर्डहरुमा यहि लेखिएको थियो। त्यहाँबाट भित्रि बाटो हुँदै दरबार पुग्ने अनौठो सुरुंगको बाटो रहेछ। त्यही बाटो हुँदै जाँदा सिरिया जोड्ने पुलको भग्नावशेष भेटियो। त्यहाँ लेखिएकै थियो- राउण्ड सिरियन ब्रिज। त्यो क्रस गरेर हामी पार्कमै आइपुग्यौं। तर एउटा कुरा भने अचम्म लागिरह्यो,त्यो सभा हलको सुरुंग र त्यहाँबाट निस्किएर दरवारसम्म आइपुग्ने बाटो सम्झिएर। दरबारको त्यो सेरोफेरो अनि सुरुंग आउने-जाने बाटो र त्यत्रो जंगलमा हिंड्दा मैले एक पटक पनि कुनै चरा-चुरुङ्गीको आवाज सुनिन, मात्र कलललललल बगेको त्यो सानो नदी बाहेक।
जब पार्कमा निस्किनै लागेका थियौं, यौटा अचम्मलाग्दो दृश्य देखियो। सानो कटेजको एकापट्टी छेउमा ठुलो ढुंगामा आगोमा रोटी जस्तो पकाउदै गरेको देखें।
त्यहाँ ५-७ जना अरबी केटाहरु थिए र कटेजमा एउटी केटी पनि थिई। अनि त्यो ढुंगामा रोटी पकाउँदै गरेको को थियो थाहा भएन। पुरै कालो बस्त्रले आफ्नो सरिर छोपेर भित्तापट्टि फर्किएकी थिई। मैले गौरीलाई भने- ‘हेर्नु न, यस्तो गर्मिमा कालो लुगा शिरदेखि पाउ ढाक्नेगरि आगोको छेउमा बसेर के गरेको होला ?’ गौरीले भनिन्- ‘अरबी केटी होला,त्यसैले।’ मैले मनमनै सोचें, जसरि पनि म यसको अनुहार हेरेरै छोड्छु। र, त्यो ढुंगामा पकाउदै गरेको रोटी किन्ने बाहानाले गएँ। अनि उसको नजिक उभिएर भने- ‘स्लिखा तित्निली एखात पित्ता !’ अरबीमा खबुस भनिदोरहेछ। ‘मलाई यौटा रोटि दिनुहोस न !’ भनेर यसो निहुरिएर उसलाई हेर्न खोजें। चस्माभित्रबाट उसले मेरो चलाखी थाहा पाएर होला ऊ त झन् बिस्तारै अर्कोपट्टि मुन्टो फर्काएर मलाई रोटी थमाईदिई। म त्यहाँबाट लुरुक्क अर्कोपट्टि गएर त्यो रोटीमा चकलेट पेस्ट लगाएर १५ सेकल तिरेर ४ पिस बनाउन लगाएँ। अनि आएर साथीहरु संग बसेर खाएर बाटो लागियो।
खाना खाने बेला भएछ अनि हामी सबैजना उठेर गयौं। खाना खाँदै गर्दा मेरा आँखा पल्लो पट्टिको भवनमा पुगे। केहि लेखिएको थियो हिब्रु बाट। सबै बुझिन, ऐतिहासिक केहि थियो त्यहाँ। भित्र छिरेर हेर्दा झन् धेरै अनौठो लाग्यो। त्यहाँ त हाम्रो नेपालमा हुने पानीघट्ट, ढिकी, कुटो, कोदालो, हलो, हँसिया आदि देखेर अचम्ममा परें। त्यहाँ पहिला पानीघट्टमा जैतुन (ओलिभ) पिसिँदो रहेछ। भित्र-भित्रै खनेर ल्याइएको सानो कुलोको पानीले घट्टलाई घुमाउने रहेछ।
इजरायल जहिले युद्ध हुने देश । हाम्रो देश नेपाल एउटा स्वतन्त्र राष्ट्र र यो देश युगौँसम्म अरूको अधीनमा रहेको भए पनि धेरै विकसित छ । आफ्नो देश सम्झेर मुटुमै चसक्क भयो । सबल र सक्षम राजनेता भयो भने केचाहिँ असम्भव हुँदोरहेछ र ? त्यो भवनबाट बाहिर निस्किंदा त सबै साथीहरु अघि नै गइसकेछन्। खाना खाने ठाउँमा केहि ढिलो पुगें। इशा र गौरी मलाई नै खोज्दै रहेछन्। म पुग्ने बित्तिक्कै इशा केहि रिसाई पनि मसँग। मैले आफु पानीघट्ट लगायत हेर्न गएको दृष्टान्त बताएँ र खानातिर ध्यान दिएँ। खानाको बन्दोबस्त पनि हाम्रो भ्रमण आयोजक समिति इजरायल-झापा महिला समुहले गरेको रहेछ। खाना खाइसक्दा अपरान्ह चार बजिसकेको थियो। इजरायलको बसाई सकेर नेपाल फर्किन लागेकी एकजना साथीको बिदाई कार्यक्रमको आयोजना पनि त्यहीं रहेछ। कार्यक्रमको समापनपछि फेरी बसमै सबैजना आयौं भाँडाकुँडा बोकेर। दुईजना साथीहरु छुटेछन्। बसभित्र खोजी भयो, तर उनीहरु अझै देखिएनन्। कतै जङ्गलमै पो फर्किए कि, हाम्रो बस भएको ठाउँ पो भुले कि भन्ने भय पनि भयो। हामीमध्य धेरैजना फर्केर ड्युटीमा हाँ हुनुपर्ने थियो। एक-दुई जनाको लापरवाहीले ठुलो असर पर्न सक्थ्यो। नेपालीहरु जहाँ गए नि अलिअलि आफ्नो स्वभाव त देखाईहाल्छन्। बल्लबल्ल बीस मिनेटपछि आए साथीहरु। अनि आजको हाम्रो तेल अभिवदेखि गोलान हाइटसम्मको एकदिने यात्रा हर्षोल्लासपूर्वक सम्पन्न गरेर आ-आफ्नो गन्तव्यतर्फ फर्कियौं। थकान र आत्मसन्तुष्टिले होला बिहान आउँदा जस्तो फर्किंदा बसमा नाचगान गरेनन् कसैले।
गोलान हाइटका बारेमा अझै धेरै लेख्नयोग्य विषयहरु छन् । तर, अहिलेलाई यत्तिमै बिट मार्न चाहन्छु। यदि तपाईं पनि इजरायलमा हुनुहुन्छ भने एकपटक गोलान हाइट भ्रमण गरेर त्यहाँको ऐतिहासिक विषयको ज्ञान र प्राकृतिक सुन्दरताको आनन्द लिनुहोला है !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।