२०६६ जेठ १५

बिहान चारबजे जागरणमा आएँ । स्नान गरेँ । प्रणायामपछि योगध्यान । बिहान ५:३० बजे ओम खड्का भाइले एम्बुलेन्स लिएर आउनुभयो । यसको मर्मतको लागि जयनगरतिरै लानुपर्नेरहेछ । त्यसमै सवार भएर लाहान आइयो ।

आश्रममा चिउरा तरकारी खायौँ । यात्रादलका मित्रहरुसित भेटघाट भयो । राजविराजबाट रामकुमार चौधरीजी आइपुग्नुभयो । चितवनबाट आशिषजी आइपुग्नुभयो । काठमाडौंबाट कविता दिदी अघिल्लै दिन आइपुग्नु भएको थियो । गुरु ज्ञानहासिल र जीवन मेहमानसित भेट गरेँ ।

यात्राका लागि हातमा बाँध्ने एकघडीको जरुरत थियो । लाहानमा घडी किनेँ । लाहानबाट जयनगरतर्फ लागियो । साढे दसबजे जयनगर पुग्यौँ । नेपालको बोर्डरबाट जयनगर चार किलोमिटरको दूरीमा छ ।

बाटोमा भिम पराजुली सर र भोला पाशवानको बिचमा राजनीतिक वादविवाद भयो । उनीहरुको विवादलाई अनाशक्त भावले सुनेँ । कसैको पक्ष लिन पनि मनले रुचि देखाएन ।

कविता भट्टराई दिदीले भन्नुभयो– कुरानको विषयमा मुसलमानसित म कहिल्यै विवाद गर्दिन ।

उहाँले यो कुरा सांकेतिक रुपमा बोल्नुभएको थियो ।

जयनगरबाट ठिक १२ बजे गरिवरथ नामक रेल चढेर हाम्रो टोली नयाँदिल्ली प्रस्थान गर्यो । बिहान हलुका नास्ता खाएका थियौँ । त्यो नास्ताले छोडिसकेको थियो । भोकले निकै सताएपछि समोसा किनेर खायौँ । मधुवनीमा पुगेपछि आनन्द र सत्यार्थीको सौजन्यतामा रेलमै खाना आयो । रेलमै खाना खाएर विश्राम गरियो ।

m

जयनगर स्टेसनमा आशिषजीले भनेका वचन आफूभित्र गुन्जिरह्यो– तपाईमा विकासको संभावना धेरै छ । अस्तित्वले तपाईँलाई खोजिरहेको छ । साधकले साधनाबाट ऊर्जा प्राप्त गरेपछि उसले बहुत धेरै काम गर्नसक्तछ ।

मैले भनेँ– आफूभित्रको कालोमैलो दाग पुछ्न गाह्रो भएको छ । चित्तमा गाडिएका विचार, वासना र संस्कारलाई पुछेर कोरा स्लेट बन्न कठिन छ । मान्छेलाई शिक्षाले संस्कारले परिवेशले वासनाग्रस्त, अहङ्कारग्रस्त र रुग्ण बनाएको छ । यसबाट मुक्त हुन गाह्रो छ ।

उहाँसित आत्मरुपान्तरणका विषयमा सुखद कुराहरु भए ।

२०६६ जेठ १६

बिहान गाजियावादमा रेलबाट उत्रियौँ । बेलुकी ५:३० बजे दिल्लीबाट गाडीमा हरिद्वार प्रस्थान गर्ने योजना थियो । खत्यौली पुग्यौँ ध्यान आभाको घरमा । भारतीयहरुको अतिथि सत्कारको कला अजीव लाग्छ । चिया खाजा खाएर त्यहाँ केही घण्टा विश्राम गर्यौँ ।

घरको भित्तामा लेखिएको एक आप्तवाणीले मन छोयो– “गृहस्थ एक तपोवन हो, जसमा संयम, सेवा र सहिष्णुताको साधना गर्नुपर्दछ ।”

निर्धारित समयमा खत्यौलीबाट हरिद्वारतिर लागियो । बाटामा टाँगा र राँगाको विजोग देखेँ । सडकमै हुँइकिरहेका छन् दुई पाँग्रे चारपाङ्ग्रे मोटरकारहरु । अनि त्यहीबाटोमा भारी र मान्छे लादिएका टाँगा र राँगागाडीको हरिविजोग हेर्न लायक थियो । ठूल्ठूला मेघा प्रोजेक्टका साथ भारत तीव्र विकास निर्माणको चरणबाट अगाडि बढिरहेको अनेक दृश्यले मनै लोभ्याउँथ्यो । नयाँदिल्लीदेखि हरिद्वारसम्म जाँदाका बाटोमा पर्ने खेतका हरियाली दृश्य र गोवर थुम्कीहरुले अर्थात् गोवरका घरहरुले विमोहित बनेँ । शुद्ध गोवर मलमा आधारित प्राङ्गारिक खेतीतर्फ कृषक अभिमुख भएको दृश्य स्पष्ट देख्न सकिन्थ्यो ।

मुजफ्फर नगरमा आरु पाकेर जताततै आरुका सपिङ स्टलहरु राखिएका थिए । आरुलाई सुरुमा स्याउ ठानियो तर, थिए आरु । आरुले स्याउको भ्रम दिएकोमा हँस्यौली पनि चल्यो ।

खेतबारीमा मकै जुनेलो, उखुको अखण्ड हरियाली थियो । कृषिको लागि मलपानीको उचित व्यवस्था गरिएको कारणले यति लोभ लाग्दो दृश्य सम्भव भएको थियो ।

अस्तित्वको यति विराट, यति भव्यरुप देखेर मन पुलकित आनन्दमा पौडी खेलिरहेको थियो । दृश्यहरुको रहस्यले मनमुग्धकारी बन्ने स्वभाव छ मभित्र । हृदयमा असीम विभोरताको भाव उम्रिने गर्छ । कताकता अनुग्रहले भरिने गर्छु ।

धर्तीको सुरम्भ्य सस्यस्यामला रुपको दर्शन यात्राको एक अनमोल प्राप्ति बन्दछ ।

मुरादावाद, मेरठ, रुड्कीजस्ता ठाउँहरु शिक्षाका केन्द्र पनि रहेछन् । यी ठाउँका अति भव्य शिक्षण संस्था र विश्वविद्यालयको व्याप्तिले विमुग्ध बनेँ । रोड, रेलवे र नहरको अद्भूत चमत्कार हेर्न पाउनु मेरो लागि यस यात्राको एक उपलब्धि थियो ।

रातको खाना हरिद्वारमा खाएर ऋषिकेशतर्फ प्रस्थान गरियो । एघार बजे निर्जन एकान्त गङ्गातटको ओशो आश्रममा रात्रिविश्राम गरियो ।

२०६६ जेठ १७

आज देहरादून घुम्न जाने कार्यसूची थियो । बिहान ५:३० बजे जागियो । गङ्गाको शितल जलमा स्नान गरियो । जेठको तप्त गर्मीमा पनि गङ्गााको ठण्डा र कञ्चन स्वच्छ पानीले शरीरमा ताजगीपूर्ण ऊर्जा प्रवाहित गर्यो ।

बिहान डाइनामिक मेडिटेसन चल्यो । आफूलाई विपस्सना बस्ने चाह भयो ।

गङ्गा तटको जंगलबिच अवस्थित यस आश्रममा देशविदेशका मानिसहरु मेडिटेसनका लागि आउँदा रहेछन् । प्रकृतिको सुन्दर दृश्य जति पिए पनि नअघाइने खालको थियो ।

दिल्लीदेखि ऋषिकेशसम्मको दूरी २३२ किलोमिटर रहेछ । हामी बसेको यो ठाउँ ऋषिकेशबाट पनि ७,८ किलोमिटर उत्तरतिर आउनुपर्छ ।

“बाहिरी यात्रा खुब गर्नुस् अनि त्यसले अन्तर्यात्रालाई सहज बनाउँछ” – ज्ञानसाहिलले कविता दिदीलाई भनेका यी कुराले मलाई भित्रैदेखि छोयो ।
जंगलमा सालवृक्ष पाउलिएर फक्रिन लागेको दृश्य साह्रै सुन्दर थियो । चियानास्ता खाएर हाम्रो गाडी देहरादूनतिर हान्नियो । १२:३० बजे ओशो ओम बोधिसत्व कम्युन देहरादून आइपुगियो । नरेन्द्र बोधिसत्व र म अमृत मुक्तिसित भेट भयो ।

यात्रामा साथीहरुका बिचमा अनेकन विवाद हुन्छन् । म भने विवादबाट टाढै रहन चाहन्छु । निर्द्वन्द्व बाँच्न चाहने स्वभाव रहेछ मभित्र । विवादीहरुसित अलग रहन चाहने स्वभावले यो कुरा बताउँछ ।

देहरादूनका बुद्धगुम्बाहरुको अवलोकन गरियो । यहाँका सैनिक एकेडेमी र वनविज्ञान अध्ययन संस्थान बाहिरबाटै हेरियो ।

देहरादून माथिको पहाडी वन शृ्ङ्खला, बाटोमा पर्ने सुन्दर आँप बगैँचाहरु, यहाँको वातावरणीय स्वच्छतादेखि विमोहित बनेँ । प्रकृतिको अखण्ड मौनताले मलाई आकृष्ट गरिरहेको छ ।

देहरादूनबाट हथियारीसम्मको यात्रा गर्नुथियो । जमुनानदी पुग्ने योजना थियो । त्यहाँको वनमारा, तितेपाती घारी, खेतबारी, वनपाखा, गाईवस्तु आदि दृश्य नेपालकै मेरो गाउँघरसित मिल्थ्यो ।

जमुना नदीमा गएर स्नान गरियो । फोटो खिचियो । हथियारीको एकान्त स्थल जहाँ जमुनाको कलकल ध्वनि अहर्निष अभिगुञ्जित छ, त्यस ठाउँमा एक सुन्दर आश्रमको निर्माण आनन्द वैराग्यले गर्नुभएको रहेछ ।

तर, अहिले त्यो बेवारिसे अवस्थामा रहेछ । यहाँबाट १०७ किलोमिटर टाढा रहेछ जमुनोत्री । भित्तामा टाँगिएको गुरुको वचनले मन छोयो– “मेरा छोटा सा सन्देश एक है, आनन्द से जिओ, जीवनका समस्त रंग पिओ ।”

पहाडी शृङ्खलाको मौन, अटल र दिव्य शान्तरुप आँखाले पिउँदै हृदयले अनुभूत गर्दै हथियारीबाट ऋषिकेशतर्फ फर्क्यौँ । ब्रह्मपुरी आइपुग्दा रातको साढे एघार भइसकेको थियो । खाना खाएर विश्राम गरियो ।

२०६६,०२,१८

बिहान ६ बजे जागरण । जेठ महिनाको गर्मी छ । गङ्गामा गएर डुबुल्की लाइयो । गङ्गास्नानको आनन्दलाई भरपुर उपयोग गर्ने विचार छ । त्यसपछि गङ्गातटमै योगध्यान । आज ऋषिकेश र हरिद्वारका मुख्य मुख्य स्थान घुम्नजाने योजना थियो ।

चियानास्ता लियौँ पुस्तकघरमा छिरेर सुकरात र नित्सेका पुस्तकहरु हेरेँ । दसबजे ऋषिकेश र हरिद्वारको लागि ब्रह्मपुरीबाट प्रस्थान गरियो ।
शान्ति र आनन्दको खोजमा जापान र कोरियाबाट आएका विदेशीहरुको ओमकार गुन्जन हेर्न लायक थियो । युरोप र अमेरिकाबाट आएका सन्यासीहरुको शीर्षासनको चाखलाग्दो दृश्य थियो । पश्चिमाहरु पूर्वीय योगध्यानप्रति यति आकृष्ट हुनुमा केही न केही वैज्ञानिक कारण हुनुपर्छ । तर, पूर्वीय दर्शन भित्रका सुन्दरतम् कुराहरु हामीले फिटिक्कै बुझ्न सकेनछौँ जस्तो लाग्यो ।

वाइपासको रायावालबाट सिधै हरिद्वार जाँदा बाटोमा वृक्षगणको माधुरीमिलन (सडक आसपासका सालहरु जोडिएका) सुन्दर थियो । वातावरण संरक्षणप्रति यहाँका मान्छेको सजगता अनुकरणीय लाग्यो । जंगलबाट एउटा सुकेको रुख पनि निकालिएको छैन ।

हामी नेपालीको भष्मासुरे प्रवृत्तिउपर खिन्नता भाव जाग्यो । हामीले जंगलप्रति कहिल्यै समादरको व्यवहार गर्न जानेनछौँ । आफ्नै प्रवृत्तिले हृदयलाई आहत बनायो । हरियो जंगलभित्रका सहर र महलले धेरै कुरा सिकाइरहेको थियो ।

एघार बजे गायत्री तीर्थ शान्तिकुञ्ज हरिद्वार पुग्यौँ । त्यहाँ विविध औषधिजन्य जडीबुटीको स्पर्श र अवलोकन गरियो । त्यहाँका केही आप्तवचनले मन छोयो – “आलस्य र प्रमादमा समय व्यतित गर्नु भनेको आफैँलाई मुर्दा बनाउँदै जानु हो ।”

“प्रखर प्रज्ञा सजल श्रद्धाबाट पैदा हुन्छ ।”

“आत्मपरिष्कारको साधनाको नाम नै अध्यात्म हो ।”

साथीहरु किनमेलमा लाग्नुभयो । आफू भने किनमेलप्रति उदासिन छु । राजदेव सरको स्वभावसितै मिल्छ मेरो स्वभाव पनि । हामी पुस्तक किन्न चाहिँ अघि सर्छौँ । अन्य चिजको किनमेलमा चाहिँ पछि हच्किन्छौँ ।

हरिद्वारको विशाल शिवमूर्ती हेरियो । हरिद्वारको गङ्गाघाटमा लाखौन्को संख्यामा तीर्थालुहरु स्नान गर्न आउँदा रहेछन् । नुहाउनेहरुको मेलै लाग्दोरहेछ ।

योगगुरु आचार्य बालकृष्ण र रामदेवको पतञ्जलि योगपीठ हेर्ने ठूलो इच्छा थियो, त्यो आज पूरा भयो । विशाल परिसरमा अवस्थित पतञ्जलि योगपीठको भव्यता हेर्नलायक थियो । योग र आयुर्वेदको विराट ज्ञानकेन्द्रको रुपमा यस ठाँउलाई विकसित गरिएको रहेछ ।

थेरै समयमा सबै ठाउँमा घुमी नसक्नु गरी भौतिक संरचनाको विकास भएको रहेछ । विभिन्न आयुर्वेदिक औषधि, खाद्यान्न र उपभोग्य बस्तुको आर्गानिक उत्पादनका मेघा प्रोजेक्टहरु निर्माणाधीन चरणमा रहेछन् । अनेक ठाउँ घुमीघुमी हेरियो ।

योगपीठभित्रै ठूलठूला भोजनालय सञ्चालन गरिएको रहेछ । सरल दाममा स्वच्छ, स्वस्थ सादगी खाना पाइँदोरहेछ । त्यहीँ खाना खायौँ । अन्नापूर्ण भोजनालयमा खाना खाने मान्छेको भीडै लाग्दोरहेछ ।

भित्ताभित्तामा टाँगिएका भोजनसम्बन्धि वचन त्यत्तिकै मिठा थिए–

“ दृष्ट्वा दृष्योत् प्रशीदेच्य मनु ( अन्नलाई देखेर प्रशन्नताको अनुभव गर्नुहोस् । )”

“दिवशान्तेऽमृत पय ( दिनको अन्तमा अर्थात् रात्रिको समयमा दुग्धपान अमृत समान छ । )”

“न नक्तं दधिभुञ्जित ( रात्रीको समयमा दही सेवन नगर्नुहोस् । )”

“भोजनान्ते वीषं वारी (भोजनको अन्त्यमा पानी पिउनु वीष समान छ । )”

“भोजनान्ते की पेयम् ! तक्रम (भोजनको अन्तमा के पिउने हो ? – मोही !)

पूर्वीय ज्ञानविज्ञानका प्राचीनतम सम्पदाहरुलाई रामदेव र आचार्य बालकृष्णले पुनरोत्थान गरिरहेको आभास भयो । मानव सभ्यताको विकासमा चमत्कारतुल्य काम भैरहेको थियो ।

इसापूर्व १५ औँ शताब्दीमा जन्मेका सुश्रुत र ईसापूर्व १०० वर्ष अघिका चरकले रचना गरेका सुश्रुत संहिता र चरक संहितामा रहेको आयुर्वेदिक ज्ञानलाई पतञ्जलि योगपीठमा पुनरुत्थान गरिएको थियो ।

रामदेव र बालकृष्ण सुरुकालीन दिनमा शुद्ध फकिरी जीवन बाँचेका संन्यासी थिए । थियो त उनीहरुसित साधनाबाट आर्जित विचार र भावनामात्र थियो । उनीहरुसित कुनै गतिलो श्रोतसाधना थिएन । तर, उनीहरुको विचार शक्तिले साधनस्रोत जुटाउँदै गयो । पैसा जुट्तै गयो र उनीहरुले यो विशाल संस्था खडा गरे । उनीहरु अहिले अनेक उद्योग खोल्ने तयारीमा छन् ।

तर, हरिद्वारमा साधुसंन्यासीका अन्य विविध रुपहरु पनि देखेँ । आरतीको बाहनामा चन्दा उठाउनेहरुको नग्न भीड पनि देखेँ । गङ्गातटमा नुहाउन मरिहत्ते गरेका दृश्य पनि देखियो ।

अधिकांश मन्दिर र तीर्थ क्षेत्रहरुमा तथाकथित धार्मिक जनको पाखण्ड लिला नाङ्गोरुपमा प्रदर्शन भएको हुन्छ । धर्मको नाममा चलेका ढोँगमा हाटहरुले कुरीकुरी लाग्ने बनाउँछन् । धेरै जस्तो धर्मकर्म भित्री आस्था कम आडम्बरीपन देखाउन बढी उत्सुक रहेका हुन्छन् । गङ्गातटमा चलेको व्यापारदेखि ताज्जुब लाग्यो ।

पानीका ग्यालेन बेच्नेदेखि, हातमा मेहेदीका बुट्टा भर्नेसम्म, ओछ्याउने चकटी बेच्नेदेखि फूलप्रसादी बेच्ने सम्मका व्यापारहरु भव्यरुपमा चलेको देखियो ।

गङ्गातटमा बसेर मान्छेको अन्धभक्ति र पाखण्डी खेल गहिरोसित निहारी रहेकब वखतमा एकहुल केटा आएर मलाई घेरे । टोपी लाएको सोझो पहाडे केटो ठानेछन् क्यारे । यस ठाउँमा चप्पल लगाउनु हुँदैन भनेर र्याखर्याख्ती अत्याए ।

त्यहाँबाट अर्कोतिर लागेँ । मान्छे निचतामा खसेका अनेका दृश्यले मेरो हृदय बोल्यो– बाहिरको एभरेष्ट त अप्पाले एघारचोटि चढिसके तर मनको एभरेष्ट कहिले चढ्ने होला ? साँच्चै मनकै शिखर चढ्न अप्ठ्यारो छ । यस्ता तीर्थक्षेत्रमा मान्छेका अनेकन मूढता प्रकट हुन्छन् । मान्छेका निर्दयीपन र जडता उद्घाटित हुन्छन् ।

हरिद्वारको गङ्गातटमा डुल्दाडुल्दै हाम्रो समूहका साथीहरु आ–आफ्नै रुचि र रसका दृश्य हेर्दाहेर्दै कोही कता कोही कता तितरबितर हुन पुगेछौँ । बेलुकी वासस्थान फर्किने बेलामा सबै त जम्मा भैयो । वयोबृद्ध सदस्य पाठक बूढा हराए । वडा आपत आइलाग्यो ।

आशिषजी र मैले तीनघण्टा भीडमा खोज्यौँ । अन्तिममा बसमा भेटिए बुढा । बुढा त भेटिए । फेरि आशिषजी हराउनु भयो । आशिषलाई खोज्न भीम पराजुली र विन्देश्वरजी हिड्ँनुभयो । आशिष आफैँ आइपुग्नुभो । उहाँहरु फेरि हराउनु भयो ।

उनीहरुलाई खोज्न फेरि जीवन मेहमान जानुभयो । फेरि उहाँ हराउनु भयो । यसरी साथीहरु भेटिने र हराउने सिलसिला चलिरह्यो ।

साँझपखसम्ममा बल्लतल्ल सबैजना एकत्रित भैयो । आफ्नो बासस्थान ब्रह्मपुरी फर्केर विश्राम गरियो ।

२०६६।०२।१९

आजको दिनको योजना रामतीर्थले जलसमाधि लिएको स्थान ब्रह्मपुरीस्थित गङ्गातट पुग्ने योजना थियो । बिहानको चियानास्ता गरेर हिँड्दै त्यस ठाउँमा पुगियो । स्वामी रामतीर्थ भारतका एक प्रज्ञावान् सन्तमात्र थिएनन् । उनी नामुद गणितज्ञ पनि थिए ।

उनको जन्म सन् १८७३ मा पन्जावमा भएको थियो । उनको मृत्यु १९०६ मा भएको थियो । तेत्तीस वर्षको उमेरमै जलसमाधिबाट स्वैच्छिक मृत्युवरण गरेका थिए । सनातन धर्म दर्शनका मूल्यहरुलाई जापानदेखि अमेरिकासम्म फिँजाउनमा उनको ठूलो देन रहेको छ । उनी फक्कड फकिर थिए । तर, उनी आफूलाई बादशाह पदावलीले सम्बोधन गर्थे । आफूलाई बादशाह भन्थे । अरुले चाहिँ यिनलाई पागल भन्थे ।

चालीस वर्षसम्म जलसाधना गरेर पानीमा टेकेर नदी तर्न सक्षमता हासिल गरेको एक सिद्ध जोगीलाई उनले चारानाको सिद्धि घोषणा गरिदिए । माझीलाई दुई आना तिर्यो भने नदी तारिदिन्छ । तिम्रो सिद्धिको मूल्य चाराना बराबरको छ भनिदिए । उनले विश्वविद्यालयको प्रध्यापक पद त्यागेर ब्रह्मपुरीमै आएर साधना गरी आत्मसाक्षात्कार हासिल गरेका थिए ।

विश्वविद्यालयमा गणित विषयका इनेगिने प्राध्यापक थिए । उनलाई त्यस जागिरले बाँधिरहन सकेन । पूर्णरुपेण संन्यासी जीवन अपनाएर उत्तराखण्ड आए । टिहिरीका राजा कीर्तिशाहको प्रेरणामा सनातन दर्शनको प्रचारको लागि जापान गए । अमेरिका गए । अमेरिकामा दुईवर्ष बसेर भारत फर्के ।
उनले आफूलाई बादशाह घोषणा गरेका थिए । उनको अर्थमा बादशाह त्यो पुरुष हो जो कुनै पनि चिजको गुलाम छैन । न धनको गुलाम न पदको गुलाम । हरप्रकारका गुलामीबाट मुक्त पुरुष नै बादशाह हो । ३३ वर्षको युवा उमेरमै ब्रह्मपुरीको गङ्गातटमा जलसमाधि लिएर अनन्तमा लीन भएका थिए ।

यस्ता बुद्धपुरुषले मृत्युवरण गरेको ठाउँ पुग्न पाउनु एक दुर्लभ क्षण थियो । त्यसै ठाउँमा स्नान गरियो । उनले ध्यान गरेका गुफाहरु हेरियो ।
त्यहाँबाट फर्केर ऋषिकेश घुमियो । हिन्दु धर्मदर्शनको मिथकअनुसार रामलाई रावणउपर विजय हासिल गर्न निकै मुस्किल पर्यो । गुरु वशिष्ठको सल्लाहअनुसार यसै थलोमा तपस्या गरेका थिए भनिन्छ । यो ठाउँ हरिद्वारबाट चौबिस कि.मि. उत्तरमा रहेको तपोभूमि हो । यसलाई प्राचीनकालदेखि नै देवभूमि, आदर्शभूमि, औषधि र योगध्यानको केन्द्रभूमि पनि मानिन्छ ।

यहाँको लक्ष्मणझूला, रामझूला, त्रिवेणी धाम, फोटो ग्यालेरी घुमीघुमी हेरियो ।

दिउँसोमा मधुसित भेट्न गैयो । उनी आचार्य रजनीशकी प्रथम स्त्री संन्यासिनी थिइन् । बाह्र वर्ष ऋषिकेशमा मौन साधना गरेकी थिइन् । जतिखेर हरिद्वार ऋषिकेशमा ओशो संन्यासीहरुलाई घृणाको भावले हेरिन्थ्यो । सो समयमा ओशोले उनलाई अरुको लागि धेरै गर्यौ, अब आफ्नो लागि त केही गर भनेर साधनाको लागि ऋषिकेश पठाउनु भएको थियो ।

उहाँ बाइस वर्षको उमेरमा सबैकुरा त्यागेर ओशोप्रति समर्पित शिष्यको रुपमा काम गर्नुभएको थियो । ओशोको देशना देशव्यापी बनाउनमा प्रारम्भिकालमा उहाँहरुले धेरै मिहेनत गर्नुभएको थियो । उहाँ नाताले भारतीय प्रधानमन्त्री मोरारजी देसाईकी भतिजी हुनुहुन्थ्यो भनिन्छ । उनलाई भेट्यौँ । हामीलाई मीठाइ खुवाउनु भयो । बेलुकी आफ्नै वासस्थान ब्रह्मपुरी आश्रममा आयौँ ।

२०६६।०२।२३

बिसदेखि बाइस गतेसम्मका तीनदिन मौन मेडिटसन क्याम्पमा रह्यौँ । गङ्गातटको शितल जलप्रवाहमा अनेकौँचोटि डुबुल्की मारियो । जेठको गर्मीमा अलिकति पसिना आउनासाथ गङ्गामा ओर्लेर पौडी हानिन्थ्यो । भरपुर आनन्दले बित्यो यो एकहप्ता ।

मेडिटेसनले मनलाई शान्त बनाउन अहम् भूमिका खेल्दोरहेछ । विज्ञानले भन्छ – मनमा चार अवस्था छन् – डेल्टा, थिटा, अल्फा, विटा ।
मन डेल्टा र थिटा अवस्थामा रहँदा अति आनन्दित रहन्छ । बिटा अवस्थामा थोरै आनन्दित रहन्छ । अल्फा अवस्थामा रहँदा दुःखी हुन्छ ।
ध्यानले अल्फा बिटा अवस्थामा रहेको मनलाई डेल्टा थिटा स्थितिमा लैजान भूमिका खेल्दछ । आज सारा संसार ध्यानप्रति आकर्षित भइरहेको दृश्य हरिद्वार ऋषिकेशका ध्यानकेन्द्रमा विदेशीहरु ओइरिएको देख्ता भित्रैबाट महसुस भयो ।

आजका डाक्टर, इन्जिनियर, विज्ञानवेत्ताहरु पनि ध्यानको वैज्ञानिक रहस्य थाहा पाउन मेडिटेसनप्रति आकर्षित भैरहेका छन् ।

बुद्धले प्रवर्तन गरेका विपस्सना र आनापान सतियोग मेडिटेसनप्रति संसारका बौद्धिकजनहरु अभिमुख छन् । अहिलेको विश्वमा मान्छे तनाव, डिप्रेसन, एन्जाइटीबाट दिन परदिन संक्रमित हुँदो छ । त्यसबाट बँच्ने स्थायी उपाय ध्यान नै हो भन्ने कुरामा पूरै मेडिकल दुनियाँ एकमत छ । त्यसैकारण पनि ऋषिकेश र पूनाका ध्यानकेन्द्रमा पश्चिममा खैरेहरुको लर्को लागेको हुँदो हो ।

जेहोस्, ऋषिकेश ब्रह्मपुरीका मेडिटेसनबाट गहन शान्ति प्राप्त गरेर हाम्रो टिम बसबाट दिल्ली फर्क्यौँ । दिल्लीबाट जयनगरको रेल समातेर घर फिर्ता भइयो । दशदिनको उत्तराखण्ड क्षेत्रको यात्रा सुखद र सुन्दर यात्रा रह्यो ।