दिन ढल्कन लाग्दा हुवाए होटल छोडेथ्यौँ हामीले । अगस्त ५ सन् २०१९ अर्थात् चीनको हुनान प्रान्तको राजधानी सहर छाङ्सा पुग्दाको छैठौँदिन ओरेन्ज आइल्याण्ड जाँदै थियौँ हामी ।

“पहाड, नदी र आइल्याण्डका लागि प्रख्यात छ छाङ्सा । छाङ्सा हुँदै बग्ने स्याङ नदी तटमा रहेको छ ओरेन्ज आइल्याण्ड । ओरेन्ज आइल्याण्डको पश्चिमतिर पर्दछ माउण्ट येलु ।” उज्यालो अनुहारमा मुस्कान थप्दै बोलिथिन् जोउ लिहङ ।

गगनचुम्बी भवनहरूको बीचबाट गुज्रियौँ हामी । दायाँबायाँ हरियाली हुर्काएको फराकिलो सडकले गरेको छ हार्दिक स्वागत । सडक किनारमा देखिन्छन् फलफूल, तरकारी र फूलका गमलाहरू पनि ।

भेषराज रिजाल

हल्का गर्मीले छुँदा पसिनिएको मनमा झन् बढेको छ सन्ध्याकालीन छाङ्सा नियाल्ने रहरको उष्णता । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको छिमेकी मुलुक चीनमा टान, सङ, हान, सुइ, युआन, मिङ, छिङ आदि राजवंशको शासनकालपछि सन् १९१२ मा गणतन्त्र र सन् १९४९ मा जनवादी गणतन्त्र स्थापना भएको रहेछ । समाजवादी बजारमुखी अर्थव्यवस्था अवलम्बन गर्दै विश्वको दोस्रो ठुलो अर्थतन्त्रसहित शक्तिशाली मुलुक बन्न सफल बनेको रहेछ चीन । माओ, देङ स्याओ पिङ, सि चिनफिङ आदि असल राजनेता र मेहनती जनताको प्रयासले द्रुत गतिमा विकास भएको रहेछ । योजना, अठोट र कदमबाट बन्दो रहेछ मुलुक । पढेर र सुनेर नसकिने इतिहास रहेछ चीनको । उस्तै रहेछन् विकास र समृद्धिको पथमा लम्केका अनुकरणीय भोगाइ र सङ्घर्षका कथाहरू पनि ।

प्रोफेसर से जुङसमेतले कोरिदिएको अद्भुत चीनको चित्र सम्झन्छु झल्झली । चिनियाँ इतिहास, भूगोल, प्रविधि र विकासबारे जानकारी पाएका विषयहरू उन्मादी रङ छर्दै घुमिरहेछन् मनमा, आँखामा ।

राजनेताको दूरदर्शिता, बुद्धिमत्ता, राष्ट्रभक्ति र त्याग एवं जनताको परिश्रमबिना कहाँ सम्भव छ र मुलुक बन्न ? आफ्नो मुलुकलाई सम्झँदै मनमनै दोहोर्याएथेँ मैले ।

भ्रष्टाचारी, माफिया र विदेशीहरूको चङ्गुलमा फसेको निरीह राजनीतिले केही गर्न सक्दो रहेनछ मुलुकमा । सत्तामोहमा लिप्त अविवेकी राजनीतिले जनतालाई सुख दिन सक्दैन । चिनियाँहरूले भने राजनीतिलाई पद्धतिको साँचोमा हालेर मुलुक विकास गरेका रहेछन् ।

सन् २०१९ अगस्त १ देखि अगस्त २१ सम्म चीनको हुनान प्रान्तको छाङ्सामा सञ्चालित ‘एण्टी करप्सन मिजर्स एण्ड प्राक्टिसेज फर नेपाल’ नामक सेमिनारमा सहभागी हुन गएका थियौँ हामी । चिनियाँ विकास, प्रविधि, सुशासन र समृद्धि देख्दा सामुन्ने एउटा उज्यालो क्षितिज फेला परेझैँ चकित थियौँ हामी ।

सुकिला छन् हरेकदिन पखालिने सडकहरू । सडकछेउमा हुर्केका रूखहरूको छायाँ छ उस्तै मोहक । बिसौनीमा रोकिँदै मान्छे चढाउँदै र ओराल्दै कुदिरहेछन् ठुल्ठुला बसहरू । फुटपाथमा पनि सराबरी छन् साइकल, स्कुटर र मान्छेहरू । खानेपिउने ठाउँमा छ अचम्मको भीड । केटाभन्दा केटी मान्छेको छ बाहुल्यता । तिनीहरूको हातमा मोबाइल फोन र पिठ्युँमा छ सानो झोला । झोलामा देखिन्छ पानी वा ग्रीन टीको बोतल । छोटा कपडामा सजिएर आधुनिकता प्रदर्शन गरिरहेका हिराजस्ता ती उज्याला मान्छेहरूलाई गर्मीको तातोले पनि छुन सकेको छैन ।

“उई स्क्वायर– एउटा विजिनेस सेन्टर हो छाङ्सा सिटीको ।” जिज्ञासाको भोकले अधमरो भइसक्दा बल्ल बोलिथिन् जोउ ।

घाम पहेँलिँदै छड्के पर्न थालेपछि शीतल हावाले गर्न लाग्यो स्पर्श । आकास छोइरहेका घरहरूले पनि हामीतिरै परावर्तन गरिरहेछन् आकर्षणका अनेक रङ ।

स्याङ नदीको पुल तर्यौँ । चिनियाँ युवा युयेन छिङ (जोनी) ट्राम चढ्ने टिकट लिन काउन्टरतिर जाँदा हामी एकछिन छरिएथ्यौँ ओरेन्ज आइल्याण्डको चहलपहल हेर्न । सुन्तलाका लागि प्रख्यात ओरेञ्ज आइल्याण्डभर फैलिएको थियो बेग्लै उज्यालो । सुन्तलाको मिठास र सुन्दरताले ढाक्दा अझ कस्तो देखिँदो हो यो ठाउँ ?

सबैजना लाइन लागेर अघि बढिसक्दा चिनियाँ युवती चोउ छाङ्नी (न्यान्सी) ले तान्दै भनिथिन् मलाई– हामी पछि छोडियौँ । अनि दौडँदै गएर चढेथ्यौँ रेलजस्तो डिब्बैडिब्बाको ट्राम ।

जब ट्राम रोकियो, विशाल मूर्ति उभियो हाम्रो सामु ।

आकास छोएको छ शिरले । कान छोपेको छ कपालले । चिउँडोमा छ सानो कोठी र छाती छ आकासभन्दा फराकिलो । बीसबाइसे त्यो ठिटो मुलुकको दूरभविष्य ताक्दै दृढतापूर्वक हेरिरहेछ क्षितिजतर्फ ।

“कसको मूर्ति हो यो ?”

“चेयरम्यान माओको ।”

गोलो अनुहारमा मुस्कान थप्दै मेरो जिज्ञासामा बोलिथी न्यान्सी ।

हुनान प्रान्तकै साओस्यान गाउँमा जन्मिएका माओले स्याङ नदी तटमा खेलेर बिताएथे रे बाल्यकाल । जनवादी गणतन्त्र चीनको संस्थापक उनै माओको सम्झनामा सन् २००९ मा बनाइएको रहेछ एकसय फिटभन्दा अग्लो त्यो मूर्ति ।

साँझको चकमन्नतामा सबैको नजरमा उभिएको थियो त्यो मूर्ति । मूर्तिकै शिरमाथि चम्चमाइरहेथ्यो खुर्पे चन्द्रमा । आकासको चन्द्रमा र माओको अनुहार उस्तैउस्तै देखियो । एउटा स्वर्गमा र अर्को विशाल धर्तीको छातीमा हाँसिरहेथे । मान्छेको मनमा उज्यालो छर्नेहरू बढ्ता जग्मगाउँदा रहेछन् । मेरो नजर पनि मूर्तितिरै थियो ।

आफ्नो सामुन्ने उभिएका हजारौँ युवाहरूसँग बोलिरहेझैँ देखिथ्यो त्यो जीवन्त मूर्ति । मूर्तिले पनि सायद दिँदो रहेछ अटल आस्था र विचार ।

म उभिएको छु
ओरेन्ज आइल्याण्डको टुप्पोमा
र स्याङ नदी बगिरहेछ उत्तरैउत्तर
चिसो आकासमुन्तिर उभिएका लाखौँ मानिसहरू
अलिकति त याद गर–
सागरलाई रोक्न पानीमा हिर्काउँदा
छालहरू डुङ्गासरि गतिशील हुँदैनन् र ?

ओरेन्ज आइल्याण्डको उचाइ, स्याङ नदीको गहिराइ, अनन्त आकास र दूर क्षितिज नियाल्छु म तारन्तार । तर छुट्याउन सक्दिनँ– कहाँबाट प्रतिध्वनित भइरहेथ्यो त्यो जोसिलो प्रवाह ! आवाज जताबाट आए पनि आफू सामुन्नेका मान्छेहरूलाई नै सम्बोधन गरिरहेझैँ लाग्थ्यो त्यो अमर आवाजले !

कता कसका क्यामरामा उभिनु खोई ? प्रकाश, रञ्जन र पेइ याङ (सनी) ले रात्रिको अँध्यारोलाई जिस्क्याइरहेको पहेँलो बत्तीमाथि क्यामराको फ्ल्यास थपेर माओको मूर्तिसँगै रङ्गयाइदिनुभएथ्यो अजम्बरी सम्झना ।

हँसिया चन्द्रमा हाँसिरहेछ सफा आकासमा । थुम्के पहाडमा पोखिएको छ शीलत चाँदनी । चाँदनीको उज्यालोले पखालिएका छन् स्याङ नदी किनारका बैँसका रुखहरू पनि । त्यसमाथि जादु चलाइरहेछ झ्याउँकिरीको सङ्गीत । त्यो मोहक प्रकृतिमा प्रेमिल जोडीका हाउभाउ र बोलीचालीले फैलाइरहेछ मादक उत्तेजना । वासनाको हलुका वाष्फमा मन घरि उडिरहेछ, घरि निसास्सिइरहेछ ।

ल्युयाङ, मिन्ज्याङ आदि नदीहरू मिसिएर शान्त बगिरहेको रहेछ स्याङ नदी । स्याङमा तैरिरहेका स्टीमरहरूले फैलाइरहेथे असङ्ख्य छालहरू । स्याङ नदीलाई मनले छुँदा मात्र त यत्ति शीलत लागिरहेछ, अझ पानीमा लुटपुटिएर बयली खेलिरहेका छालमाथि हलुङ्गरी पौडिन पाएको भए ! छालसँग लहरिएथेँ म धेरैबेर । नदी किनारका गगनचुम्बी घरहरू र नीलो आकास अटाउने ती छालसँग वेगिएथ्यो मन बेतोडले ।

आफ्नो मान्छेलाई लेखेर पठाएको म्यासेजले आफैलाई हिर्कायो बारम्बार– “हजारौँ माइल टाढा भए पनि म तिम्रै स्माइल वरिपरि छु ।”

हो, सुख र दुःखमा आफन्तकै खोजी हुँदो रहेछ हरपल । जत्ति टाढा पुग्यो उत्ति बढ्दो रहेछ माया र सम्झना ।
सञ्जयले स्याङ नदी किनारमा खिचिदिनुभएथ्यो फोटो । रात्रिको अन्धकार बिर्सेर अनेक पोजमा उभिएथ्यौँ सुदीना, श्रद्धा र म । तर जत्ति गरे पनि श्रद्धा बहिनीको गुनासो रहिरह्यो– “फोटोमा आँखा राम्रो आएन, आँखा टल्किरहे ।”

“आँखै मोतीजस्ता छन् त म के गरूँ ?” सञ्जयको जवाफले नदीमा लहर उर्लने गरी हाँसेथ्यौँ हामी ।

परिवारसँग सन्ध्याकालीन पदयात्रामा निस्किएकी थनिया आइपुगिथिन् हामीसँग कुरा गर्न । जुम्ल्याहा सुचुप र सुचुहसँग गराइथिन् चिनजान । लि चङ र उनकी आमाले पनि गरेथे त्यसै ।

“आखिर उन्मादी रङले नै सुन्दर लाग्दो रहेछ जीवन ।” ओरेन्ज आइल्याण्डबाट फर्कन लाग्दा साथीहरूसँग भनेथेँ मैले ।

छिप्पिँदो साँझका अनेक रङसँग घोलिएर स्याङ नदी इन्द्रेणी हारझैँ देखिँदा ओरेन्ज आइल्याण्डमा पनि उस्तै चमक थियो ।

माओको मूर्तिसँग फोटो खिच्नेहरूको भीड पनि थपिँदै थियो झन्–झन् ।