म दोस्रोपल्ट असम जाँदैछु । असम भन्नासाथ म भारतरत्न भुपेन हजारिकालाई सम्झिन्छु – उहाँले भारतको सर्वोच्च नागरिक सम्मान ‘भारतरत्न’ पाएकोले मात्र होइन कि, आफ्ना लोकगीत, संगीत र कविताद्वारा करोडौं-करोड जनताको मुटुलाई उद्वेलित पारेर उनको मन-मस्तिष्कमा राज गर्न सफल भएकोले । म यो मेरो नियात्रा संस्मरण उहाँकै कालजयी गीतिकविताका केही पङ्क्तिबाट सुरू गर्न चाहन्छु ।

বিস্তীৰ্ণ পাৰৰে অসংখ্য জনৰে

विस्तीर्ण पारोरे अख्योंक जोनरे

हाहाकार खुन्यु निखोब्दे निरोवे

बुह्रा लुइत तुमी

बुह्रा लुइत बुवा कियो …

कविले ब्रम्हपुत्रलाई सम्बोधन गर्छ कि अपार विस्तार भएको हे ब्रम्हपुत्र तिम्रो दुवै किनारमा असंख्य जनता हाहाकार गर्छ र तिमी केही नभनी चुपचाप बग्ने गर्छ्यौ, किन ?

ब्रह्मपुत्र साँच्ची नै विशाल छ । पुराणहरू अनुसार प्रजापति ब्रह्माको पुत्र भएकोले यसको नाम ब्रह्मपुत्र भएको हो र संसारमा यो मात्र यस्तो नदी हो जो स्त्रीलिङ्गी नभएर पुलिङ्गी हो र सोही कारणले यसलाई नदी होइन कि नद भनिन्छ । यो संसारको १५ औँ लामो नदी जो तिब्बेत-असम-अरुचल प्रदेश-बंगलादेश हुँदै बङ्गालको खाडीमा गएर समुद्रमा मिसिन्छ र तदनुसार यसलाई तिब्बेतमा यार्लुंग सांग्पो, असममा लुइत, अरुनांचल प्रदेशमा सियांग र बङ्गलादेशमा जमुना भन्छ । करोडौं मानिसहरू यसका किनारमा बसोबास गर्छन् र जीवनयापनका लागि सम्पूर्ण रूपले यसैमा निर्भर गर्छन् । यसै नदीको किनारमा कृष्ण-बाणासुर युद्ध भएको थियो र भगवान् शिव आफ्नो भक्त बाणासुरको आर्त पुकार सुनेर लीलापुरुष कृष्णसँग लड्न उद्यत हुनुभएको थियो । एकातिर कृष्ण अर्कोतिर शिव: एकातिर हरि अर्कोतिर हर – त्यसैले यस युद्धलाई ‘हरिहर युद्ध’ पनि भनिन्छ । यसको वर्णन मैले आफ्नो पहिलो असम यात्रामा गरेकोछु जो ‘नौ डाँडापारि’ पुस्तकमा सङ्ग्रहित छ । ब्रह्मपुत्र बखान अहिलेलाई यति नै ।

असम भ्रमणमा निस्केको हाम्रो यस टोलीमा म र बेलायत बस्ने विजय हितान मात्रै बिजोडी छौँ बाँकी अरू सबै जोडीमा छन् । बाँकी भन्नाले जोडी नम्बर (१) यस भ्रमणको योजनाकार डा. गोविन्दराज भट्टराई एवम् सही अर्थमा उनकी जीवनसंगिनी डा. अन्जना भट्टराई, (२) डा. गोविन्दराजको दाजु तथा पुराणका ज्ञाता श्री कमलराज भट्टराई र उहाँकी सहधर्मिणी शिक्षिका श्रीमती निर्मला भट्टराई, (३) डा. गोविन्दराजको भाइ तथा विद्यालयका प्राचार्य श्री खगेन्द्र भट्टराई र उहाँकी सहचरी-सहकर्मी डा. व्यञ्जना भट्टराई, र (४) विशाल व्यक्तित्वका स्वामी तथा सुधी समालोचक डा. कुमार कोइराला र उहाँकी शरीके-हयात श्रीमती कोइराला । साथमा हुनुहुन्छ पर्यावरण क्षेत्रमा काम र साहित्य सृजना सँगसँगै लाने क्षमतावान् ऊर्जावान् श्री विजय हितान, र अनि बिचरा म । यो कवि, समालोचक, निबन्धकार, गृहणी, व्यस्थापक, र शिक्षकहरूको अनौठो टोली आज भ्रमणमा जाँदैछ – असमको राजधानी गुवाहाटी हुँदै विश्वनाथ चारआली, तेजपुरसम्म । यस भ्रमणको सबैभन्दा ठूलो विशेषता र परिणाम के भयो भने भ्रमण सकेर स्वदेश फर्केपछि टोलीका झन्डै-झन्डै सबै सदस्यले साहित्य सृजना गर्न थाले । जय साहित्य!

मेची पुल तरेर हाम्रो बोलेरो हामी सबैलाई बोकेर एसिया हाइवे २ मा गुड्न थाल्छ । यो फराकिलो चिल्लो एसिया २ राजमार्ग चाइनाबाट थाइल्याण्ड म्यान्मार हुँदै इन्डिया र अनि नेपाल पसेर पाकिस्तान-अफगानिस्तान-इरानसम्म जाने हो रे । इन्डियासम्म बनिसकेको त हामी हेर्दैछौँ र अब नेपालमा कहिले बन्ने हो हेर्न बाँकी छ । हामीले न्यु जलपाईगुडीमा राजधानी एक्सप्रेस समातेर आजै गुवाहाटी पुग्नुछ । पानी ट्याङ्की कट्नासाथ हाइवेको दुवैतर्फका हरियोले हाम्रो ध्यानाकर्षण गर्छ । बाँसघारी, सुपारी, आँप, लिची आदिका रूखपातहरूले झ्याम्मै छोपिएका टाइलका स-साना घरहरू । धेरैजसो घरको अगाडि पानीले लबालब सानो पोखरी वा ठूलो खाल्टो । गाउँसकेपछि आँखाले भ्याइन्जेल्सम्म खेत – तरकारी फलिराखेका, कहीँ-कहीँ एउटा दुइटा किसान खेतका आलीमा हिँड्दै गरेका र कहीँ-कहीँ गाई-वस्तुहरू चरिरहेका । हाइवेको साइडमा न त इँट सिमेन्टका ठूल्ठूला घरहरू, न धुवाँ ओकल्ने फ्याक्ट्रीहरू । कति शान्त र सुन्दर !

“विजय-जी ! हेर्नुस् त कस्तो राम्रो ! कति शान्त !”, गोविन्द सर गाडीको अगाडिको सीटबाट विजयजीको ध्यानाकर्षण गराउनुहुन्छ ।

विष्णु एस राई

“हो सर ! यिनीहरूले पर्यावरण जोगाउन जानेको छ । हाम्रो नेपालमा चाहिँ किन हुन नसकेको होला । विजयजी फर्काउनुहुन्छ । पर्यावरण उहाँको प्रोफेसन पनि हो, साहित्य सृजना पनि, माया पनि हो र सायद जीवन पनि । पर्यावरण भए उहाँलाई अरू केही चाहिँदैन । अरू साथीहरू नेपालमा पर्यावरण राम्रो किन छैन भन्ने कुरामा आ-आफ्ना विचारहरू पोख्न थाल्छन् र गाडीभित्र वातावरण निकै गम्भीर हुन पुग्छ । म चाहिँ गाउँको सुन्दरता देखेर सुप्रसिद्ध कवि-उपन्यासकार बंकिमचन्द्र चटरजीको कविता सम्झिन्छु –

বন্দে মাতরম্৷…

वन्दे मातरम्।

सुजलाम् सुफलाम्

मलयजशीतलाम्

शस्यश्यामलाम् मातरम्।

वन्दे मातरम्।

भनिन्छ, यस कवितालाई भारतको राष्ट्रगानको लागि छानिएको थियो तर अन्तत: रविन्द्रनाथको कविता ‘जन-गन-मन’लाई छानियो । वास्तवमा रवीन्द्रले त्यो कविता तत्कालीन इन्डियाको ब्रिटिश सम्राटको भारत आगमनको बेला स्वागत गानको रूपमा लेखेका थिए । त्यो कवितालाई राम्ररी अर्थाउँदा त्यस्तै बुझिन्छ पनि जबकी बंकिमको कविता सही अर्थमा राष्ट्रगान हुने लायकको छ । हुनसक्छ, त्यतिबेला रवीन्द्रले नोबल पुरस्कार पाइसकेकोले बंकिमलाई ओझेलमा पारियो । यो संसार यस्तै हो । सबैले बलेको आगो नै ताप्ने हो । यो समस्या हाम्रो नेपालमा पनि छ । प्राय:जसो कसले कसरी र किन पुरस्कार पाउँछ त्यो अति रहस्यमय छ । अस्ति फेसबुकबाट थाहा भयो एक जना सज्जनलाई ११ वटा साहित्यिक पुरस्कार एकै पल्ट प्रदान गरियो । रवीन्द्र धेरै ठूलो साहित्यकार हुन् तर राष्ट्रगानको सन्दर्भमा उनको कविता बंकिमको कविता अगाडि कुनै कोणबाट पनि टिक्दैन । यसै सम्बन्धमा हाँस्य-व्यङ्ग्य कवि अर्जुन पराजुलीको पुरस्कार सम्बन्धी कविता सम्झिन्छु जसमा कम हाँस्य तीखो व्यङ्ग्य र ठूलो प्रश्न लुकेको छ ।

किनेर पाउनु भयो कि चिनेर

बिनेर कि बिहेको मसलै पिनेर

कि बढाबढमा छिनेर

कि मदिराको कामकुरो छिनेर

कसरी पाउनु भयो पुरस्कार कसरी पाउनु भयो ।

पुरस्कार

कि मार्निंग वाकमा सँगै हिनेर कि सँगै पिएका थोपा-थोपा गिनेर

साटेर पाउनु भयो कि चाटेर

जोतेर खेत दाताको कि खनेर कर्दले कसैको कुरा काटेर                   

उधारोमा कि नगदी खनखनी गनेर

कसरी पाउनु भयो पुरस्कार

कसरी पाउनु भयो पुरस्कार

कि मान्छे-मान्छेको डोरी बाँटेर

खेतालो लाउनु भयो कि आफैंले भनेर

गाडीभित्र अहिले पनि नेपालमा पर्यावरण-समस्यामाथि विचार आदान-प्रदान भइरहेको छ जसमा पुरुषहरूको सक्रिय तथा महिलाहरूको मौन सहभागिता छ । हामी न्युजलपाईगुडी स्टेसन पुग्छौँ तर नयाँ भनेको केही पनि छैन । पोका-पुन्ताराहरू बोक्दै उचाल्दै हामी भित्र छिर्छौँ । नयाँ गर्ने प्रयास चाहिँ गरिएको हो तर केले केले कसरी हो, के नपुगेको के नपुगेको जस्तो भान हुन्छ । आधुनिक बनाउनलाई आगमन र प्रस्थान देखाउने स्क्रीनहरू झुन्डिराखेका छन् तर कुनैले पनि काम गर्दैन । हलको  मध्यभागमा गोमाताले हग-मूत्र विसर्जन गरेको सुक्न लागेको छ तर स्टेसन व्यवस्थापनको ध्यानाकर्षण भएको छैन । प्लेटफर्ममा बस्नलाई पर्याप्त बेन्चहरू नभएका कारण यात्रुहरू जसलाई जहाँ ठाउँ पायो त्यहीँ झुण्ड-झुण्डमा बसेका छन्, सुतेका छन्, गफ गर्दै छन्, चिया पिउँदैछन् । हातका सबै औंलामा किसिम-किसिमका औँठी लाएको एउटा मान्छे फोनमा कसैलाई हकार्दैछ । सब आफैंमा मस्त छन् । हाम्रो टोली भाग्यमानी छ किनभने एउटा खाली बेन्च भेटाउँछ जसमा हामी पालैपिलो बस्छौँ, र ट्रेन १ घण्टा ढीलो भएको ले पालैपिलो निदाउँछौं पनि । माइला दाइ (श्री कमलराज भट्टराई) स्टेसनको तीन पल्ट परिक्रमा गर्नुहुन्छ एक पल्ट विजयजीसँग, एकपल्ट मसँग र एकपल्ट एक्लै । गोविन्द सरले कुमार सरको सहायताले चप्पल किनेर लाउनुहुन्छ र त्यति सस्तो पाएकोमा अरूको  मनमा डाह सृजना गरिदिनुहुन्छ: म त त्यसलाई दाबेर बस्छु तर माइला दाइलाई खपिनसक्नु भएकोले अझ त्योभन्दा पनि सस्तोमा किनेर ल्याउनुहुन्छ । बस्दै, निदाउँदै, हाइ काड्दै र बेला-बेला प्लेटफर्मको पल्लो छेउसम्म आवत-जावत गरेर हामी समय बिताउँछौं ।

अन्तत: गाडी आउने सिग्नल हुन्छ । निदाएका, बसेका, झोक्राइरहेका यात्रुहरू जर्याकजुरुक उठ्दै, सहयात्रुहरूलाई उठाउँदै, तम्तयार हुन्छन् र हाम्रो टोली पनि आ-आफ्ना सामान लिएर सावधान हुन्छ । इन्डियाको अति राम्रो ट्रेनहरू मध्ये एक यो राजधानी एक्सप्रेस नयाँ दिल्लीबाट गुवाहाटी आफ्नो निर्धारित समयभन्दा एक घण्टा लेट भएर न्यु जलपाईगुडी स्टेसनमा आइपुगेको छ । एउटा विशाल अजिङ्गरझैं ट्रेनले मुख ह्वाँ गर्छ र हामी सबैलाई एकै पल्ट क्वाप्प निल्छ । हामी सबैको सीट एक जना बाहेक दुईवटा कूपमा रिजर्व छ । त्यो एउटा सीटको चिन्ता नगरी हामी सबै त्यही दुई कूपमा आसन जमाउँछौँ । केही समयपछि ट्रेन पहिला झुसिल्किरोजस्तो बिस्तारै र त्यसपछि तीव्रगति समात्छ । सहरदेखि बाहिर हुनासाथ फेरि हरियो-परियोले आँखालाई शीतलता दिन्छ । म, विजयजी र कोइराला दम्पति भएको कम्पार्टमेन्टमै पछि तीनै भट्टराई दाजुभाइहरू पनि आउनुहुन्छ र चर्चा ट्रेन कति राम्रोबाट कुन कसरी हो देउताको अस्तित्वमाथि हुन् थाल्छ । मेरो आँखा बाहिर गाउँको हरियालीमा र दिमाग अघिको बहस ‘नेपालमा पर्यावरणको ह्रास’मा नै अल्झिराखेको छ । म फेरि बंकिमले भारतमाताको सुन्दरता र उनको प्रफुल्ल अनुहारको सुन्दर वर्णन गरेको सम्झिन्छु र अनि नेपाल आमालाई सम्झिन्छु । मेरो मनले कविता बुन्छ ।

नेपाल आमा गाउँमा बस्छिन् !

खेतहरू छन् रूखो फुस्रो

मटमैलो आँचल आमाको

शुष्क नयनमा जल कोशीको

क्लान्त श्रान्त नि:शब्द रुन्छिन्

नेपाल आमा गाउँमा बस्छिन् !…

राजधानी एक्सप्रेस स्याना स्टेसनमा न रोकिँदै आलेपुरद्वार, कोक्राझार आदि जंकसनहरूबाट कुद्दै छ । कोक्राझारमा घना नेपाली बस्तीहरू छन् र आलेपुर द्वार नाम कुनै आलेको नाममा रहन गएको हो भनेर माइला दाइ भन्नुहुन्छ । बीच-बीचमा हकरहरू विभिन्न चीजबीज र खानेकुराहरू लिएर आउँछन् र ‘गरम चा, कफी’ भन्दै हाम्रो ध्यानाकर्षण गर्छन् र हामी उसलाई चाँपी दिएर फाइदा पनि गराइदिन्छौँ । बेला बखत माइली भाउजु र अन्जना मैडम आउनुहुन्छ र माइला दाइ र गोविन्द सरतर्फ हेर्दै, उहाँहरूले खाननहुने कुरा नखाएको कुरामा विस्वस्त हुँदै केही भन्दै फर्किनुहुन्छ र उहाँ दुवै जना पनि इन्सपेक्सनको यो मधुर त्रासलाई आत्मसात गर्नुहुन्छ । खगेन्द्र भाइलाई मेरो यो शब्द ‘मधुर त्रास’ खुब मन पर्छ । वास्तवमा नेपाली श्रीमतीहरूद्वारा आफ्ना श्रीमानले के खान्छन्, के गर्छन् को यो छड्के त्रासपूर्ण त हो तर यसमा एउटा अनौठो मिठास छ र यो कुरा श्रीमानहरूलाई पनि थाहा छ किनभने यो छड्के उनीहरूकै स्वास्थ्यको लागि हो । पश्चिमा समाजमा पति-पत्नी बीचको यो मधुर त्रास पाइँदैन । बडो रमाइलो वातावरण छ: विशेष रूपले कुमार सर र खगेन्द्र भाइ बीचको नोकझोंकले बेला-बेला सारा कम्पार्टमेन्टमा हाँसोको लहर चल्छ यति धेरै कि माथिल्लो बर्थमा रहेको एउटा भारतीयलाई खपिनसक्नु भएर ऊ अर्कै कम्पार्टमेन्टतर्फ लाग्छ । खगेन्द्र भाइ हेर्दा सिरियस देखिनुहुन्छ तर उहाँभित्र हाँस्यलाई अभिव्यक्त गर्ने यति मीठो भाषा-शैली छ जो दुर्लभ छ । उहाँको अप्रत्यक्ष तबरले गर्ने सूक्ष्म व्यङ्ग्य क्षमतालाई मान्नु पर्छ: यसले माइला दाइलाई पनि छाड्दैन । उहाँले यदि यो आलेख पढ्दै हुनुहुन्छ भनेमा उहाँलाई यस क्षमताको प्रयोग आफ्नो साहित्य लेखनमा गर्नुपर्छ भन्ने सलाह दिने धृष्टता गर्न चाहन्छु । नेपाली साहित्यमा त्यसै पनि हाँस्य-व्यङ्ग्य रचनाको निकै अभाव छ ।

हामी गुवाहाटी पुग्छौँ । यति लामो दूरी कुद्दै आएकोले ट्रेन उभिएर स्वाँस्वाँ-फ्वाँफ्वाँ गर्दै छ । हामीलाई लिन डा. खगेन आउनु भएको छ । उहाँको सज्जनता, विनम्रता, अतिथि-परायणता आदि बारे मैले आफ्नो पहिलो असम यात्रामा वर्णन गरिसकेको छु । यस तीन-चार वर्षको अन्तरालमा उहाँ कति पनि बदलिनु भएको छैन: उस्तै सिम्पल, उस्तै विनम्र ! म उहाँ र गोविन्द सरमा धेरै समानताहरू पाउँछु: दुवैजना उस्तै नम्रभाषी, उस्तै नेपाली भाषा साहित्य-सेवामा समर्पित (खगेनजीले गर्दा आज नेपालीको पढाइ गुवाहाटी विश्वविद्यालयमा प्रारम्भ भएको छ ), उस्तै मन्दगतिमा हिँड्ने र उस्तै थोरै कपाल तर धेरै मगज भएको टाउकाको मालिक । हामी सबै उहाँको पछि-पछि स्टेसनबाट निस्केर उहाँले नै बुक गरिदिएको नजिकैको होटेल जो नेपाली मन्दिरको ठीक सामुने छ, पुग्छौँ । सुविधा ठीक-ठीकै तर खाना अति राम्रो भाको यो होटेलमा हामी दुई रात बिताउँछौँ । होटेल छाड्नुभन्दा पहिले म डा. खगेनलाई बन्धु हरि गौतमको पुस्तक गणेशमान सिंह दिन्छु र पछि अर्को दिन साथीहरूले आफ्ना किताबहरू उहाँलाई दिँदा फोटो खिँचेको देख्दा ‘थुक्क, मैले पनि किन नखिँचेको होला’ भनेर आफैलाई गाली गर्छु । यो मेरो सबैभन्दा ठूलो कमजोरी हो – गर्नुपर्ने, भन्नुपर्ने कुरा ठीक बेला न गर्नु अनि पछि मनमनै कुढ़नु ।

उनीलाई बोलाउने हो

कुनै उपहार किन्ने हो

मनका कुरा गर्ने हो

कहीँ गएर भेट्ने हो

फर्की आउनु भन्ने हो

उनीलाई लिन जाने हो

 

कि मैले माफी माग्ने हो

कहीँ पुराइदिने हो

कुनी हो सधैं कसरी

कुनी हो सधैं कसरी

ढीलो गरिपठाउँछु म!

ढीलो गरिपठाउँछु म!

 

उनीलाई केही दिने हो

उनीलाई फोन गर्ने हो

 

उनीसँग केही माग्ने हो

उनको तारिफ गर्ने हो

 

कहीँ बाटोमा हिँड्दै

कि मूड अफ भएकोमा

उनको हात समाउने हो

आइसक्रिम खुवाउने हो

कुनी हो सधैं कसरी

कुनी हो सधैं कसरी

ढीलो गरिपठाउँछु म !

ढीलो गरिपठाउँछु म !

अर्को दिन टोली खाजा खाएर घुमघाम गर्न निस्किन्छ । पहिलो गन्तव्य हो कामाख्या मन्दिर । मन्दिर एउटा डाँडामा अवस्थित छ र अहिले त मोटरले मन्दिर परिसर भित्रैसम्म पुर्याइदिन्छ । पहिले पनि मन्दिर देखिसकेकोले र जुत्ता खोल्ने अल्सीले मभित्र नजाने पक्षमा छु तर कोइराला मेडमले ‘जानु पर्छ, हिन्नुस्’ भनेपछि म केही नभनेर जुत्ता फुकाल्छु र भित्र प्रवेश गर्छु । भीड छ, दुई-तीन वटा लामो लाइन छ श्रद्धालुहरूको । म विजयजी र माइला दाइ मन्दिरको परिक्रमा गरेर प्रवेशद्वार नजिक उभेर गफ चुट्दै अरू साथीहरूको प्रतीक्षा गर्छौँ । माइला दाइ माताको महिमा बताउनु हुन्छ: जून महिनामा मन्दिरबाट रातो पानी बग्छ जुन माता रजस्वला भएको मान्यता रहेको र त्यही बेलादेखि रोपाईं पनि प्रारम्भ भएको कुरा मिथक र जीवनको सम्बन्धलाई जोड्ने कुरा हामीलाई अवगत गराउनुहुन्छ । जून महिनामै ठीक त्यही समयमा ब्रह्मपुत्रको पानी पनि रातो हुन्छ रे जुन माता रजस्वला भएकै कारण हो भन्ने जनविश्वास पनि छ र पानी किन रातो हुन्छ त्यसको वैज्ञानिक व्याख्या अहिलेसम्म हुन् सकेको छैन अरे । हामी यस्तै यस्तै कुरा गर्दै बस्छौँ, विजयजी बेला-बेला फोटो खिंच्न जानुहुन्छ र फेरि फर्की आउनुहुन्छ । बिस्तारै गोविन्द सर, डा. अन्जना, माइली भाउजु र खगेन्द्र दम्पती पनि आउनुहुन्छ तर कोइराला दम्पतिको अतोपतो छैन । हामी निकै बेर पर्खिन्छौँ – विजयजी खोज्न जानुहुन्छ र खाली हात फर्किनुहुन्छ । वास्तवमा उहाँहरू त माताको दर्शन गर्न लाइनमा लाग्नु भएकोले ढीलो भएको रहेछ: आएपछि कोइराला मेडमले सबैलाई माताको प्रसाद दिनुहुन्छ र उहाँको प्रफुल्ल अनुहार देखेर म पर्खाइको बोरियत सजिलै बिर्सिन्छु ।

हाम्रो अर्को गन्तव्य हो उमामहेश्वर मन्दिर जो ब्रह्मपुत्रको मध्यमा छ र यसले फेवातालको बीचमा भएको मन्दिरको सम्झना गराउँछ । फरक के छ भने त्यहाँ भक्तजनहरू डुंगामा जान्छन, यहाँ मोटरबोटबाट । मन्दिर डाँडामाथि छ । सबै साथीहरू उकालो लाग्छन् म अल्छे चाहिँ जान्न – मन्दिर पहिला पनि देखिसकेको ले त्यतै अल्मलिन्छु । किनारमा पूजा-आजाको सामान बेच्ने पसलहरू छन् र साथै खाने-पीने कुराहरूको पनि । एउटा दम्पतिले ठेलागाडामा नरिवल बेच्दैछ । पुरुषले आसलाग्दो नजरले आउने-जानेहरूलाई हेर्छ – कसैले आएर किनिदिन्छ कि ! महिला बसेकी छिन् भुइँमा स्यानी बच्चीलाई काखमा लिएर । हेर्दै थाहा हुन्छ दम्पतिको हालत दयनीय छ, आज उनीहरूको मुखमा अन्नको दाना पनि गएको छ कि छैन । डाँडामाथि ध्यानमग्न उमामहेश्वरको ध्यान यता छैन: टाढा-टाढाबाट आएका भक्तजनहरूको मनोकामना पूरा हुन्छहोला तर यो दम्पतिको मनोकामना पूरा भएको छैन भन्ने कुरा त प्रष्टै छ । म एउटा नरिवल किन्न्छु र त्यसको पानी पिउँदै उर्दू सायरको सेर सम्झिन्छु:

सच कह दूँ यी बिरहमन गर तू बुरा नमाने

तेरे बुतकदे के सारे बुत हो गए पुराने ।

(साँच्ची भन्छु हे पुजारी तिमी अन्यथा नलिनु

तिम्रो मन्दिरका सबै मूर्तिहरू भइगए पुरानो)

त्यही दिन बेलुकी हामी पद्मश्री लील बहादुर क्षेत्रीलाई भेट्न जान्छौँ । ९० वसन्त देखिसकेका मूर्धन्य नेपाली साहित्यकारको स्मरणशक्ति अझै पनि ३० वर्षको युवाजस्तो छ । म सङ्कोचले बसिराखेकोलाई उहाँले सजिलै चिनेर ‘राईजी तपाईंको ‘सुदामा’ पढेँ, धेरै राम्रो लाग्यो’ भन्नुहुन्छ । म गदगद हुन्छु र आफ्नो उपन्यास ‘पहेली’ टक्र्याउँछु । भलाकुसारी सकेपछि हामी उहाँबाट उहाँको एउटा पुस्तक पनि प्राप्त गर्छौँ । थाहा छैन ईश्वरले मजस्तो नास्तिकको कुरा सुन्छ कि सुन्दैन, तर म निश्छल मनले यस विलक्षण प्रतिभाको साहित्यकारको दीर्घजीवनको कामना गर्छु । फर्किँदा पल्टन बजारको सडकको मोडमा मेरो नजर एउटा मूर्तीमा जान्छ । नजिक गएर देख्छु नेताजी सुभाषचन्द्र बोसको मूर्ति रहेछ । कालो पत्थरले बनेको मूर्ति घाम-पानी, धूलो-धुवाँले गर्दा फुस्रो-फुस्रो कस्तो-कस्तो देखिन्छ । अति व्यस्त पल्टन बजारमा मान्छेको भीड, अव्यवस्थित ट्रयाफिक, हल्ला, धूलो र धुवाँ । नेताजीको चस्मामा धूलो जमेकोले उहाँले राम्ररी हेर्न सक्नुहुन्न होला – राम्रै हो नत्रभने देशको स्वन्त्रताको लागि आफ्नो ज्यान बलिदान गरेको उहाँले स्वन्तन्त्र भारतको यो अव्यवस्था देख्दा साह्रै न्यास्रो लाग्दो हो ।

भोलि हामी विश्वनाथ चारआली जाँदैछौँ । बानीले विवश साढे चारै बजे उठ्छु र पाँच बजे बाहिर निस्किन्छु । नेपाली मन्दिरलाई दायाँ राख्दै म अगाडि बढ्छु । गुवाहाटी हाई काढ्दै जीउ तन्काउँदै छ । फोहोर बोकेको एउटा ट्रकले मलाई उछिन्छ, एउटा अधबैंसे साइकल सवार साइकलमा दूधको कन्टेनर बोकेर जाँदैछ, फुटपाथमा एउटा कुकुरको परिवार पनि जाग्ने तरखरमा छ र छेउमै थोत्रो मैलो साडीमा एउटी महिला दुवै घुँडालाई पेटभित्र हालेर निदाएकी छिन् । म निकै पर पुगिसकेको जस्तो लाग्छ । मोड घुमेर अलि पर पुगेपछि एउटा चियाको पसल देख्छु र चिया पाउने लोभले यसो चियाउँछु । भित्र ग्यास चुलोमा केत्लीमा पानी उम्लिराखेको छ, दुइटा डेस्क-बेन्चले नै झन्डै सारा पसल ओगटेको छ, चुलो नजिकै लामोजस्तो टेबलमा केही पाउरोटी, केही ग्लास र कपहरू पर्खेर बसेका छन् । झन्डै २५ वर्षको, अमेरिकी स्ट्यान्डर्डभन्दा पनि स्लिम युवतीले तरकारी काट्दैछ र ३० वर्षको कालो केटोले भाँडाहरू माझ्दैछ । हेर्दै थाहा हुन्छ यो जोडीसँगै बस्न थालेको धेरै भएको छैन: बिहेको चिन्ह सिन्दूर पनि युवतीको कपालमा देखिन्न तर दुवैमा असाध्य प्रेम छ भन्ने कुरा उनीहरूको हावभावले थाहा हुन्छ । मैले ‘चा’ भनेर सोद्धा केटाले शुद्ध हिन्दीमा ‘आइए, बैठीए’ भन्छ । म चिया पिउँदै उनीहरूको संवाद पनि सुन्छु । भिन्न जातका दुवै जना बिहारको कुनै गाउँबाट भागेर आएका हुन् । युवती डराएको छ । गाउँबाट दाजुहरू खोज्दै आइपुग्छन् कि ? युवकले आँट देखाउँछ – यति टाढो के आउँथे र ! आए पनि जे त पर्ला । तरकारी काट्दै युवतीले युवकलाई हेर्छ – त्यो नजरले जसमा प्रेम छ, विश्वास छ, आदर छ । आह! नारीको यो नजर ! यस्तै नजरले एउटा पुरुषलाई असम्भवलाई पनि सम्भव बनाउन, आफूलाई उत्सर्ग गरिदिन प्रेरित मात्र होइन कि बाध्य पारिदिन्छ । पसलबाट बाहिर निस्किँदा म ओल्ड टेस्टामेन्टमा भनेको सम्झिन्छु, र यो प्रेम-जोडीको सुखमय जीवनको कामना गर्दै आफ्नो बाटो लाग्छु ।

Whither though goest, I wi।। go; and where thou ।odgest, I wi।। ।odge: Thy peop।e sha।।

be my peop।e, and thy god my god; where thou diest, wi।। I die, and there wi।। I be buried.

(जहाँ तिमी जालौ, म त्यहीँ जाउँला; र जहाँ तिमी बसौली, म त्यहीँ बसुँला: तिम्रा मान्छेहरू मेरा मान्छे हुनेछन, र तिम्रो ईश्वर मेरो ईश्वर: जहाँ तिमी मर्नेछ्यौ त्यहीँ मर्ने छु म, र त्यहीँ हुनेछ मेरो चिहान पनि ।)

विश्वनाथ चारालीको ७ घन्टाको यात्रा बसमा हुन्छ । बस राम्रो छ, एयर कन्डीसन छ र सीटहरू पनि राम्रा छन् । खगेन सर बस पार्कसम्म आउनुहुन्छ र हामीलाई बसमा बसालेर बस गुड्न थालेपछि मात्र जानुहुन्छ । म आफैंलाई सोध्छु -हामी नेपालमा पाहुनालाई यति गर्न सक्छौँ के ? बस दगुर्न थालेपछि कुमार सर र खगेन्द्र भाइको नोकझोंक पनि कुद्न थाल्छ जसमा बीच-बीचमा माइला दाइ र विजयजीले थप्छन्, बाँकी म र मेडमहरू हाँसेर सहयोग गर्छौँ । गोविन्द सर र अन्जनाजीको सीट सबैभन्दा अगाडि भएकोले उहाँहरू यसमा सहभागी त हुनुहुन्न तर सहभागी हुने इच्छा उहाँहरूको उकुसमुकुसले थाहा हुन्छ । नेपाली हाँसोले बस यति थर्किन्छ कि भारतीय भाइहरूलाई खपी नसक्नुहुन्छ (त्यसै पनि नेपाल खुसी भएको भारतलाई राम्रो कहाँ लागेको छ र!) र हामीले त्यसमा ब्रेक लाउनु पर्छ ।

आजदेखि यहाँको राष्ट्रिय चाड बिहु सुरू हुँदैछ जो हफ्तौँसम्म चल्छ  र त्यसको प्रमाण हामी बसको झ्यालबाट हेर्न सक्छौँ । आज नेपाली न्यु इयर इव पनि हो । बसभित्र माइला दाइ कुनै आयुर्वैदिक द्राक्षासवको फाइदाहरू बताउँदै हुनुहुन्छ । यो वास्तवमा सोमरस हो र दाइले त्यसको स्वाद पक्कै पनि आफ्नो तरुणावस्थामा गरिसकेको हुनुपर्छ नत्र यस्तो ठोकुवा गर्न सक्नुहुन्नथे होला । उहाँले भेट्यो भने चारआलीमा किन्ने र सबैलाई चखाउने पनि भन्नुहुन्छ । आज नया वर्षको पूर्व सन्ध्यामा चाख्न पाए पनि हुन्थ्यो । ‘साँच्चै हो के’ भनेर खगेन्द्र भाइ भन्नुहुन्छ र ‘हेड सरलाई  फकाउने’ जिम्मेवारी कुमार सरले लिनुहुन्छ ।

चारआली बसपार्कमा हामीलाई लिन निधारमा चन्दनको टीका लाएको, कपालमा शिखालाई गाँठो पारेको सेतो कुर्ता-पायाजामामा एक जना सज्जन व्यक्ति आउनुभएको छ । पछि थाहा हुन्छ उहाँको नाम चन्द्रमणि हो । गोविन्द सरसँग नमस्कार-पाती भएपछि हामी सबैलाई डोराएर पार्क गरिराखेको दुईवटा कारहरूमा बसाल्नुहुन्छ, र हामी बस्ने व्यवस्था भएको सरकारी अतिथिभवनतर्फ लाग्छौँ । सहरदेखि बाहिर शान्त ठाउँमा छ गेस्टहाउस: ठूलो छ, ठूलो कम्पाउण्ड र कम्पाउण्डभित्र किसिम-किसिमका रूखपातहरू छन् । अतिथिभवनपछाडि गार्ड र किचेन स्टाफका क्वाटरहरू छन् । म र विजयजी भुइँतलाको एउटा कोठामा स्थान पाउँछौँ । कोठा ठूलो छ र कोठा अनुरुप बाथरूम पनि । तर सरकारी समस्या यहाँ पनि छ – अव्यवस्था, सफा छैन विशेषगरिकन बाथरूम – गीजरले काम गर्दैन, ट्वाइलेट पेपर छैन, तौलिया छैन । प्राय:जसो हामी भारतीय र नेपालीहरू बाथरूमलाई हेला गर्छौँ  – आ हग्ने ठाउँ त हो नि । तर केही बात छैन, मसँग गमछा छ र साबुन पनि । आँखा-मुख धोएर कोठामा आउनासाथ चाराली क्याम्पसका प्रिन्सिपल चिन्तामणिजी र उहाँका एक जना मित्र आएर विजयजीसँग परिचय गर्नुहुन्छ र उहाँको निवासमा खाना खान लिन आको भनेर भन्नुहुन्छ । माथि तलामा बस्ने दम्पतीहरूको लागि यहीँ व्यवस्था छ रे । बेलायतबाट आएकोले विजयजीमा छुट्टै चार्म छ, र उनको सुवास उहाँ आउनुभन्दा पहिला नै सम्बन्धित स्थान र मान्छेनजिक पुगिसकेको हुन्छ । म पनि त्यही उहाँकै कोठामा भएकोले प्रिन्सिपल साबले मलाई पनि भन्नुहुन्छ र हामी प्रिन्सिपल साबको गाडीमा हुइँन्किन्छौँ । उहाँको क्वाटर पुगेपछि गोविन्द सरहरूलाई किन न बोलाएको भनी प्रष्ट हुन्छ । नेपाली नयाँ वर्ष मनाउने सम्पूर्ण व्यवस्था आमिष भोजन र सोमरसको प्रबन्ध गरेर मिलाइएको छ । हामी दुवैको रसास्वादन लिँदै प्रिन्सिपल साब र विजयजीको कविताको रसपान पनि गर्छौँ र रात छिप्पिएपछि गेस्टहाउस फर्किन्छौँ ।

भोलि बिहान चार बजे नै म निद्राबाट ब्युँझिन्छु । रातभरि पानी दर्केर अहिले सिमसिम पर्दैछ – बीचबीचमा मेघले बिस्तारै गर्जन गर्दै गुनासो गरेको पनि सुनिन्छ । म झ्याल उघार्छु – रूखहरूले अघाइन्जेल पानी पिएर पातैपात थोपा-थोपा फाल्दैछन् । मन अघाउँदैन, ढोका खोलेर बाहिर बरान्डामा निस्किन्छु । उज्यालो भइसकेको छैन । बडो रुमानी वातावरण छ । तन्नेरीमा लेखेको कविताको सम्झना आउँछ ।

न उज्यालो न अँध्यारो

रूखपातहरू चुपचाप छन्

हावामा यो मादक गन्ध कसको हो

मेरो मुटु फुट्लाजस्तो हुन्छ

आज उनी आउँछिन् कि सायद !

म बाथरूम छिर्छु, बाहिर आउँछु – विजयजी अहिले पनि ब्युँझिनु भएको छैन । घुम्न जाउँभन्दा पानी अहिले पनि फिसफिस गर्दैछ । ६ बज्छ । म आफ्नो नोटबुक झिकेर दिनभरिका घटनाहरू टिपोट गर्छु । समय बिस्तारै घसृन्छ । होस्टहरू चिया बिस्किट लिएर कोठामै आउनुहुन्छ  । सेमिनारमा जाने बेला हुँदैछ । साथीहरू माथिबाट तल झर्नुहुन्छ र हामी सबै सभास्थलतर्फ लाग्छौँ । क्याम्पसको सेमिनार हल – स्यानो चिटिक्कको । ४० जना जति सहभागीहरू: ५ जना वक्ताहरू । हामी आ-आफ्नो पालोमा आ-आफ्ना भनाइहरू राख्छौँ, ताली खान्छौँ र मायाको चिनोहरू कुम्लाउँछौँ । सब चीज अच्छा हुन्छ । भोलि हामीलाई यहाँबाट तेजपुर जानुछ ।

अर्को दिन । पाँच बज्दैछ । पानी परेको छैन । घुम्न निस्किन्छु । गेस्टहाउस गाउँमा छ र सिङ्गै गाउँ अग्ला-अग्ला टिकको जङ्गलले छोपिएको छ । मलाई फिनल्याण्ड प्रवासको सम्झना आउँछ त्यहाँ सहरदेखि बाहिर निस्किनासाथ जङ्गल सुरू भइहाल्छ र गाउँ बस्तीहरू सब जङ्गलभित्रै हुन्छन् । म अगाडि बढ्छु । प्रत्येक घर रूखहरूले झ्याम्मै छ र प्राय:जसो घरअगाडि सानो चियाबारी वा दुईचार बोट चियाका देखिन्छन् । अलि अगाडि बोर्ड भएका पसलहरू छन्: तामांग इलेक्ट्रिक, क्षेत्री टी आदि, जसले यहाँ नेपालीहरू उल्लेख्यनीय सङ्ख्यामा छन् भन्ने कुराको पुष्टी गर्दछ । म फर्किंदै गर्दा टोली आउँदै गरेको देख्छु र म पनि त्यसमा मिसिन्छु । हामी एउटा चिया पसलमा छिर्छौँ । पसले भाइ र टोलीको सम्भाषणले थाहा हुन्छ कि यस ठाउँको नाम गोलिया हो: कसैले भन्छ यो नाम यहाँको खोला गोलियाबाट रहन गएको हो भने कसै-कसैले उहिले-उहिले एक जना गोले मगरले यहाँ उखुपात गर्ने एउटा भालुलाई खेदेर मारेकोले यस ठाउँको नाम गोलिया रहन गएको भन्छन् । कारण जे सुकै होस् एउटा कुरा प्रष्ट छ कि यहाँ नेपालीहरूको निकै प्रभाव रहेछ । चियापान गरेर फर्किंदा हुरी आउँछ र हामी एउटा स्यानो चिया पसलमा शरण लिन्छौँ । त्यहाँ भेट हुन्छ एक जना खतिवडाजीसँग जो शिक्षक हुनुहुन्छ । उहाँबाट थाहा हुन्छ कि यो हुरी वास्तवमा हुरी होइन यसको सम्बन्ध असमको ‘बर्दोइसिला’ भन्ने चाडसँग रहेछ । कथा यस्तो रहेछ:

उहिले-उहिले धेरै पहिले एउटी राम्री तरुनी केटीको विवाह धेरै टाढाको केटोसँग भएछ । उनीले आफ्ना बा-आमालाई धेरै माया गर्थिन् तर धेरै टाढा भएकोले वर्षमा एक चोटी मात्रै माइत आउँथिन् । उनी वर्षको यही समयमा वसन्त ऋतुको आगमनको बेला आउँथिन् जब फूलहरू फुलेका हुन्थे, कोइली गाउँथिन् र मान्छेहरू नाचगान गरी उत्सव मनाउने मूडमा हुन्थे । वसन्त ऋतुलाई असमियामा बोहाग भन्छ र यो चाडलाई बोहाग बिहु भनिन्छ । त्यही मिथकले गर्दा प्रत्येक वर्ष यही बेला विवाहित नारीहरू माइत फर्किन्छन् बा-आमालाई भेट्न – यसले के देखाउँछ भने हामी जहाँ र जति टाढा भए पनि आफ्नो जरोलाई बिर्सिनु हुँदैन । त्यो महिलाको नाम (जसबाट यस चाडको प्रारम्भ भयो) बोर्दोसिला थियो: असमियामा बोर भनेको ‘ठूलो’, दो भनेको ‘बादल-वर्षा’ र सिला भनेको ‘केटी हो । त्यसैले उनी माइत आउँदा पानी हुरी लिएर आउँछिन् अरे  र आजकै दिन आएकी हुनाले आज पनि हुरी आउने गर्छ ।

माइली भाउजु पनि खतिवडा हुनुभएकीले होला खगेन्द्र भाइ ‘भाउजुको माइती’ भनेर साइनो लाइहाल्नुहुन्छ र खतिवडाजीले पनि सहर्ष स्वीकार्दै हामीले खाएको चियाको पैसा कथमपि तिर्न दिनुहुन्न । उहाँको यस सदभावनालाई सप्रेम अँगालेर हामी गेस्टहाउस फर्किन्छौँ र हामीलाई तेजपुर लैजाने गाडीमा बस्छौँ । तेजपुरको बाटोमा हामी खाना खान अन्जनजीको घरमा रोकिन्छौँ र सात्विक खानाको स्वादको साथै हाम्रो लागि नै विशेष अनुरोध गरेर बोलाइएको गाउँलेहरुबाट बिहु नृत्य हेर्छौं – टीवी मोबाइलको भर्चुअल होइन कि प्रत्यक्ष । तेजपुर पुग्दा २ बजेको छ । हाम्रोलागि एउटा होटेलमा कोठाहरू बुक गरिएको छ । ब्याग-स्याग कोठामा फालेर र फ्रेस भएर हामी सम्मान कार्यक्रम स्थलतर्फ लाग्छौँ जहाँ तेजपुरका साहित्यकारहरूसँगै हामी सबैलाई खादा र असमिया टोपी लाइदिएर सम्मान गरिन्छ । बाहिर सारा तेजपुर बिहुमय भएको छ । हाम्रो होटेलको छेउमा खाली ठाउँ छ जसमा बिहु उत्सवको भव्य तयारी हुँदैछ । तर त्यो हामी हेर्न पाउँदैनौं किनभने हामी ज्ञान बहादुरजीको घरमा खाना खान जान्छौँ र फर्किंदासम्ममा उत्सव सकिसकेको हुन्छ । अर्को दिन बिहानै हाम्रो बस तेजपुरबाट गोहाटीको लागि छुट्छ । हामी ज्ञान बहादुरजी, चन्द्रमनीजी, छत्रमानजी र अन्जनजी यी सबै सुह्रदयी मित्रहरूसँग पालैपालो सम्पर्कमा रहने वाचा गर्दै बिदा माग्दै बसभित्र पस्छौँ ।

यसपालि डा. खगेनले हाम्रो बस्ने व्यवस्था रेल स्टेसन नजिकै सर्किट हाउसमा गर्नु भएकोछ – यो पनि सरकारी हो असम सरकार पर्यटन मन्त्रालय अन्तर्गतको । उहाँकी श्रीमतीले हामीलाई त्यहाँ डोराउँदै लानुहुन्छ जहाँ हामीले दुई रात बिताउनु पर्नेछ । दोश्रो तलामा मेरो कोठा ठूलो छ र सफा पनि । यसको एउटा कमी हो वाइफाई नहुनु – सरकारी भएर होला । आज एक हफ्ता भइसक्यो परिवारसँग कुरा गर्न पाएको छैन । गोविन्द सरसँग इन्डियन सीमकार्ड छ – मागेर एकछिन् श्रीमतीजीसँग कुरा गर्छु र आश्वस्त पार्छु । भोलि हामी बिहानको लन्च लिन कवियत्री तथा कथाकार इन्दुप्रभा देवीको घरमा जान्छौँ । उहाँ कविता-कथा मात्रै उमार्नु हुन्न कि छतभरि विभिन्न किसिमका बोट बिरुवा र साग पात पनि उमार्नुहुन्छ । हरियो देख्नासाथ विजयजीलाई अरू केही चाहिँदैन – उहाँ त्यसमै भुलेर फोटो खिँच्न थाल्नुहुन्छ । खानापछि गृहणीले हालसालै प्रकाशित उहाँको उपन्यास ‘अनुहारभित्रको आकाश’ हामी सबैलाई उपहार दिनुहुन्छ । उपन्यास राम्रो छ: अहिलेको आएको नेपाली उपन्यासको बाढीमा धेरैजसो हिलो, झारपात र किनारमा रहेका रूखहरूका सुकेका हाँगाहरू मात्र छन् । यो उपन्यास भिन्न छ: बाढीले ल्याएको मलिलो माटोजस्तो । उपन्यासमा आजको युगमा मानिने कुनै महत्त्वपूर्ण विषयवस्तु छ भन्ने आग्रह छैन, शिल्पको कुनै चमत्कार छैन, कुनै नयाँ प्रयोगको घोषणा छैन: सामान्य मध्यमवर्गीय जनजीवनको स-साना घटनाहरूले बुनिएको जीवन्त कथा छ । यसको सरलता नै यसको सुन्दरता र विशेषता हो । उपन्यासको सुरूमै वीरेन्द्रनाथ दत्तको कविताका पङ्क्तिहरू कोट गरेको पढ्दा

बहुदिन बकुलर गोन्ध पावा नाइ

बहुदिन बकुलर माला गथा नाइ

उपन्यासकार कवि-हृदय छ भन्ने थाहा हुन्छ मलाई  र उनका कविताहरू पढ्ने अदम्य इच्छा हुन्छ । सायद फेरि कुनै दिन गोविन्द सरको कोटको फुर्को समातेर गोहाटी आइयो भने… ।

लन्च लिएर साथीहरू घुमघाम गर्न जानुहुन्छ, म सर्किट हाउस फर्किन्छु । आराम गर्छु, नोटहरू बनाउँछु । धेरै दिन भयो नबरालिएको, घाम पश्चिम ढल्केपछि बरालिन बाहिर निस्किन्छु । सर्किटहाउसदेखि निस्केर दायाँको मोड लिएर दुई-तीन मिनेट हिँड्नासाथ एउटा ठूलो पोखरी छ जसमा बोटिग गर्नेहरू र किनारमा रमाउनेहरुले गर्दा भीडभाड छ । म पोखरीलाई बायाँ पारेर जान्छु र बायाँ मोडिएर अर्को स्ट्रीटमा पुग्नासाथ एउटा विशाल मैदानमा बिहुनाच भइरहेको देख्छु । मभित्र छिर्छु र एउटी युवती तथा पाँच जना युवकहरूको सामूहिक नृत्य केही बेरसम्म देख्छु । किन हो कुनी मेरो मनले ‘हिँड-हिँड’ भनेकोले म हिँडिदिन्छु र झन्डै दस मिनेट हिँडेपछि ब्रह्मपुत्रको किनारमा आइपुग्छु । सडकको एकातर्फ रेस्टुरेन्टहरू छन् भने अर्कोतर्फ फुटपाथ र अनि ब्रह्मपुत्रको जलराशी । मेरो मनले यही खोजेको होला । म किनारै किनार पर पुग्छु र अनि एउटा स्यानो रेस्टुरेन्टमा छिर्छु । ग्रहक कोही छैन, मात्र एक जना युवक काउन्टरमा छ – सायद बेला भएको छैन । म एउटा बियर लिएर बस्छु र शीतल बियरको घुट्को लिँदै ब्रह्मपुत्रको अथाह जलराशिमा अस्ताउँदो सूर्यका किरणहरूलाई नृत्य गर्दै र अनि विलीन हुँदै गएको देखिरहन्छु ।

‘माइन्ड इफ आइ सिट डाउन ?’ म नजिक आएर सम्बोधन गरेकोले म ब्रह्मपुत्रबाट आफ्नो नजरलाई तानेर सम्बोधन गर्नेतर्फ फ्याँक्छु । २०-२५ वर्षकी केटी, जिन्स र यत्रा-यत्रा फूल भएको सर्टमा मेरो टेबलको छेउमा अभिएको पाउँछु ।

‘नो’, म भन्छु । ‘इट्स अ फ्री कन्ट्री।’ ऊ कुर्सी तानेर बस्छे । काली-काली, स्लीम जिउ, स्यानो हाइट: ठूलठूला आँखा, तिखो नाक देख्छु म । उसले ममा के के देख्छ थाहा छैन ।

‘व्हेएर आर यु फ्रम?’ ऊ मतिर प्रश्न हुत्याउँछे ।

‘मेक अ गेस’, म उसको प्रश्नलाई उसैतिर फर्काइदिन्छु ।

‘जापान ?’ उसको आवाजमा केही अपेक्षाजस्तो लाग्छ मलाई ।

‘नो’, म उसलाई निराश पारिदिन्छु ।

‘कोरिया ? एस ?’

‘नो’ म उसलाई फेरि निराश पारिदिन्छु ।

‘चाइना ।’

‘नो ।’

‘आइ क्वीट ।’ ऊ भन्छ ।

‘आइ एम फ्रम नेपाल ।’ म रहस्योदघाटन गर्छु ।

‘ओ..’,  ऊ ‘ओ’लाई लामो पारेर आफ्नो आश्चर्य प्रकट गर्छ र अनि केही नभनी उठेर हिँड्छ, म पनि केही भन्दिनँ । जापानिज, कोरियन अगाडि एउटा नेपालीको के औकात ! सायद उसले अपेक्षा गरेको कुरा नेपालीबाट नपाउने भएको हुनाले केही नभनी गएको हुनुपर्छ । जापानिज, कोरियन हुन नसकेकोमा म दुखी हुनुपर्छ कि खुसी – बियर खाँदै घोरिन्छु । मलाई म नेपाली भएकै ठीक लाग्छ । कोरिया त होइन तर जापान, जर्मनी, बेलायत, फ्रान्स, अमेरिका गएकै हो, त्यहाँ काम पनि गरेको हो तर कहिले पनि त्यहीँ बसूँजस्तो फील मलाई भएन । अलि फोहर, अलि गरिब भए पनि नेपाल नै मन पर्छ र अलि अल्छे, अलि अशिक्षित भए पनि नेपाली नै । भारतीय साहित्यकार खुशवंत सिंहले आफ्नो लेख Why I am an Indianमा भन्नुहुन्छ:

…I fee। more re।axed and at home in India. I dis।ike many thinks in my country, most।y the government. But this is where I be।ong and this is where I intend to ।ive and die. Of course I ।ike being abroad. ।iving is easier, the wine and food are better, the women more forthcoming – it’s more fun. However, I soon get tired of a।। those things and want to get back to my dung-deep and be among my ।oud-mouthed, sweaty, sme।।y countrymen. My head te।।s it’s better to ।ive abroad, but my heart te।।s me ‘get back to India’… I don’t ।ike it but I ।ove it.

म  पनि मेरो देश नेपाल र मेरो देशवासीहरु प्रति खुशवंत सिंह जस्तै महसुस गर्छु ।

सर्किटहाउस पुग्दा झमक्क रात झरिसकेको रहेछ । इन्ट्रान्स हलमा पुग्दा विजयजी र सापकोटाजीले (नाम पछी थाहा भयो) मलाई पर्खिराख्नु भएको रहेछ । सबै जना बिहेमा पुगिसक्नु भएको रहेछ र मलाई लिन उहाँहरू आउनुभएको रहेछ । अब मलाई छाडिदिनुस् भन्दा उहाँहरू मान्नुहुन्न्न र गोविन्द सरले जसरी पनि लिएर आउन भन्नुभएको छ भनेपछि म उहाँहरूको पछि लाग्छु । आएको राम्रै भएछ: लील बहादुरजीसँग भेट हुन्छ र ‘मैले तपाईंले दिनुभएको किताब पहेली  पढिसकेँ, आजको ज्वलन्त समस्यालाई नयाँ किसिमले प्रस्तुत गर्नु भएको रहेछ, बडो रमाइलो लाग्यो’ भनेर मलाई चकित पारिदिनुहुन्छ । यस उमेरमा पनि कति उर्जावान् ! अस्ति चारआली जाँदा दिएको त हो, पढी सिद्धाउनु भएको रहेछ । उहाँले त्यति भनिदिनु नै मेरो लागि धेरै उत्साहप्रद र प्रेरणादायक हो । साथीहरू सबै सर्किटहाउस फर्किसकेका छन् । म र विजयजी पनि वर-वधूलाई शुभकामना दिएर राति अबेला फर्किन्छौँ ।

हाम्रो फर्किने दिन आइपुग्छ । विजयजी फर्किसक्नुभएको छ । हामी सबै डा. खगेनको घर खाना खान जान्छौँ जहाँ हाम्रो भेट जीना राजकुमारी गोस्वामीसँग हुन्छ । उनी लोकगीत गायिका हुन् र नेपाल समेत धेरै देशहरूमा आफ्नो कलाको प्रदर्शन गरिसकेकी छिन् । नेपाल जाने चाहना जाहेर गर्छिन् र हामीलाई नेपाली लोकगीत पनि सुनाउछिन् । मलाई ‘मामा’ भन्छिन् किनभने मेरो अनुहार उनकी आमासँग मिल्छ अरे । ट्रेन समात्ने बेला पनि डा. खगेन र उनकी श्रीमती सिअफ गर्न आउनुहुन्छ । म विशुद्ध मनले मनमनै उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्छु र उहाँहरूको सुस्वास्थ्य तथा सुदीर्घ दाम्पत्य जीवनको कामना पनि । त्यसपछि हामी स्टेसनको पल्लोपट्टि प्लेटफर्म नम्बर १ मा गएर गाडी समात्छौँ । बाई-बाई गोहाटी, बाई-बाई असम! न्यु जलपाईगुडीबाट दुईवटा बोलेरोमा हामी काँकडभिट्टा पुग्छौँ । कुमार सर प्लेन समात्न भद्रपुर लाग्नुहुन्छ र म माइला दाइ तथा खगेन भाइको उहाँहरूको दमक निवासमा एक रात बस्ने अनुरोधलाई विनम्रतापूर्वक अस्वीकार गर्दै बिराटनगर जाने बसमा पस्छु । घर फर्किने हतारमा गोविन्द सरलाई जलपाईगुडीदेखि  काँकडभिट्टासम्म गाडीमा आएको भाडा दिन पनि भुसुक्क बिर्सिन्छु – पछुताउँछु । माफी माग्न फोन गर्छु, फोन बिजी आउँछ । चुप लाग्छु । अब यही आलेख मार्फत उहाँसँग माफ माग्छु र अर्को सहयात्रामा तिर्ने वाचा पनि गर्छु । विश्वास छ मैले माफ पाउनेछु । स्वदेश आइपुगिएछ, घर पुगिँदैछ । म टाउकोलाई सीटमा अडाएर आँखा चिम्म गर्छु ।

जैसो उडी जहाजको पंछी

पुनी जहाज पे आवे …