घुम्न मन पराउनेलाई भाग्यले पनि घुम्न जुराउने रहेछ । म केही समयदेखि परदेशमा थिएँ, विशेष कामले पन्ध्र दिनका लागि नेपाल आएका बेला एउटा अर्थपूर्ण कार्यक्रममा सहभागी हुने मौका पाएँ ।
पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले आयोजना गरेको ‘आँपस्वारा काव्ययात्रा–२०७९’ मा सहभागी भएर धेरै कुरा सिक्ने र बुझ्ने अवसर मिल्यो।
असार १५ देखि १७ गतेसम्म तीन दिने यात्रा तय भएको हुनाले पन्ध्र गते बिहानै कलंकीमा भेट हुने सल्लाहअनुसार म आवश्यक सामान बोकेर कलंकी पुगेँ । त्यहाँबाट बस चढ्ने साथीहरूसँग भेट भयो।
बिहान ७.३० मा हामीले यात्रा गर्ने बस कलंकी आइपुग्यो । हामी चढिसकेपछि बस अघि बढ्यो ।
संयोगले दाजु ध्रुव मधुकर्मीसँग एउटै सिटमा बस्ने मौका पाएँ । कुराकानीमा दाजुले भन्नुभयो, ‘सुमनजी समयको बहावलाई छोप्न सक्नुपर्छ ,अब अर्को कवितासङ्ग्रह छिट्टै निकाल्ने प्रयास गर्नुहोस्। कहिलेकाहीँ समय हत्केलाबाट फुत्किँदा त्यो समय धेरै पछाडि परिसकेको हुन्छ ।’
दाजुका कुराले मलाई साँच्चै समय फुत्किँदै पो छ भन्ने भान भयो । मैले, ‘हवस् दाजु, म छिट्टै निकाल्ने प्रयास गर्छु’ भनेँ ।
यात्रामा निस्कँदा म प्रायः प्रकृतिसँग रुझ्न मन पराउँछु । बसभित्रबाटै आँखाहरू बाहिर डुल्न थालेँ । बाहिरका प्रत्येक दृश्य र रूखका पातहरूसँग आँखा ठोक्किन थाले । थानकोटबाट देखिने पहाडहरूमा फूलबुट्टा भरेझैँ गरी भुइँकुहिरोले पहाड सजाएको थियो । रूखहरू भर्खरै नुहाएको चिसो केशले गम्छाको अङ्गहरूमा लुटपुटिएर पानीबाट अलग बनेझैँ पहाडका ढुङ्गामाटोलाई थेगेर उभिएका रूख र तिनका पातहरू झरीले रुझेर चिल्ला र सफा देखिएका थिए ।
उनीहरूसँगै यात्रारत मेरा आँखाहरू उनीहरूलाई ओझेल पार्न मानिरहेका थिएनन् ।
नमान्दानमान्दै पनि मनले आँखालाई अर्कोतर्फ डोर्याउन पुग्यो । बस आफ्नै गतिमा दौडिरहेको थियो । साथीहरू कहिले साहित्यिक गफ कहिले राजनीतिक गफ र कहिले एकअर्काको टिप्पणी गर्दै गफ्फिरहनु भएको थियो ।
म घरि उहाँहरूको गफ सुन्दै, घरि दृष्टि बसको झ्याल बाहिर पुर्याइरहेकी थिएँ ।
त्रिशुलीले वर्षातको धमिलो पानी बोकेर पहाडले ओढेको भुइँकुहिरो आफूतिरै तान्दै अंगालेको रहेछ।
पहाडको पिँधभन्दा थोरै माथिसम्म भुइँकुहिरो ओढेर नदी आफ्नै संगीतको धुनमा सागर भेट्न कुदिरहेको थियो ।
मैले उनीहरूसँगको आत्मियता खोजेँ, खोजेँ भन्दा धेरै पाएँ ।
म यिनैसँग हराउँदै यात्रारत छु । यात्रा अर्थपूर्ण बनोस् भन्ने ध्यय समूहमा हिँड्दा प्रायः सबैको हुन जरुरी छ । हामी पनि हाम्रो यात्रा अर्थपूर्ण बनोस् भन्नेमा थियो।
मलाई लाग्छ– मानिसको एउटै जात हुन्छ त्यो जात हो केवल ‘मान्छे’। यसलाई संचालन गरेका कर्मी हुन्– महिला र पुरुष ।
काठमाडौंबाट गुडेको पाँच घन्टापछि हामी दमौली बजारमा पुग्यौँ। दमौली बजार नजिकै रहेछ रमणीय ‘आँपस्वारा गाउँ ।’
आँपस्वारा नियाल्न हामी कवि, लेखक तथा पत्रकार गरी २६ जनाको यात्रा व्यवस्थापन गराइएको थियो ।
आँपस्वाराका स्थानीय कर्मीहरूले संचालन गरेको ‘आँपस्वारा सामुदायिक दलित होमस्टेमा’ दमौलीबाट ६ किलोमिटर पूर्वमा लाग्नु पर्छ ।
दमौली बजार वरिपरि पहाडको पर्खालले घेरिएको रहेछ तर पनि त्यहाँ धेरै गर्मी महसुस गरेँ । सायद कम उचाइमा भएको बजार भएर होला !
पोखराबाट आएर हामीलाई कुरिरहेका साथीहरूसँग दमौलीमा परिचित भयौँ । केहीबेरको भलाकुसारीपछि दमौलीका गीतकार सागर उदासले हामीलाई वेदव्यासको जन्मथलो घुमाउन लैजानु भयो ।
चोकहरूमा भेटिएका स्तम्भ, बुद्धका मूर्ति, कलशजस्ता शालिक र कलाकारिताले मन मोहित बनाइरह्यो ।
हामी व्यासको जन्मस्थल भएको ठाउँमा पुग्यौँ । उनको एउटा सानो कुटी, ध्यानास्थ शालिक र शालिक छेवैमा रहेको शिलालेख निकै सुन्दर देखिन्थ्यो । सागर दाइले आफू परिवारसहित बन्दीपुरबाट २०४२ सालमा दमौली झरेको कुरा सुनाउनु भयो ।
यहाँ वि.सं. २०३२ सालमा योगी नरहरीनाथले महायज्ञ लगाएर धुनी जलाएको र सो धुनी २०४५ सालसम्म जलिरहेको रहेछ ।
सो स्थानमा महर्षि वेदव्यास जन्मने बितिकै ७ पाइला हिँडेर बिलिन भएको कथन समेत रहेछ ।
हामी पहाडका खुड्किला हुँदै केही तल ओर्लियौँ । ठूलो ढुङ्गाको पहाड काटिएर बनेको गुफामा व्यासले ध्यान गर्नु भएको रहेछ । व्यासले ध्यान गरेर आफ्ना शिष्यहरूलाई त्यही स्थानमा दिक्षा दिनु भएको रहेछ ।
गुफाभित्र बिचमा अगेनोजस्तो गोलो गरी चुल्हो बनेको छ र चुल्होमा केहीबेर बलेर निभेका दाउरा र खरानी छ । गुफाको भित्तानेर छेवैमा व्यासको प्रतिमा, गणेशको मूर्ती र देवता स्वरुप पुजिएको शिला छ । गुफा अघिल्तिर सानो आँगन छ जसमा व्यासका शिष्यहरू बसेर शिक्षा लिने गर्थे ।
आँगनीको छेउमा लामो टहरोभित्र सोम आयुष्यायण, तृणबिन्दु, हयात्मा, अत्रि, व्रती–जय जस्ता धेरै शिष्यहरूका स–साना प्रतिमा समेत बनाइएको रहेछ ।
केहीबेर व्यास गुफाको जानकारी लिएर हामी त्यहाँबाट नदीतर्फ लाग्यौँ । पारीपट्टि सेती र मादी मिसिएर सागर छुन हतारिँदै बगिरहेका थिए । सेती र मादीको दोभान मिसिएर बग्दा पनि एकातर्फ सेती वर्षाको कारण धमिलो सेतै रङ्गमा र मादी धमिलो रङ्गमा एकार्काको प्रेममा साक्षी बसी बगिरहेछन् । दुई नदीहरू मिसिएर बग्दा पनि मिसिएको पानीमा पनि ठिक आधाआधा आफ्नै रङ्गमा देखिन्थे ।
हामी मादीतर्फ थियौँ मादीलाई हत्केला र औंलाहरूले उनीहरूको मोह भङ्ग नहुने गरी सुस्तरी स्पर्श गर्यौं। केही तस्बिरहरू लियौँ । केही समयको अवलोकन पश्चात् हाम्रो यात्रा दमौली बजारदेखि ६ किलोमिटर परको आँपस्वारा गाउँतर्फ सुरु भयो ।
दमौलीमा चढेको बस हामीलाई बोकेर छाब्दी नदीको पूल तर्दै आँपस्वारातिर उकालियो । बाटो पक्की नै थियो तर कतै कतै भत्केको रहेछ । गाउँ पुग्ने बेला भने केहीबेर कच्ची बाटोमा गुड्यौँ ।
दमौलीबाट हामी आधा घण्टामै आँपस्वारा पुग्यौँ, यसरी सकुशल आँपस्वाराको काखमा उभिन पुग्यौँ ।
‘आँपस्वारा सामुदायिक दलित होमस्टे प्रवेशद्वार’ भनेर ठूलो गेट बनाइएको रहेछ । त्यहाँबाट हामीभित्र पस्यौँ ।
आँपस्वाराका होमस्टे सन्चालक दिदीबहिनीहरू एउटै पहिरन, एउटै रंग र एउटै बुट्टाले कुँदिएका साडी र ब्लाउजमा सजिएर हातमा अबिर, फूलमाला लिएर हामीलाई कुरिरहनु भएको रहेछ !
उहाँहरूले हामीलाई आत्मीयता प्रदान गर्नु भयो । त्यसपश्चात् केहीबेर फोटो सेसन गरियो । त्यतिबेला म भने वरपरका प्रकृतिका फूलहरूलाई आँखाले स्पर्श गर्दै थिएँ । पारीपट्टी भुइँकुहिरो पहाडसँग जिस्कँदै गरेको देखेर मन त्यसैत्यसै रमाइरहेको थियो ।
सामुदायिक होमस्टेको आँगनमा लगभग २०० वर्ष पुरानो चौतारीमा आँपको बोट हावासँग मितेरी गाँस्दै पातहरूलाई पङ्खा बनाएर हामीलाई हावा हम्किरहेको थियो । यिनै आत्मीय प्रेमले हामीलाई लुछुप्प रुझाइसकेको महसुस गरेँ मैले ।
स्थानीयहरूले आउने पाहुनाहरुलाई कार्यक्रम र परिचयको निम्ति विश्वकर्मा समाज भवन बनाउनु भएको रहेछ । त्यही भवनमा परिचयात्मक कार्यक्रम सुरु भयो । होमस्टेकी कोषाध्यक्ष मधुमाया बि.कले जात प्रथाका कारण आफूले गरेका संघर्षका कथा सुनाउनु भयो । अध्यक्ष रेशम बि.कले पनि त्यहाँको यथास्थितिबारे बताउनु भयो । त्यसैगरी काव्ययात्रीका रुपमा गाउँ पुग्नु भएका व्यास नगरपालिकाका बरिष्ठ अधिकृत मेघराज आचार्यले होमस्टेको विकासका निम्ति नगरपालिकाले पुर्याएको सहयोगबारे जानकारी गराउनु भयो ।
मधुमाया दिदीले भन्नुभयो, ‘तल्लो जाति भनेर मन्दिरहरूमा प्रवेश नपाउँदा मन खिन्न हुन्थ्यो । यही खिन्नताले मलाई छुवाछूत विरुद्ध उभिन प्रेरणा दिइरह्यो । मैले मन्दिर प्रवेशका निम्ति अदालतमा मुद्दा समेत लडेँ । अदालतले हाम्रो पक्षमा न्याय गर्यौँ । हामी थानीमाई मन्दिर प्रवेश गर्यौँ ।’
दिदीले यसरी सुनाइरहँदा मनभित्र नमिठो सुसेली सुसाइरह्यो । आखिर सबै मान्छे समान हुन् । किन बन्यो होला यो जात प्रथा ?
आँपस्वारा गाउँमा ४६ घर दलित समुदायका र अन्य केही घर मगर र बाहुनलगायत समुदायका रहेछन्।
आजका दिनमा आँपस्वारामा विश्वकर्मा समुदायका १८ घरमा होमस्टे सुविधा छ । यहाँ वि.सं. २०७२ सालदेखि होमस्टे सञ्चालन गरिएको रहेछ ।
गाउँबाट अन्नपूर्ण हिमशृङ्खला, दमौलीबजार, छाब्दीबाराही मन्दिर, मानहुँकोट र सुन्तला बगान देखिन्छ।
गाउँमा घरहरू छरिएका छन् । होमस्टेको विशेषता नै पाहुनालाई घरघरमा बाँडेर राख्नु हो । हामी लेखकहरू पनि कुनै घरमा दुई जना र कुनैमा एक जनाका हिसाबले बाँडिएर बस्यौँ ।
आँपस्वारा ग्रामीण जीवनशैली बोकेको पहाडी भुगोल हो । थानीमाई मन्दिर, लहरै पङ्क्तबद्ध हिमाल र अर्गानिक स्वच्छ खाना यहाँका विशेषता रहेछन् । हामीले मनुसन यात्रा गरेकाले हिमाल भने देख्न पाएनौँ ।
म र कवि रमी प्रिया एउटै घरमा बस्यौँ । त्यहाँ एउटी सत्र वर्षीया किशोरी र उनकी ७१ वर्षीया हजुरआमा मात्र हुनुहुन्थ्यो । बुबा नासपातिको रुखबाट खसेर करङ्गको हड्डी भाँचिएकाले उपचारका निम्ति पोखराको अस्पतालमा रहेछन् । ती नानी कक्षा ११ की विद्यार्थी रहिछन् ।
उनको मिहिनेत देखेर म निकै भावुक बनेँ । पर्यटकलाई समयमा खाजा तथा खाना तयार गर्नु, घरमा रहेका थुप्रै कुखुरा, १५ ओटा बाख्रा र दुई ओटा सुंगुरको सुसार अनि हजुरआमाको सेवा सबै गर्न भ्याएकी थिइन् उनले ।
मकैको सिजन भएकाले उनले बारीबाट मकै भाँचेर ल्याइन् । अगेनामा पोलेर हामीलाई खुवाइन्।
अर्को दिन १६ गते बिहान हामीहरू छोटो हाइकिङ गर्दै थानीमाई मन्दिरमा पुग्यौँ । मन्दिरसम्म जान मूलबाटो तरपायाँ, तरपायाँ उकालो लाग्दै गाउँ छिचोल्दै र कतै उकालो चढ्दै करिब आघा घण्टोको हिँडाइपछि डाँडामा बसेकी देवीको मन्दिरमा पुग्यौँ ।
बर्षातका बेला भएर होला मन्दिर वरपर घाँस उम्रिएको र र पानीले लेउ जमेको थियो । मन्दिरसम्म पुग्ने बाटो खासै आवतजावत नरहेको जस्तो देखिन्थ्यो । मन्दिरको व्यवस्थापनमा ध्यान पुगेजस्तो लागेन ।
आँपस्वारा आउने पर्यटकहरूलाई मन्दिर घुमाउने व्यवस्थापन र मन्दिर संरक्षण जरुरी रहेको मैले बुझेँ । मन्दिरभित्र बलि चढाइँदो रहेछ । यहाँ हरेक आइतबार धुपबत्ति गरिन्छ।
मन्दिरभित्र माथिपट्टि केही घण्टीहरू झुण्डिएका थिए । भुइँमा पछिल्लो भित्तासँग जोडेर दुईओटा मार हान्ने हतियार, दुईओटा पित्तलको ठूलो दियो र त्यसैको बिचभागमा बलिदिने अचानोजस्तो सानो ठुटो राखिएको छ । पहिले बलि दिएका रगतका रङ्गले पोतिएको माटो देखिन्थ्यो ।
धेरै समयदेखि भक्तालुहरूलाई कुरिरहेको थियो मन्दिरले । भक्तालुहरुको चहलपहल भएको भए सरसफाई देखिन्थ्यो तर मन्दिर एकान्तमा आफैंसँग रोइरहेझैं लाग्यो ।
मन्दिरमा पुगेर मैले हिजो साँझ मधुमाया दिदीले भनेका कुरा सम्झेँ, ‘पहिला जब दलितलाई मन्दिर प्रवेश गर्न दिइएको थिएन त्यो बेला अक्षताका निम्ति सहरबाट बोकाइने चामल बोक्ने भरिया दलित नै हुन्थ्यो जब त्यो दलितले बोकेको चामलले बनाइएको अक्षता चढ्छ भने दलित प्रवेश गर्न किन नपाउने ? अदालतमा यही कुरा उठ्यो र गैरदलित निरुत्तर बने र पछि हामीले मन्दिरमा प्रवेश पायौँ ।’
दिदीका कुराले मेरो हृदय छोयो ।
हामी मन्दिरको सिँढी झरेर समथलीमा आइपुग्यौँ । त्यहाँको वातावरणले रोमाञ्चित भएर होला लेखकहरूले लोकगीत गाउन थालिहाले । जब गीत घन्किन्थ्यो तब सागर दाइ नाचिहाल्नु हुन्थ्यो ।
त्यहाँबाट हामी आ–आफ्नो होमस्टेमा फर्कियौँ । खानापछि फेरि त्यही आँपको चौतारीमा जम्मा भयौँ । कार्यक्रमा गाउँलेहरू जम्मा भइसक्नु भएको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे कलाकर्मी सम्मान तथा रचना वाचन कार्यक्रम सुरु भयो ।
काव्ययात्रा आयोजक कन्सेप्ट नेपालले आँपस्वारा गाउँका चार जना कलाकर्मीलाई जनही १० हजार रुपैयाँसहित ‘आँपस्वारा काव्य सम्मान–२०७९’ अपर्ण गर्यो । जीवनमा पहिलोपटक सम्मान पाउँदा उनीहरू खुसीले धपक्कै बलेका थिए ।
कार्यक्रममा माटोका गहना बनाउने मेनुका बि.क, आरनको काम गर्ने डिलबहादुर बि.क, मादलबादक सुन्दर बि.क र बाँस तथा निगालोका सामान बनाउने तुलसीबहादुर मगरलाई सम्मान गरिएको हो । यसरी कला र कर्मीको सम्मान गरेकामा सबैले आयोजकलाई मनमनै धन्यवाद दिए ।
सम्मानित मेनुका दिदीसँग मैले पनि छोटो कुराकानी गरेँ ।
‘दिदी यो कामका लागि कोबाट प्रेरित हुनु भयो ?’
‘श्रीमानले गहना बनाउने काम गर्नुहुन्थ्यो । त्यही देखेर मैले बनाउन जानेकी थिएँ । यसो सोँच आयो र माटोको गहना बनाउन थालेँ । यो काम सुरु गरेको पनि अठार वर्ष भैइसक्यो ।’ दिदीले हँसिलो भावमा जवाफ दिनुभयो ।
‘दिदी तपाईं यी सामान कहाँ लगेर बेच्नु हुन्छ ?’ मैले फेरि सोधेँ ।
उहाँले खासै बजार लिनसक्नु भएको रहेनछ । भन्नुभयो, ‘नजिक नजिकका गाउँहरूमा लगेर बेच्छु । एउटा कण्ठी मालाको चार सय र जन्तरको सात सय रुपैयाँमा बेच्छु ।’
‘कण्ठीभन्दा जन्तर त सानो देखिन्छ किन मूल्य बढी ?’
‘जन्तर पित्तलको हुन्छ त्यसको माला कृष्टल हुन्छ र सुराही मात्रै माटोको भएकाले अलिक बढी पर्न गएको हो ।’ उहाँले भन्नुभयो ।
दिदीको कला हेर्यौँ हामीले । उहाँले उत्तिखेरै कण्ठ मालाको एउटा गेडी बनाएर देखाउनु भयो । माला बनाउँदा माटोलाई सुनजस्तै तोलामा तौलने र बनाउने गर्नुहुँदो रहेछ। माटोको जोखाई, हातको सीप कति सुन्दर !
कार्यक्रम सुरु हुनुअघि पनि दिदीले माटोको सीप पस्किरहनु भएको थियो । उता मादले दाइ सुन्दर बि.क मादल घन्काइरहनु भएको थियो भने तुलसीबहादुर मगर चाहिँ चोयाबाट स–स्याना डोका बुनिरहनु भएको थियो ।
मैले पनि मेनुका दिदीसँग एउटा सुन्दर कण्ठीमाला किनेँ ।
सम्मान कार्यक्रम लगतै लेखकहरूले आ–आफ्ना रचना र अनुभूति सुनाए । मैले पनि विभेद विरुद्धको कविता सुनाएँ ।
करिब दुई घण्टा चल्यो कार्यक्रम । औपचारिक कार्यक्रमपछि होमस्टेका दिदीबहिनी र सहयात्रीहरूले मादल र खैजडी बजाउँदै नाचगान गरे । माहौल निकै रमाइलो भयो ।
हामी तीन दिनको यात्रामा थियौँ । आफू बसेकै घरका घरधनीले टिका र फूल दिएर बिदाइ गर्ने चलन रहेछ । हामी पुगेको तेस्रो दिन बिहान हामीलाई तिनै सानी नानीले बिदाइ गरिन् । उनलाई कापीकलम किन्न थोरै पैसा दियौँ । हिँड्ने बेला उनले भनिन्, ‘मेरा त दिदीहरू हुनुहुन्न । हजुरहरू दिदीजस्तै लाग्यो । हजुरहरूले एउटा टिकटक बनाउनु न म मेरो टिकटक आइडीमा राख्छु ।’
हामीलाई परबाट हिँड्न लगाएर उनले आफ्नो मोबाइल फोनबाट खिचेर गीत भरिन् र टिकटक बनाइन् ।
भावुक मन बोकेर हामी बिदा भयौँ । उनको प्रेम मुटुभित्र घर गरेर बसेको छ ।
उनीसँग छुट्टिएर हामी चौतारीमा आइपुग्यौँ । साथीहरू जम्मा हुँदै हुनुहुन्थ्यो । केहीबेरको पर्खाइपछि हामीले आँपस्वारालाई गुड बाई भन्यौँ । बसले हामीलाई अपरान्ह ४ बजे बसले कलंकीमा ओराल्यो । ओर्लिएर साथीहरूसँग बिदाबारी भयौँ ।
यसरी आँपस्वाराको यात्रा प्रभावकारी बन्यो । साँच्चै मान्छेमान्छे बीचको विभेद अन्त्य हुन जरुरी छ । हामी जो जहाँ र जसरी सक्छौँ हातेमालो गरेर विभेदव अन्त्य गर्न अग्रसर बनौँ भन्ने सन्देश दिएको छ यस आँपस्वारा काव्य यात्राले ।
यति महत्त्वपूर्ण यात्रामा सहभागी हुने अवसर दिएकामा काव्य यात्राका संयोजक एवं पत्रकार मित्र अमृत भादगाउँलेलाई विशेष धन्यवाद !
आँपस्वाराको प्रेमले मन तानिरहेको छ । समय मिल्यो भने परिवारसँग म फेरि पुग्नेछु आँपस्वारा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।