२८ नोभेम्बर २०२०, शनिबार

मेरो मिनीभ्याकेसनको दोश्रो दिन अर्को उमङ्ग च्यापेर झुल्कियो । पहिलो दिन माहे आइल्याण्डको ओल्लोपल्लो छेउ घुमेर थाके पनि राति खासै निन्द्रा लागेन, ओछ्यान फेरिएकाले होला । अधकल्चो निद्रा सुतेर बिहान उठियो । मभन्दा अघि उठेर साथीहरुले ब्रेकफास्ट बनाइसकेछन् । पन्तजी बिहान-बेलुकी पूजापाठ नगरी केही खानुहुन्न रहेछ, हनुमान चालिसा जप्दै हुनुहुन्थ्यो पूजा कोठामा । नित्यकर्म सकेर म ओर्लिंदा बिहानको कलिलो घामले झ्यालबाट चिहाउँदै थियो । पन्तजी तल ओर्लिवरी प्याकेटबाट ब्रेडका स्लाइस निकाल्दै हुनुहुन्थ्यो, सँगै खायौँ र गफकै सिलसिला जोड्यौँ । म चियाको अम्मली ब्रेडसँगै चिया पनि खाएँ । म पाहुना भइहालेँ, पन्तजी सबैका दाइ । भान्सामा सघाउन नदिएर आफैं भिडे साथीभाइ ! खाना पाकेपछि समयमै खाइसकेर सेसेल्समा अवस्थित दुबइको राजाको दरबार ‘शेख खालिफा प्यालेस’ हेर्न जाने योजनानुसार तयारी हुँदै थियो ।

कवि राम बगाले र गजलकार आरसी राई पनि आइपुगे । उनीहरुसँग पनि पहिलोचोटी नै भेटघाट भयो । प्रसङ्गवश सानोतिनो कार्यक्रमकै रुप जन्म्यो त्यहाँ । पृष्ठभूमिमा झल्केको नेपाली झण्डाले झन् औपचारिकता थपेको थियो । मैले आफ्ना दुई पुस्तक कृति एनआरएनए र अनेसासका साथीहरुलाई संयुक्तरुपमा हस्तान्तरण गरेँ उपहारस्वरुप । फोटो खिच्ने कार्यक्रमपश्चात् घरबाट निस्कियौँ सबै । हामी ६ जनालाई खाँदेर कार उकालो लाग्यो । पुरुषोत्तमजीलाई बिस्तारो चलाउन भन्दैछु म । हिजोको भ्रमण अनपेक्षित थियो । कहाँ जाने टुङ्गो थिएन । तत्काल बनेको योजना थियो । आज मेरो रोजाइमा हिड्दैछौँ हामी । जहिल्यै टाढाबाट देखिने त्यो अग्लो डाँडाको ठुलो घर नजिकबाट हेर्ने धोको पूरा गर्नु थियो । अलिक माथि एउटा पौवा भेटियो त्यहाँबाट पनि भिक्टोरिया पुरै देखिँदोरहेछ । कार रोकेर एकछिन रमायौँ मन लोभ्याउने दृश्यसँग । अनि फोटो खिचेर अझै माथिको यात्रामा लम्कियौँ । आइपुग्यो सेसेल्सको सबैभन्दा अग्लो पहाड ‘ला-मिजेर’ । संयुक्त अरब इमिरेट्सको राजा शेख खालिफाले खरबौं डलर खर्च गरेर बनाएको राजमहल भएको ठाउँ । त्यहाँबाट देखिने दृश्य शब्दमा बयान गर्न गाह्रो । सेसेल्सको सबैभन्दा उच्चस्थानमा भएकोले चारैतिरका मनोरम दृश्य एकसाथ प्रष्टै देख्न सकिने । कुनको बयान गरौँ पहिले ? बरु चुपचाप आँखाले निलेँ एकैपटक मैले । सयौं हेक्टर क्षेत्रफलमा फैलिएको दरबार क्षेत्र प्रवेश गर्न र घुम्न चाहिँ नपाइने रहेछ । चारैतिर सिसिटिभी क्यामेरा जडान गरिएको गेटमै रोके त्यहाँ कार्यरत नेपाली सेक्युरिटीले । मैले सन् २००९ मै भेटेका झापाली मित्र दुर्गा तामाङ अझै त्यहीँ कार्यरत रहेछन् । लामो समयपछि त्यो एकान्त ठाउँमा एक्कासी देख्दा दुवैजना चकित भयौँ । काम, कमाइ राम्रो भएकोले छोड्न सकिएन भन्दै थिए । हुन पनि अरबी राजाकोमा काम गर्नु ब्रिटिश लाहुरे सरह नै हुँदोरहेछ । खासगरी शाही परिवारका कम्पनीमा मालामाल नै हुने कुरा बुझियो ।

मान्छेका सोख पनि कस्ता-कस्ता ? आफू नित्य बस्नु छैन, तर दरबार बनाएर त्यहाँ काम गर्ने कर्मचारी पालेर राखेको । राजपरिवार कहिलेकाहीँ सवारी हुँदा निक्कै राम्रो टिप्स झर्छ रे ! टिप्सकै पैसाले घर-जग्गा जोडेको लोभलाग्दो कुरा त्यहाँ कार्यरत नेपालीले गर्दा हामी चकित भयौँ । भोजपुरको ट्याम्के डाँडा बिर्साउने त्यो हिल टप माउन्टेन किनेर दरबार बनाउने बेला सन् २०१० मा एउटा ठुलो विवाद पनि सुनिएको थियो । हजारौं विदेशी कामदार अनि निर्माण सामग्रीको नियमित आवतजावतले त्यहाँको स्वच्छ वातावरण प्रदुषित भएको, डिजेल अनि मानव मलमुत्रको ढल पसेर पानीको मुहान दुषित भएको , समग्रमा उक्त स्थान बस्न योग्य नरहेको भनेर स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए उचित क्षतिपूर्तिको माग सहित । भनिन्छ,- ‘ला-मिजेर’ उच्च पहाडी गाउँ माहे आइल्याण्डको सबैभन्दा सफा पिउन योग्य पानीको मुहान भएको ठाउँ हो । जो अरबी राजाको दरबार निर्माणको क्रममा ढल सावित हुँदैछ भनेर स्थानीयको चर्को विरोधले सरकारको ध्यान राम्रैसँग खिचेको थियो त्यतिबेला ।

अर्को एउटा रोचक र सनसनीपूर्ण कुरा त के थियो भने तत्कालीन सरकार प्रमुख राष्ट्रपति जेम्स मिसेलले दुबइको राजालाई आफ्नो व्यक्तिगत तथा राजनीतिक स्वार्थ पूर्तिका लागि ‘ला-मिजेर’जस्तो देशकै सबैभन्दा आकर्षक जमिन कौडीको मूल्यमा बेच्यो भन्ने आरोप विपक्षी पार्टीले लगाएको थियो । प्रतिपक्षले भनेको थियो- आफुले चुनाव जिते बेचिएको आफ्नो जमिन फिर्ता लिनेछौँ । स्मरण रहोस्: आज यहाँ तत्कालीन प्रतिपक्षले चुनाव जितेर सत्तामा छ, तर उक्त राजदरबार शेख खालिफाकै स्वामित्वमा अटेरी भएर बसेको छ जस्ताको त्यस्तै । नयाँ सरकार पनि पुरानै तालमा नाच्न मग्न देखिन्छ । पछि छर्लङ्ग हुँदै गयो- शेख खालिफाले पनि सित्तैमा सेसेल्सको जमिन लिएको होइन रहेछ । उसले त सेसेल्सको शिक्षा, स्वास्थ्य, सुरक्षा, यातायात जस्ता क्षेत्रमा खरबौं डलर अनुदान सहयोग गरेको रहेछ । समाचारमा आएको थियो- युएईले सन् २००९ मा पनि सेसेल्सलाई भिक्टोरिया अस्पतालको स्तरोन्नतिका लागि तीस मिलियन अमेरिकी डलर दिएको थियो । सबै कागजी प्रक्रिया पुर्याएर कानुनीरुपमा गरेको सम्झौता खारेजीको सम्भावनालाई जनता झुक्याएर भोट माग्ने साधन मात्र बनाएछ प्रतिपक्षीले ।

हरेक देशका राजनीतिकर्मीको अभिष्ट चुनावअघि र पछि फरक हुँदोरहेछ भन्ने यहाँ पनि बुझियो । बरु, त्यतिबेला ३५० घरपरिवार सहितका प्रभावित स्थानीय जनतालाई क्षतिपूर्ति स्वरूप शेखले दिएको करोडौं डलर चाहिँ तत्कालीन राष्ट्रपति जेम्स मिसेल र उसका सहयोगीले हिनामिना गरेकै रहेछन् । स्थानीय संचार माध्यमले यही लेखे । एउटा गतिलो काम नवनिर्वाचित वाभेल सरकारले देखिने गरी गरेकोछ यहाँ- पुराना भ्रष्टाचारीहरुलाई जरिवाना सहित जेल हाल्दैछ । यतिसम्म कि चुनाव हारेदेखस पूर्व राष्ट्रपति जेम्स मिसेल पनि शेख खालिफाकै देश युएई आप्रवासनमा छन् भन्ने सुनिन्छ । त्यसो त सेसेल्सका अन्य टापूहरु पनि लिजमा दिने वैधानिक प्रावधान छ । म कार्यरत फ्रिगेट आइल्याण्ड पनि ९९ वर्षको लागि जर्मनी व्यवसायीलाई लिजमा दिइएको हो । यो सरकारी नीति भने कानुनी रुपमै चलिआएको छ यहाँ । यसले ठुलो करराशि उठाएर देशको अर्थतन्त्रमा निक्कै मद्दत पुर्याउँदो रहेछ । विदेशी सहयोग लिनमा सेसेल्स धेरै उदार छ । पर्यटनको चमत्कारिक विकासले आज सेसेल्स पुरै अफ्रिका महादेशको सबैभन्दा बलियो अर्थतन्त्र निर्माण गर्न सफल छ । सम्झिन्छु- हाम्रो देशमा पनि थुप्रै विदेशी सहयोग नियोगहरु सक्रिय छन् । तर, कहिलेकाहीँ जनस्तरबाट चर्को विरोध आउने पनि भइरहन्छ । जनतामा ठुलो भ्रम सिर्जना गरेर सत्ता विपक्षीहरुले आफ्नो स्वार्थी राजनीति गर्ने निहुँ झिकिरहने चलन त पुरानै हो हाम्रोमा पनि । फेरि तिनै सत्तामा गए भने त्यही कुरा जायज भन्छन् । जनताहरु त सधैं कुहिरोको काग मात्र । पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा उठेका नानाथरी भ्रम र विवादले नेपाली मन, मस्तिष्क ततायो । अन्ततः सबै राजनीतिक दल मिलेर पास गरिछाडे । भ्रमको खेती गरेर जनतालाई रनभुल्ल पार्न कति सिपालु हाम्रा राजनीतिज्ञहरु ! सही र गलत छुट्याउन जनता नै सचेत हुनुपर्ने रहेछ ।

अँ, अरबी राजाको आलिसान महल परिसरमा छौँ हामी । यस्ता दरबार दुनियाँका अरु देशमा पनि बनाएका छन् उनले । अमेरिका, युरोप लगायत विश्वका थुप्रै देशमा उनको व्यवसाय छ । फोर्ब्स भन्छ- शेख खालिफा विश्वको तेश्रो धनी शाही खानदान हुन् । उनको सम्पत्ति करिब २० अर्ब डलर छ । अनि संसारको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा पनि उनकै नाममा छ । स्मरण रहोस् सन् २०२२ को १३ मेका दिन शेख खालिफाको निधन भइसकेको छ ।

हिन्दमहासगर द्वीपसमूहको मुख्य टापू, माहेको ३६० डिग्री दृश्यमा अवस्थित यो स्वर्गतुल्य स्थलमा यति भव्य महल बनाउन कति पैसा लाग्यो होला कल्पना गर्दै चित खाइन्छ । संसारका धनाढ्यहरुको आकर्षण सेसेल्स टापु धर्तीको।स्वर्ग प्रतित हुन्छ । दुबईका राजखलकको कुरा चल्दा एउटा रमाइलो प्रसङ्ग याद आयो- एकपटक, सायद सन् २०११ मा हुनुपर्छ यिनै शेखका छोरा राजकुमार आफ्नो देशान्तरका भौतिक सम्पत्ति निरीक्षण गर्दै माल्दिभ्स, मौरिसस हुँदै सेसेल्स आएका थिए । त्यसै क्रममा यहाँ फ्रिगेट आइल्याण्डको भ्रमण पनि तय भएको थियो । संसारका महँगा लक्जरी रिसोर्टहरुमध्य एक विश्वचर्चित पाँचतारे होटेल हो फ्रिगेट । यहाँको रेट एक रातको पाँच हजारदेखि अठार हजार युरोसम्म पर्छ एउटा भिल्लाको । संसारका धनाढ्य, सेलिब्रिटीहरुको आकर्षक पर्यटकीय गन्तव्य हो फ्रिगेट आइल्याण्ड । अझ भनौं निजि जहाज हुनेहरु नै खास यसका गेस्ट हुन् । माहे आइल्याण्डसम्म प्राइभेट जेटमा र त्यहाँबाट ब्याक टु ब्याक हेलिकप्टर चार्टर्ड गरेर आफ्नो दलबल सहित २० जना आएका थिए । तिनका खाद्य सामग्री र पिउने पानी समेत बोकेर एउटा ट्वीन अटर प्लेन आएको थियो । यहाँ त बस्न मात्रै आएका रहेछन् । खानपिन त आफ्नै लिएर आएका । शेफ, बटलर, वेटर सबै निजि । अंगरक्षक चाहिँ नेपाली रहेछन् । जान्न पाउँदा खुसी पनि लाग्यो । त्यतिबेला फुल प्राइवेसी प्रेसिडेन्टल भिल्लाको दश हजार युरो पर नाइट पर्दथ्यो । त्यो लगायत अन्य पाँचवटा भिल्ला पनि लिएर ३ दिन बसे । जाने बेलामा यहाँका १५० बढी स्टाफलाई लाइन लगाएर जनही ३-३ सय अमेरिकी डलर टिप्स दिएथे । राजकुमारका निजि एकाउन्टेन्टले बग्गीको ब्याक सिटमा पैसाका बिटाले भरिएको ब्रिफकेस खोल्दा झन्डै भाउन्न भएथ्यो । त्यति धेरै पैसा एकसाथ लाइभ पहिले कहिल्यै देखेको थिइनँ मैले ।

मैले राजा र राजसंस्थाको समर्थन गरेको चाहिँ होइन । तर, दुबईका जस्ता राजा भए किन नस्वीकार्नु जस्तो चाहिँ लाग्छ घरिघरि । वास्तवमा मोनार्की सिस्टम नराम्रो नै भन्न चाहिँ नमिल्ने रहेछ यदि लोकतान्त्रिक राजा अनि लोककल्याणकारी राजसंस्था भए । दुबईका राजाको संसारभरि आर्थिक फैलावट छ । उनी धनी छन्, तर जनता पनि धनी छन् । उनी सुखी छन्, जनता पनि सुखी नै छन् । उनी समृद्ध छन्, जनता नि समृद्ध छन् । दुबई मात्र होइन, संसारमा थुप्रै यस्ता देश छन् जसले राजसंस्थाको अभ्यास गरेर पनि देश र जनता दुवै समृद्ध छन् । हाम्रोमा एउटा राजा फालियो तर हजार राजा जन्मे । देश र जनता दुवै कङ्गाल हुने अवस्था देख्दा मन कटक्क काटिन्छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा ठिक उल्टोबाट अभिशाप बनेर फनफनी जनताको टाउकोमा घुमिरहेको नियतिले हुरुक्कै हुनेगरी चिमोट्छ । नेता झुपडीबाट महलमा स्थानान्तरण भए तर जनताको मनोदसा झन् कन्तबिजोग भएर गयो ।

सेसेल्सको सगरमाथा ‘ला-मिजेर’ हाइटमा अवस्थित त्यो भव्य राजमहल फ्रिगेट आइल्याण्डबाट माहे आइल्याण्ड आउँदा बोटबाट पटकौं देखेको । माहे आउँदा बोटबाट सबैभन्दा पहिला नजर पुग्ने दृश्य नै त्यही थियो । तल समुद्र सतह र सहरमा झलमल्ल घाम लागे पनि त्यो डाँडामा अक्सर कुहिरो कुदिरहेको देखिन्छ । पक्का लेक, ठ्याक्कै धनकुटा हिले । कुहिरोको पर्दा च्यातेर हठात् घामले हस्तक्षेप गर्छ । आङमा घाम पर्नेबितिक्कै दरबारले कुहिरोको घुम्टो खोल्छ र भिक्टोरियातिर हेरेर मुसुक्क मुस्कुराउँदै आफ्नो मोहनी रुपले मान्छेका आँखा खिचेर आफूतिर तान्छ । भिक्टोरिया बन्दरगाह र इडेन आइल्याण्डको डिलबाट उत्सुक आँखालाई थमथमाउँदै राखेको धेरै भएको थियो । कुनै दिन त पुगौंला त्यहाँ भन्ने मनसुवा जिउँदो थियो । नजिकबाट हेर्न मन लागेको थियो । मिले त दरबारका कोठी कोठी चाहार्ने रहर पनि थियो नि ! आज पुगियो, देखियो पनि तर भित्र छिर्न नपाइने रहेछ । बाहिरैबाट दर्शन गरेर मनको रिमोट कन्ट्रोलले स्पर्श गरियो । फोटो खिच्नसमेत निषेध भएकोले ती चित्ताकर्षक दृश्यहरुलाई आँखैमा कैद गरेर त्यहाँका नेपाली साथीहरुसँग बिदा माग्दै त्यहाँबाट फर्कियौँ हामी उही निलो कारमा कोचिएर ।

त्यसपछि राम बगाले र आरसी राईलाई भिक्टोरिया टाउनमा छोडेर हामी बेलोम भन्ने पहाडको लोअर पार्ट पुग्यौँ । हिजो बेलोमको अपर पार्ट जाँदा त्यहाँबाट गाडी जाने बाटो टुंगिएको फर्केका थियौँ । जत्ति मेहनत गर्दा पनि समुद्रले उखेलेर लान नसकेको भीमकाय चट्टान रहेछ त्यहाँ । पत्थरमा समुद्रले खोपेका विभिन्न आकृतिको बखान के गर्नु यहाँ ! हाम्रा धर्मग्रन्थले भनेअनुसार पृथ्वीको उत्पत्तिकालमा साँच्चै मधु-कैटभ राक्षसको हाडले बनेका पो हुन् कि यी चट्टान झैं लाग्ने । सिधै देखिन्थ्यो शिल्ह्वेट आइल्याण्ड र अन्य स-साना पनि । ती द्वीप समूहहरु लहरै भतेर खान बसेका जन्ती प्रतित हुन्थे । फोटो-भिडियो धित मरुन्जेल खिचेर फर्किंदै थियौँ, बाटोमाथिको सानो घरबाट एउटा अधवैंशे हब्सीले क्रेओल र अङ्ग्रेजी मिश्रित भाषामा बोलायो । घरी डालोन भिनी, भन्यो घरी माइ फ्रेन्ड कम हेयर भन्यो । के रहेछ भनेर ५-७ सिँढी चढेर उसको परिसर टेक्यौँ । त्यसले खुल्ला पिञ्जडामा आङ तन्काइरहेको एउटा चमेरो देखायो । र, तलको समुन्द्र सुसाएझैं सासले हाँसेर त्यो चमेरो २० वर्षको हो भन्यो । छेउमा एक नाङ्लो सडेगलेका फलफूल राखेको थियो ।

फताकफतुक मेवा र केराका प्रकृति हेर्दा लाग्थ्यो- त्यसले कि तीनलाई चमेराले नै खाँदाखाँदै खसाएको बोटमुनिबाट सोहोरेर ल्याएको हो, कि त कसैले फालेको गार्बेज बिनबाट उठाएर ल्याएको हो । चमेरो भने सप्रेको बिरालो जत्रै थियो है ! आफ्नो सुन्निएको खुट्टा देखाउँदै फलफूल किनेर यो चमेरालाई खुवाओ, मलाई पनि सहयोग हुन्छ भन्यो । पहिला त नरम भाषामा अनुरोध गर्दै थियो । पछि त रुखो स्वरमा हप्कीदप्की नै पो गर्न थाल्यो । अलिअलि मानव भाषा पनि बुझ्दोरहेछ चमेरो । त्यसको डरले त होइन, रहरले नै फल किनेर चमेरालाई खुवाउन तम्सिहालेँ म । पर्समा हात पुर्याइसकेको थिएँ पन्तजीले रोक्नुभो । उहाँलाई अनुमान भइहालेछ त्यसको हर्कत । जिब्रो लरबराइरहेको हब्सी मदिराग्रस्त लाग्थ्यो । बोतलबाटै ठाडो घाँटी लाएर सेब्रु बियर पनि तान्दै थियो ऊ । उसको ठगी धन्दा गज्जब रहेछ । कुहिएका फलफूल बेचेर चमेरो पाल्ने अनि त्यो पैसाले आफू मात्ने ! गाउँको बलबहादुर घतानी सम्झेँ, हँसिया बनाएर बिहान हिँडेको मान्छे बेलुका फर्किंदा झ्याप्प भएर दश-दुनियाँलाई गालीगलौज गर्दै फर्किन्थ्यो । बले दाइ भन्थे सबैले गाउँमा । मातेपछि बेहोरा बिगार्ने बले दाइको बेस्सरी याद दिलायो यो काले दाइले । यस्ता पात्र जहाँ पनि हुँदारहेछन् । बेलोमबाट बेउभालोन बन्दरगाहमा आएपछि पन्तजीले भन्नुभो- सर, यो नेपालको ठमेल हो । हुन पनि त्यहाँ पर्यटकहरुको छिचोलीनसक्नु घुइँचो लाग्दोरहेछ । कोरोना कहरले यतिबेला चाहिँ खासै देखिएन ।

मनोज र पुरुषोत्तमजी प्रालिन आइल्याण्ड फर्किने भए । भिक्टोरिया जेट्टीमा छोड्न गयौँ । हामीलाई पनि सँगै लिएर जान चाहन्थे तर पन्तजीको छुट्टी मिलिरहेको थिएन । केही दिन पर्खेर सँगै जान पनि उता उनीहरुको काम छुट्ने । जाँदै गर्नू, हामी भोली-पर्सीतिर आउँछौँ भनेर बिदा दियौँ उनीहरुलाई । क्याट-कोको अन्तरआइल्याण्ड सार्वजनिक बोट सेवा प्रदायक नौका कम्पनी हो । यसले सेसेल्सका मुख्य टापुहरु माहे, प्रालिन र लाडिगमा आफ्नो नियमित जल यातायात सेवा दिने गर्दछ । त्यही क्याट-कोको नामको बोट चढेर उनीहरु प्रालिन आइल्याण्ड गए । छुट्नुअघि मलाई जसरी पनि आउनुपर्छ भनेर वाचा गराए । नजाने त कुरै थिएन । मेरो टार्गेटेड भिजिट नै प्रालिन आइल्याण्ड थियो यो पटक । अहिलेसम्म पुरुषोत्तमजीले चलाइरहेको कार पन्तजीले टेकओभर गर्नुभो । साथीहरु पानीजहाजको छतबाट हात हल्लाउँदै प्रालिन लागे । हामी कारभित्र पसेर टाउनतर्फ मोडियौँ । लोप्चनजी हामीलाई पर्खेर एसटिसी हाइपर मार्केटमा बसेको सूचना पाएपछि त्यहाँ गयौँ । सामान्य किनमेलपछि भानिल्ला योगार्ट खाँदै पन्त निवास फर्कियौँ र आजको भ्रमण पनि समापन गर्यौं । खाना बनाएर खाइवरी पन्तजी नाइट ड्युटी जानुभो । लोप्चनजी र म पनि केहीबेर गफिएर भिन्नाभिन्नै कोठामा सुत्यौँ । निदाउन त गाह्रै पर्यो आज पनि ।

क्रमशः ….