
जीवन यात्रा हो — यात्रा जहाँको पनि हुनसक्छ । जीवन यात्रा भएकोले महिनाको पहिलो शुक्रबार पदयात्रा गर्ने गरेका छौँ । सात महिना भएछ हामी हिँड्न थालेको ।
२०७४ जेष्ठ ५ गते आठ बजेको करिबमा शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा डिल्लीराज अर्याल, जय छाङ्छा, डा. भक्त राई, डा. धनप्रसाद सुवेदी, श्यामबहादुर भावुक, लीलाराज दाहाल, मन्दिरा मधुश्री, शीतल गिरी, डिल्लीरमण सुवेदी, जसध्वज गुरुङ, बखत बहादुर थापा र मलेसीयन लाहुरे काली बहादुर राई जम्मा भएर टिकट काटेपछि भित्र प्रवेश गर्यौं— दिनभरि शिवपुरीको जङ्गल डुलेर आनन्द लिने, रमाउँने, उन्मुक्त हुने चाहनाले ।
जीवन यात्रा हो— हामी पीच सडक नगएर प्रवेशद्वार नजिकको देब्रेतर्फ (उत्तरतर्फ)को ढुङ्गे खुड्किलो बाटो समाएर सुस्तरी अघि बढ्न, उकालो चढ्न सुरु गर्यौँ । खुड्किलो बाटो एकनाशको उकालो, सल्लोको जङ्गल, डा. भक्त राईको मोबाइलमा मीठो गीत बज्दै छन् । समय–समयमा हाहा हुहु गर्दै बालकझैँ जय छाङ्छा रमाउँछन्, डा. भक्त पात बजाउँछन् र जसध्वज गुरुङ गीत घन्काउँछन् ।
जिन्दगी यात्रा हो— अहिले हामी १२ जना बागद्वार जानको लागि अघि बढ्दै छौँ । बाटोमा पात टिप्दै गरेका दुई–तीन जना भेटिए, सालको पातको अभावमा अर्कै कुनै पातले काम चलाउन टिप्दै थिए ती । नाम त भनेका हुन्, अहिले सम्झना भएन । फलफूल खाँदै, गाजर टोक्दै पाइला सार्दै छौँ । विष्णु पादुका (विष्णुमतीको मुहान) जाने बाटो छोडेर हामी उकालो लाग्छौँ । ओहो यहाँ त कैलास, कामधेनु गाई के के हो के–के । यति मात्र हो र नुवाकोट अवलोकन गर्न मिल्ने, बन्जीजम्प गर्न उपयुक्त स्थल गजबको ठाउँ भेटियो । यात्रा गर्नेले यस्तो रमणीय स्थान फेला पार्छ । मलाई आफू पदयात्री भएकोमा गर्व छ । साठी कटिसकेको यो उमेरमा पनि बालकझैँ फूलको थुँगाझैँ बयली खेल्दै उकाली, ओरालीमा उक्लिन–ओर्लिन रमाइलो लाग्छ । उक्लदै जाँदा पानीको सुविधा भएको चउर भेटियो । हो त्यही झुरुम्म बसेर भोजन गर्यौँ । अन्ततः हामी शिवपुरी पिकमा पुग्यौँ ।

शीतल गिरी
जिन्दगी यात्रा हो ! यही रमणीय स्थानमा यात्रा गर्दै आई शीवपुरी बाबाले साधना गरी ज्ञान प्राप्त गरेका रहेछन् र समाधिस्थ पनि यही भएका रहेछन् । अहिले उनको मूर्ति बनाइएको रहेछ, हेर्न पाइयो । डाँडाको टुप्पामा ठूलो चउर छ । यसैलाई शिवपुरी पिक भनिँदो रहेछ, हेर्न पाइयो । यही ठाउँमा हेलीप्याड पनि छ । यस ठाउँमा केहीबेर रमाएर पूर्व उत्तरतर्फको गोरेटो बाटो हुँदै ओरालो ओर्लन सुरु गर्यौं । यो गोरेटोले हामीलाई बागद्वारा यानी बागमतीको मुहानसम्म पुर्याउँछ भन्ने विश्वास लिएर ।
यात्रा भनेको जीवन हो — थरिथरिका हुन्छन् यात्रा । थरिथरिको गरिन्छन् यात्रा । घरिघरि गरिन्छन् यात्रा । आफूले गरेको सबै यात्राको बारेमा सम्झना हुँदैन, सम्झनामा राखिँदैनन् र मात्र हो । हाम्रो यात्रामा पथप्रदर्शक हुदैनन्, न त खास कुनै कार्यक्रम नै बनाइएको हुन्छ । मात्र एउटा कुरा गरिन्छ— त्यो हो निश्चित स्थानमा जम्मा भएर पूर्व निर्धारित स्थानमा पुग्ने । कतिपय ठाउँको यात्रामा यात्रा गर्न बाटो पनि पाइँदैन, आफैँ बाटो पहिल्याउँदै अगाडि बढ्छौँ । हिँड्दै जादा भेटिएको मानिससँग सोध्छौँ र टुङ्गोमा पुग्छौँ ।
अहिले भने हामी ओरालो झर्दै छौँ, गोरेटो बाटोमा देब्रेतर्फबाट ध्यानयोग शिविर जाने मार्ग देखाइएको छ । हामीलाई त्यता जानुनपरेको हुँदा सो ध्यानयोग शिविरको इतिहास खोज्नपट्टि लागेनौँ । बागद्वारसम्म पुग्ने यात्रा पूरा गर्नु थियो । आज हामीले उपत्यकाबासीले सम्पूर्ण पानी आफ्नो लागि लगेर नाङ्गेझार बनाएको बागमतीको उद्गमस्थल पुग्नु छ, हेर्नु छ । यसो त नामको पवित्र भए पनि उपत्यकाबासीले ढलमती बनाएकी भने देखेकै छौँ ।
एउटा यस्तो बागमती, जो काठमाडौँ सहरको बीचबाट स्वच्छ पानीको साथमा पूर्णयौवनमा कलकल गर्दै सलल बगिरहेको होस् ! त्यो तब हुन सक्छ, जब मानव–शोषणबाट नदी मुक्त हुनेछ । नदीको जीवन हराभरा भयो भने यहाँको मानव कला, संस्कृतिमा धनी बन्न सक्नेछन् । के नदी र मानिसको जीवन उस्तै होइन र ? एक–अर्काको पूरक बन्न साथसाथै अघि बढ्नुको साटो सम्पूर्ण पानी शोषण गर्नुको अर्थ नदीको अस्तित्व समाप्त पार्न खोज्नु नै त हो नि !
ओरालो ओर्लिंदै हामी अन्ततः बागद्वार पुग्यौँ । त्यहाँ टोड्के बाबाको आश्रम र बौद्ध गुम्बा भेटायौँ । गर्मीको बेला हिमालबाट आएको चिसो वातावरण, हिन्दू र बौद्ध धर्मको पवित्रतामा भक्तिपूर्वक नाच्दै, त्यहाँका रुखपातलाई साक्षी राखेर यात्राको थकान मेटाउन र शरीरको आवश्यकता पूरा गर्न बाघद्वारको चिसो पानी धित मरूञ्जेल पियौँ । टोड्केबाबाले बाघको मुखसहितको धारा बागमतीको मुहान यही हो भनी औँल्याए । बागमतीको मुहान भनी मानिँदै आएको स्थान पूर्वतर्फ अलिपर रहेछ ओर्लिएर जानुपर्ने ।
यात्रा जीवन हो— अहिले हामी बागद्वारमा छौँ । जहाँबाट बगेकी बागमती शिवपुरी पहाडको पानी आफूमा समाहित गरी सुस्तरी सलल बहन्छिन् । यही पानी पानीपोखरी नामक स्थानमा मानवले दोहन गरी यिनलाई ढलमतीमा परिणत गरिदिएका छन् । कति गन्हाउँछ ढलमती । सम्पूर्ण फोहर यहीँ फलिन्छ, सङ्लो पानी नभएको बागमती नामको लागि भने पवित्र छ ।
कति सोझा रहेछन् टोड्केबाबा । किताबी ज्ञानको अभाव देखिए पनि उनमा अदृश्य शक्तिप्रति विश्वास रहेछ । विश्वास कति वीभत्स हुन्छ ।
यहाँ सबै चिज मौन छ । शिवपुरीको घना जङ्गलमा, हिंस्रक जनावरहरूको माझमा एउटा विशाल वृक्षको टोड्कामा बाह्र वर्षसम्म साधनामा बिताउनु सामान्य कला होइन । ईश्वरप्रतिको उनको विश्वास कति महान् र गहन ।
सविस्तारपूर्ण आफ्नो अनुभव सुनाए टोड्केबाबाले । अर्को एक जना बाबा भेटिए । उनी गुम्बापछाडिको मन्दिरमा बस्दा रहेछन् । मूलपानी घर भन्थे थर थापा बताएका थिए । काम गर्नकै दुःखले जोगी बनेको यथार्थ उनले कुराकानी गर्दा कुनै धक नमानी हाँस्दै भने ।
यात्रा जिन्दगी हो— यहाँ कसले, कसरी, कस्तो यात्रा गर्छ ? त्यो लिपिमा नलेखिएको इतिहास यात्राकै क्रममा थाहा पाउन सकिन्छ । त्यसैले हामी पदयात्रा गर्ने गर्छौ ।
बागमती नदीको मुहान बागद्वारमा पुगेका थियौँ हामी । रमाइलो वातावरणमा सिर्जना सुनेर, सुनाएर रमायौँ साथै खाजा पनि त्यहीँ खायौँ । अनि, उकालो उक्लिन थाल्यौँ घर फर्किनको लागि । तर, आएको बाटोबाट भने होइन नि ! बाटोमा ध्यानयोग साधना केन्द्रमा जान लागेका दुई जना भेटिए । हामीले सामान्य शोधखोज गर्यौँ, जङ्गलको बीचमा गोरेटो बाटोमा स्थानीयझैँ नलागेका युवा–युवतीमात्र भेटिँदा त्यस बखत । हिँड्दै जाँदा हामी आफैँ दूई समूहमा बाँडिन पुग्यौँ — अघिअघि डा. राई, जय छाङ्छा, डिल्लीरमण थिए ।
डाँडामा दुइटा बाटो भेटियो— देब्रेतिरको उकालो बाटो गुम्बा जाने र दाहिनेतर्फको ओरालो बाटो मूल सडकमा पुग्ने । मोबाइलको सीग्नल नभएकोले सम्पर्कको अभावले गर्दा अघि लागेका साथीहरू गुम्बाको बाटो गएछन् । हामीचाहिँ ओरालो बाटो लाग्यौँ । हो, यहीँ फरक पर्यो !
हिँड्दै जादा हेलीप्याड जाने बाटोमुन्तिर सडकमा हामी सबैको भेट भयो । केहीबेर सडकै सडक पश्चिम लागेपछि देब्रेतर्फ गाउँ जाने गोरेटो बाटो खुत्रुक्क ओर्लिएर छोटो बाटो समातेर हामी बूढानीलकण्ठ बसपार्कमा पुग्यौँ, साझ पख ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

