हावामै आयो मौका

आफ्नो कार्यलयमै व्यस्त थिएँ । मोबाइलको घन्टीले झस्कायो । यसो स्क्रिनमाथि आँखा डुलाएँ । मनभित्र उत्सुकताले चाकाचुली खेल्न लाग्यो । को होला ? अज्ञात नम्बर रहेछ। पक्कै पनि कुनै कम्पनीको फोन होला । यिनीहरूले पनि साधारण मानिसलाई आफ्नै पाराले ढुक्क बस्न दिनै छाडे । जहिलेतहिले जसतसलाई फोन गरी विरक्त पारिरहन्छन् । अर्काको समयको अपहरण गर्छन् । असन्तुष्टिमा मैले फोनको स्विच थिचेर म्युट पारिदिएँ । घन्टी बन्द भयो । मैले ठुलो सास फेरेँ अनि आफ्नो काममा लागेँ। तर क्षणिक समय मात्र निस्तार पाएँछु । फेरि घन्टी बज्यो । उही नम्बर, न‌उठाई नहुने भयो। कसैलाई आपत परेको होला । अप्रशन्नताको रापलाई एकातिर कोल्ट्याउँदै अनिच्छाकृत उठाएँ ।

उताबाट स्वर गुन्जियो, “त्रिपुरा विश्वविद्यालयबाट बोल्दैछु।”

म हस्तक्षेप गर्दै तर्किएँ। म कृषि विश्वविद्यालयको मानिस, त्रिपुरा विश्वविद्यालयसँग मेरो केही सम्पर्क छैन त । हजुरले अरू कसैलाई खोज्नुभएको थियो होला ।

उताबाट फेरि जवाफ आयो, ‘हजुर डा. देवेन सापकोटा हुनुहुन्छ ? म विश्वविद्यालयको उपाचार्यको च्याम्बरबाट बोल्दैछु ।’

मेरो अहम् भावको गुब्बारोलाई मानौँ उताको बोलीले घोचिदियो । म खङ्ग्रङ्ङ भएँ । सामान्य भएर जवाफ फर्काउन लुरुक्क हुनुपर्‍यो । स्वर बदलाउँदै नौनीको घिउ भएँ, ‘हजुर । भन्नुहोस् त, म कसरी तपाईंलाई सहायता गर्नसक्छु ।’

त्रिपुरा वि.वि.अन्तर्गत अगरतलामा एउटा भेटेनरी कलेज छ। यससँग रहेको एफिलिएसनको नवीकरण गर्नुपर्ने भएको छ। यसै सिलसिलामा संस्थान निरीक्षण गरी सहयोग गरिदिनुहुन हजुरलाई अनुरोध गरिएको हो ।

यस्तो दायित्वपूर्ण कार्यबाट पछि हट्ने कुरै आउँदैन। मैले जवाफ दिएँ ठिकै छ । म सहयोग गर्न तयार छु । त्यस सम्बन्धित कागजातहरू मलाई इमेल गर्दिनुहोला । यतिबेला केही व्यस्त छु । १५.२० दिनपछि मात्र समय निकाल्न सकूँला ।

उताबाट आयो, ‘धन्यवाद सर ‌। हजुर‌को फुर्सदका लागि हामी केही दिन पर्खन्छौँ ।’ बिदा लिँदै उनले फोन काटे । यसपछि हामीबिच केही इमेल र एस‌एम‌एसहरू आदान प्रदान भ‌ए । सल्लाहमुताबिक निरीक्षणको दिन अप्रिल २७.१९ र २०२२ तय भयो ।

डा. देवेन सापकोटा (असम)

अगरतलाको लागि प्वाँख उठाएपछि

हुन त गुवाहाटीबाट अगरतलाको हवाइयात्रा केवल ४५ मिनटको मात्र हो । तर यात्राका औपचारिकता पूरा गर्न तीन घण्टाअघि नै घरबाट निस्कनु पर्ने भयो । एकघण्टा ट्याक्सी यात्राका लागि, दुई घण्टाअघि विमानस्थल पुग्ने बाध्यता । जाबो ४५ मिनेटका लागि मैले ३ घण्टा खर्चिनु पर्ने, नानीभन्दा आच्चे ठुलोजस्तो भयो।

यात्रा गर्दा म सधैँ जिन्सको परिधानमा रहन्छु। तर यसपल्ट चाहिँ कुरो अलिकति भिन्नै छ। म पुग्नेबित्तिकै केही क्षण बिसाएर निरीक्षणमा जानु नै पर्छ । तसर्थ फर्मल परिधानलाई नै चयन गरेँ । आफैंलाई तयार पारेपछि एउटा सेल्फी लिएँ र तस्बिर चाहिँ रणजीत भट्टाचार्यलाई ह्वाट्सएप गरेँ । यसो गरेको अर्थ विमानस्थलबाट लिन आउने व्यक्तिले मलाई चिन्न अप्ठ्यारो नहोस् भनेर । मेरो सम्पूर्ण काममा सहयोग पुर्‍याउन त्रिपुरा वि.विले यिनै अधिकारीलाई जिम्मेवारी सुम्पेको रहेछ। विमानस्थलभित्र चेक इन गरेपछि आरोहणको प्रतीक्षामा कुरिरहेको थिएँ । एक्कासि मोबाइल फोनको घन्टीले झस्कायो । अज्ञात नम्बर रहेछ । उठाएँ ।

‘नमस्कार । हजुर फलानो बोल्नुभएको ?’

‘हजुर । म त्रिपुरा विविको अतिथिगृहबाट बोलेको। हजुरका लागि दिउँसोको भोजनमा के के राखौँ सर , आमिष कि निरामिष ?’

बाङ्लादेशको इलिस हिल्सा माछो स्वादका लागि विख्यात छ । यसमा हाम्रा शरीरका लागि गुणकारी ‘ओमेगा ३ फ्याटी एसिड’ प्रचुर मात्रामा रहन्छ अरे । त्रिपुरा बाङ्लादेशसँग जोडिएको राज्य हो। तसर्थ त्यहाँ यो सहजै उपलब्ध हुनुपर्ने। सुविधा परेका बेलामा यस्तो मौका कहाँ गुमाउनु मैले प्रकट गरेको इच्छालाई खुसीसाथ ग्रहण गरेर धन्यवाद भन्दै उताबाट फोन राखे । मलाई एउटा कुराले मिठो आनन्द लाग्यो। गुवाहाटीमा छु, विमानमा चढेकै छैन। अगरतलाको भोजन गृहमा अर्डर भयो । हाय आधुनिक प्रविधि !

त्रिपुरा प्रवेश

अगरतलाको विमानस्थल गुवाहाटी जस्तैजस्तै भए पनि केही सानो लाग्यो । मलाई स्वागत गर्ने कार बाहिरै खडा रहेछ । विमानस्थलबाट बाहिरपट्टि निस्कँदै थिएँ, एक सज्जनले टाढैबाट सलाम ठोके । मलाई लिन आउने गाडी चालक रहेछन् । भट्टाचार्यलाई पठाएको सेल्फीबाट मलाई चिनेछन् । म उतैतिर लम्केँ। मेरो सुटकेस गाडीको पछिल्तिर राखेर उनले मलाई भित्र बसिदिने आग्रह गरे । उनको थर नन्दी रहेछ । हवाईअड्डा बाहिरपट्टि नै एउटा ठुलो शिरीषको बोट देखियो । रातै फुलले ढकमक्क सजिएको । कुनै मयूँरीले नाच्दाखेरि आफ्ना सुन्दर प्वाँख फिँजाएर सौन्दर्य प्रदर्शन गरेजस्तो लाग्यो । अगरतलाले मलाई यसरी नै स्वागत गरेछ ।

तिनै दिशाबाट बाङ्लादेशले घेरेको, प्रायजसो भूभाग पहाडी भएको पूर्वोत्तर भारतको यो एक सानो राज्य हो । यहाँ मेरो पहिलो पदार्पण हो यो । हाम्रो कार गुड्दै जाँदा चारैतिरका दृश्यहरू, चराचुरुङ्गी, रुखपात, मानिसका वेशभूषा, घरका बनावटहरू मेरो बासस्थल असमका जस्तै जस् तै। नन्दीलाई त्रिपुराबारे मैले साधारण प्रश्नहरू राख्दै गएँ । उनले जानेजति उत्तर दिँदै गए । हाम्रो वार्तालापले प्रायः ४५ मिनट लिएछ ।

त्रिपुरा केन्द्रीय वि.वि भन्ने लेखिएको ठुलो आकर्षक प्रवेशद्वारभित्र हाम्रो कार पस्यो र देब्रेतिर लाग्यो । छेवैमा दाहिनेतिर एउटा ठुलो सेतो गोलाकार ढाँचा देखियो । माथि लेखिएको रहेछ ओपेन थिएटर । छेवैमा कविगुरु रवीन्द्रनाथ ठाकुरको मूर्ति ठिङ्ग उभिएको मैले कल्पना गरेँ । ‘कुनै एक रमाइलो साँझ । निर्मल आकाशमा तिरबिर तिरबिर तारा चम्केका ।’ त्यस नैसर्गिक छातामुनि रहेको यो थिएटरका ग्यालरीमा बसेर त्यहाँ गुन्जिएको सुमधुर शास्त्रीय सङ्गीत उपभोग गरेको अमूर्त मुहूर्त ।

बाटाका दुबैपट्टिका बोटहरूमा कानका लुर्का सजाई पहेँला राजवृक्ष, मुसुक्क हाँस्दै राता शिरीष र लजालु मुद्रामा गुलाफी मोसन्दाहरू ठिङ्ग उभिएर मृदु नाचिरहेका थिए । बोटहरूलाई पछि धकेल्दै हाम्रो गाडी अतिथिगृह नम्बर ०२ अघि पुगेर रोकियो । सेतो सुन्दर पाँचतल्ले भवनले मुस्कुराएर हामीलाई मौन स्वागत गर्‍यो। मलाई हत्तपत्त भोजन सकी दुई बजे भेटेनरी कलेज निरीक्षणमा जानु थियो। त्यसैले कारबाट निस्कनासाथ स्वागतकक्षतर्फ हान्निएँ। यहाँ पञ्जीकरणको औपचारिकता सटासट पूरा गरेँ । मेराअघि १०८ नम्बर लेखिएको चाबी खित्रिङ्ङ राख्दै स्वागतकर्ताले बोले ‘सर हजुरलाई स्वागत छ । भोजन पनि तयार छ ।’

म लिफ्टतर्फ लागेँ । मेरा पछिपछि कोठा परिचारक थिए। कोठामा गई हातमुख धुने औपचारिकता सकेर सरासर तल ओर्लिएँ । मलाई भोकभन्दा पनि इलिस माछाको काल्पनिक स्वादले भोजनकक्षतिर तानिरहेको थियो। नभन्दै डाइनिङ टेबलमा एउटा ठुलो माछो मलाई स्वागत गरिबसेको रहेछ। इलिस माछाका मसिना तिखा काँडा हुन्छन् भन्ने थाहा थियो । तिनलाई छान्न अतिरिक्त समय लाग्ने भयो । झिँझो पनि। तर मोती बटुल्न गहिरो समुद्रमा डुब्ने कष्ट त उठाउनै पर्‍यो। केहीक्षणपछि बाहिर पर्खिरहेको कारले मलाई वि.वि.को कार्यालयसम्म पुर्‍याइदियो ।

डा. शर्माका गाँठा फुकाउँदै निरीक्षण

वि.वि.का पञ्जीयक डा. दीपक शर्मा रहेछन् । हिन्दीभाषी । घर नयाँ दिल्ली । उनी हाम्रो निरीक्षण समूहका सभापति । यो कार्य गर्ने तरिकाबारे सरसल्लाह गर्नु थियो । उतै लागेँ । भेट गर्ने औपचारिकता पूरा गरी उनको कोठामा पसेँ । सेतो कमेज, कालो प्यान्ट, सुनौला फ्रेमभित्र चम्किला आँखा । उनको उज्यालो मुस्कानले मलाई स्वागत गर्‍यो । प्रायः ५ फुट अग्लो कद भएका भलाद्मीको आकर्षक अनुहार । उनको परिमार्जित व्यक्तित्वले मलाई मोहित पार्‍यो । कुरा गर्दा गम्भीर हुने, दाँजेर मात्र बोल्ने, न धेर न थोर, ठिक्क । हामीबिच कुराकानी गर्दागर्दै निरीक्षण टोलीका अरू सदस्यहरू पनि जोडिए । केही गफगाफपछि हामी चारजनाको टोली कर्मक्षेत्रतिर कनभयको रूपमा लाग्यौँ।

कुरै कुरामा शर्माजीले उनको कारमा मलाई चढ्ने आग्रह राख्दा मैले स्विकारेँ । गाडीको वेग र हामीबिचको बहस समानान्तर रूपमा बढ्दै गयो । भेटनरीको बारेमा शर्माजीका जिज्ञासाहरू गुजुल्टिएर थुप्रिएका रहेछन् । कुरैका भरमा उनले खोल्न लागे । “मेरी छोरीले ६० हजारको कुकुरको छाउरो किनेकी छ। तर त्यो बिचरा न त भुक्छ, न त कराउँछ, न त घरको चौकीदारी नै गर्छ । केवल घरैभित्र बसिरहन्छ, दिनभरि । ‘पुडल’ हो कि के हो जात चाहिँ”। यति भनेपछि उनले ठुलो सास फेरे अनि बिसाए । निधारमा स्पस्टिएका बलिरेखाले उनी बिरक्तिएका कि त विवशतामा भोगेका जस्तो बुझेँ । छोरीले यत्रा पैसा बेकारमा डुबाईु भनेजस्तो लाग्यो।

मैले उनलाई उक्साउनै बोलेँ । ‘ भुक्भाक् नगर्ने त बिरालो मात्र हुन्छ । अब यसलाई हजुरले बिरालो भनेरै सन्तोक लिनु पर्ला । मेरो दिल्लगीमा उनी बाङ्गो मुस्कुराए । मैले अझ थपेँ । धन्न त्यति थोरै मै पाइएछ, कतिपय जातका छाउराको मोल एक करोड रुपियाँसम्म पनि हुन्छ।

‘ए हो र र । आम्मै ।’ उनी जिब्रो निकालेर छक्क परेजस्तो मुद्रामा मुख बाएको बायै भए । निधारका बलिरेखा निमेषमै हराए । अनुहारमा आंशिक मुस्कुराहट छायो ।

हाम्रा मनका भावनाहरूले कुनै पनि विषयलाई अरूसँग तौलेर खुसी र बेखुसीका दुई बिन्दुबिचमा चाकाचुली खेलिरहन्छन् । यही प्रसङ्गलाई मैले यदि यत्रो धेरै मोलमा किनिछन् । ‘यस्ता नाथे छाउरा त हिजोआज थोरै रकममै पाइन्छन्’ भनेको भए उनका निधारका बलिरेखा अझ व्यापक भएर सायद दुबै गालासम्म विस्तृत हुन्थे क्यार। अनुहारलाई पनि अँध्यारो बादलले छोप्थ्यो होला । तर परिस्थितिवश त्यतिसम्म भएन।

हाम्रो गाडी थामियो । गन्तव्य स्थान पुगिसकेछौँ। गाडीको सम्मुखको बिल्डिङमा ‘क्लिनिक विभाग’ लेखेको ठुलो नामपाटी देखियो। हामी त्यतैतर्फ लाग्यौँ। एउटा ठुलो हलभित्र विद्यार्थीहरू सेता एप्रनमा व्यस्त देखिए। साथमा उनीहरूका प्रोफेसरहरू पनि । बर्हिविभागमा धेरै पशुहरू आफ्ना स्वामीका साथमा रहेछन् । बुटे हरिया रङ्गी पहिरनमा सैनिकहरू साथ लिएर कतिपय अल्सेसियान कुकुर खाटमा लमतन्न देखिए । ओछ्यानमाथि झुन्ड्याइएका बोतलबाट स्लाइन तपतप झरी पशुका नसमा पसिरहेका थिए । यिनीहरूले देशप्रति गरेको सेवाका लागि मलाई दुईपल्ट थपडी हानेर सराहना गर्न मन लाग्यो। पछिल्लो तालीचाहिँ स्वामीभक्त कुकुरका लागि हुने थियो।

मानिसलाई उसले गरेको सेवाका लागि मेडल दिइन्छ। सर्वत्र सराहना गरिन्छ। प्रिन्ट र इलेक्ट्रोनिक मिडियामा तस्बिरहरू झल्काइन्छ। सरकारले यिनीहरूका साथमा परिवारलाई पनि सहायता गरेकै हुन्छ। हाम्रो देशका सिमान्तहरूमा कुकुरले दिनरात पहरा दिएको हुन्छ । शत्रुको गोलीमा या ल्यान्ड माइनमा यिनीहरूलाई पनि निर्विवेक मारिन्छ। त्यतिमात्र कहाँ हो र ? मानिसले गर्न नसक्ने या सङ्कटपूर्ण काममा यिनीहरूको प्रयोग प्राचीनकालदेखि नै भइआएको छ । द्वितीय विश्वयुद्धमा परेवालाई अमेरिकाले जासुसी काममा प्रयोग गरेको कुरा सर्वविदित छ। दक्षिणपूर्वी एसियाको युद्धमा ल्यान्ड माइन फेला पार्न विशेषज्ञका रूपमा प्रयोग गरिएको एक मुसाको मृत्यु भएको कुरा गए वर्ष सोसल मिडियामा भाइरल भएको थियो । खानेपानीको जलभण्डारमा शत्रुले विष हाल्छ कि भनी फेला पार्न अमेरिकाले एक विशेष प्रजातिका माछा पालेको समाचार थाहा पाइएको छ । वर्तमान युक्रेनसँग चलिरहेको युद्धमा आफ्ना पनडुब्बीहरूलाई बचाउनका लागि तालिमे डल्फिन रुसले प्रयोग गरेको कुरा सर्वत्र पढ्न पाइएको छ ।

यसपछि हामी गाईभैँसीका फार्म हेर्नलाई मुख्य सडक समायौँ । दुवैपट्टि घाँसै घाँसले भरिएका हरिया बारी रहेछन् । बाटो कट्दै जाँदा काँचो घाँसको गन्ध बोकेको हावा गाडीभित्र ह्वास्स पस्यो । त्यसपछि घरै घर भएको परिसरमा गएर हाम्रो गाडी थामियो । बाहिर निस्कनेबित्तिकै मगमग वास्नाले मलाई आकर्षण गर्‍यो । पक्कै ‘साइलेज’को हुनुपर्छ । साइलेज भनेको घाँसको गुन्द्रुक। मलाई लाग्छ हाम्रा पुर्खाले अपनाएको गुन्द्रुक बनाउने तरिका साइलेज बनाउनेले टिपेका हुन्। हिजोआज उहिलेको जसरी खाल्डामा बनाउनुभन्दा यसलाई प्लास्टिकको ब्यागमा बनाइन्छ। टुक्राएका घाँसलाई घाममा लुलाएर ब्यागमा कोचरी मसिनद्वारा भित्रको हावा निकालेर ‘सिल’ गरी प्याकिङमा राखिन्छ । प्रायः तीन साताभित्रमा यसभित्र साइलेज बन्निन्छ । स्वादिलो भएकाले यसलाई खान पशुहरूले सारै मन पराउँछन् । एउटा दुधालु गाईलाई मकै र काउपी ,बोडी परिवारको घाँसका साइलेज मात्र खुवाएर प्रतिदिन ७,१० लिटरसम्म दुध उत्पाद गर्न सकिन्छ । यसलाई सम्पूर्ण आहारको रूपमा खुवाउन सकिन्छ ।

डा. शर्माका मनका बिरालाहरू

शर्माजीलाई भेटेनरी विषयका धेरै कुराको जिज्ञासा रहेछ । फार्म निरीक्षणपछि वि.वि. फर्कने उद्देश्यले हामी दुवै गाडीमा अन्तिमपल्ट आरोहण गर्‍यौँ । गाडीको पछाडिको सिटमा डा. शर्माजी र म । हाम्रा आसनका बिचमा एक विभाजक । उनले त्यहाँ दाहिने कुर्कुच्चो थमाएर चस्माको फ्रेम मिलाए । मतिर कोल्टिँदै पूर्ववत् प्रश्नहरू तेर्छ्याउन लागे । तर यसपल्ट चाहिँ चाखलाग्दो विषय टिपे ।

मेरा एकजना नवाब साथी छन्। तिनले थुप्रै बिराला पालेका छन् । जाबो बिरालाको सह्यार चाकर गर्ने सानोतिनो फौज नै छ अरे । मानिसको पनि कस्तो अनौठो सोख हुँदोरहेछ, बिरालो पनि यहाँको हो र ? सुदूर इजिप्ट देशबाट मगाएका अरे! एउटा न्याउरोको मोल ७० हजार अरे । मैले त पत्याइनँ।’

“आकार, रङ र जातमाथि मोल निर्धारण हुन्छ । कुनै कुनैको त मोल ९० हजारसम्म हुनसक्छ ।” मैले वाक्य टुङ्ग्याउनै पाएको थिइनँ विस्मृतिमा शर्माजीका नेत्र विस्फोटित भएजस्तो देखियो । उनले मुख बाइरहे । कुनै लाटोले पापा हेरेझैं वाल्ल परे ।

हेर्नोस् शर्माजी, आजभोलिका दिनहरू प्रतिस्पर्धा र तनावपूर्ण हुन लागे । सबै अन्धाधुन मुसे दौडमा वेगवान् छन् । जनावर पाल्दा शरीरको उच्च रक्तचाप र मुटुको बिमार घट्छ भन्ने विज्ञानले प्रमाणित गरिसकेको छ । आधुनिक प्रविधिले विश्वलाई त जोड्यो तर घरपरिवारलाई खण्ड.विखण्ड पार्‍यो । छोराछोरी विदेश गएर रित्तिएको घरमा वृद्ध बुवाआमालाई साथ दिने यी पाल्तु जनावर नै भए ।

प्रो. प्रसाईंसँगका मिठा पलहरू

वि.वि. क्याम्पस आइपुग्दा बेलुका पाँच बजिसकेछ । निरीक्षण टोलीका अरू सदस्यबाट बिदा लिएर म माथिल्लो तल्लातिर उक्लेँ । मैले उपाचार्य महोदयलाई औपचारिक भेट गर्नु थियो । मेरा पाइलाको गति एउटा ठुलो सिसाको ढोकासामु थामियो । केही अघि खडा एक दरबान अनुहारमा प्रश्न चिन्ह छाप्दै मतिर लम्के ।

मैले आफ्नो परिचय कार्ड उनलाई थमाउँदै उपाचार्य महोदयलाई भेट्ने आग्रह जाहेर गरेँ । त्यसलाई हातमा लिएर छेवैमा जोडिएको एक सुन्दर कोठाभित्र उनी अल्पिए । मैले यताउति दृष्टि डुलाएँ । नामपाटीमा चम्किरहेको थियो । प्रो.गङ्गाप्रसाद प्रसाईं, उपाचार्य ।

त्यतिबेलै एक सज्जन हस्याङफस्याङ गर्दै कोठाबाहिर झुल्किए । दैलो किञ्चित उघारिदिँदै उनले मलाई भित्र जाने आग्रह राखे । अनि मेरा अघिअघि लम्किँदै सम्मुखको दैलो खोलिदिए । कोठाबाट ह्वात्त बाहिर निस्केको सुवास मिश्रित चिसो हावाले मलाईभित्र निम्त्याएजस्तो लाग्यो । उत्सुकताका साथमा मभित्र पसेँ । कोठा फराकिलो रहेछ । प्रो. प्रसाईंज्यूले आफू बसिरहेको शाही कुर्सीबाट उठेर मलाई स्वागत गर्नुभयो । प्रतिनमस्कार फर्काउँदै मुसुक्क हाँसेर सोफामा बस्ने आग्रह गर्नुभयो । अनि मछेउतिर आउनु भयो । उहाँको हातमा थियो ‘लोगो’को साथमा ‘त्रिपुरा केन्द्रीय विश्वविद्यालय’ छापिएको प्रायः ६ फिट लामो मक्खन रङी बुट्टे सिल्कको आकर्षक खदा। तपाईं पहिलोपल्ट हाम्रो विश्वविद्यालयमा आउनुभएको । त्यसैले सम्मान गर्न आँटेको । चकमन्न कोठालाई उहाँको अमिताभ बच्चनको जस्तो मोटो बोलीले मृदु कम्पन गरायो । म सम्पूर्ण अप्रस्तुत थिएँ ।

आफैंलाई गौरवशाली ठानेँ । त्यतिमात्र कहाँ हो र ? उहाँले आफ्नो व्यक्तिगत सचिवलाई बोलाएर हामी दुवैको तस्बिर पनि खिचाउनुभयो । त्यसपछि उहाँ मेरो छेउमा आएर बस्नु भयो । हामी दुवैबिच विभिन्न विषयका बहस चले । मैले जान्दामा उहाँ पूर्वोत्तर भारतको पहिलो नेपालीभाषी उपाचार्य हुनुहुन्छ । यसअघि उहाँ आफ्नो जन्मस्थल मणिपुर विश्वविद्यालयमा डिन हुनुहुन्थ्यो । उहाँले वाणिज्य विषयमा बनारस हिन्दु विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गर्नुभएको रहेछ । कुरा गर्दैजाँदा थाहा लाग्यो आफ्नो जातिको उत्थानका लागि उहाँ मरिमेट्ने त्यागी हुनुहुँदो रहेछ। केही वर्षअघि अखिल भारतीय गोर्खा परिसङ्घले अगरतला सहरमा आयोजन गरेको कार्यक्रममा उहाँले तीनै दिन उपस्थित रही मार्गदर्शन गरेको कुरा कतै सुन्न पाएको थिएँ । हालैमा उहाँलाई विश्व नेपाली साहित्य महासङ्घले साहित्यदूतको रूपमा सम्मान गरेको छ । विश्वविद्यालयको शीर्ष पदवीमा रहेर पनि उहाँले अपनाएको साधारण जीवनशैली देख्दा उहाँप्रति रहेको मेरो श्रद्धा दोब्बर भएर आयो । परिस्थितिले मलाई महाकविको देख्ता त्यो कस्तो भित्र त्यो कत्रो भन्ने मुनामदन गुनगुनाउन लगायो । उहाँसँग यो मेरो दोस्रो भेट पहिलो, गुवाहाटीमा थियो । तर हामीबिचको सम्बन्ध धेरै पुरानो जस्तो भान भएको थियो । बिदा लिने बेलामा उहाँले भन्नुभयो भोलि ६ बाट ८ बजेसम्म हामी त्रिपुरेश्वरी मन्दिर जान्छौँ है । हजुरको अतिथिशाला छेवैमा छ। बिहानको चियापानी मेरैतिर हवोस्। आइदिनु होला, नमस्कार।

भोलिपल्ट बिहान टक्क ६ बजे म उहाँको बासभवनअघि पुगेँछु । एकजना पहरादार अपरझट उदाए र मलाई किन आउनुभयो भन्ने नजरले हेरे । मैले उपाचार्य महोदयको पाहुना हुँ भन्नेबित्तिकै उनले भित्र गएर घन्टी बजाए । एकक्षणमै ढोका उघ्रियो । उहाँ तयारी मै हुनुहुँदोरहेछ । चियाको चुस्की लगाउँदै थियौँ बाहिर गाडी आएर उभिएको सङ्केत पाएँ । हामी विलम्ब नगरी गाडीमा चढ्यौँ । बोनेटमा विश्वविद्यालयको झण्डा फर्फराउँदै दुवैतिरका भवनहरूलाई पछि सार्दै हाम्रो गाडीले वेग टिप्यो । बिचको प्रायः ५० किलोमिटरको बाटो छिचोल्न हामीलाई एक घन्टा समय पनि लागेन ।

कुनै एक पूजा सामग्री बेच्ने पसलअघि पुगेर हाम्रो गाडी थामियो । एकजना सज्जन हस्याङ फस्याङ गर्दै बाहिर निस्केर प्रो. प्रसाईंजीलाई सलाम ठोके। ती मानिस र पसल प्रो. प्रसाईंद्वारा पूर्वनियोजित रहेछन्। उनको अगुवाइमा हामी पसलभित्र पस्यौँ। दोकानदार मुस्कुराउँदै जुरुक्क उठे र श्रद्धाका साथ केही झुके। उनले हत्तपत्त दुई चम्किला राता माटाका वर्तनमा प्रायस् आधा किलो जति पेडा भराए। पसलअघि राता जवा फुलका माला झुन्ड्याइएका थिए। सक्सकाउँदा, एकदम ताजा भर्खर टिपेर ल्याएजस्ता। हामीले आआफ्ना लागि रोज्यौँ। मालालाई घुमाउरो पट्याएर एक सिन्दुरको प्याकेटको साथमा त्यो रातो वर्तनभित्र मिठाई माथि राखियो। अन्त्यमा यी सबै थोक एउटा प्लास्टिकभित्र राखी झोला जस्तो झुन्ड्याउँदै ती पसलेले हाम्रा हातमा थमाइदिए। देवीका लागि प्रसाद ठिक्क पारिएको रहेछ। हामी हातगोडा पखाली सिँढीका खुट्किलाहरू टेक्दै माथि लाग्यौँ। मन्दिरको ढाँचा प्रायः गुवाहाटीको कामाक्षाको जस्तै जस्तै। पूर्वोत्तर भारतका मन्दिरहरूका बनावटी ढाँचा आपसमा प्रायस् मिल्दाजुल्दा छन्। तिनमा जलगृह त हुन्छ नै । तर दक्षिण भारतीय मन्दिरका द्वार र मुकुट भाग बडा आकर्षक हुन्छन्। सिउरमा देवी, देवता या असुरहरू आआफ्ना मुद्रामा खडा या बसेका देखिन्छन्। मन्दिरको परिसर भित्र पक्की या ढुङ्गाको एक स्थान बनाइएको हुन्छ। त्यहाँ दर्शनार्थीले ल्याएका प्रसाद रूपी बोक्राएका नरिवललाई प्याट्ट फुटाई एक अंश मन्दिरलाई राखी रहल भाग भक्तलाई फर्काइन्छ।

त्रिपुरासुन्दरीको दर्शन

त्रिपुरा राज्यको पुरानो सहर उदयपुरको मातावारी भन्ने ठाउँमा अवस्थित यो त्रिपुरासुन्दरी माताको मन्दिर रहेछ। गुगलले ‘भारतभरिको मन्दिरभित्रमा यो सबैभन्दा पवित्र मन्दिर’ भनेको रहेछ। पवित्रता नै भगवान् हो। मन्दिरको सफा सुग्घर परिवेश सराहनीय थियो। चारैतिरको सुनसान वातावरणमा चराचुरुङ्गीले पनि हल्ला गर्न बिर्सेजस्तो थियो। कछुवाको ढाड जस्तो अग्लो कुप्रिएको ढिपमाथि रहेछ यो मन्दिर त्यहाँ जानलाई निर्माण हुँदैरहेछ सेतो मार्बलको सिँढी । हामीलाई टुकुर टुकुर उक्लेर माथि पुग्न धेरै बेर लागेन ।

हामी प्रायः मन्दिरभित्रै पुगिसकेछौँ । हाम्राअघि फुलसिन्दुरले सजिएकी कृष्णरङी पत्थरकी त्रिपुरेश्वरी देवी गम्भीर मुद्रामा खडा थिइन्। हाम्रो क्रम आएपछि साथमा लगेको प्रसाद पूजारीलाई थमाई पालो पालो गरी हामी टुक्रुक्क बस्यौँ। पूजारीले उच्च स्वरमा मन्त्रोच्चारण गरी नाउँ, गोत्र सोध्दै भगवतीको दर्शन गराए। हामीले भक्तिभावले पूजारीले फर्काइदिएका फुल(प्रसाद हातमा लिएर फर्कियौं। तर पूर्वपट्टि केही तल देखिएको विस्तृत पोखरीले हामीलाई उतैतिर खिँच्यो । नाउँ, कल्याण सागर रहेछ। त्यहाँ दुर्लभ प्रजातिका बोस्टमी कछुवा पाइँदा रहेछन्। माछा त छँदैछन्। यो मन्दिरलाई शक्तिपीठको रूपमा मानिएकाले देशका विभिन्न ठाउँबाट भक्तहरू यहाँ आउँदा रहेछन्। हामीले एक मराठी परिवारलाई भेट्यौं। त्रिपुरा उच्च न्यायालयको हस्तक्षेपले प्रायः ५०० वर्षसम्म यस मन्दिरमा चलिआएको पशुबलि प्रथा सन् २०१९ मा बन्द गरिएको रहेछ। त्यहाँको स्वच्छ पानी देखेर पल्लापट्टि गएर एक तस्बिर खिच्ने प्रवल इच्छा जागेको थियो। पक्कै पनि निर्मल पानीभित्र मन्दिरको उल्टो तस्बिर सुन्दर आउला। तर समयको पाबन्दीले गर्दा इच्छालाई नदबाई उपाय रहेन।

पर्यावरणका लागि केही घोत्ल्याइ

मन्दिर दर्शनपछि फर्कँदा बाटामा देखिएका प्राकृतिक दृश्य सारै मनोरम थिए। त्रिपुराको औद्योगिक विकास साह्रै नभएकाले होला यहाँ वन जङ्गलहरू त्यति चिथोरिएका रहेनछन्। दुवैतिर हरिया ठुलाठुला रुखका बिचैमा अलकत्रे सडक कुदेको। गाडी केही गुडेपछि देब्रेपट्टिको जङ्गलको बिचैमा एक उघारो ठाउँ देखियो। मैले गाडी रोक्न आग्रह गरेपछि थामियो। म बाहिर निस्केँ। मलाई कुनै आधा खुल्ला झ्यालबिचबाट अज्ञात निपुण चित्रकारले आँकेको तस्बिर चियाएजस्तो लाग्यो। तलतिर आयताकार गरैगरा भित्र धानका हरिया पात हावासँग नाचिरहेका थिए। निलो आकाशमुनि अपरिचित चराको हुल क्षितिज ताकी वातावरण थर्काउँदै उडेर गइरहेका थिए। बैशाख महिना हुनाले त्यहाँ वर्षा भएको थियो होला। केहीक्षण त्यसैमा रमाएछु ।

मन्द हावाले झल्याँस्स पार्दा मात्र वास्तव जगतमा फर्के । प्रो. प्रसाईं कसैसँग मोबाइलमा कुरा गर्नमा व्यस्त हुनुहुँदो रहेछ। तर छेउको जङ्गलभित्र मानिसले फ्याँकेका रित्ता बोतल, उडन्ते प्लास्टिकका प्याकेट देखेर केही क्षणअघि फक्रेको मेरो मन मुर्झाएजस्तो भयो । पर्यावरणप्रति मानिसको चेतनाको विकास र संवेदनाको अनुभूति मनमा मौलाएन भने कानुनले केवल एक दाँत फुस्केको बुढो सिंहजस्तै भएर खुम्चिएर बस्नुसिबाय अरू केही गर्न सक्दैन।

अब यी प्याकेटहरूलाई परेको पानीले सोहोरेर नालामा पुर्‍याई चलिरहेको प्राकृतिक प्रवाहलाई बन्द गर्ला र बाढीको सृष्टि गर्ला। गुवाहाटी सहरभित्र भएको यस्तो घटनाको म भुक्तभोगी हुँ। प्लास्टिकहरू बग्दै गएर कुनै एक समयमा समुद्रमा पोखिएर त्यसको तह बनेर बस्छन्। सामुद्रिक जीवहरूलाई त्यस्ता तहले अनिष्ट गरेको हुन्छ। हालैमा अमेरिकाको फ्लोरिडा समुद्र तिरमा ४७ फिट लामो मृत ह्वेल पाइयो। त्यसको पेट प्लास्टिकका लुँडैलुँडाले भरिएको पाइएकाले बिचरा खान नपाएर भोकै मरेको रहेछ भन्ने निर्क्योल गरियो। यो प्लास्टिक पानीमा घोलिन्छ र कालक्रममा सामुद्रिक प्राणीको शरीरमा पस्छ। यसपछि खाद्य सिक्रीको रूपमा मानिसको देहमा पसी रोगी बनाउँछ। गाडीले हामीलाई वि.वि. परिसरभित्र पसायो । त्यसपछि प्रो.प्रसाईँज्यूको निवासमा ‘धन्यवाद’ भन्दै उहाँ ओर्लिनु भयो। मलाई अतिथिगृहतिर लैजान चालकले गाडीको स्टियरिङ घुमाए।

गोर्खा बस्तीसँग जम्काभेट

त्रिपुरामा मेरा एक जना धेरै पुराना मित्र थिए, डा. विभूति भूषण दास । उनलाई फोन लगाई आगरतलामा आएको कुरो जनाएँ । मेरो अकस्मात बोली सुनेर उनी उत्तेजित भएको कुरो मलाई फर्काएको चिच्याहटमा झल्क्यो । ‘तपाईं यसरी सुटुक्क आउनुभएछ, सुइँको पनि नदिई। कस्तो अन्याय, कहाँ हुनुहुन्छ म आफैँ लिन आउँछु।’

‘तिमीलाई सर्प्राइज दिन यसो गरेको। तर कष्ट उठाउनु पर्दैन। म त्यहीँ पुगौंला। कार्यालयको ठेगाना भन तू।’

‘म भोलि बिहान १० बजे नै कार्यालय पुग्छु। सहरको मुटुमै भन्दा हुन्छ। गोरखा बस्ती। निकाल्न सजिलो छ।’

‘हाँ हाँ हाँ ‘

मैले लामो लेग्रो ताने । कतै गल्ती सुनेँ कि ?

उनले स्वरलाई तन्काउँदै दोहोर्‍याए ‘गो..र ..खा ब..स्ती।’

मलाई रिङ्गटा लागे जस्तो भयो। अगरतलामा गोरखा बस्ती कसरी सम्भव छ ?

मैले हत्तपत्त गुगल ( विकिपीडिया खोलेँ। हो रहेछ । तर एक लाइन मात्र लेखिएको ‘सहरका ठुला बस्तीभित्रमा एक’ मलाई चित्त बुझेन । त्यहाँ गई रहस्यको बिर्को खोल्ने उत्सुकता जाग्यो।

गाडी त्यतिबेलासम्म अतिथिगृह पुगिसकेछ। मोबाइलको घडीले साढे आठ बजेको सूचना दियो। हातमा प्रायः एक घण्टामात्र समय रहेछ। म आफ्नो कोठातिर हान्निएँ। आफैलाई प्रस्तुत गरी पेट पूजनपछि पुनः ट्याक्सीमा चड्दा साढे नौ बजिसकेछ। प्रायस् बिस मिनट जति गुडेपछी दुवैपट्टी सुन्दर भवनहरू सजिएका ठाउँमा हामी पुग्यौं। चौतर्फ सुन्दर सफा वातावरण थियो । मार्ग बिचबाट गएर एक आकर्षक ठाउँमा हाम्रो गाडीले बिसाएजस्तो गर्‍यो । भवनहरूका नामपाटीमा ठेगाना ‘गोरखाबस्ती’ लेखिएका थिए। मनमनै सोचेँ। ‘ यो त कहाँ बस्ती हो र, सहरको केन्द्रबिन्दु पो रहेछ ।’

डा. विभूति भूषण दाससँग ३६ वर्षपछि

एक सुन्दर भवनअघि हाम्रो गाडी रोकियो। चालकले मलाई उत्रिने सङ्केत गरे। नामपाटीमा लेखिएको थियो, जीवजन्तु स्रोत विकास विभाग, गोरखाबस्ती। मैले सिँढीमाथि उक्लिँदै डा. दासलाई फोन लगाएँ। उनी मेरै प्रतीक्षामा रहेछन्। म माथि पुगेर करिडोरमा अघि बढ्दै थिएँ, विपरीत दिशाबाट उनी प्रायः कुदेरै आए। अनि ठुलो गरुड चरोले अकाशमा उड्दा दुवै प्वाँख हावामा फिँजाए जसरी मतिर लम्के। उनको आलिङ्गनको कस्साइमा मलाई सास फेर्न झन्नै अप्ठ्यारो नभएको । साथ साथै मलाई इतिहासले ३६ वर्षपछि फर्कायो। म त्यतिबेला हैदरावादको कृषि विश्वविद्यालयमा स्नातकोत्तर गर्दै थिएँ। त्रिपुरा राज्यका विभूति भूषण दास त्यहाँ स्नातक गर्दै थिए। डिग्री हासिल गरी हामी दुवै आआफ्ना राज्यमा फर्केर जागिरे भयौँ । तर समय समयका टेलिफोनिक वार्तालापले हामी दुवैबिचको सम्पर्कको धागो दिनप्रतिदिन बलियो पार्दै लाग्यो ।

उनी यतिबेला विभागको संयुक्त निर्देशकको ओहोदामा रहेछन् । मलाई विद्यार्थी बेलाको हैदरावादका दुई वर्षे रोमन्थनले घच्घच्याउन लाग्यो । कैला दारी उम्रन लागेका विभूतिलाई अहिले दारी पाक्ने हुँदामा पाएँ । अनुहारलाई धेरैबेर नियालिरहेँ । एक्कासि उनलाई सर्प्राइज दिन मन लाग्यो । मैले सुटुक्क म्यासेन्जरमा डा. होमबहादुर बस्नेतलाई भिडियो कल गरेँ। दुवैले त्यतिबेर एकसाथ हैदरावादमा पढेका थिए। डा. बस्नेत यतिबेर चितवनको कृषि एवम् वन विश्वविद्यालयको पशु, भेटनरी, तथा मत्स्य विज्ञान फ्याकल्टीका प्रमुख छन् । उताबाट मोबाइल स्क्रिनमा आफ्नो पुरानो मित्रबाट मुस्कुराउँदै हात हल्लाएको चित्र आउँदा डा. दास विस्मृतिमा झन्नै थचक्क नबसेका। अनायासै उनका मुखबाट राम्रै चरु भनी भाँचिएको नेपालीमा वाक्य निस्कियो । त्यसपछि हामी तीनैजनाले साइबरे गफमा केही मधुर समय व्यतीत गर्‍यौँ। हामीबिच गत ३६ वर्षदेखि जमा भई रहेका साझा गर्नुपर्ने सामग्रीका पोका ठुलै थिए। केवल अलिकति मात्र कोट्याउन भ्यायौँ। निर्दयी समयले बिचैमा आएर राता आँखा पल्टाउँदा हामी झल्याँस्स भयौँ। नचाहँदा-नचाहँदै बिछोडिनु पर्‍यो। मैले असमबाट लगेको प्रख्यात ‘नामेरी’ चियाको आकर्षक प्याकेट उनका हातमा थमाइदिँदै भने, ‘यो घरकै उत्पाद हो ससुरालीको।’ उनले केही अप्ठ्यारोपन अनुहारमा उतार्दै जसोतसो बोले, “मलाई त सबैथोक सपनाजस्तो लागेको छ, हजुरलाई रित्तो हात फर्काउनु पर्‍यो ।” मैले दिल्लगी गर्दै फर्काएँ । ‘मेरो रित्तो हात अर्कोपल्ट भरौँला।’ यतिबेर त मनभरि प्रसन्नता भरेर फर्किंदै छु।

यसपछि उनले विभागका निर्देशककोमा लगे। उनी डी. के चक्मा रहेछन्, स्थानीय जनजाति मूलका । केटौला, उज्यालो मुस्कान अनुहारमा छापेका, दुधमा अलिअलि बेसार हाल्दाको गहुँ गोरो रङ । हाँस्दामा मेरा बाल्यबन्धु स्वर्गीय हस्तमान सुब्बाजस्ता । केहीक्षण बोक्रे गफ गरेपछि हामी सहज भयौँ र गहन कुराका विमर्शमा प्रवेश गर्यौँ।

उनी भेटनेरी विषयका नभएकाले र उनमा धेरै जिज्ञासा रहेकाले गफ गफमै केही समय फुत्किएछ। हाम्रा देशी गाईबाट उत्पादित दुध विदेशी नस्लका गाईको दुध भन्दा किन उत्कृष्ट ? हिजोआज बजारमा पाइएका गाई मात्र जन्माउन सकिने वीर्यले कृत्रिम प्रजनन गर्दा हुने लाभालाभहरू। परिवर्तित जीवन शैलीबिच टुक्रिँदै गएको हाम्रो परिवार, यस्तो स्थितिमा आइपरेका एक्लोपन र मानसिक तनाव, जसलाई लाघव गर्न मानिसले अपनाएका पाल्तु जानवरको उपयोगिता । हामीबिचको बहस किसानको आयश्रोत दुई गुणा गर्नेदेखि लिएर नारी सशक्तीकरण हुँदै शाकाहारी अन्डामा आएर टुङ्गियो ।

उनको मनमा उब्जिएको जिज्ञासालाई स्पष्ट पार्न मैले भने।।। हिजोआज व्यवसायिक रूपमा उत्पादन गरिएका अन्डाभित्र भ्रूण हुँदैन । किनभने यिनीहरू भाले बिनै पारिएका हुन्छन् । त्यसैले यो दुध जस्तै हो, निर्जीव। महात्मा गान्धीले पनि शाकाहारीलाई उद्देश्य गरी भनेका छन् ‘जसले दुध खान्छ उसले यस्ता बतासे अन्डा खानुमा आपत्ति गर्नु हुँदैन।’ उनले ठुलो सास फेरे। अनुहार उघ्रियो। विषयवस्तुप्रति रहेको खट्को हटेजस्तो लाग्यो। त्यतिबेलै चक्माको फोन बज्यो। हामी झल्याँस्स भयौँ। यत्रोबेर गफ मै लट्टिएछौँ। हामीले उनलाई धन्यवाद ज्ञापन गर्दै कोठा बाहिर निस्क्यौं।
मलाई त्रिपुराका कतिपय व्यवसायिक कुखुराका फार्म हेर्नु थियो। यसबारेमा चाँजो मिलाइदिन दासलाई मैले भनिसकेको थिएँ। त्यहीबमोजिम एकजना विभागीय अधिकारी डासम्राट दासलाई मेरो जिम्मा लगाइदिए। हामी हत्तपत्त तल झर्यौँ।

रबर बगानका पोल्टाभित्र कुखुरा पालन

सहरका कल्याङमल्याङलाई पछि छाड्दै हाम्रो कार अघि बढ्दै गयो। केही बेरपछि बाटाका दुबैपट्टि उभिएका हरिया रबरका बोटका बिचैबिचबाट गाडी दगुर्न लाग्यो। रबर उत्पादनमा त्रिपुरा राज्यको स्थान भारतभरिमा दोस्रो छ। रबरको बोटको बोक्रोलाई ताछेपछि त्यसबाट दुधजस्तो सेतो र बाक्लो चोप निस्कन्छ। यसलाई सङ्ग्रह गरी मसिनद्वारा प्रशोधन गरी रबर बनाइन्छ।

सम्राटले हामीलाई दुईवटा अन्डा पार्ने व्यवसायिक कुखुराका फार्म देखाए। हिजोआज यस्ताखाले फार्म कम्प्युटरलाई असेम्बल गरी बनाएजस्ता हुन्छन्। फरकचाहिँ यति हो अन्डा पार्न समय लाग्छ। कुखुराको फार्म खोल्दा चाहिने यावत चिजहरू फोनमार्फत पाइन्छन्। जस्तै चल्ला ह्याचरीबाट, दाना र घर बनाउने सामग्री कम्पनीबाट, औषधि, खोप आदि फर्मासीबाट। हामीले निरीक्षण गरेका भित्रमा श्रीअमल बानिकको फार्ममा ३० हजार पोथी थिए र श्रीजीवन देवनाथकोमा ३० हजार पोथी थिए। सबैजसो चरालाई पिँजराभित्रै राखी दानापानी खुवाउने व्यवस्था थियो। भिरालो भुइँ भएकाले अन्डा पैदा हुनेबित्तिकै गुडुल्किएर पिँजराको बाहिर निस्केर रोकिन्छ। कामदारले टपटप टिप्दै डालीमा भर्दै जाने। आधुनिक फार्ममा कुखुरालाई दानापानी स्वचालित रूपमा दिने व्यवस्था हुन्छ। मानिसको सारै आवश्यकता पर्दैन।

अन्ध्र प्रदेशका कुनै(कुनै फार्ममा कुखुरालाई भारतेली शास्त्रीय सङ्गीत सुनाउने व्यवस्था गरेको देखेको छु । यसोगर्दा कुखुराले धेरै अन्डा पार्छन् अरे। कुखुरालाई वातानुकूलित घरभित्र राखी पालिने तरिका हिजोआज साधारण कुरो भएको छ। पछिल्लो फार्ममा त झन् सिसिटिभी लगाइएको रहेछ। म्यानेजरले टाढै बसी कम्प्युटरको पर्दामा कुखुराका घरभित्र के कस्तो हुँदैछ निगरानी गर्ने सुविधा रहेछ।

यी फार्मका खोरहरू जमिनबाट प्रायः ५ फिट जति अग्ला टाँडेघर थिए। त्यहाँ कतिपय कामदारहरू कुखुराको सुली बोरामा भराउन व्यस्त देखिए। खेतीका लागि सुलीको माग धेरै रहेछ। कुखुराको अन्डाको भन्दा सुलीको पो माग धेरै रहेछ जस्तो लाग्यो। साउँभन्दा व्याजमा लोभ तर हिजोआज प्रयोगशालामै कुखुराको मासु उत्पादन गर्ने प्रविधिको उद्भावन भएकाले निकट भविष्यमा मासुका लागि कुखुरा पाल्ने आवश्यकता पर्दैन जस्तो छ। तर यो प्रविधि अन्डासम्म अझ पुग्न नसकेकाले ढुक्क छु।

गोर्खा बस्तीको भुलभुलैया

फर्कँदाखेरि गोर्खाबस्तीको बिचबाट हाम्रो गाडी गुड्यो ।मैले कुरैकुरामा यस बस्तीबारे डा.सम्राटलाई सोधेँ। यसअघि मैले यो विषयमा डा.प्रसाईंज्यूलाई पनि सोधेको थिएँ। मैले गोर्खाबस्ती डुलेको कुरा फेसबुकमा साझा गरेको थिएँ । त्यसबाट पनि प्रतिक्रियाहरू आए। यी सबैलाई मिसमास गरेपछि पाएको जानकारी यस प्रकारको छ।

‘रिटिस शासनअघि त्रिपुरामा राजतन्त्र थियो। नेपालको राजपरिवारका साथमा यहाँका कुनै एक राजाको वैवाहिक सम्पर्क थियो। यी राजाका एक गोर्खे सेनापति थिए। यिनले धेरै हितकारी काम गरेका थिए। राजाले यिनको व्यक्तित्वबाट प्रभावित भएर सेवानिवृत्त भएपछि तिमी यतै बस, जग्गा जमिन दिन्छु, आफ्ना मानिस पनि यतै ल्याउन सक्छौभनेछन्। त्यहीअनुसार उनले आफ्ना मानिसहरूलाई ल्याएर बसाले अरे। त्यसैले गर्दा त्यो ठाउँले गोर्खाबस्ती नाउँ पाएको अरे। तर अहिले त्यहाँ अरू जातका मानिसको पनि बसोबासा रहेछ । जम्मा १०८ घर गोर्खे छन् अरे। त्यहाँ गोर्खा मन्दिर, गोर्खा युथ क्लब, गोर्खा एसोसिएसन आदि छन् अरे।

त्रिपुराको कुनै एक राजाको अर्को इतिहासको बारेमा पनि थाहा भयो। उनले नेपालबाट बिहे गरेका रहेछन्। रानीले आफ्ना भाइलाई यतै बोलाइछिन्। नाउँ, बौद्ध जङ्ग राणा। राणा राजाका प्रभावशाली मन्त्री भएछन्। धेरै हितकारी काम गरेछन्। त्रिपुराको विकासमा ठुलो योगदान पुर्‍याएछ्न्। यहाँका प्रजाले पनि धेरै मन पराएछन्। यतिबेर उनको नाउँमा बौद्ध जङ्ग हाई स्कुल, बौद्ध जङ्ग कन्या पाठशाला, बौद्ध जङ्ग इन्डस्ट्रियल इस्टेट आदि आगरतला सहरभित्रै छन् अरे।

गोर्खाबस्तीको मुख्य सडकका दुवैपट्टि छरिएका घुम्तीहरूका मोमो व्यवसायमा यिनीहरू स्पष्ट देखिए पनि अन्य ठुला व्यापारमा भने गोर्खालीहरूको आधिपत्य देखिएन। शिक्षादीक्षामा, अरू पेसा या कार्यालयका माथिल्ला ओहोदामा सम्म पुग्न पनि यिनीहरू सक्षम भएको तथ्य पाइएन ।
समयले थिच्दै गएपछि गोर्खालीको वर्चस्व हराएर अस्तित्व नै नरहला१ जस्तैस् तेजपुरको नेपालीपट्टी भन्ने ठाउँमा कुनै एक समयमा अधिकांश रहेका हाम्राहरू समयको गतिमा बग्दै गएर यतिबेर अल्पसङ्ख्यक भएका छन्। हुन त तेजपुरमा हाम्रो भाषा, साहित्य, संस्कृतिको सङ्कट भएको छैन, तर गोर्खाबस्तीमा त्यस्तो नहोला। मैले पाएको जानकारीमुताबिक त्यहाँका गोर्खाहरूको भाषामा शुद्धता हराएको छ। जङ्गु थर लेख्नेहरू यताउति धेरै पाइन्छन् अरे तर आफ्नो भाषा बोल्दैनन् अरे। उनीहरूलाई सायद आफ्नो भाषा साहित्य संस्कृतिका बारेमा थाहै नहोला।

“असलमा मैले जानेअनुसार गोर्खाबस्तीको इतिहास यो होइन, कारण मेरो बचपन त्यही ठाउँमा बितेको हो। १९६२ भन्दा पनि अघिदेखि नै ६ आसाम राइफल्स यस ठाउँमा बस्ने गर्थ्यो। त्यतिखेरको कमान्डिङ अफिसरले वर्तमानको गोर्खा बस्तीलाई उसैको पल्टनबाट सेवानिवृत्त भएका सैनिकहरूलाई यहाँको जमिन केही रकममा दिएको हो। असलमा जम्मै गोर्खा बस्ती भएको माटो ६ आसाम राइफल्समा पर्थ्यो। त्यस समयमा आसाम राइफल्समा धेरैजसो गोर्खाहरू थिए जो वर्तमानमा समयमा निकै घट्दै आएका छन्। ६ आसाम राइफल्सको ब्इच् धेरै ठुलो भएको कारणले आफ्नै पल्टनेहरूलाई यहाँको माटो कानुनी तरिकाले बेचेको हो। वर्तमानको गोर्खा बस्ती त्यही हो। यो गोर्खा बस्ती बसाउनुमा प्रमुख भूमिका ६ आसाम राइफल्सको छ भन्दा भुल हुँदैन ।तर हजुरले दिनुभएको तथ्य पनि ठिकै होला। त्यो प्रसङ्ग त्रिपुरा राज्यमा नेपाली वा गोर्खाको पहिलो प्रवेशबारे हुनसक्छ तर गोर्खा बस्तिको हुन सक्दैन। किनभने गोर्खा बस्ती छाडेर अझै त्यहाँ दुइटा नेपाली बस्ती छन्। एउटाको नाम हो नन्दनगर अनि अर्को हो भोला बस्ती। यो नन्द नगर चाहिँ जीबी बजारबाट जाँदा भेटिन्छ अनि भोला बस्ती चाहिँ गोर्खा बस्तीदेखि २ किलोमिटर टाढा जाँदा भेटिन्छ। तर तुलनात्मक रूपमा गोर्खा बस्तीमा नै धेरै जसो गोर्खाको बसोबासा देखिन्छ। वर्तमान समयमा धेरैभन्दा पनि धेरै यहाँका गोर्खाहरू नेपालतिर लम्केको देखिन्छ। मलाई यी सबै कुरा थाहा हुनुको कारण मैले बाल्यकालको शिक्षा, कक्षा ८ सम्म त्यहीँ गरेको हो। अझैसम्म पनि मेरो साथी बिनोद राना गोर्खा बस्तीको शिव मन्दिर अगाडि बसोबासा गरिरहेको छ” ।विशाल के.सी,सैनिक कवि। फेसबुक अप्रेल २९ र २०२२०

आध्यात्मिकताको परमानन्द

ऋषि अरविन्दको आध्यात्मिक बाटोमा पहिल्याउँदै हिँड्ने म उनको मतको एक अनुयायी हुँ। आफ्नो चेतना शक्तिलाई जन्मजन्मान्तर विकास गर्दै आइरहेको एउटा जीव। हामी आदिम बाँदर आजको मानव भएका हौँ। तर यो विकासको अन्तिम बिन्दुचाहिँ होइन। मानवबाट अतिमानव जन्मने छ। त्यतिबेला अतिमानवले मानवलाई उही दृष्टिले हेर्ने छ जुन दृष्टिले आज हामी बाँदरलाई हेर्ने गर्छौं । सन् १९५० मा देह त्याग गरेका श्रीअरविन्दको शरीरको अवशेष शरीरको नङ या रौं आदि लाई उनको पार्थीव देह जसरी नै श्रद्धा गरी भारतका विभिन्न ठाउँमा आदर र सम्मानका साथ राखिएको छ। गुवाहाटी र शिलङमा राखेजसरी अगरतलामा पनि छ भन्ने सुनेको थिएँ। यस्तै दर्शन गर्ने आग्रहमा कुसुमतला, ठाकुरपल्ली रोड खोजी निकाल्न मलाई केही समय लाग्यो। श्रीअरविन्द भवन त सहरभित्रै रहेछ। तर एकतर्फी बाटाहरूले यात्राको धेर समय खपत गरे। बेलुका त्यहाँ गई एकक्षण ध्यानमा बसेपछि मनमा शान्ति छायो। दिनभरिको थकान हट्यो। जीउ हल्का भयो।

मार्चपास्ट हेर्ने अचकल्टो रहर

अगरतला सहरबाट प्रायस् ५ किलोमिटर टाढा रहेको अखुरा रोडको भारत बाङ्लादेश अन्तर्राष्ट्रिय सीमा पुग्दानपुग्दै साँझले छोप्यो। सहरको ट्राफिक जामले हामी अभिमन्यु भई जानेलाई जयद्रथ भएर बाटो छेक्यो। पुग्न त बल्ल तल्ल पुगियो तर प्रवेशद्वार बन्द भइहालेछ। केही नौलोपन देख्ने तिर्सना मनभित्र टाक्सिएर बस्यो। सन्ध्या बेलामा प्रदर्शन गरिने झन्डा उत्सव हेर्ने अभिलाषा मनभित्रै कुजियो। दुवैतिरका सैनिकले एककालीक रूपमा बिगुल बजाएर मार्चपास्ट गर्छन्। उनीहरूका जुत्ता भूमिमा बज्रिँदाका ध्वनि र हावामा गुञ्जिएको प्रतिध्वनिले साँझ रमाइलो हुन्छ अरे, भारतपाकको वाघा सिमान्तमा मनाइने जस्तै जस्तै हुन्छ अरे भन्ने सुनेको थिएँ। तर मन नै खिस्रिक्क पर्‍यो।

विदाइ ए त्रिपुरा

विविको विस्तृत मनोरम क्याम्पस झन्नै छ फिट जत्तिको अग्लो पर्खालले घेरिएको थियो । प्रायः बक्र आकारको यस घेराभित्रभित्रै लामो अलकत्रे सडक समानान्तर रूपमा लम्पसार परेर सुतेको छ । चुरोसरि बाटुलो नभए पनि कुनै सिकारु गृहिणीले सिप नजानी बनाएका सेलरोटी जस्तै, कता कता अर्धगोलाकार । बाटो फराकिलो र सफा रहेकाले प्रातः भ्रमण गर्दा मैले आनन्द उपभोग गर्ने गर्थें। बाटाका दुवैतिर सग्सगाउँदा रुखहरू र ध्यानमग्न भवनहरूसँग घरीघरी भेट भएर होला केही दिनमै आफन्तझैं लाग्ने भएका थिए। क्याम्पसको भूमिचाहिँ कता(कता डाँडो त कताता भिरालो। भित्र पसेर अतिथि भवनसम्म पुग्दा दाहिनेपट्टिको भिरालो भूमिमा पहिला मौसम्बी बगान, त्यसपछि केरा बगानले मन लोभ्याउँथ्यो।

दिउँसोखेर नागबेली सडकसँग सम्झौता गर्दै मलाई पेटमा राखेर चारचक्के विविको द्वारतर्फ लग्यो । बाटाका दुवैतर्फ शोधार्थी या विद्यार्थीहरू आआफ्ना मुद्रामा गफिँदै, इत्तरिँदै थिए। कसैले मोबाइलमा आफैलाई व्यस्त राखेका थिए भने कोही सेल्फी लिनमा तल्लीन। रङ्गीबिरङ्गी पोशाक पहिरेका, आँखामा हजार कल्पना सजाएका यी नव पिँढीका अनुहारमा म मेरो आफ्नो विद्यार्थी जीवनको इतिहास पढ्दै थिएँ। यहाँ भारतका विभिन्न प्रान्तबाट प्राध्यापक र शोधार्थी आउँदा रहेछन्। यस्तो वातावरणमा मलाई फेरि एकपल्ट विद्यार्थी हुन मन लाग्यो। यति बेला विधाताले आएर ुतेरो उमेर घटाइदिन्छु, के गर्ने विचार छ भनी सोधे भने म,नेपाली साहित्यको विद्यार्थी हुन्छु भन्ने थिएँ होला।

गाडीले त्रिपुरा विविको सेतो आकर्षक प्रवेशद्वारलाई पछि छाड्दै विमानस्थलतिर लम्क्यो । जाँदाखेरि डा.राटले गुनासो गरी बोलेको वाक्यांशको याद आयो ।सर, हाम्रो त्रिपुरा राज्य विकसित छैन। पुरानो मोडलको गाडी जस्तै, आफ्नै गतिमा धावमान छू। त्यतिबेर मेरो मुखबाट चिप्लेर निस्केको थियो।तिम्रो राज्य प्रकृतिको कति छेउमा रहेछ,चारैतिर सुन्दर हरियाली परिवेश। विकास र परिवेश संरक्षण विपरीत दिशामा कुद्ने प्रक्रिया हुन्। विकसित ठाउँमा मनोहर परिवेशलाई बलि चढाइएको हुन्छ। परिवेशलाई सन्तुलनमा राखी गरिएको विकास नै दीर्घम्यादी र जीवअनुकूल हुन्छ। नत्र लगाम नभएको घोडाजस्तै हुन्छ, सम्भाल्न नसकिने। मलाई त तिम्रो राज्य सारै मन पर्‍यो।

विमानमा चढी झ्यालबाट बाहिर चिहाइरहेँ। अनायासै मुखबाट निस्क्यो ।हे त्रिपुरा, तिम्रो हरियाली बर्कोको मोहमा बाँधिएछु। तिमीलाई यसरी नै चिर यौवना देख्न पाइरहुँ।