“एक खुट्टा गुड्ने, एक खुट्टा उड्ने के हो ?”

मैले सोधेको प्रश्नको सटिक जवाफ दिनको लागि यात्रारत साथीहरूले आआफ्ना दिमाग खियाउन थाल्नुभयो । यो पटकको गणतन्त्र दिवसको अवसर पारेर हामी लमजुङतिरको यात्रामा थियौँ । निरन्तरको सिमसिमे झरीले आकाश खिइँदै थियो । मोटरको तिब्र गतिले सडक खिइँदै थियो । समय खिइँदै थियो । र साथसाथै हाम्रो यात्रा पनि खिइँदै थियो । इन्जिनियर गोविन्द अधिकारी, इन्जिनियर शोभा महर्जन, कानुन अधिकृत दीपक थापा मगर र चालक गोपीले उमेरले चालीसको लिस्नो खियाउँदै थिए । अर्जुन दाहालजी र म भने पचासको लिस्नो खियाउँदै थियौँ । बाटो खियाउन सजिलो होस् भन्ने हेतुले हामीहरूले एकअर्कालाई दिमाग खियाउने गाउँखाने कथा सोधिरहेका थियौँ ।

“तन्नेरीको बुई चढेको बूढो मान्छे होला !” मैले सोधेको प्रश्नको जवाफ शोभाजीले अँध्यारोमै झटारो हान्नुभयो ।

“होइन । प्रश्न फेरि एकपटक राम्रोसँग ध्यान दिएर सुन्नुहोस्:- “एकजना अनपढ किसान र प्रखर विद्वानबिच गाउँखाने कथा सोध्ने प्रतिष्पर्धा चलेछ । विद्वानले आफू जान्ने कहलिँदै जसले जान्दैन उसले पैँसा तिर्नुपर्ने शर्त तेर्स्याएछन् । विद्वानले उत्तर नजानेमा १० रुपैँया तिर्नुपर्ने र किसान अलि अज्ञान हुने भएकोले नजानेमा १ रुपैँया मात्र तिर्नुपर्ने शर्तनामा भएछ । किसानको प्रश्न सोध्ने पालो आएछ । उसले विद्वानलाई सोधेछः “एक खुट्टा गुड्ने, एक खुट्टा उड्ने के हो ?” मैले पृष्ठभूमि बाँधेर गाउँखाने कथाको प्रश्न दोहोर्‍याइदिएँ ।

“चङ्गा नै हुनुपर्छ । तल एकसरो धागो गुड्छ । माथि एकसरो चङ्गा उड्छ ।” हाम्रो गाडीले मुग्लिनको पुल तरेर आँबुखैरेनीतिर बुर्कुसी मार्न थाल्दा अर्जुनले बलियो तर्कसहित ठोकुवा गर्नुभयो ।

यसरी अड्कलबाजी चल्दै गयो ।

“बारीमा राखिएको बुख्याचा होला ।” गोविन्दजीले डुम्रेबजार नजिकिँदै गर्दा दिमाग खियाएको परिणाम निकाल्नुभयो ।

“होइन, होइन ।”

“नेपालको गणतन्त्र पो हो कि ? गुड्यो है गुड्यो उड्यो है उड्यो भन्दै हावा पिटिने तर एउटै खुट्टा भएकोले न गुड्न सक्ने न त उड्न सक्ने ।” दीपकजीले निकै बटारिएको जवाफ दिनुभयो । उहाँको जवाफले बाँकीजति सबैले हाँसोको फट्को लगायौँ । यतिखेर हामी गणतन्त्रका एक प्रणेता बाबुराम भट्टराईको गाउँको वारिपट्टि तुरतुरे पुगिसकेका थियौँ ।

“ल, हामीले हाम्रा खिइएका दिमागजति सप्पै गाउँ तपाईँलाई नै दिनेभयौँ । तपाईँ नै भन्नुहोस् जवाफ । हामीले जानेनम् ।” अर्जुनजीले भन्नुभयो ।

“ल, सुन्नुहोस् !”, मैले विस्तार गर्न थालेँ, “तपाईँहरूले जवाफ दिएजस्तै विद्वानले जे जवाफ दिए पनि किसानले मिल्दै मिलेन भन्दै गएछ । जति तर्क गरे पनि आफ्नो जवाफ नमिलेपछि विद्वानले हार खाएपछि १० रुपैँयाको नोट दिँदै किसानलाई भनेछः “लौ यो नोट, मैले तिमीले सोधेको गाउँखाने कथाको जवाफ दिन सकिनँ ।”

किसानले विद्वानबाट प्राप्त १० रुपैयाँको खुद्राबाट ९ रुपैयाँ आफ्नो गोजीमा घुसारेछ र १ रुपैँया झिकेर विद्वानलाई दिँदै भनेछ, “यसको जवाफ त मलाई पनि थाहा छैन, त्यसैले हाम्रो शर्तअनुसार मैले तिर्नुपर्ने १ रुपैँयाँ तपाईँलाई नै भयो ।”

०००

पूर्ण ओली

गाउँशहर घुम्ने रहर

यस्तै गाउँखाने कथा र दिमाग खाने प्रश्नहरू सोध्दै र जवाफ दिँदै गर्दा चालै नपाई हामी बेँशीसहर पुगिसकेछौँ । त्यहाँबाट सात किलोमिटर अगाडिको खुदी नाउँको गाउँ पुगेर पौवा निर्माण स्थलको अनुगमन गर्‍यौँ । खुदी राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थल रहेछ ।

खासमा हाम्रो आजको मुख्य कर्तव्य गाउँसहरमा अवस्थित लमजुङ दरबारको अवलोकन निरीक्षण गर्नु थियो । राम्रो-नराम्रो, तितो-मिठो, तल-माथि भनेजस्तै गाउँ-सहर । उल्टोपाल्टो सँगै नहुने त होइन तर सुन्दाचाँहि अनौठो लाग्ने ।

लमजुङको बेँशीसहर पहिले पनि देखिएकै थियो । काठमाण्डौ, पोखरा, भरतपुर, हेटौँडालगायत बेँशीमा रहेका थुप्रै सहरहरू पनि हेरिएकै हो, बसिएकै हो । सबैमा सहर हुनुको सामन्जस्यता छ नै तर गाउँसहर कस्तो होला भन्ने कुराले मलाई औधी कुतकुत्याइरहेको थियो ।

खुदीबाट हामी केही गाउँ र केही साना सहर हुरीको गतिमा पछि पार्दै थियौँ । गाउँसहरतिर जति नजिकिँदै थियो उति मुटुरूपी भकुण्डो उफ्रिरहेको थियो ।

“आज त अर्थ मन्त्री जनार्दन शर्माबाट बजेट भाषण हुँदै छ । ल, साथीहरू हो रेडियो सुनम् है ।” हामी रेडियो सुन्नतिर आकर्षित भए पनि गाडीको रेडियोले एफएम टिप्न जाँगर गरेन । हामी बजेटभन्दा पनि बढी आफ्ने तलबको बहसमा केन्द्रित भयौँ ।

“साँच्ची हाम्रो तलब कति बढ्ला ?”

“बढीमा दुई हजार ।” धेरैको जवाफ यही थियो ।

“दुईहजार दिनुभन्दा त एक रुपैँया पनि नबढाउनु नै वेश । बरू तलबको सट्टा अन्य सुविधामा वृद्धि गरिदिए एकातिर बजार भाउ ह्वात्तै बढ्दैनथ्यो । राज्यलाई पेन्सन लगायतको थप भार पनि पर्दैनथ्यो ।” दीपकजीले सबैलाई चित्त बुझ्ने तर्क पेश गरिरहनुभएको थियो ।

अब हाम्रो दिमाग बजेट भाषणतिर खिइन थालेको थियो । डाटा लिएर साथीहरूले अनलाइन समाचार हेर्न थालेका थिए । नेटले राम्रोसँग नटिपेको गुनासो पोख्दै हुनुहुन्थ्यो ।

“लौ बर्बाद भएछ ।” गोविन्दजीले मुख अँध्यारो पार्दै उच्च स्वरमा समाचार सुनाउनुभयो ।

“के भयो ? के तलब बढेन ?”

“हैन हैन । ताराको प्लेन हराएछ ।”

“कहाँबाट हरायो ? कसरी हरायो ।” हामी तलब छोडेर ताराएरको समाचारतिर खनियौँ ।

“२२ जना यात्रु लिएर पोखराबाट जोमसोम जाँदै गरेको ताराको प्लेन सम्पर्कविहीन । ”

हाम्रो खिया परेको दिमागलाई खियाउनुको अर्को विकल्प थिएन । हवाइजहाज हिमालमा हराउनु भनेको फेरि सकुशल भेटिनु असम्भवप्रायः छ । नेपालमै बारम्बार यस्ता घटना किन दोहोरिन्छन् ? चालक दलको दोष हो कि चालीस वर्षे बूढो प्लेनको दोष हो ? कि नेपालको बैँसालु मौसमको दोष हो ?

“सत्यता त ब्ल्याकबक्सले भन्ला !”

“धनजनको ठूलो क्षति भैसकेपछि ब्ल्याकबक्सले बक्ने सत्यताको के अर्थ रह्यो र ? ब्ल्याबक्स बकिरहन्छ । प्लेन खसिरहन्छन् ।”

एकछिनसम्म सबै चुपचाप रह्यौँ, हाम्रो अवाक अनुहारले एकअर्कालाई सोधिरहेको थियोः “को होलान् ती अभागी यात्रीहरू ?” ताराको प्लेनजस्तै बिग्रिँदो मौसममा हाम्रा दिमागहरू चक्कराइरहेका थिए ।

बेँशीसहरबाट केही पूर्वतिर आइपुगेपछि हाम्रो गाडी मोडिएर उकालो चढ्न थाल्यो । हामीहरू तरुणा घोगाबारी भएका कान्लाहरू घुम्दै घुम्दै झन्डै चुचुरोमा उक्लियो । हामी पुग्यौँ गाउँले शहरमा । अर्थात् गाउँशहरमा । पुराना ढाँचाका गुजुमुज्ज घरहरू । हाम्रा लुकुम तथा तकसेराका गाउँहरू पनि गाउँसहर त हुन् ।

गाउँको उत्तरपश्चिमपट्टि पुरानो शैलीको दरबार थियो । काश्कीका राजा कुलमण्डन शाहका जेठा छोरा यशोब्रह्म शाहलाई लमजुङेहरूले यहाँ ल्याएर राजा बनाएका रहेछन् । जिर्णोद्वार गरिएको यशोब्रह्मको दरबारसँगै पुरातत्व विभागबाट निर्माणाधीन कार्यालय भवन उभिएको थियो । यसैको निरीक्षणको क्रममा हामी यहाँसम्म आइपुगेका थियौँ । दीपकजीले भवनलाई घुमी घुमी हेर्न थाल्नुभयो । शोभाजीले फित्ताले नापजाँच गर्न थाल्नुभयो । मैले रित्ता आँखाले डाँडाभाटा गन्न थालेँ ।

यो पुरानो दरबारकै संरचनासँग मिल्दोजुल्दो गरी निर्माण गरिएको नयाँ भवन थियो । उजुरी परेअनुसार पुराना सामग्री प्रयोगको सम्भावना थिएन । कसले किन उजुरी गर्‍यो भनी गोविन्दजीले दिमाग मन खियाउन थालेको हप्तौँ भइसकेको थियो । गोविन्द विभागका अलि सचेत इमान्दार तथा कुशल इन्जिनियरमा पर्छन् ।

यात्रीकै नामको रात्री बासः बन्दीपुर

हामी लमजुङ दरबारको निरीक्षण सकेर वापस फर्कियौँ ।

“आजको बास कता हुने हो ?” दिन घर्किँदै जाँदा जिज्ञासा पोखे साथीहरूले ।

“यसो गरौँ, चालकबाहेक यो यात्राका सबै यात्रीहरूको नामबाट बन्ने ठाउँमा पुगौँ ।”

“रात पर्नै आँटिसक्यो । सबैको नामबाट आउने ठाउँ भेटिन त के सम्भव होला र ?” गोपीले शंका व्यक्त गरे ।

गोपी अलमलिएपछि मैले अर्थ्याएँ, “टाढा होइन । छ नजिकै । गोबिन्दको ‘ब’ अर्जुनको ‘न’ दीपकको ‘दी’ पूर्णको ‘पु’ शोभा महर्जनको ‘र’ । अर्थात् ब-न-दी-पु-र ।

‘पहाडकी रानी बन्दीपुर’ जाने निधो भएपछि अर्जुनजीले बाजी थाप्नुभयोः “तलब बढेछ भने बन्दीपुरको सम्पूर्ण खर्च मेरो भयो । बढेनछ भने तपाईँहरूको भयो ।” हत्तपत्त उहाँ आफैले काठमाण्डौको साथीलाई फोन लगाउनुभयो । तर तलब अपेक्षा गरिएभन्दा बढी अर्थात् १५ प्रतिशतले वृद्धि गरिएको रहेछ । उहाँले त्यो बाजीको कुरा फेरि दोहोर्‍याउनुभएन ।

डुम्रेबाट दक्षिणपट्टिको पहाडी उकालोमा पाँच सात फन्का मारेपछि आइपुग्यो बन्दीपुर । सवारी साधन निषेध गरिएको सफा बजार । आकाश छोएको डाँडाको टुप्पोमा रहेको कलात्मक नेवार बस्तीले हामीलाई घरी यता घरी उता तानिरह्यो । झमक्क रात नपरुन्जेल बजार क्षेत्रमा निर्बिघ्न ओहोरदोहोर गरिरह्यौँ । पछि बास बस्ने सुरसार कसेपछि दुईचार होटेल सोधिहेर्‍यौँ । प्रति व्यक्ति पच्चीस सयभन्दा घटीका कोठा पाइएनन् । होमस्टेमा सबैजना एउटै खाटमा खाँदिएर सुत्न जाँगर कसैको चलेन किनकि पहाडको टुप्पोमा पनि गर्मी उस्तै थियो ।

हामी होटेल खोज्दै खोज्दै आगमन नामको होटेलमा पुग्यौँ । आगमनका आगोमनले हाम्रो आगमन भएको अड्कल पाइहालेछन् । हामीलाई पन्ध्रसयकै दरमा कोठा उपलब्ध गराउने भनी फकाए । हामी प्रतिव्यक्ति पच्चीस सयको सट्टा प्रति कोठा पन्ध्रसयमै कोठा मिल्नुको खुशीको मारवश् झोली तुम्बा कोठाकोठामा थन्क्याएर खाजा हसुर्न लाग्यौँ । होटेलमा नामथर वतन दर्ताको टन्टै रहेन ।

खाजा सक्ने बित्तिकै खाना आइहाल्यो । पाँचजना सँगै खाजा खान बसेका थियौँ । खाना आइपुग्दा मात्र शोभाजी हाम्रो माझबाट हराएको थाहा भयो । खाना खानको लागि शोभाजीलाई कल गर्दा उहाँको फोन उठ्दै उठेन । खोज्नको लागि गोपीलाई पठायौँ । तर गोपी पनि उतै हराए । उनले फोन टेबुलमै छोडेर हिँडेछन् । केही उपाय नचलेपछि खानालाई चिसिन दिएर हामीहरू पनि खोज्नै आँटेका थियौँ उहाँहरू दुवैजना अँध्यारो मुख लगाएर टुपुल्किनु भयो ।

होटेलको कोठाभित्रैबाट उहाँको पर्स चोरी भएछ । खोज्दै जाँदा पर्सभित्रको पैँसा भने कौशीमा फालेको अवस्थामा भेट्टाउनुभएछ । होटेल साहुले यो खबर पाएर पनि सुरूमा खासै चासो देखाएनन् । राति आफ्ना कर्मचारीहरूलाई बोलाएर हप्काए भन्ने सुनियो ।

भोलिपल्ट बिहानै यात्रा सुरू गर्नको लागि अर्जुनजीको बाजी बिर्सिएर गोविन्दजीले होटेलको अनलाइन भुक्तानी गर्नुभयो । यसोउसो विभिन्न सेवाशुल्कहरू जोडेर भुक्तानी करिब करिब प्रतिव्यक्ति पच्चीस सय नै पुग्यो ।

हामी डुम्रे आइपुग्नेबित्तिकै शोभाजीको फोन बज्यो । उठाउँदा मात्र थाहा भयो कि आगमन होटेलकै साहुको फोन रहेछ । अनलाइन भुक्तानी आफ्नो खातामा जम्मा नभएको विषयमा उहाँलाई सोधपुछ गरेछन् । गोविन्दजीले अनलाइन भुक्तानीको कुरा प्रष्ट्याइदिनुभयो । भुक्तानी गरिसकिएको भुक्तानी उनको खातामा जम्मा नभए फेरि यतैबाट भुक्तानी गरिने विश्वास दिलाउनुभयो ।

शोभाजीले हामीहरूतिर फर्केर सोध्नुभयोः “मेरो फोन कसले टिपाइदियो त्यो होटलेलाई ?”

हामी अक्क न बक्क पर्‍यौँ । दिन परे आफ्नै फोन दिँदा हौँ उहाँकै फोन किन दिनुपर्थ्यो र हामीले ? तर आफ्नै फोन पनि कसैले टिपाएका थिएनौँ ।

“तपाईँले आफैले दिनुभयो होला आफ्नो फोन ।”  दीपकजीले प्रत्यारोप लगाउनुभयो ।

“अँहँ, मैले दिएकै छैन ।”

हामीले होटेल लिँदा कसैले पनि नाम तथा फोन दर्ता गराएका थिएनौँ ।

“तपाईँको हराएको पर्समा कुनै आइडि कार्ड थियो कि ? वा मोबाइल चार्जमा राखेको बखत होटेलका कर्मचारीले डायल गरिदिए कि ?”

सबैले आआफ्नो मोबाइलमा डायल गरेको नम्बर चेक गर्‍यौँ । हामी कसैको नम्बरबाट होटेलको फोनमा डायल भएको थिएन ।

“कसैले पनि फोन नदिएर कसरी थाहा भयो त त्यो होटेल साहुजीलाई ?”

जान्नको लागि फेरि उसैलाई फोन लगायौँ । तर उनको फोन मरिगए उठेन ।

ग्राहकको अनुहार मात्र देखेर होटलेले कसरी ग्राहकको नम्बर पत्ता लगाउँछ ? सबैले आफूले सकेको दिमाग खियाउन थाल्यौँ तर निचोड निस्किएन ।

मादी, रुपा र बेगनाश

अब हामी दमौलीलाई बायाँ पारेर उत्तरतर्फ बगुताउन थाल्यौँ । बसिला फाँट, दम्सिला टाकुरा, रसिला खेती, वसिला जङ्गल, ससिला घरहरू, हसिला स्थानीयहरू, अघिदेखि नै हामीसँग टाँसिएरै अनवरत बहावको सिलसिला बोकेकी मादक मादी अनि हामी पाँचथान जोशिला यात्रीहरू । हामी त भित्रभित्रै कता हरायौँ कता । साथमै छौँ तर साथमा कोही पनि छैनौँजस्तो । यति सुन्दर ठाउँ देख्न त हाइवेबाट भित्रतिर लाग्नुपर्दो रहेछ ।

तनहुँ जिल्ला सकिएपछि रिस्ती खोला तरेर हामी पुग्यौँ फेरि लमजुङजिल्लामै । मध्य नेपाल नगरपालिका यहीँ पर्दो रहेछ । मध्य नेपाल सकिनेबित्तिकै मादी तरेर काश्कीको रुपा गाउँपालिकामा प्रवेश गर्दा गर्दै भेटियो जटेश्वर महादेव मन्दिर । टिनले बारिएको जिर्ण मन्दिरलाई आकर्षक कलात्मक ढुङ्गे मन्दिरमा परिवर्तन गरिएको रहेछ । तर चित्त नबुझ्नेले हालिदियो उजुरी । हामीहरू फनफनी घुमेर अवलोकन निरीक्षण गर्छौँ, प्राविधिक आँखाले, कानूनी आँखाले, आर्थिक आँखाले । बारम्बार विनाकुनै आधारप्रमाण स्पष्टीकरण खेपिरहेका महानिर्देशक दामोदर गौतमले भनेको कुरा सम्झन्छुः “अब पुरातत्त्व विभागले निर्माण र संरक्षणका कामहरू गर्नुपर्दैन ? उजुरी परेका पुराना फाइलहरू पल्टाएर प्रतिवेदन तथा जवाफ मात्र दिएर बस्छ ?”

काम सकिएपछि हामी दमौली फर्कने सुर कस्छौँ । यहाँबाट दमौली पुग्न झन्डै ४० किमि बाँकी छ । दीपकजी र अर्जुनजीलाई पोखरा छोड्नुछ । दमौलीबाट पोखरालाई ५० किमिजति जति छ । अझै ढाइ/तीन घण्टाको बाटो बाँकी नै छ ।

मलाई भने रुपाकोटको महादेव मन्दिर भन्नेबित्तिकै रुपा ताल नै दिलमा  आएर बसेको छ ।

“रुपाकोटमा रुपाताल त होला नि गोविन्दजी । रुपा ताल हेरेर फर्कौँ हुन्न ?” यही मन्दिर निर्माणको सिलसिलामा पटकपटक आइसकेका प्राविधिक इन्जिनियरलाई सोध्छु म ।

“रुपा ताल यता छैन होला सर । थाहा भएन मलाई त ।”  उहाँको जीवन फिल्ड कुद, मन्दिर बनाऊ, बिल बनाऊ, म्याद थप, भेरियशन गर, फेरि फिल्ड कुद त्यतिमै सकिएको छ । उहाँले पूर्वदेखि पश्चिमसम्मका झन्डै दुई दर्जन मन्दिरको निर्माण कार्यको जिम्मेवारी पाउनुभएको छ । कार्य सम्पादन गर्न हम्मे हम्मे छ ।

गोबिन्दजीको जवाफमा चित्त नबुझेर गाउँलेलाई सोध्छुः “रुपा ताल छैन र यता ?”

“किन नहुनू ? रुपा तालबाटै त यो गाउँपालिकाको नामाकरण गरिएको हो । यताबाट सत्र किलोमिटरमा रुपा ताल पुग्न सकिन्छ । १९ किलोमिटरमा बेगनाश ताल र २५ किमिमा त फेवा तालमै पुग्न सकिन्छ ।” यो बाटो थाहा नभएर २५ किमिको सट्टा ८५ किमिको यात्रा गरिरहनुभएको रहेछ गोविन्दजीले ।

“कच्ची बाटो । घचाङघुचुङ मात्र होला नि ? बेसरी बिग्रिएको बाटोमा त बीस किलोमिटर पार गर्दै चारघण्टा लाग्छ । गाडी र जीउको नाश उत्तिकै ।” गोविन्दको शंका मेटिएको छैन ।

“कहाँको कच्ची हुनु ? पूरै पिच छ । भर्खरै खोलिएको नयाँ बाटो हो ।” गाउँलेले

खुशी हुँदै हामी समात्छौँ रुपातालको बाटो । एक किलोमिटरजति पर पक्की बाटोमा मिसिन्छौँ । सोचेभन्दा फराकिलो छ । मध्य पहाडी लोकमार्ग हुनुपर्छ यो । भर्खर चिल्लो घसेकोजस्तो चिप्लोबाटोमा चिप्लिँदै हाम्रो गाडी हुइँकिन थाल्यो । उस्तै रसिला फाँट र दम्सिला वस्ती काटिसकेपछि लाग्छौँ रानीवनको तेर्पायँ तेर्पायँ । पहाडी घनाजङ्गलको सौन्दर्य अवर्णनीय छ । दुईचार फन्को मारेर ओरालो लाग्नेबित्तिकै सुरू हुन्छ तालगाउँ । रुपा खोला छेकेर बनाइएका फराकिलो खोलाभरि तालै ताल । अलि तल देखिन्छ अलि ठूलो कालो र विशाल ताल । त्यही होला रुपा ताल । रुपा भनेकी त काली सुन्दरी पो रैछिन् । रुपालाई आँखा र क्यामेरामा अटाउन नपाउँदै उतापट्टि निलो बेगनाश तालको सर्वाङ्ग देखिन पुग्यो । बेगनाश ताल हेर्दा हेर्दै रुपा ताल छेकियो । पोखरी नै पोखरीहरूले बनेको पोखरा । साँच्चिकै प्रकृतिको अनुपम कृति ।

बेगनाश तालले रुपा तालका पर्यटकहरूलाई छेकेर बसेजस्तै लाग्यो । उसले पाउनुपर्ने वाहवाहीलाई खोसेको जस्तो लाग्यो । बेगनाशलाई नजिकैबाट अघाउन्जेल हेरेपछि खाना खाईवरि लाग्यौँ पोखरातिर ।

यात्राभरि रहरः छुट्टिँदा कहर

एक किलोमिटर पार नगर्दै भेटियो तालचोक । दमौलीबाट पोखरा जाने बाटोको एउटा बजार । साविक लेखनाथ नगरपालिकाको मुटु । पोखरातिर लागेर विजयपुर खोला कटेपछि केही पर नपुग्दै गाडी घच्याक्क रोकियो । दीपकजी र अर्जुनजी रिसले रन्थनिँदै ओर्लँदै भन्नुभयोः “पोखराको पाइतालामै आइपुगेर पनि पृथ्बीचोकसम्म पुर्‍याउन सक्नुभएन तपाईँहरूले ।”

दीपकजी र अर्जुनजीलाई गोपीले पोखराको बाटोमै छोडिदिएर गाडीलाई फनक्क मोडेर काठमाण्डौको बाटोतिर कुँदाइहाले ।

हामीले दीपकजीको असन्तुष्ट रातोपिरो अनुहार सम्झिरह्यौँ । अहिलेसम्मको रसिलो यात्रा एकै छिनमा खल्लो हुन पुगेको थियो । म बेगनाशतिरै कतिसम्म हराएछु भने दीपकजीलाई पोखराको भित्री चोकसम्म पुर्‍याउने कि नपुर्‍याउने भन्ने सम्बन्धमा पहिल्यैदेखि खटपट सुरू भैसकेको पतो नै पाइनछु । गुरूजीसँग खटपटले सीमा नाघेपछि उहाँहरू बीचमै ओर्लनुभएको रहेछ ।

काठमाण्डौ फर्कँदै घर्दा दिमाग खियाउने प्रश्नको खुराक बन्यो यो घटना ।

“थोरै त बाँकी थियो उहाँलाई छोडेर फर्केको भए के बिग्रन्थ्यो र ? हामी स्वार्थी भयौँ । दुईदुई दिनतक सँगै घुमेका सहयात्रीलाई बीचैमा किन छोड्नु ? यो काम किमार्थ ठीक भएन ।”

“पोखराको आँगनमै आइपुगेर पनि घरभित्रै पुर्याइदिनुपर्‍यो भन्ने दीपकजी पो स्वार्थी देखिनुभयो । उहाँले त भन्न सक्नुपर्थ्यो तपाईँहरू तालचोकबाटै काठमाण्डौ लागिहाल्नुस् । हाम्रोभन्दा तपाईँको बाटो पचासौँ गुणा लामो छ ।”

“हैन । हैन । हामी आफ्ना खुट्टाले हिड्नुपर्थेन, दीपकजीलाई उहाँले भनेकै ठाउँसम्म छोडेको भए पनि हुने ।”

“दीपकजीले हामीलाई पृथ्बीचोकमा छोडेर मात्र फर्कनुहोला भनेको भए हामी गै हाल्थ्यौँ नि । त्यसरी झन्किएर बीचमै ओर्लनु हुन्नथ्यो ।”

“दीपकजी ठीक । होइन उहाँ बेठीक हामी ठीक । होइन होइन उहाँ ठीक हामी बेठीक । ठीक बेठीक बहसमा हामीले दिमाग खियाइरह्यौँ । निचोड केही निस्किएन । त्यसपछि चुपचाप यात्रा अगाडि बढ्यो । मर्स्याङ्दीको किनार भए पनि उखर्माउलो गर्मी थियो । झ्याल खोल्दा बन्दै गरेको सडकको धुलो र तातो हावाले घाँटी अठ्याउँथ्यो । झ्याल बन्द गर्दा झनै गर्मीले उकुसमुकुस बनाउँथ्यो । हाम्रो शरीर मात्र होइन दिलदिमागसमेत तावा तताएझैँ रनक्क तातिएको थियो ।

चल चल बीरे, छलछलबीरे जलबीरे

मुग्लिन नजिकै त्रिशुली नदीको पुल तर्दै गर्दा गोपीले वक फुटाउँदै भनेः “सरहरूको तातिएको दिमागलाई म चिस्याइदिन्छु ।”

“कसरी ?” भन्ने प्रश्न सोधी नसक्दै गोपीले काठमाण्डौको बाटो छोडेर नारायणगढतिरको बाटो समातिहाले ।

“त्यता कता जाने ? यत्तिकै त काठमाण्डौ जाने ढिला भैसक्यो !”

“त्यता जाँदा त हाम्रो दिमाग झनै रन्किनेछ । नजाम् भो गोपी ।”

हामीले चल चल बीरे भनेझैँ पो गोपी मन्द मुस्कान छोड्दै दक्षिणतिरै गाडी कुदाइरहेका छन् ।

“फर्कम् के फर्कम् ! जिद्दी नगर गोपी ।”

“यो के गरेको । हामीलाई कता लग्न आँटेको ? कासी जान कुतीको बाटो ?”

हाम्रो विरोधको स्वर अति भएपछि गोपीले जलबिरे पुल क्रस नगरी भित्रपट्टिको पुरानो बाटोमा गाडी रोके । त्यहाँदेखि उकालोतिरको बाटोमा प्रवेशद्वार थियोः त्यहाँ पस्न १०० रूपैँयाको टिकट चाहिँदो रहेछ । प्रवेशद्वारको सूचनाबाटै थाहा पाइसकेका थियौँ कि हामी जलबीरे नामको झरनातिर उक्लँदै छौँ ।

करिब एक सय खुड्किला पार गर्ने बित्तिकै हामी अर्कै दुनियामा छिरिसकेका थियौँ । कहिल्यै कल्पना नै नगरेको विशाल छाँगो ध्वारेरेरेरेरे गर्दै निकै आकाशबाट पहरमा खस्दै थियो । पानीका चिसा वाष्पकणहरू परपरसम्म फैलिरहेका थिए । पुछारमा बनेको तालमा दर्जनौँ मान्छेहरू कल्याङमल्याङसाथ छप्लाङछुप्लुङ गरेर रमाइरहेका थिए । अलिकति तलको हाम्रो असिनपसिन चिसो हावाले मत्थर पारिसकेको थियो । हामी अर्को पटक त्यहीँ कतै हरायौँ ।

नारायणघाट-मुगलिन बाटोमा मैले तीसौँ वर्षदेखि हजारौँ पटक ओहोरदोहोर गरिसकेको थिएँ । यही बाटोको छेउमा यति मनोरम झरना होला भन्ने कहिल्यै कल्पनासम्म गरेको थिइनँ । म झरनाको सुन्दरता हेरेको हेरेई भएँ ।

सिधा बाटो छोडेर अलिकति दायाँबायाँ लाग्नुपर्छ नेपालका कुना कन्दरामा लुकिबसेका हजारौँ स्वर्ग भेटिन्छन् । हामी गोपीप्रति हुनुसम्म कृतज्ञ भयौँ । गोपीको यो एकलकाँटे निर्णय सबै चालकहरूको लागि अनुकरणीय कार्य थियो । कल्पनातीत आनन्दबाट यो यात्रामा खिइएको दिमागको भरपुर क्षतिपूर्ति उठाएर हामी काठमाण्डौतिर सोझियौँ ।

कोठा कोठा पुग्न निकै अबेर भैसकेको थियो तथापि त्यो ढिलासुस्तीसँग हामीमा कुनै गुनासोको नामोनिशान पनि बाँकी थिएन ।