साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

काठमाडौँका आँखा नपरेको ‘शैलुङ्ग’

काठमाडौँबाट नजिकै रहेको चिरपरिचित स्थान भए तापनि भौतिक पूर्वाधारको समुचित विकास हुन नसकेको तथा आवश्यक प्रवर्द्धनको कमिले गर्दा सानो शैलुङ्गले अन्य पर्यटकीय स्थानहरूले जति लोकप्रियता पाउन सकेको छैन ।

Chovar Blues Mobile Size

 

सहभागी यात्रीहरू: रत्नमाया गौतम, शारदा थापा, बिष्णु बस्नेत, अनिता बस्नेत, मेधा मिश्र, कल्पना मिश्र, कौशलराज मिश्र र मुरारीराज मिश्र ।

सानो शैलुङ्ग पुगेर आएका साथीभाइहरूबाट त्यहाँको बारेमा सुनेदेखि नै शैलुङ्ग जाने इच्छा पलाएको थियो, तर मौका मिलिरहेको थिएन । कुराकानीको क्रममा शैलुङ्ग भ्रमणका लागि अकस्मात् आठजनाको समूह जुटेकाले यसपल्ट त जाने साइत पक्कै नै जुरेको रहेछ भन्ने लाग्यो ।

जाने तय भएपछि शैलुङ्ग आउनेजाने गरेका स्कोर्पियो चालकसँग भ्रमणको बारेमा सरसल्लाह हुँदा, बिहान सबेरै निस्केर साँझसम्म फर्कने योजना बन्यो । जाने अघिल्लो दिन, गाडीमा समस्या आएर ग्यारेजमा बनाउन पठाएकोले आफू जान नसक्ने भन्दै चालकले आफ्नो सट्टा परिचित साथी चालकलाई पठाउने जानकारी गराए । हामीलाई त जानु नै थियो, त्यसैले आपत्ति जनाएनौँ । निर्धारित समयमा पाथिभरा दर्शन लेखिएको बा २१ च ९८४८ नम्बरको स्कोर्पियो गाडी लिएर चालक चन्द्र तामाङ आइपुगे । उनी यसअघि शैलुङ्ग क्षेत्रमा पुगेका रहेनछन् । हाम्रो पनि त्यताको पहिलो यात्रा थियो । तसर्थ, बाटो सोध्दै भए पनि जाउँला भन्ने आँट लिएर २०७८ चैत्र १२ गते शनिबारका दिन बिहान पाँचबजेतिर घरबाट शैलुङ्गेश्वर जान निस्कियौँ ।

मध्य चैत भए तापनि बिहानको मौसम केही चिसै थियो । साँढे छ बजेतिर जिरोकिलो भन्ने ठाउँमा पुगी हामीले चियापान गर्‍यौँ । यसपछि पुनः यात्रा अघि बढ्दै गयो । दोलालघाट हुँदै सुनकोशी पुल तरेर हामी कोशीपारी उकालो लाग्यौँ । त्यहाँबाट निकै माथि चढ्दै डुम्रेटार, सल्लेडाँडाको कच्ची तथा ग्राभेलबाटो पार गर्दै बिहान पौने नौ बजे काभ्रे, कोशीपारीको चौरी देउराली गाउँपालिकामा पर्ने गुम्पाटीमा हाम्रो चीयापान भयो । चालकलाई केही नास्ता पनि गरायौँ । यहाँका स्थानीयसँग हामीले शैलुङ्ग जाने बाटोलगायतका बारेमा जानकारी लियौँ र अघि बढ्यौँ । मज्जाले घाम लागेको थियो । वरिपरि विभिन्न हिमाल टल्केका देखिन्थे । गाउँले परिवेश, हरियाली वातावरण र खेतीपाती नियाल्दै, कच्चीबाटोमा ओरालो झर्दै बिहानको दशबजेतिर काभ्रे जिल्ला पार गरी, चौरीखोलाको पक्की पुलबाट हाम्रो गाडी रामेछाप जिल्लाको दोरम्बा प्रवेश गर्‍यो ।

मुरारीराज मिश्र
sagarmani mobile size

यहाँबाट फेरि उकालो चढ्न सुरु भयो । बाटो कच्ची थियो । सुरुसुरुमा बाटामा फाट्टफुट्ट घरहरु देखिन्थे । तर निकै अगाडि पुग्दा कतै पनि घरहरू भेटिएनन् । बाटोमा मानिस फेलापर्न पनि गाह्रो हुँदा दोबाटो आउँदा कतातिर जाने भन्ने दोधार हुन्थ्यो । ठाउँठाउँमा साइनबोर्डको आवश्यकता महसूस भयो । साँघुरो बाटो भएकाले कदाचित् बाटो भुलिएमा पनि गाडी फर्काउन सक्ने अवस्था थिएन । घनाजङ्गलबीचको बाटो अन्दाज गर्दै अघि बढ्यौँ । बढ्दै जाँदा बाटो भुलिएझैँ लाग्थ्यो, मन आत्तिन्थ्यौँ । तैपनि सम्हालिँदै बाटोका दुवैतिर फुलेका लालीगुराँस र प्राकृतिक दृश्य नियाल्दै यात्रा जारी राख्यौँ । यसैबेला अगाडिबाट मोटरसाइकलमा दुई युवालाई आउँदै गरेको देख्यौँ । हतारहतार रोक्दै अगाडिको बाटो सोध्यौँ । उनीहरू शैलुङ्गेश्वर पुगेर फर्केका रहेछन् । कम्तीमा बाटो त बिराएका रहेनछौँ भनेर बल्ल ढुक्क भयौँ ।

यसरी, हामी पौने बाह्रबजे शैलुङ्गेश्वर पुग्यौँ । त्यहाँ पुग्दा एउटा बसमा दर्शनार्थीहरू फर्कने तरखर गर्दै थिए । शैलुङ्गेश्वर परिसरमा पुगेपछि समय खेर नफाली हामी उकालो चढ्न थाल्यौँ । ढुङ्गाका सिँढीहरू व्यवस्थित थिए । छेउमा फलामे रेलिङ्ग हालिएको थियो । भीरका रुखहरूमा ढकमक्क गुराँस फुलेका देखिन्थे । भुइँमा पनि गुराँसका फूल र भाँचिएका हाँगाहरू छरपस्ट थिए । प्राकृतिक सौन्दर्य नियाल्नुभन्दा पनि मास्न उद्दत मानवीय प्रवृत्ति देखेर दिक्क लाग्यो । उचाइमा भए पनि गर्मी थिएन । प्राकृतिक सौन्दर्य नियाल्दै १५ मिनेटमा हामी शैलुङ्गेश्वर महादेव स्थान रहेको गुफामा प्रवेश गर्‍यौँ।

काठमाडौँबाट करिब १२० कि.मि. उत्तरपूर्वमा पर्ने २२०० देखि ३५०० मीटरसम्मको उचाइमा रहेको सानो शैलुङ्ग भनिने यो भूखण्ड तामाङ र मगर समुदायको बाहुल्यता भएको रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका-४, गौश्वार भन्ने ठाउँमा अवस्थित छ । तामाङ्ग भाषामा ‘सै’ को अर्थ सय र ‘लुङ्ग’ को अर्थ थुम्का हुन्छ । यहाँ सानाठूला गरेर सयवटा थुम्काहरू रहेकाले नै यस स्थानलाई शैलुङ्ग भनिएको हो । यी थुम्काहरू, परापूर्वकालमा यहाँ सयौँ ऋषिमुनिहरू तपस्यारत हुँदा कलियुग शुरु भएपछि, कलिको पाप देख्न नपरोस् भनेर तपस्या गरिरहेकै स्थानमा सबै ऋषिमुनिले समाधि लिएकाले त्यही स्थानमा उत्पन्न भएको भन्ने किम्वदन्ती छ । शैलुङ्गको सम्पूर्ण थुम्काहरू दुई जिल्लामा बाँडिएका छन् । शैलुङ्गको सबैभन्दा अग्लो टाकुरा अर्थात् ठूलो शैलुङ्ग दोलखामा पर्दछ भने सानो शैलुङ्ग रामेछापमा पर्छ । बाटो कच्ची भएकाले वर्षायाममा भने यहाँको यात्रा उपयुक्त हुँदैन ।

रामेछाप जिल्लातर्फबाट पर्ने सानो शैलुङ्ग एक ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल हो । यहाँको मुख्य आकर्षणको रूपमा शैलुङ्गेश्वर डाँडाको गुफामा रहेको शैलुङ्गेश्वर महादेव परिसरलाई लिइन्छ । अग्लो चट्टानी पहाडको बीचमा रहेको सुरुङभित्र शैलुङ्गेश्वर महादेव स्थानमा प्राकृतिक रूपमा निर्मित शिवलिङ्ग तथा विभिन्न देवीदेवताका आकारका शिलाहरू रहेका छन् । शिव मूर्तिको शिलामाथि गुफामा गाइको थुन आकारको थुप्रै शिला झुन्डिएझैँ देखिन्छन् । सो शिलाहरूबाट शिवलिङ्गमा निरन्तर पानीको थोपा चुहिने गर्दछ । सो पानीलाई हातमा थाप्दा दुधजस्तो रंगको देखिन्छ । पहिले पहिले ती शिलाबाट दूध नै झर्थ्यो रे ! महादेव स्थान रहेको गुफाभित्र प्राकृतिक रूपमा निर्मित पापद्वार र धर्मद्वार पनि रहेका छन् । यो स्थानले हलेसी महादेवस्थानको झझल्को दिन्छ । फरक यति हो कि, हलेसी क्षेत्र जमिन सतहबाट तल छ भने यो डाँडामाथि अवस्थित छ ।

प्राचीनकालमा महादेव स्थलमा पूजाआजा गर्न भक्तजनहरू आउँदा पूजाको लागि आवश्यक पर्ने सबै भाँडाकुँडाहरू त्यही मन्दिरबाटै निस्कने र पूजा सकिए पश्चात् भाँडा माझेर राखेपछि पुनः अलप हुने गरेको थियो रे ! पछि कसैले भाँडा सफा नगरी त्यसै छोडेका कारणले त्यस बेलादेखि पूजाभाँडाहरू निस्कन छोडेको भन्ने अर्को किंवदन्ती पनि छ । सानो शैलुङ्ग विकास समितिबाट महादेवस्थानको रेखदेखका लागि खटिएका डम्बरबहादुर मगर आफूले सानै उमेरदेखि यहाँ दैनिक दर्शनार्थीहरू आउने गरेको देखेको बताउनुहुन्छ । यहाँको आफैँ उत्पत्ति भएको शिवको प्राचीन शीला/शिवलिङ्ग निकै बर्षअघि चोरी भएको कुरा पनि उहाँले सुनाउनुभयो । उहाँका अनुसार यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, पौषपूर्णिमा र शिवरात्रीमा मेला लाग्ने गर्दछ । उक्त मेलामा भक्तजनहरू आफ्ना दिवङ्गत आफन्तका आत्माको मुक्तिका लागि रातभरि बत्ती बाली जाग्राम बस्ने गर्दछन् ।

महादेव स्थानको गुफाभित्र माथि र तल पहाडमा जोडिएको चेप्टो आकारको लामो लाम्चो ढुङ्गा छ । त्यो ढुङ्गालाई मादल बजाएझैँ गरी बजाउँदा ठ्याक्कै मादलको आवाज सुनिन्छ । अहिलेको जस्तो विभिन्न बाजागाजाहरूको उपलब्धता नभएको परापूर्वकालमा राति जाग्राम बस्नेहरूले सोही ढुङ्गा बजाएर नाच्ने गाउँने गर्दथे भन्ने स्थानीय बुढापाकाहरूका भनाइ छ ।

यहाँ दर्शन र अवलोकन गरेर हामीले करिव एकघण्टा बितायौँ । तल पुग्दा अर्को एउटा बसमा दर्शनार्थीहरू आइपुगेका भेटिए । चौरमा बसेर हामीले घरबाटै लगेको खाना बाँडेर खायौँ र त्यहाँबाट २:३० बजे फिर्ती यात्रा सुरु गर्‍यौँ । यो बाटोमा दुवै तर्फबाट बिहान १-१ वटा लोकल बस पनि आउने र फर्कने गर्दा रहेछन् । आउँदाजस्तो कठिनाइ नबेहोरी हामी फर्किन थाल्यौँ । यसबीचमा गाडीमा समस्या देखिन थालेको चालकले बताए । बाटो ओरालो भएकोले सजिलै तल ओर्लिएर चौरीखोला पुल पार गरी काभ्रे छिर्‍यौँ । अबको बाटो उकालो थियो । उकालोमा गाडीले सबै यात्रु तान्न सकेन । दुर्इ जना बाहेक हामी छ जना ओर्लियौँ र गाडीमाथि लैजाँदै गर्नु भनेर हिँड्न थाल्यौँ । गाडी अघि बढ्यो । करिब आधाघण्टाको हिँडाइपछि झण्डै पाँच बजे गाडी भेटियो, तर थलिएको अवस्थामा ! गाडीको क्लचप्लेट पुरै बिग्रेछ । अब मिस्त्री र सामान झिकाएर मात्रै गाडी चल्न सक्थ्यो । तर, फाट्टफुट्ट घर भएको अनकन्कटार ठाउँमा यो सुबिधा कहाँ पाउनु ! साँझ पर्न थालिसक्यो । के गर्ने कसो गर्ने भनेर हामी तनावमा पर्‍यौँ ।

अलिक माथि ३-४ जना मानिस देखिए । हामीले त्यहाँ पुगी समस्या बतायौँ, सक्दो सहयोगका लागि आग्रह गर्‍यौँ । संयोगवश ती मध्ये एकजना भाइ स्थानीय चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ काभ्रेका वडाअध्यक्ष विनोद घिसिङ रहेछन् । उनले रात बस्नुपर्ने अवस्थामा सो को व्यवस्था पनि मिलाइदिने आश्वासन दिए । हामीले सकिन्छ भने अर्को गाडी खोजिदिन अनुरोध गर्‍यौँ । उनले धेरैलाई फोन गरे । अन्ततः सामान ओसार्ने एउटा बोलेरो गाडी भेटियो । स्कोर्पियोका चालकभाइले काठमाडौँबाट अर्को गाडी र मिस्त्री मगाउँदैछु पर्खेर त्यसमा जानुस् न भन्दैथिए, तर परिस्थितिलाई दृष्टिगत गरी काठमाडौँबाट आउने गाडीको प्रतीक्षा गर्न उचित ठानेनौँ ।

हाम्रो अनुरोधमा वडाध्यक्ष विनोदजीले चालकलाई राति आफ्नो घरमा खाना व्यवस्था सहित राख्ने हुनुभयो । हामीले बिग्रेको गाडीका चालकलाई कबुल गरेको पुरै भाडा र थप खाना खर्च समेत दियौँ । एकघण्टाभित्र बोलेरो गाडी आईपुग्यो । सामान ओसारपसार गर्ने गाडीमा त्रिपाल ओच्छ्याएर हिँड्न लागेका हामीलाई अलिक माथि आफ्नो घरबाट विनोदजीले गुन्द्री र चकटीहरू दिनुभयो । विनोदजीको सहयोगी र सहृदयी व्यवहारप्रति आभारी हुँदै हामी उहाँ र चालकसँग बिदा भई फर्कियौँ । अहिलेको सवारी बिहान गएजस्तो सुविधाजनक थिएन, गाडी खर्च पनि थपिएको थियो । तापनि यी सबैभन्दा घर फर्कन पाएको खुशीले अन्य सबैकुरा गौण बनाएको थियो । गाडीमा बाटोको चिसो सिरेटो ओढ्दै, यात्राका अनेकौँ अनुभव बटुल्दै राति सवा एघार बजे यात्रा पुरा गरेर हामी आ-आफ्नो घर भित्रीयौँ । भोलिपल्ट दिउँसो दुर्इ बजे स्कोर्पियो चालक चन्द्र तामाङलाई फोन गरेर सोध्दा, काठमाडौँबाट सामान लिएर मिस्त्री हिँडिसकेको र साँझसम्ममा आइपुग्ने खबर पाएको उनले बताए । यो कुरा सुनेपछि, अघिल्लो दिन अर्को गाडीमा फर्कने निर्णय गरेर ठीकै गरेछौँ भन्ने लाग्यो ।

अन्त्यमा काठमाडौँबाट नजिकै रहेको चिरपरिचित स्थान भए तापनि भौतिक पूर्वाधारको समुचित विकास हुन नसकेको तथा आवश्यक प्रवर्द्धनको कमिले गर्दा सानो शैलुङ्गले अन्य पर्यटकीय स्थानहरूले जति लोकप्रियता पाउन सकेको छैन । धार्मिक आस्थाको केन्द्र एव पर्यटनको रूपमा समेत महत्त्वपूर्ण रहेको सानो शैलुङ्ग महादेव स्थानको उचित प्रचारप्रसार हुनसके यहाँ बर्सेनी दसौँ हजार धार्मिक पर्यटकहरू भित्र्याउन सकिने देखिन्छ । जसबाट यसक्षेत्रको सर्वतोमुखि विकासमा दरिलो टेवा पुग्ने थियो ।

प्रतिक्रिया
Loading...