भ्रमणको तेश्रो तथा फ्रेडरिक्स्बर्ग काठमाडौँ भंगेनी सम्बन्धको औपचारिक घोषणा कार्यक्रमको दिन, हाम्रो लागि सबैभन्दा प्रतीक्षित क्षण पनि । हामी तीन जना अमेरिकन सुकुम्बासीहरूलाई खान बाड्ने कार्यक्रम सकेर १५ मिनेटमा मेयर शाक्य र उहाँको टिम बसेको होटलमा पुग्यौँ । मेयरलगायत सबै काठमाडौँ महानगरपालिकाका साथीहरूसँग भेटघाट भयो ।
हामीले महानगरपालिकाका साथीहरूलाई तेश्रो दिन बिहानसम्मको गतिविधीबारे छोटकरीमा शेयर गर्यौं । उहाँहरूले ती कार्यक्रममा जोडिन नपाएकोमा खल्लो मान्नु भयो र शेयर गरेकामा धन्यबाद दिनु भयो ।
डेभिडले हामीलाई अमेरिकाको मेरिल्याण्डमा बासोबास गर्दै आउनु भएका लोकप्रिय लोकगायक श्री प्रेमराजा महत साङ्गीतिक टिम सहित भंगेनी सम्बन्ध घोषणा कार्यक्रममा सहभागी हुनको लागि कार्यक्रम स्थल सिटीहलमा आइसक्नु भएको जानकारी दिनु भयो ।
यो यात्राबाट महानगरपालिकाको विकासको लागि केही ज्ञान, अनुभव तथा शिल्प ल्याउन सकियोस्, महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूले केही ज्ञान र विकासका अनुभवहरू लिएर फर्किन सकून भन्ने हामी नागरिक समाजका साथीहरूले कामना गरेका थियौँ ।
यो विषयमा मुख्यतः कार्यकारी अधिकृत यादव कोइराला र मेयरसँग कुराहरू भयो । मैले यादव कोइरालालाई ‘सर यो भ्रमण र कार्यक्रम औपचारिक मात्र नहोस् । केही न केही सिकौँ र लागू गरौँ भनेँ’ तर उनमा त्यस्तो उत्साह म देख्दिनथेँ ।
केही सिक्ने, बुझ्नेभन्दा पनि रमझम र घुमघाम प्यारो देखिन्थ्यो । उहाँहरूले भ्रमणका कार्यक्रमहरू, त्यहाँ भएका कुराहरू, फ्रेडरिक्स्बर्गले हाम्रो टिमलाई शेयर गरेका विविध विषयको बारेमा कसैले पनि प्रतिवेदन बनाएको नदेख्दा मलाई आश्चर्य लाग्यो । सायद अमेरिका घुम्न र भत्ता लिन बाहेक अन्य विषयमा चाहाना भएको मैले महसूस गर्न सकिनँ ।
दुई शहरबीचको औपचारिक कार्यक्रम भएकोले, फ्रेडरिक्स्बर्ग शहरका सडकहरू नेपाल र अमेरिकाको झण्डाले सजिएका थिए । त्यसमा पनि नेपालको तीनकुने चन्द्र र सुर्य अङ्कित झण्डाको छुट्टै आकर्षण देखिन्थ्यो । झण्डा स्क्वायरमा मात्र देखेका अमेरिकनहरूलाई शहरमा झुन्डिएको तीनकुने झण्डाले आकर्षित गर्नु स्वाभाविक थियो नै । मैले याद गरेको थिएँ बाटो हिँड्नेहरूको तीनकुने झण्डाप्रति आर्कषण र कुतुहलता थियो ।
नेपाली तीनकुने रातो चन्द्रसूर्य झण्डा अमेरिकी शहर फ्रेडरिक्स्बर्गमा फहराएको देख्दा गर्वले छाती ढुक्क फुलेको थियो । हामी १२ जना प्रतिनिधि मण्डल निर्धारित समयमा भंगेनी सम्बन्ध घोषणा कार्यक्रम स्थल सिटी हल पुग्यौँ । हामीलाई स्वागत गर्न मेयर ग्रीन ल भव्य तयारीको साथ हुनुहुन्थ्यो ।
उहाँले मेयर शाक्यलाई नमस्कारको अभिवादनले स्वागत गर्नु भयो । दुवै जनाले नमस्कार आदान प्रदान पश्चात् हात मिलाएर एक अर्कोप्रति सम्मान देखाउनु भयो । मेयर ग्रिन लसँगै उनको सहयोगी सिटी काउन्सलर म्याट केली र अन्य कर्मचारीहरू पनि सँगै हुनुहुन्थ्यो । मेयर ग्रिन लले हामी सबैलाई नमस्कार गर्दै हात मिलाएर स्वागत गर्नु भयो ।
मेयर ग्रिन लले हामीलाई सिटी हलमा रहेको उनको अफिसको सबै विभाग, बैठक हल, मिटिङ्ग हलको अवलोकन गराउनु भयो र अन्तमा हामीहरूलाई मिटिङ्गहलमा आराम गराउँदै औपचारिक कार्यक्रमबारे व्याख्या गर्नु भयो ।
यो कार्यक्रम दुई शहरबीचको संयुक्त कार्यक्रम थियो । दुवै मेयरले सहमतिमा कार्यक्रम तय गर्नु पर्ने भएर पनि कार्यक्रम शुरु हुनु पूर्व मेयर ग्रिन लले औपचारिक कार्यक्रमबारे छलफल गर्नु भएको थियो । कार्यक्रमबारे जानकारी दिँदै मेयर ग्रिन लले मेयर शाक्यलाई राय सुझावको लागि आग्रह गर्नु भयो । मेयर शाक्यको स्वीकृति पश्चात् मेयर ग्रिन ल र उनको टिमले हामीलाई औपचारिक कार्यक्रम हुने सभाहलमा लिएर जानु भयो ।
हामीहरू हलमा प्रवेश गर्दा फ्रेडरिक्स्बर्गमा बसोबास गरिरहेका अमेरिकन नेपालीहरू सहित फ्रेडरिक्स्बर्ग वासीहरूले तालीको गडगडाहकबीच स्वागत गर्नु भयो । ताली सहितको त्यो न्यानो स्वागतले हाम्रो नाक सगरमाथाझैँ अग्लिएको थियो ।
मेयर ग्रिन लले एक हप्ता अगाडिदेखि नै सिटीहलमा काठमाडौँ र फ्रेडरिक्स्बर्गबीच भंगेनी सम्बन्ध घोषणा कार्यक्रम हुने जानकारी विभिन्न माध्यमहरूबाट फ्रेडरिक्स्बर्गका जनतालाई दिनु भएको रहेछ र कार्यक्रममा सहभागी हुन निमन्त्रणा समेत गर्नु भएको रहेछ ।
नेपाली प्रतिनिधि मण्डललाई स्वागतको लागि फ्रेडरिक्स्बर्ग काठमाडौँ सिस्टर सिटी समिति, फ्रेडरिक्स्बर्गका अध्यक्ष तथा फ्रेडरिक्स्बर्गका प्रतिष्ठित स्थानीय व्यापारी पूर्ण श्रेष्ठ, सभापति भिम दाहाल, सदस्यहरू लेखनाथ अधिकारीसाथै अमेरिकाको मेरिल्याण्डमा बासोबास गर्दै आउनु भएका लोकप्रिय लोकगायक श्री प्रेमराजा महतसमेत आतुर भएर बस्नु भएका रहेछनन् ।
हलभरि नेपालीसहित फ्रेडरिक्स्बर्गका नागरिकहरू शान्त र सभ्य भावमा कार्यक्रमको प्रतीक्षामा देखिन्थे । हामीलाई हलको दर्शक दीर्घाको अघिल्लो सिटमा राखिएको थियो । मञ्चमा दुर्इ मेयर र उनका सहयोगीहरूको लागि बस्ने व्यवस्था थियो भने मेयरसँगै आ–आफ्नो देशको झण्डा राखिएको थियो साथै सभा हललाई बत्ती, फूलहरूले भव्य सजाइएको थियो ।
बहु प्रतीक्षित भंगेनी सम्बन्ध घोषणा कार्यक्रमको सञ्चालन फ्रेडरिक्स्बर्ग काठमाडौँ भंगेनी सम्बन्ध समिति, फ्रेडरिक्स्बर्गको सभापति भिम दाहालले गर्नु भएको थियो । भिम दाहालले दुवै मेयरहरूलाई सहृदयी स्वागत गर्दै कार्यक्रमको अध्यक्षता गराउनु भयो र कार्यक्रम सञ्चालनको लागि स्वीकृति लिनु भयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका दुवै मेयरको स्वीकृतिमा सभापति भिम दाहाले कार्यक्रम शुरु गर्नुभयो ।
कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गानबाट गर्न भिम दाहालले लोकप्रिय लोक गायक प्रेमराजा महत र उहाँको समूहलाई हार्दिक अनुरोध गर्नु भयो । सिटीहलमा एकीकृत सबै राष्ट्रिय गानसँगै उभिनु भयो ।
प्रेमराजा महतको गायनमा स्वर मिसाई रहेका सबै नेपालीहरूमा त्यो क्षण अत्यन्तै गौरवान्वित थियो । अझ सबभन्दा बढी गौरवको क्षण ती नेपालीहरूको लागि थियो जो फ्रेडरिक्स्बर्गलाई आफ्नो कर्मथलो बनाएर विभिन्न पेशा तथा सेवामा रहनु भएको थियो ।
राष्ट्रिय गानसँगै मेरो पनि मुटु उफ्रेको थियो । मन अत्यन्तै प्रफुल्लित र आनन्दित भएको थियो । देशको माया र महत्त्व देशमा रहँदाभन्दा देशबाहिर रहँदा अति नै हुने रहेछ । नेपाली राष्ट्रिय गानपछि अमेरिकाको राष्ट्रिय गान भयो । सबै फ्रेडरिक्स्बर्गका बासिन्दाहरूले अमेरिकाको राष्ट्रिय गानमा साथ दिएका थिए ।
उद्घोषक भिम दाहालले राष्ट्रिय गान पश्चात् फ्रेडरिक्स्बर्ग शहरका काउन्सील सदस्य म्याट केलीलाई भंगेनी शहर धोषणापत्र वाचन गर्न अनुरोध गर्नु भयो । म्याट केलीले भंगेनी शहर धोषणापत्र वाचन गर्नु भयो । सबै उपस्थित जनसमूहले वाचन पश्चात् तालीको गडगडाहटबीच स्वागत भयो ।
दुवै मेयरले उक्त भंगेनी शहर धोषणापत्रमा सही गरी एक अर्कोलाई साटासाट गर्दा समेत तालीको गडगडाहट सकिएको थिएन । भंगेनी शहर धोषणापत्र दुवै मेयरबीच साटासाट पश्चात्, मेयर ग्रिनलले आफ्नो छोटो मन्तव्य दिँदै सिस्टर सिटीको यस सम्बन्धलार्इ, दुवै शहरले एकअर्को शहरबीच संस्कृति, विचार, अनुभव, सिप, कला तथा विकासका मोडलहरू आदान प्रदान गर्न कोसे ढुङा सावित हुने विचार राख्नु भयो ।
लगत्तै मेयर विध्या सुन्दर शाक्यले पनि यही कुरामा सहमत गर्दै यस भ्रमणबाट लिएको अनुभवलाई काठमाडौँ महानगरपालिकाको विकासमा लागू गर्न कोशिश गर्ने विचार राख्नु भयो । आफ्नो छोटो मन्तव्य दिँदै शहर विकासका नमूना विकास मोडेलहरू भ्रमण गरी त्यो विकासको मोडेललाई काठमाडौँको विकासमा प्रयोग गर्ने समेत बताउनु भएको थियो ।
दुवै मेयरको छोटो तर गहन मन्तव्य पश्चात् गतवर्ष फ्रेडरिक्स्बर्गका मेयर ग्रिन ल नेपाल आउँदा भएको गतिविधिसहित काठमाडौँको संस्कृति झल्किने छोटो भिडियो काठमाडौँ महानगरपालिकाले देखाएको थियो ।
नेपाली समुदायका फ्रेडरिक्स्बर्गमा बस्ने भिम दाहालले उपस्थित सम्पूर्ण फ्रेडरिक्स्बर्गवासी र नेपाली प्रतिनिधि मण्डललाई धन्यबाद मन्तव्य दिनु भयो र अन्तमा नेपाली र अमेरिकन गीतसहितको छोटो सास्ंकृतिक कार्यक्रम सञ्चालनको लागि मञ्च लोकगायक प्रेमराजा महतलाई हस्तान्तरण गर्नु भयो ।
संस्कृति कार्यक्रम शुरु पूर्व भंगेनी शहर धोषणाको औपचारिक कार्यक्रम मेयर ग्रिन ल र शाक्य दुवैले संयुक्तमा अन्त्य गर्नु भयो र नेपाली गीत सङ्गीतसँगै दिउसोको खानाको आनन्द दिन, सबै सहभागीहरूलाई विशेष अनुरोध गर्नु भयो ।
क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।