राति साढे नौ बजेको थियो घर आइपुग्दा ! शीतल सर काँडाघारी चोकमा ओर्लिनुभयो, त्योभन्दा अलिकति अगाडि नै डिल्लीराज सर सनराइज चोकमा ओर्लिनुभएको थियो । शीतल सरले ओर्लिँदा–ओर्लिँदै भन्नुभयो “ब्यानर पनि फुकाएर लिएर जानोस् है, उतै राख्नुहोला !” म फोर्स पार्कमा बसबाट ओर्लिएँ, सँगै सहचालक पनि झर्यो र मलाई ब्यानर फुकाउन सघायो, एक छेउको सुतरी गाँठो परेको रहेछ फुकेन, झ्वाट्टै तानिदियो, चुँडियो च्वाट्टै, कस्तो बुच्चो देखियो चार कुनामध्येको एउटा कुनो ! माया त लाग्यो नि तर हतार गर्यो केटाले, थोरै खोटी देखियो । पट्याएर बोकेँ, उनीहरू दुवैलाई बाई बाई गरेँ, अनि उकालो लागेँ । पाँच मिनेटमा घर आइपुगेर ब्यानर बेरेर जतनले दराजमाथि तेर्सो पारेर राखेँ, दिनहुँ देखिने गरेर ताकि मैले यो दिनलाई निकै दिनसम्म बिर्सिनु नपरोस् ! यो पटकको पदयात्रालाई अरू पदयात्राहरूलाई जत्तिको मात्रै महत्त्व दिएर भएको छैन, अलिकति कुरा पनि बिर्सिन मिलेको छैन, किनभने “यो एकचालिसौं पदयात्राको वर्णन लेख्ने जिम्मा खोलाघरेको है !” भनेर निर्देशक शीतल गिरीले दिउँसो दामनमा भन्नुभएको थियो, त्यसैले । “बिहान थानकोट, नागढुङ्गातिरै यो जिम्मा पाएको भए ?” आफ्नै मनले सोच्यो । हरेक ठाउँका नाम हेरिन्थ्यो ,सोधिन्थ्यो । परिवेशको टिपोट गर्दै गरिन्थ्यो, आफ्नै तालमा मस्तराम भएर यात्राको आनन्दतिर मात्रै ध्यान गयो । फर्केर आउँदा राति भएको थियो, केही देख्न पाएको भए पो । जे होस् हिङ् नभए पनि हिङ् बाँधेको टालो कसो नहोला भन्ने सम्झेर लेख्न थालेँ ।
अब शुरु गरेँ है, माथि कोट्याएको कुरो भन्न ! कोरोनाको असर पूर्वको यो पछिल्लो अभियान । यसपछिका महिना यात्रा–शून्य भएका छन्, अब पनि कहिले हो थाहा छैन । कोरोनाको सङ्क्रमण बढ्दै नै गएको छ । म २०७६ साल चैत्र १ गते शनिबारको पदयात्राको कुरो लेख्तैछु । “बिहान बस लिएर आउनुहोला, साढे ६ बजे !” यो शीतल सरको सल्लाहअनुसार म घरबाट ६.२५ मा निस्किएँ । भुइँमा उज्यालो पुरै ता खसिसकेको पनि थिएन पो ! पाँचै मिनेट लाग्छ कस्सिएर हिँड्दा हाम्रा घरबाट फोर्सपार्क पुग्न । साढे छ बजे यहीँ भेट्ने निधो गरेको थियो बसवालासँग तीन दिनअघि नै । कुरो छुट्यो अलिकति ।बस बन्दोबस्त गर्न पनि शीतल सरले अस्ति मलाई नै जिम्मा दिनुभएको थियो । फोर्सपार्कबाट माछापोखरीसम्म जाने आउने सिटीबसमध्ये एउटासँग बल्लबल्ल रिजर्भ मिलाएको थियो १४ हजारमा । १८ हजार पो भन्थ्यो त शुरुमा ता ! दामनसम्म जाने र आउने । मिलेर बस्न सके ३० जनासम्म अटाइन्छ भनेको थियो, खास सिट चैँ बाईसवटा मात्रै थिए । अनि, आज बाटो लाग्नुअघि मैले घरबाटै बसवालाललाई फोन गरेँ । “म फोर्सपार्कमै छु” उसले भन्यो । हतारिँदै गएँ, आफूले पो ढिलो गरेँछु भनेर । उस्स्ः…..केको हुन्थ्यो फोर्सपार्कमा ! पार्किङ भएर बसेका अनेक बस हेरेँ, त्यो नं भनेर अरूसँग पनि सोधेँ । अँ हँ, आफूले बन्दोबस्त गरेको नं वाला बस ता कतै छैन त ! फेरि फोन गरेँ । पश्चिमपटि छु भन्यो । पश्चिमी डाँडातिर लागेँ । एउटा उताबाट आउँदै गरेको ठुलो वाहनको हेडलाइट मेरा आँखैमा पर्यो, नजिक आउँदा ता त्यही पो रहेछ आफूले बन्दोबस्त गरेको गाडी ता ! कति सिपालु हुन् यिनीहरू ढाँट्न ? अनि, लाग्यौँ बाटो । मैले बसमा चढ्दाचढ्दै “मङ्गलम् भगवान् विष्णुः मङ्गलम् गरुडध्वजः मङ्गलम् पुण्डरीकाक्षः मङ्गलाय तनो हरिः” भनेर आजको हाम्रो अभियानका लागि हामी सबैको मङ्गलकामना गरेँ ।
काँडाघारी सनसिटी छेउबाट शीतल सरका लागि गाडी रोकाएँ, अलिक पर सनराइज चोकमा डिल्लीराज सर पर्खिरहनुभएको थियो, चढ्नुभयो । को कहाँ कति बजे आइपुग्ने भन्ने सूचना पहिले नै भैसकेकाले हामी निर्धारित समयमा कोटेश्वर पनि पुग्यौँ । कोटेश्वरमा हाम्रो बस पर्खिएर निकैजना बस्नुभएको थियो, म को को कहाँ कहाँ चढ्नुभयो भनेर पुरै जान्दिनँ होला किनभने म पनि यो अभियानका लागि नयाँ नयाँ प्रवेशी हूँ र सबै पदयात्रीसँग परिचित भै नसकेको अवस्था छ मेरो पनि । यो समेत म पाँचौं पल्ट मात्रै सहभागी भएको छु पदयात्रामा । बिहानै भएकाले सडकमा भीड छैन बरु जाडो पो छ । काठमाण्डुमा जाडो हत्पती निख्रिँदैन रहेछ । कोटेश्वरमा माधवलाल श्रेष्ठ, सुमना थापा र सुनिता थापा, विमल अर्याल, वसन्त रिजाल, घनश्याम प्रसाईं, पर्शुराम पराशर, शारदा पराजुली, जयन्ता पोख्रेल, ताशिखेलमा प्रवीण पुमा राई र लीलाराज दाहाल, बल्खुमा ध्रुव घिमिरे र डिल्लीरमण सुवेदी, कलङ्कीमा डा.धनप्रसाद सुवेदी, डा.यादेवी ढकाल, गीता रेग्मी, प्रभा बराल, एन बी जनकपुरी, गोविन्द नेपाल, सरस्वती अर्याल यति चढ्नुभयो फटाफट । यसअघि ताशिखेलबाट अघि बढेपछि धोबीघाटमा ७.५ बजे मेघा अस्पतालका अलिकति अगाडि मैले नै रोकाएको थिएँ बस । यहाँ शान्ति सापकोटा र मन्दिरा मधुश्रीलाई चढाउनु थियो । निश्चित समयभन्दा ३ मिनेट ढिलो हुँदा उहाँहरू दुवै आइपुग्नुभयो, अब हाम्रो अर्को अडान कलङ्कीमा थियो, हामी ७.१५ मा पुगेका थियौं त्यहाँ एन बी जनकपुरी लगायत सात जना मित्रहरू तयार भएर हामीलाई पर्खिरहनुभएको थियो, चढ्नुभयो, माथि लेखिसकेँ यो कुरो ।
ऋचा र शशि थापा पण्डितलाई निकैबेर पर्खिनुपर्यो । ७.५५ मा उहाँहरू पनि हतारिँदै आइपुग्नु भयो । यति हुँदा हामी जम्मा २७ जना भयौँ । अब हामी सबै चढिसक्यौँ । बसले पनि गति लियो । १४ हजारको बन्दोबस्त मिलाउन खटिहाल्नुभयो घनश्याम प्रसाईं । २७ जनालाई ५३० रुपैयाँको दरले उठाउने सहमति भएअनुसार घनश्याम सरले सङ्कलन गर्नुभयो सबैबाट । परिआएका काममा छिटो अघि सर्नुहुन्छ घनश्याम सर उपत्यकाभित्रै ता उल्लेख्य कुरा के थियो र ? कलङ्कीबाट ढुङ्गेअड्डा, नैकाप, सतुङ्गल, गुर्जुधारा, थानकोट हुँदै हाम्रो बस नागढुङ्गाबाट नागबेली मार्ग पछ्याउँदै ओरालो लाग्यो । नेपालको सबैभन्दा पुरानो राजमार्ग त्रिभुवन राजपथको दायाँबायाँको भिरालो सतह, उत्तरतिर पारि देखिने पहाडका रमाइला गाउँहरू, तल .. निकै तल एउटा खोलो त्रिशूलीलाई भेट्न हतारिएको..हामी थाहानगरको दामनलाई हेर्न हतारिएजस्तै ! झ्याप्ले खोला, खेस्टे खोला, सिस्ने खोला खै अरू केके नाम गरेका सानासाना खोलाहरूका नाम पनि पढ्दै गयौँ हामी । यो सिस्ने खोलादेखि थानकोटसम्मको सुरुङमार्ग बन्न लागेको छ रे । अहिले बिहान र बेलुका हुने सवारीजामलाई सहज बनाउन यसो गर्न लागिएको भनिएको छ । पुग्यो हाम्रो बस नौबिसेमा । “नौबिसे“ अर्थात् ? उहिले मोटरबाटो नखुल्दा पैदल, भारी ल्याउँदा लैजाँदा काठमाण्डुदेखि यहाँसम्म नौपल्ट बिसाउँदा आइपुगिन्थ्यो रे, यो ठाउँ नवौं बिसाउनीमा पर्दो रहेछ र बोल्दै, भन्दै लाँदा नौबिसे भएछ । यहाँबाट दाहिने लाग्छ ठुलो बाटो । त्रिशूली करिडोर भने पनि भयो यसलाई, नाम चैँ पृथ्वी राजमार्ग । राजधानीबाट पोखरा जान, मुङ्ग्लिन हुँदै तराई जान, तराई हुँदै पूर्व वा पश्चिम जाने यो मुख्य राजमार्ग हो । दाहिने लाग्यो पृथ्वी राजमार्ग छातीमा अनेक सानाठुला वाहन बोकेर । हामी भने देब्रेतिर लाग्यौँ सानो बाटो त्रिभुवन राजपथबाट मनभरि दामन ताकेर ।
हाम्रो अनुमान थियो दस बजे दामन पुगिन्छ भन्ने, तर के पुगिन्थ्यो ?
बसवालाको आफ्नै बस रहेछ । बिस्तारै कुदाउने । सहजले हिँड्ने । थापा ट्राभल्सको बा.३ ख ७०६१ नं को बस सबै कुरामा शान्त । सावधानी, मितव्ययिता, मिजास सबै कुरामा अनुकूल स्टाफ पनि । दुई जना त थिए !
म र पर्शुराम पराशर दाहिनेपटिको दोस्रो सिटमा, पहिलोमा दुई तालव्य शबाट नाम उठेका शारदा र शीतल गिरी, उहाँकै छेउको भुइँमा टायरमाथि जनकपुरी सर, अगाडि बनेटमा पनि चार जना जति । माधवलाल सर र प्रवीण पुमा केविनमा, गीता रेग्मी र शान्ति सापकोटा ढोकाकै छेउको सिटमा । यो सिट हामीले उहाँहरूलाई रिजर्भ राखिदियौं, अरूलाई बस्न खोज्दा पनि “त्यो सिट शान्ति र गीताजीलाई राखिदिएको” भनेर रोकेका थियौं । यसको कारण छ— गत मंसीर ७ गते सिन्धुलीगढीको पदयात्रामा जाँदा उल्टी गर्दागर्दा निकै शिथिल बन्नुभएको थियो रे एकजना, अनि यसपालि सावधानी गर्नै पर्यो नि !
म ता सो यात्रामा इलामबाट सोझै आएर उतै सहभागी भएको थिएँ । त्यो हविगत सम्झिएर यसपालि शीतल सरको सूझ बेलामाथि काम लाग्यो । अध्यक्ष भएपछि विवेक पनि चाहियो नि त ! हामी अरू ता उहाँकै मातहतका न हौं ! र यसपालिको यात्राभरि हामी सबै सकुशल रह्यौं, कसैले उल्टी गर्नु परेको देखिएन, सुल्टी.. गर्नु परेको थियो कि त्यो भने सम्बन्धितलाई नै थाहा होला !
अँ त हाम्रो बस अनेक घुमाउराहरू छिचोल्दै अघि बढिरह्यो । बसभित्र हामी विभिन्न कित्तामा विभिन्न चर्चा गर्दै समय धपाउँदै थियौं, समयले हामीलाई पो धपाउँदै थियो भने पनि हुन्छ । डिल्लीरमण सुवेदी पत्रकार । घरी बस्ने घरी उठेर कसैका छेउमा गएर बोली अँठ्याउने भाँडो थाप्नुहुन्थ्यो । जयन्ता बहिनीले उठेर गीत गाउन थाल्नुभएको थियो सुरिलो आवाजमा, मन्दिराले सघाउनुभयो क्यारे अलिअलि, अरूबाट खासै साथ पाउनुभएन र एकछिनमा यो उत्साह आफैँ सेलायो । यता जनकपुरी सर पनि घरीघरी कुनै कुनै गीत उरालिहाल्नु हुन्थ्यो । कसैले चक्लेट, कसैले सुन्तला, कसैले भुटेका मकै भट्मास ल्याएको थियो, वितरण पनि भैरह्यो । हामीले कुराले मुख चलाइरह्यौ, दाँतले के के चपाइरह्यौँ । भित्रको वातावरण यस्तै थियो बाहिर पनि कम रमाइलो थिएन ।
सरररर बस गुडीरहेको छ । राति पानी परेकाले कताकता बादल देखिए पनि उत्तरतिरका हिमाल निकैवटा खुलेका छन्, छ्याङ्ङै देखिन्छ मनमोहक दृश्य । हामी पूर्व गइरहेका छौँ । घरीघरी सानासाना खोलाहरू पनि आउँदै हुन्छन् । सुँगुरे खोला नाघेर अलिक पर गएपछि हामी अर्चले भन्ने ठाउँमा पुग्यौँ, थाक्रे गा. पा.को वडा नं ४ लेखेको थियो एउटा होटलको बोर्डमा । कताकता लेखेको प्रष्टैसँग पढ्न पाए ता जानिने हो, नत्र दौडिएको गाडीबाट त्यति सम्भव नहुने ।
सेप्याङ खोला, सिर्दो खोला यस्तै अरू केके नामका अनेक खोला खोल्सा आए, छोडिए । यदाकदा अरू वाहन पनि भेटिन्थे तर साह्रै पातला, बढी संख्यामा मोटरसाइकल चलेको पाइयो ।
भिरालो धरातललाई काटेर बनाएको बाटो । दुवैतिर घरीघरी सानातिना बस्ती पनि आउँथे, होटलहरू पनि ठाउँठाउँमै । दुवैतिर जङ्गल चैँ निकै भेटियो । वनस्पतिहरूमा चिलाउने, मौवा, बर्रो, उत्तिस, लप्सी, ढाल्ने कटुस, मलातो, जुरे काफल, भोगटे, सिउँडी, सिमल, चुत्रो यस्तै देखिन्थे आफूले चिनेका नाम । नचिनेका वनस्पति ता कति हो कति । बुट्यान भनेकामा तितेपाती, वनमारा, तिते पनि देखियो । पानी अमला ता कति हो कति । भित्तैभरि,जङ्गलैभरि !
“ड्राइभर भाइ ! यसो कतातिर एकछिन रोक्नुर्ला है !”
कसैले पछाडिबाट उच्च स्वरमा बोलेको सुनियो ।
“अँ, बिहानको चिया र अघिको सुन्तलाको झगडा खपिनसक्ने जस्तो छ है !” अरू कसैले थपेको सुनियो । लघुशङ्काका लागि भनेर बुझियो । कुरो सर्दैसर्दै ड्राइभर भाइसम्म पुग्यो । त्यसको ५ मिनेटजति पछि एक ठाउँमा बस रोकियो भित्तापटिको अलिक फराक ठाउँमा । हामी सबै ओर्लियौं । “एकातिर महिलाहरू जाने, अर्कातिर पुरुष जाने है” भन्दै एकजना अघि लागे, हामी पुरुषजति उनका पछि लाग्यौँ । पाँच मिनेट भनेकामा पन्ध्र मिनेटभन्दा धेर अलमल भयो । भित्तामा लम्किएर कसैकसैले पानीअमला पनि तान्नुभयो, बाँडेर खाएको पनि देखियो । पानीअमला नचिन्ने पनि निकैजना हुनुहुँदो हो, नौलै लागेछ । आफूलाई ता चासो भएन । उहिले हामी सानोछँदा मौवा, पाँचथरमा स्कूलको उत्तरपटिको पाखैभरि भएको, हामीले उखेलेर खाएको, अरू पनि अनेक ठाउँमा पानीअमला छाप्छाप्ती भेटेको “घरै पिँडालु, वनै पिँडालु, ससुराल जाँदा बाह्र हातको पिँडालु” भनेजस्तो भोगिसकेको मलाई यो ठाउँको पानीअमलाले खासै तानेन । सबैका मोवाइल, क्यामेरा जीवन्त बनेर फोटो खिच्न थालेछन् । कोही हिमाललाई पृष्ठमा पारेर, कोही समूहमा कोही एक्लै, कोही दोक्लै । ठुलो क्यामेरा बोक्ने र घरी कता घरी कता तेर्स्याइरहने डिल्लीरमणजी अघि कतिखेरदेखि सक्रिय रहेछन् । बसतिर आउने क्रममा को कसका छेउछाउमा परेको हुन्छ कसले हेक्का राखेको हुन्छ र ? म कतिखेर लड्न लड्न खोजेको जस्तो बाङ्गिएको रहेछु, नजिकै डा.यादेवी ढकाल हुनुहुँदो रहेछ, पत्रकारका क्यामेराले कुन सड्को हामीलाई र अरूलाई पनि कैद गरिसकेछ । कसैलाई उस बेला थाहा भएन । भोलिपल्ट पो, ..होइन पर्सिपल्ट रैछ एन बी जनकपुरीको फेशबुक वालमा देखियो (धर्खरिएर वा चिप्लिएर लड्नै आँटेको म, मलाई भरदिन सक्नेगरीको दूरीमा डा.यादेवी ढकाल रहनुभएको र “…लडेँ लडेँ लडेँ म त लौ न समाऊ …” लेखेको फिल्मी छायांकनकै रङ्ग ढंगमा फोटो पोष्ट गरेको देख्ता पो म ता तीन छक्क परेँ । सबै सहयात्रीहरूलाई यसले पछिबाट भए पनि मनोरञ्जन दियो होला भन्ने लाग्यो । कति चलाख हुनुहुँदो रहेछ हाम्रा साथीहरू ? बसको अगाडिपट्टि आयौं सबैजना । सामूहिक फोटो खिच्ने प्रस्ताव अनुसार । “स्रष्टा पदयात्रा” लेखेको ब्यानर देखिने गरेर फोटो लिइसकेपछि पुनः यात्रा अघि बढ्यो ।
हाप्से चौरदेखि अघि बढेपछि भने गाउँबस्तीका दृश्यहरू आउन थाले है ! खेतीपाती देखिन थाल्यो । तर्कारी बाली धेरैजसो । मलातो, उत्तिस यता पनि देखियो । सिस्नो भित्तैभरि कतैकतै ता । डाले घाँसमा दुधिलो, पैंयुँ, खनिउँ, निभारो पनि कताकता देखिन्थ्यो । “नौखर्क” पुगियो । यो थाहा न.पा. भित्रै पर्दोरहेछ । पर परसम्म गाउँ देखियो । अब भने गन्तव्यको नजिक पुगिएछ भन्ने अनुमान भयो । दामन पनि थाहा नगरमै पर्छ नि त ! बस गतिमान छ, हामी पनि बसभित्र मतिवान् छौं । कसका ज्ञानमा के छ ? कसका घतमा केले प्रभाव पारेको छ ? झुन्ड झुण्डमा चर्चा छ, कोही निष्क्रिय छैन । परशुराम सर के के टिपोट पनि गर्दै हुनुहुन्छ, मेरै छेउमा दाहिनेपटि बसेर । “तिष्टुङ ,२०३० मिटर“ लेखेको सडक विभागको ठुलो कोसेपाटी देखियो । हाम्रो उत्साह जुर्मुरायो । लु, पुग्न लागिएछ है ! अब पालुङ् पनि आइहाल्छ । मैले सम्झिएँ मनमनै । उपत्यकाजस्तै डोल परेको ठाउँ पर परसम्म देखियो । आलुबखडा, आलुचा, पलम, नास्पाती भरिभण्डै फुलेको देखिने गावैँभरि । आलुबखडा रातोमा बैजनी मिसिएको फुलेको, अरू सबैको सेताम्मे फूल । गाउँभरि बुट्टा भरेजस्तो सेता थेग्लैथेग्ला ।
२०३१ सालमा पहिलोपल्ट म यो बाटो भएर राजधानी आएको थिएँ । उस बेला अरू बाटाघाटा बनिएका थिएनन् । पूर्वबाट राजधानी पस्ने यो एउटा मात्रै बाटो थियो । महेन्द्र राजमार्ग पनि खण्ड खण्डमा निर्माण हुँदै गरेकाले सबै जोडिएका थिएनन् । मुङग्लिङ् र चितवन जोडिएपछि, हेटौडा र चितवन खण्ड पूरा भएपछि मात्रै पृथ्वी राजमार्गबाट नियमित रूपमा सवारी चल्न थालेका हुन् । ठ्याक्कै कहिलेदेखि भन्ने ता मलाई थाहा छैन तर पनि २०३५ र ३६ तिर मुङग्लिङ् नारायघाट जोडिएको होला पक्की सडकले । अनि त पूर्व पश्चिम सबैतिरबाट राजधानी आउन धेरै सरल भएको हो नि ! यो त्रिभुवन राजपथबाट म उसबेला राजधानीबाट फर्किंदाको केही सम्झनाको अझै झझल्को छ । वीरगञ्ज जाने गाडीबाट पथलैयासम्म र त्यहाँबाट अर्को ढल्केबरसम्मको, अनि इटहरीसम्मको, यसरी टुक्रे यात्रा गर्नुपरेको थियो । हो, त्यसैबेला मैले यी तिष्टुङ् र पालुङ्लाई एक नजर हेर्न पाएको थिएँ । त्यसपछि पनि कृष्णभीरमा पहिरोले थुनेका बेला एक खेप र कुनै अर्कोपल्ट राजधानीबाट फर्किंदा एक खेप हिँडेको छु । अहिले मलाई उस बेला देखेका रमणीय दृश्यहरूलाई नवीकरण गर्ने हतार छ, उत्कण्ठित छु । के के तर्कनामा रुँमलिंदै बाटो ता कटिसकेछ पो ! आयो है आयो पालुङ पनि ! बसभित्र छौं । उही सडक छेउछाउमा ठुला ठुला अक्षरमा लेखेका पाटी देखियो भने त्यो पढेर जानिने ता हो नि ! नत्र कसैले सहजीकरण गर्नुपर्यो, अन्यथा एकसरो बाटो मात्रै हिँड्दा कति पो जानिन्छ र ? “भाग्गेजोग्गे भए खाइन्छ चिउरा” भन्ने उखान छ नि ! हामी पनि भाग्यमानी परेछौं, सहजकर्ता भेट्टाइहाल्यौं । पालुङ प्रवेश गरेर थाना नगर बजार, ओखर बजार, स्कुल चोक, खानी गाउँ आदि छिचोल्दै अगाडि बढेपछि शिखरकोटमा हाम्रा लागि सहजकर्ता भेटिनुभयो । एक जना, दुईजना मात्रै हो र ? पाँचजना एक से एक कुशल, स्थानीय साथीहरू सडकको मास्तिरबाट आएर हाम्रो बस रोकाउनुभयो र चढ्नुभयो । एकजना ता मेरा पूर्वपरिचित मित्र पो हुनुहुँदो रहेछ “बिर्खे अञ्जान” उहाँलाई देख्नेबित्तिकै खुशीले झण्डै उफ्रिएँ पो म ता ! पालुङ साहित्य परिषद्का अध्यक्ष— बिर्खे अञ्जान । उहाँलाई भेट्ता मैले हामी चितवनमा पल्लवको कार्यक्रममा भेटघाट र चिनजान भएको सम्झिएँ । दाह्री पालिरहनेले एक खेप दाह्री काट्नुभएछ, साबिकको मान्छे नै होइनजस्तै देखिनुभयो, दाह्री भएकै चाहियो भनिदिएको थिएँ मैले ता । धेरै सक्रिय मान्छे उहाँ । साहित्य र समाजसेवामा समर्पित व्यक्ति । मैले परबाट गरेको थोरै मूल्याङ्कनले के थाम्थ्यो, उहाँ अझै धेरै हुनुहुँदो रहेछ । उपाध्यक्ष हुनुहुँदो रहेछ “नवराज बर्तौला” उहाँसँग नयाँ चिनजान भयो । सचिव भद्रध्वज गौतम । फेसबुकमा “गौतम भद्रध्वज” लेखेको पाएँ । पत्रकार, कवि— राम बर्तौला, सहृदयी, सहयोगी व्यक्ति । लोकगायक, कवि— शालिकराम बर्तौला, अविरल बोलेर थाक्नै नजान्ने रसिक व्यक्ति । यति पाँच जनाको साथ पायौं हामीले शिखरकोटदेखि दामनसम्म । दामनमा एकजना स्थानीय अभिभावक “सधन कार्की” ले पनि हामीलाई साथ दिनुभयो ।
बाह्र बजे नाघिसकेको थियो दामन पुग्दाखेरि ता । दस बजे आइपुग्ने सपना..चकना चकना ! २३२२ मिटर उचाइमा रहेको दामन । अझै उचाइमा रहेको सिमभञ्ज्याङ पूर्वदक्षिणमा उभिएर हामीलाई लोभ्याइरहेको थियो तर समय खोइ र हामीसँग ? त्रिभुवन राजपथको सर्वाधिक उचाइको गर्व बोकेको सिमभञ्ज्याङले हाम्रो स्वागत गर्न पाएन । १० बजे नै आइपुगेका भए ६ किलोमिटर माथि रहेको सिम भञ्ज्याङ् हेर्न पक्कै पनि गइन्थ्यो नि !
त्यहाँबाट तराई छ्याङ्ङै देखिन्छ । लामीडाँडाबाट नागबेली भएर घुम्दै घुम्दै आएको सडक, वोल्लो डाँडाबाट देखिने भीमफेदी, हेटौडा, सानी राप्ती र झण्डै चितवनसम्मै ठम्याउन सकिने दृश्य, चारकोसे झाडी आदि दृश्य हेर्नबाट हामी वञ्चित भयौं । अलिक छिटो बस हाँक्न लगाएको भए हुन्थ्यो होला ! बिहान कलङ्कीमा ४० मि.मान्छे पर्खिनु परेर पनि हो । सबै कमजोरी हाम्रा आफ्नै हुन् “किन रोईस् मङ्गले आफ्नै ढङ्गले !” दामनमा अरू कार्यक्रमभन्दा पहिले भोजन गर्ने ठहर भयो र मुख्य चोकको उत्तरपटिको खाली ठाउँमा भेला भयौं । कोही उभिएरै कोही बसेर भोजनमा जुट्यौं । स्रष्टा पदयात्राको आफ्नै अनुशासन छ, भोजन लिएरै जाने । निर्देशकले भनेअनुसार जसजसले जेजे ल्याएको निकालेर बाँड्न थाल्यौं । मलाई परौठा ल्याउने निर्देशन थियो । रोटी, पुरी, दाल, पुलाउ, तरकारी खालखालका, पापड, दही चिउरा, मासु, अण्डा आदि । कतिपय थाल, कचौरा, गिलास, प्लेट, चम्चा आफैंले लिएर गएका थियौं, डिस्पोजेबलको पनि व्यवस्था छँदैथियो । खाइसकेर सरसफाइ पनि भयो, फोहोरलाई टुंगो लगाइयो । हाम्रो टोलीले आफुद्वारा बनेको फोहोर आफैं व्यवस्थापन गर्ने अनुशासन राम्ररी पालना गर्छ । हामीले सहभोजन गर्यौं । सरसफाइ पनि गर्यौं । फोटो खिच्न ता हरेकको चासोभित्रै पर्ने कुरा भयो, यहाँ अपवाद हुने कुरै भएन । अलिक पर, तलतिर डोल परेको गैह्रीमा लालीगुराँस फुलेका देखिन्थे । त्यहीँ नजिकै डिलमा पनि एउटा बोट मजाले फुलेको रहेछ । एकजनाले (नाम भन्दिनं) ता गएर तलैबाट पुगिने तीनवटा थुँगा भएको एउटा हाँगो भाँचिहाल्नु भयो त ! अनि त्यही हाँगो शिरमा समातेर कसैले, पृष्ठभूमिमा पारेर कसैले फोटो पनि खिचिहाल्नु भयो । “यहाँ फूल टिप्न, हाँगा भाँच्न मनाही छ, ५०० जरिवाना हुन्छ” अलिक पर ढुंगामा बसेर हाम्रै गतिविधि नियालीरहेका दुई स्थानीय महिलामध्ये एउटीले भनिन्, सायद उनीहरू त्यतै जङ्गलमा बाख्रा चराउँदै थिए । एकछिनलाई अव्यवस्थित भयो, छिरोलिए पदयात्रीहरू ! पालुङ साहित्य परिषद्को भने योजना अर्कै रहेछ । उहाँहरू हामीलाई दामनमा बसबाट झरेपछि सोही खुल्ला ठाउँमा वा अन्यत्र भए पनि अनुकुल ठाउँमा जम्मा गराएर औपचारिक स्वागत गर्ने तयारीमा हुनुहुँदो रहेछ, योजनाबारे भन्न चैँ बाँकी रहेछ । हाम्रो भोजन गर्ने तत्परताले भन्न सक्नु भएनछ । भोका पदयात्रीलाई पर्खाउन पनि असजिलो लाग्यो होला नि त ! सो योजनाबारेमा कुरा चलेपछि भोजनपछि लगत्तै सोही ठाउँमा अनौपचारिक रूपमै टीका र खादा लगाइदिएर हाम्रो स्वागत गर्नुभयो उहाँहरूले । खाजा पनि ल्याइदिनुभएको रहेछ भुटेको मकै र मोही जो हामीले फर्किंदा बसमा उपयोग गर्यौँ । अब भने हामी पासापका साथीहरूको अगुवाइमा त्यहाँका दर्शनीय स्थलहरू हेर्न थाल्यौं । देब्रेपट्टि लालीगुराँससँगै अन्य अनेकथरि वनस्पतिको जङ्गल । संरक्षित वन भएकाले सानातिना बुट्यान काटेर अन्य वनस्पतिलाई गोडमेल गरेको देखियो । जङ्गल प्रवेश गर्नुअघि संरक्षित वनस्पति उद्यान रहेछ । उद्यानमा अनेकथरिका वनस्पति र तिनको वैज्ञानिक नाम पनि उल्लेख गरिएको । लालीगुराँस कतै फुलेको, कतै फुल्दै, कतै फुल्नै बाँकी पनि । उद्यानभित्रै एउटा लालीगुराँसलाई पृष्ठमा पारेर हामीले सामूहिक र कतिपय व्यक्तिगत फोटो खिच्यौं । सडकैसडक अलिक परसम्म गयौं । डाँडाको मध्यमा बाटो, दायाँबायाँ दुवैतिर कोणधारी र अन्य अनेक वनस्पतिले घनीभूत रमणीय जङ्गल । कति हेर्नू र ? यता समयले फखेटा फर्फराउन थालिसक्यो । यहाँ सम्पन्न गर्नुपर्ने काम अझै निकै छ ।
यसबेला हामी जम्मा ३२ जना छौं । वनस्पति उद्यान हेरसकेपछि पूर्वतिर अलिक परसम्म सडकैसडक गयौं, एउटा अग्लो डाँडामा लानुभयो पासापका साथीहरूले । तर त्यहाँबाट रमित चाहिँ नदेखिने, जङ्गलले छेलेर । डाँडाबाट ओर्लियौं सबै । सडकैसडक शान्ति, शशी, मन्दिरा र अरू पनि कतिजना अझै पूर्वतिर जानुभयो । केही साथीहरू पासापका साथीहरूसँग यता फर्किनुभयो । हामी जनकपुरी, लीलाराज सर, ऋचा, माधवलाल सर, डिल्लीराज सर, शीतल सरलगायत पूर्व गएकाहरूलाई पर्खिएर बस्यौं । “मेरो झोला यतै होस् है, सरहरू यहाँ उभिइरहँदा म साथीहरूलाई बोलाएर ल्याउँछु” भन्दै ऋचाले आफ्नो झोला मेरै छेउमा ल्याएर राखिदिनुभयो र शान्ति सापकोटाहरू गएतिर जानुभयो । निकैबेर पर्खियौं उता गएका कोही पनि आउनुभएन । कार्यक्रम गर्न ढिलो भयो,अब घुमघाम र अन्य ढिलाइ सबै स्थगित गर्ने निर्णय भएर सबै फर्किन थाल्नुभयो । म र जनकपुरी मात्रै बाँकी रह्यौं । “जाऊँ हामी पनि, कतिबेर पर्खिनु ?” जनकपुरीले भन्नुभयो । ऋचाको झोला पनि मैले बोकें, कार्यक्रमस्थलतिर लाग्यौँ हामी पनि । “मान्छे खेद्नु अघि लागि, पशु खेद्नु पछि लागि “हामीभन्दा अघि जानेले हामीलाई खेदे, अब हामीले पनि हामीभन्दा पछिकालाई खेद्यौ, लुखास्त… ! किन ढिलो गर्नु त ?” वनस्पति उद्यानकै विपरितमा अग्लो डाँडामा भ्यु टावर छ । यहाँ चढेर हेर्दा उपत्यका जम्मै छ्याङ्ङै देखिन्छ, अरू पनि सबैतिर हेर्न सकिन्छ भनेर भ्यु टावरमा चढेर हेर्ने योजना थियो अघि यहाँ आइपुग्दैखेरिको । समयले दिएन । फेरि को कता को कता भइयो, एकैचोटी सबै जम्मा नै भइएन । को चढ्ने, को नचढ्ने हुने भो । त्यही गएर रचनावाचनको कार्यक्रम गर्ने सल्लाह थियो पहिलेको, अहिले मान्छे छिरोलिएर त्यो योजना पनि बदल्नुपर्यो । सेल्फी डाँडामा पो कार्यक्रम गर्ने निधो भयो । हामी सरासरी सेल्फी डाँडामा गयौं ।
शान्ति सापकोटालाई फोन गरेँ । “सेल्फी डाँडामा आउनू तपाईंहरू सबै, यहाँ कार्यक्रम शुरु भयो !” “ए ऽ ऽ ऽ हामी ता भ्युटावरमा पो गयौं त सरासरी । अघिको कुरो त्यस्तै थियो र सबै यतै हुनुहुन्छ होला भनेर !” “ल ल, छिटो आउनुहोला, यहाँ सबैजना हतारिंदै हुनुहुन्छ !” यति वार्ता गरेर म पनि सेल्फी डाँडाबाट रमित हेर्नेहरूसँग मिसिएँ ।
“आहा ! थाहा !!” तल देखिएको पालुङको भूबनोट र प्रकृति जादूमय देखियो । थाहा अर्थात् थाहा नगरपालिका । वाग्मती प्रदेशको नारायणी अञ्चल, त्यसको मकवानपुर जिल्लामा पर्ने सुरम्य भूगोल । यहाँ प्रकृतिको कालीगढीले जीवन्त मुस्कान छोडेर लाखौं पर्यटकलाई आफुतिर तानिरहेको थियो । लमतन्न भएर लगभग उत्तरदक्षिण लाम्चो आकारमा रहेको, तीनतिर सदाबहार हरियालीयुक्त पहाडले पहरा दिएको, मनोहर उपत्यका पालुङ । “देशको राजधानी ता यहाँ पो बनाएको भए बेश हुने रहेछ ।” मेरो आफ्नै मनले भन्यो । प्रशस्तै खोला खोल्सा, अन्न बाली वा तरकारी खेतीका लागि निकै उपयुक्त । शहर भएर पनि भीडभाडरहित, स्वच्छ वातावरण मान्छे, पशुचौपाया, चराचुरुङ्गी सबैले रोज्ने ठाउँ । झलक्क हेर्दै म ता मोहित भएँ । गाडीमा बसेर एकसरो बाटो हिँड्दा के पो देखिंदो रहेछ र ? यसरी खुल्ला हिसाबले हेर्न पाएर असाध्यै खुशी भएँ म । अनि त पर्यटकहरू यहाँ आउँदा रहेछन् ! झट्ट रूपचन्द्र विष्टको सम्झना भयो । एकताका नेपाली राजनीतिमा चर्चित मान्छे रूपचन्द्र विष्ट । “रूपचन्द्रलाई जनताले एक रुपैयाँ र एक भोट दिए रे !” “रूपचन्द्र कसैलाई पनि ‘तपाईं’ भन्दैनन् रे, ‘तिमी’ केहीलाई भन्छन् रे, बाँकी सबैलाई ‘तँ’ बाटै सम्बोधन गर्छन् रे !”
जनतालाई “तिमीहरू भाते कुकुर हौ” भन्थे रे । हामी इलाममा यस्ता कुरा सुन्थ्यौ रूपचन्द्र विष्टका बारेमा र छक्क पर्थ्यौं । अनि, सुन्यौं रूपचन्द्रले चुनाव जितेको कुरो पनि ।
पञ्चायतकालमा राष्ट्रिय पञ्चायतमा विधायक निर्वाचित भएका रूपचन्द्र पञ्चायतकै कट्टर विरोधी थिए ।
रुखो, हठी, सनकी स्वभाव भएका उनले कसरी यत्रो जनमत पाए त ? सबैमा यो जिज्ञासा थियो, अचम्म लाग्थ्यो उनको स्वभावका कुरा सुन्दा ।
सुधारका काम धेरै गरेछन्, जनतालाई सचेत बनाएछन्, छोराछोरीलाई स्कुल नपठाउने आमाबाबुलाई तथानाम गरेछन्, महिनामा एक दिन सामूहिक श्रम गर्ने चलन चलाएछन्, आफ्नो उन्नतिका लागि आफैँ अघि सर्नुपर्छ भनेर बोध गराएछन्, गरीबको उत्थान गरीबकै नेतृत्वमा मात्रै हुनसक्छ, सामन्तीले गरीबको कल्याण गर्दैनन्, हरेक कुराको “थाहा” चाहिन्छ भन्थे “थाहा पा, जान् भाते, बुझ् भाते” भन्थे रे जनतालाई । यस्ता कति हो कति उनका सुधारका कुरा त !
दामन र पालुङलाई एउटै गाविस बनाएर, अति नै कम कर उठाए र सो रकमले गाउँमा के विकास गरियो, प्रष्ट देखाइदिने । एकै पैसाको तलमाथि हुन नदिने । राजाले उनलाई मन्त्री बनाउन खोज्दा नमानेकाले, पञ्चायतका खराब क्रियाकलाप, चाकडी, भ्रष्टाचार आदिको कडा विरोध गरेकाले उनी पक्राउ परे, व्यवस्था विरोधीको आरोप लगाइयो, पटकपटक जेल हालियो । तर सही विचार थियो उनको । विचार र कार्यशैली मिल्थ्यो, इमानदारी थियो त्यसैले सारा जनता उनका थिए । जस्तोसुकै रुखो स्वभाव भए पनि उनी जनप्रिय थिए । सम्पन्न परिवारका भए पनि तल्लो स्तरका जनताको जस्तो उनको जीवनशैली थियो ।
“थाहा” दर्शन नै बन्यो ।
यस्ता दार्शनिक, चिन्तक, समाजसुधारक, कवि, मण्डलेतन्त्रका विरोधी रूपचन्द्रको शालिक बनाइएको छ, उनी कसैको चाकडी नगर्ने, मुलाहिजा नगर्ने, योग्यता र क्षमताको कदर गर्ने, गुणग्राही, अचाहिंदा कुरा, ढर्रा, फजुलखर्चीतालाई नरुचाउने आदि सटिक गुणहरूले गर्दा नै जनप्रिय मात्रै होइन आदर्श समेत भए । पालुङको मात्रै नभएर राष्ट्रकै चासो र अनुकरणीय व्यक्ति भए । यी भलामानुसको यति परिचय पाएपछि मनमनै मैले यिनलाई सलाम गरेँ ।
अब भने हामी औपचारिक कार्यक्रममा जुटेका भयौं । हामीलाई “स्रष्टा” हुनुको औपचारिक दृष्टान्त प्रस्तुत गर्नु पनि थियो, दिनभरि “पदयात्रा” भैसकेको थियो र बाँकी रहेको “स्रष्टा” प्रस्तुति अर्थात् रचना वाचनका लागि हामी यो सेल्फी डाँडामा जम्मा भएका थियौं । शीतल गिरीको अध्यक्षता, बिर्खे अञ्जानको सञ्चालन र नवराज बर्तौलाको स्वागतमन्तव्यका साथ कार्यक्रम सम्पन्न गरियो । यो कार्यक्रमको विशेष आकर्षण वा उल्लेखनीय कुरो “स्रष्टा पदयात्रा” नियात्रा संग्रहको सामुहिक विमोचन हो । यो संग्रहमा स्रष्टा पदयात्राका पहिलोदेखि बीसौंसम्मका पदयात्रा समावेश छन् । जम्मा १६ जना लेखकबाट अनुभूत नियात्राहरू निकै आकर्षक छन् । अब दोस्रो प्रकाशन २१ देखि चालीसौं सम्मको तयार हुँदैछ ।
समयले हामीलाई हुट्हुटी लगाएको लगायै छ ,हतार गर्न भनेर । काठमाण्डुबाट गएका २७ जना र स्थानीय ५ जनासमेत अहिले हामी ३२ जना स्रष्टा रचनावाचनका लागि भेला भएका छौं । यति जनाका१र१ रचना सुन्न हामीलाई थप तीन घण्टा समय लाग्ने अनुमान गर्यौ,त्यत्रो समय थिएन,अनि छोट्करी उपाय अवलम्बन गर्ने भयौं ।
काठमाण्डुको प्रतिनिधित्व १जनाले गर्ने, दामनको १ जनाले गर्ने भन्ने ठहर भएपछि हामीमध्येबाट हेर्दैखेरि खाइलाग्दी स्रष्टा मन्दिरा मधुश्रीले रचना वाचन गर्ने सहमति भयो । मन्दिराले मिठो गजल सुनाउनुभयो ,हामी सबै सन्तुष्ट भयौं ।
अब पालो पासापको ! पासाप अर्थात् ? पालुङ साहित्य परिषद् । शालिकराम बर्तौला पासापको प्रतिनिधित्व गरेर कविता सुनाउन थाल्नुभयो । गद्य कविता, त्यै पनि निकै लामो । हतार भएका बेला हामीचाहिं छिटै सकेदेखि हुन्थ्यो भन्ने ठान्दै थियौं, उनी कवितामाथि कविता थपिरहन्थे अझ जोशिएर । छेउमै उभिएर नवराजजी अझै ऊर्जा थपिदिनुहुन्थ्यो, शालिकरामजी झन् जोशिला भएर आवाज बढाउँथे । कुराको चुरो ता भरेभरे पो बुझियो ! जसोतसो उनको प्रस्तुति सकेपछि औपचारिक रूपमा अध्यक्षको मन्तव्यसहित सभा सकियो, हामी सबै बसमा चढ्यौं । सबैलाई ठाउँ पुगेन । पासापका साथीहरू शिखरकोटमा नै ओर्लिने हुँदा उभिने नै रोज्नुभयो । त्यसबेला शालिकरामजीको अरू कला पनि सुन्न, देख्न पाइयो । लोकगायक पनि रहेछन्, उनको गायन सुन्दैसुन्दै तलसम्म आयौं । मान्छे मात्रै सानो जिउ, कदका स्वर भने निकै तेजिलो । उसमाथि बाघको दूध पनि अलिकति सेवन गरेको थाहा पायौं हामीले । नजिकै हुनुको फाइदा ।अघि किन जोशिएछन् भन्ने पनि थाहा पाइयो । थाहा नगर हो नि त !
शिखरकोटमा पासापका साथीहरूसँग विदाको हात हल्लायौं । यसबेला ५ बजिसकेको थियो । उहाँहरूले खाजा खान ल्याइदिनुभएको भुटेको मकै अब काम लाग्यो, हाम्रो फिर्तीयात्रासँगै । हामीले समग्र पालुङलाई बिदाको हात हल्लायौं । यो पर्यटन, कृषि, पशुपालन, तर्कारी खेती, सदाबहार वनजङ्गल, रमाइला पहाडहरूले बनाएको, समृद्धिमा लम्किरहेको सुरम्य उपत्यकाला ! रूपचन्द्र विष्टको सचेतना, स्वावलम्बन, थाहा, दूरदृष्टि र रुखो तर प्रिय आत्मीयतालाई आत्मसात् गरेर सगर्व जीवन्त यो सुन्दर भूगोललाई ४१ औं स्रष्टा पदयात्राको साध्य भैदिएकामा मैले मनमनै धन्यवाद दिएँ । बिदा पालुङ् ! मनभरि दामन बोकेर हामी जाँदैछौं फिर्ता ! फेरिफेरि आउनेछौं !
हाम्रो बसले तिष्टुङ पनि नाघ्यो । साँझ नजिकिंदै आयो । हतारले चिया खान पनि अनुकूल भएन कतै, अब मनले चिया चियाउन थाल्यो, आँखाले सम्भावित ठाउँ हेर्न थाले सडकका दायाँबायाँ । पाँच मिनेटका लागि गाडी रोक्ने कुरा पनि चल्यो । दुवै उद्देश्य पूरा हुने ठाउँमा गाडी रोकदिए ड्राइभर भाइले । तत्परताका लागि घनश्याम सर हुनुहुन्छ, ओर्लिएर चियाको अर्डर पनि गरिहाल्नुभयो । यही मौकामा हरहिसाब गरेर बाँकी पैसा मेरा जिम्मा पनि लगाउनुभयो, अब बसवालालाई पैसा दिने काम मेरो भयो । चिया सकेर अघि बढ्यौं । आकाशले धर्तीलाई कालो पाल ओढाउन थाल्यो बाह्र गोलाइ र बाईस गोलाइहरू नाघ्दै बस नौबिसे आइपुग्यो । नौबिसे आउनुभन्दा अघिदेखि नै हामी विभिन्न प्रसङ्ग झिकेर, चुट्कुला सुनाएररसुनेर हाँस्तै रमाइलो गर्दै थियौं । शीतल गिरीले दुईजना पञ्जाबी काठमाण्डु घुम्न आएका, भटमास किनेर खाएका, फिर्ता जान बस चढेका, अनि “आप आया.. आपका बाप आया” वालाचुट्कुला सुनाएर खुबै हँसाउनुभयो । नौबिसेबाट यता लाग्यो बस जाम पनि शुरु ! म र डिल्लीराज सर एकै ठाउँ परेछौं । केही चर्चा रामायणका भए, मैले के जानेको थिएँ र उहाँबाट सुनें मात्रै ! ध्रुव घिमिरेको चुट्कुला भन्दाखेरिको हाउभाउ नै अर्कै ! भुँडी बाउँडिउञ्जेल हाँसियो । चुट्कुलामा अल्मलिएका हामी कतिखेर जाम खुल्यो, कतिखेर कहाँ पुगियो पत्तै नपाई नागढुङ्गा आइसकेछ । अब भने सबै सावधान ! कलङ्की आयो । शान्ति सापकोटा, मन्दिरा मधुश्री, ध्रुव, डिल्लीरमण, धेरैजना ओर्लिनुभयो । स्वयम्भू, बालाजु, बसपार्क सुकेधारा, चाबेल,कोटेश्वरमा पायक पर्नेहरू ओर्लिंदै जानुभयो ।
कोटेश्वरबाट यता लाग्दा भने जयन्ता पोख्रेल, डिल्लीराज सर,शीतल सर र म चारजना मात्रै थियौं । चाबेलमा आइपुगेपछि मैले बसवालालाई भाडा बुझाइदिएको थिएँ १४ हजार मध्येको १३ हजार र निश्चिन्त भएको थिएँ । जयन्ता भाइका घरमा जाने भनेर पेप्सीकोलामा ओर्लिनुभयो, बाँकी हामी तीनजनाको कुरो शुरुमै लेखिसकें । अब भने म पनि यो एकचालीसे गनगन यतै बीट मार्छु । ….पढ्नेलाई गुनको माला !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।