जनवरी १६ तारिख २०२२ को दिन हामी अमेरिकाको एउटा राज्य क्यालिफोर्नियाको स्याक्रोमेन्टोदेखि डेथभ्याली अवलोकनका लागि बेलुकाको तिन बजे घरबाट निस्क्यौँ । यो हाम्रो नितान्त पारिवारिक भ्रमण हो । डेथ भ्यालीपुग्नको लागि स्याक्रोमेन्टोदेखि आठ घण्टा सवारी साधनको कुँदाइ रहनेछ । साथमा ससाना बालकहरू भएकोले आजको हाम्रो यात्रा केवल चार घण्टाको मात्र रहनेछ । घरदेखि हिँड्दा आकाश स्वच्छ थियो । सवारी साधनको गतिमा बिलाउँदै जाँदा बाटोमा ठूलो पानी पर्यो । यसरी अगाडि बढिरहेकै अवस्थामा अहिले हामीले देखिरहेका छौँ अत्यन्त सुन्दर र मनमोहक स्थान । पहाडै पहाड भएको मनलाई नै आकर्षित गर्ने ठाउँहरूको परिदृश्यलाई आँखाभरि र मनभरि राख्नको लागि ठाउँ नपुगेर मुटुको भित्रीतहसम्म कैद गरिसकेका छौँ । अहिले यतिखेर भने हामी यो सुन्दर वातावरणदेखि ओझेल परिसकेका छौँ । अमेरिकामा पनि यति प्राकृतिक सुन्दरताले भरिएको ठाउँ हुँदोरहेछ भनेर आफूले आफैंलाई खुसीव्यक्त गरेँ । यो ठाउँले अलिकति भए पनि नेपालको तिर्सना मेटाइ दियो ।
तर एउटा कुरा के भने नेपालमा रहेको पहाडिया बस्ती र यहाँको बस्तीमा निकै भिन्नता देखियो । यहाँ देखिएको बस्ती नेपालको पहाडिया बस्तीभन्दा निकै पातलो बस्तीहरूमा एकाध घर बाहेक अन्य बाक्लो बस्ती देखिएन । तर कुरा के भने यी भएका बस्तीहरूमा पनि अत्यन्त राम्रो सुविधा दिएर बस्तीको संरचना गरेको देख्न पाउँदा कता हो कता परीको देशमा आएको पो छु कि जस्तो अनुभव भयो । यसरी हामी लगातार आजको अन्तिम गन्तव्य स्थान खोज्दै जाँदा अहिले हामी रातको नौ बजेतिर वेकर्सभिल आएर पहिलो दिनको रात गुजार्यौँ । हामी आफैमा सुविधा भएको आर. भी. सवारी साधन भएकै कारण हामीलाई खान, बस्न र सुत्नको लागि केही समस्या परेन । हामीले यो प्रवन्ध समयमै गर्यौँ । हतार नगरेकै कारण हामीलाई आराम भएको महसूस भयो । अब हामीलाई यहाँदेखि डेथ भ्याली पुग्न भोलि बिहान केवल चार घण्टाको समय न हो भन्दै यस दिन बिहान अलि ढिलै उठ्यौँ । हामी केही ढिला उठे पनि आजको बिहानीले हामीलाई स्वागत गरिसकेको छ । यतिखेर हामी प्रभाती मोडमा छौँ ।
हामी उठेपछि आफ्नो नित्यकर्मतिर लाग्यौँ । अनि पछि ब्रेकफास्ट गर्ने तर्फ लाग्यौँ । यतिगर्दा गर्दै बिहानको एघार बज्यो । त्यसपछि हामीले आफ्नो गन्तव्यको बाटो ततायौँ । अबको चार घण्टाभित्रमै हामी डेथभ्याली पुग्ने छौँ । आज १७ तारिख बिहान हामीले यो ठाउँलाई बिदा गरेर अगाडि बढी सकेका छौँ । यहाँबाट हिँडिसकेपछि रातको नौ बजेतिर हामी बस्ने भनिएको ठाउँ फर्नेसक्रिकक्याम्प ग्राउण्ड जहाँ आर. भी पार्किङ गर्ने सुविधा छ, आई पुगेका छौँ । हामीले बेलुकीको रात यहाँ बिताएपछि १८ तारिख बिहान सात बजे सबैजना उठेर ब्रेकफास्ट गर्ने तर्फ लाग्यौ । त्यसपछि हामी आजको कार्यक्रमलाई तय गर्दै यहाँबाट बिहानको दश बजे हिँडेका छौँ । यो ठाउँ कस्तो उजाड रहेछ । नेपालको जोमसोम जस्तो ठाउँमा पनि मानिस यसरी हेर्न भनेर यहाँ आउँदा रहेछन् ।
यहाँको दृश्यले मलाई एकछिन त नेपालबारे सोच्न बाध्य पार्यो । आफैँ स्तब्ध र अवाक् बन्न पुगेँ । आखिर गर्न सके के पो हुँदो रहेनछ र भन्ने लाग्यो । हाम्रो देश रुग्ण, गरिबी र पछौटेपन भएकै कारण कतै नेतामा देश प्रेमको भावना नसमेटिएको हो कि ? देश बनाउँछु भनेर हामीसँग वाचा गरेका अगुवाहरूको ध्यान दृष्टिले काम नगरेको पो हो कि ? हामी देशवासीले अब सोँच्ने बेला आइसकेको त होइन ? भन्ने जस्ता कुरा सोँच्न बाध्य भएँ म । देश त मियो नभएको गोरुले दाइँ लगाए जस्तो भएको छ । लथालिङ्ग देशको भताभुङ्ग चाला जस्तै भएको छ । देश बनाउँछौँ भनेर कस्सिएकाअगुवाहरू आफ्नै धुनमा मस्त छन् । उनीहरूलाई देशको बारेमा कुनै चिन्ता छैन ।
“सबै जोगी मर मेरै तुम्बा भर” जस्तो गर्छन् यी ठालुहरू । देशले काँचुली फेर्न किनसकेन त ? ठालुहरूका लागि यो गम्भीर प्रश्न पनि हो । मेरो पालामा मैले यति गरेँ उति गरेँ भनेर फलाक्नु नै व्यर्थ छ । सत्ताको स्वाद लिनेहरूले सहमति जनाउलान् तर आमजनताले यस्ता कुरा कदापि स्वीकार्दैनन् । जनतालाई त विकास चाहिएको छ विकास । कुनै कुरामा दिगोपन फेलापार्न सकिएको छैन । आफ्नै आसेपासे र भरौटेहरूको संगतले देश कति दिन टिक्न सक्ला त ? देश बनाउने कुरामा तपाईं हामी एकजुट नै छौँ । देश बनाउने हामी, विशुद्ध निस्वार्थ र सामाजिक भावनाले ओतप्रोत भएको हुनु पर्छ । देश बनाउने कुरालाई कसैले पनि अश्विकार गर्दैन । देश भयो भने हामी हुन्छौँ । हामीलाई भन्दा देशको अगुवाइ गर्नेलाई बढी चिन्ता हुनु पर्ने हो तर भएको छैन । राष्ट्रमा के हुँदैछ भन्ने कुरा हामीलाई भन्दादे श बनाउछु भनेर कम्मर कँसेकालाई चिन्ताबढी हुनु पर्ने हो । देशनिर्माण गर्नको लागि म बनेर होइन कि हामी बनेर काम गर्न पाउँदाको अनुभव भने बेग्लै हुन्छ ।
यात्राको कुरा गर्दागर्दै मलाई देशको कुराले पो छोएछ । देशको कुराले छोए पनि म तपाईंहरूसँगै छु । अहिले हामी यात्रा गरिरहेको ठाउँ क्यालिफोर्निया राज्यभित्र पर्ने डेथ भ्याली हो । यहाँ कुनै हरियाली देख्न पाइँदैन । यहाँ त जाडोको बेलामा पनि न्यानो महसूस भएको छ । अहिले हामी आएका छौँ उबेहेबे क्रेटर । यो ठाउँमा ज्वालामुखी फुटेर खाल्डो परेको रहेछ । मेरो घरका अन्य सदस्यहरू यहीँ ज्वालामुखी फुटेको खाल्डोको वरिपरि एक फेरो लगाए । उनीहरूलाई यो ठाउँको परिक्रमा गर्दा झण्डै एक घण्टा जतिलाग्यो । यहाँ भएकामध्ये हामी दुइ जना र सानो नाति जय गएनौँ । हामी आर. भी. मै आराम गरेर बस्यौँ । त्यस पछि भने हामी फर्नेसक्रिकक्याम्प ग्राउण्ड फक्र्यौँ । यो ठाउँमा भोलिपल्ट अर्थात् १९ तारिख बिहान चार बजेदेखि बेलुकी सात बजेसम्म पानी न आउने सूचना प्राप्त भयो । अनि त्यसपछि यहाँ नबस्ने भन्दै अर्को ठाउँमा हामी स्थानान्तरण भयौँ । अहिले हामी सनसेट भन्ने क्याम्प ग्राउण्ड आएका छौँ । यहाँ आर.भी. पार्किङ स्थलको व्यवस्था भएको हुँदा हामीले यसो गरेका हौँ ।
एकरातको चौध डलर तिरेर आज हामी यो स्थानमा बस्ने भएका छौँ । यहाँ आइसकेपछि हामी बेलुकीको खाना खाने तयारीमा जुट्यौँ । करिब सात बजेतिर मैले क्यालिफोर्नियाको स्याक्रोमेन्टो स्थित आफ्नै घरमा बस्दै आरहनु भएका सर्वज्ञ वाग्ले जीलाई फोन लगाएँ । यो ठाउँमा नेटको व्यवस्था रहेनछ भन्दै मैले नेपालमा रहनुभएका डा. गोविन्दाज भट्टराईसँग कुरा हुन नपाएको समाचारको जानकारी गराएँ । अब आउने आइतबार उहाँलाई साहित्य संवादमा ल्याउने जस्ता कुरा हामी दुर्इबीचमा भए । अनि हामीहरू बेलुकाको डिनर खाएर आ– आफ्नो सयन कक्षतिर लाग्यौँ । आज बिहान २०२२ जनवरी १९ तारिख भएको छ । यो दिन बिहान हामी अलि चाँडो उठ्यौ र सधैंजसो बिहानमा गरिने नित्यकर्मतिर लाग्यौं । त्यसपछि हाम्रो कार्य ब्रेकफाष्ट गर्नेतर्फ अगाडि लम्कियो । आज पनि एक दुर्इ स्थानको प्राकृतिक वातावरण हेर्ने कोसिस गरिरहेका छौँ । हामी अहिले डेथ भ्यालीसँग आवद्ध रहेका केही ठाउँ हेर्ने क्रममा छौं ।
अहिले हामी जमानामा सुनखानी भएको ठाउँ रियोलाइट हेर्न आएका छौँ । धेरै पहिला यहाँ सुनको खानी थियो रे । सुन खानी सञ्चालन गर्ने समयमा यो ठाउँमा धेरै पहिला बजार बसेको रहेछ । खानीको काम समाप्त भएपछि यहाँको बस्ती अन्यत्र सरेछ । यहाँ त हामीले केवल भग्नावशेष मात्र भेट्यौँ । यहाँ भेटिएका भग्नावशेषहरू मध्ये स्कूल, बैंकको आदिको साइनबोर्ड समेत देख्ने अवसर मिल्यो । अहिले हामी आएका छौं व्याडवाटर बेसीन हेर्न यहाँ आइपुगेपछि घरका अन्य सदस्यहरू लागे बेसीन हेर्ने तर्फ । यो ठाउँ समुद्र सतहभन्दा आठ सय पचपन्न मिटर तलछ भन्ने जानकारी हामीलाई भित्तोमा टाँगीएको सूचनाले संकेत गरिरहेको थियो । तर म भने यहीँ घाममा एउटा मेच राखेर यहाँको दृश्य हेरिरहेको छु । घरका सदस्यहरू घुमेर यहाँ म भएसम्म आईपुग्दा लगभग पैँतालीस मिनेट जति लागेको छ । क्यालिफोर्निया राज्यमा पानीको अभाव छ । यस्तो पानीको अभाव भएको ठाउँमा पनि दुर्इ दुइवटा रिसोर्टहरू देखिएका छन् । के यस्तो ठाउँमा माथि उल्लेख गरिएका रिसार्ट सञ्चालन गर्न उपयुक्त छ त ? भन्ने प्रश्नहरु तेर्सिएका छन् । अब भने यहाँबाट हामीबस्दै आएको स्थान स्याक्रोमेन्टो तर्फ लाग्दैछौँ । यसरी हामी आजको रात १९ तारिख बेलुकीको बास आर. भी. स्थलपार्किङ टोनोपामा आएर बस्यौँ । त्यस दिन एक रातको लागि ३५ डलर तिरेर रात गुजार्यौं ।
आज २० तारिख बिहान भएको छ । यस दिन बिहान हामी सबेरै उठेर नित्यकर्मतिर लाग्यौं । चिया खायौं ।सानानानीहरु सँगसँगै हिड्ने भएको हुँदा हामी यो ठाउँबाट हिँड्दा बिहानको आठ बजिसकेको छ । आर. भी. सवारी साधनलाई अहिले ज्वाइँले हाँकिरहनु भएको छ । अबको चार घण्टामा बाटो कतै जाम भएन भने हामी सजिलोसँग स्याक्रोमेन्टो पुग्ने छौं । साना सानानानीहरू साथमा भएको हुँदा हामीले बाटोमा आरामगर्दै जानु पर्ने हुन्छ । त्यस कारण पनि हामीले बिस्तारै गाडी हाँकेरै बेलुकासम्म स्याक्रोमेन्टो पुगेका हुनेछौँ । घरतिर फर्कने क्रममा अहिले हामीबाटो मै छौं । यात्राकै क्रममा अहिले यतिखेर हामी मिना टाउन आइपुगेका छौं । हथ्रोन आउँदासाथ सवारी साधनमा ग्याँस भर्ने काम गर्यौं । यो स्थानमा आइपुग्दा हाम्रो हातको घडीले बिहानको ठीक ९.४५ बजाएको छ । यहाँको चर्चित होटल मेकडोनाल्डमा खाना खायौँ । दश पैंतालीसमा हामी यो होटलबाट बाहिरी सकेका छौँ । यहाँबाट हिँडेको एक घण्टामा हामी स्याक्रोमेन्टो आइपुगेका छौँ । यसरी हाम्रो डेथभ्याली अवलोकन गर्ने चार दिने कार्यक्रम समाप्त भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।