बिहानीको आफ्नो व्यस्तताले मैले मोबाइल हेर्न भ्याइनँ । दिउसो फुर्सदमा मोबाइल खोली हेर्दा मदन पुरस्कार विजेता साहित्यकार श्री युवराज नयाँघरे सरले मेसेन्जर कल गर्नुभएको देखेँ तर उहाँ अनलाइन नरहेकाले कुरा गर्न सकिनँ । साँझपख कुरा भयो । उहाँले इलाममा दुई दिवसीय कार्यक्रम हुँदै छ, दिसम्बर ४ र ५ तारिखमा । आयोजक मण्डलीले मलाई निम्तो गर्नू भनेकाले मैले यही फोनमार्फत निम्तो गरेको हुँ । हजुर मणिपुरको प्रतिनिधित्व गरी आउनुपऱ्यो भन्नुभयो । मैले भोलि पक्का निधो गरी फोन गर्छु भनेँ ।
सानैबाट सुन्दै आएको मैले – हाम्रो पुर्खाभूमि इलाम हो । मलाई पनि इलाम गएर पुर्खाभूमिको दर्शन गरी, त्यहाँको त्यो पवित्र माटाको शिरमा तिलक लाउने मनभित्र पहिल्यैबाट धेरै इच्छा थियो ।
गजलकार वसन्ती पौडेल र मलाई त्रिफला राष्ट्रिय पुस्तकालयको निम्तो रहेको हुँदा हामी आठ दिसम्बरतिर जाने सल्लाह पनि हुँदै थियो ।
मैले नयाँघरे सरसित बात गरेपछि मेडम वसन्तीलाई फोन लगाएँ । सरसित भएको बात सुनाएँ । आठबाट छुट्टी नलिएर एक तारिखबाट मिलाउनुहोस् मिल्छ भने । मलाई मेरो पुर्खाभूमि दर्शन गर्न जुरेजस्तो छ भनी सुनाएँ । उहाँले भोलि स्कुलमा गएर कोसिस गर्छु र हजुरलाई भन्छु । भनेको भोलिसम्मको इन्तजार गर्नुपर्ने भयो ।
पर्सिपल्ट नयाँघरे सरलाई हामी आउँदै छौँ भनी जानकारी गराएँ । त्यसपछि साहित्यकार, पत्रकार श्री राधेश्याम लेकालीज्यूले हामीलाई मेसेन्जर ग्रुपमा सामिल गराउनुभयो । कार्यक्रमको विवरण पठाउनु तीन संस्थाले आयोजना गरिएको भनी बुझियो । साहित्यिक पत्रकार सङ्घ काठमाडौँ, इलाम नगरपालिका साहित्य कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटक सरोकार समितिको संयुक्त आयोजनमा ।
एक दिसम्बर हामीले बिहानै छ बजेबाट इलामको यात्रा आरम्भ गरियो । छोरीको गाडीमा धेरै रमाइलो गर्दै डाँडाहरू अवलोकन गर्दै कुनाकाप्चा पार गर्दै । डाँडैभरि तारामण्डल फूलले सजिएकाले ठाउँ-ठाउँमा फोटो खिच्दै । साँढे छ बजेतिर गुवाहाटी जयानगर पुगियो । सायद दुई वर्ष कोरोनाको महामारीपछि यो मेरो पहिलो यात्रा थियो ।
भोलिपल्ट ६:२० को ट्रेन पकड्न दौडधुप मच्चियो । छोरीले रेलवे स्टेसनसम्म पुर्याइदिइन् र हामी सिलगढीतर्फ लाग्यौँ ।
बाटोभरि दुइटी अनेक प्रकारका कुरा गर्दै साढे दुईतिर एन.जी.पी. रेलवे स्टेसन पुग्यौँ । त्यहाँबाट सिधै गएर बस पक्डी पानीट्याङ्कीतिर लागियो । ट्रेनबाटै त्रिफलाका उपाध्यक्ष श्री रामप्रसाद दाहाल, नरप्रसाद मैनाली र कवि लक्ष्मीअच्युत ढुङ्गानासँग फोनमा सम्पर्क भइरहेको थियो । काँकरभिट्टामा भेटभाट गर्ने सल्लाह हुँदै थियो । पानीट्याङ्की पुग्दा साँझको वेला भएकाले हामी पानीट्याङ्कीको न्यु मार्केटको सपना होटेलमा गएर विश्राम गऱ्यौँ । नेटवर्कको कमीकमजोरीले गर्दा दाहालज्यू र मैनालीसँग सम्पर्क हुन सकेन । उहाँहरूले काँकरभिट्टाका पूरै होटेलमा गएर हामीलाई खोज्नुभएछ । रातिहुँदी धेरै दुःख पाउनुभएछ । भेटपछि उहाँहरूले भनेको सुन्दा धेरै दुःख लाग्यो मलाई ।
कहिले नगएको इलाम, साँझ इलाममै सबै भेला हुने भनिएकाले बिहानै तयार भएर काँकरभिट्टातिर लागियो । दुवैतर्फका प्रहरीको तलासीपछि चारआलीको गाडी चढियो । बिहानको ९:४० तिर चारआलीमा ओर्लिएर सोध्दै-खोज्दै इलाम जाने गाडी पार्किङ पुगियो । एउटा सोमुको चालकले इलाम जाने हो भनी सोध्यो । हामीले भाडाको सोधपुछ गऱ्यौँ र गाडी चढ्यौँ । बसेपछि एकछिन भाडाको विषयमा हँस्यौली पनि भयो । सबै आफ्नै भाषी आफूलाई धेरै खुसी लागिरहेको थियो । हामी दुईबिचको सिटमा बसेका थियौँ । हामीले इलामको कुरा गरेको सुनेर अगाडि बस्नुभएको सरले सोध्नुभयो- हजुरहरू इलामको कार्यक्रमका लागि जानुभएको हो ?
हामीले हो भन्दा, खुसी हुँदै उहाँ पनि त्यहीँ कार्यक्रमका लागि जानुभएको जानकारी दिनुभयो । एकछिनको वार्तालाप पछि आआफ्ना परिचय साटासाट गरियो । उहाँ साहित्यकार श्री नन्दु उप्रेती, काठमाडौँमा बसोबास रहेको इलामकै हुनुहुँदो रहेछ । उहाँ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ सभा सदस्य रहेको जानकारी भएपछि हामीलाई झन् खुसी लाग्यो । मनभित्र उठेका अप्ठ्यारा, असजिलाका प्रश्नहरू आफैँ हराए ।
इलामतिरको यात्रा आरम्भ भयो । यात्राभरि नन्दुसर र गाडी चालक विक्रम लिम्बु भाइले ठाउँ ठाउँका जग्गाको नाम भन्दै हाम्रो उत्साह बढाइदिनुहुँदै थियो । बुधबारेबाट बर्नेसम्म शिरीषको बोटमुनि चियाबारीको सुन्दर दृश्यावलोकन गर्ने अवसर पाइयो । गाडी भने तेज रफ्तारमा अगाडि बढिरह्यो । बाटामा कतै-कतै फाटफुट मान्छे देखिँदै थिए । बाटाको छेउसम्म रोपिएका सुन्दर फूलहरू, अहा ! आफ्नै घर आँगनजस्तै लाग्यो मलाई त । कतै-कतै फूलको हाँगा सुकेको देखेँ र सोचे ओहो यो सुकेको हाँगा निकाल्नु कस्तो बिर्सेछु । आफैँ झस्केँ, म त यात्रामा छु नि । त्यहाँको फूल देखेर मलाई आश्चर्य लाग्यो । मणिपुरमा जुन प्रकारका फूल रोपेको थिएँ मैले घर आँगनमा त्यहाँ त्यही फूल देखेँ र मलाई मणिपुरतिर छु कि जस्तो लागिरह्यो तर बिच-बिचमा नरिवल, सुपारीको रुख देख्दा असमको स्मरण पनि भइरह्यो । बाटाभरि रोपिएका राता पहेँला फूल देख्दा कतै ठुलो धामतिर गएको अनुभव गरेँ मनभित्र । सुनमाई चोक सानो बजारमा गाडी कुद्दै थियो त्यहाँ अलिक माथि सुनमाई शिवालय मन्दिर छ भनी बुझियो । सुनमाईदेखि माथि इलाम आउँछ रे नन्दुसर भन्दै हुनुहुन्थ्यो ।
झापा छोड्नलाई बाटो उकालो आउँदै थियो । तलैबाट सानो खोलीजस्तै देखिँदै थियो । त्यही रहेछ झापा र इलामको सिमाना ।
म सानै हुँदा हाम्रो हजुरबुआले कहिलेकाहीँ एउटा गीत गाएको सुन्थेँ –
इलामे सिलाम फाकफुके तोरी
तेल झर्छ तुरुरु
कोइली बास्दा नरुनु आमा
मन रुन्छ धुरुरु…….
त्यो चलेकै गीत हो या हजुरबुआले आफैँ कथेको आज इलामको यात्रामा झलझली सम्झना आयो । कस्तो हृदय छुने शब्द रहेछन् अहिले अनुभव भइरहेको छ ।
जोर कलशले सजिएको कल्पा चोक । त्यसपछि किटेनी ढाट, पहिला त्यहाँ ढाट राखेर कर उठाउने गर्थे अरे ।
अब अगाडि लसुने आउँछ सुनेँ चालक भाइ विक्रमको आवज, मनमनै कल्पना गरेँ, यहाँ लसुनको उत्पादन बढी मात्रामा हुन्छ होला तर त्यहाँ त विश्वकर्माको मन्दिर पो रहेछ !
अगाडि कुटिडाँडा, हाँसपोखरी रहेछ । त्यहाँबाट सानो पाथीभरा माता मन्दिर जाने बाटो दाहिनेतिर । मनैमन पाथीभरा मातालाई स्मरण गर्दै प्रार्थना गरेँ ।
बाटाको छेउसम्म डाला र नाङ्ग्लाभरि सजाइएका अकबरे खुर्सानी, इस्कुसका लामा-लामा जरा, छुर्पी धान सुकाएझैँ सुकाएर बिक्रीका लागि राखिएको हर्कटे बजार ।
अब कन्याम आउँछ होला भन्दै थिएँ मनमनै । कन्यामको नाम अघिदेखि नै सुनिरहेकाले यस्तो लागेको होला । यो आफैँ कल्पना गर्ने बानी पनि कस्तो ! ठुलो बजार आँखाको अगाडि नाँच्दै थियो । अगाडि बाटामाथि, बाटो तल हरिया-हरिया चियाका बोटहरू एकनाससित! बिचोबिचमा अग्लाअग्ला धुपीका रुखहरू ! त्यो देखेर मन यति भावुक हुँदै थियो कि गाडीबाटै हामफालेर चिप्लिएर तल पुगी लडीबडी गर्दै कविता लेखिहालूँ । म आफैँमा कति भावुक भएछु कसैले बोलेको केही सुनिनँ । गाडी घ्याच्च रोकियो । ‘फोटो खिच्ने होइन ?’ म झस्किएँ ! उप्रेती सरले ओर्लिएर भन्नुभयो – यो कन्याममा टाढा-टाढाबाट पर्यटकहरू दृश्यावलोकन गर्न आउँछन्, अनि फोटो खिचेर सम्झनास्वरूप क्यामेरामा कैद गरी जान्छन् । परैबाट ठुलो पहेँलो अङ्ग्रेजी शब्दले लेखिएको थियो – कन्याम । फोटो खिच्ने र दृश्यावलोकन गर्ने धेरै भिड थियो । हामी पनि गएर फोटो खिच्यौँ । एकछिन प्राकृतिसँग मोहित हुँदै अगाडिको गन्तव्यतिर लाग्यौँ ।
हलुका उकालो, ओरालो, घुम्ती बाटो पार गर्दै जाँदै थियौँ । मणिपुर पनि पहाडी क्षेत्र हो, तर सधैँ देखिरहेकाले होला आँखाले, मनले उति महत्त्व नदिएको हो कि के ! यहाँ ती अग्ला, होचा हरिया भरिया दृश्यले आकर्षित गराइरहेको थियो । अग्ला-अग्ला डाँडाहरूले आकाश चुम्लाजस्तै देखिने यताउता हेर्दा । धरतीमाताको देन कस्तो विचित्रको! न कसैले छर्न, रोप्न, गोड्न पऱ्यो आफैँ उत्पत्ति भएर जीवआत्माको रक्षा गरिदिएको धरतीमाताले । म घरी दायाँ, बायाँ, अगाडि हेर्नमा व्यस्त थिएँ । उप्रेती सर भन्नुहुँदै थियो – छिपीटार, यहाँबाट सूर्योदय उदाएको हेर्न जान्छन् श्रीअन्तु भन्ने ठाउँमा । साह्रै चर्चित छ रे यो ठाउँ । इलामको एउटा इज्जतै हो रे यो ठाउँ ।
फिक्कल पुगियो । केही पुरानो घर, केही नयाँ घर बनेका र बन्दै गरेको । पहाडमा सजिएर बसेको बजार । दाहिनेतिर पशुपतिनगर जाने बाटो । पशुपतिनगर हुँदै दार्जीलिङ जाने बाटो । खोला खोल्साले भाषाभाषीलाई छुटाएको सिमानाले ।
विक्रम लिम्बुले गाडी विवेक होटलको अगाडि रोक्दै भने – यहाँ चिया खाजा खाँदा हुन्छ । सबै गाडीबाट ओर्लिए । हामी तीनै जना भित्र पसी चिया नास्ता गऱ्यौँ । एकछिन प्रकृतिसित भुल्दै थियौँ, चालक भाइले सबै पेसेन्जर बसिसके जाऔँ भने । गाडीले तेज रफ्तार लिँदै थियो तर विक्रम भाइ हामीले सोधेको जबाफ नझर्की राम्रोसित दिनुहुँदै थियो ।
हामीले पछाडि छोडेको रोड, गाउँ सूर्योदय नगरपालिका पर्दो रहेछ । त्योभन्दा पहिले रोङ गाउँपालिका । आइतबारे, माथ्लोगोदक, बाह्र गोलाई, तल्लो गोदक गर्दै गाडी अगाडि बढ्दै थियो । एउटा डाँडाबाट अर्को डाँडा सर्दै गाडी कुदिरहेको । एउटा खोला देखाउँदै उप्रेती सरले भन्नुभयो – यो माईखोला हो । यहाँ धेरै भासिएर बगेको देखेँ यसलाई । तल झापामा यही खोलो धेरै क्षेत्रमा फैलिएर बगेको देखेको थिएँ मैले । त्यही अलिक अगाडिबाट झापा जाने छोटो बाटो बनिरहेको छ भन्ने जानकारी भयो । बाटो बनिसकेपछि इलाम जान धेरै समय लाग्दैन होला । अगाडि पुल तरेपछि हाइड्रो पावर खसालिएको ठुला-ठुला पाइप टाडैबाट देखिँदै थियो । इलाममा लुम्बक एयरपोर्ट बनिएको छ तर अहिले चालु भएको छैन भन्ने जानकारी भयो उप्रेती सरबाट ।
झापा छोडेपछि मैले कतै समतल भूमि देखिनँ । डाँडैडाँडा कति डाँडा हामफाल्दै गाडी अगाडि लम्कियो थाहा नै भएन । वल्लो डाँडाबाट अघि आएको बाटो हेर्दा एउटा लामो डोरीले गोरेटो बनाउँदै आएको जस्तो लाग्ने ।
निकै उकालो पार गरेपछि इलाम बजार आयो । राधेश्याम लेकाली सरले पठाउनुभएको थियो ग्रीन सिटी गेस्ट हाउस र मेडम शारदा उप्रेतीको सम्पर्क नम्बर । मेची खोला तरेपछि मोबाइल काम गर्न छोडिहालेको थियो । उप्रेती सरले ग्रीन सिटी गेस्ट हाउसको अगाडि गाडी रोक्न लगाउनुभयो । मेडम शारदा उप्रेतीसँग बाहिरै भेट भयो । नन्दु सरले हजुरको पाहुना भन्दै परिचय गराउनुभयो । त्यहाँ मान्छे पूरा भएकाले होटल न्यु पोखरेली बन्दोबस्त भएको जानकारी पाइयो ।
होटल न्यु पोखरेलीका महाजन याम काफ्ले । धेरै मिलनसार, शान्त मिजाजको हुनुहुँदो रहेछ । उहाँले खदा ओडाएर स्वागत जनाउनुभयो । उहाँले एउटा सिमकार्ड दिँदै भन्नुभयो – अब घरमा फोन गर्नुहोला, घरका मान्छे इलाम पुगेको खबर सुनेर कति खुसी र ढुक्क हुनेछन् । हामी एकछिन विश्रामपछि घुम्ने विचारले बाहिर गयौँ । बाटामा सिक्किम र दार्जीलिङका साथीहरूसित भेट भयो । धेरै पाहुनाहरू आइपुग्नुभएको रहेनछ । साँझमा उप्रेती सर मेरो इलाममा तपाईँहरूलाई हार्दिक स्वागत भन्दै आइपुग्नुभो । धेरै खुसी लाग्यो । हामीले एकैठाउँ खाना खायौँ । दार्जीलिङबाट आउनुभएका केही साथीहरू पनि हुनुहुन्थ्यो ।
भोलिपल्ट बिहानै प्रातः भ्रमणको कार्यक्रम रहेको थियो । प्राज्ञ नन्दु उप्रेतीले ठुलो टुँडिखेल, आधा शताब्दीभन्दा पनि पहिल्यै स्थापित श्री महेन्द्ररत्न महाविद्यालय परिसरभित्र गएर धेरै जानकारी गराउनुभयो । घुम्दै जाँदा इलामको चियाबारी पनि हेरियो । तस्बिरहरू खिचियो रमाउँदै चियाका बुट्टाहरूलाई अङ्गालो हालेर । कवि/निबन्धकार विष्णु नवीनको सालिक रहेछ चियाबारीबिचैमा । उप्रेती सरले नवीनका बारेमा पनि जानकारी गराउनुभयो । उहाँ अब्बल दर्जाको हास्यव्यङ्ग्यकार हुनुहुन्थ्यो रे ।
दस बजेतिर इलाम सिटीमार्ट सभाकक्ष होलमा पुगियो । साँढे दसतिर दीप प्रज्वलन र राष्ट्रिय गानद्वारा कार्यक्रम शुभारम्भ भयो । वरिष्ठ साहित्यकार डा. गार्गी शर्माको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता इलाम नगरपालिका साहित्य कला, सङ्गीत प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले गर्नुभयो । कार्यक्रममा सम्मेलनका उपाध्यक्ष तथा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली रहनुभएको थियो । विशेष अतिथिमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाली साहित्य सम्मेलन दार्जीलिङका पूर्व संयोजक प्रेम प्रधान, भारतीय नेपाली नारी साहित्य मञ्चकी अध्यक्ष वरिष्ठ साहित्यकार विन्ध्या सुब्बा दार्जीलिङबाट हुनुहुन्थ्यो । अझ धेरै सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मञ्चका अतिथि र निम्त्याएका अतिथिहरूलाई माला लगाई, दुनामा इलामको सिलाम, इलामकै ललिपोप, इलाममै बनाइएको दूधको खुवा र छुर्पी दिनुभएको थियो । मञ्चको अगाडि एउटा टेबलमा इलामको प्रसिद्ध अम्रिसो, अकबरे, अलैँची, अदुवा र ओलन सजाएर राखिएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा कार्यपत्र प्रस्तुत भएको थियो । पहिला प्रमोद प्रधानज्यूले पर्यटक प्रवर्द्धनमा साहित्यको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । साथै प्रा.डा. सावित्री कक्षपति मल्लज्यूले टिप्पणी राख्नुभएको थियो । यसै गरी वरिष्ठ नियात्राकार युवाराज नयाँघरेज्यूले यात्रा स्वभाव, भाका र भाषा शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि वरिष्ठ नियात्राकार एवं साहित्यिक पत्रकार रामप्रसाद पन्तज्यूले टिप्पणी गर्नुभएको थियो । साहित्यकार डा. देवी छेत्री दुलालजयूले पर्यटकको विषयमा साहित्यको भूमिका शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस कार्यपत्रमाथि साहित्यकार चन्द्र भण्डारीज्यूको टिप्पणी रहेको थियो ।
भारतको गुवाहाटीबाट गएकी चर्चित नृत्याङ्गना कृष्णा छेत्रीज्यू ओडिसी नृत्य अति सुन्दर ढङ्गले प्रस्तुत गरेकी थिइन् । कृष्णा छेत्री, इलामका गायक नन्दकुमार श्रेष्ट र चित्रकार प्रेम खवासलाई नगदराशी र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नेपालको विभिन्न क्षेत्रबाट, पाल्नुभएका कवि, दार्जीलिङ, सिक्किम, सिलगढी, मणिपुर, असम, कोलकाता, क्यानबेरा, अस्ट्रेलिया, अमेरिकाबाट पाल्नुभएका वरिष्ठ कविहरूको कविता वाचनले होल तालीले गुन्जिएको थियो । एक सय बढी साहित्यकारहरूले सम्मेलनमा भाग लिएका थिए ।
आयोजना गरिएको दुई दिने अन्तर्देशीय इलाम पर्यटन मैत्री साहित्य सम्मेलनमा आठ बुँदे घोषणापत्र समेत जारी गरिएको थियो ।
पहिलो दिनको अन्तमा प्रसिद्ध गायक नारायण गोपालको स्मृति दिवस साँझको आयोजना गरेर गीत एवं नृत्य सहिहतको विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत भयो । आहा ! कति सुन्दर संयोजन !
पाँच तारिख यानी भोलिपल्ट इलामको दर्शनीय स्थलको भ्रमण गर्दै, चियाबारीमा आएर आगो ताप्दै कवितावाचनको कार्यक्रम राखिएको थियो । तेस्रो दिन जहाँबाट सूर्योदय उदाउने ठाउँ श्रीअन्तु जाने कार्यक्रम रहेको सुनियो ।
भोलिपल्ट बिहानै वसन्ती मेडमलाई पानीट्याङ्कीबाट फोन आएछ र मलाई भन्नुभयो – हजुर बस्नुहोस् मलाई पानीट्याङ्की जानुपर्ने भयो । म दङ्ग परेँ! यति टाढाबाट साथमा आएको कसरी साथ छोड्नु ? भनिन्छ नि, गाँस छोड्नु, साथ न छोड्नु । आज दुई बजेसम्म माइपोखरीसम्म दर्शन गरेर दुई बजेतिर पानीट्याङ्की जाने सल्लाह भयो ।
छिटो-तयार भई होटल तल झरियो माईपोखरी जाने उत्साह बोकेर । बुझ्दा खाना खाएर निस्कने पो कुरा रहेछ । पर्खँदा-पर्खँदा बाह्र बजेसम्म पनि गाडी नआएकाले हामी नजाने भयौँ । आफैँलाई लाज पनि लाग्दै थियो । सबैसित क्षमा माग्दै हामी त्यहाँबाट बिदा भयौँ । सामान तयार गरी गाडी बन्दोबस्त गर्दै थियौँ । उप्रेती सर पनि आफ्नो सुटकेस लिएर त्यही आइपुग्नुभयो । उहाँलाई पनि काठमाडौँ फर्किहाल्नुपर्ने विशेष काम परेछ । इलाम जाँदा पनि चारआलीबाट हामी नै तीन जना थियौँ र आउँदा पनि चारआलीसम्म हामी तीनै जना भयौँ ।
इलामका दर्शनीय कति स्थलको अवलोकन गर्न नभ्याएकोमा अहिलेसम्म मनमा पछुतो लागिरहेको छ । भन्न मन लागेको छ –
सुन्दर मेरो पितृभूमि इलाम कुनै दिन अवश्य आउनेछु
मनका रहरका कुण्डहरू भरिने गरी भेट्नेछु,
हृदयको गहिराइभित्र जागिरहेको तिम्रो मायाको प्यास मेट्नेछु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।