Chovar Blues Mobile Size

बोझिलो, निरसिलो, बिरक्तिएको समयमा पीडाको पहाड बोकेर जीवनगति हाँक्दै गर्दा यात्राका क्रममा यिनै अक्षरहरूलाई साथी बनाएर मनका भावनाहरू शब्दको माध्यमबाट पोख्ने गर्थेँ । सुनिदिने कोही थिएनन् तर पनि दुःखद होस् वा सुखद मेरा आफ्ना प्रिय यिनै थिए, यिनैसँग खेल्थेँ, रमाउने गर्थेँ । आँसु झर्दा फेरि त्यही कलम समाउने गर्थेँ । यसरी दिनहरू बितेका थिए ।
अक्षरसँग खेल्न रुचाउने भएका कारणले होला हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष गजलकार पुष्प अधिकारी अञ्जलिजीले मलाई १०९ औँ अन्ताराष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरिएको साहित्यिक कार्यक्रममा निमन्त्रणा गर्नुभयो । २०७५ साल फागुन २५ को उक्त कार्यक्रममा गएको समयमा मेरो लोक साहित्यकार श्यामबहादुर भावुकसँग पल्लव साहित्य प्रतिष्ठान र लायन्स क्लब अफ चितवनका अध्यक्ष गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने) दाजुको घरमा भेट भयो । गोर्खे साइँलो दाजुले भावुकसँग परिचय गराउनुभएको थियो । त्यहीँ एउटा सामूहिक तस्बिर खिचेर फोन नम्बर आदानप्रदान गरी मेरो गजलसङ्ग्रह जून हराएको रात दिएर म सबैसँग बिदा मागी काठमाडौँ फर्केकी थिएँ ।

कल्पना पौडेल “जिज्ञासु”

त्यो भेटमा भावुकजीले सामान्य रूपमा कल्पनाजी म हजुरका बारेमा केही लेख्ने अनुमति चाहन्छु भन्नुभएको थियो तर म अलि हतारमा हुँदा यति जिज्ञासु भए पनि बढी चासो देखाइनँ । एक दिन दिउँसोको समय थियो । चितवनको ल्यान्ड लाईन नम्बरबाट फोन आयो । नयाँ नम्बर थियो । कसले गऱ्यो होला भन्दै फोन उठाएँ । फोन भावुकजीको रहेछ । उहाँले मेरो जीवनी गीति काव्यका रूपमा लेख्ने कुरा गर्नुभयो । त्यसका लागि अलि बढी समय लाग्ने थियो । मेरो जीवनकथा सुनाउनका लागि फोनमा त्यति सम्भव होलाजस्तो लागेन । यसका लागि भेट्न ठिक सम्झेँ । मेरो चितवन जाने काम पनि परेको हुँदा उतै भेट्ने कुरा गरियो । त्यसै बेला उहाँले मलाई सोध्नुभयो– हजुर गीत गाउन सक्नुहुन्छ ? मैले आजसम्म लेख्ने मात्र गरेको छु, गाउने ठुलो रहर छ तर जान्दिनँ । सक्दिनँ होला । स्वर राम्रो छैन भन्दा भावुकजीले गीत गाउन सिकाउने र त्यो निकै राम्रो अवसर हुनाले यो अवसर गुमाउन नहुने कुरा प्रस्ट्याउनुभयो । त्यतिन्जेल मैले अशोक सुवेदीजीको नाम सुनेकी र चिनेकी पनि थिइनँ ।
म भरतपुर गएँ । भावुकजीसँग भेटेँ । मैले गाउनुपर्ने गीत दिँदै गाउने लय सिकाउनुभयो । मेरो जीवनका केही कुरा भनेर म गैँडाकोट फर्केँ । ती गीतहरू अशोक सुवेदीजीको जीवनीमा आधारित थिए जुन काव्य कवि भावुकले लेख्नुभएको थियो । गीत पढेपछि सुवेदीजी प्रगतिवादी व्यक्ति र विचारमा कम्युनिस्ट विचारधाराको हुनुहुन्छ भन्ने अनुमान गरेँ । म पनि सानैदेखि यस्तै विचारमा हुर्केको र सङ्गठनमा रहेर काम गरेकाले हुन सक्छ कमरेड अशोक सुवेदीका बारेमा लेखिएको गीत गाउन पाउनु मेरा लागि धेरै गौरवको क्षण हुने महसुस गरेँ । म गैँडाकोटमै थिएँ । दुई दिनपछि अशोकजीले फोन गर्नुभयो र रामेछाप यात्रामा जाने र गीत गाउने पक्का गर्नुभयो ।
रामेछाप मेरो पहिलो यात्रा, त्यो पनि तीन दिनको कार्यक्रम । म एकदमै उत्साहित थिएँ । जाने दिन नजिकिँदै थियो । चैत २४ गते काठमाडौँबाट हिँड्नु थियो । कति जना जाने, को-को जाने, कार्यक्रम के-के हुन्छ भन्ने जानकारी मलाई थिएन । भावुकजीले गीत गाउनुपर्छ । छायाङ्कन पनि हुन्छ । सारी लगाउनुपर्छ । लिएर जानुहोला मात्र भन्नुभएको थियो म काठमाडौँ फर्केलगत्तै मुहार पुस्तिकामा अशोक सुवेदी सर्च गरेँ । कहिल्यै फोटो पनि नदेखेकी मैले उहाँको प्रगतिवादी विचारका आधारमा चिनेँ र मित्रताका लागि आग्रह पठाएँ । हाम्रा धेरै साथी साझा हुनुहुन्थ्यो । झन् खुसी भएँ र म्यासेज पनि गरेँ । म एक सामान्य नचिनेकी महिला र पनि उहाँले जबाफ फर्काउनुभयो । उहाँको मिलनसार सामाजिक विचारको परिचय दिनुभयो । फोनमा तीनपटक कुरा भएको थियो । बोलीचालीमा विनम्रता थियो । खै वर्गीय विचारले हो कि कुरा गर्दा सजिलो र आफ्नोपन महसुस गरेँ । त्यो अनुभूति भावुकजीसँग भेट्दा भएको थिएन ।
चैत २४ गते गाडी चढ्न बिहान ८:३० मा डिल्लीबजार अथवा ९ बजे कोटेश्वर पुग्दा हुने भएकाले म सिधै कोटेश्वर जाने बसमा चढेँ र तोकिएको समयमै कोटेश्वर पुगेर भावुकजीलाई सम्पर्क गरेँ । उहाँले जडीबुटीमा पर्खेर बस्नू भन्नुभयो । केही समयमै बस आइपुग्यो । बसभित्र छिर्दै थिएँ, अशोकजीसँग भावुकजीले परिचय गराउनुभयो । नमस्कार आदानप्रदान भयो ।
सबै जना जम्मा भए । कसैलाई नचिनेकाले अलि असजिलो महसुस भइरहेको थियो । रामेछापका लागि अशोकजीले रिजर्भ गर्नुभएको रहेछ बस । बस छुट्यो । नयाँ ठाउँको यात्रा । सबै अपरिचित यात्रु । म दिक्क मान्छु होला भनेर बेला-बेलामा भावुकजी नजिकै आएर बोल्ने गर्नुहुन्थ्यो । हामी काठमाडौँ, भक्तपुर कटेर काभ्रेका धुलिखेल, भकुन्डेबेँसी, सिन्धुलीका नेपालथोक, दुम्जा, रातमाटा, खाल्टे हुँदै ४ बजे खुर्कोट पुग्यौँ । बिच-बिचमा हामी सबै यात्रु बसबाट झरेर सामूहिक तस्बिर पनि खिच्यौँ । सिमसिम पानी परिरहेको थियो । त्यसै क्रममा एक जना मित्र छुट्नुभएछ । लगभग डेढ किलोमिटर टाढा पुगेपछि थाहा भयो । उहाँ हिँडेर बससम्म आउन्जेल पर्ख्यौँ । पछि चिनजानपछि थाहा पाएँ उहाँ पत्रकार एवं गजलकार रणबहादुर विक हुनुहुँदो रहेछ ।
खुर्कोटमा बस रोकियो । नास्ता खान सबै जना यताउता लाग्नुभयो । मन मिल्दो साथी छैन । एक्लै के खानु ? भोक असाध्यै लागेको थियो । साँच्चै भन्नुपर्दा यात्रामा बाहिरको खाना त्यति खाने बानी छैन । मसँग हिँड्ने धेरै साथीहरूको गुनासो पनि रहन्छ– योसँग हिँड्यो भने भोकै परिन्छ तर म अरूलाई खानू भन्छु, म खान्नँ । साथीलाई भोकै त पार्दिनँ । त्यहाँ पनि त्यही भयो । बरु फलफूल खान्छु, भोक मार्नु त हो भन्दै अङ्गुर किनेँ । त्यही पसलमा प्लास्टिकसँग पखालिदिनू भनेँ । पसलेले प्लास्टिकभित्र पानी भरेर दियो । हातले पुछ्दै २–४ दाना के खाएकी थिएँ, भावुकजी र कलाकार–गजलकार इन्द्रजीत शर्मा चौलागाईँ नजिक आउनुभयो । इन्द्रजीतजीसँग परिचय गर्दै अङ्गुर खान अनुरोध गरेँ । उहाँहरूले केही खाँदै गरेपछि झल्याँस्स सम्झेर भनिहालिछु– ओहो अङ्गुर ट्वाइलेटको पानीले त धोएर दिएन ? मलाई असाध्यै घिन लाग्ने हुँदा बाहिर खान्नँ । मेरो कुरा सुनेर भावुकजीले मजाकमै भन्नुभयो– अब अरू केही बोले प्वाक्क मुखमा हान्छु यिनै अङ्गुरले भन्नुभयो । इन्द्रजीतजी अङ्गुर सुँघ्न थाल्नुभयो ‘पिसाबको गन्ध त आएको छैन नि’ भन्दै । एकछिन हाँसो भयो । एकअर्काबिच अलि नजिकबाट चिनजान गरियो र फेरि लागियो रामेछापतर्फ ।
तामाकोसी, सुनकोसी नदीको किनारैकिनार हुँदै बस गुडिरहेको छ । म नदीको गहिराइभन्दा गहिरिएर भावनामा डुब्दै छु । सङ्गीतको मीठो धुनसँगै म कल्पनामा बहकिन्छु र गुनगुनाउन थाल्छु आफ्नै गजल सेरहरू :
तिमी र म मात्र हुन पाए प्रेम कहानीमा
कति खुसी हुन्थ्यौँ होला जिन्दगानीमा
आँखाभरि तिम्रै तस्बिर धड्कनमा छ तिम्रै नाउँ
यादमा तिमी नआइदिने कहाँ होला त्यस्तो ठाउँ ?
बस उकालो लाग्छ । घुमाउरो बाटो, डाँडाकाँडा, हरियाली, सलल बगेकी गङ्गाजी । प्राकृतिक सुन्दरताले भरिपूर्ण छ वातावरण । मनमा चञ्चलता जागेको छ । कसैको साथको कमी, कता-कता एक्लोपनको पनि महसुस गर्दै सम्झिन पुगेँ काल्पनिक सहयात्रीलाई अनि फुऱ्यो अर्को गजल :
प्रकृतिलाई जिउने एउटा आधार बनाएर
यतै बसाइँ सारूँ लाग्यो घरबार बनाएर
केही तिम्रा, केही मेरा सपना ती पूरा गरी
बाँचौँ सँगै प्रेमिल आफ्नै संसार बनाएर
यो यात्राको प्रमुख नायक कमरेड अशोक सुवेदी हुनुहुन्छ । बाबाआमाका नाममा साहित्यिक प्रतिष्ठान नै बनाएर १३ वर्षदेखि लगातार यसै गरी साथीहरू भेला पारेर जन्मथलोसम्म पुऱ्याउँदै आउनुभएको छ । मलाई यो यात्रामा सामेल गराउने व्यक्ति श्याम भावुकजी मेरो पथप्रदर्शकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ । म प्रकृतिको सौन्दर्यपान गरेर आनन्दित बनिरहेकी छु ।
कल्पना र आफ्नै काल्पनिक दुनियाँमा हराउँदाहराउँदै साँझको ५ बज्न थालेछ । लौ भँगेरी पनि आइपुगियो । अब केही बेर यहाँ कार्यक्रम हुन्छ भन्दै भावुकजीले मलाई झस्काउनुभयो । हामी सबै जना बसबाट ओर्लियौँ । कार्यक्रमका बारेमा म अनभिज्ञ नै थिएँ । भावुकजीलाई लागेको रहेछ म सामान्यतया गीत गाउन मात्र आएकी थिएँ । जुन उद्देश्यका लागि अशोकजीले यस्ता कार्यक्रमहरू गर्दै आउनुभएको थियो, यी मेरा लागि कति महत्त्वपूर्ण थिए । भँगेरी वीर सहिद गङ्गालाल र नेकपाका संस्थापक कमरेड पुष्पलालको जन्मथलो थियो । अझै यो वर्ष गङ्गालाल जन्मेको १०० वर्ष पुगेकामा उहाँको जन्मशताब्दी दिवस पनि मनाउनेक्रममा रहेछौँ । यति ऐतिहासिक र पवित्र स्थलमा अशोकजीको नेतृत्वमा वरिष्ठ व्यक्तित्व, कम्युनिस्ट नेताहरू, समाजसेवी, साहित्यकार, लोककृष्ण भट्टराई, सावित्री अधिकारी, रामबहादुर भण्डारी, अग्निराज पौडेल, श्यामबहादुर भावुक, नरेन्द्रजङ्ग पिटर, कमल बुढा इमानदार, रसुवाली कवि, हरि गौतम, इन्द्रजीत चौलागाईँ, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, विष्णुमाया पौडेल, पुरुषोत्तम कोइराला, रणबहादुर विक, मन्जु भाट, शिव आचार्य, अधिवक्ता विश्वम्भर लामिछाने, विदुर वस्तीलगायत अन्य अग्रजहरू उपस्थित कार्यक्रममा उहाँहरूसँगै सहभागिता जनाउन पाउनु मेरा लागि ठुलो अवसर थियो । खुसीको कुरा थियो भने देश र जनताका लागि लड्दै सहिद बनेका वीर सपुतहरूको जन्मथलो देखेर साह्रै भावुक भएँ । जुन व्यवस्था ल्याउने सपना बुनेर तिनले ज्यान गुमाए आज त्यही कम्युनिस्ट नाउँको सरकार छ तर सहिदको जन्मस्थलको अवस्था अत्यन्तै अव्यवस्थित र उपेक्षित रहेछ ।
यस्तैमा कमरेड अशोक सुवेदीको पहल, लगानी र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको ब्यानरमा धेरै टाढादेखि ठुलो दुःखकष्ट र सङ्घर्षले ढुङ्गा ल्याएर ६ वर्षअघि गुल्मीका ललिकर्मी तकलानरेन्द्रप्रसाद भण्डारीको सिपमा गङ्गालाल–पुष्पलालको सालिक निर्माण भएको रहेछ र विगत १३ वर्षदेखि अशोकजीले बुबाआमाको नाममा स्थापना गर्नुभएको हित–जून साहित्य प्रतिष्ठानले निरन्तर यहाँ गोष्ठी गर्दै आएको रहेछ । यसपटक म पनि सामेल हुने अवसर पाएँ । उक्त कार्यक्रममा सम्पूर्णले आआफ्नो अनुभूति मन्तव्य राख्नुभयो । सहिद गङ्गालालका विषयमा लेखिएको क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठनामक पुस्तक विमोचन गरियो । कार्यक्रम निकै रमाइलो भयो । गङ्गालालको बलिदानदेखि नेकपाको स्थापना हुँदै लोककृष्ण भट्टराई र सावित्रा अधिकारी दिदीको बिहे सहाना प्रधानले गराइदिएको सम्मका परिचर्चा भए । मिठो विगतको स्मरण गर्दै विप्लव नेतृत्वको नेकपालाई अहिलेको केपी ओली–प्रचण्ड सरकारले प्रतिबन्ध लगाएको विषयमा सबैले कडा शब्दमा आलोचना गर्नुभयो । यसरी कसैले गीत, कसैले कविता, कसैले गजल, गीत र कसैले मुक्तक पनि वाचन गर्नुभयो । मैले पनि वीर सहिदको स्मरण गर्दै मुक्तक वाचन गरेँ :
ज्यानको बाजी थाप्दै लडेर पो सहिद भयौ
हाँस्दै–हाँस्दै शुलीमा चढेर पो सहिद भयौ
आलै छ अझैसम्म जमिनमा खुनको टाटा
बहादुरीको छवि छोडी मरेर पो सहिद भयौ
कार्यक्रम सकिएलगत्तै चिया–बिस्कुट खाएर लागियो सिर्जनानगरतर्फ ।
झमक्कै साँझ परेको थियो । लामो यात्रा, घुमाउरो बाटाले होला मलाई एकदम रिँगटा लागिरहेको थियो । एक दिनअघिको एउटा कार्यक्रममा सहभागी हुँदा देखेका र मलाई देखेर बिहानै बसभित्र छिर्नासाथ चिनेर बोलाउने कैलाश खत्रीजीसँग कृषिसम्बन्धी केही कुराकानी गर्दै बाटो काटिरहेका थियौँ । म १२ वर्ष इजरायलमा बसेको र त्यहाँको परिवेश बुझेको आधारमा कृषिसम्बन्धी आफ्ना अनुभव बाँड्दै थिएँ । कैलाशजी धेरै रुचिका साथ थप जिज्ञासा राख्नुहुन्थ्यो यत्तिकैमा उहाँको गन्तव्य आइसकेछ, छुट्टिनुभयो ।
अब हामी सिर्जनानगर आइपुग्यौँ । सिमसिम पानी परिरहेको थियो । बसबाट उत्रेर अशोकजीको घरतिर लाग्यौँ । यतिन्जेल मलाई कुनै अनुमान थिएन– खाने, बस्ने र सुत्ने व्यवस्थाका बारेमा । हामी धेरैजना थियौँ । कहाँ, कसरी व्यवस्थापन गरिएको होला ? बाटामा एक्लै सोचिरहेकी थिएँ । जब घरको आँगनीमा पुग्यौँ हामीलाई हार्दिकताका साथ अशोकजीका बहिनीहरू इन्दिरा, मीरा र उमाले नृत्य र गीतबाट स्वागत गर्नुभयो ।
खाना पाकेर तयार रहेछ । हात धोएर तातो-तातो स्वादिलो खाना खायौँ । ठुलो घर, बिचमा आँगन, आँगनको बिचमा आँप र आरुको रुख । निकै रमणीय ठाउँ लाग्यो, मानौँ कुनै तीर्थस्थलभन्दा कम थिएन । थकाइ लागेको कारण कोठामा पसेर आफ्नो सुत्ने ठाउँ पक्का गरियो । सबै जना भोलि गफ गरौँला भन्दै आफ्नोआफ्नो ठाउँतिर लाग्नुभयो । म फेरि जिज्ञासु न परेँ, केही जिज्ञासाले किन निदाउन सक्थेँ र ? राति धेरै अबेरसम्म अशोकजीकी माइली बहिनी इन्दिराजीसँग दुःखसुखका कुरा गरेर बसियो । यो मेरो पहिलो भेट थियो तर खै किन हामी बर्सौँदेखिका परिचितजस्तै महसुस गरिरहेका थियौँ ।
आज चैत २५ गते । मुख्य कार्यक्रमको दिन । बिहानै उठ्यौँ । चिया पिएर कवि हितप्रसाद उपाध्याय र जूनमाया सुवेदीको सालिकनेर उभिएर केही गीत गाइयो । त्यपछि खाँदबारी जानका लागि निस्कियो । मन्थलीको खाँदबारी त्यो ऐतिहासिक स्थानको नाम रहेछ जहाँ अशोकजीका पुर्खाहरू करिब पाँच सय वर्षअघि गोरखाको धावातान्द्राङबाट काठमाडौँ आई मल्ल राजाहरूलाई रकम तिरेर निर्माण गरेको मन्थलीको एक महत्त्वपूर्ण, ऊर्जावान् र हराभरा फाँट । किसानहरूले मन्थली सानीमदौ निर्माण गरी बडो मेहनतका साथ हराभरा बनाएका फाँटहरूलाई खाँदबारी नाम राखिएको रहेछ । किसानहरूको मेहनतले त्यो फाटँमा पहेँलै धान झुलेपछि सामन्तहरू धान लुट्न आउने र त्यहाँका किसानहरूले पहिलो अशोकजीका जिजुबुबा शिवालाल र त्यसपछि बाजे चन्द्रलाल सुवेदीको नेतृत्वमा सामन्तविरुद्ध लडेको र प्रतिकारमा उत्रिएको ताजा इतिहास रहेछ । अशोकजीका कवि बाबा हितप्रसाद उपाध्यायले पनि खाँदबारीकै रक्षाका लागि सामन्तहरूसँग सङ्घर्ष गर्नुपरेको रहेछ । हितप्रसादसँगै जूनमायाले पनि सामन्तविरुद्ध सङ्घर्ष गर्नुभएको रहेछ । खाँदबारीमा जिम्मलहरूसँग जिजु, बाजे, बाबा र आमापछि अशोकजीले पनि आफ्नै दाजु तेजप्रसाद (श्याम) को अन्याय, अत्याचार, थिचोमिचो सहनुपरेको बर्सौँ भइसकेको रहेछ । अशोकजी यसका विरुद्ध निरन्तर लडिरहनुभएको रहेछ । आफ्नो पुर्खाको नासो जोगाउन उहाँ तल्लीन हुनुहुन्छ तर उहाँका दाजुले स्थानीय वासीलाई किर्ते गरेर जग्गा बेचेका र आफ्नै आमा जूनमाया सुवेदीलाईसमेत सम्पत्तिका लागि मुद्दा हालेकाले श्यामको भूमिका सामन्तीकै जस्तो देखिन्छ । यस विषयमा साहित्यकार अशोक सुवेदीले पुस्तक नै निकाल्नुभएको छ– रामप्रसादको सिसमहल कथासङ्ग्रह र र खाँदबारी, जालसाजी र सङ्घर्ष सत्य इतिहास ।
अशोकजीका बाबा कविका साथै राणा शासनका विरुद्ध मुक्ति सेनामा सामेल भएर लडेको योद्धा पनि हुनुहुँदो रहेछ । आमा सङ्घर्षशील र परिवर्तनकारी भएको कारणले असल बुहारी छान्ने प्रचलन पनि चलाइएको रहेछ । बाबाआमा र अग्रजहरूको सम्मान असल सन्तानले गर्ने कर्तव्य हो । अशोकजीले सानीमदौलाई सिर्जनानगर नामकरण गरेको, बाबाआमाको सालिक निर्माण गरेको र क्रान्तिकारी, श्रमशील पुर्खाहरूको स्मृतिमा ५० फिट अग्लो विद्रोह स्तम्भ निर्माण गरेको कुरा पनि खाँदबारीसम्म पुग्दा हामीले थाहा पाइसकेका थियौँ । रूढिवादी समाजले अग्रजहरूलाई बाँचुन्जले श्रद्धा नगर्ने, अपमान गर्ने तर मृत्युपछि नानाभाँती तामझाम गरेर किरिया र सराद्दे गर्ने कुचलनलाई तोड्दै अशोकजीले सम्मान र श्रद्धाको संस्कार बसाल्नुभएको रहेछ । दसैँ, तिहार, तीज, सङ्क्रान्ति, एकादशी, सराद्धजस्ता परम्परागत प्रचलन तोडेर उहाँले सिङ्गो परिवारले यही चैतको स्मृति दिवसलाई एकीकृत पर्वका रूपमा विकास गरिरहेको रहेछ । चैत २५ गते बाबा कवि हितप्रसाद उपाध्यायको र चैत ४ गते आमा जूनमाया सुवेदीको निधनको दिनलाई मिलाएर चैतको २४, २५ र २६ गते बर्सेनि परिवार, साथीभाइ, स्रष्टा, राजनीतिक पार्टीका नेता, बौद्धिक, कलाकारहरूलाई भेला पार्ने र नयाँ काम गर्ने प्रचलन थालिएको रहेछ । आफूलाई कम्युनिस्ट भन्ने नक्कली कम्युनिस्टहरू अझै पनि पुरातन सामन्ती परम्परा, संस्कार र संस्कृतिमा जकडिरहेको र रुमल्लिइरहेको समयमा यहाँ देखियो साँच्चैको कम्युनिस्टको विचार, शैली र आचरण । हाम्रा नेताहरूले यसको सिको कहिले गर्ने होलान् खै ? मैले मनमनमै गुनेँ ।
हामी ऐतिहासिक थलो खाँदबारी पुगेर यसै विषयमा जानकारी लियौँ । केही गीत गायौँ । किसान पुर्खाहरूको सङ्घर्षका गाथाहरूले भरिएको खाँदबारी, जालसाजी र सङ्घर्ष नामक पुस्तकमाथि विश्वम्भर लामिछानेबाट परिचर्चा भयो । खेतका फाँटहरूमा तस्बिर खिचाएर हामी सिर्जनानगर फर्कियौँ । दिउँसो २ बजेदेखि अन्य कार्यक्रम थिए जसमा मेरो पनि सहभागिता थियो अशोकजीको जीवनी काव्यलाई लयबद्ध ढङ्गबाट गाउनुपर्ने । गीत गाएँ । रेकर्ड पनि गरियो ।
मलाई देशभित्र र विदेशमा यसरी काम गर्ने अवसर पनि मिलेको थियो । त्यतिखेर मलाई कम्युनिस्ट पार्टीभित्र कम्युनिस्ट नीति र प्रगतिशील संस्कृतिअनुरूप काम भएको होला भन्ने लागेको थियो । विदेशको बसाइ सिध्याएर नेपाल फर्केपछि नेपालका सबै कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूसँग घुलमिल हुने मौका पाएँ तर भेटेकामध्ये धेरै व्यक्तिहरूमा मैले पढे, सोचे र अध्ययन गरेअनुरूपको कम्युनिस्ट नीति पाउन सकिनँ । नेपालका कम्युनिस्ट पार्टीहरूले मार्क्स, एड्गेल्स, लेनिन, स्टालिन र माओका नाममा जनतालाई झुक्याउन खोजिरहेका त होइनन् भन्ने कौतुहल जाग्यो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको पनि झन्डै सात दशक बित्न लाग्यो तर अहिलेसम्म पनि कम्युनिस्ट पार्टीहरूमा पुँजीवादी चिन्तन हाबी भएको पाइन्छ । बुर्जुवा सोचाइ हुनु, धर्मकर्मबाट मुक्त हुन नसक्नुको कारणले पनि हामी पछि परेका त होइनौँ भन्ने लाग्थ्यो । यस्तै अवस्था रहिरहने हो भने नेपालमा अझै सय वर्षसम्म पनि परिवर्तन आउलाजस्तो लाग्दैन । त्यसैले अब यस विषयमा समीक्षा गर्ने बेला आएको हो कि ? जुन-जुन देशमा कम्युनिस्ट व्यवस्था लागु भए, ती देशमा कम्युनिस्ट नेताहरूले नीति, सिद्धान्त र नीतिभित्र रहेर मार्क्स, एड्गेल्स, लेनिन, स्टालिन र माओको सिद्धान्तलाई अनुसरण गरेका थिए । त्यसकारण ती देशमा सामाजिक परिवर्तन गर्न सफलता मिल्यो । यता हाम्रो देशमा यतिका वर्ष बितिसक्दा पनि हामी जहाँको त्यहीँ छौँ । हामीले सही शिक्षा दिन नसक्नु र आदर्श आचरण प्रस्तुत गर्न नसक्नुको कारणले नयाँ पिँढीमा पनि वितृष्णा जाग्दै गएको छ । हामी बेलैमा सचेत नभई तिनै रूढिवादी परम्परा, धर्म, पुँजीवादी चिन्तन र विलासीको जिन्दगीमा अल्झियौँ भने देशमा सामाजिक परिवर्तन गर्न कसरी सकिएला ? तर मलाई यो ठाउँमा आएर अशोकजीले गरेका कार्यहरू र उहाँका विचारलाई नजिकबाट चिन्ने अवसर पाएपछि एउटा सच्चा कम्युनिस्टमा हुने आचरण र नीति उहाँभित्र केलाउन थालेँ । यहाँका विभिन्न कार्यक्रम हेर्दा इतिहासलाई नजिकबाट छाम्दा तीन दिनको सङ्गतमा उहाँले मार्क्स, एड्गेल्स, लेनिन, स्टालिन र माओको सिद्धान्तलाई अनुसरण गर्न खोजेको पाएँ । उहाँका हरेक कार्यबाट म प्रभावित भएँ र आफूलाई पूर्ण रूपमा कम्युनिस्ट बनाउने प्रयत्नमा जुट्ने मनमनै अठोट पनि गरेँ ।
आज धेरै कार्यक्रम रहेका छन् । अशोकजीले आफ्ना बाबाआमाका नाममा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान र त्यस मातहत हित–जून युद्ध–कला सङ्ग्रहालय बनाउनुभएको रहेछ । त्यसमा प्राचीनकालदेखिका पुराना सामानहरू सङ्कलन गरेर राखिएको देख्न पाइन्छ । माओवादी जनयुद्ध कालका विस्फोटकदेखि सैन्य सामानहरूसमेत जोगाएर राखेको देख्न पाइन्छ । क. पुष्पलालले कम्युनिस्ट घोषणापत्र राख्नुभएको वनारसबाट ल्याइएको टिनको पुरानो बाकस सङ्ग्रहालयमा राख्ने शुभकार्यमा मेरा हातहरू पनि पुग्छन् । त्यो समयसम्म मेरो परिचय सामान्य नै थियो । बाकस राख्ने बेला क. लोककृष्ण भट्टराई, क. नरेन्द्रजङ्ग पिटर, क. रामबहादुर भण्डारीलगायत अन्य अतिथिहरू, अरू वाम घटकका नेताहरू र त्यसैमा म आबद्ध पार्टी राष्ट्रिय जनमोर्चा र मसालका तर्फबाट नेता चित्रबहादुर केसीको प्रतिनिधित्व गर्दै म सामेल भएँ भनेर मैले बोलेँ । यो सुनेर लोककृष्णजीले खुसी हुँदै मसँग हात मिलाउनुभयो । अन्य नेताहरू पनि बल्ल मसँग बोल्ने, नजिक हुने गर्नुभयो र बढी अपनत्व देखाउन थाल्नुभयो । त्यो बेला मलाई आफू राम्रो पार्टीको कार्यकर्ता भएको गौरव महसुस भएको थियो ।
सङ्ग्रहालयको आँगनीमा ‘तोरण’ टाँगीएको छ । पुराना र नयाँ ऐतिहासिक तस्बिरहरू झुन्ड्याइएको छ । प्रदर्शनीमा विभिन्न पुस्तकहरू राखिएका छन् । निकै रमणीय बनाइएको छ अशोकजीले निर्माण गर्दै गरेको आवासीय भवनसहितको सङ्ग्रहालयलाई । केही बेर कोठामा बसेर मनोरञ्जन गरियो । गजलबाट दोहोरी खेलियो । गजलकार इन्द्रजीत शर्मा चौलागाईँ र म प्रेमिल गजल वाचन गरेर सबैको मन जित्नतिर लाग्यौँ । आखिर संसारमा प्रेमभन्दा ठुलो कुरा के नै रहेछ र ? यही प्रेमले असीम खुसी दिन्छ र पीडा पनि । वास्तवमा प्रेम मिठो अनुभूति हो । उमेरमा जोसँग भावना मिल्छ उसैसँग मायापिरती बस्न जान्छ । प्रेम अन्तर्हृदयबाट आफैँ प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आँखाको हेराइले बिस्तारै मुटु छुन थालेपछि, भावनाहरू मिल्दै गएपछि थाहै नपाई प्रेम बस्तो रहेछ । तसर्थ प्रेम स्वतःस्फूर्त भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रूपले सञ्चारित हुँदो रहेछ । साँचो प्रेम आफैँ हुन्छ किनकि यो स्वाभाविक र भावनात्मक हुन्छ तर आजभोलि प्रेम फेसन हुन थालेको छ जुन अत्यन्तै घृणित एवं निम्नस्तरको घटिया काम हो । आजभोलि प्रेमलाई पैसाको आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेराभन्दा बाहिरै हुन्छ । प्रेम भन्नु नै दुई आत्माको मिलन हो । त्यही मिलनबाट नै प्रेमको बीजाङ्कुरण भई मायाको टुसा पलाउँछ । कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन । साँचो प्रेमले त्याग खोज्छ । त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो ।
रेडियो नेपालका मच्छेश्वर सापकोटा निकै रोमान्टिक हुनुहुँदो रहेछ । हुन पनि किन नहुनु, जमानाका लोक गायक जो पर्नुभयो । मेरो शृङ्गारिक गजल पढेर मुस्कुराउँदै एउटा पुस्तक माग्नुभयो । उहाँलाई मेरो जून हराएको रात दिएँ । निकै खुसी हुनुभयो । नाचगान पनि गरियो । पुरुषोत्तम कोइराला ‘दारी’ जी पनि नाच्नुभयो । दिवाकालीन मनोरञ्जन मजाले गरियो ।
अब अन्य कार्यक्रम सुरु हुन्छन् भन्दै सबै जना तल हित–जून स्मृति हलमा गयौँ । मञ्च सजाइएको थियो । बुबाआमाको तस्बिरमा फूलमाला लगाइएको थियो । मैनबत्तीले उज्यालो पारिएको थियो । हलमा अतिथिहरू र गाउँभरिका आफन्त दर्शकहरूको भव्य उपस्थिति थियो ।
हरेक वर्षझैँ कविता प्रतियोगिता राखिएको रहेछ । सिर्जनानगर साँच्चै साहित्यको खानी नै रहेछ । प्रत्येक घरमा कम्तीमा एक-एक जना कवि रहेछन् । सानासाना भाइबहिनीहरू पनि आआफ्ना कविता बोकेर हलमा उपस्थित हुनुहुन्छ । यो प्रतियोगिताका लागि मलाई निर्णायकमण्डलको जिम्मेवारी सुम्पिनुभयो आयोजकले । एकछिन असजिलो लागेको थियो पछि हाम्रो टोलीमा प्रगतिशील लेखक रसुवाली कवि, गजलकार इन्द्रजीत चौलागाईँ, स्थानीय विनोद सुवेदी र म प्रतियोगितामा वाचित कविता बोकेर अर्को कोठामा गयौँ । कविता सबैका निकै उत्कृष्ट थिए । कसलाई पहिलो, दोस्रो, तेस्रो गर्ने, हामीलाई मूल्याङ्कन गर्न कठिन थियो र पनि उचित मूल्याङ्कन गरियो । कविहरूमाथि पक्कै न्याय गरियो । केही छिनपछि हामी हाम्रो नतिजा लिएर हलमा फर्कियौँ । त्यहाँ सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । मैले पनि केही गजल र मुक्तक वाचन गरेँ ।
अर्को महत्त्वपूर्ण कार्यक्रम रहेछ हरेक वर्ष सोही गाउँबाट असल बुहारी छान्ने र सम्मान गर्ने । यो कार्यले बुहारीहरूलाई हौसला मिल्ने, सासूससुराको अझै राम्रो सम्मान हुने, परिवारलाई मिलाएर, जोडेर, बाँधेर राख्ने काम घरको प्रमुख भूमिका बुहारीको हुने भएकाले अशोकजीले यस्तो उत्तम कार्य गर्दै आइरहनुभएको रहेछ । यसका लागि पनि अशोकजी धन्यवादका पात्र हुनुहुन्छ । यस वर्ष धनमाया भुजेल नाम गरेकी महिला असल बुहारीमा सम्मानित हुनुभयो । ९६ वर्षका दृष्टिविहीन ससुरा र ९० वर्षकी सासूलाई निकै राम्रोसँग सम्मान र इज्जत गर्नुभएकाले उहाँ रु. ५,००० नगदसहित सम्मानपत्र र दोसल्लाले प्रमुख अतिथिको हातबाट सम्मानित हुनुभयो । पुस्तक विमोचनलगायत सम्मान कार्यक्रम, रचना वाचन र प्रतियोगीलाई पुरस्कारलगायत विभिन्न कार्यक्रमहरू सम्पन्न गरिए । हामी यता कार्यक्रममा व्यस्त भएको मौका पारेर मेरा चप्पल राम्रा मान्दै कसैले चिनोका रूपमा लगिदिएछ । मन्थली बजारमा गएर अर्को चप्पल किनेँ ।
कार्यक्रम सकियो । बहिनीहरूले पकाउनुभएको कोइरालोको अचार र खाना खायौँ । आज राति मनोरञ्जनात्मक कार्यक्रम छ । गाउँका धेरै जना दाजुभाइ, दिदीबहिनी उपस्थित हुनुभयो । सुरुमा दोहोरी चल्यो । गायिका बहिनी विष्णुमाया पौडेल र मच्छेश्वर सापकोटाबिच बाबाछोरीको दोहोरीबाट सुरु भएको कार्यक्रम अन्तिममा प्रगतिशील गीतमा पुगेर सबै जना नाच्दै खुब रमाइलोका साथ सम्पन्न गरियो । सबै जना थाकेकाले २ बजेतिर सुत्यौँ र मस्त निदायौँ ।
आज चैत २६ गते काठमाडौँ फर्किनुपर्ने दिन । यतिन्जेलसम्म हामी एकआपसमा राम्रोसँग नजिकिएका थियौँ । सिर्जनानगर, नगरवासी र अशोकजीको परिवारसँग आत्मीयता बढेको छ । छुट्टिने मन नहुँदानहुँदै पनि बिहानको खाना खाएर बुबाआमाको सालिकमा सामूहिक तस्बिर खिचाउँदै लालसलाम ठोकेर बहिनीहरू इन्दिरा र मीरासँग न्यानो अँगालामा बाँधिएर सबैलाई भावुकताका साथ बिदा माग्दै बसमा चढ्यौँ हामी । सिर्जनानगरबाट छुट्टिने बेलामा पनि प्रकृति रोइरहेकी थिइन् । तीन दिनअघि हाम्रो स्वागत गर्न पनि पानी परेको थियो । हामी बिदा हुन लाग्दा पानी परेर प्रकृति नै रोइरहेको झैँ लाग्यो ।

सिमसिम पानी परेको समयमा हामीले मन्थली बजार घुम्दै आकासेमा रहेको तीन लाल सालिकमा सहिदहरूलाई सलाम गऱ्यौँ र काठमाडौँतिर लाग्यौँ । खुर्कोट आइपुगेपछि महान् सहिद आजादको जन्मघरमा पुगेर सहिद आजादका काकाकाकीसँग भेट गऱ्यौँ । सहिद आजादले पञ्चायती निरङ्कुशताका विरुद्ध जनयुद्ध सुरु गर्न तीसको दशकमै तत्कालीन चौथो महाधिवेशनमा प्रस्ताव लग्नुभएको, मोहन विक्रम सिंह तत्कालीन महामन्त्री रहेको बेलामा मसाल पार्टीले  कारबाही गरेपछि विद्रोही र क्रान्तिकारीहरूको केन्द्र निर्माण गर्ने क्रममा सिन्धुलीको भिमानमा मध्यरातमा गिरफ्तार गरी जङ्गलमा पुऱ्याएर पञ्चायती शासकहरूले क्रूरतापूर्वक हत्या गरेको गौरवशाली र क्रान्तिकारी यतिहास कमरेड अशोकले बताउनुभयो । त्यसपछि आजादले खनेको पोखरी अवलोकन गरी हामी फर्कियौँ– बसमा निकै रमाइलो गर्दै र दोहोरी खेल्दै । साँच्चै यो यात्रा निकै अविस्मरणीय थियो मेरा लागि ।

काठमाडौँ आइपुग्नै लागेको छ । अब हामी एक-एक जना गरेर छुट्टिने अवस्थामा छौँ । पीडाबोध हुँदै छ । यति छोटो समयमा हामीमा निकै आत्मीयता कसिएको छ । ‘कति जाती हुन्थ्यो होला बिचमा कुनै बन्धन नभए, छुट्नै मन छैन तिमीसँग रोकिइदे न ए समय’ हामी फेरि भेट्ने वाचा गर्दै कोटेश्वरबाट आआफ्नो गन्तव्यतिर लाग्यौँ मुटुभरिको न्यानो माया बोकेर ।