मोबाइलले म्यासेज आएको सङ्केत दियो ‘बेलायतको भिसा एप्लाई गर्ने भए आफ्नो पासपोर्ट नम्बर र नाम ठेगाना पठाउनुहोला ।’ अन्ताराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको फेसबुक मेसेन्जरबाट । भर्खरै मात्र थाइल्यान्डबाट फर्किएकीले पासपोर्ट थन्क्याउन पनि भ्याएकी थिइनँ, अगाडिको टेबलमै थियो । पासपोर्ट पल्टाएर मागेजति विवरण लेखेर म्यासेज गरिदिहालेँ । कति हतार जवाफ फर्काउनु! अरू साथीहरूले त म्यासेज हेरेका पनि नहोलान् । मलाई भने कत्रो हतार जवाफ दिइहाल्नुपर्ने । आफैँ बेवकुफ बनेजस्तो लाग्यो ।
साथीहरूबिचमा म्यासेजको विषयमा गफ हुन थाल्यो । प्रायः नजिकबाट चिनेका सबैलाई मलाई आएजस्तो म्यासेज आएको रहेछ । एक हप्ता जति यो विषयले हामीबिचमा निकै चर्चा पायो । यहीबिचमा पोखरामा अनेसास नेपाल च्याप्टर र प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा एउटा साहित्यिक कार्यक्रम हुने भयो । हामी एक बस साहित्यकारहरू पोखरालाई गन्तव्य बनाउँदै साहित्यिक यात्रामा निस्कियौँ । एक दिनको कार्यक्रम सकेर गीता रेग्मी, प्रभा बराल र म मुक्तिनाथ दर्शन गरेर फर्किन्छौँ भन्दै साथीहरूसित छुट्टियौँ ।
मुक्तिनाथको दर्शन गरेर हामी काठमाडौँ फर्कँदै थियौँ, कुरिनटार आइपुग्दा मेरो मोबाइलमा मेल आयो सुमल गुरुङको नामबाट । कहिल्यै नबोलेको मान्छे, नचिनेको नाम, को होला भन्ने लागेर मैले मेल खोले । मलाई त बेलायत च्याप्टरले पो भिसाका लागि छानिनुभएको छ भन्दै निमन्त्रणापत्र पठाएको रहेछ । निमन्त्रणापत्र, बस्ने होटलको व्यवस्था र एम्बेसीलाई लेखेको पत्रको कपी सहित आफूलाई भिसा एप्लाई गर भनेर लेखिएको थियो मेलमा । सँगै बसेकी साथी प्रभालाई मेल देखाएँ । मेल पढेपछि गीता र प्रभाले मलाई बधाई दिइहाले । बहिनीहरूको बधाई र मेलले म गद्गद हुँदै काठमाडौँ आइपुगेँ ।
काठमाडौँ आएपछि कसरी भिसा एप्लाई गर्दा भिसा लाग्न सक्तछ भन्ने हेतुले भाइ सुरेन्द्रलाई फोन गरेँ । भाइले आफ्नो साथीको नाम र नम्बर दिँदै सम्पर्क गर्न भने । भाइको साथीले मलाई चाहिने कागजातको लिस्ट पठाइदिए । भिसाको पत्र पाएका साथीहरूको मिटिङ बस्यो । सँगै एप्लाई गरौँ न भन्ने सल्लाह नभएको पनि होइन तर खै के मिलेन साथीहरू आआफ्नै पारामा आआफ्नो चिनजानको कन्सल्टेन्सीको सम्पर्कमा पुग्नुभयो । म पनि के गरूँ गरूँ को अवस्थामा पुगेँ । छोरालाई सबै कुरा बेलीविस्तार लगाएँ । छोराले अनलाइनबाट आफैँ गरिदिने भयो भिसाका लागि सबै काम, म ढुक्क भएँ । भिसालाई चाहिने कागज पत्र बैङ्क ब्यालेन्स सबै छोराले नै गरिदिएर हामी भिसाको फर्म दर्ता गर्न गयौँ । एप्लाई गरेको सत्र दिनमा पासपोर्ट लिन बोलायो । पासपोर्ट लिन जाँदा अलि-अलि कस्तो-कस्तो लागिरहेको थियो देला कि नदेला भिसा भन्दै । खामभित्र पासपोर्ट थियो तर खोलेर हेर्न सकिनँ बाहिर निस्किएँ । छोराले खोलेर हेऱ्यो, भिसा लागेछ । बेलायतको भिसा लागेपछि भाइ कृष्ण नेपालले युरोपको पनि भिसाका लागि कोसिस गर्नू भने । समय कम थियो नर्वेका लागि भिसा एप्लाई गर्न त्यसैले फिनल्यान्डबाट भिसा एप्लाई गरेँ । युरोपका लागि पनि १५ दिनको भिसा लाग्यो । अब विदेशी मुद्रा साट्ने, उपहारका सामान किन्ने र आफूलाई चाहिने लुगा किन्नेजस्ता काम मात्र बाँकी थियो ।
धेरै वर्षपहिले स्कुलको संस्थापक प्रिन्सिपल भएका बेला स्कुलमा धेरै बेलायती नागरिकहरू स्वयंसेवकका रूपमा काम गर्न आएका थिए । त्यही बेलादेखि बेलायत जाने हुटहुटी चलेको थियो तर दिन नआइपुगी केही हुन्न भनेजस्तै म पनि बेलायत जान पाएकी थिइन् । बेलायती शैलीका राणाकालीन दरवार, बेलायतले बनाएका उपनिवेशहरूका कथाले मलाई पनि कस्तो न होला यो देश भनेर जाने चाहना भइरहेको थियो त्यो पूरा भयो ।
हाम्रो उड्ने दिन पनि आयो । साथीहरू आआफ्नै किसिमले जाँदै हुनुहुन्थ्यो । अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, गोरखापत्र संस्थानका सम्पादक श्रीओम श्रेष्ठ रोदन, प्रतीक ढकाल, डा. रेणुका सोलु, डा. शान्तिमाया गिरी, गीता मैनाली लगायत नौ जनाको एउटै जहाज भएकाले हामी सबै एयरपोर्टबाहिर भेला भएर मात्र सँगै भित्र पस्ने सल्लाह भएको थियो । प्रतीक दाजु साँझैमा मेरो घरमा आइसक्नुभएको थियो सँगै निस्कने भनेर । दाजुबहिनी समयमै लाग्यौँ एयरपोर्टतिर । एयरपोर्टमा केही असजिलो भएमा सहयोग गर्ने भनेर दाइका छोरीज्वाइँ आउनुभएको रहेछ त्यहीँ चिनजान भयो ।
सम्मेलनमा विमोचन गर्नुपर्ने पुस्तकहरू र केही अन्य पुस्तक पनि र सम्मेलनलाई चाहिने अरू सामानहरू राधेश्याम दाइले तीनओटा जेब्रा झोलामा हालेर ल्याउनुभएको रहेछ । भित्र पसेपछि जेब्रा झोलालाई प्लास्टिकले बेर्ने पसल बन्द भइसकेको रहेछ झोला मात्र लैजान नदिने भयो एयरलाइन्सको नियमले । अब परेन आपत् सबैको लगेज ब्यागमा अलि-अलि अटेसम्म बाँड्यौ तर पनि सामान बढी भयो । फेरि मेरो घरबाट र डा. शान्ति गिरीको घरबाट एक-एकओटा खाली सुट्केस मगायौँ र त्यसमा हाल्यौ सबै सामान । निकै बेर लाग्यो झन्डै दुई घण्टाजति हामीलाई यो झन्झटबाट पार लाग्न । सबैको बोर्डिङ एकमुस्ट गरे पनि हाम्रो सामानको वजन बढी भएको थियो नै तर प्रतीक दाइको छोरी त्यही काम गर्ने भएकाले मिलाइदिइन् । राति किन आइरहेको भनेर बाहिर दाजुबहिनी नै भएर भनेको हाम्रो बोली फिर्ता लिँदै उनलाई धन्यवाद दियौँ । छोरीज्वाइँ बिदाइको हात जोड्दै बाहिर निस्किए भने हामी लाग्यौँ अध्यागमन अफिसरको अगाडि उभिने लाइनतिर ।
फ्लाई दुबईको इकोनमी क्लास ०२ अगस्ट FZ574 नम्बरको टिकटबाट १ बजे बोर्डिङ गरेर २ बजे म उडेँ २९ नम्बरको सिटमा बसेर । रातिको फ्लाइट भएर हो कि धेरै सिट खाली थिए । गीता मैनाली चुलबुली म त सुत्छु भन्दै तीन जनाको सिटमा लम्पसार परेकी मात्र के थिइन् एयरहोस्टेजले उठाएर आफ्नो सिटमा बस्नू भन्दै पठाइहाले । मेरो छेउमा आइपुगिन् कुम्भकर्णकी कान्छी छोरी गीता मैनाली । बाहिर चुक घोप्टाएजस्तो अँध्यारो छ भने भित्र बोल्ने साथी छैन । दिक्कलाग्दो भयो मेरा लागि यो हवाईयात्रा । बिस्तारै अरू सिटका पनि निदाउन थाले आफू भने रातमा झन् ठुला-ठुला आँखा बनाएर बस्ने लाटोकोसेरा नै हुन पुगेँ । बल्लबल्ल आइपुग्यो दुबईको एयरपोर्ट । हामी जहाजबाट बाहिर निस्कियौँ । टर्मिनल परिवर्तन गर्नु थियो, बस चढेर लाग्यौँ अर्को टर्मिनलतिर । ग्रुपमा हिँडेपछिको रमाइलो नै आफ्नै, हल्लाखल्ला त हो बसमा पनि हामी आफ्नै गफ र फोटोहरू खिच्नमै मस्त भयौँ । लन्डनका लागि प्लेन पर्खिने ठाँउमा पुगेर हाम्रो टोली सुस्तायो । निद्रा नपुगी बिहान भएकाले साथीहरू कोही प्रतीक्षाकक्षकै कुर्सीमा झुम्न थाल्नुभयो । हामी भने नित्यकर्मतिर लाग्यौँ । मुखहात धोएर डिउटी फ्री सपमा के-के छ भनेर घुम्न लाग्यौँ । गीता, रेणु र मैले सामानको दाम सोध्दै हिँड्दै गरेको देखेर कति पसलेहरू रिसाए पनि होलान्, बिहानैबिहान बोहनी बिगारिदिए भन्दै । घुम्न पनि कति घुम्नु ? चियाको तलतल लाग्ने बेला भइसकेको थियो त्यसैले खोजी गरेँ कफीसपको । स्टारबक्सको कफीसप देखिहालेँ । रेणु, गीता, प्रतीक दाइ, शान्ति गिरी र मैले कफी र केक खायौँ । मसित दुई सय दिराम थियो पहिला दुबई बसेका बेला साथमै नेपाल जान्छु भनेर पछि लागेको पैसा त्यही दिराम दुबईमै पुगेर कफी पिउदा काम लाग्यो । कफी पिएर अरू साथीहरू नजिक आएर हामी पनि केही बेर गफिएर बस्यौँ ।
कति चाँडो बित्यो छ घण्टा थाहै भएन । आखिर दुबईको जमिनमा टेकिएका हाम्रा पाइलालाई पेट्रोलले उडाएको चरामा उडेर दुबईलाई छोड्ने समय आइहाल्यो । स्थानीय समयअनुसार १० बजेर ४० मिनेटमा हामी बोर्डिङ जाँचका लागि लाइनमा लाग्यौँ । बोर्डिङ पासको सुरक्षा जाँचमा म लाइनमा सबैभन्दा पछाडि रहेछु । साथीहरू भित्र पसिसकेका थिए तर मलाई रोक्यो । किन रोक्यो थाहा भएन । सिस्टम भन्दै झन्डै १५ मिनेट मलाई त्यहा रोक्यो । पछि आफैँले सोधेँ “किन रोकेको मलाई केही कमजोरी छ र मेरो बोर्डिङ पास र पासपोर्टमा ?” भनेर अनि थाहा भयो म पछिल्लोपल्ट दुबईबाट आफ्नो व्यापार र व्यवसाय बेचेर नेपाल फर्किँदा भिसा क्यान्सिल नै गरेको रहेनछु । त्यसैले मेरो पहिलेको भिसा क्यान्सिल गर्न पो रोकेको रहेछ ।
दुबईबाट इमरेस्टको दुईतले जहाजमा चढेर हामी ११:३५ मा उड्यौँ । सँगै बस्ने त भनेका थियौँ तर बस्ने बेलामा साथीहरू कता पुग्यौँ पुग्यौँ । एफ जोनको ४८ जे नम्बरको सिटमा म पुगेँ । दाहिने झ्यालतिर पैँतिस वर्षको हाराहारीको अफ्रिकनजस्तो देखिने केटा थियो भने देब्रेतिर पनि उस्तै रूपरङ्ग भएकी केटी नै थिइन् । केटी अनुहार हेर्दा २०-२२ वर्षकी जस्ती तर भगवान्ले बनाउन कस्तो कन्जुसाइँ गरेको होला जस्तो लाग्ने उनको जिउडाल थियो । ती केटीलाई देख्दा सम्झिन पुगेँ वरिष्ठ नियात्राकार दाजु प्रतीक ढकाललाई । उहाँले पर्यटन बोर्डको प्राङ्गणमा मलाई भन्नुभएको थियो “मासुको पटुकी तहतह पारेर कसेर बसेकी छौ अनि किन जान सक्छौ त लाङटाङ ?” दाजु आज हेर्नू त यी नानीलाई । बिचरी लाङटाङ त के आफ्नो शरीरमा बेरिएका मासुका पटुकीका कारणले नजिकै भएको शौचालयसम्म पनि जान बढो मुस्किलले हिँडिरहेकी थिइन् । उनको त शरीरको घाँटीमाथिको भाग मात्र सही आकारमा थियो होला घाँटीमुनिको भाग त कुनै सही आकारमा थिएन । शरीरको बनोट देख्दा लाग्दथ्यो यिनका लागि त कुनै पनि रेडिमेट लुगा ठिक नै हुन सक्दैन । राम्री हुने रहर यिनको मनमा पनि कति आउँछ होला तर मासु मात्र थुप्रिएको भद्दा शरीर उफ्… !
यी दुईको बिचमा म त दुई ढुङ्गाबिचमा चेपिएकी तरुल भएकी थिएँ । बोल्ने कुरा पनि भएन यिनीहरूसित अनि अगाडिको स्क्रिन अन गरेँ । जहाज ३७, ९८९ फिटमाथि उडिसकेको रहेछ । आफू त बसेको मात्र हो यो चराभित्र, चरा त ५७८ को स्पिडमा उडिरहेको पो रहेछ । हामीलाई समयमै लन्डन पुऱ्याउँछु भनेर लागिपरेको छ भन्ने लाग्यो । लन्डनमा अहिले कति बजिरहेको छ भनेर मोबाइलमा हेर्नु परेन अगाडिकै स्क्रिनमा आइरहेको थियो । लन्डनमा १० बजेर २० मिनेट जाँदासम्म मैले अगाडिको स्क्रिनमा हेरेँ तर बिस्तारै झ्याउ लाग्न थाल्यो र सुरु गरेँ स्क्रिनमा च्यानल फेरेर हिन्दी गानाहरू हेर्न ।
राम्रो रातो झुम्के टोपी हल्लाउँदै एयर होस्टेजले खानाको मेनु ल्याएर बाँडिन तारे होटलको सेवालाई नै ओझलमा पार्ने गरी । एकातिर अरबीमा लेखिएको थियो भने अर्कातिर अङ्ग्रेजीमा । माथि लेखिएको थियो पेयपदार्थमा के पिउन चाहन्छौँ ?
कोल्ड ड्रिङ्स, चिया, कफी या वाइन, वियर या अरू केही । अल्कोहलिक पेयपदार्थ एयरलाइन्सले दिएको कोटाभन्दा बढी पिउन चाहेमा २ सय एमएलको बिस डलर पर्ने पनि त्यहीँ लेखिएको थियो । आफू त दारु नपिउने ब्राह्मणी जो परेँ अनि मलाई यो मूल्यको कुनै मतलब लाग्ने कुरा पनि भएन ।
लन्चमा कुखुराको मासु, भात, सलाद, एउटा पाउरोटी बम र सानो प्याकेटमा बटर एउटा किस्तीमा दिइन एयरहोस्टेजले । जुस आफूलाई मन लागेको माग्ने त हो पाइनेपल जुस भन्दै मागेँ मैले । एक पेट खानका लागि ठिक्क भयो दिएको खाना । प्रायः सबेको सिटको अगाडिको टेबुलमा खाना रित्तिएका किस्तीले सबैको लन्च खाने काम पनि सकिएको जानकारी दिइरहेको थियो । खाना खाइसकेपछि छेउछाउका फेरि निदाउन थाले ।
दिउसोको खाजा पनि चबाइयो उहीँ पाउरोटीको परिकार त हो । काँक्राको दुई टुक्रा पाउरोटीको बिचमा राखिदिएको रहेछ अनि त्यो भइहाल्यो कुकम्बर स्यान्डविच । कुकम्बर स्यान्डविचसँगै अरेन्ज जुस पनि पिइयो एक ग्लास । खाने काम सकिएपछि फेरि स्क्रिन अन गरेर हेरेँ कहाँ पुगिएछ भन्दै, अहो हामी त अझ माथि पो उक्लेछौँ आकाशमा ३९ हजार ९ सय ९३ फिटमाथि । ब्ल्याक सि (कालो समुद्र ) माथिबाट हाम्रो जहाज उडिरहेको कुरा आफ्नो अगाडिको स्क्रिनमा देखियो । समुद्रमाथि जहाज उडिरहेको थाहा पाउनासाथ मन कता-कता डरायो ।
घरछेउको नहर फुटेर बाटो नै बगाउने गरी पसेको भलमा बगेर मर्नुभएको छिमेकी काकाको मलामी गएर बुबा र हजुरबुबाहरू फर्किएपछि हजुरआमाले भन्नुभएको कुरा मनमा आइहाल्यो ‘आगो र पानीलाई कहिल्यै सामान्य रूपमा लिनु हुँदैन, मान्छे हिँड्ने बाटो त हो नि तरिहाल्दछु भन्ने सोचेर गएको थियो होला ज्यान नै गुमायो बिचराले ।’ बालमस्तिष्कमा बसेको त्यो हजुरआमाको भनाइले म कहिल्यै पनि पौडी खेल्न सकिनँ । मलाई तराईबाट काठमाडौँ आँउदाजाँदा त्रिशूली खोलाका माथि बस दौडँदा पनि खस्ने हो कि खस्ने हो कि जस्तो लागिरहन्थ्यो । त्यही सुषुप्त अवस्थामा रहेको डरले यहाँ पनि आफ्नो उपस्थिति जनाइहाल्यो । जहाजमा केही खराबी भएर बिग्रिएर खस्यो भने सिधै समुद्रीमाछाको सिकार । हुन त समुद्रमा जहाज नखसेको पनि त होइन नि एयर फ्रान्सको कति समाचार आइरहेको थियो भने भर्खरै मलेसियन एयरलाइन्स पनि त समुद्रमै खसेर बेपत्ता भएको छ भन्ने अनुमान गरेका छन् । उफ् ! हाम्रो जहाजले यो ब्लाक सिलाई पार गरिहाले हुने नि जस्तो लाग्यो मनमा । हुन त जाहाज नै बिग्रिएर दुर्घटना नै भएपछि ज्यान बाँच्ने हो र समुद्र होस् कि जमिन रामनाम सत्य भइ त हाल्दछ । उडेको लामो यात्रा अनि दुई अफ्रिकनको बिचमा आफू, हैट कस्तो नरमाइलो यात्रा ! आफ्ना अरू नौ जना साथीहरूमा एक जना पनि छैनन् त्यो जोनमा । पढ्ने किताब पनि सुट्केसमा पऱ्यो क्या बोर । टाढाको देवताभन्दा नजिकको भूत नै काम लाग्दछ परेका बेलामा भनेजस्तै आफ्ना साथीहरू नभएपछि नचिनेकै भए पनि नजिकका सँगै बसेका साथीसितै बोल्नुपऱ्यो जस्तो लाग्यो । आफ्नै परिचय दिएर साथीको नाम सोधेँ ।
क्रिस ओसा म सँगै झ्यालतिरको सिटमा बस्ने पुरुषको नाम रहेछ । महिला त टाउकोसम्मै ओड्नेले छोपेर निदाएकी त होलिन् । मान्छे अफ्रिकनजस्तो देखिए पनि उनको जन्म नै क्यानडामा भएको रहेछ । हिराको बिजनेस गर्ने क्रिस ओसा एक हप्ताअगाडि मात्र दुबई आएका रहेछन् । दुबईबाटै उनी आफ्नो व्यापारकै सिलसिलामा लन्डन हानिएका रहेछन् । बोलीवचनमा साह्रै भद्र स्वभावका भए पनि उनले मेरो झ्यालतिर बस्ने अनुरोधलाई भने स्वीकार गर्नै चाहेनन् । उनले पनि झ्याल खोलेर बाहिर हेरेको भए पनि ल बाहिर हेर्न उनैलाई मन लागेको रहेछ भनेर मनलाई बुझाउँथेँ तर उनले त झ्याल खोल्दै खोलेनन् यात्राभरि नै झ्यालबाट बाहिर हेर्न नपाएर म भने मुरमुरिएँ । एकपल्ट काले ट्वाइलेट जान उठेको थियो, छेउकी केटीलाई उठाउन ज्यादै कठिन भएको थियो । बल्लबल्ल बाहिर निस्किएर बिचरी फेरि फर्किँदा उठ्नुपर्ला भनेर बाटामै उभिरहेकी थिइन् । क्रिस ओसा फर्किएर आएर केटीलाई अनुरोध गरेको सुनेँ “मेरो पेट खराब भयो त्यसैले मलाई उठिरहनुपर्दछ के तिमी मलाई तिम्रो सिटमा बस्न दिन सक्छौ ? म छेउमा बसेँ भने तिमीलाई तकलिफ दिइरहने थिइन कि भनेर अनुरोध गरेको हुँ ।” केटीले हुन्छ भन्न पनि भ्याएकी थिइन म झ्यालतिर सरिहालेँ । भगवान्ले मेरो चाहना पूरा गरिदिएछन् भन्दै । केटीबिचको सिटमा बसिन् र अनुहार छोपिहालिन् । क्या मज्जा मैले झ्याल खोलिहालेँ र बाहिर हेर्न थालेँ । बाहिर त केही छैन बादलमाथि पो रहेछौँ हामी त । जे भए पनि मलाई झ्याल लगाएर बस्न मन लागेन ।
जमिनमा नटेके पनि म्युनिक, डेसेल्डोर्फ, इस्तानबुल, जेनेभा, एसेन नामक जमिनमाथिको आकाशलाई हाम्रो जहाजले आफ्नो बाटो बनाइरहेको अगाडिको स्क्रिनले देखाइरहेको थियो । माथिबाट हेर्दा त यहाँ पनि मानव बस्ती होला र भनेजस्तो छ जमिन र पानी मात्र देखिन्छ । हामी कपासको सेता भुवामाथि छौँ सिनेमामा देखिने स्वर्गकी परीजस्तै । फरक यति छ- परी आफैँ उड्ने र ओर्लने गर्दछिन् भने म जहाजभित्रबाट उडिरहेकी थिएँ ।
एयर होस्टेसले लन्डन आइपुग्यो भनिन् । झ्यालबाहिर हेरेँ तर खै अझै घरहरू त देखिएनन् । निकै बेरपछाडि हावाबाट बिजुली निकाल्ने खम्बाहरू भने देखिए धेरै । यही त होला विकास ।
लन्डन कस्तो होला ? मनमा कल्पना गर्न पुग्दछु । देशको प्रधानमन्त्री जङ्गबहादुर राणा आएर नौ महिनासम्म लगातार बसेको सहर । उनलाई आफ्नो मुलुकको बागडोर सम्हाल्न पनि हतार भएन । अहिलेको जस्तो सामाजिक सञ्जालको समय पनि थिएन जहाँबाट पनि अनलाइन काम गर्न सक्ने । लन्डनमा त्यस्तो के भेट्टाएछन् हाम्रा पूर्वज प्रधानमन्त्रीले त्यही हेर्न आतुर भएकी छु म पनि । हुन त बेलायत घुमेर बेलायतलाई लिपिमा उतारेका किताबहरू पनि त निस्किएकै छन् । केही नभई हाम्रा अग्रज स्रष्टा सुबेदार मेजर शेरसिंह रानाले सय वर्षभन्दा अगाडि यो ठाउँमा घुमेर १९१३ मा नै ‘मेरो लन्डन राजतीलक यात्रा’ नामक पुस्तक नै निकालेका हुन् । पढ्न आएका एक युवक तारानाथ शर्मालाई यो बेलायतले के देखायो र उनी पढ्नलाई थाँती राख्दै बेलायततिरै बरालिन पुगे र नियात्रा विधालाई नै जन्म दिन पुगे । त्यस्तै धेरै अग्रज साहित्यकारहरू बेलायत आएर कलम नचलाएका कहाँ हुन र म पनि सोच्दै छु सबै स्रष्टाहरूलाई पछ्याउँदै के म पनि मनमा लागेका कुरा र देखेका कुरालाई लिपिबद्ध गर्न सकुँला कि !
हुन त म साहित्यिक कार्यक्रमको निम्ता मान्न जाँदै थिएँ बेलायत तर मलाई हतार थियो बेलायत घुम्न । हाम्रो जहाज लन्डनको नजिक-नजिक पुगेको स्क्रिनले त देखायो । मन बेलायत घुमेको कल्पनामा कता-कता पुगिरहेको थियो । मनलाई थुमथुमाउँदै फेरि झयालबाट बाहिर हेर्न थालेँ । बाहिर तराईजस्तै सम्म फाँट देखियो साथै देखिए खेतका गराहरू । पहेँलो बाली लगाएको जस्तो देखियो धान हो कि गहुँ हो माथिबाट के छुट्टिनु ? देशदेशान्तर घुम्नै भनेर त हिँडिएको छ अब बाहिर नै हेर्न ठिक छ । नयाँ-नयाँ कुरा आँखाले देखिन्छ भने त्यो कुरालाई दिमागको सानो खोपडीभित्र सुरक्षित गरेर राखोस् भन्ने चाहना पनि छ । केको खेत होला गहिरिएर हेर्न मन लाग्दछ ठम्याउन सक्दिनँ र पछि अरूलाई सोधुँला भन्दै फोटो खिच्न थाल्दछु म । अहो कति राम्रोलाई नै मिलेका उस्तै घरहरू । साँपजस्तै लमतन्न परेका बाटाहरू घरअगाडि घरपछाडि दुवैतिर पो देखिन्छन् त !
मलाई भन्दा पाइलटलाई हतार परेछ आकाश र जमिनलाई जोड्न । आकाशमा भएको प्लेनलाई पुल बनाउँदै उनीहरूले जमिनसित जोडिहाले । प्लेनको पाङ्ग्राले भुईँ छोयो । प्लेनबाट बाहिर निस्कनासाथ साथीहरू सबै भेटिइहालेँ । फेरि नौ जना नै लामबद्ध हुन पुग्यौ अध्यागमन अफिसरहरूको अगाडि । हाम्रो जहाज त दुईतले थियो भने अरू कति जहाजबाट आएका यात्रुहरू त्यहाँ लामबद्ध भएका थिए । हजारौँ यात्रीको पछाडि लाइनमा लागेर हामी गफ गर्दै अगाडि बढ्यौँ । अध्यागमनका अफिसर बस्ने क्याबिन पनि कति धेरै । झन्डै एक घण्टा नै लाग्यो होला हामीलाई पासपोर्टमा छाप लगाएर निस्कन । सबैले आआफ्नो लगेज बुझिसकेपछि बाहिर निस्कन नै नपाई लन्डनका र हामीभन्दा पहिले लन्डन पुगिसक्नुभएका गोवर्धन पूजा, पदम विश्वकर्मा, डा.पुष्पा शर्मा, प्रकाश माइला र लय प्रसाईँ लगायतका साथीहरू हामीलाई लिन आइसक्नुभएको रहेछ भेट भइहाल्यो । खाँदा लगाइदिएर साथीहरूले गरेको न्यानो स्वागतमा हामी पनि मक्ख परिहाल्यौँ । यताबाट गएका हामी साना-साना गाडीहरूमा बाँडियौँ फेरि । लय प्रसाईँजीको गाडीमा प्रतीक दाइ, गीता, रेणु, कमला र म चढ्यौँ । एयरपोर्टबाट बाहिर निस्किएपछि हामी चिल्लो बाटाबाट सिधै कार्यक्रमस्थालतिर लाग्यौँ । आजको कार्यक्रम सबै साथीहरूबिच परिचय र डिनर सँगै गर्ने भन्ने कुरा रहेछ । “हाम्रो आजको भेटघाट कहाँ राख्नुभएको छ त लयजी ?” “ग्रिनविच बरोमा पर्ने प्लम स्ट्रिडमा छ ।” स्टेरिङ्गमा हात घुमाइरहनुभएको लयजीले पनि छोटो जवाफ दिनुभयो । हामी साँच्चै नै डिनर नै खाने बेलामा डिनर हल भित्र पुग्यौँ । हामी पुग्दा बेलायत च्याप्टरका कोषाध्यक्ष सचिन गुरुङ र महासचिव सन्तोष कार्कीले आफ्नो परिचय दिँदै स्वागत गर्नुभयो ।
खानपिन सकिएपछि कसलाई कसको घरमा बस्ने व्यवस्था मिलाउन युके च्याप्टरका अध्यक्ष सुमल दाइ, सारा भाउजू, लक्ष्मी राई, लय प्रसाईँ, मदन पौडेल र देवयानी शर्मा लगायतका साथीहरूलाई परेको चटारो महसुस मात्र गर्न सकिन्थ्यो । नेपालदेखि नै सँगै बस्ने ल भन्दै आएका हामी प्रतीक ढकाल दाजु, रेणुका सोलु, गीता मैनाली र मलाई भने पोखरा स्थायी घर भएका भाइ मदन पौडेलले आफ्नो घरमा लैजाने जिम्मा लिनुभयो । लयजीको गाडीमै हाम्रो सामानहरू थियो त्यसैले हामी सामान मदनजीको गाडीमा सारेर घरतिर लाग्ने भन्दै बाटामा निस्कियौँ । हामी निस्किँदा बेल्जियमबाट आउनुभएको विमल गिरी दाजुसित भेट भयो । उहाँसित केही बेर कुरा गर्दा नै साथीहरूले सामान सारिसकेछन् । हामी विमलदाजुसित बिदाइको हात जोड्दै मदन भाइको गाडीभित्र पस्यौँ ।
सिङ्गो घरमा मदन भाइ मात्र हुनुहुँदो रहेछ । काठमाडौँमा घर बनाउँदै हुनुहुँदो रहेछ त्यसैले श्रीमती र केटाकेटी काठमाडौँमै रहेको जानकारी गराउनुभयो । दाजुका लागि एउटा कोठा र हामी महिला पार्टीका लागि अर्को कोठामा बिस्तराको व्यवस्था भइहाल्यो । चौबिस घण्टाको यात्राले थाकेका हामी नुहाएर आआफ्नो बिस्तरामा पल्टिहाल्यौँ । लन्डनको पहिलो रात काट्न बिस्तरामा पल्टिए पनि मलाई भने निद्रा परेन र सोच्न थालेँ आखिर म लन्डन त आइपुगेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।