नेपाली साहित्य जगत्‌का प्रख्यात साहित्यकार श्रीमान् महेश पौड्यालसँग रातिपख ह्वाट्यापमा च्याट गरेको क्रमका अडियो म्यासेज पठाउनुभयो, ‘१३-१४ नोभेम्बर २०२१ मा नेपाल-भारतका नेपाली साहित्यकारको साहित्य उत्सव कार्यक्रम सौराहा, चितवनमा हुँदै छ । दुवै देशका गण्यमान्य साहित्यकारको जमगट हुनेछ । तिमी साहित्यमा रुचि राख्ने युवा हौ । यो कार्यक्रमको समन्वय मैले हेर्दै छु । समय मिलाएर आऊ भाइ !’

मेरो खुसीको ठेगाना भएन । विद्यार्थी जीवनबाट नै कविता कोर्न लागे पनि मैले कोरोना कालबाट सक्रिय रूपमा साहित्यमा प्रवेश गरेको थिएँ । यसरी यति चाँडै दुई देशको साहित्यिक कार्यक्रममा निम्तो आउँदा हर्षले पागलै भएँ । उहाँलाई धन्यवाद र आउने रुचि जनाउँदै अडियो म्यासेज गरेँ । झट्टै निदो दिने स्थितिमा थिइनँ । जागिरको छुट्टी नमिलाई निदो दिने कुरो पनि भएन । समस्या के पनि थियो भने, १६ नोभेम्बरमा कान्छा काकाकी छोरीको दिल्लीछेउ मोदीनगरमा विवाह निश्चित भएको थियो । मेरै उपस्थिति र समन्वयले विवाह सम्पन्न हुने आशामा काका-काकी अनि बहिनी बसेका थिए । दसैँ पनि छेउछाउ । बिहे गेरेको आठ वर्षमा पनि म दसैँको टीका थाप्न ससुराली, नेपाल पुगेको थिइनँ । यो वर्ष जाऊँ कि भनेर सोच्दै थिएँ, तर यहीबेला मेरा लागि ठूलो अवसर आउँदा मनमा द्वन्द्व हुन लाग्यो । निर्णय लिन गाह्रो भयो ।

‘सबै परिबन्द मिलाएर हप्ताभरिमा निदो दिन्छु ।’ श्रीमान्‌ महेशज्यूलाई भनेँ ।

मनको ठुलो युद्ध साहित्यले जित्यो । साहित्य अनुरागीलाई साहित्यले जितेन भने साहित्यको उन्नति पनि कसरी होला ! दसैँमा नेपाल जाने कुरा हल्का राखको थिएँ अफिसमा । भोलिपल्ट नै अफिसमा भन्दी हालेँ, ‘म दसैँमा छुट्टी जान्नँ । दसैँतिहारपछि साहित्यिक कार्यक्रमा जाने निम्तो नेपालबाट आएको छ । म त्यही बेला छुट्टी जान्छु ।’

अफिसले ‘हेरौँला’ भन्यो । अफिसमा हेरौँला भनेको स्वीकृतिसमान हुन्छ । श्रीमान्‌ महेशज्यूलाई सहभागी हुने निदो दिएँ । उहाँले औपचारिक रूपमा निम्तो पठाइदिनुभयो ।

आमन्त्रणा पत्र पढ्दा थाहा भयो ‘कविडाँडा साहित्य समाज’ ले नेपालभारत विशेष साहित्य उत्सवको कार्यक्रम आयोजना गरेको रहेछ । मलाई पहिलोचोटि थियो कुनै साहित्यिक संस्थाले यसरी कार्यक्रममा निम्त्याएको । संस्था अध्यक्ष, श्री एल.बी. क्षेत्रीज्यूको नामबाट आमन्त्रणा पठाइएको रहेछ । कवि भनेर सम्बोधित गरेकोमा खुसी लाग्यो ।

जानुभन्दा दुई हप्ता अगाडि टिकट गरेँ । सुसुराली पोखरा हुनाले कार्यक्रमअघि पोखरा अनि हालमै चिनेका काठमाडौँका साहित्यकारलाई भेट्न भाइटीकाको भोलिपल्ट, सात नोभेम्बरमा जाने टिकट गरियो । बिहानको नौ पैँतालिसको गोरखपुरसम्मको हवाई टिकट थियो । म समयमा हवाईअड्डा पुगेँ । जहाज एक घण्टा ढिलो भएको बाटोमै थाहा पाइसकेकाे थिएँ ।

अपराह्ण पाँच पैँतालिस (नेपाल समय) मा भैरवादेखि काठमाडौँका लागि हवाई टिकट थियो । मनमा घण्टी बज्न लाग्छ, भैरवा हवाईअड्डा समयमा पुगिन्छ कि पुगिँदैन ? गोरखपुरबाट भैरवा पुग्न पनि बायरोड झन्डै दुई घण्टा आधा जति लाग्थ्यो ।

नौ पैँतालिसको जहाज एघार बजे उड्यो गोरखपुरका लागि । बादललाई चिर्दै, घामको प्रकाशसँग लड्दै बाह्र पच्चिसमा जहाज भुईँमा बस्यो । उड्नुअघि मनमा बजेको घण्टीको रफ्तार अझ बढ्न लाग्यो जब केबिनक्रुले घोषणा गऱ्यो- ‘गोरखपुरको रनवे एउटा भएको कारणले ट्राफिक छ । यो जहाजलाई एक घण्टापछि मात्र ओर्लिने ठाउँमा लान मिल्छ ।’

‘भैरवादेखिको जहाज पक्कै छोडिने भयो’ मनमा बजेको घण्टीले यही पुकार्न थाल्यो । गोरखपुरमा हुने मेरा परिचित रमेश मिश्राज्यूलाई मेरो यात्राबारे जानकारी दिएको थिएँ अघिल्लो दिन । उहाँले हवाईअड्डामा आउने कुरा गरिसक्नुभएको थियो ।

हुन त मैले यही चाहेको पनि थिएँ । रमेशज्यूको चारचोटि फोन आइसक्यो । निकासमा प्रतीक्षा गरेको जानकारी दिइराख्नुभएकाे हुन्छ । मैले जहाज ढिलो भएको कारण भनिदिएँ । डेढ बज्दा पनि जहाजले केही शुभ सङ्केत दिएन । मन झन् आत्तिन लाग्यो । एक पैँतालिसमा गएर जहाजले भुइँमा पाइला टेक्ने अवसर दियो ।

लगेजका कारण पनि ढिलो हुने सम्भावना थियो । एराइवलमा गएर कुर्न लागेँ । भाग्यवश मेरो ब्याग पाँच मिनटमै आयो । बाहिरिएँ । गेटमा पुलिसले रोकी हाल्यो । हतार परेको बेला यो अवरोधले म झन् आत्तिएँ । ‘कोरोना टेस्ट गर्नुपर्छ’ भन्यो पुलिसले । गर्ने ठाउँमा गएँ । चाँडै गरिदिनलाई अनुरोध गरेँ । चाँडै पनि गरिदिए । भइसकेपछि हाँसो पनि लाग्यो । नेजलबाट सेप्पल लिएको अरे, नाकको दैलोबाट नै सोएब (सुइरो) घुराएको थियो । के टेस्ट गऱ्यो होला त्यो चिकित्सक कर्मचारीले ?

दुइटै हातमा ब्याग अनि काँधमा लेपटप ब्याग भिरेर गेटबाहिर निस्किएँ । रमेशज्यू ठ्याक्कै गेटबाहिर आफ्नै गाडी लिएर कुरिरहनुभएको रहेछ । मेरो अगाडिको यात्राबारे जानकारी भएकाले होला, उहाँले समय नष्ट नगरी सुनौली बोर्डरतिर हाँकिने आफ्नो चालकलाई निर्देश दिनुभयो । गोरखपुर सहर बाहिरिन पनि एक घण्टा लाग्यो । मेरो मनको घण्टी टङटङ गर्दै बज्न लाग्यो । रमेशज्यू अनि उहाँको साथीले पनि मेरो घण्टी सुनिरहेका थिए । चालकको एक अनुरोधले घण्टी बजेको ठाउँमा बाजा नै बजायो । बिहानै केही नखाई ड्युटी हिँडाकाले भोक लाग्यो रे । मैले ‘घुर्दा खानु नि ?’ भन्दा पनि मानेनन् । रमेशज्यूले पनि ‘समयमा पुग्नु हुन्छ, नआत्तिनु रोहितज्यू’ भन्न लाग्नुभयो ।

चिया पसलअघि गाडी थामियो । जलेबी अनि चियाको अर्डर भयो । चियाको एक सुरुप लिएँ, अर्को सुरूप लिन जिब्रोले मानेन । यसै पनि मलाई चियामा रुचि लाग्दैन । पानी र एक केस्रो जलेबी मात्र खाएँ । पन्ध्र मिनटले यहीँ बिदा लिएर गयो ।

मेरा काठमाडौँका साथी दीपकज्यूले धेरैचोटि कल गरिसक्नुभएको थियो । जहाज छुट्छ भन्ने चिन्ता उहाँलाई पनि थियो, तर  ‘आरामले भ्याउनुहुन्छ’ भनी मेरो घण्टीको आवाजलाई मत्थर गर्ने प्रयास गर्नुभयो । बोर्डरबाट भैरवासम्म लाने एक जना साथी खट्याइदिएको जानकारी दिएर फोन नम्बर दिनुभयो । सिमाना छिरेपछि पुलिस चौकीछेउमा भेट्ने कुरा भयो ।

चियापछि सुनौलीका लागि चालकले हावासँग कुरा गराउन लगायो गाडीलाई । चिया पिउन दिएको पनि ठिकै लाग्यो पछि त । चालककै हातमा थियो मेरो गन्तव्यको डोरी । साढे चार बज्यो बोर्डर पुग्दा । सिमाना छिरेँ । कल लागेन । भारतको टावरले काम गर्न छाडेको थियो ।

‘कहाँ जाने ?’, सोध्दै ट्याक्सीवाला आयो । लिने मान्छेलाई कुर्नुभन्दा आफैँ गएको ठिक लाग्यो । भनेको भाडा थपक्कै दिएर ट्याक्सीमा चढेँ । चालकलाई दस मिनटमा पुऱ्याइदिन अनुरोध गरेँ । ‘दस मिनटमा चैँ हैन पन्ध्र मिनटमा पुऱ्याइदिन्छु’, डाइभरले भन्यो ।

भारतको हवाईअड्डामा प्रायः एक घण्टाअघि पुग्नुपर्छ । त्यही अनुमान लगाएर म आँत्तिएको थिएँ । नभन्दै पन्ध्र मिनटमा हवाईअड्डा पुगेँ । पाँच सय भनेकोमा केही नभनी चार सय दिएर भित्रिएँ । पाँच पन्ध्र भएको थियो । बुद्धा एयर काउन्टरमा पुगेँ । पहिले नै जहाजको स्थिति बुझेँ । बोर्डिङपास दिँदै रहेछन् । यहाँको प्रक्रिया छोटो अनि आगन्तुक पातलो भएकाले बोर्डिङपास लिन सजिलो हुँदो रहेछ । पाँच पैँतालिसको जहाजमा उड्नेलाई साढे पाँचको जहाजमा उड्ने बोर्डिङपास दिए । पन्ध्र मिनटअगाडिको जहाजमा सार्दा पनि मैले जहाज समात्न समय पाएँ ।

जहाज छ दसमा उड्यो । चालिस मिनट ढिलो । यसलाई राम्रो भनूँ या नराम्रो, ठम्याउन सकिनँ । मेरा लागि त्यो बखत राम्रै थियो ।

आधी घण्टापछि नेपालको राजधानी काठमाडौँ झरेँ । बाहिर मित्र दीपकज्यू कुरेर बस्नुभएको थियो । दुवै जना उहाँको शान्तिनगरस्थित फ्यालेटतिर हाँकियौँ । दिल्ली हवाईअड्डामा हुँदै मेलै फेसबुकमा काठमाडौँ यात्राको जानकारी राखेको थिएँ । कोठा पुगेउपरान्त समीप भएका मेरा शुभचिन्तक एवं साहित्यकारलाई कल गरेर जानकारी दिएँ । भोलिपल्ट भेट्ने समय लिएँ ।

दिल्लीमा हुँदा बिहान आठ बजे उठ्ने मान्छे, बिहानै छ बजे नै उठेँ । साढे सात बजे श्रीमान् महेश पौड्यालज्यूका घरतिर लागेँ । दीपकज्यूले मलाई उहाँकहाँ पुऱ्याइदिनुभयो । नयाँ ठिमी चोकसम्म महेशज्यू बाइक लिएर आउनुभयो ।

सात महिनादेखि बोल्न लागेको थिए म उहाँसँग । भेट पहिलोचोटि थियो भौतिक रूपमा । नयाँ ठिमी चौक मन्दिरको छेउमा रहेछ । कति राम्रो, धार्मिक अनि सात्त्विक ठाउँमा भेटेँ उहाँलाई । भनेँ पनि मैले बाइकमा बसेपछि । म उहाँलाई महेश दादा भन्ने गर्छु । सर भनेर दुनियाँले सम्बोधन गरे पनि दादा भन्न मलाई प्रिय लाग्छ । म मणिपुरको हुँ । उहाँको बाल्यकाल अनि प्रारम्भको शैक्षिक समय उतै बितेकाले पनि भिन्नै अपनत्व जागृत भएको होला ।

एघार बजेसम्म उहाँको घरमा समय बिताएँ । केही साहित्यिक र केही पारिवारिक गफसफ । मलाई यो घरमा धेरै समयेदखि आइजाइ गरेको जस्तो लाग्यो । साहित्यको निउले गाँसिएको यो साइनोमा अपनत्व भरपुर मात्रामा मिसिएको आभास पाएँ ।

महेश दादाबाट केही अमूल्य साहित्यिक ज्ञान लिएर मेरो दोस्रो डेरा श्रीमान्‌ अश्विनी कोइरालाज्यूकोमा जान अनुमति लिएँ । उहाँसम्म पुऱ्याउने जिम्मा महेश दादाले लिनुभएको थियो । जानुअघि भाउजूको हातको स्वादिष्ट खाना डम्म खाएर निस्किएँ ।

दस मिनटको दूरीमा भएको अश्विनीज्यूको घर पुगेँ । तीनै जना बसेर साहित्यकै खोलामा पौडी खेल्यौँ । मैले पौडिन सिक्दै थिएँ दुवै जनाबाट । आधा घण्टापछि अश्विनीज्यूलाई सुम्पिएर महेश दादा आफ्नो काममा जानुभयो । म अब अश्विनीज्यूको भएँ ।

दुई बजे नेपाल प्रज्ञा-प्रतिष्ठानमा साहित्यकार श्रीमान्‌ देवी नेपालज्यूसँग भेट्ने समय निश्चित भएका हुनाले अश्विनीज्यूलाई दुई बजे त्यहाँ पुऱ्याउन आग्रह राखेँ । दुई बजेसम्म दुई जनाबिच साहित्य एवं भाषाको कुराबाहेक अरू केही भएन ।

प्रज्ञा-प्रतिष्ठान पुग्नुअघि उहाँले मलाई पशुपतिनाथको दर्शन गराइदिनुभयो । पशुपतिनाथको दर्शन मेरो तालिकामा थिएन । सौभाग्यले भोलेनाथको आशीर्वाद पाएँ । नेक विचार एवं साहित्यको काममा लागेपछि भगवान्‌ले पनि आशीर्वाद दिन स्वयं बोलाउँदा रहेछन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठान परिषद्‌का सदस्य डा. देवी नेपालज्यूको कार्यलयमा छोडेर अश्विनीज्यू जानुभयो । नेपालज्यूसँग मेरो छ महिनाअघि परिचय भएको हो । ‘काठमाडौँ आउँदा भेट्नुपर्छ’ हाम्रो फोनमा कुरा भएको थियो । काठमाडौँ आएँ अनि भेट्ने समय पनि जुरिहाल्यो ।

धेरै असल मान्छे उहाँ । एक घण्टा कुराकानी भयो साहित्यको । पुस्तक साटासाट भयो । नेपालज्यूकै सुझावमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यूसँग पनि भेटघाट भयो । अँ, मेरो पुस्तक ‘मन बल्झिन्छ’ दिँदै छायाचित्र पनि खिचियो । नेपालज्यूको यो स्नेह एवं सम्मनालाई धन्यवाद गर्ने शब्द छैनन् मसँग ।

दीपकज्यूले प्रज्ञा-प्रतिष्ठानमा मलाई लिन आउने कुरा भएको थियो । आउनु पनि भयो । नेपालज्यूसँग बिदा लिएर हामी दुवै पाँच बजे भेट्न निश्चित गरिएको ठाउँतिर हाँकियौँ । नेपाली भाषा शुद्धीकरणका लागि डिजिटल प्लेटफर्ममा आन्दोलन चलाउने ऊर्जावान् युवा कवीन्द्र लम्साल अनि मित्र राजु ढुङ्गेलसँग मिटिङ थियो । एक घण्टाको भेटपछि शान्तिनगरतिर लाग्यौँ ।

नौ नोभेम्बर, भोलिपल्टका लागि पनि भेट्नुपर्नेहरूको सूची लामो छ । भारतीय दूतावासकी डी.सी.एम., साहित्यकार श्री. तुलसी आचार्य, साहित्यकार एवं नेपाली साहित्यघरका प्रधानसम्पादक श्री विष्णु भण्डारी, साहित्यकार तथा नेपाल प्रहरीमा एस.एस.पी. श्री रवीन्द्र के.सी. एवं कलाकार श्री निखिल उप्रेतीसँग भेटेर घुर्दा घडीले रातिको नाै बजाइसकेकाे थियो ।

समय रातकाे नाै भए पनि सबैसँगको विशेष भेट, सान्निध्य, साहित्यिक एवं भाषाको कुराले म बिहान भएर फर्किएकाे थिएँ । कलाकारमा पनि आध्यात्म एवं समाजका लागि केही गर्ने मन हुँदो रहेछ भन्ने कुराबाट भिज्ञ भएँ श्रीमान्‌ निखिल उप्रेतीज्यूसँगको दुई घण्टाको भेटमा ।

मेरो अघिको यात्रा- दस नोभेम्बर बिहानै पोखरा ससुराली गएर दुई रात बस्ने अनि बाह्र नोभेम्बरका दिन यात्राको मुख्य गन्तव्य सौराहा, चितवनमा पुग्नुपर्ने छ । भोलिपल्ट बिहानै आकाशैबाट हिमालको दर्शन गपोखरा गएँ । ससुरालीमा गएर पनि साहित्यकारसँग भेट्न लागेँ भने ससुरालीले बास दिँदैनन् होला भनी आफन्तसँग समय बिताउने निर्णय गरेँ तर साहित्यकारसँग पनि भेट्ने प्रबल इच्छा थियो । युवा सर्जक सुदर्शन पौड्यालाई भेटेँ । दुई दिनमा एक साहित्यकार, पाँच आफन्ताका घर डुलेर बाह्र नोभेम्बर साँझमा सौराहा, चितवन कार्यक्रमस्थल जङ्गल सफारी लजमा पुगेँ ।

पुग्नुअघि महेश दादालाई कल लगाएको थिएँ । उहाँ बाहिर जानुभएको रहेछ । उहाँले फोनमा सबै सम्झाइदिनुभयो । त्यहीअनुरूप गरेँ ।

कोठाको चाबी लिएँ । पस्नुअघि कविडाँडा साहित्य समाजका अघ्यक्ष, श्री एल.बी. क्षेत्रीज्यूलाई भेटेँ । उहाँले स्वागत भन्दै कोठा जाने आग्रह गर्नुभयो । फ्रेसअप भएर बाहिरिएँ । जुन उद्देश्यले गएको थिएँ त्यसको समय सदुपयोग गर्नु थियो मलाई । सबैसँग भेटगाट, साहित्यिक कुराकानी अनि परिचयको क्रम आरम्भ भयो ।

दुई देशका साहित्यकारलाई जमघट गर्ने श्रीमान्‌ एल.बी. क्षेत्रीलाई म विचार गरिरहेको थिएँ । सिथिल शरीर, एउटा खुट्टा घिसार्दै हिँड्ने, बुर्जुग मान्छे । प्रश्न स्वयंलाई गरेँ- “कसरी यत्रो आयोजना गर्नुभयो होला ? महेश दादाले सबै गर्नुभयो होला ? एल.बी. क्षेत्रीज्यू चैँ नामका मात्र हुनुहुन्छ होला ?” साँच्चै यही सोचेँ । राम्रो परिचय नभएर पनि होला यो धारण मनमा स्थापित गरेको ।

अब, म कविडाँडा साहित्य समाजले आयोजना गरिएको दुई दिनको साहित्यिक उत्सवबाट मेरो मस्तिष्कमा घुसेका केही कुरा गर्छु ।

राति सुत्नुअघि कार्यक्रम हुने सभाघरको रेकी गरेँ । आफू सहभागी हुने कार्यक्रम स्थल हेरेर आनन्दको लामो सास फेरेँ । कार्यक्रम सूची नियाल्दा- नेपाल प्रज्ञा-प्रतिष्ठानका कूलपति श्री गङ्गाप्रसाद उप्रेतीज्यू उद्घाटनकर्ता, श्रीमान्‌ महेश पौड्याज्यूको कीनोट स्पिच, छ कार्यपत्र, दुई परिचर्चा एवं रचना वाचनजस्ता विशेष कार्यक्रम पाएँ ।

१३ नोभेम्बरका दिन नास्ताउपरान्त उद्घाटन सत्र आरम्भ भयो । दुवै देशबाट आएका साहित्य अनुरागीहरूलाई खादा ओढाएर स्वागत गरियो । उद्घाटनका क्रममा राष्ट्रियगान बज्यो, नेपालको । आधा साहित्यकार भारतबाट आएका हुनाले भारतको पनि राष्ट्रियगान हुनुपर्ने हो जस्तो लाग्यो मलाई । कार्यकारिणी समितिले मलाई छुचो सोचेँ पनि मैले असन्तुष्टि जनाएर भारतको पनि राष्ट्रगान गर्ने अनुरोध राखेँ । अध्यक्षज्यूको उदार हृदय भनूँ, उहाँले पनि केही आपत्ति नगरी भारतको राष्ट्रियगान गायनका लागि स्वीकृति दिनुभयो । राष्ट्रगानपछि भिन्नै गौरवताको अनुभव भयो । अरू भारतीय साहित्यकारले मेरो सुझावलाई उचित ठहराएर प्रशंसा गरे ।

दीप प्रज्वलन भयो । कीनोट स्पीचले सबैलाई प्रभावित पाऱ्यो । दुई देशका साहित्यकारको सामञ्जस्य एवं सम्बन्धलाई प्रगाढ बनाएर साहित्यको उन्नति गर्ने एवं नेपाली साहित्यलाई अरू भाषामा अनुवाद गरेर वैश्वीकरण गर्नेमा बल दिनुभयो ।

मुख्य अतिथिको भाषणपछि अध्यक्षज्यूको भाषणको सुरुआती वाक्यले अर्कै ऊर्जा, शक्ति एवं मनमा छुट्टै साहस भरिदियो । हिजोबाट मैले मेरो मस्तिष्कमा उहाँबारे बनाएको धारणा एकै क्षणमा ध्वस्त भयो । उहाँको शब्दमा, भनाइमा, आवाजमा बोक्न नसकिने कुरा थिए । सिधै मनमा लाग्ने अनि तालीमा गएर परिणित हुने । स्वयं उहाँले मेहश पौड्यालज्यूलाई पावर हाउस भनेर सम्बोधित गर्नुहुँदै थियो । यो कथनलाई मैले स्वीकारेँ तर मुख्य पावर हाउस मैले श्रीमान्‌ एल.बी. क्षेत्रीमा पाएँ ।

अघिल्लो दिन बुजुर्ग सोच्ने मेरो मनलाई मजाले झापड हानेजस्तो भान लाग्यो । आत्मा तृप्त हुने मन्तव्य । ध्यानाकर्षित गर्ने भाषणशैली । म उहाँको भाषणशैलीदेखि कायल भएँ । कार्यक्रमको उचित सञ्चालन हेतु उहाँले संस्थाका सदस्यलाई निर्देश गरेको, सूचीको प्रत्येक कार्यक्रमको पालना होस् भनी उहाँको चिन्ता सबैले देखिराखेका थिए । उहाँको नेतृत्व गर्ने गुणवत्ता भिन्न एवं उत्कृष्ट । उद्घाटन सत्रपछि व्यक्तिगत भेटेर शुभकामना एवं प्रशंसा गर्न चुकिनँ । वास्तवमा उहाँ प्रशंसाको पात्र हुनुहुन्छ ।

अपराह्णको सत्रमा भएका कार्यपत्रमा डा. गोमादेवी अधिकारीले प्रस्तुत गर्नुभएको ‘भारत-नेपाल र लाहुर- एक ऐतिहासिक विमर्श’, डा. केशव चालिसेले प्रस्तुत गर्नुभएको ‘साहित्यमा केन्द्र र परिधि- उत्तरवर्ती विचारहरू’, डा. नवीन पौड्यालद्वारा ‘सन् २००० पछिको भारतीय नेपाली समालोचना- लक्षण र गति’, ‘आयामेली कवितामा भारत-नेपाल’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने डा. टी.बी. क्षेत्री एवं पहिलो दिनको अन्तिम कार्यपत्र प्रस्तुत गर्नु डा. अशोक थापाको ‘नेपाली भाषाको भूगोल मानकीकरणका प्रश्नहरू’ जस्ता विषयमा प्रस्तुत गरिएको औ कार्यपत्रका टिप्पणीकार र सभापतिको उपरोक्त विषयमा दिइएको मन्तव्यले ठोस प्रभाव छोड्यो । सबै विषय नयाँ एवं रोचक थिए मेरा लागि । सबैको बोल्ने शैली, प्रस्तुत गर्ने ढङ्ग, विषयमा गहिराइ, टिप्पणीकारको समीक्षा, सभापतिको मन्तव्य- यथार्थमा ज्ञान एवं बौद्धिकताको सागर बगिरहेको थियो सौराहामा ।

मलाई त्यो सागरमा पौडिन गाह्रो भयो तर साथमा आनन्द पनि । एकै क्षण पनि ध्यान यताउता नगरी मेलै सम्पूर्ण कार्यपत्र एवं मन्तव्य सुनेँ । मेरा लागि प्रेक्षालय विद्यालयभन्दा कम थिएन । दुई देशका नेपाली साहित्यकारमा बौद्धिक एवं साहित्यको गहिराइ मैले पहिलोचोटि आभास गरेको थिएँ । साहित्यिक सागरमा डुब्न पनि आनन्द आउँदो रहेछ । यो आनन्दको पाराकाष्ठा कविडाँडाले प्रदान गरेको जीवनपर्यन्त नभुल्ने क्षण हुन गइरहेको थियो मेरा लागि ।

दोस्रो दिनको सत्र कार्यपत्रबाटै सुरु भयो । श्रीमती लीला लुइँटेलद्वारा ‘नेपाली साहित्यमा नारी श्रष्टा- सन्दर्भ भारत र नेपाल’ विषयमा प्रस्तुत गर्नुभयो भने श्रीमान्‌ राजकुमार बानियाँद्वारा प्रस्तुत गरिएको प्यानल डिस्कसन, विषय- ‘विश्व साहित्यमा नेपाली/गोर्खाली आवाज’ एकदमै मननीय थियो । दुवै देशका साहित्याकरले यो विषयमा गहन चिन्तन राखेर निष्कर्षमा पुग्ने परिचर्चा राखे । श्रीमान्‌ भूपिन खड्काद्वारा गरिएको दोस्रो परिचर्चा, विषय- ‘साहित्यिक आदानप्रदान, बजार र विस्तार- सन्दर्भ : नेपाल र भारत’ को विषय सबैलाई मन पर्ने विषय थियो । परिचर्चा उत्तिकै प्रभावशली ।

समापन सत्र रचना वाचनको थियो । मैले पनि वाचन गर्न नाम दिएँ । वाचन गरेँ । यत्रो ठुलो मञ्चमा वाचन गरेको पहिलोचोटि थियो । निकै आत्मविश्वास बढायो यो मञ्चले, वाचनले । करिब तीस जनाको रचनावाचन सुनेर मन गद्गद हुनबाट बाँचेन । कविहरूका उत्कृष्ट रचनावाचनले आफू अझ माथि उठ्नु पर्ने रहेछ, त्यसको आभास गराइरहेका थिए । श्रीमान्‌ मनबहादुर सुब्बा, श्रीमान्‌ राजेन्द्र भण्डारी, श्रीमान्‌ जय गुरुङ (क्याक्टस), श्रीमान्‌ श्रवण मुकारुङ, श्रीमान्‌ एल.बी. क्षेत्रीको समापन भाषणले मनलाई छुएरै गयो । सबैको बौद्धिक दक्षताले मेरो अल्प मस्तिष्कमा निकै ज्ञानका कुरा थुपारिदियो । मनमनै आफूलाई धन्य ठान्दै थिएँ- यस्तो उच्चकोटि साहित्यकारको कार्यक्रममा आएर सबैको सान्निध्य पाएँ । धन्यवाद महेश दादा यो अवसर प्रदान गराइदिनुभएकामा । यहाँ धन्यवाद नगरी मन मानेन ।

दिल्लीबाट हिँड्दा निकै प्रश्नका पोका बोकेर हिँडको थिएँ नेपाली साहित्य एवं भाषा सम्बन्धित । हवाईजहाजमा सामानको भारी बोक्न निश्चित वजन तोकिएको हुन्छ तर मनमा बोक्ने प्रश्न एवं उत्सुकताको वजन अनिश्चित हुन्छ । समापन सत्रपछि मनमा लिएर आएका प्रश्न एवं उत्सुकताहरू सबै निखिसकेका थिए । मनले उठाएको भारी हुलुङ्गो भयो । मनमा एकै प्रश्न लिएर सभाघरबाट बाहिरिएँ- सबै प्रश्नको उत्तर पाएँ । मनका द्वन्द्वहरू पातालिए तर यी सबै निष्कर्षमा आएका कुराहरू कहिलेबाट कार्यन्वयन हुन्छन् होला?

समापन भयो । मेरो भोलिपल्टको हवाईटिकट हुन्छ दिल्ली जाने । पर्सिपल्ट बहिनीको विवाहपूर्व हुने हल्दीमा सहभागी हुनुपर्ने हुन्छ । होटेलमा मेरा सहपाटी श्री विनय भूषण दत्त हुनुहन्थ्यो । उहाँ पनि काठमाडौँ जाने हुँदा साथै जाने योजना बनाइयो । समापन उपरान्त निस्किने कुरा गरेँ मैले । उहाँले रात्रि जाने कुरा गर्नुभयो । ‘भोलि एघार बजे जहाज समात्नु छ । चाँडै निस्किएको राम्रो हो।’ मैले थपें । ‘चिन्ता नगर्नू । काठमाडौँका लागि रातभरि बस भेटिन्छ । आरामसँग भोलि बिहान चार-पाँच बजे पुगिन्छ । भरेको सांस्कृतिक कार्यक्रमको न्नंद लिएर जाऊ न!’ विनयज्यूको कथनमा म राजी भएँ ।

दीपकज्यूलाई कल गरेर आर.टी.पी.सी.आर कोविड रिपोर्ट बनाइदिने आग्रह गरेँ । अन्ताराष्ट्रिय जहाज हुनाले अनलाइन कोविड सम्बन्धित फारम भर्नु पर्दो रहेछ । दीपकज्यूले आफैँ भर्नुपर्छ भन्ने जानकारी दिनुभयो । एकै क्षणमा हुन्छ होला भनी यादै गरिनँ । थारू समाजको सांस्कृतिक कार्यक्रमको आनन्द लिएपछि भोजन गरेर काठमाडौँका लागि हामी निस्कियौँ । भारतका साहित्यकारलाई काँकडभिट्टासम्म लिएर जाने बसबाट हामी सौराहाको मुख्य सडकमा गयौँ । रातिको एघार बजेको हुन्छ । नेपालगन्जको बस आउँछ । विनयज्यूले हात तेर्स्याउँदा बस रोकिन्छ । बस प्याक रहेछ । छठपूजामा छुट्टी गएका सबै काठमाडौँ फिर्ने भएकाले सबै बसको यही हालत होला भन्ने विनयज्यूले अनुमान काट्नुभयो । चालक बस्नेतिर बोनटमा दुई जना अट्ने सीट खाली रहेछ । अर्को बस कुरेर जोखिम लिन चाहन्नथेँ म । बोनटमा बसेर जाने निर्णय भयो हाम्रो । जसोतसो गरेर बसियो । चार सालपछि मेरो बसको यात्रा थियो । चेप्पिएर बस्न महाअप्ठ्यारो । घरी यता फर्केँ घरी उता । मिनट काट्न पनि निकै कष्टदायक भयो । निद्राले उस्तै झ्यापझ्याप, आकुल पाऱ्यो । आखिर साढे चारबजे काठमाडौँ झरियो दुवै मित्र । दुई दिनमा हामी मित्र भइसकेका थियौँ । ‘एकै कोठामा दुई दिल्लीवासीलाई राखेर मित्रता गराउने षड्यन्त्र गरेको हो’ पनि भन्नुभयो महेश दादाले । षड्यन्त्र सफल भएको थियो । विनयज्यू एकदम सरल एवं सहज मान्छे । उहाँले आफ्नो फ्ल्याटमा लानुभयो । गइसक्दा बिस्तरालाई अङ्गालो हालियो । निद्राले आकुल भएका थियौँ । साढे सात बजे उठेँ । छेउमा बसेकी एलेक्साले उठाइदिई । विनयज्यूले एलेक्सालाई काम अह्राउनुभएको थियो सुत्नुअघि ।

उठी सक्दा दीपकज्यूलाई कल लगाएँ । एयरपोर्ट बाहिर उहाँको साथीले आर.टी.पी.सी.आर कोविड रिपोटको ओरिजिनल कपी दिने कुरा गर्नुभयो । अनलाइन कोविड फारम स्वयं भर्ने सलाह पुनः दिनुभयो । फारम हेरेको डकुमेन्ट लगायत निकै जानकारी भर्नुपर्ने रहेछ । दिमाग रनथनियो । एघार बजेको जहाज । अन्ताराष्ट्रिय जहाज हो दुई घण्टाअघि त पुग्नुपऱ्यो । फारम भर्न लागेँ । कता इनभेलिड भन्छ, कता फाइल अपलोड गर्दा साइज ठुलो भयो, सानो बनाएर अपलोड गर भन्छ । सुरुमा हिँडेको दिनमा मनको घण्टी बजेको आज पुनः त्यही अवस्थामा बज्न थाल्यो । यो पालि आत्तिनु अझ ठुलो कारण थियो- आजै बहिनीको हल्दीमा पुग्नुपर्ने अनि भोलिपल्ट बिहेमा । डकुमेन्टमा आर.टी.पी.सी.आर कोविड रिपोर्ट (हात परेको हुँदैन), पासपोर्ट रे, टिकट रे । फाइलको साइज र हातमा पूर्ण फाइल नभएकाले मेरो दिमागले काम गर्न छाड्यो । आठ बज्यो मोबाइल घोच्दाघोच्दै । विनयज्यूले भोजन तयार पार्नुभएछ । हतार-हतार खाएँ । धन्यवाद भन्न पनि मेरो दिमाग पुगेन त्यो बखत । धन्यवाद विनयज्यू । ढिलो भनेकामा क्षमाप्रार्थी ।

विनयज्यूले पठाओबाट ट्याक्सी बुक गरिदिनुभयो । अफिसको समय अलिअलि जाम पनि फेला पऱ्यो । बाटाभरि फारम भरिरहेँ तर हातमा पऱ्यो आलु । एकै मिनटमा हुने काम हतारमा, आवेशमा गर्दा गाह्रो हुँदो रहेछ । हवाईअड्डा पुगेँ । आर.टी.पी.सी.आर रिपोट दिने मान्छेलाई खोज्दाखोज्दै दस मिनट बित्यो । मनको घण्टीले काठमाडौँमै कोलाहल मच्चायो भन्दा हुन्छ । आखिर रिपोट भेटेँ । उसलाई पनि धन्यवाद नगरी भित्र हाँकिए । हतारमा सबै शिष्टाचार भुलिँदो रहेछ ।

प्रवेशद्वारमा गार्डले फेरि आर.टी.पी.सी.आर रिपोटलाई स्टेम्प लगाएर ल्याउनू भनी काउन्टर देखाइदियो । आपत् पऱ्यो दुइटा ब्याग तान्दै लान । ब्याग त त्यस्तै हो समयको अभाव थियो यस पलमा । फारम अझै भरिसकेको थिइनँ । चिन्ता यहाँ बढी हुन्छ । आपत् त अझै आउनै थियो । स्ट्याम्प लगाएर भित्र छिरे बोर्डिङ्गपास लिने ठाउँमा । फारम भर्न सहयोग गर्दै गरेको कर्मचारीलाई सोधेँ- ‘के फारम भर्न अनिवार्य हो ?’ ‘एकदम अनिवार्य हो ।’ उसले जवाफ दिँदा मेरो मनको घण्टी झन् साह्रो बज्न लाग्यो । फोक्सोभरि सास तानेर नआत्तीकन फारम भर्न लागेँ । सबै डकुमेन्टको साइज अनलाइबाट रिडियूस् गरेँ अनि अपलोड गरेँ । हुँदै गयो । लगभग भरिसकेको थिएँ । एउटा डकुमेन्ट अपलोड गर्दा इरोर भन्यो । सहयोग गर्ने कर्मचारीलाई फेरि सोध्न जाँदा उसले प्रश्न गऱ्यो-‘डकुमेन्टमा भोटर आइ.डी. या पासपोर्ट छ?’ मसँग थिएन । त्यही उत्तर दिएँ । ‘त्यो त सर जान मिल्दैन । हजुरको आधार कार्डले हुँदैन । भोटर आइ.डी. या पासपोर्ट चाहिन्छ । यसो गर्नुहोस्- भारतीय दूतावासमा जानू एक हप्ताका लागि प्रमाण पत्र दिन्छन् । त्यसको माध्यमले जान मिल्छ ।’ म झस्याङ्ग भएँ । दिल्ली निस्किनुअघि मैले ब्याग प्याक गरेका बेला काठमाडौँका साथी दीपकज्यूलाई सोधेको थिएँ- ‘पासपोर्ट राख्नुपर्छ या पर्दैन?’ ‘पर्दैन, आधारकार्डले हुन्छ सर ।’ भन्नुभएको थियो ।

त्यही कारणले मैले आधारकार्ड मात्र बोकेको थिएँ । उहाँ भारत-नेपाल ओहोरदोहोर गरिरहने । विश्वास गरिहालेँ । अब एयरपोर्टमा बसेर यो कुरा याद गरे पनि मेरो केही हुनेवाला थिएन । कल गरेर दीपकज्यूलाई समस्या सुनाएँ । उहाँ नेपालका युवा राजनेता हुनाले एयरपोर्टका अधिकारीसँग कुरा गर्छु भनेर फोन राख्नुहुन्छ । मेरो दिमागको बत्ती नै निभेको हुन्छ । बहिनीको विवाहका बेला यात्रामा निस्किएँ पहिले त्यो रिक्स थियो । अर्को- अरूको भर परेँ । आत्मनिर्भर हुनु नै ठुलो कुरा हो । स्वयं सबै कुराबाट पुष्टि लिनुपर्ने रहेछ । ‘हगिसकेर दैलो लगाउनु’ उखानको उदाहरण म प्रस्तुत गर्दै थिएँ । दीपकज्यूको कल आउँछ- ‘सर मिल्दैन अरे । पासपोर्ट या भोटर आइ.डी. नै चाहिने रहेछ ।’ अघि सहयोग गर्ने कर्मचारीबाट भनेको कुरालाई दोहोऱ्याउनुभयो । हंसले ठाउँ छोडेको जस्तो भन्दा हुन्छ मेरो अवस्था । दिल्लीबाट मेरो शुभचिन्तक साथीको त्यही बेला कल आउँछ । म कल रिसिभ गर्छु अनि एकै सासमा मेरो समस्या सुनाइदिन्छु । अर्को फ्लाइटको टिकट गरिदिऊँ भनी उहाँले सहयोग गर्ने तत्परता देखाउनुहुन्छ तर यहाँ टिकटको होइन पासपोर्ट अनि भोटर आइ.डी.को समस्या थियो । धन्यवाद भनेर फोन राख्छु । उपाय नलाग्ने रहेछ भनी मनलाई बुझाएर एयरपोर्ट बाहिर निस्किएँ । बहिनीको विवाहमा नपुगिने रहेछ । मनमा हुरी बतास चलिरह्यो । योजना बनाएँ- भैरहवासम्म हवाईजहाज अनि गोरखपुरदेखि रातिकै हवाईजहाज लिन्छु । अपराह्ण तीन बजेको भैरहवासम्मको टिकट गरेँ । दुई बजेसम्म त्यहीँ विनयज्यूको कोठामा आराम गर्ने मन बनाएँ । उहाँलाई कल गर्न नम्बर हेर्छु, भेट्दिनँ । उहाँको दिल्लीवाला नम्बर सेभ गरेको याद आयो तर लोकल नम्बर सेभ गरेको यादै आएन । आपत्‌का बेला मस्तिष्कले पनि साथ छोड्दो रहेछ । डायल्ड लिस्टमा सेभ नभएका सबै नम्बरमा कल गरेँ तर कसैले विनय हुँ भनेनन् । ट्याक्सीमा त बसेँ तर विनयज्यूको पता छैन मसँग । आखिर शान्त चित्तले खोजेको सेभ गरेको रहेछु । पता भन्दिनुभयो ।

राति गोरखपुरबाट जाने फ्लाइट हेरेको, छ बजेको रहेछ । बोर्डर पुगेर समात्न नभ्याउने समय रहेछ फ्लाइटको । भोलिपल्टको हेर्दा चाँडै पुऱ्याउने भनेको एघार बजेको तै पनि भाडा हम्मे-हम्मे पार्ने । भाडा अलिक कम भएको फ्लाइटले पुऱ्याउने सयम भने पाँच बजेपछि मात्र । टेन्सन भयो । आपत् पऱ्यो फेरि । रेलसेवाको याद आयो । मेरो साथीलाई कल गरेर गोरखपुरदेखि दिल्लीसम्मका रेल हेर्न लगाएँ । राति आठ बजेको रेल रहेछ भोलि बिहान आठ बजे दिल्ली पुऱ्याउने । यो समयको रेल उचित लाग्यो । नेपालको सर्वरबाट अनलाई रेल टिकट गर्न नमिल्दो रहेछ । अघि सहयोग गर्न इच्छुक हुने साथीलाई कल गरेर टिकट गर्ने आग्रह गरेँ । उहाँले आग्रहलाई टिकटमा परिणित गरिदिनुभयो । भारतीय रेलवे रिजर्वेसन टिकट कन्फर्म कहिले भेटिँदैन । मेरा लागि सहज थियो राजनेताको निजी सहायक हुने भएर । रेलमन्त्रीको निजी सहायक अनि आफ्नै आफिसमा ए.चो. कोटा लगाउन दिएँ । केही घण्टामा कन्फर्म भएको टिकट हात पऱ्यो । अलिक त ढुक्क भएँ । आठ बजेको रेल समात्नु पनि चुनौतीपूर्ण थियो । अहिलेबाट मनमा ढ्याङ्ग्रो बज्न थाल्यो ।

विनयज्यूको कोठा आएँ । एक बजेसम्म ढुक्कले सुतेँ । विनयज्यू आफ्नो अफिस जानुभयो । म हिँड्ने बेला आउनुभयो बिदा दिन । म भैरहवा जान एयरपोर्ट हाँकिएँ । जहाज दस मिनट ढिलो उड्यो । भैरहवा हवाईअड्डाबाहिर निस्किँदा चार बजेको थियो । रेल समात्न मसँग साढे चार घण्टा बचेको हुन्छ । सुनौलीबाट नै दुई घण्टा बढी लाग्छ गोरखपुर पुग्न । म सुनौली पुगिसकेको हुँदिनँ । बाहिर निस्किएर ट्याक्सीलाई सोधेको छ सय भन्छ पन्ध्र मिनटको बाटालाई । हुँदैन भनेर अगाडि बढेँ । ट्याक्सीवालाले एउटा सरदारलाई भाडा घटाएर लान्छु भन्दै रहेछ । त्यो ट्याक्सीवालाले म पनि सुनौली जाने बुझ्दा सेयरमा जानुहोस् चार सय गरिदिन्छु भन्यो । मलाई ठिकै लाग्यो । ‘इतना ठिक है पाजी । चलो निकलते है इसी में ।’ सरदार बडा कडा रहेछ । दुई-तीन गाली गर्दै भन्न लाग्यो- ‘अरे ये सब चोर है । बाहर तो निकलो पीछे पीछे आएंगे और दो सौ रुपये मे ले जाएंगे हमें ।’ चार सय आफैँ तिरेर जाऊँ जस्तो पनि लाग्यो तर भरे फेरि सुनौली बोर्डरबाट सेयरिङमा जाँदा ड्राइभरले यात्रु खोज्न समय लगाउँछ भनेर सरदारको साथमा रहन उचित लाग्यो । हामी सडकतिर लाग्यौँ । नभन्दै पछि-पछि आयो ट्याक्सीवाला र तीन सयसम्म जान तयार भयो तर सरदारलाई केही असर परेन । दुई सयमा अड्किरह्यो । सरदारसँग रिस पनि उठ्यो । महालोभी रहेछ सरदार ।

‘बाहर जाकर कुछ खाते है । भतेरे दो सौ मैले जाने वाले मिलेंगे ।’ सरदारले दियो सुझाउ ।

‘नहीं पाजी । मेरा रेल छुट जाएगा । मेरा रेल आठ बजे है और आपका दस बजे ।’ मैले विवशता देखाउँदै जवाफ दिएँ ।

‘चलो पाजी वही टेक्सी मे जाते है । ज्यादा फेयर नहीं है ।’ लोभी सरदार फिटिक्कै मानेन । आफूलाई रेल छोडिन्छ भन्ने डर ।

‘आप टेंसन ना लो भाइजी । आप टाइम से पहुँच जाओगे ।’ सरदार ढुक्क भएर भन्छ ।

के गर्नु मेरो ढुकढुकी मलाई थाहा छ । गर्दागर्दै साढे चार बजिहाल्यो बोर्डर नपुगी । यति मै सरदारले ब्याट्रीवाला रिक्सा रोक्कायो । ‘मरी जा’ भन्न मात्र सकिनँ लोभी सरदालाई । ऊ बसिहाल्यो । सुनौलीबाट सेयरिङमा चाँडै हुन्छ भन्ने लोभमा म पनि बसेँ । रिक्सावालाले तीन सय भन्यो । सरदार त हो ।

‘दो सौ से अधिक ना देंगे आपको’ भनेर रिक्सावालाको मुख बन्द गरिदियो । रिक्सा कछुआको चालमा ढलकढलक गर्दै अघि सर्न लाग्यो । यता मेरो मनको गति तेज हुन लाग्यो । आधी घण्टा लगायो सुनौली पुऱ्याउन । आधी घण्टा यता सरदारले दिमाग सबै चाटिसकेको थियो ।

सुनौली आएर नेपाली पैसा भारुमा चेन्ज गर्न लाग्यौँ । मैले गरिहालेँ । सरदार यहाँ पनि सौदाबाजी गर्न लाग्यो । ‘थोडा केमिसन कम लो! बीस रुपियाँ तो कम कर दो ना मेरी बहन । हाथ जोडता हूँ, पैर पडता हूँ’ लोभको पराकाष्ठाको आज दर्शन गरेँ मैले । कानमा झ्यामझ्याम दिऊँ जस्तो लागेको मलाई । ‘चलो यार पाजी । इतना ही होता है ।’ मैले भनेँ । फिर्ता गरेको नाथे दुई हजार पैसा फेरि थुक लगाई लगाई गन्न लाग्यो । ‘हे भगवान्‌ मुझे उठा लो ।’ मेलै चिनेका साथी छेउछाउ हुन्थेँ भने भन्थेँ पनि होला । यतिमा गोरखपुर जाने ट्याक्सीवाला आयो । पाँच सय रेट भन्यो । सरदारले ‘दो सौ दुंगा’ भनि त हाल्यो ।’

मैले तीन सय दिन्छौँ भनेर कुरा राखेँ । हुन्छ भन्यो ट्याक्सीवालाले । सरदार मानेको थिएन । म नै तेरो पैसा दिन्छु भनेर मनाएँ लोभी सरदारलाई । सिमाना काट्नुअघि रिपोर्ट दर्ता गर्नुपर्दो रहेछ । त्यो गर्न पनि पाँच मिनट लागिहाल्यो । गाडीमा आएर बस्दा ओर्दा पाँच पन्ध्र भयो । मनको घण्टी बज्न लाग्यो । चालक अझै दुइटा यात्रु खोज्छु भन्छ । अनुरोध गर्दा पटक्कै मानेन ।

‘बिचको अनि अघिको सीटमा एउटा हाल्नु छ ।’ चालकको भनाइ । अघिको सीटमा सरदार बसेको थियो । ऊ झर्कियो ।

‘आगे मैं अकेला बैठूंगा । मेरी गोद मे बैठाओगेँ क्या? मैं तो फैल के ही बैठूंगा ।’ यसै अबेला हुँदै थियो मलाई । अरू यात्रुको पनि दस बजेकै रेल रहेछ । सबै बिग्रिन लागे चालकसँग ।

मैले भनेँ- ‘बाहिर निस्किएर अर्को गाडी हेरेजस्तो गरौँ । यात्रु फुस्किने डरले जान्छ होला छ जनामै ।’ सरदारले प्रतिक्रिया तुरुन्तै दियो गाडीबाट निस्किएर । अरू पनि निस्किए । सरदारलाई डर मात्र देखा भनेको ऊ त बाझ्न लाग्यो । ब्याग निकाल्न लगायो । मैले इसारा गरेर चालकलाई ब्याग निकाल्न दिइनँ । अर्को ट्याक्सी खोज्न अझ समय लाग्ने थियो । मैले युक्ति चलाएँ । अरू यात्रु नेपाली थिए ।

‘एक जना यात्रुको भाडा हामी सबै मिलेर दिऊँ । पचास-पचास भाग पर्छ एक जनालाई । त्यसो गर्दा यो गाडी हिँडिहाल्छ अनि मेरो ट्रेन मिस हुँदैन ।’ अनुरोधलाई सबैले माने । सरदारले पनि मेरो ट्रेनको चिन्ता देखेर राजी भयो ।

साढे पाँच बजेको थियो गाडी हिँड्दा । मेरा लागि फिप्टी-फिप्टी चान्स थियो ट्रेन समात्ने । मेरो हातमा अढाई घण्टा अनि गोरखपुर पुग्न दुई घण्टाभन्दा धेरै लाग्न सक्थ्यो । रामभरोसामा थिएँ म ।

सरदारले फेरि चालकलाई वाक्क लागाउन थाल्यो । गाडी चलाउनुभन्दा सरादारको जवाफ दिनमा व्यस्त भयो ।

‘पाजी इनको गाडी चलाने दो ना प्लिज ! नहीं तो मेरा ट्रेन छुट जाएगा’ उपाय नलागेर भन्नैपऱ्यो । सरदार चुप ।

साथीको फोन आयो, आठ बजेर दस मिनटमा ।
‘रोहित जी ट्रेन पकड लिया ना ?’
‘हाँ जी। पकड लिया। दौड़ते दौड़ते।’
हाँस्दै भन्यो-‘ रोहित जी ये तो डी.डी.एल.जे रिपिट हो गया आज। बस हाथ पकड ने वाले की कमी हो गई!’
मैले पनि हाँस्दै उत्तर दिएँ, ‘हाँ कह सकते हो। हाथ पकड ने वाली होती तो भी मैं नही पकड सकता था। मेरे दोनों हाथों में बेग था।’