पञ्चासे डाँडोबाट फर्केर पोखराको होटल रोमान्टिका आइपुग्नेबित्तिकै ह्वाट्सएपमा मित्र कमल पन्थीको मेसेज देखेँ ।
“तीन दिनको ट्रेकिङ गर्ने इच्छा सवार भइरहेको छ मेरो दिमागमा । कुन होला सजिलो र छोटो ?”
बेल्जियममा बस्ने उनी यो पालिको दशैँ र तिहारको बीचमा नेपाल आउँदै थिए ।
“पञ्चासे ट्रेक गर्ने कि ? तपाईंले खोजेजस्तै छ । भर्खरै मात्र मैले मलेसियन ग्रुपलाई यही ट्रेक गराएर फर्केको ।” प्रत्युत्तर छाडेँ मैले ।
“हो र ! यात्रातालिका पठाइदिनुस् न त । र, तपाईंको ताजा यात्रानुभूति पनि सुन्न पाए त झनै राम्रो !” पन्ध्र मिनेटपछि उनको जवाफ आयो ।
यात्राका स्मृतिहरूले घेरिन थालेँ म ।
मैले भनेँ– इमेल हेर्नु !
००००
उकालिँदै अस्ट्रेलियन क्याम्प
गत साल वैशाखमा मात्र धम्पुस हुँदै फेदी झरेथेँ । आज फेरि यहीँबाटै उकालो लाग्दैछु । कहिलेको यात्रा यही ठाउँमा अन्त्य हुन्छ, कहिले यही ठाउँबाट सुरु हुन्छ । दस बजिसकेको थियो उकालोमा पहिलो पाइला राख्दा ।
००००
‘यात्रा कहाँ रोकिन्छ र !
एकछिन पाइला रोकिँदैमा
आँसु कहाँ सकिन्छ र
कहिलेकाहिँ पोखिँदैमा………’
थकाइले पो रोकिएका थियौँ । यात्रा त कहाँ नै रोकिन्थ्यो र !
लखनेको बिसौनीबाट उँभो लागेपछि मैले आफैँलाई सुनाएथेँ यो कर्णप्रिय गीत । पञ्चासे डाँडालाई अन्तिम गन्तव्य बनाएर हिँडेका हामी । आँसु होइन, बरु पसिना चाहिँ काढेका थियौँ मज्जैले ।
साउन महिनाको उष्मा । त्यसमा पनि पहिलो पाइलादेखिकै उकालो । हावा चलेको थिएन फिटिक्कै । उष्णताले आलसतालस भएका थियौँ हामी । वातानुकूलतामा बस्ने बानी परेपछि उष्ण प्रदेशकै भएपनि मान्छे सागजस्तै ओइलाउन बेरै लाग्दो रहेनछ । अनुहारमा बगेको पसिनाको धारालाई फेदीकै छेउ भएर बग्ने घट्टेखोलाको पानीले पखालेको कल्पना गरेथेँ मैले ।
बाईस जना सदस्य थिए– मलेसियन कम्पनी नोम्याड एडभेञ्चर परिवारका सञ्चालक र कर्माचारी गरी । वर्षको एक पटक अफिस बन्द गरेरै विदेश यात्रा गर्ने÷गराउने कस्तो राम्रो कायदा ! उनीहरू आएका थिए र त हामीले पनि काम पाएका थियौँ । दुई पैसा कमाइने र त्यही बहानामा घुम्न पनि पाइने । नत्र बिनासित्ति यो वर्षामासमा उकालोओरालो गर्न कसलाई बहुला कुकुरले टोकेको थियो र !
बाटोमा भेटिए अस्टे«लियन क्याम्पतिरबाट झरेका एक हुल विदेशी पदयात्री । छोटो र सजिलो गन्तव्य भएकोले पदयात्रीहरू आइरहन्छन् यहाँ ।
आजको हाम्रो गन्तव्य हो– अस्ट्रेलियन क्याम्प । धम्पुसको तल्लो भागलाई छोडेर उकालो लागिरहेका छौँ हामी २,१०० मिटरको उचाइ चुम्न । बीचमा ढसमस्स गरी बसेको छ धम्पुस । धम्पुसको ढाड टेकेर नाक नभाँची सुखै छैन ।
खेतका आलीआलीमा पाइला टेक्दै छौँ हामी । बर्षाको मलिलो पानी कलकल बगिरहेछ कुलोमा । कतै भर्खरै रोपाइँ भएर पनि रोपो सरिसकेको छ । कतै रोपोको पात फर्किसकेका छन् । कतै धमाधम रोपाइँ हुँदैछ । मानो खाएर मुरी उब्जाउने बेला पो हो यो त ।
आँखालाई खेतका गह्राहरूले तानिरहेका छन् । ठिङ्ग उभिन पुग्छु म । हली, लाठे, रोपाहार र हलगोरु चल्मलाएको दृश्यले व्यूँझाइरहेको छ मेरो स्मृतिको भावगङ्गा । आम्मै ! छबीसेको फाँटमा रोपाइँ हुँदाको रमाइलो ! म आली लाउथेँ, कान्ला ताछ्थेँ । कहिले हिल्याउँथेँ र साउँथेँ । कहिले कोदाली लिएर बाउसे गर्थें । बिउ पाँज्ने निहुँमा हिलाम्मे बनाइदिन्थेँ, रोपाहारहरूलाई । उधुमै गाली गर्थे मलाई मोरी साहिँली र माइलीहरूले । उरन्ठेउलो न थिएँ म ! के गर्नु ! खोइ अहिले त ? हिलो खेल्नुको त्यो मज्जा कहाँ लिनु !
कम्ता असारे गीत गाउँदैनथिन् हाम्री पुरेत्नी बज्यैले । काँठेभाका पो चल्छ त हाम्रोतिर ! बज्यैले लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अन्तराहरू मिलाई मिलाई गाउँथे बाँकीले ।
अझै सम्झना छ धिताल दाइले गाएको गीत–
‘असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो……..’
रोपाहारहरूले गाएको पनि कहाँ बिर्सेको छु र–
‘न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,
पूरबै ढोका खोलेर हेर्दा लागेछ असार………..‘
कोही गाउँथे–
‘असारलाई भनी कुटेको च्यूरा म कति साँचूला
सौताका हात दुई कुड्की भात म कति बाँचूला………’
थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्थ्यो गीतले । रसरङ मात्र होइन, प्रेम, वियोग र वेदनाका तरङ्ग पनि ब्यक्त हुन्छ असारे भाकामा ।
रोपाइँले बेस्सरी तान्दा विगततिर पुगेछु । रोपाइँको हिलो छुन नपाए पनि मन चोबले मैले । टोली भने अगाडि बढिसकेको थियो । भेट्न हतारिएथेँ म ।
तल्लो गह्रामा बयली खैल्दै छन् धानको रोपो । माथिल्लो गह्रामा हावा खाइरहेका छन् घोघा लागेका मकैका बोटहरू । मकै भाँच्नेबित्तिकै रोपो गोड्न हतार भइसकेको हुन्छ । कहिले पाउँनु त फुर्सद किसानहरूले !
मकैबारीभित्र तुन्द्रङ्ङ परेका छन् मकैबोडी । घरका करेसाबारीमा तेर्सिएका छन् पर्सीका झाल । थाँक्रामा झुन्डिरहेका छन् काँक्राका एकनासे कैँडाहरू । त्यो पनि अर्ग्यानिक !
सम्झँदै थिएँ– यस्ता काँक्रा त गाउँमा हुँदा चौथीमा चोरेर कति खाइयो कति ! सम्झेर मुखै रसायो मेरो । सोचेँ– काँक्राको चिरामा नुन खुर्सानी दलेर सुकेको आँतलाई भिजाउन पाए यो चर्को घाममा कति आनन्द आउला !
यतिका मान्छे छन् । एक्लै त के खानु ।
“उड यु लाइक टु टेस्ट यान अग्र्यानिक क्युकम्बर ?” टोली नेता युइन लीलाई सोधेँ मैले ।
“ह्वाई नट !” उनको जवाफ ।
“काँक्रोको कति हो ?” आँगनमा उभिएर हाम्रो लर्कन हेरिरहेकी आमैलाई सोधेँ ।
“गोटाको बीस ।”
“दिनुस् न त पाँचवटा ।”
आमैले काँक्रा टिपेर पखालिन् र नुन खुसार्नी पिँधिन् । एकएक चिरा भाग पुग्यो । काँक्रो टोक्दै उकालो लागेका थियौँ हामी ।
ढुङ्गाले बनेका परम्परागत घरहरू छन् । गुरुङ सँस्कृति झल्कने ढुङ्गाकै गाह्रो, ढुङ्गाकै छाना । आँगनभरि ढुङ्गा बिछ्याइएका । कति सुन्दर ग्रामीण परिवेश ! घान्दु्रक, लान्द्रुक र टोल्कातिर हिँड्दाको याद आइरहेथ्यो मलाई ।
सुनसान देखिन्थे कतिपय घरहरु । मानिस नबसेकाले घरका भित्तामा सिस्नो र अन्य झारले ढाकिएको छन् । प्रायः बृद्धाहरु मात्रै छन् गाउँमा । कोही विदेसिएका र शहर झरेकाले पहिलेको चहलपहल छैन धम्पुसमा । धम्पुसको जीवन पढ्दै हिँडिरहेका थियौँ हामी ।
आइपुग्यो धम्पुसको धार्मे चौतारो ।
बटुवाहरू सुस्ताउने अर्को बिसौनी । एउटा आकर्षक भ्यू प्वइन्ट पनि । पीपलको वृक्षमुनि बिछ्याइएका छन् चाक्ला छपनी, बटुवालाई बस्न भनेर । पूरै चौतारा ढाकेथ्यो हाम्रै टोलीले । छब्बीसजना थियौँ हामी मलेसियाली र नेपाली गरी । एक दर्जन त महिलामात्र थिए । धेरैजसो मुस्लिम । मुख देखाए पनि टाउका चाहिँ छोपेका हुन्थे विवाहितहरूले ।
‘किन यतिबिध्न कट्टर हुनु परेका होलान यी मुसलमानहरू ! यो उखुममा त झिक्नु नि घुम्टो !’ क्रिडा गर्दै थियो प्रश्नले मेरो मस्तिष्कमा ।
खेतीयोग्य जमिनले घेरा हालेको छ बस्तीलाई । तल फेदीका फाँटदेखि पोखरासम्मकै अनुपम दृश्य देखिन्छ । माथि देखिन्छन् माछापुछ«े र चम्किला अन्नपूर्णाका स्वेत वदन ।
अन्नपूर्णाको अर्थ अधिष्ठात्री देवी, दुर्गाको एक रूप । यो क्षेत्रकै संरक्षिका पनि हुन् भन्ने लोकोक्ति पनि छ । हिन्दू मान्यता अनुसार अन्नपूर्णालाई पर्वत राजा हिमवतकी छोरी भनेर पनि विश्वास गरिन्छ । म भन्छु– ‘अन्नपूर्णा त पर्याय हो, चिनारी हो नेपालको ।’
हिमाल हेर्नका लागि उत्तम ठाउँ हो धम्पुस । त्यसैले त कतिपय चलचित्रहरूमा यहीकै दृश्य देखिन्छ । फेरि बस्तीसम्मै सडक आइपुगेको छ । पहाड भएर पनि सुगम छ– धम्पुस ।
डट्नु थियो उकालोसित । डट्यौँ मज्जैले । शिरमा माछापुछ्रे सिउरिएर उकालोसित डटेको थिएँ म । नौनाडी खिचिइसकेको थियो धम्पुसको अनु गेस्टहाउस पुग्दा । लन्चको अर्डर गरिसकेका थिए सहयात्री जयनाथले । ब्रोइलर कुखुराको मासुसहितको दाल–भात र साथमा थियो पुदिनाको अचार । भोको पेटलाई के चाहियो र ! पुदिनाको महकले नै जगेडा चार गाँस भात फाल हालेको पत्तै भएन ।
अनु गेस्टहाउस छोड्नुअघि आकाश छेकेर ठडिएको अस्ट्रेलियन क्याम्प देखाएँ मैले मलेसियनलाई ।
“आर वि टचिङ द स्काई ?” ठट्टा गर्दै हाँसिन् टामी वेबर । उनी पनि त्यो कम्पनीको कार्यकारी ।
००००
‘घट्टे खोला पुल,
धम्पुस आउने मायालाई सम्झना
लालीगुराँस फूल……….’
धम्पुस छोड्नुअघि गुन्गुनाएथेँ म ।
यही गीतको भावनामा डुबुल्की मार्दै थिएँ धम्पुसको बस्ती नछेलिउन्जेल । अघिल्लो पटक धम्पुसमा बासबस्दा यहाँका आमा समूहले लालीगुराँस फूलले स्वागत गर्दै यही गीतमानाच देखाएका थिए उनीहरूले ।
००००
लौ, एकाएक बद्लियो मौसम !
आकाश त घ्वाप्पै छोप्यो बादलले । पिर्पिराउन थाले पानीका कण । बादल धर्तीमा लत्रिन थालेपछि आकाशमै अल्पियो अघि भर्खरसम्म देखिएको अस्ट्रेलियन क्याम्प । मलेसियनका लागि छिनमै घाम लाग्नु र पानी पर्नु नौलो कुरा होइन । बरु शीतल भएकामा राहत पाएको अनुभव गरेका थिए ।
धम्पुसको बस्ती सकिएलगत्तै स्वागत गर्छ अर्को उकालोले । घामको उपस्थितिमा बाटोभरि छाया पार्ने गुराँसे डालीहरू छेकिएका छन् बाक्लो कुहिरोले । हरियाली हडपिरहेको छ हुस्सुले । मौन छ गोरेटो । देखिँदैनन् कोइली, ढुकुर, तित्रा, सुगा, मैना र मुनालहरू, न सुनिन्छ तिनका कोकिल कलरव । खुला आकाशमा उडिरहने स्वतन्त्र पन्छीहरू कुहिराको बन्धनमा परेका छन् बिचरा !
निःशब्द छ चराचर । निःशब्द छ प्रकृति । निःशब्द छन् सहयात्रीका ओठ । निःशब्द छौँ हामी सबैसबै । लगभग निःशब्द भएरै उकालिइरहेका छौँ हामी ।
पुगियो एमानको चउरमा । एउटा नौलो नागी । सुरम्य छ घना जङ्गलबीचको घाँसेचउर । गृष्मकालिन सौन्दर्यको सुगन्ध फैलिरहेको थियो धर्तीभरी ।
चउरमा चरिरहेका छन् गाइवस्तु, बाख्रा र तिनलाई रखवारी गरिरहेका छन् तिनका निःशब्द गोठालाहरू । बाख्राका पाठाहरू चउरमा बुर्कसी मारेझैँ बुर्कुसिएथ्यो मेरा आखाँ हरिया गुराँसका हाँगाहरूमा ।
पोथाना र अस्ट्रेलियन क्याम्प जाने बाटो छुट्टिएको छ यहाँ ।
यहाँ पनि बनाइएको छ बटुवाका लागि एउटा बिसौनी । शरीरको थकानलाई बिसौनीको मल्हम लगाएपछि बोली फुट्दै थियो हाम्रो ।
प्रकृतिको चर्तिकला कस्ले बुझ्न सक्नु ! हठात् कुहिरोले धर्ती छोड्यो । उजेलियो चउर । उजेलिए सारा वनपाखा । निलो आकाश नदेखिए पनि देखियो गुराँसे हरियाली । निस्कन थाले चराहरू गुँडबाट र निकाल्न थाले नवीन नाद । आकाशको रङ, कुहिरोको रङ र वर्षे हरियालीको तादत्म्य । सुवाश छ मौसमको । सुवाश छ जरोबुटोको । आहा, क्या कञ्चन सौन्दर्य प्रकृतिको ! एउटै लुङ्दरको धराले रङ थपेको छ । अनि त के चाहियो र ! लाग्दै थियो मलाई– प्रकृतिको वदन चुमँुजस्तो, हरियालीमा केहीबेर लुकुँजस्तो र प्रकृतिकै भेषमा नाचुँजस्तो ।
थारै मात्र बाँकी थियो गन्तव्य छिचोल्न ।
हावा चिसिँदै आयो पहाड उक्लेपछि । स्पर्श हुँदै थियो लेकाली ठण्डीसित ।
शरीरका दुई सय छवटै जोर्नीहरू रगडिएका थिए सायद । थालिन थालेको थियो शरीर । फेरि पनि अस्ट्रेलियन क्याम्पमाथि बिजय हासिल गरेको खुसियाली त मनाउनै पर्यो । घुम्न आएको बेला नपिए कहिले पिउने ? फेरि एउटा बहाना पनि त चाहियो ! बगेको पसिना पूर्ति गर्ने तरिका न हो । थकाइको बदलामा आफ्नै ज्यानलाई ट्रिट गर्ने उपाय न हो । सबैले पिउँछन् तर पिउनुको अद्भुत आनन्द त शायद दुनियाँमा पदयात्रा गर्नेले मात्र पाउँछ ।
के छ त बिचार भरेको लागि जयनाथ ? उनको अभिप्राय बुझ्ने प्रयत्न गरेँ मैले ।
बिचार त उही हो । तैतै एउटा लोकल भाले पनि व्यवस्था गर्न सके त गज्जबै हुन्थ्यो । मेरो आशय बुझेरै भनेका थिए सायद उनले ।
जयनाथसँग बेलुकीको योजना बनाउँदा बनाउँदै चुम्यौँ अस्ट्रेलियन क्याम्प । चार बजिसबकेको थियो ।
खासमा खर्क हो– अस्ट्रेलियन क्याम्प । उहिलेउहिले यहाँ होटलको व्यवस्था थिएन । सबैभन्दा पहिले अष्ट्रेलियनले क्याम्पिङ गरेर बास बसेका थिए रे ! फराकिलो ठाउँ क्याम्पिङ गर्न सजिलो भएकोले पर्यटकीय गन्तव्यको रुपमा चिनिँदै गयो । त्यसपछि यहाँ विदेशी पर्यटक ल्याउनेले अष्ट्रेलियन क्याम्प भन्न थालेपछि खर्क भन्न छाडिएछ ।
जेजे भएपनि माछापुछ्रे र अन्नपूर्णाको अमित आँगन हो– अष्ट्रेलियन क्याम्प । हिउँको बिस्कुन सुकाइरहेका हिउँचुलीहरू नजिकै देखिन्छन् यहाँबाट । हृदयहारी ठाउँ हो यो । ख्याल आनन्द आउँदैन हिमाल, पहाड र वेँसीका दृश्यहरूमा आँखा ओछ्याउँदा । यतिबेला कुहिरोको पर्दा टाँगिदै थियो डाँडामाथि । आँखाले कुहिरो पन्छाएर हिमशैलका सग्ला तस्बीर कोर्न खोज्दा खोज्दै खसिकेको थियो गोधुली ।
जङ्गलको बाटो, जुकाको चुसाइ
‘वर्षामासको पदयात्रा त्यति रोमाञ्चक चाहिँ होइन । हिमालको मुखै देख्न नपाउँदा मनै खिन्न हुने । यति कष्ट गरेर यहाँसम्म आइपुगेपछि त पदयात्रीहरूलाई हिमाल चिनाउँन पाए पो ।’ मनोलाप गर्दै थिएँ म ।
पौने छ बजे सूर्योदय हुन्छ भन्ने जानकारी गराएको थिएँ टोलीलाई । त्यही मुताबिक क्यामरा हातहातमा लिएर होटलको छतमा उक्लेका थिए उनीहरू । अघिल्लो साँझदेखि नै गुफा बसेका हिमालहरूले बादलको ढोका खोल्न सकेका थिएनन् । सात बज्दा पनि उघ्रेन आकाश । अन्ततः ‘हिस्स बुढी खिस्स दाँत‘ भन्ने उखान चरितार्थ भएरै छाड्यो ।
तीन महिनाअघि यहाँ आउँदा बिहान छ नबज्दै रातिइसकेको थियो पूर्वि क्षितिज । झलमल भइसकेको थियो धर्ती । हाम्रो नेवारी संस्कारमा बाह्रा बसेका किशोरीहरूलाई सूर्यदर्शनका लागि निकाल्दा सिँगारेझैँ सिँगारिएका थिए हिमचुलीहरू, सुनौला गुन्युचोलीमा । कति सुन्दर थियो त्यो दिनको सूर्योदय ! सम्झँदै थिएँ म अघिल्लो पटक आउँदाका पल ।
“वी स्टिल ह्याव चान्स टू सी द माउन्टेन्स फ्रम पञ्चासे हिल ।” थम्थम्याएथेँ मैले टोलीलाई ।
००००
अस्ट्रेलियन क्याम्प गेस्ट हाउसमा बिल भुक्तानी गरेपछिको हाम्रो पाइला पञ्चासेतर्फ सोझियो । एउटा सानो सेल रोटी पाक्दै छ हामी भोलि पोखरा पुग्दा ।
आन्तरिक पर्यटकका समेत रोजाइमा पर्ने अस्ट्रेलियन क्याम्प एउटा रमणीय गन्तव्य हो ।
‘यहाँको मूल्यको मनोमानीलाई एकैछिन बिर्सने हो भने हत्तपत्ति छोडिहाल्न मनलाग्ने ठाउँ कहाँ रहेछ र अस्ट्रेलियन क्याम्प !’ काँडे झर्दै गर्दा सहयात्री माधव घिमिरेले भनेका थिए ।
होटलको मेनु दखेर झस्केका थिए उनी । किन नझस्कियुन त एक कपको चियाको मूल्य असी रुपैयाँ भएपछि ! काँडेबाट हिँडेरै एकघण्टामा पुगिने ठाउँमा पनि कुनैपनि चिजको मूल्य उचित नराखिनु चाहिँ विडम्बना नै हो ।
००००
बिहानको शीतल समय ।
अस्ट्रेलियन क्याम्प काँडे झरुन्जेल त सजिलै भयो । अबको बाटो उकालो । काँडेदेखि पञ्चासेसम्मको बाटो जयनाथ र सीतारामलाई मात्र थाहा छ । उनैले नेतृङ्खव गरिरहेका छन् बाटोको ।
न घाम लागेको थियो । न त फुटेको थियो बादलको घल्चा । दिन त रोज्जा परेको हो ! हिमाल नदेखे पनि बेखुसी थिएन टोली ।
हरिया पहाडमाथि डुलिरहेको थियो कुहिरो । त्यही कुहिरो छुन लम्किरह्यौँ हामी । हामी जतिजति उकालिथ्यौँ त्यतित्यति माथि भागिजान्थ्यो कुहिरो । लुकामारी खेलझैँ भइरहेको थियो ।
००००
भदौरेमा लन्च गरेपछि मौसमले साउनको सङ्केत गरेथ्यो । खुसी भएर बादलले र वर्षाउन थाल्यो पानीका कण । मौसमको नित्यकर्म थियो त्यो ।
बाटो थियो जङ्लको । झाडी पन्छाउँदै हिँड्नु पर्ने ।
‘अब त जुकाको साम्राज्य चल्छ ।’ जयनाथ बोले ।
हो रहेछ । घारी नै रहेछ जुकाको । कुन सड्को आन चेको नाडीमा टाँस्सिन भ्याइसकेछ एउटा जुका । बाफ रे ! त्यसपछि त जुकाको चुसाइबाट अछुतो कोही भएनौँ ।
मेरो पनि जुत्ताभित्र मोजा छेडेर पनि छेपारीतिर पुगिसकेका थिए गोडा दुइएक जुका । मलमल कपडाको सानोसाना टालोमा अलिकति नुन पोको पारेर टोलीलाई बाँडेको थिएँ मैले जुकाको आत्रमणबाट बच्न ।
क्या सजिलो ! नुनको पोकाले छ्वास्स छुवाउनेबित्तिकै जुका त गुडुल्को परिहाल्ने । यसै गरीगरी जुकालाई ठेगान लागाएथ्यौँ हामीले ।
आकाशको रोदनमा सशक्त हुदोँरहेछ जुकाको आक्रमण । हम्मेहम्मे पर्दोरहेछ जुकासित जागिन ।
थरीथरीका हुँदारहेछन् जुका पनि । कुनै झाडीमा बस्ने ।
कुनै मान्छेको पेटमा । कुनै पानीमा । सबैभन्दा खतरनाक चाहिँ कुर्सीमा बस्ने नै हुँदो रहेछ । टाँसिएपछि टाँसिएको टाँसियै । ढाडिएर बसेपछि नुनको पोकोले ठेगान लगाउनै नसकिने । त्यसैले त सधैँ खोक्रो हुँदोरहेछ देश ।
००००
टोलीका सदश्यहरू घरिघरि सोध्छन्– ‘पञ्चासे कति टाढा छ’ भनेर । ‘उः परपट्टिको डाँडो पछाडि छ पञ्चासे । अब दुई घण्टा लाग्ला ।’ जानकारी दिन्छन् जयनाथ ।
काई र लेउले भरिएको बाटोमा लड्दै र पड्दै हिँडेको डेढ घण्टा भइसक्यो । अझै दुई घण्टा हिँड्नु छ । के गर्नु ! हिँड्नु त परिगो । जयनाथको विश्वासको फेर समातेर चिप्लेटी खेलिरहेका छौँ हामी । जङ्गलले पनि गुञ्जाउँथ्यो अट्टहास प्रत्येक पटकको हाम्रो लडाइमा । साँच्चै उपहासका पात्र भएका थियौँ हामी ।
कैयौँ पदयात्रा गरेँ हुँला आजसम्म । यात्राको सिलसिलामा कैयौँ चोटी लडेँ पनि । फरक यतिमात्र हो– अघिल्ला पटक हिउँमा पछारिएको ज्यान आज वर्षे हिलोमा पछारिइरहेको छ । यद्यपि म खुसीले लड्डै छु आज । अग्नि परीक्षाझैँ भइरहेछ मलेसियन टोलीलाई आजको पदयात्रा । येनकेन पुग्नुछ पञ्चासे ।
प्राकृतिक छटाले भरिपूर्ण छ पञ्चासेको यो सेरोफेरो ।
ठाउँठाउँमा आइरहे खर्र्कहरू । ठाउँठाउँमा कञ्चन पानीका पोखरीहरू छन् गमक्क परेर बसेका । कति जिवजन्तुहरूका प्राण जोडिएको होला यी तलाउहरूमा ! अथाह कृपा छ पञ्चासेको ।
सयौँथरी फूल, सयौँथरी पन्छी र पुतली, सयौँथरी औषधीजन्य जडिबुटी, थरीथरीका च्याउ पाइन्छ यहाँ । वन्य सम्पदामा योभन्दा धनी ठाउँ कमै छन् नेपालमा ।
बाटो छेकेका छन् छत्रे उन्यू, चुत्रो, गुहेँली, लोठसल्ला र ऐसेलुका बोटहरूले । थरीथरीका जङ्गली लहराहरूले बेरिएका छन् खस्रु र गुराँसका रूखहरू । झ्याउ र सुनाखरीले ढपक्कै ढाकेका छन् । निख्खरा हरियो र पहेँलो रङ छरेका छन् दुरेका लहराहरूले । बेमौसम भएर मात्र हो, नत्र पुष्प अनुरागीहरू त सुनाखारीका रङ र वासनामा लठ्ठै पर्ने रहेछन् यहाँ । वर्षाको मलिलो पानीले मौलाईरहेका यी सुनाखरीहरूले केही समय कुर्नु छ फेरि मुस्कुराउँन ।
ठाउँठाउँमा छन् सानातिना तलाउ, भँैसी आहाल बसिरहेका । बुढो गोरुहरू चरिरहेका छन् नाकमा ढाडिएका जुका लिएर । अचम्म लाग्दै थियो– बस्ती त निकै पर छ; कहाँबाट आए यी घरपालुवा जनावरहरू ? सोध्दै थिएँ म आफैँलाई ।
यसैबीच अचानक भेटिए, एक अधबैँसे र उनको साथमा आएका एक किशोर । सोचेको थिएँ– तिनै होलान् यी गोरुहरूका धनी ।
सोधेँ–
“तपाईंकै हो यी गोरुहरू ?”
“हो । यिनलाई मैले ल्याएको ।”
“घर कहाँ हो तपाईंको ?”
“बाँके बाङ्सिङ, स्याङ्जा ।”
“उति टाढादेखि ल्याउनु हुन्छ चराउन ?”
“चराउँन होइन । यिनललाई यहाँ छोड्न ल्याएको ।”
“बाघले खाँदैन त यिनलाई ?
“खाँदैन । ‘बलिया बाङ्गा बाघलाई, बुढा खाडा माघलाई’ भन्ने त उखानै छ नि । बाघले पनि तन्नेरीकै शिकार गर्छ नि !”
गोरुलाई जङ्गलमै छाडेर फर्कंदै थिए ती मानिस । असङ्गत लाग्यो मलाई उनको तर्क ।
सम्झेँ– हाम्रोतिर बुढो भएका गोरुहरू बाँचुन्जेल किलामै पालिन्छन् ।
कति निर्दयी मान्छेहरू ! बल छउन्जेल जोत्नुसम्म जोतेर, खानुसम्म बाली खाएर बुढो भएपछि तिनको रक्षा गर्नु त कता हो कता उल्टै वनमा छोडिदिने ? पशु अधिकारको सवालमा मानवीय संवेदनहिनता कहिलेसम्म होला ? यी गोरुहरूको वास्तविकतमा टोलीले थाहा पाए के भन्लान् ? खिन्न भएर पाइला सार्दै थिएँ म ।
००००
पुगियो पञ्चासे ।
निकै टाढा होला भन्ठानेको थिएँ । पोखराबाट अठ्ठाईस किलमिटर मात्र रहेछ दूरी । पोखरा पल्तिर पो रहेछ पञ्चासे त ।
तगारो उघारेर सन सेट भ्यू होटल छिरेका थियौँ हामी । नेपालमा अझै छ तगारोको प्रयोग । ग्रामिण जीवनका यस्ता भावगाम्भिर्यतालाई समेटेर स्रष्टा स्व. विनोद गौचनले गरेको रचना सम्झेँ मैले–
‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले………’
००००
रगतपच्छे भएका थियौँ हामी जुकाको चुसाइले । सन सेट भ्यू होटलको कोठा छिर्नुअघि मोजा खोलेर हेर्दा सबैको गरी जम्माजम्मी साठी थान जुका निस्क्यो होला । सामुहिक अन्त्यष्टि गरेका थियौँ हामीले जुकाहरूको ।
कास्की पर्वत र स्याङ्जाको संगमस्थल हो– २,५०० मिटर उचाइमा अवस्थित पञ्चासे । पञ्चासेको अर्थ बुझ्न खोजेँ तर स्थानीयवासीको मतैक्य पाएन यो ज्यानले ।
कोही भन्छन्– ‘पाँचवटा डाँडाको शिर भएकाले ‘पञ्चशिर’ भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’
‘पाँचवटा हरियाली पहाडहरूको मिलनविन्दु अर्थात् ‘पञ्च’ र ‘आसन’ को संयुक्त शब्द पञ्चआसन भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’ सन सेट भ्यु होटलमा सञ्चालक राम गुरुङ भन्छन् ।
तर सही लाग्छ दुवै कथन ।
स्थानीयले भनेका कुरा पत्याउने त हो हामी परदेशीले !
००००
‘आँधीखोला कहाँ होला त्यसको शिर,
कसो गरी मेटाउँ त मनको पीर ?’
जीवनाथ राम्जालीको यो मिठो सिर्जना ताजा थियो ममा ।
“साँच्चै कहाँ हो त यसको शिर ?” राम गुरुङसँग जिज्ञासा राखेँ ।
स्कुल पढ्दा गुरुले रामायणमा उल्लेखित एक पात्र श्रवणकुमारको कथा सुनाउनु भएको थियो । धूमिल याद थियो मलाई त्यो वियोगान्त कथाको ।
उही कथा सुनाए उनले–
‘अयोध्याका राजा दशरथका हातबाट भूलवश श्रवणकुमारको मृत्यु भएको थियो । खर्पनमा राखेर आफ्ना आमाबुवालाई तिर्थस्थलहरूको भ्रमण गराउन लगेका श्रवणकुमारले बाटोमा आमाबुवालाई प्यास लाग्दा उनीहरूलाई ओढारमा राखेर पानी लिन तलाउमा गए । त्यसै वनमा राजा दशरथ पनि सिकार गर्दै थिए । श्रवणकुमारले कुवामा कमाण्डलु डुबाएर पानी भर्दाको आवाज सुन्दा राजा दशरथलाई मृगले पानी खाएको आवाज भन्ने लागेछ र बाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको थियो । अन्धाअन्धीका पीडा र वेदनाका अश्रुधाराले नै अन्धाअन्धी दह बनेको र त्यहीँबाट सुरु भएर बग्ने खोलालाई आँधीखोलाको नामले पुकार्न थालियो ।’
पञ्चासे नजिकै (स्याङ्जाको चिलाउनेबासमा) पो रहेछ कथामा भनिएको त्यो ठाउँ ।
जुकासित लडाईं गदैँ पञ्चासे पुग्दाको खुसीले रमाए पनि श्रवणकुमारको कथाले उदास भएथेँ म ।
००००
कताबाट जाने हो पञ्चासे ताल ? माधवजीको प्रश्न जयनाथलाई ।
“उः त्यो सिरानमा । चारैतिर जङ्गलले घेरिएको भए पनि पात–पतिङ्गरहरू तालमा तैरेका हुँदैनन् । रूखबाट पात झर्नेबित्तिकै चराले टिपेर किनारमा ल्याइहाल्छ रे !” पञ्चासे तालको विशेषता बताए जयनाथले ।
कस्तो प्रकृतिप्रेमी चरा ! यस्तो चरा पनि हुन्छ र ? कुन होला त्यो तालप्रेमी चरा ! देख्न पाए हुन्थ्योजस्तै लागेथ्यो मलाई ।
“जाऔँ न त ताल हेर्न !” चराले रूखबाट झरेको पातलाई टिपेको हेर्ने इच्छा जाहेर गरेँ मैले ।
“हुन्थ्यो नि । ताल पनि हेरिन्थ्यो । श्रवणकुमारको समाधी देखिन्थ्यो र शिव मन्दिरको पनि दर्शन गर्न हुन्थ्यो । तर चार घण्टा लाग्छ जान आउन ।” जयनाथको जवाफ ।
चार घण्टा ! ल, टाढैबाट नमस्कार ! यो हिलोमा को गइदियोस् फेरि जुकासित जोरी खोज्न । त्यहीँबाट नमन गरेथेँ मैले शिवजीलाई ।
“तालबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर एवम् तराई फाँट देखिन्छ । पोखरा, स्याङ्जा, कुश्मा, बाग्लुङका साथै राम्जाजस्ता सुन्दर बस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।” बेलिबिस्तार लाए जयनाथले ।
पञ्चासे तालमै पुगेझैँ भएथ्यो उनको कुरा सुन्दा । मेरा आँखाअगाडि आए– माछापुछ्रे, धौलागिरि र अन्नपूर्णाका आकृतिहरू ।
००००
गाउँ घुम्दै भन्ज्याङतिर टहल्लिन पुगेका थियौँ हामी बेलुकीपख । मौसमले जिल्याइरहेका थियो हामीलाई । हिमाल देख्न नपाएको दुखेसो पहिलो पटक पोख्दै थिइन् युइन लिले ।
पञ्चासेबाट हिमाल देख्न सकिएला कि भन्ने मेरो अनुमानले पनि फेल खालाजस्तै लागेको थियो ।
‘भोलिको सुर्योदय पनि देख्न नपाइने भयो,’ चिन्ताको ग्रहण लागेको थियो माधवजीको मुहारमा ।
पञ्चासेमा वेगिएको मन्सुनी वायुको क्लेद अनुभूत भइरहेको थियो त्यतिबेला मलाई । आँधीखोलासित स्पर्श गर्न नपाए पनि त्यसको अस्तित्वबोधले शीतल भएको थियो मेरो हृदय ।
००००
भोलिपल्ट ।
नभन्दै जिल्याइदियो मौसमले । अन्ततः तुषारपात भयो मलेसियनहरूको हिमाल हेर्ने सपनामा । राम गुरुङको मुहारको उज्यालो पनि गुमनाम थियो पञ्चासेमा घामको उज्यालो नपरेपछि ।
उनले भने– “सधैँ देखिरहेको हिमाल नदेख्दा हामीलाई पनि खल्लो लाग्छ । दुःख पर्दा यही हेरेर चित्त बुझाउँछौँ हामी ।”
हिमाल देख्न नपाउँदाको पीडा ब्यक्त गर्न सकिरहेका थिएनन् टोलीले । मलाई भने अघिल्लो पटक आउँदा सराङकोटबाट देखिएको सूर्योदय र घामको लाली हिमालमा पर्दाको सुन्दर चित्रहरूको झझल्को आइरहेको थियो । मेरो मनले भनिरहेको थियो– ‘कम्तीमा एकछिन मात्र हिमाल देख्न पाएको भए पदयात्राको सार्थकता त हुन्थ्यो नि !’
“यु आर याट यान अल्टिच्युड अफ २,५०० मिटर्स । पञ्चासे इज इट्सेल्फ अ माउन्टेन ।” हिमाल नदेखिए पनि हिमाल टेकिरहेको आभास गराए मैले टोलीलाई ।
पञ्चासे छोड्नुअघि जयनाथ भन्दै थिए– “मात्र ओरालो हो आजकोे बाटो । सोह्र सय पचास मिटर ओर्लनु पर्छ घाँटीछिना पुग्न । ढुङ्गाको खुट्किलामा लेउ जमेर के हिँडिसाध्य होला र ! घाम लागे त लेउ पनि अख्रिन्थ्यो र जुकाको ज्यादती पनि सहनु पर्ने थिएन ।”
तर घाम लागेन ।
००००
नौ बजिसकेथ्यो सूचना पाटीले सङ्केत गरेको घाँटीछिनातर्फको गोरेटो समातेर आोरालो लाग्दा ।
सलबलाई सकेका थिए जुकाहरू हाम्रै गन्धले । पाइला टेक्नेबित्तिकै हुरुरु आउँथे जुत्तामा टाँसिन । खुब काम आयो नुनको पोकोको । सायद त्यो हतियार नभएको भए हामी कसरी पन्छाउँथ्यौँ होला जुकालाई ! एकालाप गर्दै थिएँ म ।
तल दमदमे र सिधाने गाउँबाट उठेका कुहिराका मुस्लाहरू लम्कँदै थिए हाम्रै बाटोतर्फ । हिजो हामी कुहिरो भेट्न लम्किएका थियौँ । आज कुहिरोनै हामीलाई भेट्न लम्कँदै छ । बीच बाटोमै जम्काभेट भयो कुहिरोसित । एकछिन त कुहिरोका कागझैँ भएका थियौँ हामी । कुहिरो पञ्चासेतर्फ वेगियो; हामी घाँटीछिनातर्फ वेगिँयौँ ।
“खोइ त कता पट्टि हो पोखरा ?” माधवजीले सोधे ।
“उः त्यो डाँडा ले छेकेको छ,” सीतारामको जवाफ ।
धूमिल थियो दृश्य । अग्लो पञ्चासे भञ्ज्याङले देख्न नसकेको घाम होचो पोखराले कसरी देखोस् ! अन्नपूर्णा, माछापुच्छ्रे र धौलागिरिहरू बादलभित्र हराएपछि सुन्य लाग्थ्यो संसार । घामको उज्यालो नपर्दा उदासिलो बन्दारहेछन् धर्तीका पत्रहरू ।
आँखामा आइरहेथ्यो, पुम्दी–भुम्दीको हरियाली खसेको सुन्दर फेवाताल र पोखरा नगरको । पञ्चासेसितै जोडिएको छ पोखराको अस्तिङ्खव । पञ्चासेले सेती र हर्पनखोला नपठाउने हो कसरी हाँस्थ्यो होला पोखरा ? तर तलैया र सिमसारमाथिको अतिक्रमण सम्झँदा कुडिन्छ मेरो मन ।
फुटिगयो बादलको घैला सिधाने पुग्दा । सिधानेबाट तल्तिर झर्ने क्रममा छोटो बाटो भन्ठानेर जाँदा झण्डै पुगिएन अर्कै गाउँ । एकछिन त रनभूल्लमा परेका थियौँ हामी । खेतका आलीआली हिँडका थिर्याँ माधवजी, म मेगान होली र डेभिड चाल्स र अरू तीनजना । लड्ने क्रम रोकिएको थिएन । हुन त मज्जा थियो लड्नुमा पनि । हत्तपति मिलिहाल्दैन यसरी लड्ने मेलोमेसो ।
रोकियौँ हामी दमदमे पुगेर ।
जङ्गलको बीचमा छ दमदमेको बस्ती । इतरिइरहेका छन् छहराहरू पाखापखेरा हल्लाउँदै । चारैदिशा छहराहरूले घन्किएको छ दमदमे गाउँको । पोखरा पल्तिर भए पनि पोखराको आधुनिकताले भेटेको छैन सिधाने र दमदमेलाई । धम्पुसकै जस्तो बान्कीका घरहरू छन् यहाँ । आफ्नै भाषा, भेष, रितिस्थिति र परम्परा छ यहाँ । सिधाने र दमदमेको दपर्णमा आफ्नै अनुहार देखेथेँ मैले ।
घाम नलाग्दा नरमाइलो चाहिँ हुने । मनमा लागिरहेको छ– ‘घामको चमकमा दमदमे साँच्चै कस्तो देखिन्थ्यो होला !’
त्यसैले पो भनिएको रहेछ– ‘पोले पनि घामै जाती, कुटे पनि आमै जाती ।’
निरन्तर वर्षंदै थियो बादल । पखाल्दै थियो कुद्बी र हर्पन डाँडालाई । चराहरूले पखेटा फिँजाउन पाएका थिएनन् । छत्री र घुम चल्मलाइरहेका थिए खेतका गह्राहरूमा । दमदमे र घाँटीछिनाबीच बिन्दुसरि उभिएको थियौँ हामी छब्बीस जना । हामी हतारहतार कोर्दै थियौँ एउटा सीधा रेखा घाँटीछिनासम्म । र, फेरि अर्को रेखा कोर्नु थियो पोखरासम्मको ।
२४ जुलाई २०१९
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।