साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

भिएनालाई बिदाइ, चाडबाडलाई स्वागत

Chovar Blues Mobile Size

आनन्द र खुसीमा यो समय भन्ने कुरो कति हो कति चाँडो सुल्किन्छ । थाहै पाइँदैन । हिजो नै भिएना आएजस्तो लाग्छ तर जाने बेला पनि भइगयो । रुघा, खोकी लागिरहने मान्छे मलाई भिएना वा यता उति घुमुन्जेल ती कुनै पनि छेउ परेनन् । ग्याँसको भुक्तभोगी मलाई ग्याँसले पनि सताएन । ती सबैले पनि मेरो साथ दिएकै हुन् । आज ४ अक्टोबर २०१६ मङ्गलबारको बिहानदेखि प्याकिङ गर्न व्यस्त भइरहेँ । हुन त मेरा लुगाफाटाहरू मैले हिजै बाकसमा हालिसकेको थिएँ । राति १०:४५ को फ्लाइट भनेपछि चार घण्टाअघि विमानस्थल पुग्नुपर्छ । शीला स्टेइनर मेरी फुपू सासू विचित्रको व्यक्तित्व हुनुहुन्छ भनेर अहिलेसम्म सबैले चिनिसकेको मान्छेलाई मैले यस घरि पनि चिनाउन खोज्नु मेरो मूर्खताको परिचय हुनेछ ।

मुक्तिप्रसाद उपाध्याय (सिलगढी)

उहाँ नेपाल, सिलगढी वा आसाम जाँदा एकै जना आफन्तलाई पनि बिर्सनु हुन्न । कथङ्काल गतिलो कोसेली ल्याउन जुरेन भने सानो क्लिप वा पिन भए पनि ल्याउनुभएकै हुन्छ उहाँले । म फर्किँदा कसैलाई केही नपठाई दिदीको मन कसरी पो मान्छ पनि!  सम्झे जतिलाई केही न केही पठाउनैपर्ने । सम्झेर एकैचोटि ल्याएर मलाई दिए पनि हुन्थ्यो नि, म मिलाएर बाकस थुन्ने थिएँ । ठूलो निलो बाकस किनेर दिने पनि दिदी नै हो । म भिएना आउँदा दिदीले मगाएका सामान र मेरी श्रीमती दीप्तिले पठाएका कोसेलीले भरिएको थियो मेरो बाकस । सामान धेर भएर भाँचिएका होलान् मैले भिएना लिएर गएको बाकसका चक्का पनि । मेरा लाउने लुगा कति पो थिए र ?  दुई जोर सुट, एउटा ज्याकेट, एउटा सुइटर, एउटा हाफ सुइटर, पाँच ओटा सर्ट र तीन-चार ओटा प्यान्ट, मफलर, टाई र भित्री लुगाहरू । आज पनि अरू रहल सबै दिदीले पठाएका कोसेलीले भरिसकेको छ मेरो बाकस । चप्पल, लेडिज टि सर्ट, लिफस्टिक, चुरा, क्लिप आदि के के हो के के ! लौ अब त भयो भनेर बाकस बन्द गरिसकेपछि पनि फेरि क-कसलाई सम्झिएर केही ल्याउनुहुन्छ दिदी ।

त्यस दिन बिहानदेखि तीन बजेसम्म त्यति नै काम भयो । अब त फाइनल भयो भनेर बाकस बन्द गरेर त्यसलाई ओजन गऱ्यौँ । २९ किलो भएछ । पर्ख है मुक्ति ! अझै एक किलो बाँकी छ  भनेर दिदी आफ्नो कोठामा गएर एक किलो जतिको सामान फेरि लिएर आउनुहुन्छ । उपाय छैन त्यो पनि हाल्न फेरि बाकस खोल्नैपऱ्यो । खोलेर सामान हालेर बाकस बन्द गर्न खोज्दा बन्द हुँदैन । म बाकसमाथि बसेर थिचेँ अनि दिदीले ताला लाउनुभयो । दिदी अझ मलाई ह्विस्कीका दुई ओटा बोतल लिएर जानु भन्दै हुनुहुन्थ्यो । लाने थिएँ तर के गर्नु बाकसमा ठाउँ नै थिएन । कसरी पनि लानु ? ह्यान्ड क्यारी गर्न मिल्दैन, बाकसमा आँटेन । लानु नै परेछ भने अन्ताराष्ट्रिय विमान अड्डाका ड्युटी फ्री पसलबाट किनेर लान्छु भनी सोचेँ । जे होस, बिहानदेखिको घमासान पछि बाकस पर्व जसैतसै समाप्त भयो । मफलर, टोपी, हाफ सुइटर एउटा ज्याकेट चाहिँ पिठिउँ ब्यागमा हालेको थिएँ । अर्को सानो ब्यागमा टिकट, पासपोर्ट, इन्सुरेन्स, पैसा, ओषधि आदि थिए । घरबाट निस्किँदा पाँच बज्न लागेको थियो । हवाइ अड्डासम्म जाँदा मेट्रो फेर्नुपर्ने भएकाले दिदीले एउटा कार बोलाउनुभयो । दिदीको घरबाट एयरपोर्ट २५ किमी जति पर्दो रहेछ । समय ३० मिनट अनि भाडा पनि ३० युरो । समयमा पुग्यौँ । रुनी र फ्रिदरिख हामीलाई टर्मिनल तीनमा पर्खरहेका थिए । उनीहरूसित पहिले नै फोन सम्पर्क भइसकेको थियो । गएर पहिले बोर्डिङ पास लिने र बाकस जिम्मा लाउने काम सक्यौँ । त्यहाँको एयरपोर्टमा बोर्डिङको काउन्टरसम्म यात्रीका आफन्तहरू जान सक्छन् । बोर्डिङ कार्ड लिएपछि मेरो ह्यान्ड क्यारी मात्रै रह्यो । समय निकै हातमा भएकाले रुनी र फ्रिदरिखले रेस्टुरेन्ट लिएर गए । रुनी र दिदीले कफी खाए भने मैले र साड़ुदाईले बियर नै खायौँ । समय आठ बज्न लाग्दा त्यहाँबाट चेकइन गर्ने गेटतिर लाग्यौँ । मलाई शुभयात्राको शुभकामना दिएर दिदीहरू फर्किनुभयो । म सुरक्षा जाँचमा छिरेँ ।

फर्किँदा पनि दुबाईमा विमान फेर्नुपर्ने गरी मेरो टिकट अरब एमिरेट्सको नै थियो । यसपालि भने मेरो सिट देब्रेतिरको झ्यालमा परेकाले मन खुसी भयो । अकाशमार्गबाट रातिको भिएना सहरको झिलिमिली देखाउँदै विमान अघि बढ्यो । उही पहिलेको जस्तै सेवा परिचारिकाहरूको । खाना खाइसकेर वाइनको चुस्की लिँदै आफ्नो सिटअघिको टिभीपर्दामा हवाइ गतिपथ हेर्न यसपालि पनि म व्यस्त रहेँ । विमान दक्षिण दिशातिर लाग्यो । दुबाईबाट भिएना जाँदा जुन गतिपथबाट विमान उडेको थियो त्यही मार्ग अपनाएर नै विमान फर्किँदो रहेछ । भिएनाबाट बुडापेस्टकै माथिबाट हङ्गेरी अनि बुलगेरिया हुँदै इस्टानबुलमाथि पुग्दा देब्रेतिर कृष्ण सागर देखियो । अङ्कारा हुँदै विमान दुबाईतर्फ लाग्यो ।  अक्टोबर ५ को बिहान त्यहाँको स्थानीय समयअनुसार साढे छ बजे म दुबाई पुगेँ अनि बिहान ९:५० मा थियो दुबाईबाट दिल्लीको विमान ।

भारतभन्दा दुबाईको समय डेढ घण्टा ढिलो भनेपछि भारतीय समय साढे एघार बजेतिर थियो मेरो विमानको उडान । जे होस, तीन घण्टाको समय थियो मसित । तीन घण्टा कटाउनैपर्छ । दुबाई विमानस्थलमा रहेका पसलहरू हेर्दै जान थालेँ । ड्युटी फ्री पसल एउटा देखेर त्यसमा पसेँ । भव्य पसल । विश्वका विभिन्न थरीका रक्सी नै रक्सी । नाम जानेका एक-दुई थरीका दाम हेरेँ । बीस-बाईस डलरभन्दा थोरैका अन्य कुनै ब्रान्ड त्यहाँ देखिनँ । किन्ने जाँगर चलेन । त्यसपछि नातिका लागि खेलौना हेर्न थालेँ । मन पर्ने खेलौनाको दाम देखेर म तर्सिएँ । खेलौनाको दाम पनि यति चर्को हुँदो रहेछ भन्ने लाग्यो । केही पनि किन्दिनँ भनेर त्यस पसलबाट निस्केर जुस कर्नरमा गएर एकग्लास जुस किनेँ । पसलको बाहिर भएको एउटा कुर्सीमा बसेर रमिता हेर्दै एक एक घुट्की जुसको आनन्द लिँदै म त्यहाँ निकै बेर बसेँ । विमान उड्ने समय विचार गरेर त्यहाँबाट उठेर म विमान प्रस्थान गर्ने गेटतिर लागेँ ।

समयअनुसार अरब एमिरेट्सको विमान उड्यो । यसपालि भने म बीचको लहरमा परेँ । झ्यालबाट बाहिर हेर्ने कुरै भएन । बेला-बेला टिभी पर्दामा विमानको गतिपथ हेरेँ । त्यो पनि कति हेर्नु अब ? अरब सागरमाथिबाट निकै बेर उडाएपछि इरान र पाकिस्तान हुँदै दिल्लीतर्फ लाग्यो । परिचारिकाले पहिले पेय पदार्थ ल्याई । त्यसपछि खाना । खाना खाँदै गर्दा परिचारिकासित वाइन मागेँ । समय कटाउन वाइन खाँदै एउटा अङ्ग्रेजी सिनेमा हेरेँ । भारतीय समयअनुसार तीन बजे बेलुका दिल्लीको इन्दिरागान्धी अन्ताराष्ट्रिय हवाइ अड्डाको तीन नम्बर टर्मिनलमा आइपुगेँ म ।

पासपोर्टमा आगमनको छाप लगाउने ठाउँमा लामो लाइन भएकाले निकै समय लाग्यो । सो काम सकेर बाकस लिएँ ।  त्यसपछि म ड्युटी फ्री पसलमा छिरेँ । ड्युटी फ्री पसलमा छिरेको मेरो त्यो मेरा लागि नौलो अनुभव बन्यो । ड्युटी फ्री पसलमा पासपोर्ट र बोर्डिङ पास देखाउनुपर्दो रहेछ । दुई ओटा ब्लेक लेभेल किनेर बाहिर आएँ । हुन त मेरो आगमनको समय छोरालाई थाहा थियो तापनि फोन गरेँ । ऊ आएर पार्किङमा मलाई पर्खिरहेको रहेछ मैले गुडाएर ल्याएको ३० किलोको निलो बाकस छोराले उचालेर आफ्नो गाडीमा राख्यो । गुरुग्रामको वाटिका सिटी नेक्स्ट, सेक्टर ८२ मा छोराले लिएको डेरामा पुग्दा पाँच नाघेको थियो ।

भिएनालाई बाई गरेर आइसक्दा दसैँलाई स्वागत गर्ने बेला भइसकेको थियो । नवरथा लागेको चौथीका दिन म गुरुग्राम पुगेको हुँ । छोराले गुरुग्रामको वाटिका सिटी नेक्स्ट, सेक्टर ८२ मा त्यही वर्ष एउटा नयाँ फ्लेट किनेको थियो । त्यसको भित्री बनावटको कार्य केही अपुरो भएकाले छेवैमा एउटा फ्ले ट डेरामा लिएर हामी बसेका थियौँ । हुन त मभिएना जानुभन्दा अघि नै आफ्नो फ्लेटको साँचो छोराले पाइसकेको थियो । घरको पूजा गरेर सर्ने दिन जुराउँदा सात अक्टोबर जुरेको थियो । गृहप्रवेशको पूजा सात अक्टोबर अर्थात् षष्ठीका दिन भनेर पण्डितले जुराएका थाए । भिएनाबाट फर्किने चार अक्टोबरको मेरो टिकट छोराले त्यही विचार गरेर काटिदिएको थियो । सात तारिखका दिन हाम्रै नेपाली पण्डित बोलाएर घर पूजा गरेका थियौँ ।

त्यसपल्टको दसैँको टिको त्यही नयाँ घरमा लगाउनुपर्छ भनी गुवाहाटीबाट भतिजो हरि, बुहारी नीरा र नाति अनुज लगायत साली नन्दा, साडुभाई परिमल साथै छोरीहरू पिङ्की र स्विटी नवमीका दिन आइपुगेका थिए । छोरी प्रतीक्षा र ज्वाइँ किशन आउन पाउनु भएन । किनभने छोरीको दोस्रो सन्तान जन्मिने मिति डाक्टरले अक्टोबरको दोस्रो साता तोकेको थियो । सासूआमा श्रीमती दीप्तिसित पहिले नै गुरुग्राम पुगिसक्नुभएको थियो । छोरी-ज्वाइँका परिवारबाट ज्वाइँका दाइ रोशनज्यूको उपस्थिति रहेको थियो । त्यस वर्षको दसैँ हाम्रा लागि एउटा ऐतिहासिक नै बन्न पुगेको थियो । मेरो पनि जीवनको पहिलो विदेश यात्रा भएकाले मेरा लागि पनि ऐतिहासिक नै थियो । हाम्रो अत्यन्त आत्मीय र पवित्र चाड दसैँको छेका पारेर दशमीको टिको र जमरा थाप्दै दुर्गा माताको आशीर्वादसित उहाँकै चरणारवृन्दमा मेरो यात्रा विसर्जन गरेँ । जानी नजानी लेख्ने प्रयास गरेको मेरो यो पहिलो यात्रासंस्मरण पढिदिने सम्पूर्ण पाठकलाई दुर्गा माताको आशीर्वादले जीवन सुखमय, निरोगी र दीर्घायु बनोस् भन्ने कामना पनि म यसै साथ टक्र्याउन चाहन्छु ।

प्रतिक्रिया
Loading...