जिन्दगीमा धेरै कुरा सोचे जसरी हुँदैनन् । नसोचेकै धेरै हुन्छन् । सोचे झैँ हुने भए त जीवन केवल एक सरल रेखा हुने थियो जसमा कुनै उत्साह, उमङ्ग, विस्मय र आश्चर्य केही हुने थिएन । आकस्मिकतालाई कुनै ठाउँ हुने थिएन । अस्वभाविकतालाई कुनै स्थान हुने थिएन । तर त्यस्तो छैन, र त जीवन एक बक्र–रेखा बनेर हाम्रा सामु पसारिएको हुन्छ । घाम–छाया र उकाली–ओरालीहरू हाम्राअगाडि तेर्सिएका हुन्छन् । समयका पलहरू बित्दै जान्छन् । अनि बितेका पलहरू क्रमशः धूमिल स्मृतिमा परिणत हुँदै गएका हुन्छन् ।
धेरै वर्षपहिलेको यस्तै स्मृति हो यो ।
‘वान्ट अ बाइट ? जस्ट वान डलर !’ अनचिनारु प्रदेशमा कुनै अपरिचित मानिस एउटा सर्पसहित मेरासामु ठिङ्ग उभिएर मलाई आफूतिर आकर्षित गर्न खोजिरहेको थियो । निश्चय पनि उसको आशय थियो, ‘स्नेक बाइट,’ अर्थात्, सर्प–दंश !
नियालेर मैले उसलाई हेरिरहेँ । ऊ अधबैंसे उमेरको एकजना अश्वेत थियो । आश्चर्य, अमेरिका जस्तो देशमा पनि, उसले घाँटीमा यम्मानको सर्प बेरेको थियो– त्यो सर्पै थियो वा अजिङ्गर, मैले यतिकै ठम्याउन सकिनँ । तापनि मलाई बुझ्न भने गाह्रो भएन, उसले एकपटक सर्पलाई डसाउन लगाउँदो होला र त्यसबापत् एक डलर रकम लिन्थ्यो होला । अर्थात्, एक डलरमा एकपटक सर्पदंश ! पक्कै पनि त्यो सर्प विषरहित थियो होला र सायद त्यसका दाँत पनि निकालिएको थियो होला, जसले गर्दा त्यसले डसे पनि घाउ आदि केही हुँदैन्थ्यो होला ।
तर, म भावशून्य जस्तो भएर एकटक उसलाई हेर्दै उभिइरहेँ । धेरैबेर उसले अनुनयका आँखाले मतिर हेरिरह्यो । मनजिकै अरू केही मानिस पनि थिए, तीमध्ये धेरै चाहिँ गोरा अर्थात् श्वेतवर्णी थिए । त्यो अपरिचित ती मानिसतिर गएन । मलाई ती मानिसले पनि त्यस अपरिचित व्यक्तिप्रति खासै चासो राखेको वा देखाएको जस्तो लागेन । नयाँ देखेर अथवा एसियाली रङको बुझेर उसले मलाई लक्षित गरेको थियो कि ? मलाई त्यस्तो कुनै कारण हो र होइन भन्नेतिर समय खर्चनु व्यर्थ लाग्यो । अन्ततः मैले खासै चासो नदेखाएपछि निस्पृह भावले ऊ त्यहाँबाट अन्यत्र लाग्यो, तापनि यो बीचमा मैले त्यो मानिसमा एउटा विशेषताचाहिँ के पाएँ भने ऊ त्यसरी सर्प लिएर गोरा मानिससमक्ष जाँदो रहेनछ, र सम्भवतः, प्रहरी देखियो भने पनि आफूलाई तत्कालै दृश्यबाट बाहिर लगिहाल्दो रहेछ !
लगत्तै त्यहाँ अर्को एक अश्वेत मानिस आइपुग्यो, अधबैंसे उमेरकै देखिन्थ्यो । ऊ भर्खर म उभिएको ठाउँको सडकपारितर्फ रहेको सेभेन इलेभन साइनबोर्ड लेखिएको पसलबाट निस्केको थियो । ऊ अग्लो थियो र पछाडि फर्काएर क्याप लगाएको थियो । उसको देब्रे हातमा सस्तो तर कडा किसिमको क्यान बियर थियो (मैले पछि थाहा पाएको, लामो क्यानमा हुने त्यो ‘स्ट्रङ बियर’ अक्सर बेरोजगार अश्वेतहरूले नै धेरै पिउँदा रहेछन्) । एकाध गोरा मानिस हाम्रो छेउमा उभिएका थिए । त्यो अग्लो अश्वेत मानिस बेञ्चमा बस्यो तर अचानक जब ती गोरा मानिस त्यहाँबाट हिँडे र पारि सेभेन इलेभन पसलभित्र हराए, त्यो अश्वेत त रिसाउन पो थाल्यो । मलाई लाग्यो, सायद उसको बुझाइमा ऊ अश्वेत मानिस आएर बसेको हुनाले त्यो मन नपराएर ती गोरा मानिसहरू त्यहाँबाट हिँडेका होलान् !
अनि त उसले ती गोराहरू गएकोतिर हेर्दै गाली गर्न थाल्यो, ‘यू मदरफ… । कहिले हामीलाई दास बनायौ, कहिले हामीलाई ‘निगर’ भन्यौ । अझै हामीलाई हेप्न छाड्दैनौ ? गोरा हौँ भनेर अझै तिमीहरूको यो दम्भ !….’
फेरि उसले आँखाअगाडिबाट हराइसकेका ती श्वेतवर्णी मनुवाहरूलाई लक्षित गर्दै केही थान अश्लील र बढी भद्दा शब्दहरूको झटारो हान्यो । लाग्थ्यो– ऊभित्र रहेको कुण्ठा र आक्रोश कम हुन मानिरहेको थिएन ।
ऊ यसरी नै धेरै बेर कराइरहेको थियो । हाम्रो अगाडिबाट एउटा पुलिस कार गयो । त्यो अश्वेत मानिस त्यही कार गएतिर फर्केर कराउन थाल्यो । ऊ ‘पुलिस भए पनि म डराउँदिनँ । बढी भए मलाई समातेर जेल त हाल्छौ नि । अरू के हुन्छ र ? यू मदरफ…,’ यसो भन्दै ऊ फेरि पनि उसै गरी गाली गर्ने र कराउने गरिरहेको थियो ।
के उसलाई कुनै शोक थियो होला ? कुनै पीडा ? कुनै औडाहा ? कुण्ठा ? असन्तुष्टि ? अथवा, सार्वजनिक अभिव्यक्ति पाउन नसकिरहेको कुनै अवसाद (कम्प्लेक्सिटी) ?
म अनायास सोचाइ–सागरमा हराएजस्तो भएको थिएँ– शोक त क्षणिक हुन्छ र त्यसले छोटो समयसम्म मात्र दुःखी तुल्याइरहन्छ तर त्यसबाट पाइने पीडा ? त्यस्तो पीडा त धेरै लामो समयसम्म रहन्छ, कहिलेकाहीँ त जीवनभरसम्म नै पनि रहन्छ । उसो भए के त्यो अश्वेत व्यक्ति कुनै शोकले ग्रसित थियो होला ? अथवा, के उसलाई उसकै कुनै सम्झनाका काँडाहरूले घोचिरहेका थिए होलान् जसबाट ऊ चाहेर पनि भाग्न सकिरहेको थिएन ? शोकको पीडा मेटिन सक्छ तर सम्झनाले जीवनपर्यन्त सताइरहन्छ किन पनि भने सम्झना दास हुँदैन, स्मृतिहरू कहिल्यै पराधीन हुँदैनन् र यादहरू जहिल्यै उन्मुक्त भएर बसेका हुन्छन् । त्यसैले गर्दा स्मृतिका दुम्सी–काँडाहरूले जहिले जहाँसुकै भए पनि जीवनभर कुनै पनि बेला च्वास्स–च्वास्स घोचिरहन सक्छन् !
मलाई आफ्नो बालापनको पनि याद आउँछ र त्योसँगै म उसको पनि बाल्यावस्थाको कल्पना गर्न पुग्दछु । उसको बालकपन कसरी बितेको थियो होला ? निरापद बालखेलका चञ्चलताले भरिनुपर्ने बाल्यकाल उसले कसरी बिताएको थियो होला ! अनि निर्बन्ध उत्सुकतामा बित्नुपर्ने किशोरवयमा जीवनका कस्ता–कस्ता भयावह रूप देख्दै ऊ हुर्किएको थियो होला ? बालवय र किशोरवयका भोगाइहरूको छाप जीवनभरि नै पनि रहनसक्छ । मलाई लाग्यो, ऊ निश्चय पनि बाल्यावस्था र पछि किशोरवयबाट गुज्रिरहँदा श्वेत–अश्वेतबीच जातिभेद र रंगभेदजस्ता अमानवीय नीतिहरूको सिकार भएको हुनुपर्छ, अथवा, त्यस्तो केही प्रत्यक्ष देखेको हुनुपर्छ । त्यसैले त यतिबेला, अधबैंसे उमेरमा पनि, गोरा मानिस देखेपछि पछाडिबाट नै भए पनि र अप्रत्यक्ष रूपले भए पनि आफ्नो मनभित्र रहेको आक्रोश र कुण्ठा जानीनजानी अभिव्यक्त गरिरहेको थियो ! यसरी अस्वाभाविक रूपले आफ्नो मनको बह पोखिरहँदा के उसले मार्टिन लुथर किङ र उनीजस्ता तमाम भविष्यदर्शी मानिसहरूलाई पनि सम्झिरहेको थियो होला जसले न्याय, समानता र मुक्तिको सपनामा जिन्दगीकै बलि चढाएका थिए ? त्यस्ता महान् एवम् अप्रतिम बलिदानहरूबाट उसले केही सिक्न सकेको थियो होला ? अथवा, थिएन होला ?
मेरा प्रश्न मभित्रै थिए । निरुत्तरित थिए । यत्तिकैमा अनायास नै मेरो सोचाइ–शृङ्खला भङ्ग भएको थियो र म उसले थाहा नपाउने गरी उसैलाई हेरिरहन थालेको थिएँ । यता र उता हिँडे झैँ अथवा ओहोर–दोहोर गरेजस्तै ऊ त्यही ठाउँमा थियो तर उसको अनियञ्त्रित अभिव्यक्ति भने थामिएको थिएन । निकै बेरपछि मात्र ऊ पनि एकातिर लागेको थियो, सायद त्यही क्यान बियर खान एक्लो ठाउँको खोजीमा ।
त्यसो त, अमेरिकाको त्यो दिन निकै सहज थियो । घमाइलो र मनै हरर्र पार्ने अपरान्ह । गर्मी थिएन । मौसममा चीसोपन थियो तर जाडै भने थिएन । केही वर्ष पहिलेको कृुरा, म अमेरिकी राज्य भर्जिनियाको अलेक्जान्ड्रिया काउन्टीको माउन्ट भर्नान भन्ने ठाउँमा थिएँ । नेपालबाट अमेरिका आएको पनि धेरै समय बितेको थिएन र सायद कुनै भेटघाटको सिलसिलामा म त्यो बेला त्यस ठाउँमा पुगेको थिएँ । त्यस समयका मेरा मार्गदर्शक र पहिलो अनलाइन नेपाली पत्रिका ‘नेपालीपोस्ट डटकम’ का सम्पादक भाइ गिरिश पोखरेल मलाई पिकअप गर्न आउन लागेका थिए । म उनैलाई कुर्दै एउटा बस–बिसौनीमा उभिइरहेको थिएँ । त्यति नै बेला त्यो सर्पदंश गराउन आग्रह गर्ने व्यक्ति मेरासामु आइपुगेको थियो । म भएको ठाउँबाट हिँडेपछि अलि टाढा पुगेर ऊ एउटा पसलभित्र छिर्यो र मेरा आँखाअगाडिबाट अलप भयो ।
म आफ्ना अगाडि लमतन्निएको सडकतिर आँखा कुदाउन थालेको हुन्छु । मेरा अगाडि सफा र चिल्ला बाटामा एकनाससित गाडीहरू आवत–जावत गरिरहेका थिए । थरि–थरिका वाहन– बस, ट्रक, सानाठुला जिप, भ्यान, कार, एकाध लिमोजिन र यस्तै–यस्तै । मोटरसाइकल कतै देखिँदैन, बरु फाट्टफुट्ट साइकल भने देखिन्थे । जता आँखा पुग्छन्, केवल चारपांग्रेहरूकै जमघटबाहेक केही देखिँदैन । पैदल हिँड्ने पनि निकै कम मात्र । मलाई लागेथ्यो, सायद बसोबास र काम गर्ने ठाउँ टाढा हुने हुँदा मानिस निजी कार अथवा सार्वजनिक बसमै यात्रा गर्नुपर्ने बाध्यतामा रहँदा हुन् ।
अमेरिकी राजधानीमा विभिन्न भवनहरू निर्माण हुँदा फ्रान्सेली आर्किटेक्ट बोलाइएका थिए । अहिलेको विश्वविख्यात स्वतन्त्रताकी देवीको मूर्ति (स्ट्याचू अफ लिबर्टी) पनि फ्रान्सेलीहरूले नै अमेरिकालाई उपहारस्वरूप प्रदान गरेका थिए ।
माउन्ट भर्नान अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनको जन्मथलो हो (उनको कर्मथलो त सिङ्गो अमेरिका नै भइहाल्यो) । अमेरिकी राजधानीको नाम उनकै सम्मानमा राखिएको हो । उनी जीवित छँदै आफ्नो प्रत्यक्ष निर्देशनमा उनले राजधानी वासिङ्गटन डिसीको निर्माण गर्न लगाएका थिए । फ्रान्सेली आर्किटेक्चरबाट प्रभावित डिसीको निर्माण भइरहँदा उनी घोडा चढेर यही माउन्ट भर्नानबाट नियमित रूपमा निर्माण कार्यको रेखदेखमा गइरहन्थे । बेलायती उपनिवेशको रूपमा रहेर पछि त्यस साम्राज्यको विरोध गर्ने क्रममा तत्कालीन अमेरिकी नेतृत्व फ्रान्ससित नजिकिएको थियो । त्यसकारण अमेरिकी राजधानीमा विभिन्न भवनहरू निर्माण हुँदा फ्रान्सेली आर्किटेक्ट बोलाइएका थिए । अहिलेको विश्वविख्यात स्वतन्त्रताकी देवीको मूर्ति (स्ट्याचू अफ लिबर्टी) पनि फ्रान्सेलीहरूले नै अमेरिकालाई उपहारस्वरूप प्रदान गरेका थिए ।
पछि, अमेरिकामा रहँदै–बस्दै जाँदा जर्ज वासिङ्गटनबारे केही रमाइला कुरा पनि थाहा भए । उनी ब्रिटिश उपनिवेशविरोधी अमेरिकी स्वतन्त्रता आन्दोलनका कमान्डर थिए र त्यस आन्दोलनमा निर्णायक विजय हासिल भएपछि अनेक सहयोगीहरूले उनलाई ‘अमेरिकाको राजा बन्न’ सुझाएका थिए । चाहेको भए उनले त्यस्तो गर्न पनि सक्थे तर उनले नयाँ राजा बन्ने कुरा स्वीकार गरेनन्, बरु निर्वाचित राष्ट्रपति नै बन्ने निर्णय गरे । त्यसैअनुसार उनी अमेरिकाका प्रथम राष्ट्रपति भए र सन् १७८९ देखि १७९७ सम्म गरी उनले दुई कार्यकाल अमेरिकी शासन–सत्ता चलाए । उनी अमेरिकाका त्यस्ता एकमात्र राष्ट्रपति पनि हुन् जो राष्ट्रपति भवन व्हाइट हाउसमा कहिल्यै बस्न पाएनन् ! (किनभने त्यति बेलासम्म व्हाइट हाउसको निर्माण सम्पन्न भइसकेको थिएन) । तर, उनीप्रति सदाबहार सम्मान व्यक्त गर्दै एक डलर अमेरिकी नोटमा भने यिनै जर्ज वासिङ्गटनको चित्र अंकित गरिएको छ । अमेरिकामा सबैभन्दा धेरै चल्ने नोट पनि यही एक डलर नै हो । एक तथ्याङ्कअनुसार, सन् २००९ मा छापिएका कुल नोटहरूमध्ये ४२ प्रतिशत नोट त केवल एक डलर नोट मात्र थिए ! अझ रोचक त के भने सन् २०१९ डिसेम्बर अन्त्यमा विश्वव्यापी रूपमा प्रचलनमा रहेको अमेरिकी डलरमध्ये कुल १२.७ अर्ब डलर त केवल एक डलर नोट मात्र थिए !
माउन्ट भर्नानमा जर्ज वासिङ्टनको ठुलो मौजा रहेछ । त्यहाँ घुम्दा थाहा हुन्छ– उनको शेषपछि सरकारले उनको घर र जग्गालाई अत्यन्त सावधानीपूर्वक संरक्षण गरेको छ र त्यसलाई सुरक्षित संग्रहालय बनाएर राखेको छ । जर्ज वासिङ्गटन मेमोरियल म्युजियम अमेरिकी इतिहासको सुन्दर र महान धरोहर रहेछ । त्यहाँ मजस्ता आक्कल–झुक्कल पुग्ने ‘एमटी पकेटवाला’ भन्दा पनि बर्सेनी हजारौं स्वदेशी र विदेशी पर्यटक आउँदा रहेछन् । त्यो एकातिर इतिहासको गरिमाको संरक्षण रहेछ त अर्कोतिर इतिहासको विरासतका रूपमा रहेका मूल्यहरू पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने गौरवशाली माध्यम पनि रहेछ ।
त्यहाँ रहँदासम्म मलाई यस्तो अनुभूति निरन्तर भइरह्यो– अमेरिकीहरूले इतिहासको जगमा उभिएरै अहिलेको अमेरिका निर्माण गरेका हुन् । नयाँ निर्माण गर्दा उनीहरूले इतिहासलाई हेला गरेका छैनन्, कुनै उपेक्षा गरेका छैनन्, बरु इतिहासको सम्झना र संरक्षण गरेका छन् । आफ्नो इतिहासलाई बिर्सने मुलुकले कहिल्यै राम्रो विकास गर्न सक्दैन भनेको सायद यही होला ।
अलेक्जान्ड्रिया घुम्दा त्यहाँ कतै पनि अव्यवस्थित बस्ती वा पसल वा पार्किङ वा भिडभाड केही पनि देखिएन । घरहरू या त ठुला अपार्टमेन्ट छन्, होइन भने जोडिएर बनाइएका आवासीय भवन, जुन दुई र तीन तलाभन्दा अग्ला छैनन् अथवा सडकभन्दा निश्चित दूरीमा बनाइएका सिङ्गल प्राइभेट होम मात्र । सडक र फुटपाथे पेटीबाहेक अन्यत्र सबैतिर दुबो लगाइएको छ र त्यसले गर्दा धुलो उड्ने सम्भावनै रहेन ।
तर म घरि–घरि त्यही घाँटीमा सर्प बेरेको मान्छे सम्झिरहन्छु । मलाई लाग्न थाल्छ, चटकेहरू जहाँ पनि हुँदा रहेछन् । नौटंकीबाजहरू जता पनि भेटिँदा रहेछन् । सयौं असमानता र हजारौं असहजताहरू सर्वत्र छताछुल्ल रहेका भए पनि ग्लोबलाइज्ड भइसकेको आजको दुनियाँमा चटकेहरूको रंग–बिरंगी एकरूपता रोचक हुँदो रहेछ ।
मैले भारतका अनेक स्थान घुम्दा ‘जम्हुरे ?’ र ‘जी उस्ताद !’ भन्ने सवाल–जवाफजस्ता लाग्ने शब्दहरू अनगिन्तीपटक सुनेको छु । कतिपटक त तमासेहरूको हुलमा मिसिएर आफैँले पनि उनीहरूको चर्तिकला हेरेको छु । कहिले बाँदर नचाउने चटक, कहिले भालु नचाउने त कहिले सपेराले बिन बजाउँदै सर्पको खेला देखाउने, कहिले साना–साना केटाकेटी हातमा लामो लठ्ठी समातेर मसिनो डोरीमा हिँड्ने त कहिले जगरका रौँ ठड्याउने गरी पेटमा छुरी हान्नेसमेतका रक्तपातपूर्ण चटक ! अझ कतिपय चटकेले त केटाकेटी र किशोरहरूलाई थप डराउन दिन र चटक चलिरहेको समय–अवधिभरि बसिरहन बाध्य पार्न पहिले नै भन्ने गर्थे, ‘जो केटाहरू हल्ला गर्छन् अथवा बीचैमा हिँड्छन्, उनीहरूको तुरी गायब हुन्छ । नपत्याए एकछिन पछि छामेर हेर्नु ।’
त्यहाँ उभिएर चटक हेरिरहेका केटाहरूको सातो जान्थ्यो । कसको साहस, केही हल्ला गर्ने वा चटकलाई बीचैमा छाडेर हिँड्ने !
यस्ता कतिपय चटक नेपालमै पनि देख्न पाइन्छ । विशेषगरी भारततिरबाट आएका चटकेहरूले यस्ता अभियानलाई निरन्तरता दिइरहेका देखिन्छन् । यदाकदा तराई–मधेस भेगका दुर्लभ मानिस पनि चटक गर्दै हिँडेको देख्न पाइन्छ । तराई भेगमा, काठमाडौंमा र जिल्ला सदरमुकामहरूमा यस्ता चटक अक्सर देख्न पाइन्छ । यहाँ मात्र होइन बरु पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान आदिमा पनि यस्ता चटक भइरहने गर्छन् ।
त्यसो त मैले अमेरिकाका केही अरू ठाउँमा पनि यस्ता मिल्दाजुल्दा चटक देखेको थिएँ । मेरील्यान्डको बाल्टीमोरस्थित नेशनल हार्बर घुम्दा तीन–चारजनाको समूह देखेको थिएँ । उनीहरूमध्ये एकजना गिटार बजाउँदै थियो र उसका अरू साथीहरू टोपी, धागो र परेवासहितको चटक देखाउँदै थिए । आफूहरूले बनाएको ठूलो घेराका बीचमा उनीहरूले एउटा सानो र सफा कपडा बिछ्याएका थिए । त्यहाँ घुम्न आएका मानिसहरू एकछिन् उभिन्थे, उनीहरूको चटक हेर्थे, अलिअलि हाँस्ने–मुस्कुराउने गर्थे र एक वा पाँच डलरको नोट त्यो कपडामा राखिदिएर अन्यत्र लाग्थे ।
मलाई लाग्यो– चटक त संसारका जुन कुनै कुनामा पनि हुन्छ होला, नौरंगी चटकेहरू जहाँ पनि हुन्छन् होला, केवल चटकको रूप र रंग वा प्रकृति फरक हुनसक्ने होला ।
नेपालमा बेलाबखत चटक हेरेको सम्झिँदा सात समुद्रपारि रहेको बेला पनि यस्तो जिज्ञासा मनमा उम्रिरहन्थ्यो– अमेरिकामा कस्तो होला ? के त्यहाँ पनि यता हामीकहाँ जस्तै चटक हुने र देखाइने गरिन्छ होला ? के त्यहाँको व्यस्त समाजका मानिसलाई घन्टौं एकै ठाउँ उभिएर कुनै यो वा त्यो चटक हेरिरहने फुर्सद हुन्छ होला ? के त्यहाँ पनि बाँदर–भालु नचाउनेहरू हुन्छन् होला ? अथवा कुन किसिमका चटकहरू त्यहाँ हुन्छन् या हुन्नन् होला ? यस्ता र अरूअरू सोचाइ बेला–बेला आइरहन्थे ।
यसरी सोचाइ एकातिर थियो र यथार्थ अर्कोतिर । स्थिति जे भए पनि, अलेक्जान्ड्रियाको त्यो सर्पदंश प्रसङ्गले मेरा धेरै जिज्ञासाहरूको जवाफ दिएर गएको थियो ।
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।