नोटबन्दीले देशमा व्यापक हलचल मचाएको समयको कुरा हो । हामी सिक्किममा जोडतोडले साहित्यिक गतिविधिहरूमा संग्लग्न भएर काम गरिरहेका थियौँ । सिक्किममा हामीले कफी कविता सुरू गरिसकेका थियौँ । कफी कविताबाट विभिन्न कविहरू र कृतिहरूलाई लिएर प्रकरणहरू गरिरहेका थियौँ । म आफू त्यतिखेर जोरथाङको सृजनशील साहित्य लेख्न मञ्चसित पनि जोडिएको थिएँ ।

कविता लेखनमा हामीहरू केही छुट्टै गर्न खोजिरहेका थियौँ । एक वर्ष पूर्व मेरो प्रथम कृति समय स्ट्रोक्स प्रकाशित भइसकेको थियो । यसैक्रममा साहित्य अकादमी दिल्लीबाट निम्तो पाएर  नेपाली भाषी कविका रूपमा नेपाली भाषाको प्रतिनिधित्व गर्दै कविता सुनाउन देशको राजधानी दिल्ली जाने मौका पाएँ ।

यस अघि तादोङ सरकारी कलेजमा अध्ययन गर्दा सन् २००० तिर आफ्ना साथीहरूसित दिल्ली घुम्न पुगेको संस्मरण यहाँ राखेर दिल्ली कविता सुनाउन पुगेको कुरा राखुँला।

एक मित्र थिएँ नरेश ठकुरी, उनको मावली सिक्किम । उनले हामीलाई घुमाउन लाने भए । उनीसित हामी रेलमा यात्रा गरेर सिक्किम जाने भयौँ । रेलको रिजर्भेसन थियो । गानतोकबाट साथी नीमा लामा पनि थिएँ । हामीले एन.जे.पी.बाट दिउँसो रेल समात्नु थियो ।

हामी चढ्यौँ । रेलको यात्रा गर्न मजा आइराखेको थियो, तर जक्सनपिच्छे मान्छे चढेकाले हामी बस्ने डब्बा भरिन्दै थियो । दिनभर चढ्ने यात्रीहरूलाई आफूले रिजर्भ गरेको सीटमा बस्न दिने । हामीले त्यसै गर्यौँ । तर यता बिहार हुँदै रेलगाड़ी चलेपछि केही दबङ किसिमका युवाहरू पनि चढ़े जो बातैपिच्छे अपशब्द बोल्दै हामी बसेको सीटमा बस्न आइपुगे । युवा अनि काँचो उमेर । रगत तातिने उमेर तर मित्रले भनेका थिएँ हामी शान्तिपूर्वक यात्रा गरौँ । हामीले त्यसै गर्योँ । स्टेसन आएपछि उनीहरू और्लिए । बेलुकी साँझ पर्नलाग्दा हाम्रो बुगिमामा एउटा अर्को मुसटण्डे चढ्यो जो हेर्दा कुनै हिन्दी सिनेमाको गुण्डा जस्तो देखिथ्यो । साथी नरेश भएकोतिर आएर “अबे थोड़ा उधर घसक” भन्यो । “यो मेरो रिजर्भ सीट हो, उता गएर बस” भन्दा त्यस मुसटण्डेले मुख छाड्यो, र त्यहाँ झमेला हुन खोज्यो । मैले साथीहरूलाई भनेँ, “हामी गोर्खाहरूलाई हेपेको हो यिनारले । लु बेगमा राखेको खुकुरी निकाल त”, त्यतिभन्दा त्यसको अनुहार खस्कियो ।

“आप लोग नेपाली है ! ठीक है, बुरा बात मानिए ।” भनेर त्यो हाम्रो डब्बाको ट्वाइलेटको छेउतिर गएर उभियो । आफूहरूलाई गोर्खा भएकोमा गर्व पनि महसुस भयो ।

टि.सी. आइपुग्यो टिकट चेक गर्दै । त्यो मुस्तन्डे ट्वाइलेट पस्यो । कुरा बुझ्दा टिकट नलिई उसले यात्रा गरेको रहेछ ।

दुई दिनको जनरल बुगीको यात्रापछि बल्लतल्ल हामी दिल्ली पुग्यौँ । जी.टी रोड ग्राण्ड ट्रन्क रोड देख्यौँ । साथीको कलोनी पुग्यौँ । जाँठ कम्युनिटीहरू भएको कालोनीमा मेरा साथीका मित्रका घर । एउटा नेपाली क्वाटर । मित्रका पिता भारतीय गोर्खा सेनाबाट अवकाश पाएर दिल्लीमा कतै केही गरीरहेका थिए । आमा, बुबा, दिदी र एक भाइ भएको सानो परिवार । हामीले दिल्ली घुम्न आएको र कलेज पढ्दैछौँ भन्यौँ । मित्र नरेशले दिल्लीमा केही वर्षअघि स्नातक सकिसकेका थिए । अब दुई तीन दिनमा सारा दिल्ली घुम्ने सोच्यौँ ।

रवि रोदन

दिल्ली पुगेर धेरै ठाउँ घुम्ने इच्छा हुँदाहुँदै दिल्लीको गर्मी मौसम र मच्छरको टोकाइले म भने  बिरामी परेँ । मलाई ज्वरोले च्याप्दै गयो । केही दिनमा ठीक हुने र घुम्न जाने कुरा भयो । साथीहरूले पनि माने । तर ज्वरोले एउटै समयमा आउने भएकोले केही डर पनि लाग्यो । मलाई मलेरिया भयो । साथीका आमालाई सम्झन्छु, जसले आफ्नै छोरासरह मलाई औषधी पानी गरिन् । फोन गरेर डाक्टर घरमै डाकिन् र मलाई जाँच गर्न लगाइन् । यसरी हप्ता दिनपछि म सञ्चो भएँ, तर कलेजको बिदा सकिनँ लागेकाले लाल किल्ला चाँदनी चौक वरिपरि घुमेर सिक्किम फर्किने भयाैँ । मेरा तीन बहिनाहरूलाई सलवार सुट किनिदिए र आमालाई सारी भाइलाई पनि केही खेल्ने थोक किनिदिएको थिए । कलेज पढ्नु सँगसँगै म तीनताक दशौँ र बाह्रौँ श्नेणीका विद्यार्थीहरूलाई गणित र फिजिक्सको  ट्युसन पढ़ाउँथेँ । त्यही कमाएको पैसा बोकेर म दिल्ली घुम्न पुगेको थिएँ ।

रेल रिजर्वेसन सिट पाएनौँ, र जेनरल बुगीमा साधारण टिकट काटेर दिल्लीबाट एन.जी.पीसम्मको यात्रा तय गर्नु थियो । न्युदिल्लीको प्लेटफार्मबाट रेल चढ़्नलाई हामी साथीको आमाबाबुसँग बिदा माँगेर हिँड्यौँ । साथी नरेश हामीलाई स्टेसनसम्म पुराउन जाने भए । स्टेसनमा पुग्दा हामी रेल चढ्ने यात्रीहरूको भीड देखेर अवाक्क बन्याैँ । त्यस भीडभित्र हामी पनि थियौँ । रेल आइपुग्ने समय भइसकेपछि आफ्ना ब्याग बोकेर खडा भयौँ । भीड़हरूले यसरी ठेल्दा रहेछन् कि हामी आफैँ हिँड्नै परेन ।

जनेरल बुगीमा चढेर सीट जहाँ भेट्यो त्यँहा बस्न पर्ने थियो । साथी नरेशले एउटा अखबार लिएर एउटा खचाखच बुगीमा पसे र खालि सीटमा राखेर हामालाई भित्र आएर झट्ट बस्नु भने तर बाहिर यात्रीको भीडले हामी पस्न सकेनौँ र त्यो सीटमा अन्य कोही अर्कै बस्यो ।

रूमाल, आफ्नो समान, अखबार सीटमा राखेर आफू बस्ने सीट सुरक्षित राख्ने यो किसिमको तरिका देखेर हामी छक्क पर्यौँ ।

हामी चढ्न नसकेको देखेर साथी नरेश रेलबाट बाहिर उत्रिए र भने, “यो पाराले तिमारू सिक्किम पुग्न सक्दैनौं । यस रेलको आर्मी बुगीमा गएर चढ र त्यहाँ गोर्खाहरू पनि छन् विनयविन्ती गर र जाऊ ।”

हामी दगुर्दै आर्मी बुगीमा चढ्यौँ ।

हामीले त्यसै गर्यौँ, र भन्यौँ, “हामी सिकिकमबाट आएका हौँ । कलेज पढ्छौँ । बस्नलाई सीट पाएनौँ, र तपाईँहरूसित मिलेर जान चहान्छौँ ।”

गोर्खा रेजिमेन्टका रहेछन् । हामीलाई देखेर ठिट्याए र बस्न दिएँ । पछि बातचित हुँदै गएपछि हामी घुलमिल भयौं । हाम्रै उमेरका एक जवान सैनिक राहुल गुरूङसित हाम्रो मित्रता भइसकेको थियो । सिलगुडी एक दिन बसेर यता सिक्किम पर्किने भयौँ । बाटोभरि ती गोर्खा सैनिकहरूले हामीलाई कलेज विद्यार्थी भनेर खर्च गर्न दिएनन् । खाना खुवाउँदै ल्याए ।

बेलुकी छ बजेतिर एन.जी.पी आइपुग्यो र एक दिन होटलमा बसेर अर्को दिन सिक्किम पुग्यौँ ।

पाठकवृन्द अब म २०१६ मा साहित्य अकादमीको निम्तो पाएर कविता सुनाउन  पुगेको कुराहरू राख्न चहान्छु ।

जोरथाङको एउटा गैरसरकारी स्कूलमा शिक्षण पेशामा थिए । कवितासङ्ग्रह प्रकाशित भइसकेको थियो ।

सृजनशील साहित्य लेखन मञ्च जोरथाङसित पनि भएर काम गर्दै थिएँ, साथै यता कफी कविताको प्रकरणहरू पनि गर्दै थियौँ हामी ।

दार्जीलिङ, कालेबुङवरिपरिका सर्जकहरूलाई लिएर हामी कृतिहरूमाथि चर्चा र सर्जकहरूलाई सुन्दै थियौँ ।

यसै बीच मलाई एक दिन सृजनशीलका महासचिव शेसिल मुखियाले फोन गरेर भने, “तपाईँलाई दिल्लीको साहित्य अकादमीबाट अल इण्डिय पोएट्री फेस्टिभलमा जान निम्तो छ । फोन आउँछ, बात हर्नुहोला ।”

उनले सृजनशीलका सदस्यहरू सबै खुसी भएको र बधाई टक्राएको कुरा पनि व्यक्त गरे। दोस्रोचोटि दिल्ली जाने मौका पाउँदा, नेपाल भाषामा कविता सुनाउने मौका पाएकोमा म औधी खुसी थिएँ ।

बेलुकी दिल्लीबाट फोन आयो । आउने जाने खर्च सबै अकादमीले बेहेर्ने, ९-१० नोभेम्बरमा हुने यस उत्सवमा भाग लिनुपर्ने आग्रह भयो । मेरो सबै बायोडाटा मेल गरिदिने र मलाई चिट्टी आउने कुरा बताए । तर फोनबाट मलाई भनियो, ओहोर दोहर गर्ने फलाइटको टिकट आफैँ गर्नुपर्ने छ । जुन खर्च कार्यक्रम सकिएपछि हात लाग्ने छ ।

गैरसरकारी स्कूलमा कमती तनखामा आफूले जागिर खाँदै गरेको, दिल्ली नजाने सोचेँ । चुपचाप बसेँ ।

सृजनशीलको एउटा साहित्यिक कार्यक्रम थियो । त्यहाँ पुगेँ । सृसालेमका अध्यक्ष श्री टीका गुरूङले छेउमा बोलाएर मलाई दिल्ली जान लागेको कुरामा मञ्चले गर्व गरेको महसुस गर्दै बधाई दिएँ । म जान सक्दिनँ भन्ने कारण बताएपछि उनले पैसा दिएर सहयोग गर्ने कुरा बताएँ। झट्टै त्यति नै बेला आफ्नो ज्वाइँ  विशालको  साइबर क्याफेमा फोन गरेर मेरो निम्ति दिल्लीको ओहोरदोहोर गर्ने फलाइट मिलाइदिन भनेँ, र मलाई बीस हजार रूपियाँ दिएँ ।

९ तारिकको बेलुकीको चार बजेको फलाइट चढेर जाने कुरा मिल्यो । प्रथमपल्ट हावा जहाज चढ्न लागेको थिएँ । टीका सरले ३ घण्टाअघि एयरपोर्ट पुगेर सबै जाँच भएपछि चढ्न पाइन्छ भनेर बताएको हुनाले मैले त्यसै गरेँ ।

बेलुकी चार बजे पलाइट चढेँ ।  उताबाट साहित्य अकादमीका सचिव देवेन्द्र कुमार दावेशले दिल्ली पुगेर एयरपोर्टबाहिरबाट टिकट काटेर टेक्सी चढी तीन सितारा होटल चाँदनी चौकस्थित न्युदिल्ली होटल पुग्न पर्ने बताए । मैले एउटा टेक्सीको टिकट काटेर पसेँ, र त्यसमा अन्य यात्रीहरू पनि त्यतै जानेहरू चढेका थिए । ड्राइभरले गाडी गुडाएर अर्कै बाटोबाट पुर्याउने हुँदा हामी एक घण्टा जाममा फस्यौँ ।

होटल पुगेँ । रिसेप्सनिस्टले मिठो अङ्ग्रेजीमा स्वागत जनाइन् । लेखकको रूपमा अन्य त्यहाँ भएका अग्रज लेखकहरूसित परिचय गराइन् । अनि केहीबेरपछि होटल ब्वाइले मलाई मेरो काेठा देखाइदिए । ठूलो कोठा, डबल बेड भएको, अर्को कुनै कवि पनि त्यहाँ आउने कुरा थियो, तर आएन । हामी लेखकहरूलाई चल डायनिङ हलमा खानाको राम्रो प्रबन्ध साथै नेट चलाउन वाईफाईको सुविधा उपलब्ध थियो । ११ तारिक थियो मेरो कविता वाचन । दस तारिकको कार्यक्रमपछि दिल्ली घुम्ने, परिवारको निम्ति केही सपिङ गर्ने सोचेको थिएँ ।

कोठामा पुगेर एकछिन बिसाएपछि नुहाइधुवाई गरेर टिभी खोलेर बसेँ । लगभग ८ बजेको थियो । मोदीले नोटबन्दीको घोषणा गरेँ । पाँच सयको बिट्टा थियो मसित, दस हजार । सरकारको घोषणाले म चित खाएँ । मसित भएको पैसा कागजबराबर भएकाे थियो ।

मनमनै खिन्न भएँ । घरमा फोन गरेँ । अब रित्तै फर्किनेँ भएँ ।

अर्को दिन बेलुकी ४ बजे साहित्य अकादमीको पेक्षागृहमा कार्यक्रम थियो । पैसा नचल्नाले कतै टेक्सीमा चढेर घुम्न जाने कुरा पनि भएन । दिनभरि विभिन्न भाषीका कविहरूसँग साहित्य लेखनमा बातचित गरेर बिताइयो। अनि खाना खाएर कोठामा टिभी हेरेर समय बिताउनुपर्ने भयो ।

होटलबाट कार्यक्रम हुने ठाउँ लगभग चार किलोमिटर भएकाले  नोटबन्दीको कारण साहित्य अकादमीले नै लेखकहरूको निम्ति गाडी मिलाइदिएको थियो । मलाई अचानक सम्झना भयो, मेरो प्रथम कविता कृतिका प्रकाशक प्रेम प्रशिक्षित, जो दिल्लाका थिए । उनलाई फोन गरेर हाल अवगत गराएँ ।

उनी खुसी भए, र बेलुकी ४ बजे रविन्द्र भवनमा भेटेर मलाई सयको नोट साटिदिने भए ।

बेलुकी हामी लेखकहरू कार्यक्रममा पुग्यौँ । मभन्दा अग्रज कपाल सेतै फुलेका र धेरै किताब प्रकाशमा ल्याइसकेका कवि लेखकहरूको एउटा ठूलो जमघट थियो । मलाई भेट्न प्रेम सर आइपुगे । आफ्नो गोजीबाट सयको नोटहरूका बण्डल दुई हजार रूपियाँ दिए । मैले पाँच सयको चारवटा नोट थमाइदिएँ । केहीबेर कार्यक्रममा मसित बसेर उनी फर्के ।

दोस्रो दिनको कार्यक्रममा मैले नेपाली कविता वाचन गर्नु थियो । यो कार्यक्रममा जम्मा ३३ कविहरू भारतभरि बोलिने भाषाको प्रतिनिधि कविता पढ्न आएका थिएँ । अग्रज कविहरू जो हतपत नबोल्ने र परिचय पनि दिनेहरू पनि थिए । मलाई सानो देखेर नपत्याएका र भाव नदिएको लाग्यो । कार्यक्रम १० बजेदेखि थियो । बिहानको खाजा र खानाको राम्रो व्यवस्था थियो । म डिजिटल क्यामेरा बोकेर लेखकहरूसित घुलमिल हुँदै फोटोहरू खिच्न थालेँ । कार्यक्रम आरम्भ भयो । विभिन्न भाषी कविहरूले आफ्नो रचना सुनाउने समय आयो । अग्रज साहित्यकारको अध्यक्षतामा कार्यक्रम सञ्चालकले सुन्दर ढङ्गमा कविहरूको परिचय दिन्थे, कविता पठनअघि।

मलाई भने एक प्रकारको डर लागिरहेको थियो । नेपाली कविलाई नेपालबाट आएका भन्छन् कि ! यसअघि केही  कविहरूलाई त्यसरी भनेको थाहा पाएको थिएँ । मेरो पालो आयो । राजेन्द्र किशोर पाण्डाले चेयरपर्सन थिए । उनले मेरो परिचय सुन्दर ढङ्गमा राखिदिए । नेपाली भाषाले मान्यता पाएअनुसार नेपाली साहित्यकारले भाषालाई लिएर खुबै राम्रो काम गरेको जाहेर गरे ।

मैले भाषाको भूगोल र कविता नेपालीमा, त्यसको अङ्ग्रेजी अनुवाद (जो राजा पुनियानीले गरेक थिए)  सुनाएँ । त्यसपछि केही आफ्ना हिन्दी कविताहरू सुनाएँ । ती कविता सुनाएपछि अघिसम्म नबोल्ने हिन्दी, बङ्गाली, उडिया, अङ्ग्रेजी र अन्य कविहरूले कार्यक्रम सकेपछि मलाई घेरेर मेरो अतापता, फोन नम्बर सोधे । कवि मङ्गलेश डबराल पनि भेट्न आएँ, र उनले भिजिटिङ कार्ड दिए । उनले नेपाली कविहरूबारे उल्लेख गर्न पनि छुटाएनन् । कार्यक्रमको ब्रेकमा म छेउको ललित कला केन्द्रमा राखिएको कलात्मक वस्तु र चित्र हेर्न पुगेँ । ललित कला र साहित्यिक कृतिहरू किनेँ ।

बेलुकी कार्यक्रम सकेपछि हामीलाई होटलमा पुर्याइयो । लेखकहरू छुटिने बेलामा खुलेर बोल्न लागेका थिएँ । केही बातचित र रमाइलो गरेपछि हामी आ-आफ्नो कोठामा आराम गर्न पस्यौँ । भोलि बिहानको फ्लाइट पक्रिनु थियो सबैले ।

अर्को बिहान खाजा खाएर लेखकहरूसित बिदा मागेर होटलबाट चेकआउट गर्यौँ । अकादमीको गाड़ीले इन्दिरा गान्धी एयरपोर्ट पुर्याइदियो । गोजीमा चल्ने अलि अलि पैसा थियो, जुन किताबहरू किनेर सकिसकेको थिएँ ।

फलाइट चढेर 2 बजेतिर बागडुग्रा आइपुगेँ । नानीहरूलाई केही खेल्ने थोक किनेर जोरथाङको गाडीमा चढेँ ।

नोटबन्दीको कारण हामीलाई अकादमीले पैसा हातमा पार्न सकेन, तर घर पुगेको केही दिनमा सो पैसा हाम्रो एकाउन्टमा पस्ने बताएका थिए । म भने डराइरहेको थिएँ । टीका सरको बीस हजार ठीक समयमा फर्काउनु थियो ।

घर आइपुगेँ । सबै खुसी थिए । चारैतिरबाट साहित्य अकादमी दिल्ली पुगेकोमा बधाईहरू आइराखेको थियो । नानीहरूलाई सिलीगुडीमा किनेको थोक  दिल्लीबाट ल्याइदिएको भनेर दिएँ । उनीहरू रमाएँ । श्रीमतिलाई भने कानमा लाउने इअरिङ ल्याइदिएँ । छाेराछाेरीलाई जस्तो ढाट्नु परेन, उनले कुरा बुझेकी थिइन् ।

पाँच सयको सोह्रवटा नोट अझ गोजीमा थियो, जो चलाउन नसकेर फिर्ता ल्याएको थिएँ । आएको भोलिपल्ट बैङ्कमा त्यो बुझाउन गएँ । केही दिनमा पैसा अकाउन्टमा पसेछ । मैले पैसा तिरेँ, र ढुक्कको साँस फेरेँ ।

दुईपल्ट दिल्ली पुगेँ तर मज्जाले घुम्न पाइन। तर तेस्रो पल्ट घुम्ने चाँजो मिल्यो भने पक्कै घुमुँला, र खास संस्मरण  लेखुँला।