यहाँ मैले चर्चा गर्नथालेको वृन्दावन अमेरिकाको वेस्ट भर्जिनियामा बनाइएको कृष्ण मन्दिर हो जसको नाम नै न्युवृन्दावन हो । धेरै पहिलेदेखि मेरी श्रीमती भन्दै थिइन् – बूढा, भर्जिनियामा संसारकै सबैभन्दा ठूलो वृन्दावन बनाइएको छ रे । एकदम राम्रो छ रे । जाऊँन एक पल्ट ।
अमेरिकामै बसेको भए पनि जान पाउने मेसो मिलिरहेको थिएन । तर संयोग यस्तो भयो कि अमेरिकाको बाल्टिोमोरमा बसोबास गरिरहेको मेरो साहिँलो भाइ चन्द्रका छोराहरू आशिष र गौरवको व्रतमन्न हुने निम्तो आयो । यो एउटा अवसर थियो बाल्टीमोर घुम्ने । अवसरभन्दा पनि पारिवारिक दायित्व थियो । तर ताक भने पाएसम्म भर्जिनियाको वृन्दावन घुमिहाल्ने थियो ।
मैले परिवारबाट खप्की खाने विषय यही कुम्लो बोक्ने र हिँडिहाल्ने स्वभाव हो । किनभने मान्छेका आफ्नै उमेरजन्य चक्रलाई सम्झिँदा ‘जिउ छँदै घिउ खाने’ विचार आइहाल्थ्यो । जिउ थन्किएपछि त घिउको पनि के काम ? मरेपछिको हरियो काँक्रोको पनि के काम ? मरेपछिको स्वर्गका र नर्कका तानाबानाको पनि के काम ?
व्रतमन्नमा जाने कुरा सुन्नेबित्तिकै मेरी श्रीमतीले न्युवृन्दावनको सपना देख्नथालेकी थिइन् । उनको कुरालाई मैले सहजताका साथ लिएको थिएँ र भनेको थिएँ – भाइले लगिदिए जाऊँला । रमाइलो हुन्छ । नत्र रेल तथा बसमा दुबै बूढाबूढी मात्र भए पनि जाऊँला । पैसा तिरेपछि खान बस्न पाइहालिन्छ रे ।
यसै बीच हाम्रो योजना थाहा पाएर मेरी जेठी छोरी अनुशीलाले हामीलाई फोन गरेर भनेकी थिइन् – हामी गएका छौँ । त्यो धेरै टाढा छ । दुर्गममा छ । यातायातको साधन केही पाइन्न । आफ्नै गाडी नभई नजानू । आँट नगर्नू ।
भाइको फोन आएको थियो । मैले आफ्नो इच्छा ‘न्युवृन्दावन जाने छ’ भन्दा भाइ चन्द्रले भनेका थिए – पहिले आउनू अनि सल्लाह गरौँला । हामी पनि गएका छैनौँ । भाइको यो कुराले आशाको ज्योति पलाएको थियो ।
सन २०२१ को अप्रिल महिनाको २९ तारिक बिहीबारका दिन व्रतमन्न थियो । सो व्रतमन्नका लागि हामी अमेरिकाको टेक्ससबाट पुगेका थियौँ । आफ्नै घरबाट व्रतमन्न गरेकाले सोको चटारो एकदम थियो । फेरि भाइले आफ्नो पसल पनि खोल्नु पर्ने हुन्थ्यो । अमेरिकी जीवनको व्यस्तता निकै घनिभूत थियो । अर्कोतिर छोरा आशिषको फाइनल परीक्षा पनि चल्दै गरेकाले ऊ दिनको १८ घण्टा कोठामा थुनिएर परीक्षाको तयारी गर्दै हुन्थ्यो । यस्तो अवस्थामा परिवेशीय वातावरण यस्तो भयो कि वेस्ट भर्जिनिया जाने कुरा नमिल्ला जस्तो लाग्यो । अनि मैले भाइसँग न्युयोर्कतिर जाने विचार व्यक्त गरेँ । त्यसपछि भाइले भने – एक हप्ता बस्नु, अर्को हप्ता विकेन्डमा वृन्दावन जाऊँला । सासूससुरा पनि आउनुभएको छ । सबै जना जाऊँला ।
भाइको यो कुरा सुनेर म एकदम खुसी भएँ । हामी त वृन्दावनका लागि एक महिना पनि बस्न तयार थियौँ । किनभने बुढारी जीवन थियो हाम्रो । ‘घरले जाजा, बनले आइजआइज’ भन्ने सोचको सँघारमा थियौँ हामी । बित्दो बिग्रँदो केही थिएन ।
सन २०२१ को मे महिनाको ७ तारिक शुक्रबार थियो । दिउँसोको १२ बजे हामी याने कि भाइबुहारी, हामी दुई बूढाबूढी, भाइका सासूससुरा, सालीसाडुभाइ, सालीकी छोरी, बुहारीका भाइबुहारी तथा उनीहरूका परिवार गरेर ३ वटा गाडीमा हिँड्यौँ । जम्मा १६ जना थियौँ । अब भने हाम्रो न्युवृन्दावन जाने धोको पूरा हुनेवाला थियो । भाइको घर बाल्टिमोरबाट न्युवृन्दावन २७३ माइल दूरी बताइरहेको थियो जिपिएसले । न्युवृन्दावन जाने हाइ वेहरू समात्दै फेरि ससाना साँघुरा बाटाहरूमा यात्रा गर्न थाल्यौँ । यात्रा निकै रोमाञ्चक थियो । हाइवेका छेउछेउमा नेपालमा खोलाबाट बालुवा झिकेर ढेरी लाएझैँ ठूलाठूला ढिम्कीहरू थिए । खासमा त्यो हिउँदमा हिउँ पगाल्ने नुनलाई थुपारिएको रहेछ ।
पहाड काटेर बनाइएका बाटाहरूले छुट्टै रोमाञ्चकता पस्किँदै थिए । बाटाका छेउका हरिया र घना जङ्गलले त्यो रोमाञ्चकतामा सुगन्ध थप्दै थिए । हिँड्दा प्रचण्ड गर्मी थियो । गाडीमा फुल पावर एसी चलाउनु परेको थियो । तर जाँदाजाँदै वातावरण यस्तो चिसो भयो कि गाडीमा हिटिङ सिस्टम चलाउनु पर्यो । बाटाभरि राता, पहेँला, नीला, हरिया रुखहरू देखिन्थे । बाटैमा एउटा सुन्दर सफा र बग्दै गरेको निलो पानीको नदी देखियो । नदीका किनारमा कतै सहर थिए भने कतै घना जङ्गल पनि थिए । सहरले त्यो नदीलाई फोहोर पारेको थिएन । वनले नदीमा प्राकृतिकता थप्दै गरेको देखिन्थ्यो । हेर्दाहेर्दै हाम्रो गाडीलाई जिपिएसले पहाडको लेकमा पुर्यायो । बाटोका किनारमा चिहान पार्कहरू देखिन्थे । ती चिहान पार्कमा मरेका मान्छेको सम्झनाका लागि च्याप्टा ढुङ्गामा अक्षर खोपेर उभ्याइएका थिए । चिहान पार्क हरियो दुबोले शोभित थियो । सफा थियो । ठाउँठाउँमा फूलहरू फुलिरहेका थिए । चिहान पार्क मनमोहक देखिन्थ्यो । त्यो नेपालको चिहान डाँडा जस्तो अव्यवस्थित थिएन । तर्साउने मान्यतामा आधारित थिएन । मरेपछि पनि सुन्दर र शान्त वातावरण दिइएको थियो मृतआत्मालाई । नेपालमा त मृतआत्मा पनि वनविनास गरेको अपगाल सहेरै समाधिस्त भएका छन् ।
लेकमा पुगेपछि बाटो झन् साँघुरिएको र कङ्गल्याङकुङ्गलुङ घुमेको थियो । पहाडी बाटो त्यसमाथि ठूलाठूला चट्टान काटेर बनाइएको बाटो थियो । ती चट्टानबाट सङ्लो पानी बगिरहेको थियो । जङ्गलका बीचमा फट्टफुट्ट राम्रा र सुन्दर घरहरू देखिन्थे । बस्ती एकदम पातलो थियो । म बसेको गाडी हाँकिरहेका भाइका साडुभाइले मलाई भन्नुभएथ्यो – अमेरिकामा त धनी बस्ने जङ्गलमा गरिब बस्ने सहरमा हो नि दाइ ।
त्यो बेला नेपालमा माधव नेपाल भर्सेज केपी ओली द्वन्द्व थियो एमालेमा । ती दुबै अराजक साँढले बनाएको नेपालको परिवेशले हामी दुबै आक्रान्त थियौँ । हामी नेपालका नेताहरूलाई ‘मरि जाओस्’ भनी सराप्नबाहेक के नै पो गर्न सक्थ्यौँ र ? अमेरिकामा बसे पनि हाम्रो मन भतभती पोलेको थियो । यो मन पोल्नका लागि स्वदेशमै बसिरहनु पर्ने पनि होइन रहेछ ।
लेकमा पुगेपछि सडककै छेउमा रहेका केही घरहरू बर्सौदेखि मान्छे नबसेका जस्ता देखिन्थे । ठ्याक्कै नेपालको पहाडबाट मधेस वा काठमाडौँ झरेका नेपालीको पहाडमा रहेको वेवारिसे घरजस्तो । त्यो ठाउँ निकै दुर्गम लाग्थ्यो । यद्दपि बिजुली थियो । पानी थियो । सडक थियो । तर पनि बस्तीका वा हेराइका हिसाबले नेपालको ट्याम्के लेक जस्तै उजाड लाग्थ्यो । उराठ लाग्दो थियो । हेर्दाहेर्दै हामी हरिया नागीमा पुगेका थियौँ । तत्क्षण मलाई खप्तडका नागीहरूको सम्झना भयो । तुलना गर्न मन लाग्यो । तर तुलना नै गर्ने हो भने खप्तडका नागीहरू भीमकाय र अग्र्यानिक थिए । मनमोहक थिए । यहाँका नागीहरू भद्दा मेकअप गरिएका सुन्दरीजस्ता राम्रा थिए । हामी यही नागीहरू पार गर्दै गन्तव्यमा पुगेका थियौँ । गाडी ३ वटा भएकाले बाटोमा भेला भएर खाने हाम्रो योजना तुहिएको थियो । भोकले झ्याम्टा बजाएको थियो । त्यस कारण मन्दिरकै पैसा तिर्ने धर्मशालामा ३ कोठा लिएर झोलाझ्याम्टा थन्काएपछि घरैबाट पकाएर ल्याएको खाने कुरा खान थालेका थियौँ । चुकाउनी, ढकने, सिकर्नी, पुलाउ, लट्टे आदि खाने सामग्रीहरू थिए । पाल्पा, गुल्मी अर्घाखाँचीतिरका धेरै यात्रु भएकाले खानेकुरामा पनि त्यहीँको सांस्कृतिक सुवास झल्किन्थ्यो ।
मन्दिरका अगाडि ससाना होर्डिङ बोर्डहरू राखिएका थिए । ती बोर्डले न्युवृन्दावनको कायाकैरन दिन्थ्यो । इतिहास बताउँथ्यो ।
अमेरिकाको वेस्ट भर्जिनिया राज्यको मार्सल काउन्टीमा रहेछ यो न्युवृन्दावन । यसको क्षेत्रफल १२०४ एकड याने कि ९५७८ रोपनी रहेछ । । वस्तुत यो इस्कोन नामक कृष्णमार्गीको वैष्णव मन्दिर थियो । त्यस कारण स्वभाविक रूपले यहाँ सात्विक र अहिंसक वातावरण थियो । यो मन्दिरको इतिहासले बताउँथ्यो कि सन १९६५ मा श्रील प्रभुपादा भारतबाट भगवान कृष्णको लीला प्रचारपसार गर्ने उद्देश्यले अमेरिका पुगे । सन १९६८ मा अमेरिकाको वेस्ट भर्जिनियाको निकै दुर्गम लेकमा पुगेर न्युवृन्दावन बनाउने बारे आफ्ना चेलाचेलीसँग छलफल गरे । राज्य सरकारले सहयोग गर्दै अनुमति दियो । भारतको प्रशिद्ध धार्मिक स्थल वृन्दावनका शब्दका अगाडि न्यु थपेर न्युवृन्दावन नामाकरण गरिएको रहेछ । यो प्रचलन अमेरिकामा व्यापक मात्रामा देखिन्छ । युरोपका अनेकन ठाउँको अगाडि न्यु थपेर अमेरिकी सहरको नामाकरण गरिएको छ जस्तै न्युयोर्क, न्युजर्सी, न्युह्याम्पसायर । अमेरिकनले त केही राज्य मिलाएर नै भौगोलिक अभिव्यक्तिका रूपमा न्युइङ्गल्यान्ड नै नामाकरण गरिएको छ ।
खासमा यो मन्दिरको निर्माण प्रभुपादाका चेला किर्तानन्द स्वामीले गुरुको आदेश र निर्देशनमा बनाएको भनिँदो रहेछ । मन्दिर परिसरमा कृष्ण टेम्पल, वेलकम सेन्टर, लज, रेस्टुरेन्ट, गिफ्ट सप आदि थिए । मन्दिरभित्र श्रीश्री राधा वृन्दावन चन्द्रा नामको मूर्ति प्रमुख थियो । अन्य मूर्तिमा श्रीश्री गौरा निताई, इस्कोनका संस्थापक प्रभुपादाको ध्यानरत रिप्लिकाको मूर्ति प्रमुख थियो थियो । त्यसैगरी गौरा निताइ, राधामाधव, तुलसीदेवी, श्रीगोपालनाथजी, श्री गिरिराज गोवर्धनका मूर्तिहरू थिए । नृसिंहअवतारको मूर्ति । जगदम्बा बलदेव र शुभद्राको मूर्ति । त्यही भित्र भारतमा वृन्दावन स्थापना गर्ने ६ जना गोस्वामीको सालिक थियो । त्यहाँ रहेका सबै मूर्तिमा भक्तालुहरू लम्पसार परेर नमन गर्थे ।
मन्दिरको भित्रपटि माथि एकदम ठूलो टीभी थियो जहाँ कृष्णलीला देखाइँदै थियो । भित्तामा हरेकृष्ण हरेकृष्ण, रामराम हरेहरेको नारा लेखिएको थियो । भगवान कृष्णले भारतको वृन्दावनमा ५००० वर्षभन्दा पनि पहिले जन्मेर कृष्णलीला देखाएको कुरालाई बारम्बार पर्दामा देखाइँदै थियो । विश्वको धार्मिक इतिहासमा गौतम बुद्धलाई शान्तिका देवता मानेझैँ कृष्णलाई प्रेमका देवता भनेर मानिन्छ । प्रेमको सक्कली अर्थ कृष्णमार्गमा पाइन्छ । अर्काकी श्रीमती राधासँग भगवान कृष्णको प्रेम सम्बन्ध र सोह्र हजार गोपिनीसँगको सम्बन्ध नै प्रेममा अडेको मानिन्छ ।
इस्कोनका संस्थापक प्रभुपादाले एक प्रकारले भन्ने हो भने हिन्दु धर्मका प्रचलन विरुद्ध विद्रोह नै गरेका थिए । किनभने हिन्दु मान्यताअनुरूप हिन्दु हुन हिन्दु कुलमै जन्मनु पर्ने व्यवस्था छ । यति बेला इन्डोनेसियाका हिन्दुलाई पशुपतिभित्र प्रवेश गर्न नदिएको घटना आफ्नै आँखाले देखेको सम्झना आयो । यो साँघुरो व्यवस्थाका विरुद्ध उनले संसारका सबै धर्मावलम्बी वा विविध भूगोलका मानिसलाई पनि कृष्णमार्गी बनाउने अभियानको सुरुवात गरे ।
पूर्वीय सभ्यताको भक्तिवेदान्तमा दखल राख्ने स्वामी प्रभुपादालाई उनका मार्गीहरू श्रील प्रभुपादा भन्दा रहेछन् । उनी इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कोन) का प्रवर्तक रहेछन् । सन १९६५ मा ६९ वर्षको उमेरमा अमेरिका पुगेका रहेछन् । त्यो बेला उनीसँग केवल केही वैदिक ग्रन्थ साथैमा लिएर पुगेका रहेछन् । उनको अभिप्राय पूर्वको हिन्दुधर्म तथा कृष्णलीला पश्चिममा फैलाउनु रहेछ । त्यसपछिको १२ वर्षमा उनले यो संसारको १४ पल्ट परिक्रमा गरेर विभिन्न विभिन्न विद्वानहरूसँग भेटेर इस्कोनको प्रचार प्रसार गरे । उनीहरूको मूल मन्त्र ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरेहरे, हरे राम हरेराम रामराम हरेहरे’ थियो ।
भोलिपल्ट याने कि मे ८ तारिकको दिन बिहानै उठेँ । जङ्गल परिसर घुमेँ । मन्दिरमा नित्य हुने बिहान ६.३० को भजन र नृत्य हेरेँ । ८.३० मा इस्कोनका संस्थापकसँग जोडिएका कथा टिभीमा देखाइएको थियो । अन्य धर्मावलम्वीहरू कसरी कृष्णमार्गमा आकर्षित भएर हिन्दु बने भन्ने कथाहरू सचित्र देखाइएको थियो । एक जना गोरीले अङ्ग्रेजी भाषामा कृष्णलीलाबारे प्रवचन दिएकी थिइन् । प्रवचनका क्रममा उनले यो इस्कोन मार्गमा कुनै लैङ्गीय, क्षेत्रीय, रेसीय भेद नभएको बताएकी थिइन् । प्रवचनको मुख्य विषय सम दर्शन याने कि मान्छेदेखि रुखविरुवासम्मका लागि समान व्यवहार भन्ने थियो । यसैगरी हिंसा नगर्ने, साकाहारी खाना प्रमुख थियो । ‘जीवन अनित्य छ त्यसैले अर्कालाई बिनासर्त आदर गर । भगवत प्राप्तिको इच्छा गर । धर्म मार्ग भनेको भगवत प्राप्त गर्ने बाटो हो । प्रेम चराचर जगतलगायत पृथ्वीलाई प्रेम गर । भगवानले निर्माण गरेको संसारप्रति प्रेम भाव राख’ आदि प्रमुख सन्देश थिए ।
तर मैले तत्काल सोचेँ कि उनीहरूको मूल मन्त्र भने विभेदीय थियो । हरे कृष्ण र हरे रामको नाम मात्र थियो मन्त्रमा । त्यहाँ राधा र सीताको नाम भने थिएन । मूर्तिमा थियो । तर मन्त्रमा थिएन । जे भए पनि आज संसारभरि यो इस्कोनको कृष्णमार्ग फैलिएको छ । इस्कोनमार्गको मुख्य भगवान भनेको कृष्ण हुन् । त्यसमा पनि कृष्णको प्रेमिल भक्तिपाटो याने कि भक्ति योग संसारभरि नै ज्यादै महत्त्वपूर्ण मानिन्छ ।
मन्दिरको प्राङ्गण गजबको थियो । केटाकेटी खेल्ने पार्क छुट्टै थियो । एकदम सफा थियो । ठाउँठाउँमा डस्टबिनहरू राखिएका थिए । हरियालीका बीचमा थियो मन्दिर । एकदम दुर्गम भएकाले नेपालमा झैँ वाइफाइले राम्रो काम गर्दाेरहेन छ । अमेरिका आएपछि यसले मलाई नेपालको वाइफाइलाई सम्झाएको थियो ।
प्राय सबै गोरीहरूले सारी लगाएका थिए । गोराहरूले धोतीकुर्ता लगाएका थिए । उनीहरूले आफ्नो नामलाई हिन्दुकरण गरी नामका पछाडि दास वा दासी राखेका थिए । यो दृश्य देखेर म एक छिन मन्दिरअगाडिको फलैँचामा बसेर सोच्न थालेँ कि कसरी मान्छे आफ्नो बेटरलाइफको खोजीमा हिँड्छ । बेटरलाइफ भनेको के हो ? मेरा मगजभरि यो प्रश्न आइरह्यो । अनि सोचिरहेँ कि बेलायतमा पढेका नामी डाक्टर बेटरलाइफ खोज्दै सुनसान खप्तड पुगे र खप्तड बाबा भए । लाखौँ नेपालीहरू बेटर लाइफ खोज्दै अमेरिका छिरेका छन् । लाखौँ इसाइहरू कृष्णमार्गी हिन्दु भएका छन् । विचित्र छ यो संसार ।
मन्दिरको मुख्य काउन्टरमा भारत पश्चिम बङ्गाल जलपाइगुडीका भारतीय बसेका थिए । मन्दिर भौतिकरूपमा त्यति आकर्षक थिएन । एउटा ठूलो गुवालीजस्तो थियो । त्यसमा पाली निकालेर कोठैकोठा थियो जसमा मन्दिरका खास इस्कोन मार्गी पाहुना गृह थियो । नेपालका मन्दिरको जस्तो अवर्णनीय कला कहाँ पाउनु यहाँ ? नेपालका चोकचोकमा रहेका कलात्मक कौसलको याद आइरह्यो । नेपालमा त ती कला ‘बाँदरका हातमा नरिवल’ भएका छन् । दिक्क लाग्यो ।
बस्नका लागि लजको व्यवस्था थियो । त्यसका दरभाउ पनि फरक फरक थिए । एउटा कोठाको दुईरातको ३०० डलर तिरेर हामी बसेका थियौँ । शान्त वातावरण तथा प्राकृतिक वातावरण थियो । गुलाबका बगैँचा कृत्रिम बगैँचा थिए । बनजङ्गल थियो । त्यसमा कृत्रिम तथा प्राकृतिक तबरका ट्रेल थिए जहाँ मान्छे मन्दिर परिसरको परिक्रमा गर्दथे । ट्रेलमा हिँडिरहँदा रङ्गीचङ्गी तथा निक्खर सेता मयुरहरू हाम्रै अगाडि आएर पङ्ख फिँजाइ नाचेका थिए । मयुर तथा हरिणहरू बग्रेल्ती देखिन्थे । यो दृश्य मेरा लागि नौलो थियो । हामीले धडाधड फोटाहरू खिचेका थियौँ । ठाउँठाउँमा पोखरीहरू थिए । पोखरीभित्र रङ्गिन बिजुली प्रवाह गरेर पानीको रङ्गिन फोहोरा बनाइएको थियो । ती त कतै रतिमुद्रामा पनि थिएँ । हात्तीको एउटा अजङ्गको मूर्ति थियो । त्यहीँ नजिकै रतिक्रियापछि थाकेको गाई र नजिकै कुरेर बसेको साँढेको मूर्ति प्रेमात्मक तथा रति आनन्दको प्रतीक बनेर बसेको थियो । किनभने रति भन्नु प्रेमको उत्कर्ष रूप हो ।
मन्दिर परिसर जङ्गलले भरिएको थियो । जङ्गलभित्र धेरैवटा केबिनहरू बनाएर सुबिधा पुर्याइएको थियो । भौतिकताको दौडमा थाकेका र आफूलाई पुनर्ताजगीकरण गर्ने मान्छेहरू जङ्गलभित्रको त्यही केबिनलाई बुक गरी बस्ता रहेछन् । बसेका देखिन्थे । यहाँ एक प्रकारको अलौकिक शान्ति र आनन्द थियो । जीवनका लुछाचुँडीहरू छोडेर यस्ता प्रेमिल ठाउँमा बस्नुको मजा नै बेग्लै थियो ।
बिहान ९ बजे मन्दिरका तर्फबाट प्रसाद वितरण भएको थियो । गाईको शुद्ध दूध, च्युराको नुनिलो पुलाव, खिर, सलाद, फलफूल, आदि खानेकुरा थिए । त्यहाँ रहेका कृष्णमार्गी साधुहरू यहीँ खाना खान्थे सायद । त्यो दिन एउटा ठूलो हलमा करिब १५० जना जति मान्छे खाना खाइरहेका थिए । त्यो प्रसाद ग्रहण थियो । प्रसाद मनग्गे थियो । थपेर पनि खान पाइन्थ्यो । खाएर म बाहिर निस्किएको थिएँ । चिसो एकदम थियो । फुसफुस पानी पनि परिरहेको थियो । त्यो पानीको प्रवाहमा वरिपरिका हरियोपरियो रमाएका थिए । वन तथा बगैँचा सुन्दर हराम्य थिए । वास्तवमा मौसम रतिरागात्मक थियो । यसै क्रममा साधु भेषका एक जना गोरा र अर्की एसियन देखिने महिला सायद लोग्ने स्वास्नी होलान्, अँगालो हालेर हिँडिरहेका थिए । त्यहाँ केही फरक परेको थिएन । तर मलाई भने फेरि नेपाल सम्झिन मन लाग्यो । तर मैले इस्कोन मार्गमा यौनको परिभाषा र प्रयोगका बारेमा भने बुझ्न पाइनँ ।
मन्दिरकै अलि परतिर डाँडामा गोल्ड प्यालेस नामक एउटा विशाल महल थियो । त्यसमा लोटस पौन्ड थियो । पोखरीमा कमलका फूलहरू फुलिरहेका थिए । पोखरीको डिलमा गमलामा ठूलाठूला रुखहरू थिए । त्यो महल इस्कोनका संस्थापक प्रभुपादाको संस्मरणका लागि बनाइएको भनिएको थियो । यसलाई पश्चिमको ताजमहल बनाउने अभिप्रायका साथ बनाइएको रहेछ । यो भवन अझै बनिरहेको नै थियो । यो भवनमा सुन, मार्वल, सिसा, टिकका काठको प्रयोग गरिँदै थियो । कृष्णका भक्त प्रभुपादाको सम्झनामा अन्य कृष्णमार्गीको गौरवबोधका लागि बनाइएको रहेछ यो दरवार ।
यो कृष्णमार्ग अमेरिकामा पनि छ्याप्छ्याप्ती रहेछ । मन्दिरको अर्को आकर्षण गौसाला थियो । त्यहाँका गाईका नामहरू मान्छेका नामजस्ता उषा, सीता, ललिता आदि हुने रहेछ । नेपालमा गाईका नाम काली, कैली जस्ता सुनेको÷देखेको÷भोगेको मलाई भने यी नामहरू आनन्ददायी लागेका थिए । गाईका लागि आधुनिक गोठ पनि थियो । दिनभरि गाइ जङ्गलमा गएर चर्ने । सुकेका घासको व्यवस्था गरिएको थियो । घाँसलाई मेसिनमा पेलेर कपडाको थानजस्तो बेर्ने र ठूलाठूला बन्डल बनाएर राख्ने चलन रहेछ । गाई दुहेको वा आफैँ दुहुनेभए सो पनि उपलब्ध भनिएको थियो । तर गाई थोरै थिए । गाई दुहुने बेलामा भने पुगिएन । नत्र उहिलेको सम्झना ताजा गर्न भने मन थियो ।
मन्दिरभित्र गिफट सप थियो । कृष्णसँग जोडिएका बस्तुहरू विक्रिमा थिए । हामीले मयुरका प्वाँख किनेर बोक्यौँ ।
मन्दिरमा दिउँसो १२ बजे आरति थियो । त्यसपछि भजन र प्रवचन दिइएको थियो । त्यो दिन त्यहाँ उपस्थित भक्तजनमा ९०प्रतिशतभन्दा बढी नेपाली थिए । त्यस कारण नेपाली पण्डितले नेपालीमै प्रवचन दिएका थिए । यसैक्रममा अर्का भारतीय पूजारीले नेपाल भारत सम्बन्धका बारेमा पनि प्रवचन दिन भ्याएका थिए । उनले भारत नेपाल दाजुभाइको सम्बन्ध भनेका थिए । तर त्यहाँ उपस्थित नेपालीले दाजुभाइ होइन छिमेकीको सम्बन्ध हो भनेर सम्झाएका थिए । प्राङ्गणमै एउटा साकाहारी रेस्टुरेन्ट थियो । त्यहाँ निर्धारित समय बिहान १० बजेदेखि बेलुकाको ९ बजेसम्म किनेर खान पाइन्थ्यो । मलाई पानीको असाध्य प्यास लागेको थियो । बोतलको पानी किन्न म रेस्टुरेन्टभित्र पसेको थिएँ । रेस्टुरेन्ट त काठमाडौँका बिसेबाइसे उमेरका नेपालीको रहेछ । तर पहिला त म उनीहरूसँग पनि अङ्ग्रेजीमा बात मारिरहेको थिएँ । किनभने अमेरिकामा को नेपाली को अन्य एसियाली छुट्याउनै गाह्रो पर्ने हुन्छ । उनीहरूको गलामा इस्कोनमार्गी बुझाउने माला बाहिरबाटै झुण्डिएको थियो ।
९ तारिकका दिन बिहान ९ बजेको प्रसाद ग्रहण गरी बासस्थान बाल्टिमोर फर्केका थियौँ । बाटाभरि आनन्द अनुभूति भइरहेथ्यो । जीवनको सात्विक पक्ष ज्योतिमय बनिरहेको थियो । त्यो सात्विक तत्त्वले मान्छेका जीवनलाई ज्ञात गराइ रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।