घटना जुन महिना सन् २०१८ को हो । आफू नोकरी गर्ने संस्थाको बर्सेनि आयोजित हुने कन्फरेन्समा सहभागी हुन अन्य सहकर्मीहरूसित मुम्बई पुगेको थिएँ । राती विश्रामको प्रबन्ध एयरपोर्टसितै टास्सिएको ‘सहारा स्टार’ मा संस्थाले मिलाएको थियो । मिटिङ, कन्फरेन्स साथै अन्य कार्यक्रमहरू पनि त्यहीँ नै हुने । आकाशमार्गबाट हेर्दा युरोपको कुनै सुन्दर फुटबल स्टेडियमझैँ देखिने त्यो पाँच सितारा होटेल साँचो अर्थमा अत्यन्त आकर्षक देखिन्थ्यो । होटलको कोठाबाटै विमानहरूको हतारिलो उडान र अवतरणका रमणीय दृश्यहरू हेर्दा मुम्बईको आकाशमार्ग पनि सडकझैँ व्यस्त लाग्ने । गत वर्षको कन्फरेन्स पनि ‘ग्र्यान्ड हयात’मा सम्पन्न भएको थियो तर ‘सहारा स्टार’को अद्भुत बनावट अन्य पाँच सितारा होटलहरूभन्दा निक्कै उपल्लो दर्जाको हुनाले यसले हामी सबैको मन जित्यो ।
राती बाह्र बजेसम्ममा अफिसका विभिन्न कार्यसूची तथा कार्यक्रम सिध्याएपछि सबै आआफ्नो कोठाहरूतर्फ विश्राम गर्न लाग्यौँ । भोलिपल्ट सबैले आआफ्नो ससाना समूह बनाएर मुम्बई दर्शन गर्ने निधो गऱ्यौँ । सल्लाहअनुसार हाम्रो पाँच जनाको टोली बन्यो । हुन त गत वर्ष पनि गज्जबले मुम्बई घुमेकै थियौँ तैपनि एकदुई नयाँ सदस्यहरू भएका हुनाले उनीहरूका साथ लागेर घुम्न निस्कने बाध्यता थियो । जुनको गर्मीमा मुम्बईमा समुद्र पनि उम्लेला जस्तो थियो । पसिनाले छ्यापछ्याप्ती हुँदै भए पनि जुहु बिच, मरिन ड्राइभ, गेट्वे अफ इन्डिया घुमेर सबै लखतरान भयौँ । मरिन ड्राइभका ठूल्ठूला ढुङ्गाहरूमाथि उभिएर सबैले बलिउडका अभिनेताहरूझैँ विभिन्न तरिकाले फोटोहरू खिच्यौँ । बेलुका हुटेल फर्कँदा सबैको अनुहार फुस्रो भइसकेको थियो । बिहानको घुम्न जानअघिको उत्साह बेलुकी फर्केर आइसक्दा केही पनि बाँकी नरहेको सबैका आँखाहरूले बताइरहेका थिए । उखरमाउलो गर्मीले सबै नियास्रो बनिसकेका थिए । भोलिपल्ट बिहान नौ बजे दिल्लीका निम्ति प्रस्थान गर्नुपर्ने थियो, त्यसैले समय खेर नफाली सबै आआफ्नो कोठातर्फ लाग्यौँ ।
भोलिपल्ट बिहानदेखि नै सिमसिम पानी परिरहेको अवस्थामा सात बजे हामी एयरपोर्ट पुग्यौँ । मुम्बई एयरपोर्टभित्र बिहानदेखि नै यात्रीहरूको घुइँचो देख्दा अचम्म लाग्ने । आफू दिल्ली पुगेर बेलुकी चार बजे बाघडुग्राका निम्ति अर्को विमान समात्नुपर्ने थियो । श्रीमतीलाई गुडगाउँमा आफन्तकहाँ छाडिराखेर मुम्बई हान्निएको थिएँ । व्यस्त कर्मतालिकाले सम्पूर्ण दिन नै व्यतित हुने निश्चित भए तापनि धेरै महिनापछि घर जान पाइरहेकाले अन्य कुराहरू भने मनभित्र गौण थिए ।
सिमसिम पानी परि नै रहेकाले विमान समयमा उड्छ/उड्दैन भन्ने शङ्का मनभित्र तलमाथि खेलिरहेको थियो । एयरपोर्टका सबै औपचारिकताहरू सिध्याएपछि जेट एयरवेजको आफ्नो निर्धारित आसनमा पुगेर त्यहाँ राखिएका खबरकागज पल्टाउन थालेँ । झ्यालबाट बाहिर हेर्दा पानी पर्न धेरै कम्ती भइसकेको थियो । विमानभित्र अन्य यात्रीहरू पनि आआफ्नो आसनमा विराजमान थिए । केबिन-क्रुहरू आआफ्ना भूमिकामा व्यस्त थिए । समयमै विमान उड्ने कुरामा त्यसबेला म आश्वस्त भइसकेको थिएँ तर नौ बजिसक्दा पनि विमान चल्मलाएन । वर्षाले गर्दा नै ढिलो भएको होला भन्ने सबैले सोचिरहेका थियौँ तर बाहिर हेर्दा पानीका एकदुई थोपा मात्र आकाशबाट झरिरहेको देखिन्थे । पाँचदश मिनट गर्दै घडीले दश बजायो । अब धैर्यले बाटो बिराउन थालिसकेको थियो । विमानसेविकालाई बोलाएर ढिलाइको कारण सोद्धा इन्जिनमा केही तकनिकी गडबडी देखा परेकाले विलम्ब भएको अनि आउँदो १५/२० मिनटभित्र उड्नसक्ने बताइन् । प्रतीक्षा गर्नबाहेक अरू केही विकल्प थिएन । खबरकागज, वाट्सटएपका सबै समाचार र सन्देशहरू पढेर सिध्याइसकेको थिएँ, फेसबुकका भित्तामा पनि हेरिसकेका पोस्टहरू मात्रै बारम्बार देखिन थाले । विरक्तलाग्दो अनुहार लिएर आफू भने टाढाबाट कक्पिटको ढोकातर्फ चिहाउने काम मात्र गरिरहेको थिएँ ।
एघार बजिसक्दा पनि विमान नउडेपछि मनभित्र आशङ्काहरूले घर बनाउन थाले । दिल्लीबाट बेलुकी चार बजेको विमान छुट्ने डरले सताउन थाल्यो । केही नलागेपछि अनुहारमा विरक्तिभाव लिएर सोझै कक्पिटको ढोका नजिक पुगेँ अनि फेरि विमानसेविकालाई ‘अझ कतिबेर?’ भनी हप्काएँ नै । ‘अझ केही समय लाग्नेछ, इन्जिनियरहरू काममा लागिपरेका छन्’- विमानसेविकाको मृदुस्वरले नै दिएको भए पनि त्यो उत्तरले मलाई झन् हतास तुल्यायो । ‘कति गम्भीर छ त इन्जिनको समस्या?’- अङ्ग्रेजीमा अलिक ठुलो स्वरले आफूद्वारा सोधिएको प्रश्नमा ती विमानसेविकाले उत्तर नदिई आफ्ना आँखाहरू ग्लानिबोधले तल निहुऱ्याएको देखेपछि ‘म के इन्जिनियरसित कुरा गर्न सक्छु?’ भनी सोधेँ । त्यस बेलासम्म केही अन्य यात्रीहरू पनि मेरा पछि उभिसकेका रहेछन् । चहलपहल देखेर एक जना पुरुष केबिन-क्रु लगत्तै अघि आएर बुझाउने प्रयास गरे । बाघडुग्रा जानका निम्ति दिल्लीबाटको विमान छुट्न सक्ने मेरो मनभित्रको डर तिनीसमक्ष पोखेपछि यस्तो परिस्थितिमा परवर्ती विमानमा जेट एयरवेजले नै मलाई बाघडुग्रा पुऱ्याइदिने वाचासम्म तिनले गरे । श्रीमती दिल्लीमा मलाई पर्खिरहेकाले गर्दा मैले यो प्रस्ताव स्विकार्न असमर्थ रहेको तिनलाई जनाएँ । अति नै शान्त स्वभावले ती व्यक्तिले मलाई रिझाउँदै केही क्षणमै विमान उड्ने अनि दिल्लीबाटको मेरो विमान पनि नछुट्ने भरोसा लाग्दो वचन सुनाए ।
अब आफ्नो सिटमा नै गएर प्रतीक्षा गर्ने सोचेर फनक्क फर्केर पाइला सार्नलाग्दा ठिक्क पछाडिको छेउको आसनमा केन्द्रीय राजमार्ग अनि सडक यातायात मन्त्री नितिन गडकरी बसिरहेको देखेँ । अघि बढ़्न लागेका मेरा पाइलाहरू रोकिए । यति बेरसम्म म उभिएकै पछिपट्टि गडकरी बसिरहेको मलाई थाहासमेत थिएन । एकअर्काको आँखा जुझेपछि ‘हेल्लो सर’ भनी मैले उनलाई सम्बोधन गरेँ । उनले पनि शिर हल्लाउँदै ‘हेल्लो‘ भनी उत्तर फर्काए । ‘धेरै बेरदेखि यहाँ उभिएर यिनीहरूसित तपाईँ कुराकानी गरेको देखिरहेछु । असलमा कुराचाहिँ के होला?’-उनले हिन्दीमा सोधे । मैले सम्पूर्ण वृत्तान्त उहाँलाई सुनाइदिएँ । ‘मलाई पनि चाँडै दिल्ली पुग्नुपर्ने’’ उनले थपे । मैले आफू ढिलो दिल्ली पुगेर त्यहाँदेखि बाघडुग्रागामी विमान छुट्न गयो भने दिल्लीमा मलाई पर्खिरहेकी मेरी श्रीमती पनि छुटिन सक्ने डरले मलाई सताएको उनलाई बताएँ । मेरो कुरा सुनेर मन्त्रीज्यूले ‘विमान कर्तृपक्ष यसबारे के भन्छन् त?’ भनी गम्भीर मुद्रामा उनले जान्न चाहे । मैले भनेँ- ‘यस्तो भएको खण्डमा जेट एयरवेजले नै अर्को चाँजो मिलाइदिने अरे ।’
‘के मिलाइदिने अरे? अर्को विमान कि अर्की श्रीमती – एकपल्ट सोध्नोस् त..’ ठुलो सोरले हाँस्दै मन्त्रीले ठट्यौली गरे ।
म हेरेको हेऱ्यै भएँ । गम्भीर मुद्रामा भइरहेको चर्चामाझ उनको हास्य वाक्य सुनेपछि म आफ्नो हाँसो पनि थाम्न सकिनँ । छेउछाउका अन्य यात्रीहरू पनि हाँस्न थाले । यसपछि उनले मेरो परिचय, पेसा, मुम्बई भ्रमणको उद्देश्यबारे जान्न चाहे । सबै जिज्ञासाहरूको उत्तर दिएपछि उनको मन्त्रालयले गरिरहेको अभुतपूर्व विकासका निम्ति उनलाई अभिनन्दन टक्र्याएँ । देशको सबैभन्दा ठूलो राजनीतिक दलका एक कर्मठ नेता, भूतपूर्व अध्यक्ष साथै क्याबिनेटका अग्रिम पङ्क्तिका एक जना मन्त्रीसित यसरी जम्काभेट भएर यति रसिलो चर्चा भइरहेकाले धेरै रमाइलो महसुस भइरहेको थियो । प्रायः दश मिनटसम्म त्यहाँ उभेर उनीसँग कुराकानी भइरह्यो अनि उनका आगामी दिनहरूका निम्ति हार्दिक शुभकामनाहरू टक्र्याएँ । हुन त गडकरीज्यूसित विमानभित्र भएको यो मेरो दोस्रो साक्षात्कार थियो । सन् २०१५ -मा कोलकाताबाट दिल्ली जाँदा इन्डिगोको विमानमा उनीसँग भेट भएको थियो तर त्यस बेला केवल औपचारिक अभिवादन मात्र आदानप्रदान भएको थियो । यसपालि भने उनी एक उच्चस्तरीय राजनेता मात्रै होइनन् तर हामीजस्तै साधारण ठट्टा गर्ने मिजासिला व्यक्ति पनि रहेछन् भन्ने थाहा भयो ।
अन्तमा विमान मुम्बईबाट दिउँसो अढाई बजे दिल्ली आइपुग्यो । श्रीमतीसित भेट भएपछि हतार-हतार बाघडुग्रा उड्ने विमान चढ्यौँ । यो विमानले भने समयमा नै उडान भऱ्यो तर मुम्बईमा भएको ढिलाइले जुनप्रकारको एक अविस्मरणीय याद छोडेको थियो त्यो घरिघरि मेरो मनमा छाइरह्यो अनि बागडोगरासम्मको दुई घण्टाको यात्रावधिमा नितिन गडकरीज्यूकै ठट्यौलीले आफूलाई मनमनै हँसाइरहेको थियो ।
(डुवर्स, हाल-लुधियाना)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।