हुन त मैले लुङ्गी कहाँ नलगाएको हो र ! विद्यार्थी जीवनमा मैले तीनचारवटा लुङ्गी फटाएँ होला । पलेटी कसेर खाटमा बसेर पढिन्थ्यो । फेरि घरिघरि उठिरहनुपर्ने । यसका लागि लुङ्गी नै सजिलो तर लुङ्गी लगाएर घरबाहिर निस्कने आँट कहिल्यै आएन । घरभित्रको पोसाक थियो मेरा लागि । त्यो विद्यार्थी जीवनको पोसाक पछि सदाका लागि हरायो । त्यसपछि मैले कहिल्यै लुङ्गी लगाइनँ ।

तर जब म (२०१९ अक्टोबर) मा बर्मा आएँ त्यति बेला थाहा पाएँ, लुङ्गी त बर्माको राष्ट्रिय पोसाक पो रहेछ, राष्ट्रिय गरिमा रहेछ । नेपालमा हुँदा घरभित्र सीमित रहेको लुङ्गी त बर्माको राष्ट्रिय समारोहको विशिष्ट पहिरन भएको थाहा पाउँदा मलाई अनौठो अनुभव भयो । राष्ट्रपति, प्रधानमन्त्री तथा ठूला–ठूला अधिकारीदेखि सामान्य कर्मचारी सबै लुङ्गी नै लगाएका हुन्थे । सहर–बजारदेखि गाउँसम्म लुङ्गी नलगाएको व्यक्ति भेट्न नै गाह्रो । एयरपोर्टका कर्मचारीदेखि नगर बसको ड्राइभर सबै लुङ्गी लगाएका थिए । लुङ्गी लगाएर नै पसलेहरू बसेका हुन्थे यो लुङ्गी लगाएर नै ट्याक्सी ड्राइभरले ट्याक्सी चलाएका थिए । नेपालीहरू पनि लुङ्गी लगाएका प्रशस्त भेटिए । जता हेर्‍यो उतै लुङ्गी । अर्को रोचकता यो छ कि जसरी पुरुषको राष्ट्रिय पोसाक लुङ्गी हो भने महिलाका लागि पनि राष्ट्रिय पोसाक लुङ्गी नै हो । केवल फरक यति छ कि पुरुषको लुङ्गीलाई पस्सो भनिन्छ भने महिलाको लुङ्गीलाई ठबी । लगाउने तरिकामा सामान्य फरक छ ।

रङ्गुन पुगेको भोलिपल्ट नै ठाकुरप्रसाद गुरागाईँले मलाई एउटा लुङ्गी दिनुभएको थियो । हरियो भुईँमा सेतो कोठा भएको लुङ्गी निकै राम्रो थियो । त्यसलाई मैले निकै जतनसाथ प्रयोग गर्न थालेको थिएँ । कोठा र भान्सा वरिपरि काम गर्दा लगाउने गर्थेँ । मलाई लुङ्गी बानी परिसकेको थियो । एक त रङ्गुनको गर्मी वातावरण अर्को लगाउन सजिलो । लुङ्गीमा मेरो आदत बसिसकेको थियो, मलाई कुनै सङ्कोच थिएन । अर्कातर्फ राष्ट्रिय पोसाक ।

तर एकदिन ! घरभित्र लगाइरहेको लुङ्गीलाई घरबाहिर किन नलगाउने ? मैले आँट गरेँ । लुङ्गी लगाएर नै रङ्गुन सहर घुम्ने धोको आयो । त्यो दिन शङ्करजी र म रङ्गुनको “सुले पगोडा स्तुप”मा यात्रा गर्न जाने योजना बनेको थियो । म त्यो दिन लुङ्गी लगाएर जाने तयारीमा आएँ । म शङ्करजीलाई पर्खेर बसेको थिएँ तर अचानक शङ्करजीको फोन आयो । मैले फोन उठाएँ,“न्यौपानेजी ! आज म आउन पाइनँ । घरमा अपर्झट एउटा काम आइलाग्यो । आज तपाईँ आराम गरेर कोठामा नै बस्नुहोला, भोलि जाऔँला ।”

उनलाई “हुन्छ” भनेर उत्तर त दिएँ तर मेरो मानसिकता भने परिवर्तन भएन । शङ्करजी आउन नसक्नुमा मलाई कुनै चिन्ता भएन । चिन्ता थियो– लुङ्गी लगाएर रङ्गुन सहर घुम्नु । जब म तयार भएर बसेको छु भने लुङ्गी लगाउनुमा पनि चिन्ता भएन । लगाइसकेको लुङ्गी मलाई फुकाल्न मन लागेन । म एक्लै भए पनि सहर परिक्रमा गर्न तयार भएँ । आखिर केही दिनदेखि परिचित सहर न हो ।

पहिलोपल्ट जब म लुङ्गी लगाएर बाहिर सडकमा आएँ, अहो ! निकै गाह्रो पो हुँदो रहेछ । लाज लाग्दो रहेछ । अघिदेखिको मेरो जोस सामसुम भएर सुक्यो । म डराउन थालेँ । मलाई खसखस लाग्दै आयो । हुन त रङ्गुन सहरमा मलाई चिन्ने कोही थिएन । मलाई हेर्न कोही आएको छैन । मैले जे लगाए पनि कसैलाई वास्ता छैन तर मलाई अनुभव हुन थाल्यो, सबैले मलाई नै हेरिरहेका छन् । सबैको आँखा मेरै लुङ्गीमा परेको छ ।

म बसेको घर बाह्र तलाको थियो । म नवौँ तलामा बसेको थिएँ । पहिलो तलाको मूल ढोकामा नै पाले सधैँ बसेका हुन्थे । नयाँ आगन्तुकको सोधपुछ र सामान्य सुरक्षा गर्नु उनको काम हो । यो उनको जागिर हो । दक्षिण भारतीय मूलका ती सुरक्षा गार्डसँग मेरो चिनजान भइसकेको थियो । आज मलाई उनले देख्नासाथ गहिरो नजरले हेरे तर केही बोलेनन् । मैले मनमनै सम्झेँ,“पक्कै यसले मेरो लुङ्गीलाई हेरेको होला । यसलाई अनौठो लाग्यो होला । कतै मेरो लुङ्गी बिग्रेको त छैन !”

म यही रूपमा हिँडेर मूल सडकसम्म पुगेँ । मूल सडकमा निकै भिड–भाड थियो । मान्छेहरू ओहोरदोहोर गरिरहेका थिए । ट्याक्सी, बसहरू दौडिरहेका थिए तर मलाई लाग्थ्यो, त्यो भिडले मलाई नै हेरिरहेको छ । मलाई नियालिरहेको छ । मलाई हीनताबोध हुन थाल्यो । मैले मनमनै सम्झन थालेँ, “मैले के नचाहिँदो गरेँ ?” म सडकको किनारमा उभिएँ । परबाट एउटा बस आयो । म चढ्ने तरखर गर्दै थिएँ तर मलाई थाहा थिएन म ओर्लने ठाउँ कति टाढा पर्छ भनेर । त्यसै त भिडभाडको बसयात्रा, त्यसमा पनि मध्याह्नको समय । म लुङ्गी स्याहार्दै बसमा चढेँ तर मलाई लाग्यो, सबै यात्रीले मलाई नै हेरिरहेका छन्, मेरै लुङ्गीमा तिनीहरूको आँखा गएको छ । एकातिर आफ्नो लुङ्गीको पहिरनले म लजाएको थिएँ, अर्कातिर लुङ्गी फुस्केला भन्ने उत्तिकै चिन्ता । म बल गरेर बसभित्र पसेँ ।

ओर्लने ठाउँ फुत्केला भनेर मैले एउटा कागजको टुक्रा बस ड्राइभरलाई दिएँ । जुन टुक्रामा लेखिएको थियो “सुले पगोडा” यो बर्मेली भाषामा लेखिएको अक्षर ड्राइभरले पढेपछि पुलुक्क मतिर हेरे र हातले इसारा गरे, “अर्को पाँचवटा स्टपपछि आउँछ, त्यहीँ ओर्लनू ।”

म केहीबेर ढुक्कसँग बसमा बसेँ । अब मलाई बस स्टप गन्नुपर्ने थियो ।

साधारणतः ड्राइभरले कुनै पनि यात्रुलाई “तपाईँ यहीँ ओर्लने हो– ओर्लनुहोस्” भन्दै उठाउन आउँदैनन् तर एकातिर बर्मेली भाषा नबुझेर मैले उनलाई कागजको टुक्रा दिनु अर्कातिर बर्मेली लुङ्गी लगाएर बसको यात्रा गर्नु, मप्रतिको ड्राइभरको हेराइले मलाई ज्ञान भइसकेको थियो कि म अद्भुत व्यक्ति हुँ । त्यसैले केही बेरअघिको कागजको टुक्रा हेरेपछि उनी मेरो नजिकै आए र बोले, “तपाईँको ओर्लने ठाउँ यही हो ।”

म हत्तपत्त बसबाट ओर्लिएँ र अगाडि बढेँ । मेरा अगाडि गोलाकारको सुले पगोडा स्तुप थियो । हुन त सुले पगोडा स्तुपका बारेमा मलाई पहिल्यै थाहा थियो भने त्यसको अवलोकन कहाँ नगरेको हो र ! इतिहासकारअनुसार करिब २५०० वर्ष अगाडि बनेको यो स्तुपमा गौतम बुद्धको रौँ राखिएको छ भनिएको यस स्थानबाट नै रङ्गुन सहरको केन्द्रबिन्दु सुरु हुन्छ । यो सुले पगोडा धार्मिक रूपमा मात्र नभई राजनीतिक रूपमा पनि त्यत्तिकै महत्त्वपूर्ण छ । सरकारले गरेका कामहरूको चित्त बुझेन भने सबैभन्दा पहिला यहीँ आएर नाराबाजी र प्रदर्शन गर्ने गरिन्छ । यहाँ वरिपरि अझै पनि बेलायती साम्राज्यका भवन र सडकहरू यथावत् रूपमा अवस्थित छन् ।

मैले त्यो गोलाकार सुले पगोडा स्तुपको परिक्रमा गर्नुपर्थ्यो साथै आठवटा बुद्धको दर्शन गर्नुपर्थ्यो तर मैले परिक्रमा गर्न सकिनँ । मलाई पछुतो छ कि मेरो लुङ्गीले नै त्यति बेला मलाई गाह्रो बनाइदियो । म लुङ्गी स्याहार्दै हिँड्न सकेको थिइनँ । म जहाँ उभिएको थिएँ त्यहीँबाट बसमा फर्किएँ र आफ्नो निवास आएँ । त्यो दिनदेखि कहिल्यै पनि कोठाभन्दा बाहिर लुङ्गी लगाएर हिँड्ने आँट गरिनँ । लुङ्गी कोठाभित्र मात्र सीमित रह्यो ।

म केही दिनदेखि थाइल्यान्डको राजधानी सहर बैङ्ककमा छु । मलाई लुङ्गीको बानी परिसकेको छ । म बिहान र बेलुका घरमा बस्दा लुङ्गी लगाउने गर्छु । उस्तै परे लुङ्गी लगाएर आँगनसम्म जान पनि सक्छु तर लुङ्गीको इज्ज्त पनि अनौठो प्रकारको छ । त्यही लुङ्गी लगाएर रङ्गुन सहरको कुना–कुना चाहार्दा गौरव थियो, त्यो लुङ्गीको सान–इज्जत कत्रो थियो तर थाइल्यान्डमा त यो झुत्रे पो रहेछ । यो त गरीबले लगाउने थाङ्ने पहिरन पो रहेछ । एक दिन लुङ्गी लगाएर आँगनतिर आउन मात्र लागेको थिएँ । नारायणजीले भनिहाल्नुभयो, “सर ! यो लुङ्गी लगाएर आँगनमा नआउनुहोला है ! घरभित्र मात्र हो यो लगाउने ।”

“किन र” म सोध्छु ।

“थाइल्यान्डमा लुङ्गीको इज्जत छैन । गरीब भनेर हेला गर्छन् । यो बर्मेलीको पहिरन हो ।”

म ट्वाल्ल परेर हेरिरहन्छु । उनी बोल्दै जान्छन्,“बरु भन्ते (बौद्ध भिक्षु) को गेरुवा बस्त्र बेरिनुभयो भने ज्ञानी भनेर तपाईँलाई सम्मान गर्छन् तर बर्मेली पस्सो (लुङ्गी) नलगाउनुहोला ।”

त्यस दिनदेखि थाइल्यान्ड बसुन्जेल कहिले पनि मैले लुङ्गी लगाइनँ ।