बातैपिच्छे “जय रामजी की” भन्ने गरेकोले उनलाई मैले पनि “जय रामजी की” भनेर सम्बोधन गर्छु । हाम्रो गफ “जय रामजी की”बाट नै सुरु हुने गर्छ । थाइल्याण्डको फुकेट पुगेको दिनमा नै मैले उनलाई भेटेको हुँ । उनको वास्तविक नामचाहिँ सीताराम हो । साह्रै फरासिलो गफ गर्न रुचाउने अनि आफूलाई कसैबाट पनि मान–सम्मानको अपेक्षा गर्ने । सीतारामजी धेरै गुणले सम्पन्न छन् । उनको घर म बसेको मन्दिर नजिकै छ भने समुद्री किनारमा उनको आफ्नो पसल पनि छ । उनी आफ्नो पसल र घरमा खुब आउने–जाने गरिरहन्छन् । उनले मलाई पटक–पटक भन्ने गर्छन्, “के गर्नु ! अर्काको भरमा मात्र त्यत्रो पसल कहाँ छोड्न सकिन्छ र ?”
उनका तीन–चारजना कर्मचारीहरू पनि छन् । मैले अनुरोध गरेपछि एक दिन उनले मलाई समुद्री किनारमा घुम्न लगिदिन्छन् ।
“पहिलादेखि नै सोचिरहेको थिएँ – तपाईंलाई एक दिन समुद्री किनारमा घुमाइदिऊँ भनेर । तर फुर्सद हुने भए पो ! आज बल्ल फुर्सद मिल्यो । नेपालतिर कत्तिका ताल–तलैया छन् ? समुद्र त छैन क्या र !”, भन्दै उनी मलाई आफ्नो मोटरसाइकलमा बसाउँछन् । र हामीहरू केहीबेरमा नै समुद्र किनारमा पुग्छौँ । उनी पनि समुद्र किनारमा नपुगेको वर्षौं भएको रहेछ । मोटरसाइकलबाट मलाई ओराल्दै बोल्छन्, “समुद्री किनारनजिकै आफ्नो घर छ भनेर के गर्नू ? आउने फुर्सद भए पो ! म यहाँ नआएको धेरै भयो । मैले पनि धेरै दिनपछि आज बालुवामा पाइला हालेँ ।”
हामीहरू बिस्तारै–बिस्तारै किनार हुँदै पानीसम्म पुग्छौँ । अनि पानी हातमा लिएर हात–गोडा र मुख पखाल्छौँ । त्यही बेला सीतारामजीको फोनको घण्टी बज्छ । फोन उनको पसलबाट आएको हुन्छ । फोनको कुरा सकेपछि उनी हत्तपत्त गोडामा लागेको बालुवा पखाल्छन् र मतिर हेर्दै बोल्छन्, “सर ! म पसलमा नगई भएन । तपाईं पानीसँग खेल्दै गर्नुहोला । म पसलमा पुगेर आइहाल्छु ।”
तर म सीतारामजी पुनः समुद्री किनारमा फर्कन आवश्यक ठान्दिनँ ।
“तपाईं मलाई लिन आउन पर्दैन । भो ! तपाईं दुःख नपाउनुहोला । म आफैँ हिँडेर मन्दिरसम्म पुग्छु । भरे उतै मन्दिरमा भेट गरौँला ।”
“त्यसो भए ल ! राम्रोसँग जानुहोस् । म हिँडेँ ।” भन्दै उनी पसलतिर जान्छन् । म एक्लै पर्छु ।
समुद्री किनारको रमाइलो चहलपहल । विशाल–विशाल सामुद्रिक छाल अनि छालमा पौडिरहेका स–साना डुङ्गाहरू । वातावरण अति लोभलाग्दो छ । म दिनभरि नै त्यही किनारमा अलमल गर्छु । फाट्टफुट्ट छिमेकी मुलुकका हिन्दी भाषी मित्रहरूसँग पनि गफ भएकै हुन्छ । युरोपियन मुलुकका पर्यटकहरू पनि त्यहाँ प्रशस्त छन् ।
म दिन ढल्केपछि उकालो लाग्छु । सडकमा नेपालीहरू पनि भेटिएका छन् । भेटिएका बर्मेली–नेपाली, थाई–नेपालीसँग सामान्य गफ हुँदै म अगाडि बढेको छु । दिन ढल्केपछि फुकेट सहरमा रमाइलो चहलपहल सुरु हुने गर्छ । गाडीको बाक्लो ओहोर–दोहोर, दायाँ–बायाँका रेष्टुराँबाट आएको सङ्गीत धुन, झिलिमिली बत्तीको चहकिलो ज्योति अनि पर्यटकको भीडभाड । वातावरण निकै मनमोहक छ । म त्यही मनमोहक वातावरण छिचोल्दै अगाडि बढिरहेको हुन्छु । त्यहीबेला एउटा मोटरसाइकल मेरो नजिकै आउँछ र बिस्तारै रोकिन्छ । म त्यसलाई पुलुक्क हेर्छु । त्यतिबेला मेरो मानसिकता सीतारामजीतिर जान्छ । तर व्यक्ति सीतारामजी हुँदैनन्, बरु उसले मलाई सोधिहाल्छन्, “कहाँ पुग्ने हो सर ! म पुर्याइदिन्छु ।”
त्यो त्यहाँको चलन नै हो । सडकमा एक्लै कोही हिँडिरहेको देखेपछि मोटरसाइकलले सदायता देखाउने फुकेट सहरको मात्र होइन थाइल्याण्डमा प्रायः देखिन्छ । मैले पहिला–पहिला यसको उपयोग गरिसकेछु । तर यस पटक यो सदायता लिन चाहिनँ । किनभने म पुग्ने ठाउँ त्यति टाढा छैन, र उत्तर दिन्छु, “म हिँडेरै जान्छु । नजिकै छ ।”
तर उनी उभिइरहन्छन् । उनले मलाई अङ्ग्रेजीमा सोधेका छन्, तर उनको बोलीमा नेपाली गन्ध पाउँछु । उनको लवजको नेपालीपनको आभास दिइरहेको छ, र उनलाई सोध्छु– “तपाईं नेपाली हो ?”
“हो । म नेपाली हुँ ।”
हाम्रो कुराकानी सुरु हुन्छ । वास्तवमा उनी नेपाली होइनन् । उनका बाबु–आमा पनि नेपाली होइनन् । वा उनीहरूले नेपाल देश देखेका नै छैनन् । डेढ शताब्दी अगाडि उनका बाजे–बराजु नेपालबाट बर्मा पसेका रहेछन् । बर्माबाट उनीहरू थाइल्याण्ड आए तर त्यही हाँगाले नै उनीहरूलाई नेपाली बनायो । उनीहरू आफू नेपाली हुन रुचाउँछन् । सकी नसकी नेपाली नै बोल्छन् । नेपाली साथीभाइ नै खोज्छन् । नेपालीको नै सङ्गत छ, तर अहिलेसम्म खाँटी नेपाली भेटेका छैनन् ।
“म पनि नेपाली हुँ ।” म सुनाउँछु ।
जसरी म उनलाई भेटेर अनौठो महसुस गरेको छु, त्यसरी नै उनी पनि मलाई भेटेर अनौठो मानेका छन् । हामी दुवैले आफ्नो–आफ्नो तर्फबाट आश्चर्य अनुभव गरिरहेका छौँ । अनौठो हेराइ हेरिरहेका छौँ ।
“नेपालीहरू पनि थाइल्याण्ड घुम्न आउँछन् हगि ! अहिलेसम्म नेपाली भेटको थिइनँ, आज भेट भयो । आजकल पारस सरकार कहाँ होइबक्सन्छ ? उहाँसँग त राम्रै परिचय थियो ।”, ती व्यक्ति एकैचोटि धेरै जिज्ञासा राख्छन् ।
“पारसलाई चिन्नुहुन्छ ?” म उनलाई सोध्छु ।
“किन नचिन्नु ! पारसपछि नेपाली भेटेको व्यक्ति तपाईं नै हो ।”
पारस शाहलाई जोडेर उनले धेरै कुराहरू गर्छन् । उनले प्रशंसा मात्र गरेनन्, निकै सम्मान पनि देखाउँछन् । लाग्छ – पारसको इतिहास उनलाई सबै थाहा छ ।
स्वस्फूर्त रूपमा आफ्नो दैनिकीमा रमाइरहेका पारसलाई नारयणहिटी दरबार पुर्याएर पुनः सडकमा झारिदिएपछि उनी विक्षिप्त भएका थिए । उनको मानसिक सन्तुलन उथलपुथल भएको थियो । त्यो विक्षिप्त मानसिकता लिएर उनी सहरमा अनौठो प्रकारको चरित्र प्रदर्शन गर्ने गर्थे । त्यो चरित्रलाई नेपालीले सहन नसकेपछि उनी विदेशिएका थिए । विदेशमा पनि उनको गतिविधिमा सुधार आउन सकेन । उनी झन् नालायक बन्दै गए । त्यही नालायकपनबाटै उनी दुनियाँको चासो बन्दै गए । दुनियाँले उनलाई झन् गहिरिएर हेर्न थाल्यो । त्यो चासोमा म पनि थिएँ ।
ती व्यक्तिमाथि चाख बढिरहेको बेला अब मेरो चाख एक्कासि पारसतिर जान्छ । त्यति मात्र कहाँ हो र ! म थाइल्याण्ड पुग्नेबित्तिकै युवराज पारसको बारेमा निकै चर्चा सुनेको थिएँ । अझ फुकेट पुगेपछि भेट हुने हरेकको मुखबाट सुरुमा नै पारसको चर्चा चलिहाल्थ्यो । हरेक पटक फुकेट सहरमा हिँडिरहेको बेला उनीहरूले मलाई देखाइहाल्थे – “ऊ ! त्यही होटेलमा पारस सरकार बसिबक्सिन्थ्यो ।”
म मनमनै सम्झन्थे– “पारसले निकै तहल्का मच्चाएका रहेका रहेछन् ।”
हुन त पारस शाह नेपालको श्री ५ को हैसियतमा छैनन् । राजसंस्था निर्मूल भइसकेको छ तर त्यो संस्थामा बसेको व्यक्तिको चियोचर्चो भने ओझेल परेको छैन । उनीहरूको खोजतलास र नीतिखुति गरेर न नेपाली जनता थोकेको छ न दुनियाँ नै । जब ती व्यक्तिले पारसको कुरो निकालेका थिए म पनि उत्साहित बन्छु । उनको विषयमा जान्ने चाख बढ्छ र सोधिहाल्छु, “ए ! कसरी भेट्नु भयो त पारसलाई ?”
“म काम गर्ने होटेलमा उहाँ बसिबक्सन्थ्यो । म ऊ त्यो होटेलमा काम गर्छु ।”, भन्दै उनले पनि त्यही होटेललाई देखाउँछन्, जुन होटेल पहिला पनि मलाई देखाइन्थ्यो ।
“आउनुहोस् ! बसौँ ! एकछिन हाम्रो होटेलमा । अरू साथीहरूसँग पनि भेट हुन्छ । हामीहरू थुप्रै नेपाली छौँ ।”
म त्यो व्यक्तिको पछि–पछि लाग्छु र होटेलमा पस्छु । होटेलभित्र पसेपछि मलाई झन् रमाइलो लाग्छ । कुनै अप्ठ्यारो र सकस लाग्दैन । कर्मचारी सबैजसो नेपाली नै छन् । झन् म नेपालबाट आएको भनेपछि उनीहरू खुसी बन्छन् । म पनि उत्सुक बन्छु र उनीहरूको नेपाल बारेको पितापुर्खा खोजी गर्न थाल्छु । तर उनीहरूको ध्यान त्यतातिर जाँदैन । बरु पारसतिर नै जान्छ । उनीहरू पनि त्यही प्रश्न गर्छन्, “आजकल पारस सरकारको हालखबर कस्तो छ ?”
मलाई लाग्छ, पारससँग उनीहरूको निकै राम्रो हिमचिम छ । उनीहरू हितैषी हुन् । म पनि त्यही प्रश्न दोहोर्याउँछु, “कसरी चिन्नुभयो पारसलाई ? निकै खोजीनीति गर्नुभएको छ ।”
“उहाँ यही होटेलमा राज गरिबक्सिन थियो ।”, एउटा व्यक्ति निकै हतारिँदै उत्तर दिन्छ । अनि प्रसङ्ग नै नआएको विषयवस्तुतिर गइहाल्छ, “लागेपछि अलि झोक्किने स्वभावको होइबक्सिदो रहेछ । हानी हालिबक्स्यो । दुवै पक्षमा मुक्का हानाहान भयो । केटी भएर पनि कम बलिई रहेनछे । पारस सरकारलाई हानी हाली । मैले ‘पुलिस भो नबोलाऔँ । आफैँ मिलापत्र भइहाल्छ नि’ भन्दै थिएँ – मेनेजरले पुलिस बोलाइहाले । त्यो दिन उहाँलाई दशा लागेको !”
“के निहुँमा रहेछ झगडा भएको ।”, म सोध्छु ।
“गाँजाको विषयमा ! गाँजा नपिई निद्रै नलाग्ने रहेछ पारस सरकारलाई ।”
नेपालको संविधानबाट मात्र होइन, नेपाली जिब्रोले समेत बिर्सेको शब्दहरू थाइल्याण्डका नेपालीले निर्वाद रूपमा प्रयोग गरेको देख्दा म अनौठो मान्छु । उनका हरेक शब्दमा पारसप्रति मान–सम्मान छ । बोलीमा आदर छ । बातैपिच्छे “बक्सिन्छ” लगाएका छन् । भित्रैबाट करुणाको भाव देखाएका छन् । मेरो जिज्ञासा पारसतिरबाट अब ती व्यक्तितिर सर्छ र सोधिहाल्छु, “पारसलाई तपाईंले निकै मान–सम्मान देखाउनुभयो । पारसको माया लाग्छ ? मनपर्यो ?”
“किन मन नपर्नु ? सङ्गत गरेपछि पो मानिसलाई चिन्न सकिन्छ । बाहिरबाट हेरेको भरमा मान्छेको मूल्याङ्कन गर्न हुन्छ र ! उहाँजस्तो कोमल मन भएको मान्छे अर्को मैले देखेकै छैन । त्यस्तो असल मान्छे ! उहाँलाई मान–सम्मान नचाहिने रहेछ । सबैलाई साथीजस्तो ठान्ने । आफू युवराज भएर पनि कति ठूलो बन्नु नपर्ने । उहाँको कमजोरी भनेकै विलासिता जीवन बिताउन चाहने र सबैलाई माया गर्ने ! सानो उमेरमा उहाँबाट एउटा सानो गल्ती भएको रहेछ । त्यसैलाई मान्छेले पहाड बनाएका रहेछन् ।”, फेरि उनी थाइल्याण्ड राजाको कुरालाई जोड्छन् र बोल्छन्, “थाइल्याण्डका राजाले जर्मनीमा आइमाईको पहिरन लगाएर जिउभरि ट्याटु नै ट्याटु बनाएको भिडियोबाहिर आएको थियो । खै ! उनलाई कसैले केही भनेनन् । उनी थाइल्याण्डका राजा भएकै छन्, हाम्रो पारस्… ।”
ती व्यक्तिले धेरै नै बोल्न थालेपछि म प्रसङ्ग बदल्दै उनलाई सोध्छु, “पुलिसले आएर के गर्यो त पारसलाई ?”
“सुरुमा त पुलिसले पनि पारसलाई चिनेनन् । पारस सरकार आफैँले म नेपालको युवराज हुँ भनेपछि पुलिस तर्सियो । युवराज भएर यसरी ड्रगको विषयमा झगडा गर्ने त ? भनेर सोध्यो । अनि हतकडी लगाएर गाडीमा राख्न खोजेको थियो । मैले लिम्बुलाई फोन लगाइहालेँ । लिम्बुसँग पुलिसको फोनमा वार्ता भएपछि पासरलाई छोडिदियो ।”
“को लिम्बु ?”, म सोध्छु ।
“थाई पुलिस । नेपाली नै हो । गोर्खाली । चिनजानकै हो । नेपालीलाई केही विपद पर्यो भने ऊ आइहाल्छ ।”
“ऊ आयो त ?”
“ऊ तुरुन्त मोटरसाइकलमा आयो र लगाएको हतकडीसमेत खोल्न लगायो । पारसलाई आफैँले जिम्ममा लियो । तर भोलिपल्ट नै पारस सरकारले फुकेट सहर छोडिबक्सियो । उहाँलाई फुकेटमा बस्न लाज भयो । उहाँ बैङ्कक गइबक्सियो ।”
“मैले अझ धेरै हल्ला सुनेको थिएँ । नेपालमा त उनको बारेमा नानाथरिका कुरा फिँजिएका थिए त !”, म सोध्छु ।
“ठिकै हो । के गर्नु लागेको बानी ! बैङ्ककमा पनि झगडा परेछ । त्यहाँ त आफू बसेको होटेलको कुर्सी, टेबुल, भाँडाकुडा नै फुटाइबक्सेछ । फुकेटमा पो चिनजान थियो र हामीले पुलिसलाई भनसुन गरेर मिलायौँ । तर बैङ्ककमा कहाँ भनसुन चल्छ र ? पुलिसले समातेछ । टेबुल, कुर्सी र भाँडाकुडाको हर्जना तिराएछ । ४ हजार डलर तिर्न लगाएछ ।”
तिनै शाह वंशीय राजा थाइल्याण्ड आउँदा थाई जनताले फूलको गुच्छा बर्साएका थिए । न्यानो स्वागत गरेका थिए । कार्पेटमा हिँडाउँदै बैङ्कक सहरको परिक्रमा गराएका थिए तर पारसलाई पुलिसले हतकडी लगाएर थानामा लगेछ भन्दा कुन नेपालीको मन चसक्क नघोच्ला । कसलाई हिनताबोध नहोला ! ती व्यक्ति पनि आफैँमा हिनताबोध गर्छन् अनि मधुरो स्वरमा बोल्छन्, “राजा वीरेन्द्र नभएको भए कहाँ हामीले थाई देशको स्थायी बासिन्दा हुन्थ्यौँ र ?”
“किन र ?”
“राजा वीरेन्द्र थाइल्याण्ड आएको बेला बर्माबाट थाई पसेका नेपाली जनताले स्थायी बसोबासको लागि निवेदन हालेपछि मात्र हामीले बैङ्कक सहरभित्र पस्न पाएका हौँ । नत्र कहाँ ? हाम्रो जिन्दगी त थाइल्याण्डको जङ्गलमा नै बित्थ्यो । ढुङ्गा र तामाखानीमा नै हराएका हुन्थ्यौँ । ढुङ्गाखानीबाट कहाँ बाहिर निस्कन सक्थ्यौँ र ? पहिला पहिला त गौँडा–गौँडामा पास चाहिन्थ्यो । पास देखाउन नसकेपछि बैङ्कक छिर्न कहाँ पुलिसले दिन्थ्यो र ?”
“तपाईंसँग पारसको भेट भएको छ नेपालमा ?”, उनी मलाई प्रसङ्ग बदल्दै अर्को प्रश्न गर्छन् ।
“छैन ! किन र ?”
“मलाई एकपल्ट फेरि पारससँग भेट गर्न मन छ । नेपालमा गएँ भने पारससँग भेट होला ?”
एउटा प्रचलित उखान नेपालको राजसंस्थामा लागु हुन्छ, “भुइँको टिप्न खोज्दा पोल्टाको समेत पोखियो ।” संवैधानिक राजा भएर मजाले नारायणहिटी दरबारमा बसेका राजालाई एक्कासी तानाशाह राजाको भूत चढ्न गयो । उनी अराजकताको बाटोतिर लागे । तर उनको तानाशाह धेरे वर्ष चल्न सकेन । उनी सडकतिर आउन बाध्य भए । सडकमा आएका राजालाई भेट्न के नै गाह्रो हुन्छ र ? राजदरबारमा बसेका राजालाई पो भेट गर्न गाह्रो !
म उनलाई उत्तर दिन्छु, “किन भेट नहुने ? भेट गर्न सक्नुहुन्छ ।”
उनी मेरो उत्तर सुनेपछि खुसी हुन्छन् । उनको युवराज भेट्ने आशा तिखो भएर तिखारिन्छ तर मलाई थाहा छैन – उनी नेपाल आएर युवराजलाई भेट गर्न सक्छन् वा सक्दैनन् । केहीबेरको गफगाफपछि उनैले नै मलाई मन्दिर पुर्याइदिन्छन्, जुन मन्दिरमा म केही दिनदेखि पस्दै आएको छु । फर्कने बेलामा उनको बोली प्रष्ट रूपमा मैले सुनिरहेको हुन्छु, “भोलि पनि मेरो होटेलमा आउनु होला है ! मलाई पारस सरकारको ठेगाना चाहिएको छ । मौसुफलाई भेट्न साह्रै रहर छ । म नेपाल जान्छु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।