मित्रलाल गौतमका छोराहरू साह्रै जाँगरिला रहेछन्, घरको सबै काम उनीहरूले नै गरिरहेका थिए । मकै भुट्ने, भैँसी दुहुने, घाँसपात, गोबरसोत्तर सबै काम एकैछिनमा गरे । भुटेका मकैसँगै दूध तताएर दिए । बेमौसमी झरीले रुझेका र वैशाख महिना भए पनि जाडाले कठ्याङ्ग्रिएका हामी अगेनाको डिलमा बसेर आगो ताप्दै भुटेको मकै र तातो दूध खाएर रमायौँ ।

मित्रलाल कुरा गर्न सिपालु रहेछन् । समसामयिक विषयमा गफगाफ भए । कुराकानीकै सिलसिलामा उनले भने— “पहिले निकै दुःख थियो । यी डाँडापाखामा खासै अन्नबाली हुँदैनथ्यो तर अलैँचीले गर्दा अहिले त्यत्ति दुःख छैन । यसैको बिक्रीबाट पोहोर साल एउटा बारी किनेँ । अहिले पनि उत्पादन राम्रै होला जस्तो छ ।”

राति अबेरसम्म यस्तै गफ भए ।

वि.सं. २०६४ साल वैशाख २९ गते शनिबार बिहान सबेरै निद्रा खुल्यो । ब्युँझिँदा बाहिर चराचुरुङ्गी चिरबिराइरहेका थिए । अघिल्लो दिनदेखि परेको पानी रोकिएको थिएन । जाडो उत्तिकै थियो । अल्छी मानी मानी उठ्यौँ, नित्यकर्म सकेर हिँड्ने तयारी गऱ्यौँ ।

“हिँड्न त खोजियो, पानीले दुःख दिन्छ क्यारे ।” सहयात्री शिव पौडेलले भने ।

मित्रलालका छोराहरूले कताबाट एक एक ओटा छाता ल्याइदिए । मिठो चिया बनाएर दिए । चिया पिउँदै थियौँ “उकालामा लेक लाग्न सक्छ, खाँदै जानुहोला” भन्दै एक एक घान भुटेका मकैसमेत पोल्टामा हालिदिए । कतिबेला मकै पनि भुटिसकेका रहेछन् । उनीहरूले हामीप्रति दर्साएको ममता जीवनभरि नबिर्सने खालको थियो ।

हामी काठमाडौँबाट इटहरी, झापा, इलाम र पाँचथर हुँदै ताप्लेजुङ पुगेका थियौँ । ताप्लेजुङको ढुङ्गेसाँघुमा रहेको जननेता मदन भण्डारीको जन्मघरसम्म पुगेर फर्किने योजना थियो । अनिल पौडेल, शिव पौडेल र मसमेत तीन जनाको टोली थियो हाम्रो । शिव पौडेल उमेरले पाका भएका र अनुभवले खारिएका हुँदा उनैलाई हामीले यात्राको नेता चुनेका थियौँ । उनको साविक घर ढुङ्गेसाँघु नै थियो । त्यसैले उनलाई त्यो ठाउँको बारेमा धेरै जानकारी थियो । कहाँ बस्ने ? के खाने ? कताकता घुम्ने सबै चाँजोपाँचो उनैले मिलाउँथे । हामीलाई कुनै टन्टो थिएन ।

हरिप्रसाद भण्डारी

साँझको बास ढुङ्गेसाँघु गाउँको सिरानमा रहेको मित्रलाल गौतमको घरमा बस्ने निधो भएको थियो । बिहान सबेरै उठेर हिँड्ने, साँझ वसन्तपुरसम्म पुग्ने र अर्को दिन हिले, धनकुटा र धरान हुँदै इटहरी झर्ने योजना थियो ।

पानी पर्दै थियो, मित्रलाल र उनका छोराहरूसँग बिदा भएर घरबाट बाहिरियौँ । घरैदेखि नाके उकालो सुरु भयो । वैशाख महिना भए पनि झरीले गर्दा मौसम चिसो थियो । हिँड्दा कहिलेकाहीँ खुट्टामा जुका टाँसिन्थे । कच्ची बाटो भएको हुनाले धेरै ठाउँमा हिलो र चिप्लो थियो । बाटो हिँड्न सजिलो थिएन ।

हरेक समस्याभित्र सम्भावना हुन्छन् भनेजस्तो बाटो उकालो र असजिलो भए पनि एउटा राम्रो पक्ष थियो । त्यो के भने जति माथि गयो त्यहाँबाट देखिने दृश्यहरू झन् झन् सुन्दर देखिन्थ्यो । करिब एक घण्टाको हिँडाइपछि हामी निकै माथि पुगिसकेका थियौँ । माथि पुगेपछि अग्लो स्थानमा उभिएर तल हेरेँ । उत्तरतिर फर्केको ढुङ्गेसाँघु गाउँ सुन्दर देखियो । मदन भण्डारीको जन्मघर, उनले पढेको ठेट्नेको स्कुल स्पष्ट देखियो । हरिया रूख बिरुवा र अलैँची खेतीका बीचमा कतै ढुङ्गा र कतै टिनका छाना भएका घरहरू टिलिक्क टल्कँदै थिए ।

हामी उभिएको ठाउँबाट उत्तर पूर्वतिर कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल, पाथीभरा तीर्थस्थल, ताप्लेजुङ जिल्लाको सदरमुकाम लगायतका मनोरम दृश्यहरू देखिए तर झरी र बादलका कारण हामीले ती सबै दृश्यहरू स्पष्ट रूपमा देख्न र फोटा खिच्न भने पाएनौँ । शिवजीले दायाँ हातको चोरी औँला सोझ्याएर ती ठाउँहरूको परिचय दिँदै थिए । सुनेका तर कहिल्यै नदेखेका दृश्यहरू स्पष्ट रूपमा देख्न नपाउँदा मन खिन्न भयो ।

हामी लामो लामो सास तानेर फोक्सो भर्दै र फोक्सामा भरिएको हावा बाहिर फाल्दै उकालो उक्लिँदै थियौँ । प्रायः शिव पौड्याल आफ्नै धुनमा हुन्थे । अनिल र मेरो हिँडाइ मिल्थ्यो र गफ पनि मिल्थे त्यसैले आपसमा गफिँदै र त्यस स्थानको बारेमा चर्चा गर्दै उकालो उक्लिँदै थियौँ ।

हिँड्दै थियौँ, बाटामा एक जना युवा भेटिए । उनी पनि हामीजस्तै वसन्तपुर हुँदै तराईतिर जान लागेका रहेछन् ।

उनले आफ्नो नाम आइतराज लिम्बू बताए । उनको घर ढुङ्गेसाँघु— ६, हात्तिखावा रहेछ । उमेर, स्थानीयता, निरन्तरको अभ्यास आदि कारणहरूले गर्दा उनी मजासँग हिँड्न सक्थे तर हामी भने तराईको तातो पानीले गलेर ब्वाइलर भैसकेका थियौँ । उनको गतिमा हिँड्न सक्दैनथ्यौँ । उनलाई ‘तिमी हिँड्दै गर हामी बिस्तारै आउँछौँ’ भन्नु सिवाय हामीसँग अर्को उपाय थिएन ।

अघि तीव्र रूपमा उकालो चढ्दै गरेको उनको गति हामीसँग भेट भएपछि बिस्तारै कम हुँदै गयो र हाम्रो गतिसँग मेल खान थाल्यो । हामीले दुईतीनचोटि भन्यौँ, “हामी तपाईँको गतिमा हिँड्न सक्दैनौँ । तपाईँ अघि बढ्नुस् । हामी सँगसँगै हिँड्नुभयो भने तपाईँलाई वसन्तपुर पुग्न गाह्रो हुन्छ ।” तर उनी मुसुक्क हाँसे मात्र केही बोलेनन् र अघि बढ्ने चाला पनि देखाएनन् ।

उकालो चढ्दै थियौँ । उचाइसँगै चिसो पनि बढ्दै थियो । केही समयपछि वर्षा भने रोकियो । हिँड्न अलि सहज भयो । भोक लाग्लाजस्तो भएपछि भुटेका मकै चपाउन थाल्यौँ । हामीले मकै चपाएको देखेपछि आइतराजले मुस्कुराउँदै भने, “मकै चपाउने ठाउँ आएकै छैन । लेक लाग्ने ठाउँ धेरै माथि छ ।”

लेक लाग्ने अनुभव मेरा लागि नौलो थियो । “कस्तो होला यो लेक लाग्ने भनेको ?” मेरा मनमा यस्तै जिज्ञासाहरू सलबलाइरहेका थिए ।

धेरै माथि पुगेपछि ठाडो उकालो अलि कोल्टेपरेजस्तो भयो । बाटा किनारका बस्तीहरू पातला हुँदै गए । वातावरण पनि शान्त र एकान्तमा परिणत भयो । जाडाले हो कि चराचुरुङ्गीहरू पनि खासै देखिएनन् । त्यसबेला मलाई मुनामदनको सम्झना भयो । देवकोटाले लेखेको भोट जाने बाटो पनि यस्तै हुँदो हो भन्ने अनुमान लगाएँ । कतै भोटे दाजुहरू देखिन्छन् कि भनेर नियालेँ पनि तर कतै देखिएनन् ।

बाटाका किनार र पहाडका खोँचमा राम्रा बारी देखिए । बारीको माटो कालो र मलिलो थियो तर खेती चाहिँ राम्रो थिएन । यसबारेमा मैलै आइतराजजीसँग जिज्ञासा राखेँ । “हिउँ परिरहने र धेरै चिसो हुने हुनाले राम्रो खेती हुँदैन । यी बारी हेर्नका मात्रै राम्रा हुन् ।” उनले उत्तर दिए ।

खेती मात्रै होइन, बाटाकिनारका वनबुट्यान पनि त्यति हुर्केका थिएनन् । “मानिसहरूले हुर्कन नदिएर पनि हो । घाँस दाउराका लागि काटिरहन्छन् ।” उनैले भने ।

केही समयपछि हामी अझै सुन्दर ठाउँमा पुग्यौँ । त्यो ठाउँको नाम चापे रहेछ । नजिक बस्ती थिएन । चारैतिर सुनसान थियो । नजिकै चौतारोमा एक हूल चौँरी उभ्याएर दुई जना युवाहरूले चामलका बोरा बोकाउँदै थिए । वसन्तपुरबाट ल्याएका र तल गाउँमा पुऱ्याउने भारी रहेछन् ।

साँझ बास बस्ने ठाउँ रहेछ त्यो । चामल ढुवानी गर्ने भाइहरूले साँझ परेपछि चौँरीका भारी त्यहीँ चौतारोमा राखेर चौँरीलाई जङ्गलमा चर्न पठाउँदा रहेछन् र आफूहरू केही पर रहेको आफ्नो घरमा जाँदा रहेछन् ।

यो तरिका मलाई अनौठो लाग्यो, अनि सोधेँ— “यी चामलका बोरा कसैले लग्दैन ?”

युवाहरू हाँसे मात्र केही बोलेनन् । आइतजीले भने, “कसैले लाँदैन । यहाँ सबैले यस्तै काम गर्छन् । एउटाले अर्काको चोऱ्यो भने व्यवहारै चल्दैन । फेरि चोरेर पनि कहाँ लैजाने ? बाहिरका मान्छेले डरले पनि लाँदैनन् । स्थानीयले लगेको थाहा भइहाल्छ ।”

कस्तो अचम्म !

धेरै माथि पुगेपछि जङ्गल सुरु भयो । अग्ला रूखहरू देखिए । हिँड्दै थियौँ, त्यस्तैमा माथि रूखबाट शिवजीका टाउकामा एउटा जुका खस्यो । तल खुट्टामा लाग्ने जुका हराइसकेका थिए तर माथि रूखबाट खस्ने जुका चाहिँ बाँकी रहेछन् । टाउकामा खसेको जुका आकारमा ठूलो थियो ।

“छाता ओडौँ, सजिलो हुन्छ ।” शिवजीले भने, “छाता ओड्यो भने जुका टाउकामा खस्न पाउँदैन ।”

उत्तरतिर फर्केको भिरालो भूभाग, अनेक जातका वनस्पति, शीतल र स्वच्छ हावापानी । कतै कलकल बग्ने पानीका झर्नाहरू । कतै हरिया घाँसेमैदान त कतै सुन्दर फूल फुलिरहेका दृश्य । त्यो ठाउँ मलाई औधी सुन्दर लाग्यो । ‘यो क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्न सके कति राम्रो हुँदो हो’ मनमा तर्कना आए ।

एउटा ठूलो चौर देखाउँदै शिवजीले भने, “यो गोठ राख्ने ठाउँ हो । म सानो छँदा गाउँबाट बर्सेनी गोठ लिएर आउने चलन थियो । यो पखेराभरि गोठ हुन्थे । दिनभरि गाई चराउने, साँझमा ठुला ठुला मुढा जोरेर आगो बाल्ने, गफगाफ गर्ने, साह्रै रमाइलो हुन्थ्यो ।”

म अचम्म मानेर शिवजीका कुरा सुनिरहेको थिएँ, उनले भने, “म पनि धेरैचोटि आएको छु गोठसँगै । त्यो बेला निकै रमाइलो हुन्थ्यो । अहिले सम्झना मात्रै बाँकी छ । ती दिन सम्झिँदा पनि सपनाजस्तो पो लाग्छ । त्यो बेलाको आनन्द अहिले वर्णन गरेरै साध्यै छैन । यस्तो स्वर्ग छोडेर तराईतिर झरियो । गर्मीले सुकेर मरिन्छ कि जस्तो लाग्छ । अहिले त झन् अनेक प्रकारका हुलदङ्गा गरेर बस्नै नसक्ने बनाएका छन् । राजनीतिका नाममा विकृति मात्रै बढिरहेको छ ।”

लामो सास फेर्दै शिव दाजुले मनको बह पोखे ।

त्यो ठाउँ देख्दा मलाई कुन्ती मुक्तानले गाएको ‘माथि माथि सैलुङ्गेमा चौँरी डुलाउनेलाई’ बोलको गीतको सम्झना भयो । उनले गीतमा बोलेको सैलुङ्ग पनि यस्तै त होला नि मनमनै भनेँ ।

हामी हिँड्दै गरेको बाटाको माथि निकै घना जङ्गल थियो । ठुला रूखमा हरियो झ्याङ जेलिएर बाक्ला कपडा लगाएका मान्छेको जस्तो दृश्य देखिन्थ्यो । धेरैजसो रूखमा अनेक किसिमका सुनाखरी फूल फुलिरहेका थिए । केही समयपछि हामी हिँडेको बाटो त्यहीँ जङ्गलभित्र पस्यो ।

केही समय हिँडेपछि एउटा सानो खोल्सी देखियो । खोल्सीमा सफा पानी बगिरहेको थियो । उकालो हिँड्दा मुख सुकेकाले पानी पिउने इच्छा भयो । खोल्सीतिर जाँदै थिएँ, आइतजीले रोके ।

“यसरी हिँडेको बेला चिसो पानी पिउनु हुँदैन, खुट्टा दुख्छन् ।” आइतजीले अनुभवले खारिएको कुरा गरे । उनको कुरा सुनेपछि मुख मात्रै चिसो बनाएँ, पानी पिइनँ ।

धेरै माथि पुगेपछि अनिलजीले मतिर हेर्दै भने, “भुटेका मकै खाने बेला भएन ?”

म केही बोलिनँ । आइतजीतिर हेरेँ ।

उनले हाँस्दै भने, “लेक लाग्ने ठाउँ कटिसक्यो ।”

“कटिसक्यो ? खै त हामीलाई लेक लागेको ?” अनिलजीले भने । हामी सबै हास्यौँ ।

“कसै कसैलाई कहिलेकाहीँ मात्रै लाग्छ ।” शिवजीले भने । त्यसपछि हामीले मकै खान थाल्यौँ ।

माथि पुगेपछि हामीले आइतराजजीलाई अगाडि बढ्न भन्यौँ ।

उनी हाँसे मात्रै केही बोलेनन् । हामीले धेरै कर गरेपछि उनले भने, “पहिलेजस्तो सहज वातावरण छैन । तपाईँहरू बाहिरका मान्छे, कसैले दुःख दिन सक्छ । यो जङ्गलमा तपाईँहरूलाई एक्लै छोड्दा केही दुर्घटना भयो भने हामी जिल्लावासीकै बदनाम हुन्छ । एकैछिन त हो । यो उकालो कटेपछि अगाडि बढुँला नि ।”

उनको उदारता, सहयोगी भावना र जिल्लाप्रतिको ममता देखेर हामी नतमस्तक भयौँ ।

झ्याउँपोखरी पुग्दा बिहानको १०:१५ बजिसकेको थियो । एउटा सामान्य होटल थियो तर मानिस थिएनन् ।

“अब पन्ध्र/बीस मिनेटमा यो उकालो र जङ्गल सकिन्छ । ऊ त्यहीँसम्म त हो उकालो ।” आइतजीले चोर औलाले दक्षिणतिर देखाउँदै भने । उनको कुरा सुनेपछि ओइलाएको ज्यानमा बिस्तारै स्फूर्ति जाग्दै गयो ।

हिउँले खाएका गुराँसका रूख देखिए । रूखका हाँगा भाँचिएका थिए । पात पनि खासै थिएनन् । वातावरण उराठलाग्दो थियो । त्यसबेला मलाई एउटा गीतको सम्झना भयो— ‘चैतको उराठ मैना, भैँमा पात रूखमा क्यै छैन ।’

आइतजीले भनेजस्तै करिब पन्ध्र मिनट हिँडेपछि उकालो र जङ्गल एकैचोटि सकियो । उकालो सकिएपछि आउने ठाउँको नाम मिल्के रहेछ । सुनेको तर नदेखेको ठाउँ थियो त्यो । त्यो सबै भूभाग समथर थियो । रमाएर चारैतिर हेऱ्यौँ । मन प्रफुल्ल भयो ।

मोटरबाटो पनि खनेका रहेछन्, वसन्तपुरदेखि दोभानसम्म जाने कच्ची मोटरबाटो । बाटो भए पनि गाडी भने थिएनन् ।

समुद्र सहतदेखि करिब ३००० मिटरको उचाइमा रहेको मिल्के पहाड सङ्खुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गमस्थल रहेछ । मिल्के पुगेपछि ताप्लेजुङ जिल्ला समाप्त भयो । दायाँतिर सङ्खुवासभा र वायाँतिर तेह्रथुम जिल्ला हुँदै डाँडैडाँडा दक्षिण–पश्चिमतिर लाग्यौँ ।

त्यो ठाउँमा ठुलो गुफा पनि रहेछ । विगतमा माओवादीहरू त्यसैमा बसेर परेड खेल्थे रे । एक जना स्थानीय व्यक्तिले भने । सुन्यौँ मात्र देखेनौँ । समय अभावले गर्दा त्यो ठाउँमा पुग्ने आँट गरेनौँ ।

मिल्के पुगेपछि आइतराजजीलाई धन्यवादसहित बिदा गऱ्यौँ । मुसुक्क हाँस्दै हामीसँग बिदा भएर उनी अघि बढे ।

भोक लाग्न थालेको थियो तर नजिक खाना खाने ठाउँ कतै थिएन । “थोरै अगाडि गुफापोखरी भन्ने ठाउँ छ । त्यहाँ राम्रो खाना पाइन्छ ।” एक जना बटुवाले जानकारी गराए ।

त्यो ठाउँमा सङ्खुवासभा जिल्लाको तर्फबाट इलाका प्रहरी कार्यालय पनि रहेछ । २७ जना प्रहरीहरूको दरवन्दी रहेको सो स्थानमा त्यो बेला सई मुरली श्रेष्ठको कमानमा नौ जना मात्रै प्रहरी थिए । राम्रो स्वागत गरे । केहीबेर बसेर कुराकानी पनि गऱ्यौँ । कुराकानी गर्नुको पछाडि दुइटा कारण थिए— एउटा थकाइ मार्नु र अर्को त्यस क्षेत्रका बारेमा जानकारी लिनु ।

विगतमा माओवादीहरूले आक्रमण गरेर प्रहरी कार्यालय भत्काइदिएका रहेछन् । केही समय प्रहरी चौकी  हटेको पनि रहेछ । माओवादीहरू शान्ति प्रक्रियामा आएपछि व्यक्तिको घर भाडामा लिएर चौकी स्थापना गरेका रहेछन् । साँगुरो ठाउँमा धेरै प्रहरीहरू निकै दुःखले बसेका थिए ।

त्यो ठाउँमा मोबाइल पनि टिप्दो रहेनछ । “उ…… त्यो थुम्कामा गयो भने टिप्छ ।” एक जना भाइले भने । बन्द भएको मोबाइल खोल्दै प्रहरी भाइले देखाएको थुम्कोतिर गएँ ।

नेपालमा छोटो समयमा विकास भएको क्षेत्र दूरसञ्चार पनि हो । केही वर्ष पहिले फोन सेवा निकै महँगो थियो । राम्रो सुविधा पनि थिएन तर अहिले धनीगरीब, सानाठुला सबैका खल्तीमा मोबाइल फोन छन् । जहाँ मन लाग्यो त्यहीँबाट हेल्लो भन्न पाइन्छ । नेपाल दूरसञ्चार संस्थानको नेटवर्क त्यति भरपर्दो छैन र पो ! नेटवर्क राम्रो भए झन् कति सजिलो हुँदो हो ।

खनाल होटलमा खाना तयार गर्न लगाएर अनिलजी र म नजिकै रहेको गुफापोखरी हेर्न गयौँ । त्यै गुफापोखरीको नामबाट त्यस ठाउँको नाम रहेको रहेछ । बजारको उत्तरपट्टि रहेको पोखरी साहै्र सुन्दर र पोखरीको पानी निकै सफा थियो ।

“यो पोखरीमा पात पतिङ्गर खस्यो भने चराले बाहिर फाल्छन् । पोखरीलाई फोहोर हुन दिँदैनन् ।” एक जना स्थानीयले सुनाए ।

खनाल होटलकी मालिक्नी भण्डारीकी छोरी रहिछिन् । मसँग माइतीको साइनो जोडिन् । छोरीले मामा भन्न थालिन् । दुई दिनपहिले इलाममा जुत्ता किनेको सम्झिएँ । शिवजीकी बहिनी नाता पर्ने साहुनीसँग जुत्ता किन्ने हुँदा ढाड सेकेकी थिइन् । यहाँ पनि त्यस्तै नहोस् भन्ने कुरामा म सतर्क भएँ ।

भोक लागेको थियो, मिठै लाग्यो खाना । हामी तीन भाइमा म मात्रै थिएँ मांसाहारी । मासुमा भने राम्रै ठगिन् भान्जीले । एक प्लेट मासुमा एउटा हड्डी र दुइटा छालामात्रै ! मन अमिलो भयो, मुखले केही भनिनँ ।  खाना खाएपछि बिस्तारै अगाडि बढ्यौँ ।

बाटाका किनारमा गुराँसका बोटहरू देखिन थाले । एउटा बोटमा दुइटा फूल बाँकी रहेछन् । निकैबेर उभिएर हेऱ्यौँ । अरू बोटहरू उराठलाग्दा थिए । अधिकार र स्वतन्त्रताबिनाका जनता र फूलबिनाका गुराँसका रूख उस्तै उस्तै लाग्यो ।

बाटो सजिलो थियो । बाटो हिँड्दा टाढा–टाढाका दृश्य देखिन्थ्ये । त्यहाँबाट हिमालको दृश्य पनि औधी सुन्दर देखिँदो रहेछ तर उत्तरी क्षेत्र बादल र कुहिराले ढपक्कै ढाकेका हुनाले हामीले देख्न पाएनौँ ।

जता हेऱ्यो उतै शान्त, सुन्दर र रमणीय थियो वातावरण । यस ठाउँलाई पर्यटकीय हिसाबले विकास गर्न सके कति राम्रो हुँदो हो । विदेशी पर्यटक ल्याउन सके कति खुसी हुँदा हुन् । मनमा यस्तै भावनाहरू मडारिए ।

यिनै कुरालाई विचार गरेर होला, २०६४ साल वैशाख ९ देखि १३ गतेसम्म यो क्षेत्रमा लालीगुराँस महोत्सव– २०६४ राखिएको रहेछ । नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौँको प्रवर्द्धन र राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति वसन्तपुर, तेह्रथुमको संयोजन तथा लालीगुराँस महोत्सव– २०६४ मूल आयोजक समितिको तत्परतामा भएको उक्त महोत्सवमा थुप्रै मानिसहरू आएको बताए त्यहाँका मानिसहरूले ।

‘बिराटनगर, धरान, धनकुटा, तेह्रथुम, सङ्खुवासभा हुँदै ताप्लेजुङसम्म हेर्न जाऊँ है गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले डाँडैमा’ भन्ने नाराका साथ सञ्चालन भएको उक्त महोत्सवका सम्बन्धमा जारी भएको पर्चा पनि टाँसेका थिए ठाउँ ठाउँमा । पर्चामा गुराँससम्बन्धी थुप्रै जानकारीहरू दिइएको थियो ।

“विश्वका २०० महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमध्ये एक र नेपालका पाँच पर्यटकीय गन्तव्यस्थलमध्ये एक स्थानमा रहेको छ यो क्षेत्र । विश्वमा पाइने ४२ र तीमध्ये नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ भन्दा बढी गुराँस यस क्षेत्रमा पाइन्छन् । यस क्षेत्रमा अनेक प्रजातिका वनस्पति पनि पाइन्छन् । बराह क्षेत्रबाट चीनको तिब्बतसम्म फैलिएको नेपालकै सबैभन्दा लामो पहाडी शृङ्खला पनि हो यो । यो क्षेत्र धनकुटा, तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थल पनि मानिन्छ ।” पर्चामा लेखिएको थियो ।

यस क्षेत्रलाई तिनजुरे, मिल्के, जलजले (त्ःव्) क्षेत्र पनि भनिँदो रहेछ । जैविक विविधता, प्राकृतिक स्रोत, सामाजिक सांस्कृतिक जीविकोपार्जन र सौन्दर्यानुभूतिको खानीका रूपमा पनि हेरिँदो रहेछ । त्ःव् क्षेत्रमा रहेका प्राकृतिक सांस्कृतिक, जैविक, विविधताका साथै त्यस क्षेत्रको पर्यटकीय सम्भावनाको पहिचान तथा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि आधारभूत संरचना विकास गर्न निजी, सरकारी तथा गैरसरकारी क्षेत्रको ध्यानाकर्षण गर्न नै उक्त महोत्सवको आयोजना गरिएको रहेछ ।

हिँड्दा हिँड्दै खुट्टा दुखिरहेका थिए । हिँड्न गाह्रो भइरहेको थियो । तैपनि मन एक मिनट उभिन र बस्न मानिरहेको थिएन । कहिलेकाहीँ त त्यो रमणीय ठाउँमा एक्लै हराउन मन लाग्थ्यो । शिवजी र अनिलजीलाई एक्लै छोडेर अगाडि बढ्थेँ र पर पुगेर त्यहाँको मनोरम दृश्य हेरेर रमाउँथेँ । त्यसबेला त्यहाँ गुराँसका फूल थिएनन्, रूख मात्रै थिए । फूल नभएका बेलामा पनि यति सुन्दर यो ठाउँ गुराँस फुलेर ढकमक्क भएको बेलामा झन् कति सुन्दर देखिँदो हो भन्ने लाग्यो ।

गुफापोखरीबाट हिँडेको केही समयपछि लामपोखरी भन्ने ठाउँ आयो । पोखरी वरिपरि गुराँसका रूख र पक्की पर्खालको बार थियो । गुफापोखरीको जस्तो सफा पानी नभए पनि त्यति फोहर पनि थिएन ।

मिल्केबाट अगाडि लागेपछि कहिलेकाहीँ आइपर्ने ढिस्का र थुम्के उकाला ओराला बाहेक अरू सबै बाटो समथर थियो । धेरै ठाउँमा मोटर बाटो खनिएको थियो भने कतिपय ठाउँमा बाटो खन्न बाँकी नै थियो । ठाउँ ठाउँमा चौँरीहरू देखिन्थे । चौँरीका घाँटीमा झुन्ड्याएको घण्टीको बिरसिलो आवाज टाढैबाट सुनिन्थ्यो ।

“चौँरीको नजिक नजानुहोला है । बदमास हुन्छ, हान्न पनि सक्छ ।” शिवजीले पहिले नै सतर्क गराएका थिए । हातमा बाँसका लौरा त थिए तर लौराको पनि भर लागेको थिएन हामीलाई । तीखा सिङ् भएका चौँरीले हान्यो भने भुँडी छेडिदिन सक्थ्यो । त्यसैले निकै सतर्क भएर हिँडेका थियौँ ।

अघिल्लो दिन परेको पानीले गर्दा कतिपय ठाउँमा हिउँ परेको रहेछ । खोल्साखाल्सीमा परेको हिउँ पग्लिसकेको थिएन । “अचेल वैशाख महिनामा पनि हिउँ !” एक ठाउँमा उभिएर हेर्दै अनिलजीले भने । “हो त नि, कस्तो अचम्म हगि !” मैलै सहमति जनाएँ ।

करिब तीन बजे हामी २६९० मीटर अग्लो श्रीमाने भन्ने ठाउँमा पुग्यौँ । मौसम पूरै सफा भइसकेको थियो । बाटामा धूलो, धुवाँ, हिलो केही पनि थिएन । वातावरण अत्यन्तै सफा थियो । म हिँड्दा हिँड्दै उभिन्थेँ र लामो सास तान्थेँ । त्यहाँको स्वच्छ हावा फोक्सामा गएर भरिदाँ पूरै शरीर प्रफुल्ल हुन्थ्यो ।

श्रीमानेपछिको अर्को बजार मङ्गलबारे रहेछ । दुई चारोटा घर थिए । त्यहाँ पुगेपछि चिया पिउने विचार आयो । एउटा सामान्य होटलभित्र पस्यौँ । चियासँगै सेलरोटी पनि दिइन्, होटलकी दिदीले ।

“हामीले त चिया मात्रै मागेका थियौँ ।” मैले यसो भन्न नभ्याउँदै उनी मुसुक्क हाँसिन् र भनिन्, “यो त छोराको बिहेको प्रसाद हो ।”

अघिल्लो दिन छोराको विवाह भएको रहेछ, त्यसैको भोज रहेछ त्यो । कस्तो सौहाद्रता ! अचम्म लाग्यो हामीलाई ।

हिँड्दा हिँड्दै हामी निकै थाकेका थियौँ । सुगर र प्रेसरका बिरामी अनिलजीलाई झन् गाह्रो भइरहेको थियो । उनलाई खाना पनि त्यति अनुकूल भएको थिएन । लगातारको हिँडाइले उनको शरीर गल्दै गइरहेको थियो । तैपनि बिस्तारै हिँडिरहेका थिए ।

मङ्गलबारे पुग्दासम्म घाम माथि नै थिए । बास बस्ने बेला भइसकेको थिएन । त्यस्तैमा अनिलजीले अगाडि बढ्न गाह्रो भएको भाव व्यक्त गरे ।

“आज यतै बसौँ हुन्न । जसरी पनि आज वसन्तपुर पुगिँदैन क्यारे !”

म केही बोलेको थिइनँ । शिवजीले भने, “दिउँसै छ । अहिले नै बास बसेर के गर्नु ! बिस्तारै हिँडौँ, पल्लो बजारमा बसौँला ।”

शिवजीले यसो भनेपछि अनिलजी बल्ल बल्ल उठे र लौरो टेक्दै हिँड्न थाले । हामी उनको पछि पछि लाग्यौँ ।

दिन डुब्दै गएको भए पनि सन्ध्याकालीन घामका किरण चारैतिर फैलिएका थिए । साह्रै सुन्दर र सफा थियो वातावरण । हरिया मैदानमा सूर्यका सुनौला किरण पर्दा अति सुन्दर देखिन्थ्यो ।

त्यसै बीचमा हामीले दिनभरिको मौसमको मूल्याङ्कन गऱ्यौँ । बिहान वर्षा, त्यसपछि बादल, एकैछिनपछि घाम, हल्का गर्मी, सफा आकाश, सुनौला सूर्यका किरण यस्तै यस्तै  ।

“यदि कसैले तैँ बना आजको दिन भनेको भए पनि हामीले यति राम्रो दिन बनाउन सक्ने थिएनौँ ।” अनिलजीले भने ।

साँझको साढेपाँच बजेतिर हामी चौकी–बजार पुग्यौँ । उत्तर–पश्चिम फर्केको चौकी–बजारमा करिब दुई दर्जन घरहरू थिए । बजारको बीचमा एउटा प्रहरी चौकी पनि थियो । प्रहरी चौकी बसेको भएर नै त्यस ठाउँको नाम चौकी बजार भएको रहेछ । सो स्थानमा प्रहरी चौकीबाहेक एउटा प्राथमिक विद्यालय पनि थियो ।

त्यहाँबाट करिब एक घण्टाको दूरीमा थियो तीनजुरे पहाड । बल गरेर हिँडेका भए हामी त्यहाँ पुग्न सक्थ्यौँ तर अनिलजीले मानेनन् । उनलाई ज्वरो आउलाजस्तै भएको थियो । त्यसैले हामीले कर गरेनौँ । प्रहरी चौकीका अगाडि रहेको छाप्रे होटलभित्र पसेर झोला बिसायौँ । बाहिर सानो टिनको बोर्डमा होटलको नाम लेखिएको थियो— कार्की होटल ।