पुगिएला भनेर कल्पनै नगरेको देश अमेरिका पहिलोपटक पुगियो । अमेरिका पुगेर पनि वासिङ्टन डिसी नपुगी फर्कनु त स्वर्ग पुगेर इन्द्रको दर्शन नगरी फर्केजस्तो हुने भो । “सके जिन्दगीमा एकपटक जुम्ला र वासिङ्टन डिसी पुग्नु ” भन्ने पनि सुनेको थिएँ । त्यही भएर न्युयोर्कको फेरो मारेपछि १९९५ को एप्रिल महिनामा ट्रेन चढेर न्युयोर्कबाट वासिङ्टन डिसी पुगियो ।
आकाश खुल्ला थियो । निलो आकाशको बीचमा सेता बादलका सिधा लामा दुईवटा धर्का देखिएका थिए । फाट्टफुट्ट बादलका टुक्राहरू आकाशमा त्यत्तिकै बरालिई रहेका थिए ।
लर्तरो ठाउँमा पुगिएको होइन । यो दुनियाँमा अमेरिका पुग्न कसको रहर नहोला र ! त्यस्तो देशको राजधानीमा पुग्नु कम चानुचुने कुरा थिएन – एउटा दुर्गम गाउँमा जन्मेको केटाका लागि ।
ट्रेनबाट उत्रिनेबित्तिकै रामधारी यादव र शालिग्राम ढकाल र म सरासर ह्वाइट हाउस लाग्यौँ । राष्ट्रपति विल ल्किन्टन ह्वाइट हाउसबाट निस्कँदै रहेछन् । सडकको दायाँबायाँका बटुवाहरूले हात हल्लाए । हामीले पनि हल्लायौँ ।
ह्वाइट हाउस सर्वसाधारणका लागि हरेक दिन खुल्दो रहेनछ । त्यो दिनचाहिँ खुलेको रहेछ । सर्वसाधारणलाई घुम्न अनुमति दिइएका भागहरू घुमेर निस्कियौँ ।
हरियो चउर हुँदै वासिङ्टन मनुमेन्ट पुगियो । पिसाबले बेस्सरी च्यापेछ । म शौचालय (वासरुम) तिर लागे । मूत्र विर्सजन गरिसकेपछि यन्त्र सञ्चालित मिसिनमा राखिएको झोल साबुन हातमा थापेँ । हातलाई मोलमाल पारेँ । हात फिजै फिज भयो । धाराको पानी खोल्न धाराको टुटीभन्दा माथिल्लो भागमा औंलाले छुएँ । पानी आएन । फेरि टुटीको तल्लो भागमा छुए तर धाराले पत्याएन ।
धारो सेन्सरले चल्ने भन्ने त थाहा थियो तर कसो गर्दा सेन्सरले काम गर्छ भन्ने थाहा भएन । फेरि पटक-पटक कोसिस गरेँ पानी आएन । धाराको टाउको (भल्भ) भएको भए टाउको निमोठ्न हुन्थ्यो तर टाउको थिएन ।
“छेउकै अर्को धारोमा अफ्रिकन मूलको जस्तो देखिने एउटा कालो अग्लो मान्छे हात धुदै थियो । हाँस्यो । लाजले भुतुक्कै भएँ । केही उपाय चलिरहको थिएन । खल्तीको रुमालले हात पुछेर निस्किन पर्यो भनेर यसो पल्याकपुलुक हेरेँ । अर्को धारा प्रयोग गरिरहेको ककेजन मूलको गोरेसँग आँखा जुध्यो । धाराको मुनि र सिङ्कको माथि बीचमा हात राखेर देखायो । मैले पनि त्यसै गरेँ । पानी आयो ।”
धाराको टाउको घुमाएर धारा खोल्ने बानी परेको मान्छे म । पहिलेपनि बैककको डन मुआङ (पुरानो) एअरपोर्टमा टाउको नभएको धारोले मेरै टाउको घुमाई दियो र तुरुन्तै तिर्खा मेटन सकिन । अरूले के गरी पानी पिउँदा रहेछन् भनेर चिह्याउनुबाहेक मसँग उपाय भएन ।
एउटी तरुनी आएर धाराको तल खुट्टाले के टेकेजस्तो गरी र घटघट पानी पिई । मैले पनि उसले जस्तै गरेँ । धारा मुनीको भुईँको जमिनसँगै टाँसिएको एउटा सानो बटम थिचेपछि पानी सरर आउँदो रहेछ ।
वासिङ्टन डिसि पुगुन्जेलसम्म सेन्सरबाट चल्ने थरी-थरीका धारा चलाइसकेको थिएँ । ठुला मल, होटल, एम्पायर, टावर, सियर्स टवारजस्ता अग्ला टावर र सेम्टेम्बर ११ मा ध्वस्त भएको टुइन टावरका धारा र शौचालयसमेत देखिसकेकाले एक किसिमको आत्म विश्वास विकास भैसकेको थियो ।
म जुन गाउँमा जन्मेँ, हुर्केँ त्यहाँ धारा र शौचालय कल्पनाभन्दा बाहिरका कुरा थिए । झन् अमेरिकाजस्तो विकसित एवं सम्पन्न देशको धारा र शौचालय त काठमाडौँमै देख्न मुस्किल थियो मेरा लागि ।
चर्पी, पाइखाना, शौचालय, ल्याटिन, ट्वाइलेट, बाथरुम वा वासरुम जे भने पनि म जन्मेको दावाँ (भोजपुर) मा सानो खोल्सी नै थियो । मान्छेहरू खोलो वा कुलाको पानीले दिसा सफा गर्थे । पानीले सफा गर्दा मलाई सिकसिको लाग्थ्यो । मचाहिँ बनमाराका कलिला पातले सफा गर्थे । मेरा लागि बनमाराका पातहरू थिए – ट्वाइलेट पेपर ।
वि.सं. २०३० सालतिरको कुरा हो । मेरो जेठो दाजु वन कार्यालयको कर्मचारी हुनुहुन्थ्यो । घरमा पानीको धारा ल्याउने हुनुभो तर पूर्वको कर्णाली भनेर चिनिने दुर्गम जिल्लाको एउटा गाउँमा ल्पास्टिक वा फलामको पाइप कसरी पुऱ्याउनु !
आँख्लो खोपेर बाँसको घनालाई पाइप बनाइयो । ठुलो माटाको गाग्रीलाई पानीको मूल भएको ठाउँमा पानी ट्याङ्कीको रूपमा राखियो । त्यही गाग्रीबाट बाँसका पाइप जोडेर घरसम्म धारा आयो । धाराको छेउमै घरको दक्षिणपट्टि धुवाँ जाने चिम्नीसहितको छुट्टै भान्साघर पनि बन्यो ।
घरमा धारा आएसँगै भोगटेको बोटमुनि चित्राले बारेको शौचालय बन्यो । तर हामी पाइखाना भन्थ्यौँ । अलि दिन त त्यो पाइखाना गएँ । पाइखानामुनि बनाइएको खाल्डोमा देखिएका कीरा र त्यहाँबाट आउने गन्धको कारण म दोहोर्यार त्यहाँ कहिल्यै गइनँ ।
भ्याङ्कुभरमा हाइकिङ्ग ट्रेल जाँदा भेटिने शौचालयको सेफ्टी ट्याङ्कीको फोहरमा गुजुङगुजुङ गरेका कीरा देख्दा मेरो जिउ सिरिङ्ग हुन्छ र मन डराउँछ ।
विगत र वर्तमान दुवैमा मान्छेका हैसियतअनुसारका हुने रहेछन् – शौचालय । पहिले राजा महाराजाका लागि विशेष शौचालय बन्थे । सर्वसाधारणका घरमा शौचालय हुँदैन थिए र रूखको फेद नै उनीहरूको शौचालय हुन्थ्यो ।
लगभग पाँच सय वर्षभन्दा अगाडि सर जोन ह्यारिङ टनले सिङ्क र फ्लसिङ्गसहितको पहिलो आधुनिक शौचालय बेलायतको रिचमन्ड प्यालेसमा बनाए । अलेक्जेन्डर कुमिङले पछि त्यसलाई झन् परिष्कृत गरे र उनैले बौद्धिक सम्पत्तिको अधिकार पाए । जसले दुःख गरेर पहिलो फ्लसिङ्ग आविष्कार गऱ्यो, उसले बौद्धिक सम्पत्तिको अधिकार पाएन । यो शौचालयको दुनियाँमा पनि “काम गर्ने कालु मकै खाने भालु” भन्ने लागु हुँदो रहेछ ।
घरभित्र शौचालय बनाउनु अशुभ मानिने भएकाले श्री ३ चन्द्र शमसेरले सिंहदरबारमा शौचालय बनाएनन् । हो कि जस्तो पनि लाग्छ । नत्र जमल कान्तिपथस्थित चारबुर्जा दरबार (बहादुर भवन) मा नेपालको पहिलो आधुनिक शौचालय बनाउने श्री ३ को रोलक्रममा रहेका रुद्र शमसेर किन पाल्पा लखेटिन्थे त ? तर गणतन्त्र आएसँगै राणाहरूले बनाइदिएका दरबार र शौचालयमा नवनेपालको पुराण भट्याएर नथाक्ने नयाँ राजाहरू ढलीमली गर्दै छन् ।
धनी र सम्पन्न देखाउन शौचालयले आजका हरेक मनुवालाई अवसर दिएको छ । घर किन्दा वा बनाउँदा कति ऋण र मोरगेज छ ? कसले सोधी राख्छ । गोपनीयताको हक भएको जमानामा निजी कुरा सोध्न फेरि कसको हिम्मत ! तर घरमा आएका जसले पनि शौचालय सोध्छन् । अरूको त के कुरा, सम्धी सम्धिनी आए पनि सोध्ने थोरै प्रश्नमध्ये एक हो – “वासरुम कता होला हजुर ।” जुइनु खुस्केका मान्छेको झन् के कुरा !
शौचालय मान्छेको जीवनको पाटो पनि हो । हरेक दिनको सुरु र अन्त्य शौचालयबाटै हुन्छ । हात मुख धुने, दाँत ब्रस गर्ने, नुहाउने, कपाल मिलाउने, सिँगारपटार गर्ने शौचालयमै हो ।
मलमूत्रमात्र होइन तनाव र पीडा बिर्सन गर्ने ठाउँ पनि हो शौचालय । यहाँ मान्छे एक्लै रुन, कराउन र लाज नमानी निर्वस्त्र बस्न सक्छ । प्रेयसी र प्रियतमाको कल्पनामा डुब्नेका लागि झन् प्रिय ठाउँ हो यो । जवानी छँदा नुहाउँदै प्रेयसीलाई नसम्झने को होला र ! कि त मौका नपाएका साधु र साधिका हुन पऱ्यो ।
नयाँ दिल्लीस्थित ताज होटलको वासरुम देख्दा मेरो मन प्रसन्न भएको थियो । हुन त राम्रो चिज देख्दा कसको मन प्रसन्न नहोला । सन् २००८ मा मुम्बईको ताज होटलमा आक्रमण भएको तीन वर्षपछि एसियाली विकास बैङ्कले अध्ययन भ्रमणको नाममा दश दिनको त्यहाँ बास जुराइदिएको थियो ।
हरेकलाई एक एक कोठाको व्यवस्था थियो । वासरुम र कोठालाई पारदर्शी सिसाले बारिएको थियो । झट्ट हेर्दा वासरुम र कोठा एउटैजस्तो देखिन्थ्यो । वासरुम निकै आकर्षक र उज्यालो थियो । सोचेँ – “विवाह गर्नेबित्तिकै मेरी लजालु स्वाभवकी सखीलाई लिएर हनिमुन मनाउन यहाँ आउन पाएको भए ……!”
ताज होटललाई हनिमुन होटलपनि भनिन्छ भनेर भ्रमण टोलीका एकजनाले सुनाए । त्यहाको वाथरुम र कोठाको ढाँचा हेर्दा होइनजस्तो पनि लागेन । पाहुनहरूमा नवविवाहित जोडीको उल्लेख्य सङ्ख्या देख्दा “हो हो” जस्तो पनि लाग्यो ।
कति मान्छेलाई महत्त्वपूर्ण विचार र साहित्य शौचालयमा फुर्ने रहेछ । नफुरोस् पनि किन? एकान्तमा कसैको डर र त्रासविहीन भएर बस्नुको अर्कै मजा । झन् त्यो एकान्तमा पेटको खराब विकार र वायु फाल्दा आनन्द अनुभूति कसलाई नहुँदो हो? आखिर आनन्दको अनुभूतिमा फुर्ने हो नि – उत्तम सोच र विचार । गुगल भाइले भनेअनुसार सावरमा हुँदा ७२ प्रतिशत मान्छेमा नयाँ सोच र विचार आउँछन् रे ।
नयाँ विचारचाहिँ होइन, सावरमा पहिलोपटक नुहाउँदा विशेष आनन्दानुभूति भएको थियो मलाई पनि । २०४६ वैशाखको गर्मी महिनामा पूर्वाञ्चल प्राविधिक शिक्षालय (हाल पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस) को लेखा अधिकृतको आवासमा फुर्ररर…सररर गर्दै आएको पानीको सावर लिँदा “अहो जागिर त गजब ठाउँमा खान आइएछ” भन्ने लागेको थियो । नेपाल राष्ट्र बैङ्कको जागिर छोड्दा पोलेको मन एकाएक शीतल भएको थियो ।
शौचालय महात्म्य सुन्दै गर्दा दिक्क लागेको होला तर दिक्क नमान्नुहोस् । विश्वमा शान्ति र स्थायित्व ल्याउने पनि शौचालय नै रहेछ । रुजवेल्ट र चर्चिलले संयुक्त राष्ट्रसङ्घको न्वारान ह्वाइट हाउसको शौचालयमा गरेका रहेछन् । नपत्याए रुजवेल्टकी विश्वासिली डजी सक्लीको डायरी पल्टाएर हेरे भैहाल्छ । दोस्रो विश्व युद्धका नायकहरूले न्वारान गरेपछि शौचालयमा जन्मिए पनि संयुक्त राष्ट्रसङ्घ कसैलाई अछुत भएन । लेखानाथ पौड्यालले त्यसै लेखका होइनन् :
बडाले जो गऱ्यो काम हुन्छ त्यो सर्वसम्मत
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।
मान्छेले दुई चार दिन भोकै बसेर मुख रोक्न सक्छ तर मलमूत्रले आपत् परेका बेला दुई चार घण्टा त के एक घण्टा पनि रोकेर बस्न सक्दैन जुन म आफैँले भोगेको छु ।
वि.सं. २०४१ मा दाजु चण्डीसँग डिल्लीबजारको डेरामा बसेर क्षेत्रपाटी पकनाजोलको पिपल्स क्याम्पस पढ्थे । जम्मा दुईवटा शौचालय भएको घरमा आठ दश परिवारका पच्चीस तीस जना बस्थे । बिहान पालो कुर्दैमा हैरानी हुन्थ्यो । दाँत माझ्दै एकजना धारामा मुख धुन आउँथे र शौचालय अगाडि लाम लागेका मान्छेलाई जिस्क्याउँथे – “अरू आंची गरेरे खान्छन्, म चाहिँ खाएर आंची गर्छु ।” बिचरा बिहान भात नबजाएसम्म मल विर्सजन नहुने पेटका पीडित रहेछन् ।
एक दिन बिहान शौचालय जानका लागि निकैबेर कुरे तर पालो आउने छाँट देखिएन । बिहान छ बजे क्याम्पस पुग्न हतारो थियो । पालो कुर्नुभन्दा रत्नपार्कको सार्वजनिक शौचालयमा जान छिटो होलाजस्तो लाग्यो र हिडेँ ।
कतिखेर रत्नपार्क पुगुँला भन्ने भएको थियो । टुकुचा पुगेपछि पेटको बाँध फुटलाजस्तो भो । पद्म कन्या क्याम्पसका झुन्ड झुन्ड केटीहरू आइरहेका थिए । “मर्ता त क्या नही कर्ता” भएकाले पुलबाट टुकुचा खोलातिर हेरेँ । जान त गएँ पनि बस्न सकिने अवस्था देखिनँ ।
पहिलो साडीमा सज्जिएर हिडेका पद्म क्याम्पसका तरुनी केटीहरू मेरा लागि स्वर्गका परीजस्ता लाग्थे । आङ खोलेको चोली लगाएका केटीहरूका बारुले कम्मर, गोरा पिठ्यू र पुष्ट छाती हेर्दै हिँड्थे । मनमनै कल्पनामा डुब्थे –“कतै एकान्तमा लुटपुटिएर यिनीहरूसँग हराउन पाए कस्तो हुन्थ्यो होला जिन्दगी !” अरूबेला त्यसरी कल्पनामा डुब्ने मान्छेले पेटमा सुनामी चलेकाले एक नजरपनि लायो कि लाएन, थाहै भएन ।
जसोतसो रत्नपार्क पुगेँ तर महिला र पुरुष लेखेका दुवै शौचालयमा यत्रो भोट ताल्चा झुन्ड्याइएको रहेछ । अब परेन फसाद !
देहातमा घुम्टो वा फेटाले अनुहार छोपेर बाहिरै शौच गरेको देखेको थिए । आखिर लाज आँखालाई हुने रहेछ । कि रत्नपार्कबाहिर आँखा छोपेर शौच गरूँ कि जस्तो पनि लागेको थियो तर आँट आएन ।
असन पुगेपछि मलाई साहै गाह्रो भयो । कतै कसैको घरमा शौचालय छ कि भनेर हेरेँ तर कहीँ देखिनँ । कुनै कुनै घरका ढोकाहरू खुल्लै थिए । एउटा घरमा चाहिँ भित्र पसूँ कि जस्तो लागेर हेर्दै थिए । त्यतिकैमा “बिना भि” (माफ गर है) भन्दै माथिबाट फालेको पिसाब झन्डै जिउमै पऱ्यो । अब “खुँ वल खुँ वल” (चोर आयो चोर आयो) भन्दै फेरि बेस्मारी धुल्याउलान् भन्ठाने । नपसी बाटो लागेँ ।
क्षेत्रपाटी चोक पुग्दासम्म पेटले बाँधलाई लगभग तहसनहस बनाउन लागि सकेको थियो । त्यसको सङ्केत कट्टुले पाइसकेको थियो । क्षेत्रपाटी चोकबाट पक्नाजोलसम्म जसोतसो पुगेँ । क्याम्पसको गेट पुग्दा नपुग्दै बाँध पूरै फुट्यो ।
काठमाडौँ खाल्डामा सार्वजनिक शौचालयको अभाव मैले पछिसम्म भोगे । बानेश्वर क्याम्पसबाट पढाएर फर्कँदै गर्दा बानेश्वर खरीको बोटनिर शैलेन्द्र साकारको घर नजिकै पुगेको थिएँ । मलमूत्रले दुःख दिने सङ्केत गऱ्यो । उनी अमेरिका गएका छन् भन्ने थाहा थियो तर पनि पसेँ ।
सोधे – “शैलेन्द्र दाइ हुनुहुन्छ ।”
“अमेरिका जानुभाको छ” घरका मान्छेले भने ।
“ए ! दाइलाई भेटूँ भनेर पसेको थिएँ । दाइ त अमेरिका जानुभा रछ । थाहै थिएन ।” भनेँ ।
आउनुस् पनि नभनी भित्र पसेर सोधे “बरु ट्वाइलेट कता होला ।”
धर्तीमा भएका बेला शौचालयको अभाव र धारा चलाउन नजानेको पीडा के ठुलो भयो र ! आकाशमा भएका बेला शौचालयको कमोडले उडाएको सातो कम डर लाग्दो थिएन मेरा लागि ।
पहिलो विदेश यात्राका रूपमा फिलिपिन्स जाने क्रममा काठमाडौँबाट बैङ्कक जाने जेट विमान चढेँ । जेट लगभग ३५ हजार फिटको उचाइमा उडिरहेको थियो । शौच कर्म सकेपछि कमोडबाट यसो उठेको मात्र थिए – “स्वाट्ट” गर्दै एक स्वासको आवाज आयो । सातो उडो । फेरि त्यतिबेलै हावाले जेट अलि हल्लाइरहेको थियो । “ला के भएछ, अब जेटमा भइयो चेट” जस्तो लाग्यो र हंसले ठाउँपनि छोड्यो । क्षणमै “हर्रर … स्वार्रर…” आवाज आउन थाल्यो । पछाडि फर्केर हेरेको त कमोडको मलमूत्र कता हराएछ कता । कमोडमा बस्नु अगाडि जस्तै फेरि सफा पानीको सतह देखिएयो । मान्छे कमोडबाट उठेको सेन्सरले थाहा पाएर स्वचालित रूपमा आफैँ फ्लस गर्दो रहेछ । जो मान्छेले जीवनमा कहिल्यै सेन्सरले फ्लस गर्ने कमोड न देखेको होस् न भोगेको होस !
आक्कल-झुक्कल विदेश जाँदा धारा र कमोड चलाउन नजानेको अनुभव त रमाइलै हो तर शौचलायको अभावमा काठमाडौँमा मैले जुन पीडा भोगेँ, सायद त्यस्तो पीडा धेरैले भोगेका होलान् । केटा मान्छे भएकाले मल बिसर्जनमा कठिनाइ भोगे पनि मूत्र बिसर्जनमा त्यति कठनाइ भोग्न परेन । पर्खालको भित्तो र रूखको फेद काफी भइहाल्थ्यो । पछि सखी आएपछि मात्र महसुस भयो कि महिलाहरूले मलमात्र होइन, मूत्र बिसर्जनन गर्न पनि बहुत कठिनाइ भोग्नुपर्दो रहेछ । उनीहरूलाई पर्खालको कुनो र रूखको फेदले मात्र सुरक्षा अनुभूति नहुने रहेछ । लज्जाको कुरा त छँदै छ ।
सार्वजनिक शौचालयको अभावमा मलमूत्र बिसर्जन गर्न नपाएको पीडाबाट म र मेरी सखीजस्ता सर्वसाधारण सबै महिला पुरुषले कहिले मुक्ति पाउने दिन आउला ! त्यसैको प्रतीक्षामा यो इति श्रीस्कन्द पुराणे धारा तथा शौचालय महात्म्ये समाप्तम् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।