पदयात्रा आफैँमा एउटा ध्यान हो, समाधि हो । हरेक साल हाम्रो सानो समूह कतै जान्थ्यो तर हठात् आएको कोभिडको महामारीले सारा योजनाहरू तुहाइदिएको थियो । २०७६ मा सिन्धुपाल्चोकको पाँचपोखरी गयौँ हामी । २०७७ भने बित्नै लाग्यो, कतैको पनि योजना पारित भएन । विशेष गरी यही कोभिडको आतङ्कले ।
अलिकति महामारी मत्थर भएको मौका पारेर गोसाईँकुण्ड जाने द्रुत योजना बनाएँ । उही समूहका साथीहरूसँग पहल गरेँ तर विविध कारणले सबै जुट्न सकिएन । मलाई भने काठमाडौँ जानु नै थियो । नेपालय पब्लिकेसनमा सानो काम थियो । यिनै दुई संयोगलाई जुराएर चैत्र २७ गते धरानबाट काठमाडौँ पुगेँ ।
यात्राको सुरुवात बिन्दु माछापोखरी भन्ने थाहा थियो तर गोङ्गबु बसपार्कमा यताउता चाहार्दा पनि खास ठाउँ भेटिनँ । थाहै नहुनेहरूले पनि विश्वस्त भएर “ऊ त्यहाँ हो” भन्दै तीन ठाउँ गलत देखाइदिए मलाई । चौथोले भने सही ठाउँ देखाएछ धन्य । एकल यात्राको पहिलो मजा त यही थियो ।
फेरि त्यहाँ तीन जनाले तीनतिरबाट तान्न थाले मलाई । कोरोनाकालमा खै त भौतिक दूरी ? तानातान पो छ । म एक जना चैँ कोसँग पो जाने?
यात्राका लागि पैसो निकाल्नुपर्ने भएकाले मैले ढिलो जाने बस रोजेँ । बसको टिकट काटियो, एटिएमबाट पैसो निकालियो, खाजा खाइयो । साँढे सात भनिएको बस लगभग सवा आठतिर निस्क्यो । अगाडिको सिटमा थिएँ । सिटको छेवैमा एकजना पचासी वर्षीय ब्लोन अङ्कल भेटिए । उनको शारीरिक अवस्था भने पचासी भन्नलायक थिएनन् । एकदम खाइलाग्दा । तुरुन्त परिचय भयो । रोगको नाममा उच्च रक्तचापको मात्रै दबाइ खाँदै रहेछन् । हेर्दै निरोगी थिए उनी । उनको घर स्याप्रुबेसीसम्म जाने बस यही थियो । उनी राजनैतिक व्यक्तित्व पनि रहेछन् । उहिले सूर्यबहादुर थापाको पञ्चायती कालमा पूर्वतिर कुनै सम्मेलनका लागि गएको पनि बताए । केही क्षणमै हामी भलाकुसारीमा अभ्यस्त भयौँ र उनी मेरो पथप्रदर्शकझैँ भइहाले ।
“अब त तपाईँ आएकै बाटो फर्कनुपर्छ ।” उनले भने । हुन पनि बस काठमाडौँबाट उत्तर लाग्नुको सट्टा क्रमशः उही कलङ्की, उही थानकोट हुँदै नौबिसेतिर लाग्दै थियो । बाटैभरि हामीबिच अन्तरङ्ग कुराकानी हुन थाल्यो । नागढुङ्गाको निर्माणाधीन सुरुङ मार्ग देखाएर उनले विकासप्रति गौरव गरे । मैले झ्यालबाटै मुस्किलले हेरेँ । धादिङको सिग्रेखोला पुगेर हामी चढेको पर्यटक बस रोकियो खाजाका लागि ।
धादिङको गल्छी भन्ने ठाउँबाट बाटो छुटिने रहेछ । त्यहाँबाट झन् राम्रो बाटो पक्रिएर तेज गतिमा गाडी गुड्यो । केही स्थानमा भने बाटो भत्किएर उबडखाबड भएको थियो । केही सानो खोल्साजस्तो नदी देखाएर ब्लोन अङ्कलले भने, “यो चाहिँ ठ्याक्कै गोसाईँकुण्डबाटै उत्पन्न भइआएको नदी हो है ।”
यसरी केही दूरी पार गरेर हामी नुवाकोटको ढुङ्गेमा पुग्यौँ र खाना खानका लागि उत्रियौँ । एघार बजेको थियो ।
यति नै बेला दुई अरू किशोरीहरू पनि थपिए उनलाई ‘आस्याङ’ भन्दै नमस्कार गरे । उनीहरू तामाङ भाषामा बोलिरहेका थिए । उनीहरूले अलि परको होटलतिर मलाई पनि लगे । चारजना खानाको लागि बस्यौँ । साहुजी पनि तामाङ नै थिए । साँच्चै भान्छा स्वादिलो भयो । सबैजनाको खानाको रु. एक हजार मैले नै तिरिदिएँ । उनीहरू अप्ठेरो मान्दै थिए तर मलाई ती वृद्धलाई खुवाउन पाउँदा अपार खुसी आयो ।
ब्लोन अङ्कलले गाडी चढेपछि पनि गुनासो गरे, “तपाईँ त पाहुना पो त । तपाईँलाई हामीले खुवाउनुपर्ने हो ।”
उनले ‘तपाईँ’ भन्दा पनि मलाई अप्ठेरो लागिरहेको थियो । उनको भाइको लज रहेछ चन्दनबारीमा । अब उनले मलाई धुन्चेबाट जसरी नि चन्दनबारी पुग्न भनेर सम्झाउन थाले । त्यहाँबाट त बिहान तीन घण्टामै गोसाईँकुण्ड पुगिने बताए । यति छिटो त के पुगिँदो हो र भन्ने लाग्यो । उनले जवान देखेर मलाई उक्साएका थिए ।
कालिकास्थान पुगेर बसले अनावश्यक रोकावट लियो । यत्तिकै रोकेर बस्दिएपछि के गर्ने? यसै घुम्दै बसियो । फेरि राम्चे नजिक बाटामा सुख्खा पहिरो खसेको हो कि बाटोसको विस्तार हो फेरि रोकावट आयो । एउटा डोजरले त्यहाँको ढुङ्गामाटो पन्छाइरहेको थियो । धुन्चे पुग्ने बेलामा अङ्कलका भाइसँग धेरैचोटि फोनसम्पर्क प्रयास गरे उनले, तर लागेन । यसैले चन्दनबारी पुग्नुपर्ने नैतिक बाध्यताबाट म मुक्त भएँ ।
दिनको २:५५ भएको थियो । अब म निस्कनुथियो । ब्लोन अङ्कल भने त्यसैमा स्याप्रुबेसी जाने भएकाले बिदा मागेर म छुट्टिएँ । एउटा जानकारीमूलक नक्सा देखेँ । त्यसको तस्बिर खिचेँ । “तिमी यहाँ छौ” भनेर शिव मन्दिर धुन्चे लेखिएको थियो, यसको उचाइ समुद्र सतहदेखि २००० मिटर । त्यहाँबाट १ घण्टामा घट्टेखोला (उ. १९६०मिटर), त्यसको २ घण्टामा देउराली (उ. २५००मिटर), अनि डेढ घण्टामा धिम्सा (उ. २९००मिटर) र त्यसको डेढ घण्टामा सिङ गुम्बा अथवा चन्दनबारी (उ. ३२५०मिटर) पुगिने उल्लेख थियो ।
अलिक पर दुइटा उस्तै बाटा देखिए । एउटा उकालो र अनि अर्को तेर्सो । पहाड चढ्ने मान्छे ओरालो कता लाग्नु भनेर उकालो रोजेको त गलत बाटो पो हिँडिएछ । ‘पहिलो गाँसमै ढुङ्गा’ भनेको यही हो सायद । समय नाश भयो । गत सालदेखि लेख्न थालेको उपन्यासको पाण्डुलिपि प्रिन्ट गरेर बोकेको थिएँ । ‘अब धुन्चेमै दुई दिन बसेर यसमा सम्पादन, पुनर्लेखन गर्छु’ भन्ने मन बनाएँ । आखिर म धार्मिक मान्छे पनि त होइन जसले गोसाईँकुण्डको तीर्थयात्रा भाकल गरेको होस् ।
यस्तै सोच्तै फर्किएँ तर हुलका हुल यात्रीहरू बाटाभरि थिए । मैले पछ्याएँ । यो भने सही बाटो थियो । हिँड्दै गर्दा हुरुरु बच्चाहरू आए । सबैका हातमा लौरो थियो । उनीहरू लौरो बेच्न आएका थिए । मलाई पनि लौरो किन्नु थियो । लौरो-व्यापारी तामाङ केटाहरू भएकाले मैले जानेका तामाङ भाषाका केही शब्दहरू बोलेँ । उनीहरू के के जाति भन्न थाले । पक्कै छाडा गालीहरू गरे होलान् । बिस रुपियाँको लौरो किनेँ । होचो मान्छेलाई अलिक लामो लौरो परेछ ।
अरू बच्चाहरू चैँ चकलेट खाने पैसा माग्न थाले । मसँग खुद्रा जति थियो सबै दिएँ । एउटा बच्चोलाई दश दिएर अर्की बच्चीसँग “बाँड्नू” भनेँ तर ती बच्ची गुनासो गर्दै थिइन्, “यसले बाँड्दैन अङ्कल । मलाई पनि दिनू न ।”
अब मसँग हजारका नोटहरू थिए । त्यत्रो त दिन सक्तिनथेँ ।
घट्टेखोलासम्म जाने बाटालाई कङ्क्रिट बनाउँदै थिए केही ज्यामीहरू । यस्तो कङ्क्रिटमा हिँड्न मजा आउँदैन । बरु माटो-ढुङ्गाकै छोडिदिएको भए हुने । अलिक पर कम्मरमा खुकुरी भिरेका एकजना ज्यामीसँग लौरो मिलाउन लगाएँ । अब यो छरितो भयो । पदयात्राको सहारा लौरो नै हो । स्थानीय बच्चाहरूले बनाएको लौरो अझ काइदाको थियो ।
हिँड्दाहिँड्दै म अन्य यात्रीहरूभन्दा अघिअघि हुँदै घट्टेखोला पुगेँ । भिडियो बनाउँदै तरेँ । एकल यात्रामा फोटो-भिडियो खिच्न चाहिँ गाह्रो हुने । समूहमा जाँदा पोज दिए पुगिहाल्थ्यो । त्यसो त म फोटोको सौखिन मान्छे हुँदै होइन अथवा आजभोलि छुइन ।
खोला तरेपछिको उकालो बाटैभरि पदयात्रीहरू थिए । चर्को घाम, उकालो बाटो र गह्रौँ झोलाले गर्दा हैरान भएर हिँडिरहेका । मास्तिर सानो चौतारो आयो । त्यहाँ तीन जना यात्रुहरू थिए । लाग्यो, यिनीहरू चैँ अनुभवी पदयात्री हुन् । अङ्ग्रेजी गीत बजाउँदै उनीहरू त्यहाँबाट हिँडिहाले ।
जङ्गलको बिचमा बाटाको यता र उता कोही पनि थिएन । बाटैमा मुतिदिएँ । हुन त ‘बाटोमा मुत्यो भने धुवाँले खेद्छ’ भन्ने उक्ति सुनेको थिएँ तर धुवाँले खेदेरै त सहरहरूबाट जङ्गलहरूतिर हिँडिदै थियो । देश वायुप्रदूषणमा विश्वमै पहिलो नम्बरमा आइरहेको खबर थियो । बाटामा एक्लै हिँड्नुको मजा यस्तै नै हुन्छ ।
सल्लाहरूको चिसो सिरेटोले उकालो अलि सहज पारेको थियो । केहीबेरमा अघिका अनुभवी तीन युवा भेटिए । सानो पसलमा उनीहरू ‘शिवजीको प्रसाद’ माग्दै थिए । उनीहरूसँग छोटो कुरा भयो । उनीहरू पनि हत्तु भएका थिए । मैले कोक र केही चकलेट किनेँ ।
उकालो सकिएपछिको अलिक तेर्पाया बाटामा एक हूल यात्रीहरू थिए । म उनीहरूभन्दा अघि लागेँ । ठाडो उकालोमा लुसुलुसु हिँड्दै गरेका धनुषाका यात्री भेटिए । मैले केहीबेर उनीसँग गफ गर्दै हिँडेँ । उनको त्यो समूह ६ जनाको रहेछ । उनीहरू धुन्चेबाट एक बजे नै हिँडेका रहेछन् । देउरालीमै बस्ने खालको योजना सुनाए ।
अन्ततः म सबभन्दा अगाडि भएँ । प्रतिस्पर्धा गरेको त होइन तर त्यस्तै भयो भनूँ न । देउराली पुग्दा सवा पाँच भएको थियो । त्यहाँ पानी पिएँ ।
यहाँभन्दा अघि पातलो पातलो जङ्गल तर एकदमै अग्ला रुखहरू भएको रमाइलो ठाडो उकालो बाटो थियो । भुईँमा झरेका पातहरूमा सुमुसुमु हिँड्दै, गोधूलि साँझको मजा लिँदै, पहाडहरू हेर्दै त्यो बाटो पार गरियो ।
धिम्साको पहिलो लज पुग्दा ठीक ६ बजेको थियो । हिँडाइको चरम मजा आइसकेको थियो । साँझ पनि परिसकेको थियो । कोठा निधो गरेर लुगा फेरेर म भान्छाकोठातिर पसेँ । त्यहाँ तान्दुर वरिपरि दुईजना विदेशी रहेछन् । खासमा विजेता त यिनीहरू पो रहेछन् । सबैलाई उछिनी आएर बसिसकेका रहेछन् ।
मैले सोझै सोधेँ, “फ्रेन्च?”
तिनीहरू बोलेकोबाट बाठो भई टोपलेर सोधेको त, हो पो रहेछ । तिनीहरू यस्तो महामारीको बेला पनि नेपालको पर्यटन धान्न आएको भनेर मैले जिस्काएँ तर उनीहरू यतैका कर्मचारी हुन् रे कुनै संस्थाका । पर्यटकै चाहिँ होइनन् रे ।
एकछिनमा हल्का दाह्री पालेको उनीहरूको पथप्रदर्शक आए । उनीसँग गफ गरीसाध्य भएन । यस्ता पदयात्रा त कति हो कति । कुदेको कुद्यै रे । अन्नपूर्ण ५०-५२ पटक, सगरमाथा आधार शिविर नै ६०-७२ पटक ।
एकैछिनमा अरू यात्रुहरू थपिएर त्यो लज खचाखच भइहाल्यो । खाना खाने क्रममा गफहरू व्यापक भए । मैले अनुभवी मानिएका तीनजना खासै पोख्त पदयात्री होइनन् रहेछ तर उनीहरूको गफ सुन्न मजा आयो । एकजना थिए, जापान बसेर मस्त कमाएको रे तर फर्कँदा चाहिँ यताबाट हवाइ भाडा पठाउनुपरेको रे । अर्को अष्ट्रेलिया बसी आएको । उस्तै कहानी । अरू युवा र युवतीहरू पनि थपिए । निसङ्कोच कुराहरू गर्न थाले । बाउको रेडलेबल लुकेर खाने, अनि बोतलमा पानी हालेर टक्कसँग लेभल मिलाएर राखिदिने कहानी सुनायो कसैले । रक्सी पिएर घर आउँदा ढोका नखुलेपछि बाहिरै सुत्नुपरेको कथा सुनायो अर्काले । सबैका रमाइला कहानीहरू सुन्न पाइयो ।
मैले दुरुस्तै सम्झिएको गफको एक अंश-
“हाम्रो बाउले हामीलाई गाली गरे, हाम्ले हाम्रो छोरालाई गाली गर्छौं । सिकाउनै पर्दैन के । कुट्ने, गाली गर्ने हाम्रो हेरिडिटीमै छ के ।”
अर्कोको भनाइ, “विदेशामा बच्चा कुट्यो भने फोन गरेर आमाबाउ जेलामा बच्चा, केयर वालामा ।”
फेरि अर्कोको भनाइ, “फेरि ऐलेसम्म बाउले बना’को घरमै बसिराछौँ, बाउले ल्याइदियो भने खाने, नभए भोकै ।”
“अरू के कुरा? यही गोसाईँकुण्ड जान नि बाउसँग पैसा माग्नु परिरा’छ ।” भनेर अर्कोले हँसायो ।
आत्मीयता बनिसकेपछि म सुत्नेकोठा पसेँ । झाँक्रीहरू पात्र भएको पाण्डुलिपिको खेस्रामाथि केहीबेर केरमेट गरेँ, केही कुरा थपेँ केही घटाएँ अनि सुतें ।
बिहान सबेरै उठेर बाहिरको चिसोमा निस्किएँ । सेता र गुलाबी रङका गुराँसहरू नजिकै थिएँ । केही तस्बिर लिएँ । ब्रस गरेँ, मुख खोकल्दा चिसो पानीले सिरिङ्गै बनायो । साहुले ‘सबेरै उठ्छु’ भने पनि धेरैबेर ढोका खोलेनन् ।
बल्लतल्ल उनी उठेपछि चारवटा बिस्कुट किनेँ अनि एउटा खाएँ चियासँग । अनि ठिक ६ बजे उकाल्लिएँ । रुखैरुखहरूबिचको यो पनि रमाइलो बाटो थियो । एउटा रुखको आडमा मोबाइल अड्याएर आफ्नै तस्बिर लिएँ ।
चन्दनबारी पुग्दा चालिस मिनेट लागेछ । एउटा चीज कारखाना, बाटैमा सिंह गुम्बा नामको सुन्दर गुम्बा अनि धेरैवटा लजहरू भएको बस्नुपर्ने त यहाँ पो रहेछ त । ब्लोन अङ्कलले त सुझाएकै हुन् ।
एकछिन बिसाएर अग्ला सुरिला रुखहरूको बिचबाट पहाडी धरातलका रमाइला दृश्यहरू चियाउँदै मट्यौलो बाटामा सुस्त गतिमा हिँडिरहेँ । दुई घण्टाभन्दा अलिकति बेसी समय लाएर चौलाङपाटी (उचाइ ३५५० मिटर) पुगेँ । यहाँ मलाई खाजा खानुथियो ।
यहाँ चारजना पदयात्रीहरू थिए (तीन केटा र एक केटी) । खासमा सबैलाई जित्ने चैँ यिनीहरू रहेछन् । अघिल्लो राति आठ बजे त्यहाँ आएर बसेका । उनीहरू आरामले लाङटाङ हिमालसहितका हिमशिखरहरूको मजाको पङ्क्तिको दृश्यावलोकन गरिरहेका थिए । एकदमै सपाट र मनै लोभ्याउने दृश्य थियो यो । त्यसमाथि खुला आकाश । सूर्यप्रकाशमा झन् मनमोहक देखिएका टाकुराहरू ।
म आधा घण्टा बसेँ र साह्रै स्वादिलो लसुनमिश्रित चाउचाउ खाएँ टिम्मुर हालेर ।
अब रुखहरूको उचाइ ह्वात्तै घटेको पाएँ । पोथ्रापोथ्रीहरूमात्रै थिए । गुराँस, धूपी अनि काँडेदार झाडीहरू । भुईँफूलहरू । नाङ्गा डाँडाहरू देखिन थाले ।
ती चारजनाले फटाफट हिँडेर मलाई उछिने । केहीबेरमै उनीहरू मास्तिरको डाँडाको घर पुगेको देखेँ । त्यो थियो लौरीबिना (उ. ३९०० मिटर) ।
केहीबेर यहाँ पनि बसेँ । दृश्यहरूको मजा लिएँ । माथि डाँडाको टुप्पामा गुम्बा देखिन थाल्यो । नाम बौद्ध विहार र समुद्र सतहदेखिको उचाइ ४१५०मिटर । त्यहाँ पुग्न डाँडाको धारैधार हिँड्नुपर्ने भएकाले उत्पातै हावा चल्ने । सोचेँ, झोला नबोकेको भए मलाई उडाउँथ्यो होला हावाले ।
बौद्ध विहारमा दुईजना बिसाइरहेका थिए । एक युवा अर्का अलि पाका । दुवै कृषिसम्बन्धी कुनै विज्ञ थिए । भ्रमणका सौखिन रहेछन् । युवाचाहिँले शेफोक्सुण्डो भ्रमणको पूरा वर्णन सुनाए । सँगै हिँड्न थालियो अब ।
बाटो तेर्पाया तेर्पाया थियो । उकालो थिएन । बाटाको एकातिर सेनाद्वारा निर्मित फलामे बार लगाएर सुरक्षित बनाइएको रहेछ । लम्बाइ २.५८ किलोमिटर उल्लिखित थियो । केहीबेरमा त्यही बारेको बाटामा पनि मस्ती मर्ने उकालो आयो । अलिक अक्सिजन कम थियो होला त्यहाँ । खुइय्य भइयो । तिनीहरूले मलाई सुरुमा देखिने सरस्वती कुण्ड अनि अलिक ठूलो भैरव कुण्ड चिनाए । अन्यथा मलाई नाम थाहा हुने थिएन ।
समुद्र सतहदेखि ४३८०मिटर उचाइमा रहेको गोसाईँकुण्ड पुग्दा समय मध्यान्ह १२:३७ भएको थियो । म पुलकित भएँ ।
मलाई उछिनी आएका चार जनाको समूह यहीँ बस्ने योजनामा थिए । त्यसो त यो उनीहरूको दोस्रो वा तेस्रोपटक थियो । यात्रीमध्येकी केटीको भोलिपल्ट जन्मदिन भएकाले जन्मदिन मनाउने क्रममा कुण्डमा डुबुल्की मार्ने योजना थियो उनीहरूको । मान्छेका सोख र रहरहरू पनि अचम्मका हुने !
त्यहाँबाट सबभन्दा नजिकको दूरीमा सूर्यकुण्ड (४६००मिटर) थियो । प्राय यात्रीहरू त्यहाँचैँ पुग्दा रहेछन् तर मलाई त्यता चढ्ने जाँगर पलाएन । जुत्तामोजा खोल्दा मजा आयो । एउटा घामको मिठो ताप तापेर एकछिन काठे बेन्चमा सुतिदिएँ ।
मैले चीजमिश्रित फ्राइड राइस खाएँ तर चिल्लो धेरै भएर पूरा खान सकिनँ । जुत्ता नलगाई ढुङ्ग्यौलो बाटामा हिँड्दै कुण्डछेउको मन्दिर गएँ । पैतालामा तीखा ढुङ्गाको घोचाइ सहँदै पाँचदेखि आठ मिनेट जति लाएर मन्दिर पुगेँ । परैबाट नमस्कार गरेँ ।
त्यसपछि गोसाईँकुण्डको चिसो पानीमा खुट्टा डुबाएर बसेँ । मन फुरुङ्ग भयो । स्वर्गीय अनुभूति भयो । वरिपरि हिमाच्छादित पहाडहरू । लहरहरू आइरहेको कुण्ड । सङ्लो पानीबाट आइरहेको चिसो हावा । पारिलो घाम ।
अनि शून्यता ।
फगत शून्यता ।
र शून्यता ।
पूरा एक घण्टा बिताएपछि म फर्कन थालेँ । लौरीबिनामा धनुषाका मित्रसहितको ६ जनाको समूह थप हिँड्न नसकेर बसेका थिए । मेरो यात्रा देखेर ताजुब माने ।
मैले मनमनै चौलाङपाटी बस्ने निर्णय गरेर झन् गति घटाएर हिँडिरहेको थिएँ तर सुस्त गतिमा पनि साँढे पाँच बजे चौलाङपाटि पुगेँ । होटलतिर नपसी एकजनालाई सोधेँ, “के चन्दनबारी पुगिएला त?”
उनले हौसला बढाइदिए । एकजना महिला यात्रुले “लौरीबिना कुन हो?” भनी सोधिन् । मैले अलिअलि देखिएको माथिको घर देखाएँ । उनीहरू बिहान सात बजेतिर धुन्चेबाट हिँडेका रहेछन् ।
उनी साथीको झोला पनि बोकिदिएर उकालो चढ्दै थिइन् । थप हौसला मिल्यो । अनि अर्को फाइदाको कुरो अबको बाटो माटोको थियो । एकाएक खुट्टामा स्फूर्ति आयो ।
यसै क्रममा जुम्लादेखि भूमेश काफ्ले भाइको फोन आयो । उनीसँग बोल्दाबोल्दै ओरालोको चौथाइ खण्ड जति नै बित्यो होला ।
घाम अस्ताउने क्रममा थियो । यस्तो राम्रो दृश्य थियो कि त्यसलाई राम्रो क्यामेरा, राम्रै क्यामेराचालक हुने हो भने मनमोहक निकाल्थे । विडम्बना मसँग त्यस्तो सिप र साधन दुवै थिएन र थप कुरा अचेल यी कर्मप्रतिको मोहभङ्ग पनि भइसकेको थियो । तथापि एक खेप तस्बिर लिएँ ।
साँझका बत्तीहरू बलिसकेका थिए । अँध्यारो छिप्पिँदै गएको थियो । चन्दनबारी पुग्दा साँझको ६:४५ भएको थियो । ब्लोन अङ्कलले आग्रह गरेकै घरमा वास लिएँ ।
“अँ, एकजना दाह्रीवाल भाइ आउँछ, राम्रो गरिदिनू भन्यो जेठाजुले ।” साहुनी आन्टीले स्वागत गरेर भनिन् । टिभीमा चलिरहेको थियो, पूर्वराजा ज्ञानेन्द्र भारतको मेलामा पुगेर गरेको भाषण ।
एक थर्मश पानी लिएर म कोठामा पसेँ । अर्को बेडको सिरक पनि लगेर कुनाको ओछ्यानमा घुप्लुक्क ढलेँ । यो निद्रा यति गहिरो र यति मधुर थियो कि आजसम्म याद भएका निद्राहरूमध्ये बेग्लै अनुभूतिको । मैले सपना पनि केही देखिनँ सायद । ब्युँझँदा सायद तीन बजेको थियो होला ।
निद्रा पूरा भइसकेकाले पानी पिएँ अनि फेरि झाँक्रीलोकको कथा खोलेर त्यहाँ केही मजाकै पङ्क्तिहरू थपेँ । केही घटनाहरू बटारेर टेसको बनाएँ । काल्पनिक संसारमा डुल्दा अर्को मजा आयो ।
बिहान चिया र बाँकी रहेको बिस्कुट खाएर ५:३५ मा बाटो तताएँ । बिहानै हिँड्नुको मजा बेग्लै थियो त्यसमाथि विभिन्न स्वरका चराहरूको चिरबिरले मनै आह्लादित । चराहरूको आवाज रेकर्ड गर्दै हिँडे । धिम्सा त २५ मिनेटमै पुगिहालियो । गतिमा न कुनै सुस्तता न कुनै द्रुतता थियो ।
बल्ल एकल यात्रा भयो । न कोही चढिरहेका छन् न कोही झरिरहेका । बरु बाटाका दायाँबायाँ कालिज हुन् कि लुइँचे हुन् जोडीजोडी हिँडिरहेका भुईँचराहरू देखिन्छन् । भालेजातिको होला रङ्गीन अनि पोथी एकरङको । कतै मृगहरू तर्सिएर कुद्छन् ।
धुन्चेको मूलबजारै नपुगी एउटा पर्यटक बस भेटेँ । बिहानको साँढे आठ भएको थियो । यसरी पदयात्रा समापन भयो र बसयात्रा सुरु भयो ।
काठमाडौँमा भोलिपल्ट (चैत्र ३१गते) भूषिता वशिष्ठको कार्यालय नेपालय पुगेर उनीसँग लेखनसम्बन्धी विभिन्न कुराकानीहरू भए । मैले गोसाईँकुण्डको प्रसङ्ग निकाल्दा उनले भनिन्, “तपाईँले यो यात्राभरि गाओ जिङजियानको ‘सोउल माउन्टेन’ लिएर जानुपर्थ्यो ।”
मैले लगिनँ र लगेको भए पनि पढिन्थेनँ होला । फर्केर यो गजबको किताब पढिभ्याएँ । एक ठाउँ लेखिएको थियो “The true traveler is without goal, it is the absence of the goals which creates the ultimate traveler.” यो लाइनले मन छोयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।