म बैङ्कक पुगेको दिनमा नै राज पौडेलजीले मलाई जानकारी गराउनुभएको थियो– “बैङ्ककमा थुप्रै नेपाली कविहरू छन् । म तपाईँलाई तिनीहरूसँग भेट गराइदिन्छु ।”
अवश्य ! म त्यो दिनदेखि नै खुसी थिएँ । मलाई तिनीहरूसँग भेट गर्न हतार थियो । नेपाली भाषा र साहित्य नेपालमा मात्र होइन, छिमेकी मुलुकमा पनि फस्टाएकोमा मलाई गौरव थियो । उनीहरूको कथा र कविता सुन्न म कौतुहलमय थिएँ तर चार दिन बैङ्ककमा बसुन्जेल पनि भेट हुन सकेन । उहाँहरू कहाँ हुनुहुन्छ मैले पत्ता लगाउन सक्ने कुरै थिएन भने राजजीको फुर्सद नै भएन । आज २०१९ अक्टोबर २६ बैङ्ककमा छुट्टीको दिन । म र राजजी नेपाली कविहरूसँग भेटघाट गर्ने तयारीमा छौँ ।
म बिहानै राजजीले तोकेको ठाउँ “एसियाटिक” को मूलढोकामा पुग्छु र राजजीलाई पर्खेर बस्छु । हिजाको सल्लाहअनुसार हामी दुवैजना यही गेटमा भेट हुने र बस चढेर “लुम्फीनी–पार्क” पुग्ने छु तर त्यतिबेलै मेरो फोनको घण्टी बज्छ । म फोन उठाउँछु । राजजी बोल्नुहुन्छ–
“सर ! म आउन ढिला हुने भयो । तपाईँ त्यतै उभिँदै गर्नुहोला । उभिन गाह्रो भयो भने एसियाटिकभित्र पस्नुहोला ।”
“एसियाटिक एउटा विशाल सुपरमार्केट । त्यहाँ हरेक प्रकारका व्यापारिक कारोवार हुने गर्छ । बैङ्ककको चल्ती भएको एउटा ठाउँ । चार दिनदेखि म यही एसियाटिक वरिपरि नै छु । यहाँका चराङ्गकुरुङ्ग र वाटप्रयाकराई जस्ता ठाउँको सामान्य जानकारी भइसकेको छ । एकातिर पूर्व परिचय एसियाटिक, अर्कोतिर बिहानको चर्को घाम । मेरो घुम्ने जाँगर आउँदैन । म एसियाटिकको ढोकामा नै उभिन्छु तर धेरैबेर एउटै ठाउँ उभिन कठिनै हुन्छ । मलाई त्यहाँ उभिन अप्ठयारो लाग्दै आउँछ । म पुनः एसियाटिकभित्र पस्छु तर बजारमा चहल–पहल छैन । बजार खुल्ने समय भएको छैन । एसियाटिकसँगै जोडिएको बैङ्कक नदीको शान्त बगाइ, नदीमाथि तैरिरहेका स–साना डुङ्गाहरू अनि रित्तै घुमिरहेको रङ्गटेपिङ्ग । सबै मनोरञ्जनका साधनहरू यथावत् छन् तर स्थिर छन् । हिजो साँझ झिलिकमिलिक गर्दै बजिरहेका रेस्टुराहरू रित्तै छन् । लत्ताकपडा, खाद्यान्न र खेलौनाका सटरहरू बन्द छन् । राजजीको आफ्नो पसलमा पनि गरुङ्गो ताल्चा झुन्डिएको छ । एसियाटिक ग्राहकविहीन छ । जेहोस् म त्यो बजारलाई चक्कर लगाउँछु अनि पुनः एसियाटिकको मूल गेटमा पुग्छु । त्यो बेलासम्म राज त्यहाँ आइसक्नुभएको छ । उहाँ मलाई पर्खेर बस्नुभएको छ ।

नगेन्द्र न्यौपाने
हामीहरू एउटा लामो बसमा चढ्छौँ । बसमा खासै भिड छैन । सफा बस, मुलायमदार सिटहरू, अनि बसका महिला कर्मचारी । मैले नौलो अनुभव गर्छु । न खलासी चर्को–चर्को आवाज, न बसबाट आउने कालो धुवाँ । त्यहीबेला मेरो असन्तोषको ज्वाला फुत्त बाहिर निस्कन्छ र नेपालतिर जान्छ । किन नेपालमा यो परिपाटी चल्न सकेन । किन बस व्यवसायीहरू सभ्य हुन सकेनन् तर यो असन्तोषको ज्वाला सेलाइसकेको छ । हामीहरू लुम्फीनी–पार्कको गेटमा पुगिसकेका छौँ । दायाँबायाँ स्वच्छ पानीका पोखरीहरू, बिचमा बटुवा हिँड्ने सफा बाटो अनि अग्ला–अग्ला रुखहरू । पार्क सुन्दर र रमाइलो छ । अझ बेला–बेलामा स–साना गोहीका बच्चाहरूले बाटो काटेको देख्ता यो पार्क चिडियाघरजस्तो लाग्छ । बिहानको स्वच्छ हावामा योग गर्नेको लाइन पनि कहाँ त्यहाँ छैन र ? मौकाअनुसार सबैले त्यो पार्कलाई उपभोग गरिरहेका छन् ।
सुरुमा त यो पार्कको नामबाट म शङ्कालु छु– धर्मले पनि र संस्कारले पनि । साथै जब यो पार्कको नामको कुरो आउँछ तब गौतम बुद्धको जन्मथलो लुम्बिनीको कुरो पनि आइहाल्छ । त्यस्तै थाइल्यान्डको चक्री राजासँग पनि यो पार्क जोडिएको छ । वास्तवमा यो पार्कको नाम लुम्बिनी पार्क नै हो तर थाई जिब्रोले यसलाई समात्न सकेन । लुम्बिनीबाट लुम्फीनी बन्न गयो । चक्री राजा– “राम चौथो” बुद्धका भक्त थिए । उनले पार्कको नाम पनि लुम्बिनी नै राखे । निजी प्रयोगको लागि बनाएको यो पार्क धेरै वर्षपछि सर्वसाधारणलाई खुला गरियो र यसको रेखदेख गर्ने अधिकार सरकारलाई दिइयो । सहरी जीवनबाट वाक्क भएका बैङ्ककवासीहरू अलिकति भए पनि स्वच्छ हावा खान यो पार्कमा आउने गर्दछन् । त्यतिमात्रमा यो पार्क सीमित छैन । त्यहाँ बास्केट बलको कोर्ट पनि छ भने लोकल सङ्गीत र नाचका लागि मञ्च पनि तयार पारिएको छ ।
“ऊ ! तिनीहरू नै हुन् नेपाली कविहरू ।”
राजजी स्फूर्तिसाथ पार्कको बेन्चमा बरिहेका चार–पाँच युवाहरूलाई सङ्केत गर्दै बोल्नुहुन्छ । म राजजीले इसारा गरेको बेन्चतिर हेर्छु । दुईजना युवा कवि र तीन जना युवा कवयित्री निकै हँसिलो हुँदै हामीहरूलाई पर्खेर बसिरहेका छन् ।
मलाई कता–कता गौरववोध बनाउँछ । म भावविह्वल बन्छु । किनकि तिनीहरू नेपाली कवि होइनन् भने तिनीहरूको राष्ट्रिय भाषा नेपाली होइन तर उनीहरूले थाइल्यान्डमा नेपाली भाषालाई गुञ्जायमान पारेका छन् । मलजल गरेका छन् । उनीहरू कोही थाइ नागरिक छन् भने कोही वर्मेली तर उनीहरूको चढ्दो युवा जोश नेपाली भाषामा पोखिएको छ ।
हामीहरू त्यहाँ पुग्नासाथ उनीहरू आ–आफ्नो ठाउँबाट उठेर आफ्नो परिचय दिन्छन्– राजु राउत, घाइते गिरी, झरना गिरी, रित निरौला, सरस्वती पौडेल ।
“घाइते गिरी । कस्तो नाम हो यो ? तपाईँ साँच्चै घाइते नै हो ?” म सोध्छु ।
उनी मुसुक्क हाँस्छन् अनि बोल्न सुरु गर्छन्– “हो सर ! म पहिला घाइते नै थिएँ– प्रेमको घाइते । अहिले त्यो घाउ पुरियो तर नाम फेरिएन । त्यसकारण त्यो नफेरिएको नामलाई साहित्यतिर लगेँ । यही नामबाट कवितासङ्ग्रह निकाल्ने विचार गर्दैछु ।”
उमेरअनुसार मनको भाव बाहिर निकाल्नु मानव स्वाभाव हो । उनको पनि मनको भाव बाहिर निस्केको थियो र त्यो घाइते भावलाई साहित्यमा मिलाउनु स्वभाविक नै हो । उनले कवितामा वेग हान्ने जमर्को गरेका छन् तर अहिले उनको घाइते भाव शान्त भइसकेको छ ।
“सुनौँ न त ! तपाईँका घाइते कविताहरू ।” म उनलाई सोध्छु ।
उनीहरूसँग प्रशस्त कविताहरू छन् । उनको थुप्रै कविताहरू जम्मा भइसकेको छ तर उनले आफ्ना तीनवटा कविताहरू सुनाउँछन् । उनको कवितापछि अन्य सबै कवि–कवयित्रीले आफ्नो–आफ्नो कविता सुनाउँछन् । वास्तवमा सबै कविताहरू मीठा छन्, संवेदनशील छन्, सन्देशमुलक छन् । घरबाहिर उनीहरू कहिल्यै नेपालीमा कुरा गर्दैनन् । साथी–सङ्गीसँग कहिल्यै नेपालीमा वाद–विवाद गर्दैनन् तर हृदयमा कतै न कतै नेपाली भाषालाई लुकाउन सकेका छन् अनि कवितामा उतार्न सफल छन् तर कविता वाचनमा नौलोपन छ । उनीहरूको बोली मलाई अनौठो लाग्छ । सुनिरहूँजस्तो लाग्छ । आखिर भौगोलिकताले छुट्याएको नेपाल र थाइल्यान्डको बोली कहाँ एकरूपता हुन्छ र ? कहाँ समान स्वर आउन सक्छ र ? तर म रमाइलो मानी–मानी सुन्छु । कविता सुनाउँदा र सुन्दै गर्दा आधा दिन गएको पत्तै हुँदैन ।
लुम्फीनी–पार्कको दायाँ–बायाँ तथा अघिल्तिर अनगिन्ती होटेलहरू छन् । रेस्टुरा छन् । हामीहरू सबैजना खानाको लागि एउटा रेस्टुरामा पस्छौँ र त्यो दिनको खाना सँगसँगै खान्छौँ ।
दिन बिस्तारै ढल्किँदै गएको छ । हामीहरू अब छुट्टिने तरखरमा छौँ । उनीहरू सबैको जागिर छ । उनीहरूलाई जागिरमा जानलाई हतार भइसकेको छ । राजजी मतिर हेरेर बोलनुहुन्छ–
“सर ! तपाईँ अब यहीँबाट बस चढेर कोठामा जानुहोला, हामीहरू काममा जान्छौँ । वाटप्रायाक्राई पुलिस चौकीनिर बस रोकिन्छ । त्यहीँ ओर्लनुहोला । त्यहाँबाट तपाईँ कोठामा जान सक्नुहुन्छ । हामीहरू बिहान त्यहीँबाट बस चढेका थियौँ ।”
उनीहरू सबैजना काममा जान्छन् तर म बस चढ्दिनँ । बरु सडकको किनार हुँदै अगाडि बढ्छु । मलाई बस चढेर कोठामा पुगिहाल्नु कुनै जरुरी काम छैन । मेरो सहर घुम्ने मनसाय बन्छ । केहीबेर पछि सिलोम आइपुग्छु । सफा सडक । सडकमाथि बनेका आकाशे सडक अनि आकाशे सडकमा मन्द गतिमा बगेका गाडीहरू अनि बाक्ला घरहरू । सिलोम जति व्यस्त छ त्यति नै त्यहाँका व्यापारीहरू । थाइल्यान्डको मुख्य व्यापारिक केन्द्र भएर पनि हुनसक्छ स्वाभाविक रूपमा सिलोमको भिडभाड बढी नै छ । त्योभन्दा बढी भिड त्यहाँको महादेवको मन्दिरले गरेको छ । मन्दिर वरिपरि थुप्रै नेपाली अनुहार देखिएका छन् । उनीहरू झुन्ड–झुन्ड बनाई सडक किनारमा हिँडिरहेका हुन्छन् तर तामिल समुदायको लगानीमा बनेको हुनाले मन्दिर वरिपरिमात्र होइन मन्दिरभित्र उनीहरूकै बोलबाला छ । पुजारी पनि तामिल भाषी नै छन् । अनौठो यो छ कि, थाइहरू यो मन्दिरलाई महादेवको मन्दिर भन्दैनन् बरु यसलाई “वाट ख्याक इन्डिया मन्दिर” भन्छन् । ख्याक शब्दले थाइ भाषामा सभ्य अर्थ लगाउँदैन । अपमान गरेको मानिन्छ तर थाइहरू पनि कहाँ यो मन्दिरको दर्शन गर्न नआउने हुन् र ?
आज मन्दिर वरिपरि खुब भिड छ । श्रद्धालुहरू मन्दिर भित्र–बाहिर गरिरहेका छन् । म पनि मन्दिरभित्र पस्न खोज्छु तर आँट आउँदैन । मन्दिरभित्र पस्नुभन्दा अगाडि मूल गेटमा नै जुत्ता खोलेर भित्र पस्नपर्ने बाध्यता छ तर मेरो साहस देखिँदैन । एकातिर भकभक पाकेको सडक, अर्कोतिर सूर्यबाट आएको तेजिलो किरण । मलाई नाङ्गो गोडाले टेक्ने आँट आउँदैन । अझ ! भिड यति लामो छ कि । त्यति लामो दूरी पार गरेर मन्दिरभित्र पस्ने सम्भव छैन । जीवनमा कहिल्यै पनि त्यस्तो आगाजस्तो तातो सडकमा नाङ्गो खुट्टा नपरेको हुनाले पनि मैले त्यो आँट गरिन तर सबैजनाले खाली खुट्टामा नै भित्र–बाहिर गरिरहेका छन् भने म पनि जुक्ति निकाल्छु तर मेरो जुक्ति चोर प्रकारको हुन्छ । मन्दिरको मुखैमा उभिएका एकजना व्यक्ति नेपाली भाषीजस्तो देखिन्छन् र उनीसँग नेपालीमा आफ्नो अनुरोध राख्छु । मेरो अडकल खेर जाँदैन । उनी नेपाली नै रहेछन् र स्फूर्तिसाथ बोल्छन्–
“भइहाल्छ नि ! मेरो अगाडि उभिनुहोस् । अगाडि पछाडि हामी सबै नेपाली नै हौँ ।”
मलाई यो कुरामा गर्व हुन्छ कि भाषाले मान्छेलाई कतिसम्म आफन्त बनाउन सक्तो रहेछ । कतिसम्म नजिक ल्याउँदो रहेछ । उनीसँग अझ बढी परिचित हुन खोज्दा खोज्दै पनि म पाउँदिन । भिडले हामीलाई मन्दिरभित्र पसाइहाल्छ । हामी तितर–बितर हुन्छौँ । जे होस् उनको सहायताप्रति म आभारी छु । नेपाली भाषाप्रति ऋणी छु । म केहीबेरमा नै मन्दिरको दर्शन गरेर बाहिर निस्किन्छु ।
हुन त बैङ्कक पुगेको दिनदेखि नै मैले चोक–चोकमा अर्धनग्न स्वरूपका कामुक युवतीहरू कहाँ नदेखेको हो र ? उनीहरू आफ्नो पसलअगाडि छोटो कट्टु, पूरै खुलेको छाती देखाएर झुन्ड–झुन्ड बनेर ग्राहक बोलाइरहेका हुन्थे । आफ्नो विज्ञापन गरिरहेका हुन्थे तर आज उनीहरूसँग यस्तो जम्काभेट भइहाल्छ भन्ने सोचेको थिइनँ । उनीहरू मेरो आमने–सामने हुन्छन् भन्ने कल्पना नै गरेको थिइनँ । म पनि सडकको पेटीमा हिँडिरहनु एउटी अर्धनग्न कामवती युवती पनि फुत्त ढोकाबाहिर निस्किनु एकैचोटि हुन्छ । उनको कामातुर आकृतिमा मेरो आँखा जुधिहाल्छ । मसँग सम्मुख हुनासाथ उनको मुखबाट चुइगमको गन्ध र बोली एकैचोटि फुत्त बाहिर आउँछ । उनले मलाई सोध्छिन्–
“सर ! मसाज गर्ने ?”
मसाज शब्द सुन्नासाथ म यसरी तर्सिन्छु कि ! भर्खर ठूलो भुईँचालो आएको छ । किनकि केही दिन अगाडि मलाई बैङ्ककको मसाजबारे साथीहरूबाट जानकारी भइसकेको थियो । मेरो दिमागमा मसाजप्रति घृणा जन्म भइसकेको थियो । एकजना मित्रले मलाई सुनाएका थिए– “सडकको किनारमा मसाजको साइनबोर्ड झुन्डयाउँछन् तर भित्र गएपछि अन्य कामको लागि पनि हौस्याउँछन् । सर ! तपाईँ हत्तपत्त मसाज गरी नहाल्नु होला । विचार गर्नुहोला ।”
त्यसकारण म उसलाई जवाफ नै नदिई फुत्त भाग्नुपर्ने हो । ऊसँग तर्केर हिँडिहाल्नुपर्ने हो तर एकएक मेरो मानसिकतामा अनौठो प्रकारको तुजुग देखापर्छ । आफूलाई त्यसबारे चासो नभए पनि निकै शक्तिशाली बन्छु र मेरो मुखबाट फुत्त बोली निस्किन्छ–
“के हो यो मसाज भनेको ? कति भाट लिन्छौँ ?”
जुन ठाउँमा नबोलीकन लुसुक्क भाग्न पर्छ । उनीहरूको कुरो सुने नसुनेकोजस्तो टाउको बटारेर काट्न पर्छ । त्यही ठाउँमा सवाल–जबाफ गरेपछि ती युवतीले मलाई छोड्ने कुरै छैन । उनी झन् हौसिन्छीन् । लालायित हुन्छिन् । उनको अनुहार कामुक देखिन्छ । उनी मेरो नजिकै आउँछिन् र नरम भएर बोल्छिन्–
“म तपाईँको शिरदेखि पाउँसम्म मिचिदिन्छु । तेल लगाएर मालिस गर्छु । हात–पाखुरा–गोडा सबैतिर मसाज गरिदिन्छु । पिँडौलामात्र पनि––––– मसाज हुन्छ । ऊ ! हेर्नुहोस् मूल्य––––– त्यहीअनुसार लिन्छु ।” भन्दै भित्तातिरको मूल्यसूची देखाउँछिन् ।
खै ! कहाँबाट आयो त्यो साहस । खै ! कसरी पलायो त्यो रहर । खै ! कता गयो मेरो लजालुपन । म त्यो युवतीको साथ लागेर भित्र पस्छु । भित्र पस्ने बित्तिकै दाहिनेपट्टि एउटा ठूलो मसाज हल देखापर्छ । हलभरी होचा–होचा प्रकारका फराकिला बिछ्यौनाहरू छन् भने सबै बिछ्यौनाहरू ग्राहकले भरिभराउ छन् । कोही तेलिया मसाज गरिरहेका । कोही जिउ मिचिरहेका । कोही जोर्नीहरू तन्काइरहेका । बाहिर फिजिएको हल्लाजस्तो त्यहाँ कुनै असभ्य वातावरण म देख्दिनँ । सबैजना सामान्य रूपमा नै आफ्नो–आफ्नो धर्म निभाइरहेका छन् । त्यहाँ सामान्य व्यापारिक कारोबारभन्दा अर्को दृश्य केही देख्दिन ।
“तपाईँ यो कुर्सीमा बस्तै गर्नुहोस् । म तपाईँलाई बिछ्यौना तयार पारेर आउँछु” भन्दै ती युवती भित्र पस्छिन् तर म त्यो कुर्सीमा बस्दिनँ बरु उभिएर चारैतिर हेर्छु । मेरा आँखा धेरै टाढा–टाढासम्म पुग्छन् । भित्ता–भित्ता चाहार्छन् । त्यो मसाज केन्द्र त्यतिमा मात्र सीमित छैन । पर एउटा अग्लो ढोकाको माथिल्लो भागमा लेखिएको छ– ‘अनुमति बिना भित्र पस्न मनाही छ’ । त्यहाँभित्र पस्न आज्ञा पाउनुपर्छ । त्यहीबेला मेरो मनमा विभिन्न प्रकारका चिन्तनको जन्म हुन्छ । आखिर जबरजस्ती जन्मिइएको रहर न थियो त्यो । कहाँ टिक्न सक्छ र ? त्यो त मेरो एउटा खोजतलासमात्र थियो । – म उत्सुकतामा थिए ।
एकातिर म आफैँले कृत्रिम रूपमा जन्माएको चाख अर्कातिर मसाजको बारेमा मेरो गोप्य खोजतलास । केहीबेर अगाडि म आफैँले जन्माएको रहर एकाएक मर्न कर लाग्छ । म त्यहाँ धेरैबेर उभिन्नँ । म मसाज गर्दिनँ, बरु म कोठाबाट बाहिर निस्किहाल्छु तर ती युवतीको नरम बोली मेरो कानमा परिरहेका हुन्छ–
“तपाईँ मसाज नगर्ने ? तपाईँ त हिँडिहाल्नुभयो । आउनुहोस् । भित्र अर्को ठूलो कोठा पनि छ ।”
म आवाजतिर हेर्दै हेर्दिनँ । सरासर अगाडि बढ्छु र बसमा चढेर चरानकुङ्ग पुग्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
