अघिल्लो दिन महेशजीले मेरो हवाईजहाजको टिकट हेरेपछि लामो सास फेरेर मलाई सतर्क गराएका थिए ।
“तपाईँ एयरपोर्ट ट्याक्सीमा जानुहोस् । कहाँ बसबाट जाने कुरा गर्नुहुन्छ? बसबाट जाँदा ढिलो हुनसक्छ । तपाईँको जहाज उड्ने समय साढे नौ बजे रहेछ । कम्तीमा साढे सातबजे एयरपोर्ट पुग्नुपर्छ । बस समयमा पुगेन भने तपाईँको जहाजै छुट्छ । कहिलेकाहीँ ट्राफिक जाममा परियो भने ट्याक्सीमा जाँदा त समयमा पुगिँदैन ।”
महेशजी रङ्गुन सहरस्थित एभरेष्ट होटेलका मालिक र मेनेजर दुवै हुन् । मैले उनलाई त्यही होटेलमा चिनेको हुँ । उनीसँग चिनजान भएपछि उनलाई मेरो धेरै कुराहरू बताएको छु । उनीसँग नजिकिएको छु ।
मैले महेशजीको कुरालाई मनन गर्नुपर्ने थियो । उनको सल्लाह लिनपर्ने थियो तर उनको सुझावलाई अटेरी गर्दै म बिहानै होटेलबाट बाहिर निस्किए – बस चढ्नका लागि । आज म रङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैङ्कक आउँदै छु । होटेल बाहिर सुनसान छ । चकमन्न छ । रङ्गुन सहर अझै ब्युँझिएको छैन ।
मलाई रङ्गुन सहरको यातायातको मेसो नहुँदो हो त साथै सडकको सामान्य जानकारी नहुँदो हो त मेरो यस्तो आँट आउँदैन थियो । म त्यो बिरानो सहरमा एकाबिहानै निस्कने साहस गर्दिन थिए । म केही दिनदेखि रङ्गुनमा बस्दै आएको छु । अर्को सबैभन्दा ठूलो आँट भनेको एभरेष्ट होटेल र बसपार्क नजिकै छन् । साथै त्यही बसपार्क हुँदै म धेरैपटक नै होटेल वरिपरिको परिक्रमा गरेको छु । अझ अघिल्लो दिन बर्मेली साहित्यकार खिमबहादुर कौशिक (मृत्यु भइसकेको)ले मलाई आँट थपिदिनुभएको थियो– “तपाईँको बिहान सबेरै उठ्ने बानी रहेछ । भोलि पनि सबेरै उठ्नुभयो र पहिलो बसमा जानुभयो भने सजिलैसँग एयरपोर्ट पुग्नुहुन्छ । धन्धा मान्नुपर्दैन । पोहोर साल म बैङ्कक जाँदा यसरी नै बसबाट एयरपोर्ट गएको थिए ।”
त्यो सुनसान सडक । चहल–पहलविहीन वातावरण अनि दायाँ–बायाँ बलेको पहेंला–राता चहकिला बत्तीहरू । म कति पनि नडराईकन अगाडि बढिरहेको छु । फाट्टफुट्ट ट्याक्सीहरू देखिन थालेका छन् । तिनीहरूले मलाई हेर्छन् अनि आफ्नो गति कम गर्छन् । कुनै–कुनै ट्याक्सी मेरो नजिकै आएर रोक्छन् पनि । तर म कुनैलाई वास्ता गर्दिन । सरासर अगाडि बढ्छु र केहीबेरमा नै बसपार्क पुग्छु । तर बसपार्क पनि बिलकुलै सुनसान छ । न एयरपोर्ट जाने पहिलो बस नै आएको छ, न यात्रुहरू नै देखा परेका छन् । म झोला बिसाएर छेउको बेन्चमा बस्छु । त्यहीबेला एउटा युवक अलिक हतासिएको परिवेशमा देखा पर्छन् र मतिर हेर्दै केही शब्दहरू बोल्छन् । उनको ठिक्क मिलेको अग्लाइ, हँसिलो अनुहार, अनि गतिलो पहिरनले बताइरहेको छ उनी कुनै अफिसका कर्मचारी हुन् । तर म उसले बोलेका शब्दहरू बुझ्दिन । मलाई बर्मेली भाषा आउँदैन । जवाफ फर्काउन नसकेपछि टोलाएर हेरिरहन्छु । उनी फेरि मेरो नजिकै आएर उच्च स्वरमा बोल्छन् अनि मलाई गहिरिएर हेर्छन् । उसको गहिरो हेराइसँगै म उनलाई उत्तर दिइहाल्छु–
“म बर्मेली होइन । म विदेशी हुँ । तिमीले के सोधिरहेका छौ ।”
एकाएक मप्रतिको उसको हेराइ नरम हुन आउँछ । उसको अनुहार भावुक बन्छ । उसको अङ्ग्रेजी अब्बल दर्जाको छ । शब्दहरू निकै गहकिला प्रयोग गरेका छन् । लाग्छ, उसले धेरै वर्ष विदेशमा बिताएका छन् ।
“तपाईँ एयरपोर्ट जान लाग्नुभएको हो भने आउनुहोस् – तपाईँ र म मिलेर ट्याक्सीमा जाऔँ । लागेको भाडा आधा–आधा गरौँला । हुन्न? बस आउने कहिले हो कहिले !”
एक्कासी आएको उसको प्रस्तावले मेरो मानसिकता उथलपुथल हुन्छ । म डराउन थाल्छु । म के गरौँ कसो गरौँ बन्छु । हत्तपत्त निर्णय दिन सक्दिन । चिन्दै नचिनेको व्यक्तिको प्रस्ताव कसरी स्वीकार गरिहालौँ ? म टोलाउँछु । तर उनी मेरो प्रतिक्रियाबिना नै सडकमा गुडिरहेको ट्याक्सीलाई रोक्छन् र मेरो झोला तान्दै ट्याक्सीतिर जान्छन् । म पनि उनको पछि–पछि लाग्छु । ऊ मलाई ट्याक्सीको पछाडिको सिटमा बसाउँछन् अनि आफू पनि पछाडि नै बस्छिन् । म झन् डराउँछु तर गाह्रो मान्दै पछाडिको सिटमा नै बस्छु । हामी बसेपछि ट्याक्सी एयरपोर्टतिर गुड्न थाल्छ ।
“यस्तो राति ! नौलो ठाउँ । त्यसमा पनि एक्लै हिँड्न डर लागेन । अझ तपाईँलाई त बर्मेली भाषा पनि आउँदो रहेनछ ।” ऊ मलाई सोध्छिन् ।
त्यतिबेला कता–कता मेरो मानसिकतामा साहसका शब्दहरू निस्कन्छन् । मलाई निडर बन्न कर लाग्छ । त्यो मेरो बाध्यता पनि हो अनि स्फूर्तिसाथ बोल्छु–
“विश्व थर्काउने गोरखाली (नेपाली) लाई के को डर ? यति सानो बसपार्कमा डराइयो भने कसरी काठमाडौँ पुगिएला ?”
“ए ! तपाईँ गोरखाली पो हो ?” भन्दै उनले आफ्नो आँखा कोप्रा पारे अनि मलाई गहिरोसँग हेरे । उनको हेराइमा मलाई महसुस हुन्छ कि उनले मलाई पत्याएनन् ।
“किन ? विश्वास लागेन ?” म सोध्छु
“तपाईँ गोरखाली हो भने खै ! त तपाईँको पाखुरामा धागो (रक्षा बन्धन) खै त? प्रत्येक गोरखालीको पाखुरामा धागो हुन्छ त !”
वास्तवमा उनले मेरो कमजोरी पत्ता लगाएका नै थिए । बर्मा बसुन्जेल मेरा नाडीमा रक्षाबन्धन बाँधिए पनि त्यतिबेला थिएन । हतारमा नुहाएर हिँड्नुपर्दा भिजेको रक्षाबन्धनलाई मैले निकालिसकेको थिए । त्यति मात्र होइन मेरो बुझाइ अनुसार यसको आवश्यकता सकिएको थियो । म केही अपशोचको भाव देखाउँदै उत्तर दिन्छु– “लगाउँछु भन्दै थिए हतारमा भुलेछु । अब बैङ्कक पुगेपछि लगाउनुपर्ला ।”
सडक अझै सुनसान छ । चहलपहल सुरु भइसकेको छैन । हाम्रो ट्याक्सी अगाडि बढिरहेको छ । मेरो दिमाग भने त्यही कुरामा खेलिरहेको छ । म त्यही विषयमा भुटभुटिइरहेको छु– किन उनले मलाई आफूसँगै पछाडिको सिटमा राखेँ ! किन आफू नजिकै ल्याए । त्यस्तो कुरा सोधिहाल्न उचित पनि छैन । तर शङ्काले मेरो मानसिकता जतिसुकै उचालिने र पछारिने गरे पनि पछि थाहा हुन्छ । गफै गर्नका लागि आफ्नो नजिक ल्याएका रहेछन् । घरी–घरी टाउको बटार्नुभन्दा सजिलैसँग कुराकानीको लागि राखेका रहेछन् । म विषयवस्तु परिवर्तन गर्दै उनलाई प्रश्न गर्छु
“तपाईँ एयरपोर्टमा काम गर्नुहुन्छ कि ! आज कतै यात्रामा हुनुहुन्छ ?”
“म एयरपोर्टमा काम गर्छु ।”
“यसरी नै सधैँ हतार–हतार गर्दै ट्याक्सीमा अफिस जानुहुन्छ ? तपाईँको दैनिकी यस्तै हो ?”
“होइन ! अफिसकै गाडी आउँछ तर आज मेरो घरमा काम परेकाले म ढिलो भएँ । अफिसको गाडीमा जान सकिन ।”
ट्याक्सी चढ्नुभन्दा पहिला नै आधा–आधा भाडा तिर्ने हामीबिच सम्झौता थियो । त्यही सम्झौताअनुसार भाडा सङ्कलन गर्नतिर लाग्छु र उनलाई सोध्छु–
“भाडा कति हो ?”
“८००० (आठ हजार च्याट) मा मैले कुरा गरेको हुँ” उनले उत्तर दिन्छन् ।
म उनको हातमा ४००० च्याट थमाइदिन्छु तर उनी लिन मान्दैनन् ।
“भो पर्दैन ।”
“किन ? आधा–आधा तिर्ने भनेको होइन ?” म सोध्छु
“तपाईँ विदेशी हुनुहुँदो रहेछ । त्यसमा पनि गोरखाली । गोरखालीजस्तो सोझो व्यक्तिसँग के भाडा उठाउनु ? मेरो तर्फबाट सौगात मान्नुहोस् ।”
गोरखालीजस्तो सोझो व्यक्ति ! म ट्वाल्ल परेर उनलाई हेर्छु । मलाई गौरव लाग्छ । उनको बोलीले भावविह्वल बनाउँछ । एउटा युवक त्यसमा पनि बर्मेलीले गोरखालीप्रति गरेको इज्जतले म आभारी हुन्छु । तर म उनको सौगात लिन चाहन्न ।
“कहाँ हुन्थ्यो ! अपरिचितको ऋणी बन्न हुन्न । यो ऋण मैले कहिले तिर्न पाउँछु ?”
“मलाई तिर्नु पर्दैन ! अरू कसैलाई तिरेर दानी बन्नुहोस्” भन्दै उनी मेरा नोटहरू मलाई नै फिर्ता गरिदिन्छन् ।
म मनमनै तिनै गोरखालीको प्रशंसा गर्छु– जसले आफ्नो मान–सम्मान र इज्जतलाई आँच आउन दिएका छैनन् । जसले आफू भोकै रहेर पनि आफ्नो गौरवलाई खसालेका छैनन् । धन्य गोरखाली बन्धुहरू ! धन्य नेपाली सन्तान । तपाईँले आर्जन गरेको त्याग र बलिदानबाट म आफूलाई ऋणी बन्न पाएकोमा हृदयबाट नै आभार प्रकट गर्न चाहन्छु ।
म जानुपर्ने अन्तर्राष्ट्रिय टर्मिनल छ भने उनी आन्तरिक । तर उनी एयरपोर्टको कर्मचारी साथै उनलाई त्यति ढिला नभएर पनि हुनसक्छ उसैको अनुरोधमा ट्याक्सी ड्राइभरले मलाई सुरुमा नै अन्तर्राष्ट्रिय टर्मिनलमा छोडिदिन्छ । म ट्याक्सीबाट बाहिर निस्किन्छु । उनी पनि बाहिर आउँछन् अनि बिदाइका हात बढाउँदै बोल्छन्, “अर्कोपटक बर्मा आउनुभयो भने यो फोनमा सम्पर्क गर्नुहोला । म एयरपोर्टमा भएको बेला परेछ भने तपाईँलाई सजिलो हुन्छ । म तलाईँलाई अफिसकै गाडीमा लगिदिनसक्छु ।”
म उसको फोन नम्बर लिन्छु तर मलाई थाहा छैन म फेरि बर्मा आउँछु वा आउँदिन ।
एयरपोर्टभित्रको प्रक्रिया त्यति झन्झटिलो छैन । कर्मचारीमा देखिएको तत्परताले पनि हुनसक्छ– पासपोर्ट र हवाई टिकटको काम सरासर नै अगाडि बढ्छ । म समयमा नै हवाई जहाजभित्र पस्छु र करिब एक घण्टाको उडानपछि बैङ्कक उत्रिन्छु ।
हुन त यसपटक बैङ्ककमा बस्ने योजना थिएन । केही दिनअगाडि पुगेको ठाउँ, घरी–घरी एउटै ठाउँमा जानु उचित थिएन । बैङ्ककबाट सोझै फुकेट (थाइल्याण्डको दक्षिणी सहर) जाने योजना थियो । तर केही दिन अगाडि रङ्गुनमा भेट हुनुभएका टेकनारायण रिमालज्यूको राय अनुसार नै म बैङ्ककमा बस्ने भएको छु । उहाँकै सल्लाह अनुसार बर्माको बसाइलाई छोट्याएर बैङ्ककमा आएको छु । उहाँले बैङ्ककमा हुनुभएका विभिन्न नेपाली मित्रहरूको नाम र नम्बर समेत दिनुभएको छ ।
म एयरपोर्टबाट निस्किनासाथ उहाँले दिनुभएको फोन नम्बरमा सम्पर्क गरिहाल्छु तर कसैको पनि फोन उठ्दैन । चौथो पटक फोन उठ्छ राजु पौडेलको । राजु पौडेलका बारेमा मलाई थाहा थिएन, तर मेरो बारेमा उहाँलाई थाहा भइसकेको रहेछ ।
उहाँको फोन उठ्ने बित्तिकै म आफ्नो परिचय दिन मात्र थालेको हुन्छु मेरो लवजले नै होला मलाई चिनिहाल्नुहुन्छ र मैले बोल्दाबोल्दै बिचमा नै कुरा काट्दै उहाँ नै बोल्न थाल्नुहुन्छ–
“मलाई थाहा छ । आज तपाईँ आउँदै हुनुहुन्छ । टेकनारायण सरले मलाई जानकारी गराइसक्नुभएको छ ।”
“म कसरी आऊँ त तपाईँको कोठामा? ठेगाना दिनुहोस् ।” म सोध्छु । तर राजुले मलाई ठेगाना दिनुभएन बरु ट्याक्सी खोज्ने सल्लाह दिनुहुन्छ ।
“तपाईँलाई ठेगाना दिएर तपाईँले पत्ता लगाउन सक्नुहुन्न । म ट्याक्सी ड्राइभरलाई दिन्छु । त्यसकारण तपाईँ सबैभन्दा पहिला ट्याक्सी खोज्नुहोस् ।”
राजु पौडेलको सल्लाहअनुसार नै म एउटा ट्याक्सी खोज्छु र त्यसैमा बस्छु अनि उसलाई राजु पौडेलसँग सम्पर्क गराउँछु । उनीहरूबीच लामै वार्ता हुन्छ । मलाई ढुक्क छ उसले मलाई राजुले भनेको ठाउँमा पुर्याउँछ । तर बैङ्ककमा ट्याक्सी चढेपछि ट्याक्सी ड्राइभरले यात्रुलाई अनौठो प्रश्न सोध्ने चलन छ । उनीहरू सोध्ने गर्छन्
“राजमार्गबाट जाने कि लोकल मार्गबाट ?”
यही प्रश्न मेरो अगाडि पनि आउँछ । ट्याक्सी केही अगाडि मात्र गुडेको छ, ट्याक्सी ड्राइभर मतिर हेरेर यही जिज्ञासा राख्दछन् तर मसँग उत्तर छैन । कहाँबाट गए के हुन्छ ! कहाँबाट नगए के हुँदैन ! म तत्काल जवाफ फर्काउन सक्दिन । तर मैले केही न केही जवाफ दिनैपर्छ । किनकि ट्याक्सी ड्राइभर मलाई पर्खेर बसेको छ । त्यसकारण हतारमा नै अन्दाजको भरमा उसलाई उत्तर दिन्छु
“राजमार्गबाट ।”
ट्राफिक जामको समस्या विश्वको कुन सहरमा छैन र ? कुन देश यसको भुक्तभोगी छैनन् र ? उनीहरूले लागु गरेको नीति नियम पनि आफ्नो–आफ्नो प्रकारका छन् । त्यही ट्राफिक जामको आधारमा बैङ्कक सहरमा दुई प्रकारका यात्रा छन् । एउटा राजमार्ग यात्रा अनि अर्को लोकल यात्रा ! राजमार्गको यात्रा छिटो–छरितो तर मिटरको मूल्यमा १०० भाट (थाइ मुद्रा) थप्नुपर्ने हुन्छ । लोकल मार्गको यात्रामा ट्राफिक जामको समस्या भोग्नुपर्ने तर मिटरमा उठेको मूल्य मात्र दिए पुग्ने ।
हुन त मलाई ट्राफिक जामले कुनै अप्ठ्यारो पर्ने थिएन । म कुनै जरुरी कामले बैङ्कक गएको थिइन । घुम्नका लागि त्यहाँ पुगेको हुँ । बरु ट्राफिक जामले बनाएको मन्द गतिमा बैङ्कक सहरलाई नजिकैबाट चिन्ने मौका पाउँथे होला तर मैले राजमार्गको तीव्र प्रवाहलाई रोजेँ । त्यसैले मलाई सामान्य पछुतो लाग्नु स्वाभाविक हो । म आफ्नो पछुतो असामान्य शब्दमा मनमनै थकथकाउँछु– “थुक्क ! लोकल मार्गबाट जानुपर्ने !”
केहीबेरको यात्रापछि ट्याक्सी ड्राइभर आफ्नो ट्याक्सी सडकको छेउमा रोक्छ र मतिर फर्केर बोल्छ
“सर ! ‘चरानकुङ्गको एसियाटिक’ भनेको यही हो । तपाईँ ऊ त्यो अग्लो घरको अगाडि उभिनु होला । तपाईँको साथी लिन आउनुहुन्छ ।”
म एकपल्ट झ्यालबाट पल्याकपुलुक बाहिर हेर्छु अनि मिटरमा उठेको मूल्यमा १०० भाट थप्छु अनि ४०० भाट पुर्याएर उनलाई दिन्छु । ऊ नोट हातमा लिन्छ अनि मैले जस्तै ट्याक्सीबाटै बाहिर हेर्छ र बिस्तारै सोध्छ– “तपाईको साथी नेपाली हो कि थाइ ?”
“मेरो साथी नेपाली पनि होइन, थाइ पनि होइन । बर्मेली हो ।”
म उत्तर दिन्छु । मेरो भनाइलाई समर्थन गर्दै उनी बोल्छन्
“हो, हो ! यहाँ धेरे बर्मेलीहरू काम गर्दछन् । उनीहरूको आफ्नै पसल पनि छ ।”
म ट्याक्सीबाट बाहिर निस्किन्छु । बाहिर खपिनसक्नु गर्मी छ । म मनमनै सोच्छु– “अहो यस्तो गर्मीमा कतिबेर कुर्नुपर्ने हो ?” तर केहीबेर उभिएको मात्र हुन्छु– राजु पौडेलजी आइहाल्नुहुन्छ । सुरुमा मलाई शङ्का थियो कि !
राजुजी मलाई कसरी चिन्नुहुन्छ होला । तर उहाँले मलाई चिनिहाल्नुहुन्छ र नमस्कार गर्दै मेरो नजिकै आउनुहुन्छ ।
“यस्तो भिडभाडमा पनि तपाईँले मलाई सजिलैसँग चिन्नुभयो त !” म सोध्छु
“आफ्नो मान्छे चिन्न र खोजन पनि भिडभाडले रोक्छ र सर !”
एकातिर त्यो विशाल भिड ! अर्कोतिर भतभती पोल्ने गर्मी ! तर मलाई राजुको बोलीले शीतल अनुभव गराउँछ । हर्षले विभोर हुन्छ । म चारैतिर आफन्त नै आफन्त देख्छु । मलाई पूरै बैङ्कक सहर आफ्नो आँगनजस्तो लाग्छ । हामी उभिई–उभिई नै लामै गफ गर्छौं । उहाँ केहीबेरपछि हँसिलो हुँदै बोल्नुहुन्छ
“अब म सरलाई राजा बनाएर राख्छु ।”
“राजा ? कस्तो राजा ? कहाँको ?”
उहाँ केही उत्तर दिनुहुन्न बरु मेरो झोला मोटरसाइकलमा राख्नुहुन्छ र मलाई पनि मोटरसाइकलमा बस्ने इशारा गर्नुहुन्छ । केहीबेरपछि केही परको एउटा दुईतल्ले घरको आँगनमा पुग्छौँ । त्यो घरको मूल ढोकामा नै ठूलो अक्षरले लेखिएको छ– “होटेल रानी ।”
“सर अब यो होटेलको राजा ! बैङ्कक बसुन्जेल यही होटेलमा राजा बनेर बस्नुहोला ! यहाँ एक जना नेपालीभाषी पनि काम गर्नुहुन्छ । सरलाई सजिलो हुन्छ । खाना र चिया नास्ता मेरो कोठामा गर्ने । सुत्न र बस्नका लागि यहाँ ।”
उनी मुसुमुसु हाँस्दै अगाडि बढ्छन् । म पनि उनको पछि–पछि लाग्छु । हामीहरू दुवैजना उपल्लो तलाको २१० नम्बरको कोठामा झोला बिसाउँछौ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।