केपटाउनको यात्रा
एट्लान्टिक महासागरको पानी, हिन्द महासगरको पानी र अन्टार्कटिक महासागरको पानी मिल्ने त्रिवेणी, अर्थात् केप अफ गुडहोप, कस्तो होला ? भन्ने जिज्ञासाले मेरो मथिङ्गल छोप्यो साउथअफ्रिकाको केपटाउन जाने कुरो पक्का भएपछि । कुरो सन् २००३तिरको हो । म त्यतिखेर ब्याङ्ककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा शोधकर्ता थिएँ । त्यहीँबाटै फोहोर पानी प्रशोधन सम्बन्धि शोधपत्र प्रस्तुत गर्न एउटा अन्तराष्ट्रिय सम्मेलनमा केपटाउन जाने मेसो मिलेको थियो । केप अफ गुडहोप पुग्नलाई केपटाउन भएरै जानु पर्छ नि त !
ब्याङ्ककबाट दुबाई हुँदै जोहानेसबर्गको यात्रा रातभरिभयो । लामो समयको प्रवास बसाइका बाबजुद सुत्केरी श्रीमती र तीन महिनाको नवजात छोरोलाई ब्याङ्ककमै छोडेर त्यता लाग्दा मन भारी थियो । रातभर निद्रा लागेन । जोहानेसबर्ग पुग्दा बिहानको उज्यालो भैसकेको थिएन । त्यहाँ पुगेपछि ब्याङ्ककबाट हिँड्नु अघि एकजना साथीले अर्थ्याएको कुराले मन पोलिरहेको थियो । त्यो के भने जोहानेसबर्ग विमानस्थल बाहिर पाँच मिनेटभन्दा बढी बस्नै हुँदैन । लुटिइने सम्भावना प्रबल हुन्छ ।
जोहानेसबर्ग पुगेपछि केपटाउन जान जहाज फेर्नुपर्नेभयो । किनभने जोहानेसबर्गसम्म अन्तराष्ट्रिय उडान थियो भने अबको केपटाउनको यात्रा आन्तरिक उडान । जोहानेसबर्गमा नै अध्यागमन र भन्सारका कामहरू सक्नुपर्नेभयो ।
साउथअफ्रिकाका लागि प्रवेश भिसा ब्याङ्ककस्थित साउथअफ्रिकाको दूतावासबाटै लिइसकेको थिएँ । त्यसैले अध्यागमनका सबै कार्य सजिलै सकियो । तत्पश्चात् आफ्ना सुटकेसहरू ‘ब्यागेज क्लेम’ लेखिएको ठाउँबाट सङ्कलन गरी भन्सारको ग्रीनच्यानल भएर बाहिरको प्रतीक्षा कक्षामा दाखिल भएँ । अब मलाई अन्तर्राष्ट्रिय उडानकक्षबाट आन्तरिक उडानकक्ष जानुपर्नेभयो । यसका निम्ति अन्तराष्ट्रिय भवनबाट बाहिर गई आन्तरिक उडान हुने भवनभित्र छिर्नुपर्ने ।
यति अवधिसम्ममा मलाई साउथअफ्रिका आइपुगेँ कि अँझै अन्तै छु भन्ने शङ्काभयो । किनभने अफ्रिका भनेको सुन्ने बित्तिकै चार-पाँच कक्षामा पढेको ‘कालो महादेश र त्यहाँका बासिन्दा काला जातिका हुन्छन्’ भन्ने याद आउँछ । जोहानेसबर्गमा पाइला टेक्ने बित्तिकै मेरा आँखाले भिन्नै रूप देख्यो । एरपोर्टमा त काला जातिका कामदारहरूको गन्ती नै न्यून थियो ।
अन्तराष्ट्रिय उडानकक्षबाट बाहिर निस्कँदा त्यहाँ पनि ट्याक्सीवालाहरू फकाउन आइपुग्ने रहेछन् । तर छिनाझपटी नभएर आ-आफ्नो पालो आएपछि लाइनबाटै यात्रु लाँदा रहेछन् । साथसाथै आधिकारिक ट्याक्सी एसोसिएसनको ग्यारेन्टीका साथ । सायद त्यो देशमा १९४८ मा लादिएको रङ्गभेदको नीतिको यो एउटा नमुना थियो, तर यात्रुका लागि त यो अति नै राम्रो व्यवस्था थियो । रङ्गभेद नीतिको १९९४ मा अन्त भएको धेरै वर्षपछि पनि यो पद्धति यथावत् रहेको देख्दा खुसी लाग्यो ।
ब्याङ्ककको साथीको सुझावले मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको थियो । बाहिर जाने मूलढोका नेर पुगेर यसो बाहिर चियाएँ । अझै अँध्यारो थियो । त्यसमाथि पनि अर्को भवनसम्म जाने बाटोमा एउटामात्र सडकबत्ती बलिरहेको थियो त्यो पनि मधुरो । मूल ढोकामै उभिएका बेला साउथअफ्रिकन एअरलाइन्सको बिल्ला भिरेको एउटा मान्छे देखेँ र ‘केपटाउन जानलाई कता जानु पर्ला?’ भनि सोधेँ । उसले ‘यो मूल ढोकाबाट निस्केर यसरी जानू’ भनेर देखाइदियो । आँट गरेर मूल ढोकाबाट निस्केर बताइएको दिशातिर हिडेँ ।
बडेमानका भवनहरूका पछाडिपट्टिबाट हिँड्नुपर्ने । मनमा डरले घरजम गरेको थियो । त्यसैले चारैतिर आँखा दौडाएँ । अलि पर अँध्यारोमा आकृतिहरू चलमलाएको देखेर मेरो रफ्तार झनै बढ्यो । डरले गर्दा आठ मिनेटको त्यो बाटो मलाई आठ घण्टा नै हिँडेजस्तो लाग्यो । आन्तरिक उडानको भवनको मूल ढोकामा पुगेपछि लामो सास फेरेँ । साथीले भने जस्तो घटना त केही भएन । फेरि चारैतिर आँखा दौडाएँ । अघि देखेका आकृतिहरू त्यहीँ थिए अचल । मेरो दृष्टि भ्रमले ती आकृतिलाई लुटेरा देख्यो । पशुपतिनाथलाई मनमनै धन्यवाद दिएँ साउथअफ्रिकामा पनि उपस्थित भइदिएकोमा । अब त ‘छु मतलब?’ भनेर केपटाउन जाने काउन्टरतिर हान्निएँ ।
करिब दुई घण्टापछि जहाज तयार छ भन्ने घोषणाभयो । रातभरिको अनिदो जहाजतिर जाँदा पो छक्कै परेँ । अहिलेसम्म दुईसयदेखि तीनसय सिट भएका ठूला ठूला जेटमा यात्रा गरेको । यहाँ त अठार सिटे सानो जहाज पो रहेछ । यस्तो लाग्यो म नेपालको ट्विनअटर विमान चढ्दै छु । फेरि खुल्दुली लाग्यो । के केपटाउन भनेको ‘नाउ मात्र नौधारी तुर्को छैन पानी’ भन्या जस्तै हो त? त्यसो त नहुनुपर्ने । किनभने साउथअफ्रिका संसारको एउटामात्र देश हो जसको राजधानी तीन सहरमा बाँडिएको छ: प्रिटोरिया (प्रशासनिक), केपटाउन (संसद), र ब्लोमफेन्टिन (अदालती) । जोहानेसबर्ग साउथअफ्रिकाको सबै भन्दा ठूलो सहर हो । केपटाउन दोस्रो ठूलो सहर र व्यापारिक केन्द्र हो । कुरो बुझ्दा बिहानैको उडानमा यात्रुको सङ्ख्या कम भएकाले सानो जहाजमा यात्रुलाई उडाइएको रहेछ ।
जहाजभित्र छिर्दा बिहानको झुल्के घाम उदाइसकेको थियो । रातभरको यात्राको झ्याङ्गलझुङ्गलको मारमा परेको बेला जहाजको झ्यालबाट भित्र छिरेको घामको न्यानो पनले शरीरमा आनन्दको अनुभूति दियो । झ्यालबाहिर हेरेँ । मेरो दृष्टिभ्रम हो कि के हो म बसिरहेको थिएँ तर एरपोर्टको कालो पीच दौडिरहेको थियो । जमिन दौडिराखेको बेला आँखा लागेछन् । करिब पौने दुई घण्टापछि ‘हामी केप टाउन उत्रँदै छौँ भन्ने उद्घोषले ब्युँझिएँ । झ्यालबाट बाहिर हेरेँ । तिखा पहाडको दृश्यलाई छिचोलेर जहाज घना जङ्गल पार गर्दै समथर भूभागमाथि उड्न थाल्यो । लौ! केपटाउन एरपोर्ट नै आइसकेछ ।
जहाजबाट उत्रिनासाथ भन्सारतिर बढ्दा भित्तामा झुन्ड्याइएको बडेमानका अक्षरमा मैले शोधपत्र प्रस्तुत गर्ने अधिवेशनको पोस्टरमा सबैलाई स्वागतम् भनेर लेखेको रहेछ । काम सिध्याएर बाहिर निस्कँदा अधिवेशनका आयोजकको तर्फबाट आगुन्तुकहरूलाई स्वागत गर्न तूल टाँगेर युवा स्वयंसेवकहरू उपस्थित थिए । संसारभरबाट आउने सबै आगन्तुक सहभागीहरूलाई यसरी नै स्वागत गर्दा रहेछन् । हामी सबैलाई एरपोर्टबाट बसमा हालेर केपटाउनको होटलसम्म आयोजकले नै पुर्याइदिए । यस्तो व्यवस्था होला भन्ने मैले आस पनि गरेको थिएन किनभने यसअघि पनि यस्तै अधिवेशनहरूमा जाँदा त्यहाँ यस्तो व्यवस्था हुँदैन थियो ।
सेप्टेम्बरको महिना जहाजबाट ओर्लिँदा टन्टलापुर घाम लागेको थियो । कति मीठो र न्यानो घाम थियो त्यो दक्षिणी गोलार्धको । दक्षिणी गोलार्धमा भर्खर शिशिर ऋतुको अन्त्यपछि वसन्त ऋतुको आगमन हुँदै थियो । सडकको दायाँ बायाँ भर्खर भर्खर हरियो पलाउन थालेको देखिन्थ्यो । अलि टाढा दृष्टि घुमाउँदा अझै खैरो वातावरण थियो । एरपोर्टमा उत्रिने बित्तिकै हातले छोइन्छ कि जस्तो दूरीमा रहेको बडेमानको पहाडले मेरो दृश्यलाई नै कैद गर्यो ।
यो दृश्यले मानसपटलमा मेरो प्यारो गाउँ झलझली आयो । उत्तर फर्केको घरको आँखीझ्याल खोल्ने वित्तिकै हिउँले छोपेको लालपाटन र पुथा हिमालको चुचुराहरू । खोर्सले लेकको आँचलमा छोपिएको रुकुमकोट । मनै लोभ्याउने कमलदह र छिपृदह । यी नै रुकुमकोट उपत्यकाका प्राकृतिक विशेषता हुन् । प्रकृतिले पनि कुनै कुनै ठाँउलाई अति नै सुन्दर बनाउन पक्षपात गर्छिन् कि के हो ? नेपालका यस्तै प्राकृतिक सुन्दरतालाई निहार्न कति लोभिँदा हुन् हामीले पनि पर्यटनको विकास र उचित व्यवस्थापन गर्न सक्यौँ भने । आफ्नो गाउँ र त्यसलाई घेरेको पहाडको सम्झनाले एकछिन भाव विभोर बनायो ।
एरपोर्टबाट देखिएको त्यो बडेमानको पहाड अरू कुनै नभएर टेबलमाउन्टेन थियो । केपटाउनमा टेबलमाउन्टेन देखिन्छ भन्ने सुनेको थिएँ । तर यति नजिकै र यति सुरम्य होला भन्ने कसैले भनेको थिएन । हामी चढेको बस जति केपटाउन सहरको नजिक पुग्दै थियो, त्यो टेबलमाउन्टेन पनि झन् झन् नजिक आउँदै थियो । केपटाउन सहर टेबुलमाउन्टेन कै फेदमा अवस्थित रहेछ र यो पहाडले केपटाउनलाई दक्षिण र पश्चिमतिरबाट घेरेको रहेछ ।
टेबलमाउन्टेनको दर्शनले म रोमाञ्चित भैसकेको थिएँ । मलाई अब त्यो पहाड चढ्नैपर्ने भन्ने भावनाले गाँज्न थाल्यो ।
केप टाउनको टेबलमाउन्टेन चढ्दा
दक्षिण अफ्रिकाको केपप्राय नामको द्वीपलाई सबैभन्दा पहिले हल्यान्डका डचहरूले सन् १६५२ देखि उपनिवेश बनाएका थिए । करिब एकसय पचास वर्षपछि ब्रिटिसहरूले डचहरूलाई हराएर पूरै साउथ अफ्रिकालाई ब्रिटिसको उपनिवेश बनाए । धेरै डचहरूहरू सत्रौँ शताब्दीमा आफ्ना अधिनका विशेष गरी केपटाउन र वरपरका क्षेत्रहरूमा बसोबास गर्न आए । पछि ब्रिटिशहरू पनि थपिए । त्यही भएर होला मैले केपटाउनलाई एउटा युरोपियन सहर जस्तै देखेँ । रङ्गभेद नीति लागू हुने समयदेखि सन् २०००सम्म गोरा जातिको जनसङ्ख्या ४७ प्रतिशतबाट १८ प्रतिशतमा घट्दा पनि सहरभरि जताततै गोरा जातिका मानिसहरूमात्रै । सडकमा, बजारमा, खानाखाने ठाउँमा, होटेलमा जताततै गोरा जातिका मान्छेमात्रै । काला जातिका मान्छे त नगरको बाहिर, झोपटपट्टीमा, अथवा स्याटेलाइट नगरमा मात्रै देखिन्थे । केप टाउन नगरभित्र देखिए भने पनि समूहमा ।
समुद्री किनारमा अवस्थित भएकाले केपटाउन साउथअफ्रिकाको मुख्य व्यापारिक सहरको रूपमा विकसित भएको हो । यसैले पनि यो सहर युरोपियन व्यापारीहरूले भरिएको रहेछ । फलस्वरूप केपटाउनभित्र युरोपियन मूलका बासिन्दाले भरिनु सामान्य नै रहेछ । काला जातिका मान्छेहरूको रगत र पसिनाको नदीबाट सिञ्चित र काला जातिको दासतामाथि उभिएको रहेछ गोरा जातिका मानिसहरूको जीवन । यै भएर नै होला एक आपसमाथि सुरक्षाको डर दुवै जातिमा रहेछ । यसै सम्बन्धि मेरो रोचक अनुभव पनि भनिहालौँ ।
ब्याङ्ककमा सुत्केरी श्रीमतीलाई केपटाउनबाट के चिनो लाने भनेर सोच्दै थिएँ । साउथ अफ्रिकाको हीरा विश्वभरि नै प्रख्यात छ । त्यै विचारले हीरा बेच्ने पसलमा गएँ । पसलबाहिर ठूलो स्लाइडिङ् ढोका थियो । ढोकाको छेवैमा एकजना सेक्युरिटीले मेरो उद्देश्यको शोधपुछपछि ढोका खोलेर मसँगै भित्र पस्यो र स्लाइडिङ् ढोका पूर्ण रूपले बन्द गर्यो । यसपछि सेक्युरिटीले अर्को सिसादार अग्लो ढोका खोल्यो र मसँगै भित्र पसेर पसलको सोरुमको ढोका खोलिदियो । सोरूमको ढोका खोल्नु अघि सिसादार अग्लो ढोका पूर्ण रूपले बन्द गरेको थियो ।
यसरी तीन तीनवटा ढोका पार गरेर पसल छिरेको जिन्दगीमा पहिलो पटक थियो । ब्याङ्ककमा हीरा जवारत बनाउने फ्याक्ट्री जाँदा समेत सेक्युरिटी जाँच गर्थ्यो तर यस्तो त हैन । म घुमेका अरू देशहरूमा त हीराका पसल तरकारी पसल जस्तै खुलै हुन्छन् । म बाहिर निस्कँदा पनि तीन तहका ढोका खोल्ने र बन्द गरेको अनौठो अनुभव गरेँ ।
त्यो हीरा पसलमा अरू ग्राहक पनि थिए । सेल्समेनलाई मैले आफ्नो उद्देश्य बताएपछि ‘ए तिमी त नेपालबाट आएका रहेछौ । म पनि नेपाल गाको छु’ भनेर खुसीभयो । जिज्ञासावश मैले ‘यस्तो तीन तहको ढोका केका लागि हो त?’ भनेर सोधेँ । उसले खुसुक्क भन्यो ‘काला जातिका मान्छेहरू हुलमा आउँछन् अनि झ्यापझुप पारेर लुटेर लान्छन् त्यही भएर तीन तहको ढोका सेक्युरिटी बढाएको हो ।’
कस्तो अचम्म? यस्तो क्रियाकलापले काला जातिको गरिबी र गोरा जातिको काला जातिप्रतिको विभेद प्रस्टै देखाउँथ्यो । दुवैका बीचमा विश्वासको कति गहिरो खाडल रहेछ । त्यो पुरिन त युगौँ युग लाग्ला । त्यसपछिको कुरै कुरामा त्यो सेल्सम्यानले पनि मलाई टेबल माउन्टेन नचढेको भए चढ्न सुझाव दियो ।
माउन्टेन अर्थात् पहाड भन्ने बित्तिकै हाम्रो दिमागमा चुचुराको आकृति आइहाल्छ । तर केपटाउनको टेबलमाउन्टेन कल्पनाभन्दा बाहिरको आकृतिको छ । यसको नाम जस्तै टेबलमाउन्टेनको टुप्पाको रूप चुच्चो नपरेर चुच्चो काटेर टेबलजस्तै समथर बनाइएको जस्तो लाग्छ । पहिलो नजरमै पिरती लाउने टेबुलमाउन्टेनलाई चढी छाडेँ केपटाउन पुगेको तेस्रो दिनमा ।
टेबलमाउन्टेन चढ्न दुईवटा तरिका रहेछन् । एउटा पैदल र अर्को केबलकार चढेर । केबलकारबाट पन्ध्र मिनेटमै माथि पुगिने रहेछ । पहाडमै जन्मी पहाडसँग खेलेको म पैदल टेबलमाउन्टेन चढ्ने आँट र जोस दुवै थियो । तर पैदल चढ्न करिब करिब अढाई घण्टा लाग्ने र माथि घुम्ने अनि ओर्लिने गर्न झण्डै एक दिनको समय चाहिने रहेछ । अधिवेशनको तेस्रो दिनको कार्यक्रम सकिएपछि टेबलमाउन्टेन चढ्न समायाभावले दोस्रो उपाय अपनाएँ ।
होटलबाट केबलकार चढ्ने ठाउँसम्म जाने र आउने व्यवस्था भएको बस नै रहेछ तर भाडा आफैँ तिर्नुपर्ने । केबलकारको यात्रा करिब पन्ध्र मिनेट हो तर कुर्ने समय भने एक घण्टा । केबलकारमै चढेको बेला केपटाउन सहर हेर्न मजा आयो । माथि पुगेपछि त पूरै केपटाउन सहरमात्र नभएर टाढा टाढा देख्न पाइयो । त्यो दृश्यले मनलाई साह्रै आनन्दित बनायो ।
टेबलमाउन्टेनबाट तल हेर्दा केपटाउनको वाटरफ्रन्ट देखियो जहाँ ठूला ठूला पानीजहाज ओहोर दोहोर गरिरहेका थिए । केपटाउनको पश्चिमतिर टाउको उठाएको सिंह बसेको जस्तो डाँडा देखियो जसलाई लाइन हेड (सिंहको टाउको) भन्दा रहेछन् । यो डाँडाको शृङ्खला समुद्रसम्मै फैलिएर केपटाउनको पश्चिमी सिमाना बन्ने रहेछ । टेबलमाउन्टेनबाट पश्चिमतिर हेर्दा एट्लान्टिक महासागर खुलस्त देखियो । लाइन हेडको पश्चिमी तटमा रहेको वेस्टकेप सहर पनि देखियो । महासागरतिरै आँखा दौडाउँदा सानो टापू पनि देखियो । यो त्यै रोबेन आइल्यान्ड टापू हो जहाँ नेल्सन मन्डेलालाई २७ वर्षे कारागार समय मध्ये १८ वर्षसम्म कारागारमा राखिएको थियो । पछि नेल्सन मन्डेला १९९४देखि १९९९सम्म साउथ अफ्रिकाको राष्ट्रपति बने । मन त मरेको थिएन तर केबलकार बन्द हुने भएकाले एक घण्टा जतिको रमणीय बसाइपछि टेबल माउन्टेनको यात्रालाई त्यहीँ टुङ्ग्याईयो ।
केपटाउनमा कुनै नेपाली छन् कि छैनन् भनेर मैले ब्याङ्कक मै खोजनिती गरेको थिएँ । एक जना साथीमार्फत डा. बि. के. पोखरेल केपटाउनमा हुनुहुन्छ भन्ने पत्ता लगाएको थिएँ । केपटाउन पुगेको दोस्रो दिन साँझ डा. पोखरेलसँग भेट्ने अवसर मिल्यो । छोराछोरीसहित उहाँ मेरो होटेलमा आउनुभयो । उहाँ केपटाउनको प्रख्यात ग्रुट सुउर हस्पिटलमा काम गर्नुहुँदो रहेछ । यो त्यही हस्पिटल हो जहाँ डा. क्रिस्चियन बर्नार्डले संसारमै पहिलो पल्ट सन् १९६७मा एउटा मान्छेको मुटु अर्को मान्छेमा सफल प्रत्यारोपण गरेका थिए ।
मैले खोजनिती गरेर यति टाढाको ठाउँमा उहाँहरूलाई भेट्न पाएकोमा म धेरै खुसी थिएँ । म भन्दा पनि उहाँका छोराछोरी र उहाँ निकै खुसी हुनुहुन्थ्यो । उहाँको श्रीमती कामको चापले गर्दा आउन सक्नुभएन र मैले भेट्न पाइन । डाक्टर पोखरेलको जानकारी अनुसार केपटाउन र आसपासको क्षेत्रमा कुनै अर्को नेपाली नभएको थाहा पाएँ । करिब दुई घण्टाको भलाकुसारीपछि छुट्टिनुअगाडि उहाँले ‘केप अफ गुडहोपमा नगए त केपटाउन आएको महत्त्व नै हुँदैन’ भन्ने सुझाव दिनुभयो । उहाँको सुझावपछि फेरि मेरो दिमागमा इन्डियन, एट्लान्टिक र आन्टार्कटिक महासागरको सङ्गम हेर्ने चाहाना झनै उर्लेर आयो ।
पेन्गुइनको बस्ती र केप अफ गुडहोप
चौथो दिनमा जापानी र अमेरिकन साथीहरूसँग मिलेर केप अफ गुडहोप जाने तारतम्य मिलायौँ । होटल परिसरमा भएका टुर एजेन्सीमार्फत एउटा भ्यानमा हामी एक दिवसीय केप अफ गुडहोपको यात्रा बिहानै सुरु गर्यौँ । केपटाउनबाट हामी टेबलमाउन्टेनलाई दाहिने पारेर दक्षिण दिशामा केपप्रायद्वीपतिर लाग्यौँ । दायाँपट्टि टेबलमाउन्टेन राष्ट्रिय निकुञ्जको फैलावटलाई आडमा लिएर गाडी अगाडि बढ्यो ।
हामी यात्रा गरिरहेको दायाँ र बायाँतिर रहेका विशाल अङ्गुरका बगैँचा (भिन्यार्ड)ले दृश्यलाई मनमोहक बनाइरहेको थियो । गाइडले बताए अनुसार ती बगैँचाहरू साउथ अफ्रिकाका विश्व प्रसिद्ध वाइन (रक्सी) उत्पादन गर्ने स्थलहरू हुन । अङ्गुरबाट वाइन बनाउने चलन फ्रान्सबाट सुरु भै केपटाउनसम्म पुगेको रहेछ । यी बगैँचाभित्रका उत्पादन तथा विक्री केन्द्रमा गयो भने वाइन चाख्नपाइने रहेछ । तर हाम्रो टुर गाइडले बाटामा पर्ने बगैँचामा अग्रिम बुकिङ नगरेकाले वाइन चाख्ने लालसा अधुरै रह्यो ।
केपटाउन छोडेको करिब डेढ घण्टाभन्दा बढीको यात्रापछि हामीलाई पहरा छेँडेको बाटो हुँदै बोल्डरबीच भन्ने ठाउँमा पुर्याइयो । बोल्डरबीच, साइमन्सटाउन नगरको एउटा भाग हो । टुरगाइडले भने अनुसार हामीलाई मुख्य राजमार्गको बाटो नभएर प्राकृतिक सुरम्यको बाटो (सिनिक रूट) हुँदै यात्रा गराएकाले धेरै समय लाग्यो रे । आफूलाई त यो रमणीय बाटोबाट नल्याइदिएको भए पो थकथक लाग्ने थियो । सम्झँदै रोमाञ्चित हुन्छु ।
साइमन्सटाउन हिन्द महासागरको किनारमै बसेको सानो नगर रहेछ । गाडीबाट ओर्लँदाखेरि नै अनौठो गन्धले बोल्डरबीचको वातावरण छोपेको पायौँ । एकैछिनमा हर्षले मन आकासियो पहराहरूमा पेन्गुइन देख्दा । कहाँ चिडियाखानाहरूमा दुईचारवटा पेन्गुइन देखेको, त्यहाँ त हजारौँको सङ्ख्यामा पेन्गुइन देख्दा एकछिन अचम्मित भइयो । बोल्डरबीचमा देखिने पेन्गुइनलाई अफ्रिकन जातिको पेन्गुइन भनिन्छ । यो जातिको पेन्गुइनलाई यसको आवाज अनुसार गधापेन्गुइन पनि भनिन्छ ।
उभिँदा सेतो दौरा सुरुवाल र कालो कोट लगाएको मानव जस्तै देखिने पेन्गुइन पनि चरा नै हो । तर उड्न सक्दैन । पुच्छर एकदमै छोटो हुने भएकाले दुई खुट्टाले टेकेर उभिँदा मान्छे उभिएको जस्तै लाग्ने रहेछ । अफ्रिकन पेन्गुइन र अन्य जातिका पेन्गुइन हेर्दा नै फरक देखिन्छन् । अफ्रिकन पेन्गुइन छातीमा काला धब्बाहरूको अण्डाकार घेरा बनेको हुन्छ भने दक्षिण अमेरिकन पेन्गुइनको पखेटा नेर अलिअलि पहेँलो अथवा सुन्तला रङ्गका भुत्ला पनि हुँदा रहेछन् । जात र उमेर अनुसार रङ्ग गाढा हुँदै जाने रहेछ । कसैको घाँटी र चुच्चो पनि सुन्तला रङ्गको हुने रहेछ ।
बोल्डरबीचमा भएका पेन्गुइन कुनै साना, कुनै ठूला तर प्रायः जोडीमा । ससाना बच्चाहरू आमा बाबुका बीचमा उभिएका थिए । कोही पानीमा डुबुल्की लाउँदै, कोही कराउँदै झगडा गर्दै । वातावरण एकदमै रमणीय थियो । पेन्गुइनको क्रियाकलापले मनै रोमाञ्चित थियो । बल्ल थाहा भयो यो ठाउँमा आइपुग्दाको गन्ध त पेन्गुइनको सुलीको रहेछ । करिब आधा घण्टाको पेन्गुइन चर्तिकलाको रमणीय दृश्यावलोकनपछि समुद्र किनारै किनार गाडीले दक्षिणतिरको यात्रा सुरु गर्यो ।
साइमन्सटाउन केपप्रायद्वीपको मानवबस्तीको अन्तिम नगर रहेछ । मानवबस्ती सँगसँगै पेन्गुइन पनि केपप्रायद्वीपभरि नै यही साइमन्सटाउनको समुद्री किनारामा मात्रै बस्दा रहेछन् । यो स्थान अफ्रिकन पेन्गुइनका लागि उपयुक्त स्थान भएर नै जनसङ्ख्या बढेको हो । यसै सम्बन्धमा करिब बीस वर्षअघि दुईवटा मात्र अफ्रिकन पेन्गुइन बाँकी रहेको अवस्थामा टेबलमाउन्टेन राष्ट्रिय निकुञ्जको संरक्षण अभियानले साइमन्सटाउनमा हाल करिब तीन हजार पेन्गुइन रहेछन् ।
साइमन्सटाउनबाट केही बेर अगाडि बढेपछि हामी सानो भ्यालीबाट समुद्री किनार छोडेर चट्टानी बाटो हुँदै पहाडतिर लाग्यौँ । डाँडैडाँडा अगाडि बढ्दा बाटाबाट दायाँ बायाँ अति रमणीय दृश्यहरू देखिए । बाटोको घुमाइसँगै कहिले हिन्द महासागर त कहिले एट्लान्टिक महासागर देखियो । यस्तै रमाइलो हेर्दा हेर्दै हामी केपप्वाइन्टको पार्किङ् गर्ने ठाउँमा पुग्यौँ । केपप्रायद्वीपको दक्षिणी टुप्पोलाई केपप्वाइन्ट भन्दा रहेछन् । केपप्वाइन्ट पुगेपछि थाहाभयो कि त्यहाँ त दुईवटा केप अफ गुडहोप रहेछन् एउटा पुरानो र एउटा नयाँ । पुरानो केप अफ गुडहोप एट्लान्टिक महासागरतिर रहेछ भने नयाँ दुई महासागरका बीचको चट्टानमा ।
केप अफ गुडहोप नाम कसरी रह्यो भन्ने रोचक कथन रहेछ । इजिप्टमा स्वेज नहर बन्नुअघि सम्पूर्ण र बनिसकेपछि पनि आंशिक पानीजहाजहरू युरोपबाट पूर्वी एसिया यात्रा गर्ने समुद्रीमार्ग यही केपप्रायद्वीप मात्र हो । चट्टानै चट्टानको प्रायद्वीपको पूर्वबाट हिन्द महासागरको तातो पानी, पश्चिमको एट्लान्टिक महासागरको समुद्री धार र अन्टार्कटिक महासागरको चिसो पानीको सङ्गममा जतिखेर पनि तुफान उठ्ने सम्भावना हुन्छ ।
पोर्चुगिज अन्वेषक बर्टोलोमु डियास १४८८मा केप प्वाइन्ट भएर इन्डिया र पूर्वी एसिया पुग्ने समुद्रीमार्ग पत्ता लगाए । तर तुफानको सधैँ सामना गर्नुपर्ने भएकाले यसको नाम केप अफ स्टोर्म्स राखे । पछि पोर्चुगिज राजा जोन द्वितीयले इन्डिया र पूर्वी एशियामा व्यापार गर्न समुद्रीमार्ग बन्न सक्ने भएकाले यो स्थानलाई शुभ सङ्केत मानेर केप अफ गुडहोप नाम राखे । नयाँ केप अफ गुडहोपमा अहिले पनि समुद्री जहाजलाई सङ्केत दिन लाइटहाउस छ ।
केपप्वाइन्ट पार्किङबाट पुरानो केप अफ गुडहोप ओर्लिन र त्यहीँबाट नयाँ केप अफ गुडहोप उक्लिन काठैकाठको बाटो र सिँढी बनाइएको रहेछ । त्यही काठै काठको सिँढी पछ्याउँदै चट्टानको टुप्पामा रहेको लाइट हाउस पुग्दा आफैँले आफैँलाई भाग्यमानी ठानेँ । लाइट हाउसको बार्दलीबाट चारैतिर टाउको घुमाउँदा यति रोमाञ्चित भएँ कि आँखा भरिएर आए । पहिलो पटक आँखाले भ्याएसम्मको क्षितिजमा आकाश र सागरको मिलनको रसास्वादन भयो । त्यस दिन आकाश पनि पूरै खुलेकाले वातावरण मनमोहक बनेको थियो ।
नयाँ केप अफ गुडहोपको लाइटहाउसबाट दक्षिणतिर हेर्दा चट्टानको चुच्चे सतह होचो हुँदै समुद्रभित्र पस्यो । आँखाले भ्याउँन्जेल साँच्चै हिन्द महासागर र एटलान्टिक महासागर छुट्याउने त्यही चट्टानको लामो रेखा पानीभित्र पनि प्रष्टै देखियो । त्यो रेखाको पूर्वी भागमा कालो पानी र पश्चिमी भागमा निलो पानी देखिने रहेछ । दक्षिणतिरबाट फैलिएको अन्टार्कटिक महासागर कहाँ नेर मिल्छ भन्ने आँखाले देख्न सकिन्न । त्यसैले मनमनै अनुमान लगाउनुपर्ने रहेछ ।
केप अफ गुडहोपको लाइट हाउसमा बसेर जुन दिशा हेरेपनि यति आनन्द आयो कि एकछिन सारा संसार मानसपटलबाट हरायो । दक्षिणतिरबाट आएको त्यो सरर आएको हावाको झोक्काले तनमन दुवै आह्लादित बनायो । त्यस्तो सुरम्य ठाउँलाई अँगालेर बसी रहन नमिल्ने रहेछ । करिब तीन घण्टाको आनन्दमय समयपछि त्यो त्रिवेणी छोडेर हिँड्नुपर्नेभयो केपटाउन फर्किन । केप टाउन फर्किँदा केपपोइन्ट अस्ट्रिच फार्ममा खाना पनि खायौँ र अस्ट्रिच चराको पनि चर्तिकला देख्यौँ । अस्ट्रिच झन्डै राँगो जत्तिकै अग्लो हुने रहेछ । साउथ अफ्रिकाको विभिन्न स्थानका अस्ट्रिच फार्ममा अस्ट्रिचमाथि चढ्न पाइन्छ भन्ने सुनेको थिएँ तर हामी गएको फार्ममा त्यो व्यवस्था थिएन । इच्छा नहुँदा नहुँदै पनि केप अफ गुडहोपलाई अन्तिम नमस्कार गरेर अविस्मरणीय यात्रा त्यहीँ टुङ्गियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।